कविताका रङ्गभित्र गोतामेका कविताहरू

- सुकराज दियाली

वीर बहादुर गोतामे उनको वास्तविक नाम भएपनि हामी विकास गोतामे नामले चिन्दछौ/जान्दछौ। मङ्गपुमा जन्मीएका गोतामे भारतीय नेपाली साहित्यमा विप्लवी कविको रूपमा चिन्हित छन्। उनको साहित्यिक जीवनको थालनी सन् 1965-देखि भएको पाइन्छ। विशेष नाटक क्षेत्रमा उनलाई उसरी चिन्दछौ जसरी कवितामा। उनी प्रगतिशील धारामा आफ्नो साहित्यिक सिर्जनालई प्रस्तुत गरेका छन् भन्नेप्रमाम सन् 1980मा प्रकाशित कविता सङ्ग्रह ‘अनास्था पहाड़का गीतहरू’,लड़। वीरबहादुर लड़।(सन् 1988), रगतको रेखाहरू(सन्1990), विकास गोतामेका कविताहरू(सन्.....) आदि कृतिले दिन्छन्। उनको कविताहरूमा शोषित पीड़ितमाथि भएका अन्याय र अत्यचारलाई विरोध गरेका, आफ्नो हक र अधिकारमा बोल्ने साहसका अनुभूतिहरूका अभिव्यक्तिहरू पाइन्छ। उनको कविताहरू पढ़ीसक्दा ओंठमा झुण्डिने ,हृदयमा छ्याप्प बसिहाल्ने हुनाले विकास गोतामेका कविताहरू रूचाएर पढ़ीरहेका छन् पाठकहरूले। विशेष मेहनत र परिश्रम गरी खटीखाने श्रमिकको हक र अधिकारमा उनको कविताहरूले चर्को स्वरमा आवाज उठाएका पाइन्छ। त्यसैले विकास गोतामेका कविताहरू पत्र-पत्रिका गाउं-घरका समाज-घरका, शहर-बजारको गल्लीहरूमा पोस्टरहरूमा कोटेसन गरेर मानिसहरूले आफ्नो हक-अधिकारको निम्ति पोस्टर टाल्छन्। उनका कविताहरू सँधै हामीमाझ बाँचिरहन्छन् जसरी हामी बाँचिरहेका हुन्छौ।
गोतामेका कविताहरूमा राष्ट्रप्रेम, राष्ट्र भावको प्रगाढ़ रूप पाउँछौं। उनको राष्ट्रप्रतिको अघोर प्रेम, आफू जन्मेको , हुर्की बढ़ेको सुनौलो भूमिको मोह देशप्रतिको श्रध्दा भक्ति स्नेह उनको कविताहरूको मूलस्वर हुन्।
म कुटे कोदालोमा यो देश देख्छु
म हँसिया र हलोमा यो देश देख्छु
छातीमा हात राख्छु-धुकधुकीमा देश भेट्छु
निधारमा हात राख्छु-भाग्यमा म यै देश देख्छु। (मेरो आमा मेरो देश-बाट)
उनको कवितामा समाजप्रति परिमार्जित, उद्गार, समाजको विकास एवं परिमयकरण भावहरू प्रसस्तै पाइन्छ। समाजको स-साना कुरा जसले जीवनमा टूलो महत्व बोकेका हुन्छन् त्यस्तो कुरालाई कवितामा विषयवस्तु बनाएको पाइन्छ। कम्ति उमेरमा धेरै काम गर्ने साहित्यकारहरूमा गोतामेको पनि नाम लिन सकिन्छ। अच्छा राई रसिक, जीवन थिङ, जस्तै अर्का कवि गोतामे। कम्ति बाँचे सशरीरको रूपमा तर उनी हामीमाझ बाँचिरहन्छन् उनकै (सिर्जनाहरूबाट) सिर्जनात्मक कर्मबाट।
