‘विद्रोही मनहरू’ कवितामा क्रान्तिको चेतना

- लक्ष्मीप्रसाद आचार्य

अध्ययन सार
प्रस्तुत अध्ययनमा प्रगतिवादी स्रष्टा विष्णु भण्डारीद्वारा रचना गरिएको ‘विद्रोही मनहरू’ कविताको माक्र्सवादी दृष्टिकोणका आधारमा अध्ययन विश्लेषण गरिएको छ । प्रयोजनपरक नमुना छनोटका माध्यमबाट माक्र्सवादी मान्यता रहेका विभिन्न विधाका रचनाहरूमध्येबाट भण्डारीको घाइते ह्विल चेयर’ कविता सङ्ग्रहमा रहेका ४६ वटा कवितामध्ये यस कवितालाई अध्ययनीय रचनाका रुपमा लिइएको छ । माक्र्सवादी दृष्टिकोणका आधारमा प्रस्तुत कविताको विश्लेषण गर्नु यस अध्ययनको उद्देश्य रहेको छ । पुस्तकालय स्रोत सामग्रीमा आधारित यस अध्ययनमा वर्णनात्मक विधिको प्रयोग गरी निष्कर्ष निकालिएको छ । ‘विद्रोही मनहरू’ कवितामा विभेदकारी, अत्याचारी राज्य व्यवस्थाका कारण अभाव, रोग, भोकबाट जनता ग्रसित बनेका छन् । तिनमा मुक्तिको चेतना छ । अहिले विशेष कारण पछि हटेका भए पनि केही समयभित्रै क्रान्तिको ज्वाला बनेर फर्किने, राज्यको सम्पत्तिको ब्रह्मलुट गरी सहरमा भव्य रुपमा बस्नेहरूको संसारमा धावा बोलिने छ भन्ने कुरा उल्लेख गरिएको छ । क्रान्ति तथा विद्रोहको माध्यमबाट मात्र शोषित पीडित जनताको मुक्ति मिल्ने विचार पोख्दै सामन्ती सत्ताको ध्वंश गरेर मात्र गरिवका सुनौला दिन आउने आशावादी विचारहरू यस कवितामा प्रस्तुत गरिएकोले यो कविता माक्र्सवादी चिन्तन रहेको उत्कृष्ट रचना बनेको देखिन्छ ।
प्रमुख शब्दावली
विभेदकारी, ज्वाला, कष्टकर, आवाजहीन, विद्रोह, अत्याचार, काँचा वायु

१. विषय प्रवेश
‘विद्रोही मनहरू’ (२०६७) समकालीन कवि विष्णु भण्डारीद्वारा रचना गरिएको माक्र्सवादी प्रगतिवादी चिन्तनमा आधारित कविता हो । यो कविता वि.सं २०६९ मा प्रकाशित उनको ‘घाइते ह्विल चेयर’ कविता सङ्ग्रहमा सङ्ग्रहित छ । प्रस्तुत सङ्ग्रहमा मानव जीवन, समाज, घात–प्रतिघात, विरोध र विद्रोहलाई कलात्मक ढङ्गले प्रस्तुत गरिएका ४६ वटा कविता रहेका छन् । वि.सं. २०२० फागुन २९ गते गुल्मी जिल्लामा जन्मिएका विष्णु भण्डारी प्रगतिवादी स्रष्टा हुन् । २०३० को दशकबाट कविता साहित्यमा कलम चलाउन थालेका भण्डारीका एस.वि.विवेकको उपनामबाट विद्रोहको छाल (खण्डकाव्य २०४३), आँधी र तुफान (मुक्तक सङ्ग्रह २०४४) ब्वाँसोको अन्त्यको खेल (खण्डकाव्य २०४३), कालो नाटक (लघुकाव्य), फेरि अर्काे तारा खस्यो ( कविता सङ्ग्रह २०६३), देश जागेको बेला (जनआन्दोलन कविता २०६३) प्रकाशित गरेका छन् । उनले पञ्चायतकालमा पञ्चायत विरोधी आन्दोलनका नाममा र बहुदलकालमा बहुदलका नाममा जनतामाथि गरिएका पीडा र छटपटीका विरुद्धमा निरन्तर लेख्दै आएका छन् ।
