विसंगतिको एक आयाम - जीवन !

- लक्ष्मी उप्रेती

हामी भोगाईमा होस या कल्पनामा होस जीवन रच्न सधैं उद्देलित भइरहन्छौं। जीवन रच्नु भनेको पनि सिर्जना गर्नु हो। चाहे साहित्यमा होस् चाहे गैर साहित्यिक होस्। लेख्नु र लेखिरहनु पनि एउटा दर्शन जस्तो अनि जीवनको नजानिदो एउटा युद्ध। त्यसैले समयको चालसँग हामी युद्धमा होमिरहेका नै हुन्छौं। चाहे जस्तोसुकै परिस्थितिमा गुज्रिनु परे पनि युद्ध छ र त जीवन छ सायद । अन्ततः युद्धकै होडबाजीमा हाम्रो इहलिला सकिन्छ । म पनि आफ्नो कर्तव्य पथमा उठ्दा, सुत्दा, खादा, हिडदा अर्थात् जीवनको यावत् कर्ममा युद्धरत नै भइरहेकी हुन्छु। अरू त अरू आफुलाई मन परेको काम गर्दा पनि युद्ध नै गरिरहेकी हुन्छु। जानेर नजानेर थाह भएर नभएर हरेक मान्छे म जस्तै हरक्षण युद्धरत नै छन। त्यो युद्धको नतिजा चाहे हार होस चाहे जित नै किन नहोस। मान्छे हारेर पनि जित्ने बाटो रोज्छन् तर कतिपय युद्धमा हारिरहेका हुन्छन् ।
जीवनको पर्याय संघर्ष एक पलक पनि आफुबाट नछुट्ने रहेछ। संघर्ष मात्र कहाँ हो र औडाह भनु न। कहिले आफ्नै मनमा भएको औडाह त कहिले अरूको औडाहले शान्त हुनै दिदैन् । अर्थात् आफै पनि आन्तरिक र बाहिरी छटपटीले व्यग्र भइ नै रहने रै छौं। र त जितमा हारेको र हारमा पनि जितेको तरङ्गमा जीवन बिताईरहेछौं। यसरि बिताउनुमा अर्थात् अन्त हुनुमा कोही रमाएका पनि हुन्छन् कोही भने व्यर्थमा हार खाएका हुन्छन्।
लेखक महोदया ! लेख्नलाई जीवनका नै अनगिन्ती कुरा भएर पनि कल्पनाको तरङ्गमा किन पुग्ने । कल्पना एउटा भ्रम न हो। भ्रम रच्नु भन्दा भोगेकै र देखेकै कुरा लेख्न सहज हुन्न र ? कल्पना गरेर लेख्दा पात्रहरू पनि काल्पनिक नै हुन्छ। अनि तिनलाई लेखकले नै प्राण भर्छन। तर यसरि लेखिने पात्रहरूलाई न्याय दिन सकिएला त। यस कुराले म निकै दुविधामा पर्छु कहिले कहीँ त । पौराणिक प्रशङ्गहरू पनि त छन् नि यत्रतत्र। बिभिन्न समयका रामायण कालिन महाभारत कालिनका युग चेतनाको चिन्तनबाट किन भाग्दैछन् यस युगका लेखकहरू पनि। यीनै सन्दर्भलाई लेखे पनि त हुने हो मिथकका रूपमा प्रर्दापण गरेर। जस्ले समय बोल्छ र सामाजिक संरचनाका साथ प्रकृतिमा एकाकार गराउन सक्छ। तर किन जीवनलाई लुकाउदै कल्पनाको भ्रममा रहेर लेखिरहनु र फेरि लेखिरहनुको सिलसिला कस्तो दर्शन हो। यो रंगहिन रंग जस्तो स्वादहिन स्वाद जस्तो अनि जीवनहिन जीवन जस्तो पनि त हैन कतै! जीवनवोध हुन त जीवन नै लेख्नु पर्ने जहाँ अर्थ भेटिन्छ । जीवनकै उज्यालो अध्यारो आयममा हातेमालो गर्नु पर्ने हो नि।
जीवनलाई शब्दमा उतारिएका कृति पनि नभएका हैनन् । तर मान्छे पिच्छे जीवनका आयाम केही फरक त छन् । आहा! जीवनलाई अक्षरको उज्यालो बाटो हिडाउन सक्नु अर्थात् जान्नु हो त सौन्दर्यको कलेवर पनि त बदलिन्थ्यो होला। आफुले भोगेका रागमा अनुभूतिको रंग मिसाउनु साँच्चिकै जीवन्तताको मीठो प्रश्तुति हो सायद। म यहीँ प्रश्तुतिमा आफुलाई र आफ्नो लेखनको प्रारव्ध र अन्तको फेर खोजिरहेछु खोजिरहेछु अनवरत।
