कवि तेजमान बराइली र कणिका- कविताहरूमा एक अध्ययन

- सुकराज दियाली

सिलगढी कलेजका नेपाली विभागका प्राध्यापक तेजमान बराइली । कवि, मुक्तककार, समालोचनाकार भनेर जान्दछौं । उनीलाई धेरै रैम्रा राम्रा साहित्यकार, राजनेता, समाजसेवक आदिले टी.एम. सर भनेर बोलाउछन् ।दार्जीलिङको सुकेपोखरी-जोरबङ्गलो खण्ड विकाश अर्न्तगत पर्ने साङमा चियाबारीको रानीबन गाउँमा 5 जुलाई 1959 मा जन्मीएका हुन् । स्वर्गीय मानवीर बराइली र स्व. प्रेमफूल बराइलीको पाँचजना दाजुभाइ र तीनजना दिदी बहिनीमध्ये प्रा. तेजमान बराइली काँइलो छोरो हुन् ।त्यसैले होला घर परिवारमा काइँला भनेर बोलाउँछन् सबैले ।घरमा कम्ती आयस्रोत रहेको त्यसैमाथि पनि दश एघारजनाको परिवार । गाई पालन र कमानको रूखोसुखो आयबाट परिवारको पालन पोशणसितै शिक्षादिक्षाको व्यवस्था गर्थे स्व. मानवीर बराइलीले ।प्रा. तेजमान बराइली सानैदेखि पढ़नमा तिक्षण बुद्धीका थिए । पोख्रबुङ हाई स्कूलबाट माध्यामिक परिक्षा उत्तीर्ण गरी दार्जीलिङ सरकारी महाविद्यालयमा विशुद्ध विज्ञान लिएर बाह्रौं श्रेणीसम्म पढ़े । त्यसपछि खरसाङ कलेजबाट नेपालीमा सम्मान लिएर उतीर्ण गरे । पछिबाट काशी हिन्दु विश्वविद्यालयबाट नेपालीमा एम.ए. पढ़दा-पढ़दै नेट परिक्षा उतीर्ण गर्नु भएको हो ।विद्यार्थी कालदेखि नै साहित्यमा अघोर रूची राख्ने बराइलीकविता, कथा र निवन्ध लेख्दै हस्तलिखित पत्र-पत्रिका तथा विभिन्न पत्र पत्रिकामा देखापर्न थाले । सन् 1950- मा संयुक्तरूपमा गोजीका मुक्तक सङ्ग्रह प्रकाशित भएपछि उनी भारतीय नेपाली साहित्यमा मुक्तककारको रूपमा चिन्हित भए । त्यसपछि वनारसमा अध्ययन गर्दा-गर्दै डा. डिल्लीराम तिमसिनाको {अर्न्तवार्ता सङ्ग्रह, 1988 }, कणिकाहरू { कणिका कविता सङ्ग्रह, 2005 }, रूख { लामो कविता सङ्ग्रह, 2013 }, कलेजको मैदान { लामो कविता सङ्ग्रह ], मक्तकीय आभा { मुक्तक सङ्ग्रह }, मूल्यवोध { समीक्षा सङ्ग्रह } आदि प्रकाशित कृतिहरू हुन् ।
प्रा. बराइली कुशल सम्पादक पनि हुन् । उनले अधादर्जनभन्दा बेसी पत्र-पत्रिकाहरू सम्पादन गरीसक्नु भएको छ । जस्तै – आस्था {सामायिक सङ्कलन, 1981 }, अर्कीड { कलेजको मुखपत्र, 1985 ], रूची { गोजीका पत्रिका }जस्ता स्तरीय र गहन पत्रिकाको सम्पादनबाट प्रा. बराइलीको सम्पादक कलालाई बुझ्न सकिन्छ । राङभाङ समवाय साहित्य सदन जस्ता साहित्यिक संस्थाको संस्थापक पनि हुन् । प्रेमफूल प्रकाशनको संस्थापक, मानवीर बराइली साहित्य स्मृति पुरस्कार र डा. डिल्लीराम तिमसिना साहित्य स्मृति पुरस्कारको पुरस्कार दाता पनि हुन् । विभिन् संघ-संस्थासित जड़ित रहेर साहित्यको सेवा आज पर्यन्त गरीरहनु भएको छ ।
