बाल्यकाल र बाबा

- नारायण मरासिनी

हाँस्थेँ खेल्थेँ विगत दिनमा प्यार पाई रमाई
‘बाबा’ भन्दै अघिपछि भई हातखुट्टा समाई
कैलेकाहीँ छुनुमुनु गरी काँधमा चढ्न पुग्थेँ
त्यो बेलामा अबुझ मनले शक्तिशाली म हुन्थेँ ।

भाग्थेँ कैले झटपट उठी प्याट्ट हान्दा रिसाई
फर्की बस्थेँ उठबस गरी हार आफै म खाई
पैलेजस्तै लुटुपुटु भई चुप्प खान्थेँ हजार
छैनन् त्यस्ता दिन अब यहाँ, सम्झना बारबार ।

कस्तो मीठो सरस वयको प्रेमको बाल्यकाल
बाबा साम्ने दिनभर हुँदा हुन्नथ्यो क्यै बिहाल
आफ्नो मान्छे सबल तनको आडको स्तम्भ हुन्थ्यो
जोरीपारी वरपर हुँदा दम्भले जून छुन्थ्यो ।

क्वाप्पै खायो सुलुसुलु निल्यो काल कालो रमायो
पोल्यो छाती धुरुधुरु भएँ आँत मेरो कमायो
चिन्ता आयो अघिपछि गरी चैन मेरो हरायो
मर्नै पर्ने नियम भवको चेतनाले बुझायो ।

बुझ्दै जाँदा सबतिर उही, मर्नु केही गरेर
भन्दाभन्दै दिनहरु बिते बाबु आफै भएर
भोग्दै जाँदा कठिन अति भो बाबु बन्दा मलाई
ज्योत्स्ना छर्ने मइन भइने ज्यान आफ्नै जलाई ।

ज्याग्दीखोला, स्याङ्जा

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 10 भाद्र, 2077

लेखकका अन्य रचनाहरु