संगीतको धुन र जीवनको लय सौन्दर्यहिन भए कस्तो हुन्छ अनुमान लाउदा पनि उदासीन हुन्छ मन मस्तिष्क। यस्तै यस्ता बेथिति र बिग्रहको युद्ध पनि त हामी लडिरहेछौं। कहिले एक्लै कहिले कोहीसँग मिसिएर। अरूसँग मिसिनुको अर्थमा कहिले कहीँ धेरै धेरै हाता लाग्छ तर पलभरमा आफैंलाई विचलन बनाउदै हराउछौं। त्यसबेला सहनुको पराकाष्ठा न पुरै हार्ननै सकिन्छ न अलिकति जित्न नै। यो हार र जीतको सिलसिला जीवनहिन जस्तै अनर्थ गीत पूर्णताको अन्त हो कि अपूर्णताको सुरवाती अवस्था।
कहिले कही म निकै संवेदित हुन्छु भावनामा बहकिएर। किन हो त्यस्तो बोला आफ्नाहरूकाबारे आफु बाचेको परिवेशका बारेको चिन्तन गर्न खोज्छु। यो भन्दा पृथक हुन के नै पो सकौला खै । हो देश हुन्छ तर आफु नभए त देश कसरी होला कुन्नि। प्रज्ञावोधबाट सुटुक्क उब्जिएका दुखेसोहरू प्रति न कुनै सुझाब छ न कुनै गुनासो नै छ। तर छ त जीवन मार्गका केही संभावनाहरू। जीवन भोगाईका रूपरेखाहरू । जे जस्तो भएपनि लेख्न सके जीवनको एउटा इतिहास रचिन्छ। जस्ले समयको चित्रसँगै त्यही समयको सामाजिक परिवेश र जीबनशैली धेर थोर उजागर गरेकै पनि त हुन्छ । तर किन एकदमै कम लेखिएका हुन् जीवन।
लेखनले जीवनलाई उज्यलो बाटो हिडाउछ। त्यहि उज्यालो बाटो हिड्नेले नै जीवनको सार बुझ्न सक्छ । कहिले खुसिका कुरा लेखेर रमाउने र कहिले आँसुका कुरा लेखेर संवेदित हुने लेखक आफैमा चेतना हुन्, दर्शन हुन् । आखिरमा जीवन भन्नु नै हासो र आँसुको एउटा दर्शन हो सायद। म पनि यहि दर्शनमा गुजुल्टएर जीवन खोजिरहेछु। कहिलेकाहीँ आँसु मज्जाले बगाउँदा जीवनका जटिलताहरू पो निख्रिन्छन र लेखनका सुन्दर मार्ग तय हुन्छ। आँसु आउदैमा खालिखालि हुनु भनेको आँसुबाट एकछिन आफुलाई हराउनु मात्र हो। आँसुमा न कुनै पश्चाताप हुन्छ न कुनै समर्थन नै हुन्छ। आँसु त मन उम्लिएर बग्ने हर्ष र विस्मतका तरङ्ग हुन्। हाँसोमा त वाफरे वाफ कति अर्थ लगाउनु प्रेमको हाँसो, खुसीको हाँसो, प्राप्तिको हाँसो, आनन्दको हाँसो, जीतको हाँसो उपहासको हाँसो, रिसको हाँसो, अझ जीवन सौन्दर्यको हाँसो,............. कतिकति हाँसो।
जीवन बाँच्ने कला जस्तै हरेकले मन परे पनि नपरे पनि जीवनमा अभिनयको स्वाङ रचेकै हुन्छन्। अभिनयको ताजमा कहि उज्यालो उज्यालो कहि आध्यारो अध्यारो मार्मिक अनि बढो उदेकको। जीवन छुटाएर बचाईको तृष्णा सोच्नु अर्थात् योजना गर्नुको के अर्थ! त्यसैले बाच्नु भनेको जन्म पछिको यात्रा हो। जुन यात्रा मैले पनि जे जस्तो झमेला मोलेर होस् या दुखेर होस् जीवनको मायाले बचाईको तृष्णा साचेर हिडिरहेछु । जीवनको माया गरेर जीवनका जटिलता हिडिरहे हिडिरहेछु अविरल ।
सफलतालाई साथमा राखेर हामी कर्म पनि त गरिरहेका छैनौं नि ? यदि एकपछि अर्को प्राप्ति हाम्रो अनुकूल भइदिएको भए यो जगत् मा हरपल जीवनमा उब्जिएका तीतामीठा कुराले झुत्ति खेल्न आउँथे होलान् ? यसबाट के बुझिन्छ भने हरेक व्यक्तिका कार्य कहिले सफलताको रंगमा उल्लासित हुदै कहिले असफल सिलसिलामा कुण्ठित भएर जाने रैछन् । यो मैले नै अनुभवले गरेर एकाएक फुरुङ्ग भईरहेछु। यस्मा यात्राको उद्देश्य सकारात्मक भएपनि बिचमा आइ लाग्ने अड्चनको थप्पडले म नराम्ररी पछारिएकी पनि छु। सफलता योजनावद्द हो कि अप्रत्याशित हो कोनि। हाम्रो संभावनामा अचानक हराउनु अनि फेरी सुटुक्क झुल्कनुको दर्शन पनि के होला । यात्रामा के कस्ता मोड आउछन् कसैले अन्दाज लाउन नसकेर पनि यात्रा गरिरहेका हुन्छन्। अन्ततः यात्रा त त्यहि दिन रोकिएला जुन दिन जीवन नै टुङ्गीन्छ। त्यसबेला त झन न संवेगले विचलन गराउछ न त संवेदनाले आघात पुराउँछ। न रिस, ईर्ष्या न लोभ लालच, न माया मोह।