साहित्यको विभिन्न विषयमा धेरैवटा कार्य पत्रहरू विभिन्न गोष्ठी-संघगोष्ठीमा प्रस्तुत गरीसकेका छन् । काशी हिन्दु विश्वविद्यालयको रिभोल्यूशनरी विराट् कवि गोष्ठीमा कवितामाथि सन् 1990-मा आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । त्यसरी नै जामीया मिलिया इस्लामीया नयाँ दिल्ली, उत्तर बंगाल विश्वविद्यालय, सेन्ट एन्थोनी कलेज शिलाङ, नेपाल संस्कृत विश्वविद्यालय काठमाडौं, सलोशियान कलेज सोनादा, संस्कार भारतीय सिक्किम नाट्य कार्यशाला, पश्चिम सिक्किम साहित्य प्रकाशन, तुलसीदास र भानुभक्तमाथि जयगाउँ कलेजमा, साहित्य अकादमीको आयोजनामा भएको विभिन्न राज्यमा आयोजित संगोष्ठीमा आफ्नो कार्यपत्र प्रस्तुत गरीसकेका छन् ।
यसरी साहित्यमा निरन्तर सेवा गरेवापत् सन् 2006-मा दलित साहित्य अकादमी नयाँ दिल्लीले डा. अम्बेटकर फेलोशिप पुरस्कार, प्रक्रिया प्रकाशनले सन् 2010-मा प्रक्रिया सम्मान पुरस्कार, त्रिफला राष्ट्रिय पुस्ताकालयले नेपाल त्रिफला साहित्यिक पुरस्कार 2002 – ले सम्मानित भइसकेका छन् । विभिन्न संघ-संस्थाले पनि दर्जनौ सम्मान र सम्वर्द्धनाले सम्मानित गरीसकेका छन् । एकसमय अर्थात भाषा मान्याताको आन्दोलनमा आत्मादाह समेत गर्न अघि आएका भाषाप्रेमी प्रा. बराइली सँधै पर्दा पछाड़ि रही काम गर्न रूचाउँछन् । उनीभित्र भाषा साहित्यप्रति समर्पित भाव देखिन्छ । कविता र समालोचनामा भारतीय नेपाली साहित्यमा आफ्नो छुट्टै स्थान सिर्जना गरीसक्नु भएको बराइली स्थापित साहित्यकार हुन् । विशेष कवितामा मुक्तक लेखनबाट साहित्यिक जीवन शुरू गरेका प्रा. बराइली शिक्षाविद् पनि हुन् । लोक संगीत गायनमा उतीकै चासो राख्ने प्रा. बराइली गायनमा पनि निपुण छन् । स्कूल पढ़दा धेरै नाटकहरूमा अभिनय पनि गरिसकेका छन् ।खेलकूदमा चासो राख्छन् । अरूलाई अघाड़ि बढ़ाउनु मनोभावले अघाड़ि बढ़ेका बराइलीले युवा जमातलाई साहित्यप्रति संगीतप्रति प्रेरणा कञ्चुस गर्दैनन् । गाउँ-घरका युवा जमातलाई कलाक्षेत्रमा प्रेरणा दिनको निम्ति आर्थिकरूपले, मानसिकरूपले सहयोग गरिरहन्छन् । धेरैजना सर्जकको कृतिहरूलाई प्रेमफूल प्रकाशनको पक्षबाट प्रकाशित गरिदिएका छन् ।
भारतीय नेपाली कविता साहित्यले एकसय वर्षभन्दा अधिक उमेरमा अनेकौं घुम्ती, मोड़हरू पार गरिसकेका छन् । विभिन्न समयमा विभिन्न प्रयोगहरू कवितामा भएको पाइन्छ । 60 दशकदेखि यता भारतीय नेपाली कवितामा नौलो लेखन, नौलो प्रयोगहरू हुँदै आइरह्यो गद्य कवितामा देखिएको चर्चित प्रयोग तेस्रो आयाम । कवि वैरागी काइला र ईश्वरवल्लभको विशेष कविताहरूले तेस्रो आयामको धारणालाई जनमानसमा { नेपाली कविता पाठकमा} हलचल मचाएको थियो । कसैले यस प्रयोगको विरोध गरेर यसैलाई प्रयोगमा पनि ल्याएको साहित्यको इतिहासमा पाइन्छ । तेस्रो आयामको प्रभावबाट सर्जकहरू टाढ़ा बस्न सकेन त्यसबेला । कतिले अवोधगम्य कविता लेखनले कविता पाठक कवितादेखि भागे भन्दै सरल, वोधगम्य कविता सिर्जनालाई निरन्तर अघि बढ़ाइरह्यो । काशी हिन्दु विश्वविद्यालयबाट कवि संजय वान्तवा अनि उहाँको साथीहरूले संक्रमण लेखनलाई भित्राए ।