खाने मुखलाई जुँगाले छेक्दैन

- काशीनाथ मिश्रित

सुन्नुहोस् त ! के तपाईँको नाकबाहेक अरु कुनै अङ्गबाट सिँगान आउँछ? मैले हालै कोरोनाको रोकथामसम्बन्धी एउटा विज्ञापन सुने एफएम रेडियोबाट ‘नाकबाट आउने सिँगान’ होइन आजकल मान्छेका आँखा, मुख मलद्वार आदिबाट पनि सिँगान आउन थालेछ कि ! त्यही भएर पो संसारमा कोरोना लागेको होला । भलै त्यो त एउटा गाउँपालिकाको विज्ञापन हो । ठिकै छ जे बनाउने हो बनाउन् । पुर्खौँदेखि चल्दै आएको यो उखानमा पनि सुन्दै झोँक चल्ने शब्द भेटियो बा ! खाने मुखलाई जुँगाले छेक्दैन रे! होइन, त्यतिखेर खाने आँखा, खाने हात, खाने खुट्टा थुप्रै खाने अङ्ग रहेछन् कि ? खाने मुख नभए अरु के गर्ने मुख हो त? कि मान्छेको पनि चमेरोको झैँ दिसा गर्ने मुख पनि छ र? तपाईँ भन्न सक्नुहुन्छ बोल्ने पनि त मुख हो । खाने मात्र कहाँ हो र? उसो भए त हाँस्ने पनि मुखै हो, रुने पनि मुखै हो । भए नभएका शब्द जोडेर तथानाम गाली गर्ने पनि मुखै हो; अनेकन विशेषण थपेर चाकडी बजाउने पनि मुखै हो । मुखका कति काम छन् कति । केबल खाने मात्र त हैन नि । अझ ब्याकरण पनि नजानेका बाजेहरूले बनाएछन क्यारे यो उखान । खाने मुखलाई जुगाले छेक्दैनन् भनेर कम से कम वचन त मिलाउनु पर्ने ! मान्छेका ओँठमाथि कति जुँगा हुन्छन भन्ने कहिल्यै गनेका भए पो थाहा हुनु । यहाँ मैले चार कक्षामा पढ्ने विद्यार्थीले वचन मिलाउन सकेन भने कति हप्काउनुपर्छ बुढाहरूलाई त्यत्रो छुट?
ब्रम्हे बुढालाई सृष्टि गर्ने बेलामा खाने मुखलाई जुँगाले छेक्ने बनाइदिन भनेको भए हुन्थ्यो होला । त्यसबेला कोही ऋषिमुनिहरुले पनि आफ्ना जुँगा काट्नु पर्ला भन्ने डरले जुँगाले नछेक्ने बनाइदिन भनेछन् क्यारे ! त्यसैले अहिले मान्छेहरूले जे खाए पनि जुँगाले छेक्दैन । चमेरोको मासु खाएर कोरोना भाइरस लाग्न थाल्यो रे चिनियाँहरूले । अहिले संसारभरि सातो खाइरहेछ । नत्र त अरु कैयौँ रोगले यसलेभन्दा धेरै गुना मान्छे खाइसक्यो यै पाजी कोरोनासित यति सारो डराउनु पर्ने किन? वनको बाघले भन्दा मनको बाघले खाएर मान्छेले माटो खान पुगे कसैले मतलव गर्दैन । जुँगा भएका भन्दा जुँगा नभएका मान्छेहरू संसारमा धेरै छन् भन्ने कुरा कसैले ख्याल राखेनछन् कि! आखिर जुँगा नभएकाहरूले खानै नपाएर माटो खाइरहेका बेला यो बेप्रसङ्गको कुरा उठाएर किन गनगनाउनु परेको होला यसलाई भन्ठान्नुहोला तपाईँ । हुन पनि हो । तर यो गनगन नगरी नभएर कुरा कोट्याएको हुँ क्या बुझ्नु भो?
