सीमातीत अस्मिता कथामा नारीवादी चिन्तन

- वीरेन्द्रकुमार बुढा

अध्ययनसार
यो आलेख सीमातीत अस्मिता कथामा नारीवादी चिन्तनको अध्ययन, विश्लेषण र मूल्याङ्कनमा केन्द्रित छ । पारिवारिक घटनालाई विषयवस्तु बनाइएको यस कथामा पितृसत्तात्मक सोचका कारण नारी दमन र शोषणमा बाँच्नुपरेको अवस्थामा नारीले प्रतिरोध गरेको कथावस्तु समेटिएको छ । यो अध्ययन उक्त कथामा नारी दमन र शोषणको अध्ययन गर्नुका साथै त्यसविरुद्ध नारीले गरेको प्रतिरोधको मूल्याङ्कन गर्ने उद्देश्यले गरिएको छ । गुणात्मक ढाँचामा रहेको यो अध्ययनमा सामग्री सङ्कलन पुस्तकालय विधिबाट गरिएको छ भने विश्लेषणमा पाठविश्लेषणात्मक पद्धतिको प्रयोग गरिएको छ । नारीवादी सिद्धान्तलाई आधार लिई अध्ययन गरिएको उक्त लेखमा प्राथमिक सामग्रीका रुपमा उषा शेरचनको सीमातीत अस्मिता कथाको पाठलाई लिइएको छ । पुरुष दमन र शोषणको विरोध गर्दै नारीले पनि पुरुषसरह अवसर उपभोग गर्न पाउनु पर्छ भनी देखा परेको आन्दोलन वा दर्शन नै नारीवाद हो । सन्तान नजन्मिँदा नारीलाई मात्र दोष दिने पितृसत्तात्मक सोचको कारण नारीहरु कसरी प्रताडित छन् भन्ने कुरा कथामा प्रस्तुत गरी त्यस विरुद्ध प्रतिरोध गर्नुपर्ने विचार व्यक्त भएको अध्ययनबाट प्राप्त भएको छ । पितृसत्तात्मक सोचका कारण सरोगेट मदर स्विकार्ने तर सरोगेट फादर नस्विकार्ने समाज प्रति व्यङ्ग्य गरिएको छ । भित्रभित्रै खोक्रो भइसकेको पितृसत्तात्मक सोचलाई कथामा प्रष्ट रुपमा उदाङ्गो पारिएको छ । एक्काइसौँ शताब्दीमा आएर पनि हरेक कुरामा नारीलाई मात्र दोष दिने समाजका विरुद्ध नारी आवाज उठ्नु पर्ने र प्रजनन अधिकार नारी स्वयम्‌ले लिन सक्नुपर्ने विचार कथामा व्यक्त भएको निष्कर्ष छ ।
प्रमुख शब्दावलीः नारीवाद, पितृसत्ता, दमन, प्रजनन अधिकार, सरोगेट ।

१. विषयपरिचय
नारीवाद समाजको आधुनिक ढङ्गबाट विश्लेषण गर्ने एक प्रमुख सिद्धान्तको रुपमा आएको देखिन्छ । वर्तमान समयमा यो वैचारिक, दार्शनिक एवम् सशक्त आन्दोलन दुवै स्वरुपमा विश्वका हरेक समाजमा स्थापित भइसकेको छ । विशेष गरी नारीवादको उदय नहुन्जेलसम्म समाजको व्याख्या एवम् विश्लेषणमा जति पनि सिद्धान्तहरु प्रतिपादन गरिएका थिए ती सबै पुरुषकेन्द्रित थिए जबकि विश्वका हरेक समाजमा महिला र पुरुष दुवै एकआपसका परिपूरक हुन् । वर्तमान परिवेशमा त विश्वको जनसङ्ख्याको आधा आकाश महिलाले ओगटेका छन् भने समाजको व्याख्यामा उनीहरुको भूमिका महत्त्वपूर्ण हुनु पर्दछ (श्रेष्ठ, चौलागाईं र सापकोटा, २०६६, पृ. ९६)। मानव सभ्यताको प्रारम्भमा सूक्ष्म रुपमा रहेका महिलाहरु वर्तमान अवस्थामा आइसक्दा पितृसत्तात्मक दमन र शोषणका कारण असमान अवस्थामा रहेका छन् । पितृसत्ताले समाजका हरेक क्रियाकलाप, विकास, सिद्धान्त, कला साहित्य आदिजस्ता क्षेत्रमा महिलाको भूमिकालाई वास्ता गरेको हुँदैन । यस्तो समाजको वैकल्पिक रुप प्राप्त गर्नका लागि महिलाहरु जागृत भएको देखिन्छ त्यही अवस्थाबाट नारीवादको उदय भएको देखिन्छ । वास्तवमा पुरुषको दमन र शोषणको विरोध गर्दै महिलाले पनि पुरुषसरह अवसर उपभोग गर्न पाउनु पर्छ भनी देखा परेको आन्दोलन वा दर्शन नै नारीवाद हो (श्रेष्ठ, चौलागाईं र सापकोटा, २०६६, पृ. १८) । यसप्रकार नारीलाई सक्षम, सबल र पुरुष सरह प्रतिस्पर्धात्मक बनाउन क्षमता विकास र सशक्तीकरणमा जोड दिने चिन्तन नै नारीवाद हो ।
नारीवादी सिद्धान्तको आरम्भ २० औं शताब्दीमा पाश्चात्य साहित्य समालोचनाबाट भएको हो । नारी समस्याप्रति पहिलेदेखि नै आवाज उठ्दै आएको भए पनि भर्जिना उल्फ, सिमोन द वुभाएर जस्ता सशक्त प्रतिभाहरुको उदयपछि यसले अझै बढी व्यापकता पाउँदै आएको हो । उत्तरआधुनिक साहित्य सिद्धान्तको महत्त्वपूर्ण उपलब्धिका रुपमा नारीवादी सिद्धान्त रहेको छ । यसले कृतिभित्र नारीलाई कसरी प्रस्तुत गरिएको छ भन्ने कुराको विश्लेषण गर्दछ । यस सिद्धान्तमा नारीको अवस्था मात्र चित्रण नगरेर पितृसत्ताले नारीमाथि कसरी दमन गरेको छ, अनेक सामाजिक मिथकहरुले नारीलाई कसरी सीमान्तीकृत तुल्याएको छ भन्ने कुराको साथै नारीले पितृसत्ताका विरुद्ध प्रतिरोध गर्दै आएको अवस्थाको समेत विश्लेषण गर्दछ । नारीवादी सिद्धान्तले कृतिभित्र नारीको उपस्थिति, त्यसमा पितृसत्ताको दमन, नारीको प्रतिरोधका साथै नारीका कृतिमा नारीलाई कसरी प्रस्तुत गरिएको छ भन्ने विषयलाई हेर्दछ (ढकाल, २०७५) ।

प्रस्तुत अध्ययनको विश्लेष्य कथा सीमातीत अस्मिता का लेखक उषा शेरचन(२०१२) हुन् । उनको पहिलो रचना जिन्दगी शीर्षक कविता २०३५ साल असोज ७ गते गोरखापत्रमा छापिएको थियो । उनले कविता, गीत, गजल, कथा उपन्यासजस्ता विधामा कलम चलाएकी छन् । उनका 'नजन्मेका आस्थाहरु' (कविता सङ्ग्रह), 'अक्षरहरुका शिविरबाट' (मुक्तक सङ्ग्रह), 'सर्वकालीन पीडा र जागृतिका शङ्खघोष' (कविता सङ्ग्रह), 'तेस्रो रङ्ग' (कथा सङ्ग्रह) र 'आधि' उपन्यास प्रकाशित छन् । उनी आफ्नो सीप, लगन र योग्यताको प्रदर्शन गर्दै जाँदा रत्नश्री स्वर्ण पदक, व्यथित काव्य पुरस्कार, राष्ट्रिय गौरव युवा सम्मान, प्रज्ञापदक, पारिजात राष्ट्रिय प्रतिभा पुरस्कार, भूपिस्मृति सम्मान, लोकप्रिया पुरस्कारजस्ता सम्मानबाट सम्मानित भएकी छन् । उनका रचनामा नारी स्वतन्त्रता र नारी अधिकारका आवाजहरु उठाइएको पाइन्छ ।
