जङ्गलको बाटो, जुकाको चुसाइ

- राजेन्द्रमान डंगोल

‘वर्षामासको पदयात्रा त्यति रोमाञ्चक चाहिँ होइन । हिमालको मुखै देख्न नपाउँदा मनै खिन्न हुने । यति कष्ट गरेर यहाँसम्म आइपुगेपछि त पदयात्रीहरूलाई हिमाल चिनाउँन पाए पो ।’ मनोलाप गर्दै थिएँ म ।
पौने छ बजे सूर्योदय हुन्छ भन्ने जानकारी गराएको थिएँ टोलीलाई । त्यही मुताबिक क्यामरा हातहातमा लिएर होटलको छतमा उक्लेका थिए उनीहरू । अघिल्लो साँझदेखि नै गुफा बसेका हिमालहरूले बादलको ढोका खोल्न सकेका थिएनन् । सात बज्दा पनि उघ्रेन आकाश । अन्ततः ‘हिस्स बुढी खिस्स दाँत‘ भन्ने उखान चरितार्थ भएरै छाड्यो ।
तीन महिनाअघि यहाँ आउँदा बिहान छ नबज्दै रातिइसकेको थियो पूर्वि क्षितिज । झलमल भइसकेको थियो धर्ती । हाम्रो नेवारी संस्कारमा बाह्रा बसेका किशोरीहरूलाई सूर्यदर्शनका लागि निकाल्दा सिँगारेझैँ सिँगारिएका थिए हिमचुलीहरू, सुनौला गुन्युचोलीमा । कति सुन्दर थियो त्यो दिनको सूर्योदय ! सम्झँदै थिएँ म अघिल्लो पटक आउँदाका पल ।
“वी स्टिल ह्याव चान्स टू सी द माउन्टेन्स फ्रम पञ्चासे हिल ।” थम्थम्याएथेँ मैले टोलीलाई ।
००००
अस्ट्रेलियन क्याम्प गेस्ट हाउसमा बिल भुक्तानी गरेपछिको हाम्रो पाइला पञ्चासेतर्फ सोझियो । एउटा सानो सेल रोटी पाक्दै छ हामी भोलि पोखरा पुग्दा ।
आन्तरिक पर्यटकका समेत रोजाइमा पर्ने अस्ट्रेलियन क्याम्प एउटा रमणीय गन्तव्य हो ।
‘यहाँको मूल्यको मनोमानीलाई एकैछिन बिर्सने हो भने हत्तपत्ति छोडिहाल्न मनलाग्ने ठाउँ कहाँ रहेछ र अस्ट्रेलियन क्याम्प !’ काँडे झर्दै गर्दा सहयात्री माधव घिमिरेले भनेका थिए ।
होटलको मेनु दखेर झस्केका थिए उनी । किन नझस्कियुन त एक कपको चियाको मूल्य असी रुपैयाँ भएपछि ! काँडेबाट हिँडेरै एकघण्टामा पुगिने ठाउँमा पनि कुनैपनि चिजको मूल्य उचित नराखिनु चाहिँ विडम्बना नै हो ।
००००
बिहानको शीतल समय ।
अस्ट्रेलियन क्याम्प काँडे झरुन्जेल त सजिलै भयो । अबको बाटो उकालो । काँडेदेखि पञ्चासेसम्मको बाटो जयनाथ र सीतारामलाई मात्र थाहा छ । उनैले नेतृङ्खव गरिरहेका छन् बाटोको ।
न घाम लागेको थियो । न त फुटेको थियो बादलको घल्चा । दिन त रोज्जा परेको हो ! हिमाल नदेखे पनि बेखुसी थिएन टोली ।
हरिया पहाडमाथि डुलिरहेको थियो कुहिरो । त्यही कुहिरो छुन लम्किरह्यौँ हामी । हामी जतिजति उकालिथ्यौँ त्यतित्यति माथि भागिजान्थ्यो कुहिरो । लुकामारी खेलझैँ भइरहेको थियो ।
