ज्योतिष

- मनिश कुमार शर्मा समित

महँगी शहर, जीवनको ब्यस्तता, जति कमाए पनि हात लाग्यो शुन्य । जे गर्दा पनि पैसाको सह नहुने । कयौं व्यावशायमा हात हाले तर निराश बाहेक केहि हात लागेन । निराशाको जड अझ फैलदै थियो। मन हतास थियो । मेरी अर्धाङ्गिनी पनि मेरो दिनरातको पिरलोले पिल्सिन थालेकी थिईन् ।

“ए हजुर, एकचोटि हजुरको चिना देखाउने हो कि ? मेरी दिदीले अस्ति भिनाजुको चिना देखाएको रे । साह्रै जान्ने रहेछन सबै मिलाए रे ज्योतिष गुरुले । फेरि छोराहरुको पनि चिना बनाउनुछ ” श्रीमती घरिघरि घच्घचाउथिन् । भाग्य भन्दा कर्ममा ज्यादा विश्वास थियो मेरो । उनको कुरालाई गम्भिरताले लिइन । तर बारम्बार श्रीमतीको ढिपी र आफ्नो तिक्ततालाई मेट्न ज्योतिषीकोमा जाने मन बनाए । श्रीमतीले समय अनुकुल मिलाईन्, शनीबार दिनको ११ बजे ।

हामी भन्दा पहिला ६-७ जाना पालो कुरेर बसेका थिए । ठुलो आगन्तुक प्रतिक्षा कोठा निकै सुसज्ति थियो। खालि रहेको सोफामा बस्यौं । सोफा अगाडी भित्तामा ठुलो टिभी झुन्डिएको, टिभीमा धार्मिक प्रवचन, टिभीको माथिपट्टि स्वर्गीय राजारानीको ठुलो फोटो फ्रेम झुन्डिएको थियो । भुँईमा लचकदार गलैचा ।

‘साच्चै अहिले त यो ज्योतिष व्यावशाय निकै फस्टाएको छ । एक जानाको ५०० को दरले पनि हेर्ने हो भने दिनमा केहि नभए पनि ५-६ हजार महिनामा कम्तिमा पनि एक लाख, फेरि राजश्व पनि तिर्नु नपर्ने, ओहो ! बसिबसि त्यत्रो कामाई । बेलामै बुद्धि पुर्‍याएर ज्योतिष पढेको भए.... ‘ मेरो व्यापारी दिमागले कमाईको हिसाबकिताब गर्न थाल्यो । मनमा ईर्श्या डाहा मडारिन थाल्यो ।

“ ओहो बैनी पो आउनु भएछ ” मेरी श्रीमतीलाई सम्बोधन गर्दै एक महिलाले भनिन् । श्रीमती विस्मयकारी नेत्रले हेर्न थालिन् । म पनि उनलाई एक टकले हेर्न पुग्छु । रातो सुती साडी, हात भरी चुरा, रातो पोतेमा सजिएकी पुतली जस्तै देखिन्थिन् ।

“ बैनी आस्ती आउनु भएको हैन ? ” उनी आफैं अलमलमा परेर फेरि सोधिन् ।

“ए ! हजुर झुक्किनु भयो । अस्ति आउने त दिदी हो । म त पहिलो पटक आउँदैछु । हामी जुमल्याह हौं”

“ ए कस्तो ठ्याक्कै अनुहार मिलेको ” । अब दुई जाना गफ्फिन थाले । मलाई भने धेरै बेर पर्खनु परेकोमा उकुसमुकुस हुन थालेको थियो । नजिकैको पत्रीका उठाएँ । मन लागी नलागी पत्रीकाको पानामा आँखा लगाउन थालें । झण्डै घण्टाभरको पर्खाई पछि श्रीमतीले मलाई झक्झकाईन् । उनले पुतली नानीलाई परिचय गराउँदै भनिन्

“ उँहा गुरुको श्रीमती, गुरुआमा ” हामी बिच शिष्टताको आदानप्रदान भयो ।

“ जाउँ भित्र अब “ हामी दुबै दम्पती उनको पछि पछि अर्को कोठा तिर छिर्यौं ।

गुरु मझौला कदको गहुँगोरो बर्णका थिए...रसिलो र कसिलो ज्यान.. चिल्लोसंग दाह्री काटेको, टाउकाको बीचमा चुस्स लामो पारेको टुप्पी । गुरु र गुरुआमाको जोडि मिलेकै रहेछ । यहाँ पनि शिष्टताको आदानप्रदान पछि उनले टेबुल अगाडिको मेचमा हामीलाई बस्न आग्रह गरे । पुतली गुरुआमाले पनि एउटा मेच तान्दै नजिकै बसिन् ।

