बन्दाबन्दीकेन्द्री नेपाली परिवेश: ‘बस्तीमा आगो’

- डा.लेखप्रसाद निरौला

क. विषयपरिचय
कवि वासुदेव अधिकारीको आठौँ कृतिका रूपमा ‘बस्तीमा आगो’ कवितासङ्ग्रह प्रकाशित भएको छ । यो २०७६ साल चैत्र ०२ देखि २०७७ साल श्रावण ५ गतेसम्म लेखिएका एकसट्ठीओटा गद्यकविताहरूको सङ्ग्रह हो । यसमा बन्दाबन्दीको अवधिभित्र प्रायः हरेक दिनजसो लेखिएका कोरोना प्रभावित विषयमा आधारित कविताहरू समेटिएका छन् । चीनदेखि पश्चिमी मुलुक हुँदै नेपालसम्म आइपुगेको कोरोनाको कहर र नेपालमा लागु गरिएको लकडाउन अर्थात् बन्दाबन्दीको प्रभाव–विशेष नै सङ्कलित कविताका मुख्य विषय हुन् । यद्यपि यी सबैजसो कविताहरूमा कोरोना सँगसँगै अन्य युगीन विकृति विसङ्गतिपरक विषयवस्तुसमेत अभिव्यञ्जित भएका छन् । अर्थात्, बन्दाबन्दीकेन्द्री नेपाली परिवेशसँगै विकसित कविका अनुभूति र कोरोनाको तापिलो प्रभावजन्य यथार्थपरक विषयहरूको सँगालोका रूपमा ‘बस्तीमा आगो’ कवितासङ्ग्रह तयार भएको छ ।
कविले कोरोनाकै केन्द्रीयतामा सम्पूर्ण विषयहरू समेटेकाले यो कृति निश्चय नै कोरोना प्रभावित मानिन्छ । यसलाई सम्भवतः नेपालकै पहिलो प्रकाशित कोरोनाकेन्द्री कवितासङ्ग्रहका रूपमा लिन सकिएला । जे होस्, कोरोनाकै सापेक्षतामा भए पनि सङ्कलित कविताहरूमा पाइने विषयगत विशिष्टता र काव्यिक शिल्पगत अवस्थाको क्रम यसप्रकार रहेको छ:

ख. कोरोना: आत्मविश्वास र आशावादी जीवन दर्शन
कोरोनालाई कविले महामारीका रूपमा व्याख्या गरेका छन् । उनका विचारमा यो विश्वलाई नै त्रसित तुल्याउने सङ्क्रामक रोग हो । यसबाट विश्वका विकसितदेखि अविकसित सबै किसिमका मुलुकहरू प्रभावित छन् । ठुलै धनजनको समेत क्षति भइरहेको छ । विश्वका अधिकांश मुलुकहरूमै कोरोनाको प्रकोपसँगै लकडाउन अर्थात् बन्दाबन्दीको क्रम रोकिएको छैन । त्रसित वातावरण छिचोल्न हरेकलाई हम्मे हम्मे परेको छ । नेपालमा पनि यसबाट धेरै क्षेत्रहरू प्रभावित भएका छन् । बन्दाबन्दीका कारण सवारी साधन तथा उद्योगहरू बन्द छन् । यस अवधिमा तेलको मूल्य सस्तो भए पनि त्यसको केही अर्थ रहेको छैन । गाउँमा कोरोनाको त्यति प्रभाव नभएको मानिन्छ तर त्यहाँ पनि खाद्यान्नको अभाव र विदेशिएका सन्तानको पीडा यथावतै छ । आफ्नै सन्तानहरू आउँदा समेत डराउनुपर्ने अवस्था कायम छ । कोरोना त भूकम्पको प्रभावभन्दा पनि बढी त्रासद बनेर देखा परेको छ । बन्दाबन्दीसँगै सीमा–नाका र क्वारेन्टाइनहरूमा समस्याहरू थपिएका छन् । रेमिट्यान्सको क्रम बन्दजस्तै भएको छ । सङ्क्रमण र मृत्युदरमा कुनै कमी छैन ।