त्यसपछि कवि सुधीर छेत्री र साथीहरूले कविता लेखनमा विचलन प्रयोगधारालाई लिएर उदाए । त्यसरी नै कवि मनप्रसाद सुब्बा र कवि रेमिका थापाको अगुवाइमा किरानीकृतलाई परिचय गराए । त्यसपछि मनोज बोगटे र राजा पुनियानीको अगुवाइमा हस्तक्षेप, वासुदेव र निरज थापाहरूको प्रयासमा समावेशी लेखनलाई अघाड़ि बढ़ाउने प्राय गरे तर ती प्रोग र धाराहरू उनीहरू कै समूहमा सिमित रह्यो । यसरी नै कविता लेखनको नयाँ प्रयोगहरूमा 80 – को दशकमा कालुसिंह रनपहेंलीको प्रनेतामा युग्मक लेखन प्रयोगलाई चुपचापसित अघाड़ि बढ़ाउँदै लगेपनि पछिबाट दुई लाइनको युग्मक लेखनले धेरै चर्चा बटुल्यो ।एकदुई कविहरूले यस प्रयोगलाई अघि पनि बढ़ाए । अझै बेला-बेलामा पत्र-पत्रिकातिर युग्मक लेखनका नयाँ-नयाँ सर्जकहरू देखिन्दैछ ।मणिपुरबाट तिलहरी कविता लेखनलाई लिएर नेत्र प्रसाद अधिकारी जस्ता सर्जकहरू अघाड़ि आएको देखिन्छ । तीन लाइनको यो लेखन प्रयोग त्यती चर्चामा आएन । नब्बेको दशकमा सिक्किमबाट अणु कविता लेखन लिएर कवि अमर वानियाँ देखापऱ्यो । कविताको सबैभन्दा अणुरूप एकहरफे वा एक लाइनको कविता । यो अणु कविता लेखनले भारतीय नेपाली साहित्यमा चर्चा पाएन । त्यसपछि कवि तेजमान बराइलीले कणिका कविता लेखनको प्रयोगलाई अघाड़ि बढ़ाएको पाइन्छ । कणिका कविता लेखनको प्रयोगमा आधारित कविता सङ्ग्रह कणिकाहरू { 2005 } लाई पाठकहरूको सम्मुख ल्याए । झट्टै हेर्दा मुक्तक जस्ता कविताहरूलाई कवि बराइलीले कणिका भनेर घोषणा गरेका छन् । यसको सैद्धान्तिक पक्षहरू त्यती विस्तार रूपमा नभएपनि सिर्जना कै पक्षबाट कणिका कविता लेखनलाई अघाड़ि बढ़ाएको पाइन्छ । फुटकर कविताहरू मुक्तकभन्दा लामो कविताहरूलाई बराइलीले चामलको दाना हुन् भनेका छन् । जसमा चामलका दानाहरू टुक्रा-टुक्रा भएपछि त्यसलाई हामी कणिका भनेर बुझ्दछौं त्यस्तै लामा कविताहरूभन्दा सा-साना मुक्तक जस्ता कणिकारूपी कवितालाई मुक्तक भनी मीनिलिएका छन् । जसरी चामलको द्रव्यमान र गुण कणिकामा हुन्छ उसरी नै कणिका कवितामा फुटकर र लामो कविताको, मुक्तकको विशेषताहरू पाइन्छ। यसरी कविता साहित्यमा पनि कणिका कविताले आफ्नो महत्व र गरिमा झल्काउन सक्छ भन्ने धारणा कवि बराइले पोखेका छन् । अणु परमाणुभित्र संसारको ठूलो शक्ति लुकेको हुन्छ । संसारमा जति सानो वस्तु उतिनै शक्तिशाली हुन्छ भन्ने वैज्ञानिक धारणालाई बराइलीले अँगालेको देखिन्छ ।