००००
भदौरेमा लन्च गरेपछि मौसमले साउनको सङ्केत गरेथ्यो । खुसी भएर बादलले र वर्षाउन थाल्यो पानीका कण । मौसमको नित्यकर्म थियो त्यो ।
बाटो थियो जङ्लको । झाडी पन्छाउँदै हिँड्नु पर्ने ।
‘अब त जुकाको साम्राज्य चल्छ ।’ जयनाथ बोले ।
हो रहेछ । घारी नै रहेछ जुकाको । कुन सड्को आन चेको नाडीमा टाँस्सिन भ्याइसकेछ एउटा जुका । बाफ रे ! त्यसपछि त जुकाको चुसाइबाट अछुतो कोही भएनौँ ।
मेरो पनि जुत्ताभित्र मोजा छेडेर पनि छेपारीतिर पुगिसकेका थिए गोडा दुइएक जुका । मलमल कपडाको सानोसाना टालोमा अलिकति नुन पोको पारेर टोलीलाई बाँडेको थिएँ मैले जुकाको आत्रमणबाट बच्न ।
क्या सजिलो ! नुनको पोकाले छ्वास्स छुवाउनेबित्तिकै जुका त गुडुल्को परिहाल्ने । यसै गरीगरी जुकालाई ठेगान लागाएथ्यौँ हामीले ।
आकाशको रोदनमा सशक्त हुदोँरहेछ जुकाको आक्रमण । हम्मेहम्मे पर्दोरहेछ जुकासित जागिन ।
थरीथरीका हुँदारहेछन् जुका पनि । कुनै झाडीमा बस्ने ।
कुनै मान्छेको पेटमा । कुनै पानीमा । सबैभन्दा खतरनाक चाहिँ कुर्सीमा बस्ने नै हुँदो रहेछ । टाँसिएपछि टाँसिएको टाँसियै । ढाडिएर बसेपछि नुनको पोकोले ठेगान लगाउनै नसकिने । त्यसैले त सधँै खोक्रो हुँदोरहेछ देश ।
००००
टोलीका सदश्यहरू घरिघरि सोध्छन्– ‘पञ्चासे कति टाढा छ’ भनेर । ‘उः परपट्टिको डाँडो पछाडि छ पञ्चासे । अब दुई घण्टा लाग्ला ।’ जानकारी दिन्छन् जयनाथ ।
काई र लेउले भरिएको बाटोमा लड्दै र पड्दै हिँडेको डेढ घण्टा भइसक्यो । अझै दुई घण्टा हिँड्नु छ । के गर्नु ! हिँड्नु त परिगो । जयनाथको विश्वासको फेर समातेर चिप्लेटी खेलिरहेका छौँ हामी । जङ्गलले पनि गुञ्जाउँथ्यो अट्टहास प्रत्येक पटकको हाम्रो लडाइमा । साँच्चै उपहासका पात्र भएका थियौँ हामी ।
कैयौँ पदयात्रा गरेँ हुँला आजसम्म । यात्राको सिलसिलामा कैयौँ चोटी लडेँ पनि । फरक यतिमात्र हो– अघिल्ला पटक हिउँमा पछारिएको ज्यान आज वर्षे हिलोमा पछारिइरहेको छ । यद्यपि म खुसीले लड्डै छु आज । अग्नि परीक्षाझैँ भइरहेछ मलेसियन टोलीलाई आजको पदयात्रा । येनकेन पुग्नुछ पञ्चासे ।
प्राकृतिक छटाले भरिपूर्ण छ पञ्चासेको यो सेरोफेरो ।
ठाउँठाउँमा आइरहे खर्र्कहरू । ठाउँठाउँमा कञ्चन पानीका पोखरीहरू छन् गमक्क परेर बसेका । कति जिवजन्तुहरूका प्राण जोडिएको होला यी तलाउहरूमा ! अथाह कृपा छ पञ्चासेको ।