‘विद्रोही मनहरू’ कवितामा तत्कालको परिस्थिति केही प्रतिकूल देखिएकोले संयम र धैर्यताका साथ समाज परिवर्तनका वाहक क्रान्तियोद्धाहरू पछि हटेको, आफ्नो ठेगानामा फर्केका छन् तर केही समयभित्रै फेरि आगोको ज्वाला बनेर आउनेछन् । परिवर्तनको क्रमले छोटो समय अनुकूलताको प्रतिक्षा गरेको छ । केही समय पश्चात क्रान्ति चर्किने विचार प्रस्तुत गरिएको छ । धुर्त, लोभी, मसानजस्तो सोचले राज्यको सञ्चालन आफ्नो मुठ्ठीमा लिइरहेको छ तर केही समयपश्चात आगो सरी आउने जनताको विद्रोहले ती सबलाई खरानी बनाउने छ भन्दै विद्रोहको चेतना दबाएर नदब्ने, झन् ज्वालामुखी भएर विष्फोट हुने विचार प्रस्तुत गरिएको ‘विद्रोही मनहरू’ परिवर्तनगामी अभिव्यञ्जना पोखिएको कविता हो ।
क्रान्तिको शाब्दिक अर्थ ‘परिवर्तन’ हो । कुनै शासन प्रणाली वा व्यवस्था जनभावना प्रतिकूल भएको अवस्थामा जनताहरूबाट उक्त व्यवस्थाको परिर्वनको लागि प्रयत्न गरिन्छ जसलाई क्रान्ति भनिन्छ । ‘क्रान्ति भन्नाले कुनै शासन स्थिति आदिको परिर्वतनका निम्ति हुने जनशक्तिको प्रयास वा कार्यकलाप वा विद्रोह हो, ठूलो परिवर्तन वा उल्टापल्टी, हेरफेर वा अदलाबदली हो’ (पोखरेल र अन्य, २०७५ पृ. २५६) । यस भनाइलाई आधार मान्ने हो क्रान्तिले परिवर्तनको प्रक्रिया र परिवर्तन दुबै अवस्थालाई सङ्केत गर्दछ । मानव इतिहासलाई हेर्ने हो भने क्रान्ति वर्गीय मुक्तिका लागि गरिएको छ । किसान, मजदुर, श्रमिक लगायत शासित, शोषित वर्गको मुक्तिका लागि संसारमा ठूला ठूला क्रान्ति भएका छन् । वर्गीय मुक्तिको प्रकृति, समाज, राज्यव्यवस्था आदिका बारेमा गरिएको खोज र प्रयोगद्वारा निकालिएको वैज्ञानिक तथा क्रान्तिकारी विचार रहेको सिद्धान्त कार्ल हेनरिक माक्र्स र फ्रेडरिक एन्जेल्सद्वारा प्रतिपादन गरिएको सैद्धान्तिक मान्यता माक्र्सवाद हो । माक्र्सवादले पुँजीपति वर्गको राज्यव्यवस्थालाई ध्वस्त पारी त्यस ठाउँमा सर्वहारा श्रमजीवी वर्गको राज्यव्यवस्था स्थापना गर्ने क्रान्तिकारी बाटो देखाउँछ । माक्र्सवादका मौलिक विशेषताहरू द्वन्द्वात्मक भौतिकवाद, ऐतिहासिक भौतिकवाद, वर्ग सङ्घर्ष, अतिरिक्त मूल्यको सिद्धान्त, सर्वहारा अधिनाकत्व, तल्लो वर्गको जनतामा राज्यको शक्ति निहित आदि कुरा हुन् (विश्वकर्मा, २०१९) । कार्ल माक्र्सको वर्ग विभेदको सिद्धान्तमा आधारित साहित्यिक मान्यता माक्र्सवादी समालोचना हो । यसलाई प्रगतिवादी वा प्रगतिशील समालोचना प्रणाली पनि भनिन्छ । यो माक्र्सका साथै एन्जेल्स, प्लेखानोभ, लेनिन, हर्जन, चर्निसेब्स्की लगायतका दार्शनिकहरूले विस्तार गरेका साझा मान्यताका रुपमा आधारित छ । यसले पाठ वा कृतिमा शक्तिशाली वर्ग र शक्तिहीन वर्गलाई कसरी चित्रण गरिएको छ भन्ने कुराको अध्ययन गर्दछ । लेखकको, कृतिको, विचारको