सीमातीत अस्मिता कथामा पारिवारिक घटनालाई विषयवस्तु बनाइएको छ । यस कथामा एउटा पारिवारिक घटनालाई कथामा समेटी नारीका समस्या नारीमाथि भएको अन्याय र नारीले त्यस विरुद्ध गरेको प्रतिरोधलाई कलात्मक ढङ्गले प्रस्तुत गरिएको छ । कथामा म पात्रको एकालापले नारी मनका दमित भावनालाई ओकलेको छ । नारीलाई आमा हुनुमा गर्व हुन्छ । मातृवात्सल्यका लागि नारी जस्तोसुकै प्रसवपीडा सहन तयार हुन्छिन् भन्ने भाव कथामा छ । मातृवात्सल्यका लागि समाजको बन्धनभन्दा बाहिर निस्केर नारीले सङघर्ष गर्न सक्नु पर्छ भन्ने भाव कथामा छ । कथा म नारी पात्र बाहेक म पात्रको श्रीमान्‌को गैरआवासीय साथीले पनि नारीका पीडा शमन गर्न पुरुषले सहयोग गर्नु पर्छ भन्ने विचार प्रस्तुत गरेको छ । प्रस्तुत विश्लेष्य कथा नारी श्रष्टा उषा शेरचनद्वारा लेखिएको र यसबाट नारी श्रष्टाहरुले नारीलाई कसरी साहित्यमा उभ्याउँछन् भन्ने कुरा पनि प्रष्ट भएको छ ।
२. समस्याकथन र उद्देश्य
प्रस्तुत अध्ययनमा सीमातीत अस्मिता कथामा नारीको अवस्थालाई समस्याको रुपमा लिई अनुसन्धान गरिएको छ । यस अध्ययनमा विश्लेष्य कथामा परिवारभित्र नारीको दमन, समाजमा नारीको दमन, पितृसत्ताले नारीमाथि गरेको अन्याय र त्यस विरुद्ध नारीको प्रतिरोधको अवस्थालाई नियाल्ने प्रयास गरिएको छ । जन्मदा नारी र पुरुष छुट्टाछुट्टै जैविक संरचना लिएर आएका हुन्छन् । त्यसैलाई आधार मानेर नारीलाई पुरुषभन्दा कमजोर ठान्ने समाजका परम्परा, संस्कृति, रीतिरिवाज चालचलनका रुपले महिलामाथि हुने अन्याय दमन र अत्याचार प्रकृतिविरोधी देखिन्छ । त्यसको एक मात्र कारण पितृसत्ता हो । तसर्थ उक्त समस्याहरुलाई कथामा अध्ययन विश्लेषण गर्ने उद्देश्यले यो अध्ययन गरिएको छ ।
३. अध्ययनको औचित्य
नारीवादी समालोचनाका आधार निर्माण गरी तिनका आधारमा कथाकार उषा शेरचनको सीमातीत अस्मिता कथाको विश्लेषण तथा मूल्याङ्कन गरिएकाले यस अध्ययनबाट नेपाली समालोचनको क्षेत्रमा नारीवादी चेतनासम्बन्धी मौलिक तथा प्राज्ञिक उपलब्धि थपिने भएकाले यसको औचित्य प्रष्ट हुन्छ । त्यस्तै कृति रचना तथा विश्लेषणका क्षेत्रमा रहेका नारीसम्बन्धी विभेद र दमनको न्युनीकरण गर्नमा पनि यो अध्ययन महत्त्वपुर्ण हुने देखिन्छ । यस अध्ययनले नारीवादी लेखक तथा अध्येताहरुलाई पनि सहयोग पुग्ने देखिन्छ ।
४. अध्ययनको सीमाङ्कन
प्रस्तुत अध्ययन कथाकार उषा शेरचनको सीमातीत अस्मिता कथामा रहेको नारीवादी चिन्तनमा सीमित छ । यस अध्ययनमा पितृसत्ताले पुरुषमाथि गरेको दमन र त्यसविरुद्ध नारीले गरेको प्रतिरोधको अध्ययन, विश्लेषण र मूल्याङ्कन गरिएको छ । कथाका अन्य पक्षका बारेमा चर्चा गरिएको छैन ।
५. अध्ययन विधि
प्रस्तुत अध्ययन गुणात्मक ढाँचा र वर्णनात्मक विधिमा आधारित रहेर गरिएको छ । अध्ययनका लागि तथ्याङ्क सङ्कलन गर्न पुस्तकालय अध्ययन विधि, विश्वविद्यालयको मुडलमा राखिएको सामग्री र केही अनलाइन सामग्रीलाई उपयोग गरिएको छ । यसमा प्राथमिक स्रोत सामग्रीको रुपमा माया ठकुरीको सीमातीत अस्मिता कथालाई प्रयोग गरिएको छ भने । द्वितीय स्रोत सामग्रीको रुपमा नारीवादी लेख, अनुसन्धान, शोधपत्र, शोधप्रबन्ध र पत्रिकाका लेखहरुको प्रयोग गरिएको छ । व्याख्या विश्लेषण गर्न निगमनात्मक विधि र तार्किक प्रक्रियाको उपयोग गरिएको छ ।
६. सैद्धान्तिक पर्याधार
पुरुष दमनको विरोध र शोषणको विरोध गर्दै नारीले पनि पुरुषसरह अवसर उपभोग गर्न पाउनु पर्छ भनी देखा परेको आन्दोलन वा दर्शन नै नारीवाद हो । नारीवादलाई पनि उदारवादी नारीवाद, मार्क्सवादी नारीवाद, आमूल नारीवाद, समाजवादी नारीवाद, मनोविश्लेषणवादी नारीवाद, उत्तरसंरचनावादी नारीवाद, उत्तरआधुनिकतावादी नारीवाद, फ्रायडेली नारीवाद, लकानेली नारीवाद, समलैङ्गिक नारीवाद, अतिवादी नारीवाद, पर्यावरणीय नारीवादमा विभाजन गरेर अध्ययन गर्न सकिन्छ (ढकाल, २०७६)। नारीवादलाई जे जसरी विभाजन गरे पनि लैङ्गिक विभेदका कारण नारीहरु पछाडि परेका छन् त्यसको कारक तत्व पितृसतात्मक सामाजिक संस्था हो भन्ने मान्यता नारीवादले राख्दछ । परम्परागत पुरुष प्रधान मानसिकतालाई तोडेर समाज परिवर्तन गर्नु पर्छ यो नै वास्तविकता हो यसैलाई नारीवादको तत्व मीमांसको रुपमा लिइन्छ ।