सयौँथरी फूल, सयौँथरी पन्छी र पुतली, सयौँथरी औषधीजन्य जडिबुटी, थरीथरीका च्याउ पाइन्छ यहाँ । वन्य सम्पदामा योभन्दा धनी ठाउँ कमै छन् नेपालमा ।
बाटो छेकेका छन् छत्रे उन्यू, चुत्रो, गुहेँली, लोठसल्ला र ऐसेलुका बोटहरूले । थरीथरीका जङ्गली लहराहरूले बेरिएका छन् खस्रु र गुराँसका रूखहरू । झ्याउ र सुनाखरीले ढपक्कै ढाकेका छन् । निख्खरा हरियो र पहेँलो रङ छरेका छन् दुरेका लहराहरूले । बेमौसम भएर मात्र हो, नत्र पुष्प अनुरागीहरू त सुनाखारीका रङ र वासनामा लठ्ठै पर्ने रहेछन् यहाँ । वर्षाको मलिलो पानीले मौलाईरहेका यी सुनाखरीहरूले केही समय कुर्नु छ फेरि मुस्कुराउँन ।
ठाउँठाउँमा छन् सानातिना तलाउ, भँैसी आहाल बसिरहेका । बुढो गोरुहरू चरिरहेका छन् नाकमा ढाडिएका जुका लिएर । अचम्म लाग्दै थियो– बस्ती त निकै पर छ; कहाँबाट आए यी घरपालुवा जनावरहरू ? सोध्दै थिएँ म आफैँलाई ।
यसैबीच अचानक भेटिए, एक अधबैँसे र उनको साथमा आएका एक किशोर । सोचेको थिएँ– तिनै होलान् यी गोरुहरूका धनी ।
सोधेँ–
“तपाईंकै हो यी गोरुहरू ?”
“हो । यिनलाई मैले ल्याएको ।”
“घर कहाँ हो तपाईंको ?”
“बाँके बाङ्सिङ, स्याङ्जा ।”
“उति टाढादेखि ल्याउनु हुन्छ चराउन ?”
“चराउँन होइन । यिनललाई यहाँ छोड्न ल्याएको ।”
“बाघले खाँदैन त यिनलाई ?
“खाँदैन । ‘बलिया बाङ्गा बाघलाई, बुढा खाडा माघलाई’ भन्ने त उखानै छ नि । बाघले पनि तन्नेरीकै शिकार गर्छ नि !”
गोरुलाई जङ्गलमै छाडेर फर्कंदै थिए ती मानिस । असङ्गत लाग्यो मलाई उनको तर्क ।
सम्झेँ– हाम्रोतिर बुढो भएका गोरुहरू बाँचुन्जेल किलामै पालिन्छन् ।
कति निर्दयी मान्छेहरू ! बल छउन्जेल जोत्नुसम्म जोतेर, खानुसम्म बाली खाएर बुढो भएपछि तिनको रक्षा गर्नु त कता हो कता उल्टै वनमा छोडिदिने ? पशु अधिकारको सवालमा मानवीय संवेदनहिनता कहिलेसम्म होला ? यी गोरुहरूको वास्तविकतमा टोलीले थाहा पाए के भन्लान् ? खिन्न भएर पाइला सार्दै थिएँ म ।
००००
पुगियो पञ्चासे ।
निकै टाढा होला भन्ठानेको थिएँ । पोखराबाट अठ्ठाईस किलमिटर मात्र रहेछ दूरी । पोखरा पल्तिर पो रहेछ पञ्चासे त ।
तगारो उघारेर सन सेट भ्यू होटल छिरेका थियौँ हामी । नेपालमा अझै छ तगारोको प्रयोग । ग्रामिण जीवनका यस्ता भावगाम्भिर्यतालाई समेटेर स्रष्टा स्व. विनोद गौचनले गरेको रचना सम्झेँ मैले–
‘तगारोमा रुमाल राखी बाटो छेक्यौ तिम्ले
त्यही रुमालमा पञ्चासेको फूल राखेँ मैले.........’