यति हुँदा हुँदै पनि कविको मन विचलित भएको छैन । उनीभित्र आत्मविश्वास र आशावादी स्वरले कोरोनाको प्रभाव तथा बन्दाबन्दीलाई सहन गर्न सक्ने क्षमता प्रदान गरेको छ । उनले सरसफाइ, मास्क र जडीबुटी आदिको उपयोगमा कमी ल्याएका छैनन् । उनी विषम परिस्थितिमा नेपाली जडीबुटी र वातावरणका कारण आफूमा आत्मविश्वास जागिरहेको कुरा बताउँछन् । उनका विचारमा घरायसी जडीबुटी र हिमाली काखको स्पर्श नै आत्मविश्वासको मूल आधार हो । भ्याक्सिन उत्पादन नहुन्जेलसम्म सतर्कता अपनाउँदै नेपाली स्वच्छ वातावरणमा घरायसी जडीबुटीको प्रयोग गर्न सकिन्छ । सामाजिक दुरी, मास्कको प्रयोग, सरसफाइ र सङ्कल्पलाई कायम राख्नुपर्छ । आवश्यकता परे स्वाव वा रगत परीक्षण गर्नुपर्छ । हुन सक्छ रिपोर्ट नआउन्जेल चिन्ता होला तर नगेटिभ आएमा उत्सव मनाउन पाइन्छ । चैतर्फी घेराबन्दी, भोक र थकानजस्ता हरेक कुरासँग प्रतिवाद गर्न सक्ने भएकाले पनि नेपालीले बाघजस्तै कोरोबाट विचलित हुनु आवश्यक छैन । सचेतनाले नै यसलाई परास्त गर्न सकिन्छ । यद्यपि केही सरोकारवाला पक्षहरू आपसी गालीगलौज वा आरोप–प्रत्यारोपमा उत्रने गरेका छन् । यो राम्रो होइन । विषम परिस्थितिमा अनुशासनभित्रै बसेर जाँच, औषधी, माया र मुस्कानजस्ता कुरालाई आत्मसात् गर्न सके कोरोनाले केही बिगार्नेवाला छैन ।
कविका यस्तै विचारहरूलाई ‘सिम्पल कोरोना’, ‘कोरोनासित प्रश्न’, ‘युद्ध जित्छु’, ‘सङ्कल्प वर्षा’, ‘अनुरोध’, ‘सन्देश, ‘अन्वेषकसँग’, ‘लडाइँ’, ‘खाडल’, ‘गाउँ र कोरोना’, ‘मास्क’, ‘बाघ सामना’ तथा ‘परबाट आएको आगो’ आदि कविताहरूले सम्बोधन गरेका छन् । यस्तै आत्मविश्वासपूर्ण आशावादी स्वरहरूलाई मुखरित गर्ने कविताका केही पङ्क्तिलाई हेर्न सकिन्छ:
भ्याक्सिन नआउन्जेल
आफ्नै सजगताले
लड्छु म सिम्पल कोरोनासित । (सिम्पल कोरोना)
** **
अठोटले हृदय सिँच्छु
सफा हावा घरै बस्छु
नछोएरै कोरोना युद्ध जित्छु । (युद्ध जित्छु)

ग. कोरोना: मानवीय लापरबाही, विकृति र दिग्भ्रम
कोरोना विश्वलाई त्रसित तुल्याउन सक्ने महामारी हो । यसले ठुल्ठुला विकसित मुकुलहरूलाई समेत आच्छु आच्छु पारेको छ । मानव जातिकै अस्तित्वमाथि प्रश्नचिह्न खडा गरेको छ । मानवीय लापरबाहीकै कारण कोरोनाको प्रभावमा कमी आएको छैन । अझ