समाज रुपान्तरण गरी लैङ्गिक विभेद हटाउनु र नारीहरु पुरुष सरह हरेक कार्यमा सरिक हुनपर्छ भन्ने मान्यता नारीवादको मुख्य मुद्दा हो । यसको लागि स्वयम् नारीहरु सचेत र जागरुक हुनुपर्छ । अधिकार मागेर होइन आवश्यक परे खोस्न सक्नु पर्छ, त्यसको लागि नारीहररुले संघर्ष गर्न पनि पछि पर्नु हुदैन । महिला अधिकार र समानताका लागि सामाजिक संरचना र साँस्कृतिक परम्परालाई समेत तोड्नु पर्छ भन्ने मान्यता नारीवादले राख्दछ । लैङ्गिक विभेद सामाजिक, साँस्कृतिक, राजनीतिक पितृसतात्मक सोच आदि विभिन्न कारणले हुने गर्दछ ।
लैङ्गिक विभेदको मूल आधार सामाजिक संरचना र पितृसतात्मक व्यवहारहरु हुन् । नारीवादले विधि शास्त्रको रुपमा समाज र पुरुषहरुको व्यवहारलाई मुख्य आधार मान्दछ । नारी हक अधिकार प्राप्तिको लागि द्वन्दात्मक विधिलाई प्रयोग गर्छ । पुरातनवादी सोच र सामन्ती संस्कारको विरुद्ध आवाज उठाउने हुनाले तार्किक बहसबाट शैक्षणिक प्रयोजनलाई निक्यौल गर्न सकिन्छ । अतः वास्तविक समाजको विश्लेषण, तार्किक चिन्तन, सशक्तिकरणमा जोड जस्ता प्रक्रियाहरु नारीवादले अवलम्बन गर्छ ।
नारीहरु स्वतन्त्र भएर बाँच्न पाउनु पर्छ, नारी अस्मिताको पहिचान गर्नु, सामाजिक भूमिकामा नारीलाई महत्वका साथ हेर्नु नारीवादको मूल्य हो । समाज रुपान्तरणमा नारीको महत्वपूर्ण भूमिका रहेको देखिन्छ । नारीवादले दर्साउने मूल्यलाई आशावादी सोच, समतामूलक समाज निर्माण, सामाजिक दायित्वमा महिलाको भूमिका, सहकार्य र समविकासमा जोड, तथा महिला सशक्तीकरण भनि उल्लेख गर्न सकिन्छ ।
नारीको पक्षमा गरिने वकालत नारीवाद हो । नारीविरुद्ध लिङ्गकै आधारमा गरिने भेदभाव, सामाजिक, राजनैतिक, आर्थिक तथा वैचारिक शोषण विरुद्ध आन्दोलनका रूपमा स्थापित चिन्तन नारीवाद हो । नारीवाद धेरै पहिलेदेखि आन्दोलनका रूपमा चलेको र बीसौँ शताब्दीको मध्यतिर उत्तरआधुनिक साहित्यको सशक्त आन्दोलनका रूपमा स्थापित भएको पाइन्छ । नारीवादी आन्दोलनमा विशेषतः पाश्चात्य जगत्का नारी प्रतिभाहरूले महत्त्वपूर्ण योगदान दिएका छन् ।
अङ्ग्रेजी शब्द फेमिनिजम्‌ को नेपाली रूपान्तर नारीवाद हो । नारीकेन्द्री सन्दर्भबाट नारीका हक, हित र समानताको पक्षमा आवाज उठाउनुलाई नारीवाद भनिन्छ । विश्वमा प्राचीन समयदेखि नै प्रबल रहेको पितृसत्तात्मक धारणा र साहित्यको पुरुषपरक व्याख्याप्रति प्रश्नचिहृन खडा गर्ने नारीवादले पुरुषद्वारा निर्धारित नारीको स्थान तथा परम्परित मूल्य र स्वरूपको विरोध गरेको पाइन्छ ।
नारीको सामाजिक, आर्थिक एवं सांस्कृतिक स्वतन्त्रता तथा समानताका लागि सञ्चालित राजनीतिक नारीवादी आन्दोलनसँग नारीवादी साहित्य तथा समालोचनाको घनिष्ठ सम्बन्ध छ । नारीहरूका सोचाइ, अनुभव, क्रियाकलाप एवं गतिविधिहरूलाई विशेष महत्त्व दिने नारीवादी समालोचनाले पुरुषद्वारा स्थापित नारीसम्बन्धी समस्त धारणा, दृष्टिकोण, पूर्वाग्रह, मान्यता, कल्पना र साहित्यमा नारीको स्थिर चरित्रचित्रण आदिलाई नकार्दै नारीको वास्तविक अस्तित्व तथा पहिचान कायम गर्न जोड दिएको छ ।
पश्चिमी मुलुकमा नारीमुक्तिको सङ्घर्ष धेरै अघिदेखि चलेको पाइए तापनि नारीवादी आन्दोलन, नारीवादी साहित्य सिर्जना र समालोचनाको वास्तविक थालनी सन् १९६० को दशकपछि मात्र भएको देखिन्छ । त्यस बेलासम्म समाजमा नारीको अवस्था अत्यन्तै दुःखद र प्रतिकूल रहेको पाइन्छ । एरिस्टोटलले केही गुणहरूको कमीका कारण नारी भएको हो भनेर नारीलाई कमजोर साबित गर्न खोजेका छन् । सेन्ट टमस एक्विनसले पनि नारीको खोट देखाउँदै नारीलाई अपूर्ण मानिस भनी उल्लेख गरेका छन् । विश्वप्रसिद्ध मनोविश्लेषक फ्रायडले नारीमा शिश्न ईर्श्या हुन्छ भन्ने सन्दर्भबाट नारीको नियतिलाई शारीरिक बनोटगत अपूर्णताको परिणाम मानेका छन् । नारीवाद यस्तै नारी विरोधी दृष्टिकोणका विपक्षमा देखिएको छ । प्रायः सबै चिन्तक, दार्शनिक, नेता, भविष्यवक्ता, वैज्ञानिक आदि पुरुष भएका कारण नै नारीलाई हीनतर मानेका हुन् भन्ने धारणा नारीवादीहरूले व्यक्त गरेका छन् (लुइँटेल, २०६६)। नारीलाई हीन तुल्याउने कार्य प्रकृतिले नभएर सामाजिक व्यवस्थाले गरेको हो भन्ने दृष्टिकोण नारीवादीहरूको रहेको छ । नारीका यिनै विविध पक्षसँग सम्बद्ध साहित्यलाई नारीवादी साहित्य भनिन्छ ।

१९२० को दशकदेखि नारी आन्दोलनमा भिन्न धारणाको आरम्भ भयो । यसै समयावधिमा भर्जिना उल्फ द रुम अफ वन्स वन (सन् १९२९) कृति मार्फत नारीवादसम्बन्धी नयाँ मान्यताका साथ देखा पर्छिन् । यस कृतिमा पितृसतात्मक समाजबाट भोग्दै गरेको आर्थिक, शैक्षिक तथा सांस्कृतिक प्रतिकूलता छर्लङ्ग पारिएको छ (शर्मा र लुइटेल, २०६३, पृ. ३७२) । नारीवादी आन्दोलन पहिलेदेखि नै आरम्भ भए पनि बिसौँ शताब्दीको आरम्भबाट सशक्त रूपमा अगाडि बढेको हो । भर्जिना उल्फले नारीवादी आन्दोलनलाई नयाँ तरिकाले स्थापित गराएकी छन् । उनले नारीका दृष्टिबाट पितृसतात्मक संरचनाको विपरीत नयाँ संरचनाको खोजी गरेकी छन् ।
