मेरो मुख

- विपुल पोख्रेल

मैले मुख हेरे
एउटा अनौठो कान्ति देखे
बिराट शान्ती देखे
घनघोर सिर्जनाको मुहान देखे
अन्यायको चिहान देखे
लक्ष्य देखे
आन्दोलन देखे
योजना देखे ।
हो मेरो बाबाको अनुहार यस्तै छ
संघर्षको इतिहास छ
समकालिनमा खास छ
भबिष्यलाई सधै सधै
लाखौ लाख आशिर्बाद छ ।
अझ गहिरेर हेरे
पीडाको चाङ छ
चोटहरूको डाम छ
दुःख भोग्ने पात्र हो मेरो बाबा
मेरा लागि र ‘म’हरूको पुस्ताका लागि
एउटा सुन्दर सपना बोकेर
सन्ततीकोे खुशी लक्ष्य ठान्दै
थिति र नीतिलाई अनुकल बनाउन
अभियान थाल्ने पात्र हो
खुशीले रोमाञ्चित छ त्यो मुहार
स्वाभिमानी गंगाको हो त्यो मुहान
आत्मबिश्वासको बलियो पहिचान
गर्वले मेरो छाति फूल्छ त्यो मुहार हेर्दा
अब्बल देख्छु छेउछाउसँग मुल्याङ्कन गर्दा ।
तर चिन्ता लाग्न थालेको अचेल
मेरो छोराले मेरो अनुहारमा के देख्ला ?
कान्ति देख्ला कि निरस ?
स्वाभिमान देख्ला कि स्वार्थ ?
आत्मबिश्वास देख्ला कि त्रास ?
अभियान देख्ला कि अभिमान ?
यस्तै यस्तै प्रश्नहरूले मन डराउन थालेको छ
समयले मलाई कुन स्थानमा उभ्याएको छ आज ?
बाबुको पहिचान कतै मेटाउँदै त छैन ?
बिलासीताले मलाई खोक्रो बनाउँदै त छैन ?
भावि पुस्ताप्रति पूणर्रूपमा अनुदार त हुँदै छैन ?
मेरो छोराले मेरो मुहार हेर्दा
ऊ सन्तुष्ट कसरी होला
महिमागान कसरी गर्ला
स्वाभिमानी बाबा कसरी भन्ला
फलानाको छोरो भन्ने हिचकिचाउने गरी
म आफूलाई ढाल्दै गर्दा
मैले मेरो बाबाको अनुहारमा देखेको कान्तिको महिमाको के अर्थ अब ?
भावि पुस्ताको लागि उनको क्रान्तिको महिमाको के अर्थ अब ?
छोराले गर्व गर्ने अनुहार बनाउनु पर्दो रहेछ
उसको स्वाभिमानको आधार बनाउनु पर्दो रहेछ
मेरो मुख हेर्दा छोरोले नाक खुम्च्याउँछ कि ?
यो प्रश्नसँग सधै सावधान हुनु पर्दो रहेछ ।
चिन्ता छ अचेल
बाबा जस्तो हुन सकेन कि ?
छोराले महिमा गाउने बाबु बन्न सकेन कि ?

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 4 भाद्र, 2077

लेखकका अन्य रचनाहरु