००००
रगतपच्छे भएका थियौँ हामी जुकाको चुसाइले । सन सेट भ्यू होटलको कोठा छिर्नुअघि मोजा खोलेर हेर्दा सबैको गरी जम्माजम्मी साठी थान जुका निस्क्यो होला । सामुहिक अन्त्यष्टि गरेका थियौँ हामीले जुकाहरूको ।
कास्की पर्वत र स्याङ्जाको संगमस्थल हो– २,५०० मिटर उचाइमा अवस्थित पञ्चासे । पञ्चासेको अर्थ बुझ्न खोजेँ तर स्थानीयवासीको मतैक्य पाएन यो ज्यानले ।
कोही भन्छन्– ‘पाँचवटा डाँडाको शिर भएकाले ‘पञ्चशिर’ भन्दाभन्दै अपभ्रंश भई पञ्चासे भनिएको रे ।’
‘पाँचवटा हरियाली पहाडहरूको मिलनविन्दु अर्थात् ‘पञ्च’ र ‘आसन’ को संयुक्त शब्द पञ्चआसन भन्दाभन्दै अपभ्रंश भई पञ्चासे भनिएको रे ।’ सन सेट भ्यु होटलमा सञ्चालक राम गुरुङ भन्छन् ।
तर सही लाग्छ दुवै कथन ।
स्थानीयले भनेका कुरा पत्याउने त हो हामी परदेशीले !
००००
‘आँधीखोला कहाँ होला त्यसको शिर,
कसो गरी मेटाउँ त मनको पीर ?’
जीवनाथ राम्जालीको यो मिठो सिर्जना ताजा थियो ममा ।
“साँच्चै कहाँ हो त यसको शिर ?” राम गुरुङसँग जिज्ञासा राखेँ ।
स्कुल पढ्दा गुरुले रामायणमा उल्लेखित एक पात्र श्रवणकुमारको कथा सुनाउनु भएको थियो । धूमिल याद थियो मलाई त्यो वियोगान्त कथाको ।
उही कथा सुनाए उनले–
‘अयोध्याका राजा दशरथका हातबाट भूलवश श्रवणकुमारको मृत्यु भएको थियो । खर्पनमा राखेर आफ्ना आमाबुवालाई तिर्थस्थलहरूको भ्रमण गराउन लगेका श्रवणकुमारले बाटोमा आमाबुवालाई प्यास लाग्दा उनीहरूलाई ओढारमा राखेर पानी लिन तलाउमा गए । त्यसै वनमा राजा दशरथ पनि सिकार गर्दै थिए । श्रवणकुमारले कुवामा कमाण्डलु डुबाएर पानी भर्दाको आवाज सुन्दा राजा दशरथलाई मृगले पानी खाएको आवाज भन्ने लागेछ र बाण चलाउँदा श्रवणकुमारको मृत्यु भएको थियो । अन्धाअन्धीका पीडा र वेदनाका अश्रुधाराले नै अन्धाअन्धी दह बनेको र त्यहीँबाट सुरु भएर बग्ने खोलालाई आँधीखोलाको नामले पुकार्न थालियो ।’
पञ्चासे नजिकै (स्याङ्जाको चिलाउनेबासमा) पो रहेछ कथामा भनिएको त्यो ठाउँ ।
जुकासित लडाईं गदैँ पञ्चासे पुग्दाको खुसीले रमाए पनि श्रवणकुमारको कथाले उदास भएथेँ म ।
००००

कताबाट जाने हो पञ्चासे ताल ? माधवजीको प्रश्न जयनाथलाई ।
“उः त्यो सिरानमा । चारैतिर जङ्गलले घेरिएको भए पनि पात–पतिङ्गरहरू तालमा तैरेका हुँदैनन् । रूखबाट पात झर्नेबित्तिकै चराले टिपेर किनारमा ल्याइहाल्छ रे !” पञ्चासे तालको विशेषता बताए जयनाथले ।
कस्तो प्रकृतिप्रेमी चरा ! यस्तो चरा पनि हुन्छ र ? कुन होला त्यो तालप्रेमी चरा ! देख्न पाए हुन्थ्योजस्तै लागेथ्यो मलाई ।
“जाऔँ न त ताल हेर्न !” चराले रूखबाट झरेको पातलाई टिपेको हेर्ने इच्छा जाहेर गरेँ मैले ।