वर्गीय धरातललाई केन्द्रमा राखेर कृतिको अध्ययन विश्लेषण गर्ने मान्यता माक्र्सवादी अवधारणाले सत्ता र पुँजीको वितरणको अवस्थालाई विश्लेषणको मुख्य आधार बनाएको हुन्छ । समाजका धनी र गरिब, मालिक र कामदार, उद्योगपति र मजदुर, जमिन्दार र किसानका बीच सङ्घर्ष चलिरहेको हुन्छ त्यसलाई कृतिले कसरी मुखरित गरेको छ भन्ने कुराको अध्ययन विश्लेषण गर्ने पद्धतिका रुपमा माक्र्सवादी समालोचनालाई लिइन्छ ।
२. समस्या कथन ÷ उद्देश्य
माक्र्सवाद वर्गीय मुक्तिको आन्दोलन हो । किसान, मजदुर, श्रमिकहरूमाथि राज्यशक्तिको आडमा शोषण दमन भइरहेको, उत्पादनमाथि सीमित व्यक्तिको एकाधिकार रहेको अवस्थामा उक्त अन्यायका विरुद्ध स्रष्टाहरू पनि देखा परेका छन् । कमलका माध्यमबाट स्रष्टाहरूले वर्गीय मुक्तिको लडाइँमा कसरी साथ दिइरहेका छन् भन्ने कुराको अध्ययन हुन आवश्यक छ । राज्यशक्तिका आडमा चुसिइरहेका आम जनताका लागि मुक्ति या मृत्युको लडाइँमा साथ दिने स्रष्टाहरूले जनताको आवाजलाई, युगका मागलाई कृतिले कसरी मुखरित गरेका छन् भन्ने कुराको अध्ययन आवश्यक छ । प्रगतिवादी स्रष्टा विष्णु भण्डारीद्वारा रचना गरिएको ‘विद्रोही मनहरु’ कवितामा जनताको मुक्तिका खातिर विद्रोह गर्नु पर्ने कारण के छन्, किन विद्रोह गर्ने भन्ने क्रान्ति चेतनाको पहिचान गर्नु यस अध्ययनको मुख्य समस्या रहेको छ । नेपाली जनताको मनमा विद्रोहका ज्वालाहरू रहनुका कारण खोजी वर्गीय लडाईको उद्देश्य र आवश्यकतालाई केलाउनु यस अध्ययनको समस्या हो ।
यिनै समस्यामा आधारित यस अध्ययनमा निम्न उद्देश्य राखिएको छ ः
(क) ‘विद्रोही मन’ कवितामा प्रस्तुत विद्रोहका कारण र त्यसको औचित्य पहिल्याउनु ।

३. अध्ययन विधि तथा सैद्धान्तिक पर्याधार
३.१ अध्ययन विधि
प्रस्तुत अध्ययन वर्णनात्मक ढाँचाको रहेको छ । यसका लागि पुस्तकालय अध्ययन पद्धतिको उपयोग गरिएको छ । यस अध्ययनमा प्रगतिवादी साहित्यकार विष्णु भण्डारीको ‘विद्रोही मनहरू’ कवितालाई माक्र्सवादी मान्यताका आधारमा केलाउने कार्य गरिएको छ ।
३.२ सैद्धान्तिक पर्यायधार
प्रस्तुत अध्ययनमा माक्र्सवादी साहित्यिक मान्यतालाई सैद्धान्तिक आधार बनाइएको छ । कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सबाट व्याख्या गरिएको द्वन्द्वात्मक भौतिकवादी तथा ऐतिहासिक भौतिकवादी दर्शन अनुरूप साहित्यलाई हेर्नु नै साहित्य सम्बन्धी माक्र्सवादी मान्यता हो (भट्टराई, २०६८ पृ.