“ भन्नुस ” मुसुक्क हाँसेर बोल्न थाले । सायद नयाँ ग्राहक आएकोमा दङ्ग थिए ।

“हजुर हामी चिना देखाउन आको ” श्रीमतीले आफ्नो ब्यागबाट मेरो र उनको चिना झिकेर अगाडि टेबुलमा राखिदिईन् । उनी मेरो चिना हेर्न घोत्लिए । म चरैतिर आँखा घुमाएर कोठा निहार्न थालें ।

चिटिक्क परेको कोठा सुगन्घित अगरबत्तीले मगमगाएको । कोठाको एक भित्तामा नौ ग्रह दर्शाउने ठुलो भित्ते पोस्टर । एक छेउमा टेबल माथि ल्यापटप कम्प्युटर, केहि चिनाहरुको बिटा, चाँदीको सानो किस्ती माथि हजार-पाँच सयका नोट गोलाकार रुपमा मिलाएर राखेको । अर्को छेउमा एक सेट सोफा ।

“ओहो ! तँपाईको त चिना साह्रै राम्रो छ त । राजयोगको । म फेरि हेर्छु है “ भन्दै उनी ल्यापटपमा घोत्लिन थाले ।

“ हो ! हेर्नुस त पाँच ग्रहहरु एकै ठाउँमा । धेरै कमको मात्र हुन्छ यस्तो त” उनले फेरि भन्न थले ।

“ खै गुरु राजयोग भन्नु हुन्छ मेरो त राहुयोग चलिरहेको जस्तो छ । जति घोट्टिए पनि केहि काम नै बन्दैन” मैले भने ।

“ त्यो त अढैया शनिले गर्दा हो । त्यो पनि सकिन लागेको छ । ढुक्क हुनुस अबको दुई महिना पछि सबै काम बन्छ “ उनले जवाफ दिए । उनको कुराले मनलाई केहि सान्त्वना त दियो तर पनि मनमा कता कता अविश्वासको भुमरी छदैं थियो ।

उता मेरी श्रीमती आफ्नो चिना हेराउन आतुर थिईन् । गुरुआमा “एक छिन है” भन्दै बाहिर निस्किन् ।

“ मेरो पनि हेर्दिनुन गुरु ” गुरु श्रीमतीको चिना तिर घोरिन थाले ।

“ धेरै राम्रो छ ” एक छिन पछि गुरुले मुख फोरे । “साच्चै भगवानले जोडी चाहिँ मिलाकै हो तपाईहरुको ” उनले थप्दै गए .. “ श्रीमानको माङ्गलिक देखिएको छ । केटीहरुले खुब पछ्याउँछन जस्तो छ” उनले मुसुमुसु हास्दै भन्दै गए । यता मेरी बुढीको अनुहारमा निचोरिन थाल्यो ।

“ डराउनु पर्ने केहि छैन । मंगलबारको व्रत लिनुभयो भने सबै ठिक हुन्छ “

एक त मेरी बुढी व्रत लिएर नथाक्ने । कहिले एकादशी, कहिले पुर्णीमा, सोमबारे, प्रदोष फेरि यो मंगलबारको व्रत.. के घाँडो भिंडाउन लागे यि गुरुले ? म भित्रभित्रै मुर्मुरिन थालें । त्यतिन्जेल गुरुआमा पनि केहि काटेका फलफुल लिएर भित्र छिरिसकेकी थिईन् ।

“ हेर त बुढी उहाँहरुको पनि चिना त ठ्यक्कै तेरो र मेरो जस्तै रहेछ “ गुरु स्याउको टुक्रा टोक्दै उनको श्रीमती तिर हेर्दै भन्न थाले ।

“ हो नि त तपाँईहरुको पनि जोडी त भगवानले जुराकै रैछ सार्है राम्रो जोडी ” मैले पनि कुरा थपें । कोठामा एक छिन मुस्कानको माहोल छायो ।

“ आज शनिबार उहाँलाई एकछिन पनि फुर्सत हुदैन । फेरि आज छोराछोरी पनि बाहिर घुम्न जाने कुरा गर्दै छन । शनिबार बाहेक अरु नै कुनै दिन आउनुभयो भने अझ राम्ररी हेरिदिनु हुन्छ ” घुमाउरो पाराले गुरुआमाले हामीसँग बिदा माग्दै थिईन् । पाँच सय भेटी चडाएर हामी त्यहाँ बाट बिदा भयौं ।