नारीवादी आन्दोलनलाई अझ सशक्त बनाउने लेखिका हुन् सिमोन द बुभायर । फ्रान्सेली लेखिका बुभाएरको द सेकेन्ड सेक्स (सन् १९४९) को प्रकाशन पछि त यस आन्दोलनले व्यापक चर्चा पाएको देखिन्छ । बुभाएरले समाजमा नारीको स्थिति र भुमिका बारे प्रश्न उठाउँदै नारीको पहिचान सम्बन्धी विस्तृत समीक्षा गरेकी छन् । पुरुष लेखकका कृतिमा वर्णित नारीसम्बन्धी महान् सामुदायिक मिथकहरूको विश्लेषण गरेकी छन् । नारीलाई समाजमा निम्न, अधीनस्थ र दोस्रो दर्जाका नागरिक तुल्याइएको छ र पितृसतात्मक समाजमा यसै स्थितिलाई कायम राखी नारीमाथि दमन गरिएको छ भन्ने मुख्य निष्कर्ष रहेको छ (शर्मा र लुइटेल, २०७३, पृ. ३७३) । नारी आन्दोलनलाई उचाइ प्रदान गर्न सिमोन द बुभायरको आगमन पछि नयाँ आयाम थपिएको छ । उनले नारीका दृष्टिबाट कृति अलग हुने धारणा राखेकी छन् । पुरुषका कृतिहरूमा सही अर्थमा नारीका भावना नसमेटिने हुनाले नारीका भावना नारीकै कृतिमा मात्र पाउन सकिने विचार बुभाएरले प्रस्तुत गरेकी छन् ।
फेमिनिजम एण्ड डिकन्स्ट्रक्सनमा डायन एलमको उद्गार छ कि स्त्रीवाद र विसङ्घटनको मिलन हामीलाई नारीको असिम सम्भावनामा सचेत पार्छ । नारीलाई कहिल्यै रित्तिने गरी देखाउन सकिँदैन, नारीसम्बन्धी सोचलाई एकल, अविभाजित, अधिनतामा ल्याउन सकिँदैन (गौतम, २०६४, पृ.११८) । नारीका बारेमा अनेक धारणाहरू साहित्यिक कृतिमा आउँछन् तर नारी यही नै हो भन्न सकिँदैन, ऊ भित्र असीम सम्भावनाहरू रहेका हुन्छन् । नारीसम्बन्धी सोचलाई बहु दृष्टिबाट हेर्नु पर्ने धारणाको विकास पनि पछिल्लो समयमा विकास हुँदै आएको छ ।
नारी केन्द्रित परिप्रेक्षबाट नारी हक, हित र समानताको पक्षधरतालाई नारीवाद भनिन्छ । पुरुषद्वारा स्थापित नारीसम्बन्धी समस्त धारणा, दृष्टिकोण, पूर्वाग्रह, मान्यता, कल्पना र साहित्यमा नारीको स्थिर चरित्र आदिलाई नकार्दै यसले नारीको वास्तविक अस्तित्व तथा पहिचान कायम गर्ने तर्फ दह्रो पाइला चालेको छ (शर्मा र लुइटेल, २०६३, पृ.३७१) । नारीका बारेमा पुरुषद्वारा स्थापित मान्यतालाई अस्वीकार गर्दै नारीकै दृष्टिबाट कृतिको मूल्याङ्कन गर्नु पर्ने धारणा यस भनाइमा रहेको छ ।
नारीवादी चिन्तन र आन्दोलनको पश्चिमी इतिहास दुई सय वर्षभन्दा लामो रहेको छ । यसको आरम्भ र विकास पश्चिममा भए पनि बिसौँ शताब्दीको उत्तरार्द्धमा आइपुग्दा यसले विश्वव्यापी रूप ग्रहण गरेको पाइन्छ । दुई शताब्दीभन्दा लामो नारीवादी चिन्तन र आन्दोलन विभिन्न दृष्टिकोण र प्रवृत्तिहरू पनि देखापरेका छन् (गिरी, २०६९, पृ.३३) । पाश्चात्य जगतमा फैलिएको नारीवादी आन्दोलनले दुई सय वर्ष पार गरिसक्दा विभिन्न मोडहरू पार गर्दै अगाडि बढेको छ । यसमा नयाँ नयाँ सोच र चिन्तनहरूको विकास भएका छन् । कतिपय समालोचक नारीको सही चित्रण नारीका रचनामा मात्र प्राप्त गर्न सकिने धारणा राख्छन् भने कतिपय पुरुषका रचनामा प्रस्तुत नारीहरूको अवस्थाका बारेमा पनि विश्लेषण गर्दछन् । समय अनुसारका विविध चरणहरू पार गर्दै नारीवाद विश्व साहित्य समालोचनामा स्थापित भएको सिद्धान्त हो ।
सृष्टिको आदिकालदेखि मानव समाजको विकासमा महिला र पुरुषको समान उपस्थित देखिए पनि विविध कारणले महिलाभन्दा पुरुषको अवस्था निकै राम्रो देखिन्छ । समयक्रमसँगै परिवर्तनका अनेकौँ खाका कोरिए तर महिलाको अवस्था अनेकौँ सामाजिक, पारिवारिक र परम्परागत रूढीवादी सांस्कृतिक झमेलाले अल्झिरह्यो । परिवर्तनका प्रयासहरू रोकिएनन् । जसको फलस्वरूप एक्काइसौँ शताब्दीमा आएर मात्र महिला नारीसत्तामा सचेत भई आफूलाई परिष्कृत तुल्याउँदै समानान्तर आकाशको खोजी गर्न सकेका हुन् (महर्जन, २०७३, पृ.२८) ।
नारीवाद नारीका पक्षमा अर्थात् नारीले भोगेका तमाम जीवन पद्धतिलाई केन्द्रमा राखेर हेरिने दृष्टिकोण हो । दुई सय वर्षभन्दा पुरानो नारी आन्दोलनको निरन्तरताको परिणाम स्वरूप नारीवादको विकास भएको पाइन्छ । पछिल्लो चरणको नारीवाद नारीका पक्षमा मात्र नभई नारीको दृष्टिबाट समग्र समाज र मान्यता तथा दर्शनलाई हेर्ने पद्धतिका रूपमा रूपान्तरण हुँदै आएको छ । उत्तर आधुनिक साहित्यले सम्भावनाका अनेक ढोकाहरू खोलि दिएको बखतमा नारीवादले पनि नारीका अनेक सम्भावनाहरूको खोजी गर्न थालेको छ । नारीका कृतिमा नारीको अवस्था केलाउने पद्धतिका रूपमा उत्तर आधुनिक समालोचनाको एउटा महत्त्वपूर्ण अङ्ग बनेर यो समालोचना पद्धति विकास हुँदै गएको छ । यसै पद्धतिको उपयोग गरी सीमातीत अस्मिता कथामा नारीमाथि परिवार र समाजको दमन, पितृसत्ताको प्रतिरोध, पितृसंरक्षकत्वको प्रतिरोध र नारी प्रजननसम्बन्धी कुरामा आधारित रही यो अध्ययन कार्य गरिएको छ ।
७. सीमातीत अस्मिता कथामा नारी
प्रस्तुत अध्ययनमा सीमातीत अस्मिता कथालाई नारीवादी दृष्टिकोणबाट अध्ययन, विश्लेषण र मूल्याङ्कन गरिएको छ । उक्त कथामा परिवार, समाज र पुरुष वर्गले नारीमाथि हेर्ने दृष्टिकोण र नारीमाथि भएका दमन, अन्याय अत्याचार र त्यसविरुद्ध महिलाले गर्ने प्रतिरोधलाई अध्ययनीय विषयवस्तु बनाइएको छ। नारी सिद्धान्तका विभिन्न दृष्टिकोणबाट कथाको अध्ययन गर्न सकिने भए तापनि प्रस्तुत अध्ययनमा सीमातीत अस्मिता कथामा रहेको नारी दमनको विरोध र नारी दमन विरुद्धको प्रतिरोधको अवस्थाको विश्लेषण गरिएको छ ।