अणुभन्दा शक्तिशाली परमाणु, परमाणुभन्दा शक्तिशाली इलोक्ट्रोन, प्रोट्रोन र न्यूट्रोन हुन् भने जस्तै कविता, मुक्तक, युग्मक, त्रिलहरी, अणुकविता आदि क्रमैले कविता शक्तिको समृद्धिलाई मान्य गर्दै कणिका कविता लेखनको प्रयोगलाई अघि बढ़ाएका पाइन्छ । कणिकामा पोखेका सुष्म अभिव्यक्तिमा शक्तिको स्रोत हुन्छ भन्ने धारणामा आस्वान देखिन्छ कवि बराइलीलाई । कणिकामाथि कविले आफ्नो विचार यसरी पोखेका छन् – विचारका केही कणिकारूपी लहरहरूलाई ओल्ट्याई - पल्ट्याई गर्दै राखि छाड़ेको धेरै अवधिहरूको सदाशय रूप हुने विचारमा भने कुनै निश्चित अभिव्यक्तिको आधार हुन नसक्लान् तर मनका आन्तारिक भाव विभेदका आकारहरू यहाँ छन् । यसैलाई कणिका कविता लेखनको उत्प्रेरक आधार मानिरहँदा दुईमत नहोला ।
कणिकाभित्रको द्रव्यमानः
कवि तेजमान बराइलीले भोगेका जीवनका भोगाइहरूका भूगोल हुन् - कणिकाहरू । जीवनको कोण-कोणमा छोएका तीता अनुभावलाई कणिका कवितामा अङ्कन गरेका छन् । जस्तो भोगेका छन् त्यस्तै यथार्थरूपमा व्यक्त गरेका छन् । उनको कणिकाहरू पढ़ीसक्दा कविको जीवनचित्रको अस्पष्ट पेन्सिल आर्ट जस्तै तयारी हुन्छ । छोटोमा मोटो भावहरूभित्र जीवनका तमाम रासायनिक प्रतिक्रिया बुझ्न गाह्रो पर्दैन - कणिकाभित्र । उनीले भोगेका जीवनको असन्तुष्टि समयहरू, चेपारोमा बसेका अवस्थाहरू अशान्तमनले अनुहारको खुशीहरू कचल्टेको, उत्साह उकुस-मुकुस भएका आक्रोशहरू, क्रोधहरू सहजै प्रकाशमान रहेको पाइन्छ –
रूख भएपछि
पात झार्नलाई
मान्छेहरू नै आउँछन् । { पे.न. 2 }
आत्माहत्या गरेर पनि
एउटा चिठ्ठीमा
बाँच्न खोजेको हुन्छ
मान्छे । { पे. न. 2 }
कविको जीवन भोगाइका अभाव, कुण्ठा पीड़ा जस्ता अनुभूतिहरू कणिकामा व्यक्त गरेका छन् ।
वर्तमानमा छाएको अमानवीय अवस्थालाई नजीकबाट नियालेका छन् । व्यक्तिपरक बनेर बाँचिरहेका समाजले आफ्नो स्वार्थमा सीमित रहने । आफ्नो परम कर्तव्यलाई भूलेर हैकमवादी बनेर बाँच्ने । आफ्नो पेशाबाट प्राप्त अधिकार र कर्तव्यलाई अदेख गरेर व्यक्तिगत स्वार्थमा प्रयोग गरेर समाज र देशमा अशान्त माहौल सिर्जना गर्ने जस्ता विषयलाई कवितामा व्यक्त गरेका छन् । सरकारबाट प्राप्त हक र अधिकारबाट गाउँ-बस्तीका सोझा, निमुखा जनमानसहरू बिमुख रहनु परेका अवस्थादेखि कवि दुखित बनेका छन् ।
रेडियोहरूमा
खबर कागजहरूमा
सरकार हाम्रो हो
तर अफिसरहरू होइन । { पे.न. 5 }
प्रा बराइलीका कविताहरूमा मानवीय भावहरू ओतप्रोत रहेको पाइन्छ । समाजमा देखिएका असमानता, सामाजिक भेदभाव, अन्याय, अत्यचारका विरोधमा उनका कणिका कविताहरू बोलेका छन् । यस्ता विरूद्ध स्वरलाई साधारम जीवनमा छाइरहने प्रतीक र विम्वद्वारा पल्रकाश पारेका छन् ।
उठाउनै नसकिने
गह्रौं भइसकेको
फुटाउनै नसकिने
मरौं भइसकेका
मानिसको मनहरू – { विछोड़, 38 }
वर्तमान झरिले पनि
यो माटो !