लापरबाहीसँगै सामाजिक विकृति र विसङ्गतिका आयामहरू मौलाएका छन् । जति जति कोरोनाको कहर बढिरहेको छ त्यति त्यति नै लापरबाही र विकृतिहरूसँगै दिग्भ्रमको अवस्था सिर्जना हुँदै गएको छ । यस्तै विचारहरूलाई समेट्ने केही कविताहरूमा ‘चर्तिकला’, ‘संवेदना’, ‘माइतीघर जाऊँ’, ‘फोस्सा’, ‘गुँड फर्किँदाको दृश्य’, ‘सूर्य दाइ’, ‘माटो चोरी’, ‘नयाँ आगो’ ‘चल्ला जोगाउने सवाल’, ‘आगलागीमा पङ्खा’, ‘नाङ्गो’, ‘बिस्कुन’, तथा ‘चालामाला’ ‘कानुन र जात’ आदि उल्लेखनीय रहेका छन् ।
वास्तवमा कविले भनेझैँ कोरोनाले आफ्नो सशक्त प्रभाव जमाउनुको एउटा मुख्य जिम्मेवार पक्ष भनेको मानवीय क्रियाकलाप नै हो । अर्थात्, मानवीय लापरबाहीकै कारण यसले विश्वलाई गाँजेको छ । नेपालीहरूको लापरबाही देखेर कवि स्वयम् दुःखी बनेका छन् । हो पनि, कविले भनेझैँ बन्दाबन्दीमा हामीले घरभित्रै बस्नुपर्ने हो तर हुलका हुल बाहिर निस्किन छाडेनौँ । तरकारी गाडीबाट तरकारी भित्र्याउनुपर्नेमा मानिसलाई नै लुकाइछिपाइ भित्र्याउने काम ग¥यौँ । मास्क र सेनिटाइजरको लेखाजोखाबाहेक अरू किसिमबाट कोरोना नियन्त्रणबारे चासो दिएनौँ । बरु, विकृति विसङ्गतिलाई प्रश्रय दिन थल्यौँ । सत्य र यथार्थको विश्लेषण नगरी होहल्लाका पछि लाग्यौँ । बन्दाबन्दीमा सामाजिक सञ्जालको दुरूपयोग गर्दै बिनाकाममा कसैको अन्धभक्ति र विरोधमा लागेर कृषि र उद्योगजस्ता कुरा गुमायौँ । आफूलाई नपरुन्जेल कोरोनाको विषयलाई रमाइलोका रूपमा लिइरह्यौँ । सहयोगका नाममा प्रचारबाजी मात्र ग¥यौँ र वास्तविक पीडितलाई बेवास्ता गर्न पुग्यौँ । सूर्य दाइजस्ता व्यक्तिहरूको पीडालाई मात्र प्रचारबाजीका रूपमा लियौँ ।
अझ कोरोना पोजिटभ हुनेलाई पनि धार्मिक दृष्टिले अपमानित गर्न पुग्यौँ । असारमा समेत रोपाइँतिर नलागी जुम वा साजिक सञ्जालको दुरूपयोग गरिरह्यौँ । अझै विदेश जाने मानसिकताका कारण कृषिलाई बेवास्ता गरिरह्यौँ । न त असारमा जुट्यौँ न त स्वयम् कपास उत्पादनतिर लागेर स्वावलम्बी बन्ने सुनिश्चितता ग¥यौँ । एक किसिमबाट भन्ने हो भने यस अवधिमा हामी नितान्त लापरबाह, विकृति विसङ्गतिका मतियार तथा दिग्भ्रमित व्यक्तिका रूपमा देखा प¥यौँ । यस्तै विचारहरू व्यक्त गर्ने केही पङ्क्तिलाई हेर्न सकिन्छ ः
यसपालि बस्ती आगलागी भयो
खरका घर जल्न लागे
‘ए पङ्खा नचलाऊ न आगलागीको बेला
बाल्टिनमा पानी बोक न बस्ती सल्केका बेला ! ’
पङ्खावाला सुन्दैनन्
रिमोटवाला मान्दैनन्
उनीहरू अर्कै धुनमा छन् । (आगलागीमा पङ्खा)
** **
हाम्रो स्कोर कार्ड हेर्दा
हामी ध्वंशमा ए प्लस
हाहुमा ए
व्यवस्थापनमा सी माइनस । (संवेदना)
** **
चकित छु म
जमिनदारलाई गरिबको सुर्को
किन मन पर्छ ?