७.१ सीमातीत अस्मिता कथामा नारी दमन
सीमातीत अस्मिता कथामा पारिवारिक घटनालाई कथावस्तु बनाइएको छ । परिवारभित्र नारीले केकस्ता उत्पीडन सहेर बस्नु पर्दछ । पितृसत्तात्मक सोचका कारण निर्दोष महिलालाई पनि दोषी देख्ने यो समाजलाई कसरी आफ्नो सही पहिचान दिन नारीले परिस्थितिअनुसार जुनसुकै प्रकारका जोखिम पनि लिन सक्नुपर्ने देखिन्छ । कथामा नारी पात्रलाई प्रमुख पात्रको भूमिकामा राखी २१ औँ शताब्दीमा पनि नारीले भोग्नु परेको समस्यालाई कलात्मक शैलीमा प्रस्तुत गरिएको छ । यस कथाकी नारी पात्रले भोग्नु परेको दमनलाई यसप्रकार प्रस्तुत गरिएको छः
७.१.१ परिवारभित्र नारी दमन
कुनै महिला पुरुष कुनै न कुनै परिवारको सदस्य हुन्छ । यस सांसारिक मानवीय समाजमा अवस्थित महिला पुरुषका हरेक सामाजिक संस्थाहरुमा परिवार एक आधारभूत तथा सर्वव्यापी संस्थाको रुपमा रहेको छ । परिवारले मानवजातिको आत्मसंरक्षण सम्बर्द्धन तथा जातीय जीवनलाई निरन्तरता प्रदान गर्दछ भने परिवारमा नै महिला र पुरुष बीचमा वंशजको निरन्तरता चिरकालसम्म जीवित रहेको हुन्छ (श्रेष्ठ, चौलागाईं र सापकोटा, २०६६, पृ. ८६) । नारीवादीहरुका विचारमा परिवार नै नारी दमनको प्रमुख केन्द्र हो । जहाँ परिवारबाटै नारीमाथि दमन र शोषण हुने गरेको छ । जसरी वर्ग दमनको केन्द्र कारखाना हो त्यसै गरी नारी दमनको केन्द्र परिवार हो। परिवार नै नारीका लागि दमन, उत्पीडनका जडसूत्रका रुपमा रहेको छ । परिवारभित्रको कुरालाई निजी मामला भनी प्रायः बाहिर नल्याउने सोचाइ छ त्यो नै महिलाका लागि सबैभन्दा घातक देखिन्छ । जुन ठाउँमा नारी विरुद्ध हिंसा, उत्पीडन दमनले गर्दा नारीहरु यातनापूर्ण जीवन व्यतित गर्न बाध्य हुन्छन् त्यस ठाउँको सार्वजनिक सरोकारमा प्रतिवन्ध वा गोप्य राखिनु आजको समाजमा हास्यास्पद देखिन्छ ।
परिवारमा नारीमाथि विभिन्न बहानामा दमन गरिन्छ । यदि परिवारमा नारीमाथि दमन नहुने हो भने अन्य ठाउँबाट पनि दमनको प्रक्रिया रोकिन्छ । प्रस्तुत कथामा पनि नारी र पुरुषबीच परिवारभित्र कसरी भेदभाव हुन्छ भन्ने कुरा देखाइएको छ ।
"म एकदमै ठीक छु, स्वस्थ छु, मैले जँचाउनै पर्दैन ।"
प्रस्तुत भनाइ म पात्रको श्रीमान्‌को हो । परिवारमा सन्तान नहुनमा पुरुषको कुनै दोष हुन्न, पुरुष पूर्ण हुन्छ, सबै दोष नारीको हो भन्ने मान्यता देखिन्छ । पुरुषले जचाउनै नपर्ने भनेपछि नारीले उसलाई जँचाउन बाध्य पार्न सक्ने अवस्था देखिन्न ।
"मेरो परिवारका अन्य सदस्यहरुले नकारात्मक ढङ्गले प्रचार–प्रसार मात्रै गरेका थिएनन् कि यसो मिलेमा बरू आफ्नो साथीलाई सम्झाएर दोस्रो विवाह गराइदिनुपर्‍यो भन्नसमेत पछि परेका थिएनन् । घरतिरका सबै सदस्यहरुले मप्रति पालिराखेको नकारात्मक सोच बुझेर हो वा अपहेलित जीवन भोगेको देखेर हो, उहाँले मप्रति झन् धेरै सहानुभूति र आत्मीयता पो खन्याउनुभयो ।"
उक्त भनाइ म पात्रको हो । उक्त भनाइबाट पनि घरपरिवारका सदस्यले बच्चा नजन्मनुमा म पात्रलाई नै दोष दिएको देखिन्छ ।
"यो समाचारले मेरो घरमा खुसीको बाढी नै उर्लेको छ । थाम्नै मुस्किल पर्लाजस्तो गरी । सबैको ध्यान मप्रति नै केन्द्रित भएको छ । विशेष गरी मेरा श्रीमान्, उहाँले त झन् मेरो खानपानमा विशेष ध्यान पुर्‍याउने मात्र नभई बेलाबेलामा चेकअपका लागि डाक्टरकहाँ पुर्‍याउने, डाक्टरसँग विचार–विमर्श गर्ने, त्यसभन्दा पनि अझै नयाँ बाबुआमाले बच्चाको स्याहार–सुसारमा जान्नुपर्नेजस्ता पुस्तकहरु किनेर पढ्ने आदिआदि गर्न थाल्नुभएको छ ।"
उक्त भनाइ म पात्रको आत्मालाप हो । यसबाट पनि नारीलाई सन्तान जन्माउनकै लागि बिहे गरिएको जस्तो देखिन्छ किनकी म पात्रले गर्भधारण गर्नुभन्दा पहिले र पछिको उनीमाथि उनका श्रीमान्‌ले गरेको व्यवहार फरक छ ।
"छोरो जन्मेपछि मेरो सारा संसार छोरामै सीमित रह्यो । म निमग्न भएर छोराकै स्याहार–सुसारमा लीन भइरहे।"
प्रस्तुत भनाइ पनि म पात्रकै हो । यसबाट पनि नारीले सन्तान जन्माउने, हुर्काउने काम हो उनी त्यसैमा तल्लीन हुनपर्छ भन्ने मान्यताले उनी घरमै र छोराकै सेवामा सीमित छन् ।
"तपाईं आधा मात्रै लोग्नेमान्छे भएर पनि पूर्ण भएर बाँचिरहनुभएको थियो भने म पूर्ण स्वास्नीमान्छे भएर पनि आधा भएर बाँच्न अभिशप्त थिएँ ।"
"यदि तपाईंको सट्टा मेरोतर्फबाट बच्चा हुन नसकेको भए तपाईंले म भनेरै सन्तान सुखबाट वञ्चित भएर बस्न सक्नुहुन्थ्यो होला त! अर्की श्रीमती ल्याएर वा रखौटी नै राखेर भए पनि तपाईंले सन्तान सुख प्राप्त गर्नु हुने थिएन होला त ! आत्मासाक्षी राखेर भन्नुहोस् त।"
म पात्रका यी भनाइबाट पनि परिवारमा लोग्ने स्वास्नीबीच भेदभाव छ । जसमा महिला बढी पीडित देखिन्छन् । नारीको दोष भएमा उनीहरु दण्डित हुनपर्ने तर पुरुषको दोष भएमा ढाकछोप गर्नुपर्ने पितृसत्तात्मक सोच परिवारभित्र देखिन्छ ।