४३)। यस अध्ययनमा माक्र्सवादका यिनै सैद्धान्तिक मान्यतालाई विश्लेषणको आधार वनाइएको छ । समाजको वर्गीय विशेषताका कारण कला साहित्यमा पनि त्यसको प्रतिबिम्ब हुन्छ । साहित्य शोषित उत्पीडित वर्ग एवं समुदायको मुक्तिका लागि उत्पीडनकारी समाजलाई रूपान्तरण गर्ने उद्देश्यमा आधारित रही रचना गरिनु पर्छ भन्ने मान्यता माक्र्सवादी साहित्यको हो । यसले समाजलाई मात्र नभई कला साहित्यका रचनाहरूका विविध रुपलाई वर्गीय दृष्टिकोणमा हेर्छ । समाजमा विद्यमान अन्याय, अत्याचार र विभेदको अन्त्य गरी न्यायपूर्ण समाजको निर्माण गर्ने लक्ष्यलाई आत्मसात गर्नुको साथै त्यसका निमित्त समाजमा चल्ने वर्ग सङ्घर्षका प्रक्रियाको चित्रण गर्दै वैचारिक र आत्मिक रुपान्तरणका निमित्त उर्जा र उत्प्रेरणाको काम पनि गर्छ । माक्र्सवादी साहित्य माक्र्सवादी दर्शनको द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी चिन्तनदृष्टिमा आधारित भएर लेखिएको हुन्छ । ‘‘वर्गीय समाजमा सामाजिक प्रगतिको मुख्य प्रेरक शक्ति एवम् केन्द्रीय कारण वर्ग सङ्घर्ष रहने र अनवरत रूपमा चलि रहने वर्ग सङ्घर्षको एउटा वैचारिक हतियार साहित्य भएकाले यसको स्वरूप पनि वर्गीय रहन्छ’’ (चापागाईं, २०५४ पृ. १५५) । उत्पादन सम्बन्धले समाजको स्वरुपलाई निर्धारण गर्छ भन्ने मान्यता राख्ने यस साहित्यको प्रमुख विषयवस्तु वर्ग सङ्घर्षमा आधारित समाजको यथार्थ हो । ‘‘सामन्तवादी, पुँजीवादी उत्पादन सम्बन्ध तथा राज्यसत्ताका विरुद्ध समाजवादी उत्पादन सम्बन्ध र राज्यसत्ताको निर्माणका पक्षमा रहनु यसको अभिष्ट रहन्छ’’ (भट्टराई, २०६८ पृ.४२)। वर्गीय पक्षधरतामा आधारित यस्ता साहित्य उद्देश्यमूलक हुन्छन् ।
माक्र्सवादी साहित्यले समाजमा हुने शोषण अन्याय, अत्याचार र उत्पीडनका विरुद्ध सशक्त आवाज उठाउँछ । यसका लागि कला साहित्यलाई समाज रूपान्तरणको हतियारका रूपमा लिइन्छ कला साहित्यको सारभूत कार्य भनेकै जादु गर्नु मात्र नभएर तिनै मुक्तिकामी वर्गलाई प्रवुद्ध बनाउनु तथा कर्मशील बन्ने प्रेरणा दिनु हो” (फिसर, १९९० पृ.१७) । समाजको उत्पादन सम्बन्ध र कला साहित्य बीचको सम्बन्ध, प्रतिबद्धता र स्वतन्त्रताको प्रश्न, वर्गीय पक्षधरता, कला साहित्यको उद्भव तथा विकासमा श्रमको भूमिकालाई स्वीकार्नु, वर्ग सङ्घर्ष र सर्वहारा वर्गको पक्षधरता आदि माक्र्सवादी साहित्यका आधारहरू हुन् । ‘‘साहित्य सुसङ्गठित, योजनाबद्ध, एकताबद्ध सामाजिक जनवादी पार्टी कार्यको सङ्घटक अङ्ग बन्नु पर्छ’’ (लेनिन, १९७४, पृ.४७) । यिनै सैद्धान्तिक मान्यताहरूका आधार बनाएर ‘विद्रोही मनहरू’ कविताको अध्ययन विश्लेषण गरिएको छ । यस अध्ययनको मुख्य सैद्धान्तिक आधार माक्र्सवादी साहित्य सिद्धान्त हो ।
‘विद्रोही मनहरू’ कविताको अध्ययन, विश्लेषण निम्न आधारमा गरिएको छ ः
(क) वर्गीय विभेदको अवस्था
(ख) अन्यायपूर्ण राज्यव्यवस्था
(गं) क्रान्ति÷विद्रोहको आवश्यकता
(घ) भविष्यप्रतिको आशा
(ङ) वर्गीय मुक्ति र समानता