मद्रासको अपोलो अस्पतालमा तीन महिनासम्म रहेपछि सिकिस्त अवस्थामै सन् 1992-को जनवरी 14-मा कलकताको एस.एस.के.एम.(पि.जी.)अस्पतालमा सारियो त्यतिबेला हार्टको मेजर अपरेशन भइसकेको थियो तर किड्नीको अवस्था सुध्रिएला भन्ने आशामा थियो। कलकता घरदेखि नजीक मद्रासभन्दा एकरातको यात्रामा साथी-भाईसित भेटघाट हुने विचारमा कलकतामा उपचार चलिरहेको थियो। यता मङ्पुमा तीनजना स-सना नानी(छोरा-छोरी)हरू थिए। एस.एस. के.म. अस्पतालको बेड नम्बर 13-मा अशक्त शरीर लिएर थरथर काप्दै सकिनसकि कविता लेखीरहे(जीवनको अन्तिम क्षणमा) लेखिएको कविताहरू(मृत्यु हुनु नौदिन अघाड़िसम्म) लेखेका कविताहरू हुन्- कृष्णचुड़ा लाली गुराँस तालगाछ र धुप्पीका रूखहरू। यसैले यो कविताकृति अन्य़कृति भन्दा भिन्नै अनुभव यो कलमकारलाई वोध भयो। उनको जीवन मृत्युसित लड़ीरहेको बेलासम्म कविताद्वारा आफ्नो जन्मथलो, कर्मथलो माटोको माया जीवनको नजीकमा रहेर व्यक्त गरेका हुन् भन्ने कुराको स्पष्ट लाली गुराँस र धुप्पीको रूखहरूबाट रहन्छ।
कृष्णचुड़ा लाली गुराँस तालगाछ र धुप्पीका रूखहरू
कृष्णचुड़ा लाली गुराँस ताल गाछ र धुप्पीका रूखहरू-कविता सङ्ग्रह सन्1992-मा प्रकाशित भएका छन्। जसको प्रकाशन विकल्प प्रकाशन दार्जीलिङले गरेका छन्। यसभित्र मोठ 22 वटा महत्वपूर्ण कविताहरू भिन्ना-भिन्नै शीर्षकमा समावेश गरेको पाइन्छ।
गोतामेको मृत्यु 1992-मा भएतपनि उनको मृत्युपछि ती कविताहरू पाठकको हातमा परेका हुन्। यसैले यो कविता कृतिको भित्रीपातामा रत्न वान्तवाले श्रध्दाञ्जलीका दुईशब्दमा लेखेका छन्- “समग्र रचनामा शोषणको विरूध्द अविचलन सङ्घर्ष शोषकवर्गको षड़्यन्त्रप्रति सावधानी मुठीभर लुटेराहरूका मानवताको देखावटीको भण्डाफोर साथै मानव जातिको उन्मुक्तिको निमित्त सही आदर्शप्रतिको प्रतिबध्दता अनि स्पष्ट तर काब्यात्मक अनुभूतिको र अभिव्यक्ति अति स्पष्ट प्रकृतिका साधारण तर मार्मिक संवेदनशीलता यसबाट भाग्न पाएका छैनन्”।
कविले पहाड़ सम्झीएका छन्-तालगाछ र कृष्णचुड़का फूलहरू देखेर धुप्पीका रूखहरू र लाली गुराँलका फूलहरूबाट अर्थात पहाड़को माया, स्नेहलाई लाली गुराँसका फूलहरूबाट प्रकाश पारेका छन्। पहाड़ र घरको सम्झानालाई कविले धुप्पीका रूखहरू सम्झेर जीवान्त बनाएका छन्। मधेशको गर्मीमा विरानो ठाउँमा यसरी बाँच्नु पर्दा, रहनुपर्दा उनी मृत्युसित डराएका छैन बरू उनी सम्झन्छन् आफ्नै जन्मथलो र जन्मथलोका धुप्पी रूखहरू जस्तै हरियो जीवनहरू। उनीहरूले बाँच्दा प्राप्त गर्ने समयका प्रतिरोधात्मक कालो समयहरू, अप्ठ्यारो जीवन स्थितिहरू, खिन्नता ओड़ेका विवशताका व्यवस्थाहरू जसलाई गरीब-दुःखी जीवनले भोगिसकेका छन्। शोषण र दमनमा चेप्टीएर भएपनि जीवन बाँच्नुको नाममा बाँचिरहेका छन्।
जीवनवोध कविताहरू
