सह-अस्तित्व

- बिलोक शर्मा

अनेकौं विक्षिप्त संसारहरू रोपिएका
धर्तीको छातीलाई देखेर
अचम्भित बन्दो हो
सँधै तल्तिर हेरिरहने
आकासको चिनेको अनुहार।
उसले दिनहुँ आविष्कार गर्ने कुराहरू
वाष्पीकरण भइ ठूलो अमूर्त महलनै ठहड्याउँछ
अनि, उही महलमा जन्मन्छ
प्रसवपीढा बिनाको आजको मान्छे।

यात्राका समानान्तर कारकहरू
कहिले एक-अर्कालाई हेर्दै हिँड्छन्
त कहिले
घरभित्रको ध्रुवीकरणमा बाँच्ने गर्छन्।
वर्षौंदेखिको आँखै डिलनेर
पैँचो मागेर बसिरहेका जीवनका रङ्गहरू
बैंसमा पनि रङ्गिन रूचाउँदैनन्
छक्क पर्छु!

जराले लेखिएका अक्षरहरू
वर्षौं परिभाषारहित बनेर बसिरहँदा
उन्मुक्त आकासको अक्षरविन्यास
जता...ततै छरपस्टिन्छ।
उज्यालोको विवर्तनले बाटो बिराउँदा
शुन्यताका ढोकाहरू कुरीरहन्छन्
तरङ्गको आलोकवर्षलाई।

कहिलेकाँही सोंच्दछु-
जिउनेक्रमलाई नाप्ने कुनै यन्त्र किन छैन?
यात्राको प्रवाहलाई प्रकाशको सत्यता दर्शाउने मसीन किन छैन?
मनभित्रको भुइँचालोलाई स्थिर पार्ने औजार किन छैन?
भवितव्यको स्पष्टता देखिन सक्ने दुरवीन किन छैन?
तरल अभिव्यक्तिका यी धाँगाहरू
प्रसारित हुँदै टाढा....टाढा पुग्छन्
अनि, छरिन्छन्
मनभित्रको अपरान्हभरि।

पहाडको भिरमा अल्झेर बसेको
रगतमा फूलेको गुलाफ होस्
मधेसको चियाबारीमा
भोलिको अनकन्टारलाई पछ्याउँदै हिँडेका
मसिना-मसिना विरुवाहरू होस्
यहाँ त
जीवन र मृत्युको दोसाँधमा
पाठेघर र मर्गको अन्धकारलाई
छुट्ट्याउन नै चुनौति छ!!

(डुवर्स, भारत, हालः लुधियाना)

(

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 2 भाद्र, 2077

लेखकका अन्य रचनाहरु