४. ‘विद्रोही मनहरू’ कविताको व्याख्या विश्लेषण
विष्णु भण्डारीको ‘घाइते ह्विल चियर’ कविता सङ्ग्रहमा सङ्ग्रहित ‘विद्रोही मनहरू’ कवितामा अन्याय र अत्याचारका विरुद्ध ज्यानको बाजी लगाउनेहरू, समतामूलक समाजको परिकल्पना गर्नेहरू, परिवर्तगामी योद्धाहरू अहिले विशेष परिस्थितिका कारण चिसो मन लिएर फर्केका छन् । तिनीहरू फेरि आउनेछन्, क्रान्तिको आगो सल्काउने छन्् । देशबाट अन्याय अत्याचार र शोषण दमनको अन्त्य गराएरै छाड्नेछन् । उक्त क्रममा पुरातनवादी, अत्याचारी सत्ताले भयावह अवस्थाको सामना गर्नपर्ने छ भन्ने विषयवस्तु प्रस्तुत कवितामा रहेको छ ।
४.१ वर्गीय विभेदको अवस्था
‘विद्रोही मनहरू’ कवितामा समाजमा वर्गीय विभेदको अवस्थालाई चित्रण गरिएको छ । अहिले राज्य र समाजमा काँचा वायुहरूले शासन गरिरहेका छन् । तिनीहरूबाट शासित आम जनताको अवस्था दयनीय छ । तिनीहरू रोग, भोग र अभावले ग्रसित छन् । ग्रामीण भेगहरूमा, देशका कुना कन्दरामा बस्नेहरूको जीवन झन निकै कष्टकर छ । राज्यकोषमा सीमित मुठ्ठीभरका शासकहरूले रजाइँ गरिरहेका छन् । विकासका नाममा सहरलाई मात्र सुकिलो बनाउने काम भएको छ, जहाँ जिउँदा लासहरू मात्र छन्, ती सहर मसान जस्तै छन्, मानवता नचिन्ने, नबुझ्ने बनेका छन् भन्ने विचार यस कवितामा प्रस्तुत गरिएको छ ।
रात विरात जाग्दै गरेका काँचा वायुहरू ।
जिउँदा लासहरूले गन्हाएको छ सहर
डरलाग्दा मसानहरूले घेरिएको छ सहर (विद्रोही मनहरू, २०६७)
नाम मात्रका धनीहरू बस्ने संवेदनाहीन मसान जस्तै बनेका ती सहर सङ्घर्षका मुख्य मैदान हुनेछन् भन्ने विचार यस कवितामा प्रस्तुत गरिएको छ ।
जब ह्वार ह्वार गर्दै
सडकहरुमा सल्किन थाल्ने छ आगो
फुटन थाल्ने छन् अजङ्गका पत्थरहरू (पूर्ववत् ...)
४.२ अन्यायपूर्ण राज्य व्यवस्था
प्रस्तुत कवितामा राज्य विभेदकारी रहेको कुरा चित्रण गरिएको छ । विकासका नाममा सहरहरू मात्र चिल्ला बनाइन्छ । देशका ग्रामीण इलाकाहरूमा विकासका आधारभूत कुराहरू सम्म पुगेनन् । शिक्षा स्वास्थ्य जस्ता अत्यावश्यक कुराहरू समेत राज्यले दिन सकेको छैन । यो व्यवस्था सीमित मान्छेका लागि स्वर्ग जस्तो छ, तिनलाई कानुनले छुदैन, विधिले खुम्च्याउदैन । लुटको स्वर्ग निर्माण गरेका छन् । तर आम जनताहरूको जीवन निकै कष्टकर छ । अभाव, भोक, रोगसँग लड्दै गर्दा उसैमा राज्यबाट उत्पीडन खेप्नु परेको छ । महङ्गीको मारमा पिल्सिनु परेको छ, अशिक्षाको अन्धकारमा हराउनु परेको छ । नयाँ नयाँ कर, नयाँ नयाँ नियमको चेपाइमा निराश भएर बाँच्नु परेको अवस्था राज्यले गराइदिएको छ भन्ने कुरा यस कवितामा चित्रण गरिएको छ
यो दुन्दुभि बज्दै गरेको बेला
अशान्त सडकहरूमा
खनेर निराशाको आलो चिहान (पूर्ववत् ...)
