बुद्धिजीवी

- नारायण मरासिनी

आफूभन्दा पछाडि आएका साथीहरूले राम्रा राम्रा अवसर तथा नेतृत्वदायी भूमिका प्राप्त गरे पनि हेमन्तले नेतृत्व गर्ने किसिमको अर्थात् लाभको कुनै पद पाएको थिएन । १० वर्षसम्म पार्टीमा खटिँदा उसले आफूसँग भएको केही त अवश्य गुमायो तर गुमाए अनुसारको फल हात नलाग्दा निरास थियो । कुनै पनि लाभको पद सिर्जना हुँदा उसको जिल्लाका इन्चार्ज जुनसुकै विचारको भए पनि आफ्नै नातागोतालाई पहिलो प्राथमिकतामा राख्दथे । ऊ पछाडि धकेलिन्थ्यो । पार्टीमा देखिएको यस्तो गलत प्रवृत्तिप्रति उसले विरोध गर्न थाल्यो । चियापसलदेखि सार्वजनिक सभा समारोहमा समेत उसले आफ्नो जिल्ला इन्चार्जलाई भ्रष्टाचारीको बिल्ला भिराउन थाल्यो । यस्ता गद्दारको नेतृत्व अब स्वीकार्य छैन भन्दै उसले इन्चार्जलाई कम्युनिष्ट पार्टीको नेता नभएर दलाल पुँजीवादीहरूको मतियार भएको आरोपसमेत लगायो । अबदेखि पार्टीको कुनै गतिविधिमा संलग्न नहुने र सदस्यता पनि नवीकरण नगर्ने भन्ने उसको आक्रोश सतहमै छताछुल्ल हुन थाल्यो ।
वास्तवमा हेमन्तलाई जागिर चाहिएको थियो । उसले आफ्नो योग्यता अनुसारको काम पाएको थिएन। मध्यमवर्गीय आर्थिक हैसियतको थियो ऊ । बुद्धिजीवीहरूको संगठनमा आबद्ध थियो । पूर्णकालीन नभए पनि पार्टीको बफादार कार्यकर्ता थियो । पार्टीलाई असहयोग गर्न थालेपछि र सदस्यता नवीकरण समेत नगर्ने अवस्थामा पुगेपछि इन्चार्जले आफ्नै पहलमा उसलाई क्याम्पसमा प्राध्यापनका लागि करारमा नियुक्ति दिलाए । यही खुशीयालीमा उसले मलाई चिया पियाउँदै भन्यो- "पार्टीका लागि हाम्रा जिल्ला इन्चार्ज जस्तो योग्य तथा इमान्दार सिपाही त मैले दोस्रो कोही देखेकै छैन यार !‌"

ज्याग्दीखोला, स्याङ्जा

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 13 भाद्र, 2077

लेखकका अन्य रचनाहरु