कयौँ मुखियालाई
मालिककै थुक किन मन पर्छ ? (माटो चोरी)

घ. कोरोना : नयाँ जीवनशैली र रचनात्मकताको सन्देश
कोरोनाले एक्कासि मानव समुदायलाई त्रसित तुल्याए पनि यसले नयाँ किसिमको जीवनशैली अपनाउनुपर्ने सन्देश दिएको छ । सरसफाइ र पारिवारिक वातावरण मात्र हैन रचनात्मकताका लागि पनि अवसर प्रदान गरेको छ । कविजस्ता व्यक्तिले समेत कोरोनाकै कारण अलि बढी हात धुने, जिम्बु र बेसार आदिको उपयोग गर्ने, किताब पढ्ने, सिर्जन यात्रा वा रचनात्मक कार्यमा लाग्ने बानीको विकास गरेका छन् । तर, कतिपयले चाहिँ वनजङ्गलबाट काठको तस्करी र नदीनालाबाट बालुवा–ढुङ्गाको चोरी निकासी गरिरहेका छन् । त्यस्तै कतिपय व्यक्तिहरू राजनीतिक दाउपेचमा लागेका छन् । अझै पनि कोही त कृषिलाई छोडेर विदेशकै सपना देखिरहेका छन् । कविका विचारमा यस्तो क्रियाकालपमा लाग्नुभन्दा कृषिलाई प्राथमिकता दिनु वा रचनात्मकतातिर लाग्नु बेस रहेको छ ।
वास्तवमा कोरोनाको कहर कविजस्ताका लागि रचनात्मकताकै सन्देशका रूपमा देखा परेको छ । उनको कलम निर्वाध रूपमा चलिरहेकै छ । यसलाई न कसैले रोक्न सकेको छ न छेक्न सकेको छ । कविको अनुभूति जहाँ जहाँ दगुरेको छ त्यहाँ त्यहाँ विषयलाई कलमबाटै टप्प टिपेर सजाउने काम भएको छ । कविले वसन्तलाई देखे; नयाँ वर्षलाई देखे; चरा, झ्याउँकिरी र चन्द्रमालाई पनि देखे । त्यस्ता प्राकृतिक विषयहरूमा कविको मन र कलम दुवै सँगसँगै चलिरह्यो । त्यस्तै उनमा साहित्यकार पारिजात र झमकको प्रभाव पनि परिरह्यो । हुन त कविबाट धेरै कुरा सम्हालिए पनि अझै केही कुरा भ्याउन नसकेको अनुभूति छँदै छ ।
जे होस्, यस्तै कोरोनाको प्रभावकै कारण पनि नयाँ किसिमको जीवनशैली बाँच्न र रचनात्मकतातिर अभिप्रेरित हुन आह्वान गरिएका उनका कविताहरू हुन् ः ‘स्पर्श’, ‘नयाँ वर्ष’, ‘बन्दाबन्दीसित’, ‘आफैलाई प्रश्न’, ‘चरा र गुँड’, ‘झ्याउँकिरी गान’, ‘कला’ ‘खेल’, ‘सिर्जना यात्रा’ ‘असारमा’ र ‘आत्मसमीक्षा’ आदि । यिनै सन्दर्भलाई व्यक्त गर्ने केही कवितांशहरूलाई हेर्न सकिन्छ :
अलि अलि हात पहिला पनि धुन्थ्यौँ
तरकारी पहिला पनि पखाल्थ्यौँ
अहिले तिमीले
गनी गनी हात धुन सिकायौ
दुध पखाल्न सिकायौ
गुर्जो र जिम्बुको चिया खान लगायौ । (बन्दाबन्दीसित)
** ***
घरै बस्ने मैले
साग मुला तुलसी रोपेँ ?
बाबरी वा पुदिना लगाएँ ?
प्याज महँगियो भनेर
किन रोएको म हिजो ?
विषादीमा राष्ट्रियता
किन खोजेको मैले हिजो ? (आफँैलाई प्रश्न)
** **
प्रश्न छ मनमा
केही मेधावीले
अहिले नै
किन कण्ठ गर्न थालेका
अरू देशको राष्ट्रगान ?