४.३ क्रान्ति÷विद्रोहको आवश्यकता
प्रस्तुत कवितामा क्रान्तिको आवश्यकताको बोध गरिएको छ । आम जनतामाथि शोषण दमन, अन्याय अत्याचार भैरहेको, सीमित मुठ्ठीभर मानिसले ब्रह्मलुट मच्चाइरहेको अवस्था छ । राज्य व्यवस्था सीमित स्थान र सीमित मान्छेका लागि मात्र छ । अभाव र गरिबीले आक्रान्त भएर बाँच्न बाध्य बनाउने कारक राज्य व्यवस्था नै छ । यस्तो विभेदकारी, अत्याचारी राज्य व्यवस्थाको अन्त्य नगरी नहुने ठानिएको छ ।
फुटन थाल्ने छन् अजङ्गका पत्थरहरू
भत्किन थाल्ने छन्
कालचक्रका पुरातन वैभवहरू
डगमगाउने छ धर्ती (पूर्ववत् ...)
सदियौंदेखिको अन्याय र अत्याचारको कालचक्रलाई हटाउन, वर्तमानसम्म फैलिएको अन्धकारलाई पन्छाउन, समाज र राज्यव्यवस्थामा थुप्रिएको फोहरलाई जलाउन क्रान्तिको आवश्यकता देखिएको छ ।
सदियौं पुरानो गजवार झिकेर
अन्धकार विरुद्धमा नयाँ मसाल
त्यो तप्त अग्निहोत्रमा
जल्ने छन् फोहरहरू (पूर्ववत् ...)
आम जनताहरू राज्य व्यवस्थाका कारण दुःख झेल्न बाध्य भए । विश्व मानव समुदाय प्रगतितिर लम्किंदा आफ्नो देशका जनताका गास, बास र कपासकै अभावमा परे, राज्यले जातीय, क्षेत्रीय, लैङ्गिक विभेद ग¥यो भने त्यसबाट मुक्ति पाउने एउटै उपाय भनेको क्रान्ति नै हो । राज्य व्यवस्थासँग विद्रोह गर्नै पर्छ भन्ने भाव यस कवितामा प्रस्तुत गरिएको छ ।
४.४ भविष्यप्रतिको आशा
प्रस्तुत कवितामा भविष्यप्रतिको आशा राखिएको छ । विद्रोह पछि, क्रान्ति पछि खुसीका दिन आउनेछन् । सामन्ती सत्ताका धरोहर गिराइसकेपछि नयाँ दिनको सुरुवात हुनेछ । शोषण, दमन, अत्याचारबाट मुक्ति मिल्नेछ । असमानताका खाडलहरू विस्तारै पुरिदै जानेछन् । अन्याय गर्ने हरेक बाहनालाई पन्छाएर, शोषण दमन गर्ने हरेक संरचनालाई भत्काएर नयाँ राज्य व्यवस्थाको निर्माण गरिनेछ । जुन व्यवस्थामा सबै जनता खुसी रहेछन्, देशले विकासको गति लिनेछ भन्ने विचार प्रस्तुत गरिएको छ ।
भत्किन थाल्ने छन्
कालचक्रका पुरातन वैभवहरू
फेरि घुम्न थाल्ने छ समय
फेरि नाच्ने छ पृथ्वी (पूर्ववत् ...)