“हुन्थ्यो नि । ताल पनि हेरिन्थ्यो । श्रवणकुमारको समाधी देखिन्थ्यो र शिव मन्दिरको पनि दर्शन गर्न हुन्थ्यो । तर चार घण्टा लाग्छ जान आउन ।” जयनाथको जवाफ ।
चार घण्टा ! ल, टाढैबाट नमस्कार ! यो हिलोमा को गइदियोस् फेरि जुकासित जोरी खोज्न । त्यहीँबाट नमन गरेथेँ मैले शिवजीलाई ।
“तालबाट उत्तरतर्फ माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरिलगायतका हिमशृङ्खला, दक्षिणतर्फ पाल्पाको श्रीनगर एवम् तराई फाँट देखिन्छ । पोखरा, स्याङ्जा, कुश्मा, बाग्लुङका साथै राम्जाजस्ता सुन्दर बस्तीको दृश्यावलोकन गर्न सकिन्छ ।” बेलिबिस्तार लाए जयनाथले ।
पञ्चासे तालमै पुगेझैँ भएथ्यो उनको कुरा सुन्दा । मेरा आँखाअगाडि आए– माछापुछ«े, धौलागिरि र अन्नपूर्णाका आकृतिहरू ।
००००
गाउँ घुम्दै भन्ज्याङतिर टहल्लिन पुगेका थियौँ हामी बेलुकीपख । मौसमले जिल्याइरहेका थियो हामीलाई । हिमाल देख्न नपाएको दुखेसो पहिलो पटक पोख्दै थिइन् युइन लिले ।
पञ्चासेबाट हिमाल देख्न सकिएला कि भन्ने मेरो अनुमानले पनि फेल खालाजस्तै लागेको थियो ।
‘भोलिको सुर्योदय पनि देख्न नपाइने भयो ।’ चिन्ताको ग्रहण लागेको थियो माधवजीको मुहारमा ।
पञ्चासेमा वेगिएको मन्सुनी वायुको क्लेद अनुभूत भइरहेको थियो त्यतिबेला मलाई । आँधीखोलासित स्पर्श गर्न नपाए पनि त्यसको अस्तित्वबोधले शीतल भएको थियो मेरो हृदय ।

००००
भोलिपल्ट ।
नभन्दै जिल्याइदियो मौसमले । अन्ततः तुषारपात भयो मलेसियनहरूको हिमाल हेर्ने सपनामा । राम गुरुङको मुहारको उज्यालो पनि गुमनाम थियो पञ्चासेमा घामको उज्यालो नपरेपछि ।
उनले भने– “सधैँ देखिरहेको हिमाल नदेख्दा हामीलाई पनि खल्लो लाग्छ । दुःख पर्दा यही हेरेर चित्त बुझाउँछौँ हामी ।”
हिमाल देख्न नपाउँदाको पीडा ब्यक्त गर्न सकिरहेका थिएनन् टोलीले । मलाई भने अघिल्लो पटक आउँदा सराङकोटबाट देखिएको सूर्योदय र घामको लाली हिमालमा पर्दाको सुन्दर चित्रहरूको झझल्को आइरहेको थियो । मेरो मनले भनिरहेको थियो– ‘कम्तीमा एकछिन मात्र हिमाल देख्न पाएको भए पदयात्राको सार्थकता त हुन्थ्यो नि !’
“यु आर याट यान अल्टिच्युड अफ २,५०० मिटर्स । पञ्चासे इज इट्सेल्फ अ माउन्टेन ।” हिमाल नदेखिए पनि हिमाल टेकिरहेको आभास गराए मैले टोलीलाई ।
पञ्चासे छोड्नुअघि जयनाथ भन्दै थिए– “मात्र ओरालो हो आजकोे बाटो । सोह्र सय पचास मिटर ओर्लनु पर्छ घाँटीछिना पुग्न । ढुङ्गाको खुट्किलामा लेउ जमेर के हिँडिसाध्य होला र ! घाम लागे त लेउ पनि अख्रिन्थ्यो र जुकाको ज्यादती पनि सहनु पर्ने थिएन ।”
तर घाम लागेन ।
००००
नौ बजिसकेथ्यो सूचना पाटीले सङ्केत गरेको घाँटीछिनातर्फको गोरेटो समातेर आोरालो लाग्दा ।