झरिलो बनाउन सकेन
यसैले जहीं तहीं
केवल पत्थर बनिसकेछ
माटो हराइसकेछ । { निर्माण, 20 }
दार्जीलिङे गाउँ-बस्तीमा मध्यवर्गीय परिवारले भोग्नुपरेको परिस्थिति र आर्थिक अवस्थालाई कणिका कवितामा दर्शाएका छन् । उनीहरूमाथि भइरहेको शोषण दमनलाई कविले नजीकबाट बोध गरेका छन् ।
बलेंसीमै भए पनि
पानी तिमी बगिदेऊ
पहाड़को छानोहरूमा
तिमी सजिदेऊ । { विन्ती, 41 }
भेटेर पनि नलेखिने
देखेर पनि नसोधिने
मनहरू कसरी ढुङ्गा भय़ो
दृष्टिहरूमा ओझल पऱ्यो । { अवगुण, 71 }
मानवजगतमा सार्थक जीवनको कसीनै कर्तव्यमुखी भएर बाँच्नु हो । विशेष समाजको युवा-युवतीमा नैतिक, बौद्धिक जागरण हुनुपर्छ । कर्तव्यमाथि निष्ठावन रहनुपर्छ तब समाजको प्रगति हुन्छ । समाजमा छाएको आडम्बर, छलकपट व्यभिचारदेखि टाढ़ा रहन सक्नुपर्छ । युग अनुसार सामाजिक पृष्ठभूमि तयार हुँदै जान्छ मानिसहरूको व्यवहारमा, संस्कृतिमा परिवर्तनको लहर देखिन्छ । फलस्वरुप मानवमूल्यले समाजलाई शान्त र उन्नतको दिशामा अघाड़ि बढ़ाइरहेको होस् भन्ने चाहनालाई कणिकामा उतारेका छन् ।
सड़क सड़क भएर
हिड्न मलाई डर छैन
हिमाल हिमाल चढ़ेर
रमाउन मलाई रहर छैन
बरू आफ्नै छाती जलाएर
सँधै आकाशमा उदाउने
एउटा घाम हुने रहर छ
एउटा घाम लाग्ने रहर छ । { रहर, 49 }
मुर्खले आफैलाई बोकेपछि
अरूको भारी कहाँ देख्छ
आफ्नै भारीको बोझ भेपछि
आफै थामिन कहां सक्छ र । { क्षमा, 73 }
वर्तमानमा विभिन्न प्रकारको जाति विभाजन, लोभ-लालचीको प्रभोलन देखाएर हामीलाई टुक्राउने, फुटाउने आजको राजनैतिक अतत्व र कारकप्रति विरोध गरेर समाजका युवा-युवतीहरूलाई एकता हुने आह्वान गरेका छन् –
द्य हातहरू भएर पनि
कर्म गर्न सक्तैन भने
यी द्य हातहरू
आफै सड़िन पर्छ । { श्राप, 67 }
भारतीय नेपाली कवितालाई प्रा. बराइलीको कणिका कविता सिर्जना धर्मिताले समृद्ध तुल्याएको पाइन्छ । उनको कणिका कविताहरूमा प्रा बराइलीले बाँचेको समयकालको विघटन, सन्त्रास, मानवमूल्य, संस्कृति चेतना, जीवनवादी चिन्तन जस्ता प्रवृतिहरू देखिन्छ । भारतीय नेपाली कविता साहित्यमा कणिकाहरू – ले एउटा छुट्टै महत्व र गरिमा झल्काएको देखिन्छ ।

दार्जीलिङ

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 10 भाद्र, 2077

लेखकका अन्य रचनाहरु