यो मानव सभ्यताको जटिलता भित्र सहजताका उपायहरू पनि प्रश्तुत भएका छन्। ति उपायहरू समयले बिभिन्न प्रकारका आन्तरिक तथा बाह्य आयाम बनाएको छ। जस्ले हरेक सम्बन्धलाई सम्बन्ध अनुसार सौन्दर्यको कलेवरमा सजाउने अनुराग जगाइदिनु र गतिशील बनाउनु समयको एउटा उज्वल कर्म हो । तर हामी यो समयको कठोरतामा गुज्रिएका छौं की नैतिकताको अवसान नै भइसकेको आभास भइरहेको छ। मध्यान्हको कोलाहलमा सन्नाटा ओडेर मन्दमन्द बिष सेवन गरिरहे छौं। आफु नै आफुबाट हराउनुको त्रासदि निलेर नाटक रचिरहेका छौं। आफैलाई लाग्ने भ्रममा रोबोट भइरहे छौं।आफ्नाले गर्ने प्रेमको हार्दिकतामा छटपटिरहेका छौ। जीवन अभिनयको लेपले हरक्षण बाँच्न गरो भएनि बाँच्न वाध्य भइरहेछौ। अझ जीवनको मोहले होला यसरि भएपनि बाँचौं भनेर जीवनको लोभ गरिरहेछौ। यो दुर्भाग्य कस्ले कसरि निम्त्यायो कसैलाई थाहा छ!
जीवन मीठो अनुराग होस्। अलिकति घाम छायाँ हाँसो आँसुको संगम होस्। जीवन कतै तपस्या बनोस कतै तपस्या जीवन बनोस। विमति नभएर सहमतिको प्रतिविम्ब बनोस। दर्शन बनोस बिचार बनोस योग बनोस तप बनोस ध्यान बनोस यस्तै उस्तै अरू के के बनोस। आहाँ कति आलोकित हुन्थ्यो हरेक आयमहरू। तर यो समयको गतिसँगै सम्बन्धमा विचलन के सारो भएको हो सुन्न पनि सकस हेर्न त कुरै छाडौं।
ज्ञान अज्ञान जे भए नि जीवन भोगाईले चेतनाको मार्ग तय गरेरै छाड्छ। यसरि लेखिएको लेखलाई मीमांस हो कि। कहिले आफ्नै कुरा लेखिन सक्ने गरि असरल्ल भएका पनि छन्। कहिले आफु बाँचेको धरातलको विषयले होडबाजी गरेर हैरान पार्छन्। लेख्नु पनि आफुबाट आफ्नाे धरातलमा पुग्नु जस्तो पो लाग्छ मलाई त। यदि संवेदना नै नभएका मान्छेले लेख्न खोज्नु हो भने कस्तो होला त्यो पनि बिचरण गरिरहेछु मनमनै। भन्नु त कसैलाई भएन तर नभनेर पनि किन निर्धो जस्तो के हुनु छि। कहिले त आत्मासात गरेर संवेदनामा भौंतारिँन पनि सक्छन् ती संवेदनाहिन मान्छेहरू। फेरी मान्छेको मनै त हो परिवर्तन हुन पनि त सक्छ नि। संवेदनाको मर्ममा कला भरेर सौन्दर्य अनुभूत नगर्नु हो त जीवन नै अर्थहीन जस्तो हुन्छ । म त अर्थहिन जीवन बाँच्नुको कुनै सार देख्दै देख्दिन लेखक महोदय। कल्पनामा भविष्य पर्खिएर आफ्नो कर्म ठप्पै पार्नु जस्तो । अनि आफ्नो माटोको सुगन्ध बिर्सिएर चारतिर भौतारिदै अन्तमा प्रश्चतापले पिरोलिनु जस्तै ।
प्रिय लेखक! अब यति भनिसके पछि हामी माटो पनि त बन्न सकिरहेका छैनौं यो विखण्डित काल बिभाजनको संघारमा । रुखबाट एउटा पात झर्दा त हामी झस्कन्छौ। अहिले हामी त्यहीँ अफ्ट्यारो बाँचिरहेका छौ, अपसगुन भोगिरहेका छौ। सहमति होस वा विरोध नै होस मान्छेसँग संवाद गर्न पनि डराइरहेछौं। प्रकृतिको रसस्वादन गर्न पनि नचाहने भएका छौं। त्यसैले मौनतामा संवाद गरिरहेका छौं र यो नै अहिलेको समयको माग हो कि जस्तै लाग्न थालेको छ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 4 भाद्र, 2077

लेखकका अन्य रचनाहरु