सलबलाई सकेका थिए जुकाहरू हाम्रै गन्धले । पाइला टेक्नेबित्तिकै हुरुरु आउँथे जुत्तामा टाँसिन । खुब काम आयो नुनको पोकोको । सायद त्यो हतियार नभएको भए हामी कसरी पन्छाउँथ्यौँ होला जुकालाई ! एकालाप गर्दै थिएँ म ।
तल दमदमे र सिधाने गाउँबाट उठेका कुहिराका मुस्लाहरू लम्कँदै थिए हाम्रै बाटोतर्फ । हिजो हामी कुहिरो भेट्न लम्किएका थियौँ । आज कुहिरोनै हामीलाई भेट्न लम्कँदै छ । बीच बाटोमै जम्काभेट भयो कुहिरोसित । एकछिन त कुहिरोका कागझैँ भएका थियौँ हामी । कुहिरो पञ्चासेतर्फ वेगियो; हामी घाँटीछिनातर्फ वेगिँयौँ ।
“खोइ त कता पट्टि हो पोखरा ?” माधवजीले सोधे ।
“उः त्यो डाँडा ले छेकेको छ ।” सीतारामको जवाफ ।
धूमिल थियो दृश्य । अग्लो पञ्चासे भञ्ज्याङले देख्न नसकेको घाम होचो पोखराले कसरी देखोस् ! अन्नपूर्णा, माछापुच्छ«े र धौलागिरिहरू बादलभित्र हराएपछि सुन्य लाग्थ्यो संसार । घामको उज्यालो नपर्दा उदासिलो बन्दारहेछन् धर्तीका पत्रहरू ।
आँखामा आइरहेथ्यो, पुम्दी–भुम्दीको हरियाली खसेको सुन्दर फेवाताल र पोखरा नगरको । पञ्चासेसितै जोडिएको छ पोखराको अस्तिङ्खव । पञ्चासेले सेती र हर्पनखोला नपठाउने हो कसरी हाँस्थ्यो होला पोखरा ? तर तलैया र सिमसारमाथिको अतिक्रमण सम्झँदा कुडिन्छ मेरो मन ।
फुटिगयो बादलको घैला सिधाने पुग्दा । सिधानेबाट तल्तिर झर्ने क्रममा छोटो बाटो भन्ठानेर जाँदा झण्डै पुगिएन अर्कै गाउँ । एकछिन त रनभूल्लमा परेका थियौँ हामी । खेतका आलीआली हिँडका थिर्याँ माधवजी, म मेगान होली र डेभिड चाल्स र अरू तीनजना । लड्ने क्रम रोकिएको थिएन । हुन त मज्जा थियो लड्नुमा पनि । हत्तपति मिलिहाल्दैन यसरी लड्ने मेलोमेसो ।

रोकियौँ हामी दमदमे पुगेर ।
जङ्गलको बीचमा छ दमदमेको बस्ती । इतरिइरहेका छन् छहराहरू पाखापखेरा हल्लाउँदै । चारैदिशा छहराहरूले घन्किएको छ दमदमे गाउँको । पोखरा पल्तिर भए पनि पोखराको आधुनिकताले भेटेको छैन सिधाने र दमदमेलाई । धम्पुसकै जस्तो बान्कीका घरहरू छन् यहाँ । आफ्नै भाषा, भेष, रितिस्थिति र परम्परा छ यहाँ । सिधाने र दमदमेको दपर्णमा आफ्नै अनुहार देखेथेँ मैले ।
घाम नलाग्दा नरमाइलो चाहिँ हुने । मनमा लागिरहेको छ– ‘घामको चमकमा दमदमे साँच्चै कस्तो देखिन्थ्यो होला !’
त्यसैले पो भनिएको रहेछ– ‘पोले पनि घामै जाती, कुटे पनि आमै जाती ।’
निरन्तर वर्षंदै थियो बादल । पखाल्दै थियो कुद्बी र हर्पन डाँडालाई । चराहरूले पखेटा फिँजाउन पाएका थिएनन् । छत्री र घुम चल्मलाइरहेका थिए खेतका गह्राहरूमा । दमदमे र घाँटीछिनाबीच बिन्दुसरि उभिएको थियौँ हामी छब्बीस जना । हामी हतारहतार कोर्दै थियौँ एउटा सीधा रेखा घाँटीछिनासम्म । र, फेरि अर्को रेखा कोर्नु थियो पोखरासम्मको ।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 2 भाद्र, 2077

लेखकका अन्य रचनाहरु