४.५ वर्गीय मुक्ति र समानता
प्रस्तुत कवितामा वर्गीय मुक्तिका लागि क्रान्तिको आवश्यकता औंल्याइएको छ । विद्रोह विना सामन्ती सत्ता ढल्ने छैन । सानोतिनो प्रयासले सदियौंदेखिको अत्याचारको चक्र समाप्त हुने छैन भन्ने ठम्याइ कवितामा गरिएको छ । हजारौं लाखौं जनताहरू उत्रेर पुरातनवादी सामन्ती सत्ताका हरेक संरचनाहरू ध्वस्त गरेपछि मात्र अत्याचारी सत्ताको अन्त्य हुनेछ । यसको अन्त्य नै वर्गीय विभेद, शोषण र दमनको अन्त्य हुनु हो । असमानता, अन्याय, शोषण, दमनको अन्त्यसँगै समानता कायम हुनेछ । मुठ्ठीभर मानिसको हैकम, हालिमुहालीको अन्त्य भयो भने आम जनताको समेत सत्तामा पहुँच पुग्नेछ । देशका सबै भागहरूको विकास समानुपातिक रुपमा विकास हुन थाल्नेछ । विकास, उत्पादनमाथिको वितरणमा समानता कायम हुनेछ भन्ने कुरा ‘विद्रोही मनहरू’ कवितामा प्रस्तुत गरिएको छ ।
यो अशान्त समयको
प्रशान्त क्षितिज
केही समयमै हल्लिने छ
र भित्रिने छन् (पूर्ववत् ...)

४. निष्कर्र्ष
‘विद्रोही मनहरू’ कवितामा वर्गीय विभेदको अवस्था विद्यमान रहेको अन्यायपूर्ण राज्यव्यवस्थाका विरुद्ध क्रान्ति÷विद्रोहको आवश्यकताबोध गरिएको छ । वर्गीय मुक्ति र समानताका लागि क्रान्ति र परिवर्तित भविष्यप्रति आशाभाव पोखिएको छ । सामन्ती सत्ताले जनताको जीवनलाई कष्टकर बनाएको छ । बेलाबेलामा उठेका विद्रोहका आवाजलाई दबाएको छ, आम मानिसलाई अल्मल्याएको छ । तर अब त्यसो हुनेवाला छैन । अबको विद्रोह कसैले रोक्न सक्ने छैन । यसले सामन्ती सत्ताका संरचनामाथि धावा बोल्दै समूल ध्वस्त गराउनेछ र त्यसपछि शोषित पीडित जनताको मुक्ति हुनेछ । समग्र देशका कुना कन्दराको मुहार बदलिनेछ । आम जनताको जीवनस्तर सुध्रने छ । तसर्थ भीषण क्रान्तिको पर्खाइमा देश रहेको छ भन्ने क्रान्तिकारी, परिवर्तगामी विचारहरू प्रस्तुत गरिएका छन् ।

सन्दर्भ सामग्री सूची
चापागाईं, निनु (२०५४) यथार्थवादी रचना दृष्टि र विवेचना. काठमाडौं ः दिल बरदान र महिम चापागाईं ।
पोखरेल, बालकृष्ण र अन्य (२०७५) नेपाली बृहत नेपाली शब्दकोश, (संस्क.दसौं) काठमाडौं ः नेपाल प्रज्ञाप्रतिष्ठान ।
फिसर, अन्स्र्ट (सन् १९९०). कला की जरुरत. अनु. रमेश उपाध्याय. नयाँ दिल्ली ः राजकमल प्रकाशन ।
भट्टराई, डिजन (२०६८) ‘नेपाली माक्र्सवादी उपन्यासका मूल प्रवृत्ति’ मानविकी तथा सामाजिक शास्त्र सङ्काय, नेपाली केन्द्रीय विभाग. त्रि.वि. (विद्यावारिधि शोधपत्र) अप्र.
भण्डारी, विष्णु (२०६७) घाइते ह्विल चियर, काठमाडौं ः शैलवी प्रकासन
लेनिन, भी. आइ. (सन् १९७४). साहित्य के बारे में. मस्को ः प्रगति प्रकाशन ।
विश्वकर्मा, अखिल (सन् २०१९ जुन १८) माक्र्सवाद र तीन संगठन अङ्गहरू, युगयान दैनिक पृ.२ं ।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 10 भाद्र, 2077

लेखकका अन्य रचनाहरु