जिन्दगी आफ्नै रफ्तारमा चलिरहेको थियो । श्रीमतीले मंगलबारको पनि व्रत लिन सुरु गरिसकेकी थिईन् । गुरुले दिएको समय पनि बित्यो तर मेरो व्यावशायमा खासै सुधार आएन । सबै बेचबिखन गरेर कृषि व्यावसायमा हात हालें । साथीभाइ मिलेर तराई तिरको केहि आफ्नो र केहि बिघा जग्गा भाडामा लिएर कृषि जन्य बस्तुको उत्पादन गर्न थाल्यौं । यी समय बिच मेरी श्रीमतीको ज्योतिष गुरुकोमा आउजाउले मेरी श्रीमती र गुरुआमा बिच निकै घनिष्ट मित्रता छाएको थियो । व्यस्तताको कारणले भने मेरो गुरुसँग फेरि भेट भएन धेरै जसो फोन फोनमा नै कुरा हुन्थ्यो । मेरो बसाई प्रायः तराई तिरनै हुन्थ्यो ।

म आफ्नै कृषि व्यावशायमा नै व्यस्त भएँ । व्यवशायले राम्रो गति लियो । थोरै समयमा नै निकै फस्टाउन थालिसकेको थियो । एक दिन अचानक श्रीमतीले रुदैं फोन गरिन् ...

“ हजुर थाहा पाउनु भयो ? गुरुआमा त बितिन नि ” चस्स मुटुमा बिज्यो ।

” कसरी ? ”

“ मुक्तिनाथको दर्शन गर्न गएका रहेछन आमा, छोराछोरी दर्शन गरेर फर्कदा मोटर दुर्घटना भएछ । दुर्घटनाका सबैको मृत्यु भएछ ” श्रीमती भाबुकतामा बहदै बताउँदै गईरहेकी थिईन् । त्यो दिन भरि त्यहि पुतली गुरुआमाको र ज्योतिष गुरुको मुहार मेरो आँखामा आईरह्यो । बिचारा ज्योतिष गुरु ।

यता व्यावशायले उचाई लिईरहको थियो । म झन झन व्यस्ततामा जिउन थालें । बिच बिचमा घर आउजाउ हुन्थ्यो तर ज्योतिष गुरुसँग भेट गर्ने मौका मिलेकै थिएन । यो पटक चाहिँ उनलाई नै भेट्ने उध्देश्यले समय मिलाएर श्रीमतीलाई साथ लिएर उनको घर लागें ।

गुरुको घरको दलान सम्म झ्याउ पलाएको थियो । घरका भित्ताहरुमा लेउ लागेका थिए। आगनमा हावाले जम्मा गरेका प्लास्टिक, कागत र पातपतिङ्गरहरु जम्मा भएका थिए । गमालाको माटो रुख्खिएका थिए । साच्चै भन्नु पर्दा श्रीमतीको मृत्युसँगै त्यो घरको पनि प्राण गएको थियो । ढोका ढक्ढकाए । कुनै आवज आएन । बिस्तारै ढोका ठेलें, खुल्लै रहेछ । भित्र छिरें ।

कोठा विकृतावस्थामा थियो । भुइँमा ‌ओछ्याइएको खज्‍मजिएको दरी । दरीभरि श्रीमती र छोराछोरीको तस्विर । उनि त्यहि तस्विरहरूलाई घोरिएर बसेका रहेछन ।

“ नमस्कार गुरु चिन्नु भयो मलाई ? ” तन्द्रामा रहेको उनले अचानक केही सम्झेझैँ गरी झल्याँस्स भए । हात जोड्दै मलाई निकै बेर निहार्न पुगे । पातलीएको शरीर, गडेको आँखा, चुस्स दाह्री त्यहि पनि सेता काला टाटेपांग्रे एक लाचार प्रतिमुर्तीको रुपमा उनलाई देख्न पुगें । उनले फिस्स रोदन हाँसोमा हात जोडे ।

“ के गर्नु सबैको भविष्य हेर्ने म आज तर मेरो भविष्यनै सुन्यतामा बिलायो । मलाई त भाग्यले नै ठग्यो “ भन्दै उनका आँखा रसाउन भ्याइ सकेका थिए ।

“ मेरी श्रीमती, छोरा छोरी सबैले छाडेर गए ” उनी भक्कानिन थाले । हाम्रो पनि आँखा भिजेका थिए ।

केहि बेर सान्त्वना दिए पछि हामी भारी मन बनाएर बिदा भयौं । उनी मानसिक रुपमा बेहाल थिए । विस्मृत स्मृतिको तरेलीमा बग्दै रित्तो घरमा उनी रुमल्ली रहेका थिए । कतै छेउछाउको घर तिरबाट आवाज आईरहेको थियो.....

“ आफ्नो भविष्य त नदेख्नेले अरुको के हेर्यो होला त “

ठिमी, भक्तपुर

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 13 भाद्र, 2077

लेखकका अन्य रचनाहरु