"गुलाफसँगको प्रेम"मा रमाउँदा

- अरुणबहादुर खत्री “नदी”

कथाकार डा. संगीता स्वेच्छाको गुलाफसँगको प्रेम कथासङ्ग्रह तेस्रो कृतिको रुपमा हालै निस्केको छ । यस कथासङ्ग्रहभित्र उनीद्वारा लेखिएका गुलाफसँगको प्रेम, अपरिचित टेलिफोन नम्बर, अव्यक्त इच्छा, इमिली–मेरी छिमेकी, हरिमायाकी बुहारी लगायत विभिन्न शीर्षकका बीसवटा कथाहरु समावेश गरिएका छन् । गुलाफसँगको प्रेम यस कथा सङ्ग्रहमा सङ्ग्रहित मध्ये एक कथा हो । जहाँ कथाको मुख्य पात्र गुलाफको फूलमै आफ्नो माया, सद्भाव अनि भविष्य खोज्न थालेको छ । जीवन पनि गुलाफ र त्यसमा हुने काँडाको संगम नै त हो । सदाझैं कथाकार डा. संगीताको घर छेउको झाडी मौन छ । लाग्दछ उदासीनताको प्रतीक यो झाडीले कथाकारलाई छर्लङ्ग्याएको छ गुलाफसँगको प्रेम कथा लेख्दा । सूर्य उदाउँछ त्यो झाडीमा पनि जसरी उनको घर अगाडिको फूलबारीमा उदाउँछ रे । तर उनलाई लाग्दछ त्यो झाडी बीचकी गुलाफ उराठ छिन् । यस सङ्ग्रहभित्रका कथाहरु काल्पनिक हुन् । अनि परिवेश भने नेपाल, बेलायत अनि अस्टे«लिया देश रहेको छ । समाजमा हुने घटनाहरु अनि ती घटनामा उत्रिरहेका चरित्रहरुको जीवनमा आएका उतारचढावलाई यस कथासङ्ग्रह मार्फत प्रस्तुत गर्ने कोसिस कथाकार डा. संगीताले गरेकी छिन् ।
हामीले भोगिरहेको सामाजिक परिवेशबाट टिपिएका विविध रंगका बीसवटा पुष्पगुच्छा मार्फत् घरदेश र परदेशका फूल र काँडालाई उनले यस कथासङ्ग्रहमा समावेश गरेकी छिन् । यस सङ््ग्रहभित्र नारी मनका पीडा र खुसीलाई कथामार्फत राम्ररी केलाएर सुन्दर वान्कीमा लेखिएका कथाहरु समावेश गरिएका छन् । प्रेम, समर्पण, धोका, संघर्ष, सफलता, विफलता आदिका वरिपरि केन्द्रित रहेका कथामध्ये केही कथाले विसंगतिप्रति कटाक्ष पनि गरेका रहेछन् । पुरुषको संकीर्ण मनोवृत्ति, नारीवादी चिन्तन र स्वार्थीपना जस्ता विषयमा लेखिएका कथाले हाम्रो समाजको बारेमा व्याख्या गरेका छन् । इमिली–मेरी छिमेकी शीर्षकको कथाभित्र सदाझैं आज पनि पाँच इन्चको हिल जुत्ता लगाएर बबिनाकी छिमेकी इमिली आफ्नो रातो निसान गाडीको ड्राइभर सिटमा बसिन् अनि पछाडि गाडी मोड्दै रातको सन्नाटालाई चिर्दै तुफानसँग हुइकिइन्् । इमिलीको यसरी राति हिँड्नु र बबिनाले चियाइ चियाई उनको गाडी हँकाइ हेर्नु कुनै नौलो कुरा भने थिएन भनिएको छ । हरिमायाकी बुहारी शीर्षकको कथाभित्र हरिमायाको छोराको बिहे साँच्चै जुलीसँगै भयो । भर्खर मात्र अमेरिकाबाट आएकी जुली र हरिमायाको छोेराको प्रेम एक वर्षको मात्र थियो रे । हरिमायाको छोराको खुट्टै पक्डिछन् र छाड्न नसक्ने बताएपछि हरिमायाको सातो उडेछ भनिएको छ । संगीताले नेपाली समाजमा जताततै भेटिने एक यस्तो महिला चरित्रमाथि व्यङ्ग्य प्रहार गरेकी छिन् जो अर्काको चियोेचर्चा र कुरा काटेर रमाउने गरेको छ र आफै उपहासको पात्र बन्न पुगेपछि चाहिँ खिसिक्क परेर खुम्चन्छ ।