असारको हिलोमा
रोपाइँ छोडेर
किन कार्पेट ओच्छ्याउनुपरेको
ज्वाइँ राजालाई
बुहारी मैयालाई ? (असारमा)

ङ. कोरोना: समकालीन परिघटना, दिवस र अन्य सन्दर्भ
कोरोनाकालका समकालीन नेपाली परिघटनाहरू उल्लेखनीय रहेका
छन् । कविले रुकुम, जाजरकोट र भेरीमा घटेका घटनाहरूलाई दुःखद पक्षका रूपमा चित्रण गरेका छन् । उनका विचारमा प्रेममा बाधा पुग्नु नै अकल्पनीय घटना घट्नु हो । जातिका नाममा समाजभित्रै विभाजन आउनु झनै नराम्रो हो । यसैबिच झरीका समयमा केही गरिबका घरटहराहरूमा आगो लगाइयो । केही ब्रो भनाउँदाहरूले कुर्सीमोहको आँधीतुफान सिर्जना गरे । नागरिकतासँग गाँसिएका अनुपयुक्त विवादहरूको सिर्जना हुन पुग्यो । गालीगलौजमा लाग्ने प्रवृत्तिको अन्त्य भएन । तर, नेपालको नक्सा पास गर्ने कुरामा चाहिँ सहमति हुन पुग्यो । यसलाई भने कविले अत्यन्त गौरवका साथ लिएका छन् ।
कोरोनाको प्रकोपकै बिच मजदुर तथा वातावरण आदि विभिन्न दिवसहरू आए । यस अवसरमा कविले मजदुरहरूलाई श्रम गर्न नपाए पनि धैर्य गर्न आह्वान गरे । त्यस्तै अन्य सन्दर्भमा कविले कोरोनाबाट बच्ने कुरामा महिलाहरूको व्यवहारलाई उल्लेखनीय माने । उनीहरूले कायम राखेको सामाजिक दुरी, हात नमिलाउने र अङ्कमाल नगर्ने प्रवृत्तिको प्रशंसा गरे । तर, क्वारेन्टाइनमा बसेका महिलाहरूले भोग्नुपरेको मार्मिक पीडाले चाहिँ उनलाई कहिल्यै भुल्न नसकिने अवस्था सिर्जना ग¥यो ।
त्यस्तै सेतो पहिरनमा दिनरात खटिरहने डाक्टरहरूको भूमिकालाई पनि उनले प्रशंसनीय पक्षबाट मूल्याङ्कन गरे । आमा÷हजुरआमाले देखाएको बाटो सधैँ अनुकरणीय हुने गरेको स्मरण गरेको बताए । यीबाहेक पनि बुद्ध र माक्र्सको स्मरण गरे । रोमको पीडालाई नजिकबाट अनुभूति गरे । बाहिरबाट नेपाल भित्रिने नागरिकलाई चराका रूपमा आरोप गर्दै गुँडमा फर्किनका लागि सहज वातावरण बनाइदिनुपर्ने बताए ।
यस्तै विभिन्न सन्दर्भहरूमा आधारित सङ्कलित केही कविताहरू हुन्: ‘गाउँमा आगो’, छुटेको वैभव’, ‘नक्सामा एकता’, ‘परिचय’, ‘चरा र गुँड’, ‘सेतो गाउन’, ‘सुरुङमा उज्यालो’, ‘चरा बचाऊँ’, ‘कोरोना सामना’, ‘वस्त्र’, ‘झरीमा आगो’, ‘ब्रो’हरू ?’, ‘सामाजिक दुरी’, ‘काख’, ‘आफैँसित छु’, ‘मध्यरातमा चेली’ र ‘हजुरआमासित’आदि । यस किसिमका समकालीन विविधतासँग गाँसिएका कविताका केही पङ्क्तिहरू उल्लेखनीय छन्:
हिंसामा देश
किचलोमा अगुवा
भान्सामा ठण्डारामको सामल
कति दिन चल्छ हँ यसरी ?(कोरोना सामना)
** **
कुर्सी गाइरहेछन्
कुर्सी ताकिरहेछन्
सिङ तिखारिहेछन्
मानौँ कोरोना भाइरस होइन
माटो मलिलो बनाउन वर्षिएको
सुधो गड्यौला हो । (ब्रो’हरू)
** **
घर जलाउने रोग
खरानीको यो बिगुत
केका लागि महाशय ?
आगोको खेल
आवेगको छक्कापन्जा
लोकतान्त्रिक हुनै सक्दैन । (झरीमा आगो)

च. काव्यिक शिल्पसौन्दर्य, सन्देश र निष्कर्ष
कविता अनुभूतिहरूको काव्यशैल्पिक संवेगमा आधारित हुन्छ । यसले लयात्मकतासँगै वैचारिक सन्देश र शैल्पिक गरिमालाई संवहन गर्दछ । कवि वासुदेव अधिकारीका एकसट्ठीओटै कविताहरूमा यस किसिमका कवितात्मक अभिलक्षणहरू पाइन्छन् । उनका हरेक अनुभूति वा विचारहरूमा कोरोनाजन्य प्रभावको उपजीव्यता रहेको छ । त्यस्तै संरचताका दृष्टिले सङ्कलित कविताहरूमध्ये थोरै लघुतर भए पनि अधिकतम लघु कविताको आयतनमा गद्यलयात्मकताकै ढाँचामा आबद्ध छन् । हरेक कविताको भाषाशैली सरल, प्राञ्जल र प्रसादगुण सम्पन्न रहेको छ । कतै कतै पुनरुक्तता, अत्यधिक सरलता र सङ्क्षिप्तताजस्ता प्रवृत्तिहरू पनि विशेषताकै रूपमा देखा परेका छन् ।
व्यञ्जनात्मक रसधर्मिता कविताको उत्तम कसी हो । यस दृष्टिले उनका ‘ब्रो’हरू’, ‘माटो चोरी’ ‘संवेदना’, ‘फोस्सा’, ‘चालामाला’, ‘माइतीघर जाऔँ’, ‘छुटेको वैभव’, ‘बेसार महात्म्य’, ‘सूर्य दाइ’, ‘असारमा’ र ‘आफैँलाई प्रश्न’ आदि कविताहरू निकै उल्लेखनीय रहेका छन् । तिनैमध्येका कही पङ्क्तिलाई हेर्न सकिन्छ ः
चकित छु म
जमिनदारलाई गरिबको सुर्को
किन मन पर्छ ?