७.१.२ समाजमा नारी दमनको अवस्था
संसारका हरेक समाजका आआफ्नै प्रकारका नियम हुन्छन् । तिनै नियमहरुबाटै समाज निर्देशित भएको हुन्छ । जसलाई समाजले स्वीकारेको हुन्छ र त्यसको पालना नारी पुरुष सबैले गरेका हुन्छन् । नियमले मानवीय व्यवहारलाई नियन्त्रण गर्नुका साथै उचित अनुचित भनी छुट्याएको हुन्छ । नीति नियमको पालना गर्दा समाजले उचित पुरस्कार प्रशंसा र उलङ्घन गर्दा दण्ड दिन्छ भने त्यसलाई आदर्शीत नियम भनिन्छ । तिनै आदर्शीत नियमले नारी र पुरुषलाई पथप्रदर्शकको काम गरेको हुन्छ (श्रेष्ठ, चौलागाईं र सापकोटा, २०६६, पृ. ८१) । यी नियमहरु नारी र पुरुषका लागि कुनै समान हुन्छन् भने कुनै विभेदित हुन्छन् । तिनै विभेदित नियमका कारण नारीलाई समाजले दमन गरेको हुन्छ । सीमातीत अस्मिता कथामा परिवार बाहिर समाजमा पनि नारी दमन भएको देखाइएको छ । नारीमाथि सामाजिक नैतिकता, आदर्श, संस्कृति आदिका नाममा दमन हुने गरेको उल्लेख छ । समाजमा नारीमाथि दमन हुने गरेको कुरा उक्त कथामा विभिन्न प्रसङ्गमा पाउन सकिन्छ ।
"किन बाँझी आइमाईको पगरी गुँथिरहने भन्ने पनि लाग्थ्यो।"
"कुनै पनि स्वास्नीमान्छे आमा नबनेसम्म अपूर्ण नै हुन्छन् । तर बाँझी हुनु पूर्वजन्मको पाप हो, बाँझी आइमाईको मुख हेर्दा साइत बिग्रन्छ भन्ने समाजको नकारात्मक टीका–टिप्पणी र लाञ्छनाका तीखा बाण मुटुमै रोपिन आउँदा भने म कति मर्माहत हुन्थेँ ।"
"एक्काइसौँ शताब्दी लागिसक्दा पनि सन्तान नहुनाको प्रमुख कारण स्वास्नीमान्छेलाई मान्ने पुरातन अवधारणाबाट मुक्त हुनै चाहँदैनन् कोही पनि । सारा दोष मजस्ता स्वास्नीमान्छेको टाउकोमा थुपारेर आफूहरू भने दोषमुक्त भएर हिँड्न चाहन्छन् लोग्नेमान्छेहरु ।"
"हाम्रो गृहस्थीको गाडी चलिरहको बेला उनै गैरआवासीय साथीले पठाउनुभएको इमेलपछि त्यसमा अचानक ब्रेक लागेको छ । हाम्रो गृहस्थीमा ठूलै भुइँचालो गएको छ । सुनामी नै उठेको छ जसलाई थाम्ने सामथ्र्य ममा जुटिरहेको छैन । यो भुइँचालोले, यो सुनामीले मेरो गृहस्थीलाई तहसनहस गर्ने प्रायः निश्चितै छ ।"
"तर तपाईं पुरूषहरुले चाहिँ बाँझोपन सिर्फ आइमाईबाट मात्रै हुनेझैँ गरी समाजमा भ्रम फैलाउँदै आफ्ना गल्तीलाई लुकाउँदाचाहिँ गल्ती नहुने ! स्त्रीले चाहिँ जे गर्दा पनि गल्ती हुने ! सजाय भोग्नै पर्ने ! मैले पनि त्यही समाजमा गएर म बाँझी होइन, बरू मेरो श्रीमान् नै बाँझो हुनुहुन्छ भनेर ढ्याङ्ग्रो ठटाउँदै हिँडेकी भए ! तपाईंको पुरूषत्वको खिल्ली उडाएको भए ! तपाईंले के गर्न सक्नुहुन्थ्यो !"
"सरोगेट मदर स्वीकार्न सक्ने समाजले सरोगेट फादर पनि त स्विकार्ने हिम्मत गर्नु पर्‍यो नि !!"
"लोग्नेमान्छेले जे गरे पनि छुट हुने त्यही कुरा स्वास्नीमान्छेले गर्दा भने पाप हुने ! एक्काइसौ“ शताब्दी टेकिसक्दा पनि उही सदियौँदेखिकै भेदभाव किन सहिरहनुपर्ने ! दोस्रो दर्जाको नागरिक हुनाको पीडा कतिन्जेल भोगिरहनुपर्ने !"
"तपाईंको नाउँको बैशाखीबिना पनि मज्जाले हिँड्न सक्छु म ।"
प्रस्तुत कथनहरु संवाद वा एकालापका रुपमा म पात्रबाटै व्यक्त गरिएका हुन् । यसबाट समाजले नारी र पुरुषप्रति हेर्ने दृष्टिकोण छर्लङ्ग भएको छ । जसमा पुरुषले जे गर्दा पनि समाजले सहज रुपमा स्विकार्ने तर महिलाले त्यही कुराका लागि दण्डित हुनुपर्ने अवस्था देखाइएको छ । समाजले नारीलाई बाँझीको संज्ञा दिन्छ तर दोष कसको हो खोज्दैन । सरोगेट मदर स्विकार्ने समाज सरोगेट फादर स्विकार्दैन । नारीले पुरुषको वैशाखी भएर हिँड्नु पर्ने बाध्यता समाजले बनाएको छ । यसप्रकार समाजले नारीमाथि गरेको दमन यी कथनहरुबाट स्पस्ट भएको छ ।
७.२ सीमातीत अस्मिता कथामा नारीको प्रतिरोध
सीमातीत अस्मिता कथमा एउटा पारिवारिक घटनालाई प्रस्तुत गरी त्यसमा माध्यमबाट नारी दमनका अवस्थाको उल्लेख गरिएको छ । यस कथामा म पात्रका माध्यमबाट लेखकले नारी दमनको प्रतिरोध गरेकी छन् । यसप्रकारको प्रतिरोधले नारीलाई पुरुषसरह बाँच्न पाउने अधिकार प्राप्त गर्नका लागि सहयोग पुग्ने देखिन्छ ।
७.२.१ पितृसत्ताविरुद्ध प्रतिरोध
सामान्य अर्थमा ‘पितृसत्ता’ भन्नाले ‘सत्तामा पिताको अधिकार’ भन्ने हुन्छ । लैङ्गिक अध्ययनका सन्दर्भमा पितृसत्ता भन्नाले सामाजिक संस्था र अभ्यासका सबै प्रक्रियाहरूमा पुरुषको महिलामाथिको अधीनता तथा परम्परागत र व्यवस्थित दमन बुझिन्छ जसका परिवारमा पुरुष मुख्य हुन्छ, उसकै अधीन चल्छ र ऊ उच्च स्थानमा रहन्छ (बार्कर, २०००, पृ.३८८) । तर वास्तवमा पितृसत्ता भनेको महिलामाथि हुने दमन र उत्पीडन हो चाहे त्यो पुरुषले महिलामाथि वा महिलाले नै महिलामाथि किन नगरोस् । जुन संस्थागत रुपमा विकास हुँदै आएको हुन्छ जसमा दमन गर्नेलाई पनि आफूले दमन गरेको थाहा नहुन सक्छ र दमित हुनेलाई पनि आफू दविएको बोध हुन वा नहुन सक्छ (श्रेष्ठ, चौलागाईं र सापकोटा, २०६६, पृ. १४) । प्रस्तुत सीमातीत अस्मिता कथामा पनि पितृसत्ताको प्रभुत्वका कारणले नारीहरुलाई दमित बनाएको विषयमा केन्द्रित छ । कथामा नारीलाई दमन गरिएको मात्र नभई त्यसका विरुद्ध म पात्रका माध्यमबाट सशक्त ढङ्गले आवाज पनि उठाइएको छ । पुरुष सत्ताले निर्माण गरेका नारी विरोधी मान्यताहरुलाई भत्काउन पनि नारीहरु अग्रसर हुनुपर्ने मान्यता यस कथामा प्रस्तुत छ ।