बुझे बुझ्नुहोस् नबुझे नबुझ्नुहोस् खाने मुख मात्र हैन भन्ने चाहिँ तपाईँलाई पनि थाहै छ हात हुँदाहुँदै चम्चाले खाएको पनि देख्नुभएकै छ । अझ विदेशतिर त के के जातिले खान्छन् अरे ! आफू त विदेश गएकाहरूको रवाफिलो गफ सुन्ने मात्र हो ; जान पाइएको छैन । हातै नहुनेले पनि त खाएकै छन् क्यारे भन्नुहोला ।जनावरहरूले खाने कुरामा सिधै मुख गाड्छन् । मान्छेहरूले भने पहिले आँखा गाड्छन् अनि हात गाड्छन् र मात्र मुखमा लैजान्छन् । साँच्चै भन्ने हो भने मान्छेहरूको खाने तरिका नै अचम्मको छ । त्यसैले त मुखले मात्र नभएर अरु अङ्गहरूले पनि खाइदिन्छन् मान्छेले ।
खाने मुख मात्र हैन भन्ने सिद्ध गर्नका लागि बुढाहरुले यो उखान बनाइदिएका रे । खाने हात, खाने आँखा पनि हुन्छन् । होइन भने भन्नुहोस् आजकल के के जाति सामाजिक सञ्जालहरूमा राखिएका राम्रा नराम्रा दृश्यहरू तपाईँ केले खाएर अघाउनुहुन्छ? अन्न खान नपाएर जनताहरू बिख खाएर मर्न बाध्य भएका बेला स्वास्थ्य सामग्री किन्दा कमिसन खान मुखै चाहिएन । हातले खाए कि खुट्टाले खाए म जान्दिन तर हल्ला गर्ने मुखले त गुणगान गाईरहेछन् । खान सजिलो होस् भनेर आजकल धेरैले जुँगा खौरन थालेका रे ! तपाईँ आफै गन्नुहोस् है त हात, खुट्टा, भुँडी आदिले खान पाइने ठाउँमा पुगेकाहरूमध्ये कति जनाले जुँगा पालेका रहेछन्? तेत्तिस प्रतिशत जति खाने मुखमाथि जुँगा नभएकाहरूलाई पनि त्यहाँ लैजान्छौँ भन्ने लिखत गरेकाहरूले आज वचन नमिलाएर पहिलेका बुढाहरूले झैँ गल्ती गरेको थाहै छ । अब हामी खाने मुखलाई जुँगाले छेक्दैन भन्दै आफ्नो मुख हातले छेक्दै बसौँ हावा खाएर !!?
जुँगाले छेक्नेहरूले धेरै खाने र जुँगाले छेक्दै नछेक्नेहरूले खानै नपाउने कस्तो अचम्म छ । साँच्चै गणना गर्ने हो भने जुँगा भएका मान्छेहरू संसारमा पन्ध्र बिस प्रतिशत मात्र होलान् । अरु सबै जुँगा नभएका छन् । तिनीहरूलाई चाहिँ केले छेक्ने रहेछ? सत्तामा जान र भत्ता खान जुँगा नआउञ्जेल कसैले पनि नपाउने नियम बनाएपछि गर्ने के? जुँगै नपलाउनेहरूलाई तोकिदिएको ३३ प्रतिशतको कोटा पनि हावा खाएर हल्लिरहेछ । आखिर आन्दोलनमा डन्डा त जुँगा नभएकाहरूले पनि खाएकै हुन् । त्यसो त डन्डा खानलाई ढाड भए पुगिहाल्यो मुख चाहिएन क्यारे ! औषधीको गोली खान मुख चाहिए पनि बन्दुकको गोली खान चाहिदैनथ्यो । अश्रु ग्याँस खान त कुरै छोडौँ ।