कयौँ मुखियालाई
मालिककै थुक किन मन पर्छ ?(माटो चोरी)
** **
उखाने बुढाले
बेसार पुराण लाएर खत्तम पारे
खानु कि नखानु ?
भान्सामा हुल्नु कि
हलेदो भनेर फाल्नु ?
ए केटाकेटी हो,
आमालाई अब
तरकारीमा बेसार हैन
ट्युमेरिक पाउडर हाल्न भन न । (बेसार महात्म्य)
त्यसैगरी अलङ्करणले कवितात्मक सौन्दर्यमा निखार ल्याउने गर्छ । ‘आगलागीमा पङ्खा’, ‘अनुरोध’, ‘सेतो गाउन’, ‘गाउँमा आगो’, ‘मध्यरातमा’, ‘चरा बचाऊँ’, ‘चरा र गुँड’ आदि कविताहरू आलङ्कारिक दृष्टिले निकै उच्च कोटिका छन् । त्यस्ता केही आलङ्कारिक अभिव्यक्तिहरू यसप्रकार छन् :
दुम्सीझैँ लुकिरहेछ
छुचुन्द्रोझैँ नाचिरहेछ
पातकी कोरोना
अपराधी संवाहक
खोज्नै कठिन
भेट्नै महाभारत । (मध्यरातमा)
** **
धेरै चराहरू
गुँड गाउने मुडमा छन् अहिले । (चरा र गुँड)
** **
लौ न क्यै गरूँ
उताको आगोबाट
यताको गुँड पनि जोगाऊँ
चरालाई पनि बचाऊँ
चराहरू अर्थात्
श्रमशील नागरिकलाई । (चरा बचाऊँ)
‘बस्तीमा आगो’ पदावली नै प्रतीकात्मक अभिव्यक्ति हो । यस शीर्षकबाट मानव समाज बसोबास गर्ने ठाउँहरू ध्वस्त भइरहेको कुराको बोध हुन्छ । खासगरी नेपाली बस्तीमा कोरोनाले पारेको तापिलो प्रभावका आधारमा यस किसिमको शीर्षक छनोट भएको देखिन्छ । नेपाली समुदायको बसोबास भएका ठाउँसँगै गाँसिएर सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक, मनोवैज्ञानिक आदि अनेक पक्षहरू आउने गर्छन् ।
यस्ता सबै क्षेत्रहरूमा कोरोनाले पारेको प्रभाव–विशेषलाई ‘बस्तीमा आगो’ कवितासङ्ग्रहले समेटेको छ । साथै यसले यस्तो त्रासद परिवेशसँगै देखा परेका विकृति विसङ्गतिहरू र मानवीय कमजोरीहरूलाई हटाउन सकिने सन्देश दिएको छ । यसर्थ, प्रस्तुत कवितासङ्ग्रहले तापिलो वा त्रासदपूर्ण नेपाली परिवेशको यथार्थलाई सम्बोधन गर्दै त्यसबाट नेपालीहरूले नयाँ जीवनशैली अपनाउन सक्ने रचनात्मकतापूर्ण अवस्था सिर्जना भएको भन्ने सन्देश प्रवाहित गरेको प्रस्ट हुन्छ ।

बुढानीलकण्ठ ८, हाइल्यान्ड, काठमाडौँ

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 10 भाद्र, 2077

लेखकका अन्य रचनाहरु