‘"त्यस्तो खराबी केही देखिन्न, बरू एकपटक तपाईंको श्रीमान्‌लाई पनि साथै लिएर आउनुहोस् अनि दुबैको स्वास्थ्य परीक्षण गरेर मात्र भन्न सक्छौं कसको तर्फबाट नभएको हो भनेर’ भन्ने गर्थे ।"
डाक्टरको उक्त कथनबाट म पात्र आफै एक्लै श्रीमान्‌को सहयोगबिना डाक्टरलाई जचाउन जानु पितृसत्ता विरुद्धको कदमका रुपमा हेरिन्छ ।
"मनभित्र आमा बन्ने चाहना यति हदसम्म थियो कि मैले जुनसुकै मूल्य चुकाउन परे पनि पछि हट्नेवाला थिइनँ । पत्नी–धर्मलाई ममताको मोहले यस्तरी छोप्यो कि एकैछिनका लागि म पनि पत्नीधर्मबाट विमुख भएँ ।"
"जीवनमा म मात्र एक पटक, त्यो पनि मेरा लागि मात्रै नभएर हामी दुबैका लागि पत्नीधर्मबाट विचलित भएँ, केवल सन्तानप्राप्तिका लागि ।"
"एकैछिनका लागि मैले मेरो यो देह तपाईंको साथीलाई सुम्पेँ ।"
"लोग्नेमान्छेले जे गरे पनि छुट हुने त्यही कुरा स्वास्नीमान्छेले गर्दा भने पाप हुने ! एक्काइसौ“ शताब्दी टेकिसक्दा पनि उही सदियौ“देखिकै भेदभाव किन सहिरहनुपर्ने ! दोस्रो दर्जाको नागरिक हुनाको पीडा कतिन्जेल भोगिरहनुपर्ने !"

म पात्रका उक्त कथनबाट उनी आमा बन्नका लागि पितृसत्ताले निर्माण गरेका जुनसुकै पर्खाल पनि नाघेर अघि बढ्न तयार भएको देखिन्छ । चाहे पत्नीधर्म गुमाउन किन नपरोस् । नारी आमा बन्न वा आफू निष्कलङ्कित बन्न पितृसत्ता विरुद्ध प्रतिरोध गर्न तयार हुनुपर्छ । यसप्रकार उक्त कथनका आधारमा यो कथामा नारी पितृसत्ताको प्रतिरोधमा उत्रिएको देखिन्छ ।
७.२.२ पुरुषको संरक्षकत्वका विरुद्ध प्रतिरोध
पितृसत्ता पुरुषको वंशपरम्परामा आधारित हुन्छ भने नारीहरु पुरुषको इशारा, आज्ञा, आदेश र निर्देशनमा चल्दछन् र पुरुषको अधीनता स्वीकार गर्न बाध्य हुन्छन् । नारीहरुले पुरुषको संरक्षकत्वमा जीवन बिताउनु पर्ने पितृसत्तात्मक सोचका कारण उनीहरु दोस्रो दर्जाको नागरिकका रुपमा बाँच्न विवश छन् । पुरुष नारीको संरक्षक हो पुरुषविना नारीको जीवन अधुरो हुन्छ । नारीको सहाराका लागि पुरुष अनिवार्य हुन्छ भन्ने सोचका कारण नै नारी दमन र उत्पीडनमा परेका छन् । प्रस्तुत सीमातीत अस्मिता कथामा नारी पात्र (म) ले पुरुष संरक्षकत्वको विरुद्धमा प्रतिरोध गरेको चित्रण गरिएको छ । नारीहरु पुरुषविना पनि बाँच्न सक्छन् पुरुषको संरक्षकत्व अनिवार्य छैन भन्ने भाव कथामा यसप्रकार देखिन्छ ।
"यदि आज मैले तपाईंलाई, तपाईंको गृहस्थीलाई वा यो घरको सङ्घारलाई समेत नाघेर जानुपरे पनि मनमा कुनै अपसोच हुने छैन मलाई । तपाईंको नाउँको बैशाखीबिना पनि मज्जाले हिँड्न सक्छु म । आमा बन्ने सौभाग्य प्राप्त हुनु नै पर्याप्त भएको छ मलाई । किनकि म पूर्ण स्वास्नीमान्छे भएकी छु, ‘म’ हुनुको अर्थ भेटेकी छु । सही मानेमा मेरो नयाँ जन्म भएको छ, अर्थात् मैले पुनर्जन्म पाएकी छु । त्यसैले आफूले गरेको गल्तीप्रति कुनै पछुतो छैन मलाई । केही छ भने आफू छु र आफूभित्र नयाँ उमङ्ग छ, नयाँ उत्साह छ, नयाँ जोस र जाँगर छ । बाहिर खुला आकाशले हात फैलाउँदै मलाई बोलाइरहेको छ, त्योभन्दा पनि ठूलो कुरा त मसँग मेरो छोरो छ ।"
उक्त कथन कथाकी प्रमुख पात्र 'म' का हुन् । नारीले पुरुषको थिचोमिचो सहेर जहिले पनि बसिरहनु पर्ने छैन । पुरुषको वैशाखीबिना नै नारीले आफूलाई अगाडि बढाउन सक्छन् भन्ने नारी पात्रको भनाइबाट नारी पुरुषको संरक्षकत्वका विरोधमा प्रतिरोध गरेको देखिन्छ ।

७.३ सीमातीत अस्मिता कथामा नारीको प्रजनन् अधिकार
पितृसत्तात्मक समाजमा नारीको प्रजनन् क्रियामा समेत आफ्नो स्वनिर्णय हुँदैन । सन्तान कति जन्माउने, के जन्माउने, कहिले जन्माउने, कुन समयमा यौन सम्पर्क गर्ने, परिवार नियोजनका साधन प्रयोग गर्ने वा नगर्ने जस्ता थुप्रै कराहरुको निर्णय पुरुषको अधीनमा हुन्छ । सन्तान जन्मेन भने नारीलाई नै दोष दिइन्छ, कसको कमजोरी हो खोजी गरिँदैन । पुरुषलाई पुरुषत्वका अहङ्कार हुन्छ । सीमातीत अस्मिता कथामा पनि नारी प्रजनन् अधिकारको लागि नारीलाई सशक्त रुपमा समाजको साँघुरो घेराबाट माथि उठी पुरुषका विरुद्ध प्रतिरोध गर्न लगाइएको छ । सरोगेट मदर स्विकार्ने समाजले सरोगेट फादर स्विकार्न नसकेकोमा म पात्रको आपत्ति देखिन्छ । सन्तान प्राप्तिका लागि उनी यति लालायित छन् त्यसका लागि उनी जुनसुकै मूल्य पनि चुकाउन तयार देखिन्छिन् ।
"काख भरिएला भनेर बाह्र वर्षसम्म मैले के–के पो गरिनँ होला ! तर जे गर्दा पनि, जहाँ जाँदा पनि हात लाग्यो शून्य मात्रै ।"