जुँगा पनि छोटाछोटा भए भने पो खाने मुखलाई नछेक्ला ! लामालामा जुँगा पाल्नेहरूलाई त पक्कै छेक्छन् जस्तो लाग्छ बा मलाई त । जुँगे मान्छेले दुध दही खाएर लप्रक्कै जुँगामा टाँसिएको पनि देखेको छु । बुढाहरूले होशै नराखिकन भनेछन् खाने मुखलाई जुँगाले छेक्दैन भनेर । मुखमै नलगिकन खान मिल्ने कुरालाई मात्र हो नत्र जुँगाले छेक्छ । त्यस्तो जुँगेले खाना खाँदा पनि आँ... गरेर मुखलाई बेस्सरी बाउनु पर्छ । बाघले खोलामा तलतिर फर्केर पानी खाए जस्तो केही न केही असजिलो पक्कै हुन्छ होला । खै आफूले जुँगा पाल्ने गरिएन क्यारे ।जुँगेहरूलाई थाहा होला । जे होस् अरुले भन्दा धेरै र अखाद्य वस्तुहरू पनि खानका लागि जुँगा पाल्दा हुन् मान्छेहरूले ! जुँगा पालेपछि मुखको कुटिलता लुकाउन सजिलो हुन्छ खान त कुन्नि ।
पुरानो युगमा बनेको खिया लागेको उखानलाई लिएर यो किन गनगनाइरहेको होला भनेर तपाईँलाई झर्को लाग्यो होला । उसो भए यो उखानलाई पनि नयाँ बनाइदिनुहोस् न त चन्द्रसमसेरका पालाको सिंहदरबार जस्तो महेन्द्र राजाका पालाको नयाँ नेपाल जस्तो । सुस्ता, कालापानी र लिम्पिया धुरासहितको नेपालको नक्सा जस्तो। कसरी बनाउने भन्ने जिज्ञासा हुन सक्छ ! ‘घुस खाने मूखलाई नियमले छेक्दैन’ भने पनि भयो अथवा ‘देश खाने मुखलाई कानुनले छेक्दैन’ भने झनै राम्रो होइन आफ्नै शैलीमा धरहरा बनाए झैँ बनाउने भए पनि बनाउनुहोस् । दस नङ्ग्रा खियाएर बल्लतल्ल गुन्द्रुकको झोल खान पाउने हैसियत भएकाले देशै खान पाउने कुरा गरे औकातभन्दा माथि पुग्न खोजेको पक्कै होइन
उखानहरू पुरानै युगमा त बनेका हुन् नि । नयाँ युगमा कसैले एउटा नयाँ उखान थप्न सकेको भए पो फुर्ति गर्नु ! खाने मुख भनेपछि कुरा उठ्छ खाने कुराको । के खाने मुखलाई नछेक्ने हो जुँगाले? खानाका पनि अनेक भाँति छन् । जेट खाने कि बजेट खाने? मट्टितेल खाने कि रेल खाने? ठुला ठुला कुरा किन गर्नु खाने च्याउ नचिनेर जङ्गली च्याउले मान्छे नै खाइदिएको बाध्यतामा के खाएर बाँच्ने ? कोरोनाले क्वाप्क्वाप्ती मान्छेहरूलाई खाइरहेको बेला किट खाएर पनि नअघाउनेहरूलाई जुँगा हुनु र नहुनुको के मतलब?
मतलब त कसम खाएर कुर्चीमा बसेकाहरूलाई हुनु पर्ने हो ।मैले नौ कक्षामा पढ्दा गुरुले मर्नुको अर्थ माटो खानु पनि हो भनेर सिकाएको दिमागमा ताजै छ । हैन आजभोलि गुरुको भनाइ गलत भएछ क्यारे ! माटो खाएकाहरू पनि ज्युँदै देख्छु त । मैले जान्न खोजेका दुईवटा कुरा मात्र हुन् क्या ! मलाई बुझाइदिनुहोस् तमोदीजीका जुँगा छन् कि छैनन्? सी जिनका जुँगा छन् कि छैनन्??

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 10 भाद्र, 2077

लेखकका अन्य रचनाहरु