यसैगरी नागरिकतामार्फत लेखिकाले विदेशमा आफूलाई नेपाली भनि चिनाउन लाज मान्ने ढोगी पात्रमाथि प्रहार गरेकी छिन् भने बढ्दो सभ्यता शीर्षकको कथामा आधुनिकता र स्वतन्त्रताको नाममा समाज स्वच्छन्द र विकृत बन्दै गएको दुःखेसो पोखिएको देखिन्छ । परिचयको क्रमलाई अगाडि सार्दै मैले मेरो सामान किन्ने केटालाई म आफ्नो देश नेपाल फर्कन आटेकी छु र सबै सामान बेच्न पाए आनन्द हुन्थ्यो र सस्तैमा दिने जानकारी दिएँ । ए नेपाल ! उसले नेपालको नाम सुनेर त्यति नै मात्र प्रतिक्रिया जनायो भनिएको छ । आप्रवासी मुटु पनि यस सङ्ग्रहभित्रको एक मार्मिक कथा हो । प्रवासी जीवनमा बाँचेकाले विदेशका मूलवासीबाट खेप्नुपर्ने नियतिबारे बुझाउने चेष्टा यस कथामा गरिएको छ । हिजोआज मारियाको बाटोमा हुने भेट अनि त्यो केही मिनेटको सहयात्रा झैं लाग्ने क्षणहरु कम हुन थालेकाले मन अलि दुःखी हुन थालेको छ । मारियाको अनुपस्थितिलाई मेरा आँखाले कुर्न थालिसकेका थिएँ यस कथाभित्र लेखिएको छ । कालचक्र शीर्षकको कथामा सुशीलालाई आज बाटोमा भेटेपछि म झन् दुःखी भएको छु । नरेश मलाई प्रेम गरन । मलाई प्रेम गरन । म तिम्रो पत्नी हुँ भन्दै सुशीला दौडदै मेरो अगाडि आई । उसलाई देख्नेबित्तिकै मलाई के भएछ म भाग्न थाले भनिएको छ ।
असम्झौताभित्रको सम्झौता शीर्षकको कथामा जीवन अगाडिको चिया उठाएर चुस्की लगाउँछ अनि एकक्षण झ्यालबाहिर आँखा कुदाउछ मानौ कोही उसलाई कुर्दैछन् त्यतातिर । बेलायतमा क्रोयडन शहरको ग्रिनएकरभित्रको शून्य सडक जुलाइ महिनामा गर्मीले तातेर अल्छी मानेझैं गरिरहेका थिए । भनिएको छ । विक्षिप्त मनको डायरी शीर्षकको कथामा आजको डायरीको पानामा मेरो सुखद विगततिर लम्किरहेछ । कतिपय सुखका पलहरुले पछि पोल्ने पनि गर्दोरहेछ । नत्र, बितिसकेका पलहरुलाई सम्झदै अत्यासिनु कहाँको उचित पक्ष हो र ? भनिएको छ । यिनको कलम तिखो छ र समाजका विकृति विसङ्गति प्रति प्रहार गर्न सक्षम पनि छ । उनका अधिकांश कथाहरुमा चरित्र चित्रणलाई विशेष जोड दिइएको छ । उनको कथा लेख्ने शैली सरल र बोधगम्य छ । उनले कथामा कौतुहलताको प्रयोग निकै सचेततापूर्वक गरेकी छन् । समाजका विभिन्न वर्ग, क्षेत्र, घटना, चरित्र आदिलाई पात्रहरुको उपयुक्त संयोजनबाट राम्रा कथाहरु सिर्जना गर्न उनी सफल छिन् । प्रेम, समर्पण, मित्रता, धोका, सङ्घर्ष, सफलता, विफलताजस्ता वैयक्तिक जीवनका भोगाइ लगायत विष्यावस्तु माथि केन्द्रितझैं प्रतित हुने उनका कथामा मूलतः नारी मनका खुसी र पीडालाई मिहीन रुपले केलाइएको पाइन्छ भने पुरुष अहङ्कारको विकार तथा सङ्कीर्ण मनोवृत्तिको समेत उनले चित्तबुझ्दो ढङ्गले चिरफार गरेकी छिन् । सन् २०१९ जनवरीमा प्रकाशित १६४ पृष्ठको यो कथासङ्ग्रह पढ्न योग्य नै छ ।

सामाखुसी मार्ग, सरकारी धारा,
काठमाडौं (नेपाल)

प्रकाशित मिति : प्रकाशन मिति : शुक्रबार, 12 भाद्र, 2077

लेखकका अन्य रचनाहरु