"धामी, झाँक्री, आयुर्वेदिक, आधुनिक चिकित्सा पद्धतिका अनेक दबाइले नभएर तान्त्रिककहाँसमेत धाउन बाँकी राखिनँ, पैसाको खोलो बगाउँदासमेत मेरो केही लागेन ।"

"मनभित्र सधैँ एक प्रकारको मोह जागिरहन्थ्यो, आफैं गर्भवती भएर हरेक क्षण आफूभित्रको भ्रूण विकसित भएको आफैले आत्मसात् गर्न चाहन्थेँ । पूर्ण रुपमा आमा हुनुको अनुभव र अनुभूति सँगाल्न चाहन्थेँ । आमा हुनुको गौरव प्राप्त गर्न चाहन्थेँ म । अर्काको कोख भाडामा लिने वा सौता हाल्ने अनुमति यो मनले नदिँदा नदिँदै पनि आमा बन्ने लालसा यति तीव्र थियो कि जसरी पनि तिर्खा मेट्न पाए हुन्थ्यो भन्ने मात्र लागिरहन्थ्यो । आमा बन्ने अभीप्साले सधैँ छोपिरहन्थ्यो ।"

"मनभित्र आमा बन्ने चाहना यति हदसम्म थियो कि मैले जुनसुकै मूल्य चुकाउन परे पनि पछि हट्नेवाला थिइनँ ।"
"जीवनमा म मात्र एक पटक, त्यो पनि मेरा लागि मात्रै नभएर हामी दुबैका लागि पत्नीधर्मबाट विचलित भएँ, केवल सन्तानप्राप्तिका लागि । एकैछिनका लागि मैले मेरो यो देह तपाईंको साथीलाई सुम्पे ।"

उक्त कथनहरु कथाकी प्रमुख नारी पात्र (म) का हुन्। यी कथनहरुबाट के कुरा प्रस्ट हुन्छ भने परम्परागत रुपमा पुरुषमा मात्र रहेको प्रजननको अधिकार नारी स्वयम्‌ले लिन सफल भएकी छन् । सन्तान नजन्मनुमा आफ्नो दोष नभएको डाक्टर, धामी, झाँक्रीले भनिरहँदा पनि श्रीमान्‌ले त्यसमा साथ नदिए पछि एकल रुपमा सन्तान जन्माउने निर्णय म पात्रले लिएको देखिन्छ । उसले सन्तानका लागि जुनसुकै कठिन परिस्थितिको सामना गर्नु परे पनि तयार भएको बताएकी छन् । यसप्रकार पितृसत्ताको सोचअनुसार पुरुषमा मात्र रहेको प्रजनन् अधिकार नारीले प्रयोग गरेका कुरा कथामा प्रस्तुत छ ।
८. निष्कर्ष
सीमातीत अस्मिता कथामा पारिवारिक घटनालाई लिएर परिवारभित्र र समाजमा नारीले भोग्नु परेका दमन र नारी शोषणको विरुद्ध आवाज उठाइएको छ । यस कथामा नारी दमनको अवस्था मात्र नदेखाई त्यसका विरुद्ध सशक्त आवाज पनि उठाइएको छ । कथामा नारीवादले उठाएका नवीनतम विचार पनि प्रस्तुत छन् । सन्तान नजन्मिँदा नारीलाई मात्र दोष दिने पितृसत्तात्मक सोचको कारण नारीहरु कसरी प्रताडित छन् भन्ने कुरा कथामा प्रस्तुत गरी त्यस विरुद्ध प्रतरोध गर्नुपर्ने विचार व्यक्त छ । मातृवात्सल्यका लागि नारीहरु जुनसुकै मूल्य चुकाउन पनि तयार भएको देखाइएको छ । पितृसत्तात्मक सोचका कारण सरोगेट मदर स्विकार्ने तर सरोगेट फादर नस्विकार्ने समाज प्रति व्यङ्ग्य गरिएको छ । एक्काइसौँ शताब्दीमा आएर पनि हरेक कुरामा नारीलाई मात्र दोष दिने समाजका विरुद्ध नारी आवाज उठ्नु पर्ने विचार कथामा प्रस्तुत छ । घरपरिवारभित्र नारीमाथि गरिने दमनका रुपमा श्रीमान्‌ले म पात्रको स्वास्थ्य जाँच गराउनुपर्ने अनुरोध नस्विकारेको बाट प्रष्ट हुन्छ । सन्तान नजन्मेपछि नारीलाई मात्र दोष दिने, नारीलाई बाँझीको संज्ञा दिने, गर्भको बच्चा छोरा वा छोरी के छ भनी जाँच गराउन खोज्ने, सरोगेट फादर नस्विकार्नेजस्ता सोचले समाजले नारीमाथि गरेको दमन देखिन्छ । नारीहरु त्यसप्रकारका दमन विरुद्ध उत्रेर सन्तान उत्पादनमा श्रीमान्‌को सल्लाहबिना निर्णय लिनु, समाजलाई सरोगेट फादर स्विकार्न चुनौती दिनु, नारीको कमजोरीले मात्र सन्तान नहुने नभई पुरुषका कारण पनि सन्तान नहुने कुरा बताउन सक्नु र प्रजननमा आफ्नो निर्णय आफै लिनुलाई नारी आवाजहरु कथामा सुरुदेखि अन्त्यसम्म बुलन्द रुपमा उठेको देखिन्छ । यसप्रकार उक्त कथामा नारीलाई सधै अन्याय, अत्याचार, शोषण र दमन मात्र नबसी आफ्नो अधिकारका लागि आफै जागरुक हुनुपर्ने भाव व्यक्त भएको छ ।

सन्दर्भ सामग्री सूची
उप्रेती, सञ्जीव (२०६८). सिद्धान्तका कुरा. काठमाडौँ: अक्षर क्रियसन्स नेपाल ।
गिरी, अमर (२०६९). “नारीवादी आन्दोलन र साहित्य चिन्तन”. गरिमा, ३०(७) ।
गौतम, कृष्ण (२०६४). उत्तरआधुनिक जिज्ञासा. काठमाडौँ: भृकुटी एकेडेमी पब्लिकेशन ।
ढकाल, रजनी (२०७६). नारीवादः परिचय र नारी जागरणको इतिहास. नेखुवि को मुडलमा राखिएको अप्रकाशित पाठपत्र ।
बार्कर, क्रिस (सन् २०००). कल्चरल स्टडिज. लन्डनः सेज पब्लिकेसन ।
महर्जन, कान्छी (२०७३). “नेपाली नाटकमा नारी हस्ताक्षर”. मधुपर्क, ४९ (४) ।
लुइँटेल, लीला (२०६६ चैत). समीक्षाः महिला लेखन र नारीवादी नेपाली उपन्यास. मधुपर्क downloaded June 30, 2020. https://sahityasangraha.com/2017/10/06.
शर्मा, मोहनराज र खगेन्द्रप्रसाद लुइटेल, (२०६१). पूर्वीय र पाश्चात्य साहित्य सिद्धान्त. काठमाडौँः विद्यार्थी पुस्तक भण्डार ।
शेरचन, उषा (). सीमातीत अस्मिता . Downloaded June 28, 2020. https://www.facebook.com/640106116/posts/10157812920526117/?d=n.
श्रेष्ठ, केशवकुमार, चौलागाई, तिलकप्रसाद र सापकोटा, केशवराज (२०६६). लैङ्गिक अध्ययन (तेस्रो संस्क.). काठमाडौः एकेडेमिक बुक सेन्टर ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 11 भाद्र, 2077

लेखकका अन्य रचनाहरु