जीवनका समान्तर समयहरूलाई कविले शब्दमा टिपेर कविता बुनेका छन्। उनको जीवन नक्सालाई कृष्णचुड़ा लाली गुराँस तालगाछ र धुप्पीका रूखहरूमा धमिलो रूपमा बिम्ब सिर्जना गरेका छन्। रत्न वान्तवाले उनको कवितामाथि आफ्नो विचार पोखेका छन्-गोतामेको जीवनमा साँचेर राखेका जीवन दर्शन उत्कृष्ट मूल्य आदर्श एवं प्रतिबध्दतहरू नै यस किताप कृष्णचुड़ा लाली गुराँस तालगाछ र धुप्पीका रूखहरूका कविताहरूमा प्रतिबिम्बित छन्।
कति गहिरो यन्त्रणाभित्र पनि मेरो शरीरमा
एउटा अन्तस्फूर्ति आज घरि-घरि जन्मन खोज्छ
केही दिनदेखि अस्पतालको झ्यालबाट देखिने
यो कृष्णचुड़ाका गुच्छा-गुच्छा फुलहरू
आज मलाई भन्नै लाग्छ।(कृष्णचुड़ाका फूलहरू र म-बाट)
जीवनको अन्तिम क्षणमा उपचाररहित कलकताको पी.जी. अस्पतालमा सुतिरहेको समयकालमा कविले जीवनलाई यसरी वोध गरेका छन्।
झ्यालबाट बही आउने
एक मुस्लो गरम हावाले पोलेर जान्छ
मलाई श्वास फेर्न कठिन हुन्छ।(तिमी फर्की आउँदा-बाट)
कविले अन्तमा जीवनलाई जन्म र मृत्युदेखि परसम्मको केही थोक यसरी लिन्छ-
न त नर्कको भय
न त स्वर्गको आस
न त पापाचार र अत्यचार
न त प्रार्थाना र उपसना
कर्मरत जीवन
सत्य जीवन।(हामी धुप्पीका रूखहरू भएर जिउनुपर्छ-बाट)
म अक्षरहरू बनाउँदैछु
म शब्दहरू बनाउँदैछु
जीवनको अर्थ लाग्ने
म वाक्य बनाउँदैछु।(म हतियार बनाउँदैछु-बाट)
कस्तो मोह हो पथ्वीको
कस्तो माया हो यो मान्छेको।
जीवनलाई आफ्नै जीवनको पारदर्शक पर्दाबाट हेरिपठाएको ती जीवन उद्गारहरूमा कवितात्मक ध्वनिले रङ्ग सिर्जना गरेको छ। यसर्थ उनी जीवनका पक्षहरूलाई समयको धारमा रेट्दै कविता सिर्जना गर्ने कवि गोतामे कवितामा जीवनवादी पनि रहेको भेटिन्छ।
जातिबाट पाउने ओत, माटो र जन्मथलोबाट पाउने सुगन्धलाई कविले अन्तरमनबाट वोध गरेका छन्। ओतिएका जीवनलाई आफ्नो समाज, जातीय जमातबाट सार्थक हुने भावलाई प्रकट गरेका छन्-
मलाई फर्काऊ
म हरियो चियाबारीमा बाँच्न चाहन्छु
मलाई बचाऊ
म लाली गुराँसको फूलहरूमा बाँच्न चाहन्छु
मेरो वापसीको तम्तैयार गर
म पहाड़ी झरनाहरूमा जीउन चाहन्छु। (तिमी फर्की आउँदा-बाट)
अग्लो डाँड़ा भन्दा अग्लो टाउको उठाई
पहाड़को खोंचसम्म हेर्नुपर्छ
साथी
यसै र हामी धुप्पीका रूखहरू भएर जिउनुपर्छ। (हामी धुप्पीका रूखहरू भएर जीउनपर्छ-बाट)
पहाड़, धुप्पीका रूख, लाली गुराँस जस्ता शब्दको प्रयोग कवितामा धेरैपल्ट गरेका छन्। यसबाट उनीभित्र पहाड़को स्नेह, श्रध्दा आफ्नो जन्मथलो को श्रध्दा प्रगाढ़रूपमा रहेको बुझिन्छ। धुप्पी प्रतिकात्मक रूपमा कविले पहाड़े जीवनशैलीको स्थिति र अनुकुलताप्रतिको अवस्थालाई प्रकाश गरेका छन्। जस्तै दुःख शोषण अत्यचारमा जीवन रमाइलो बाँचिरहने पहाड़वासीको सङ्घर्षमय जीवनको सुन्दररूपलाई कविले धुप्पी जस्तै सँधैभरि हरियो रहने स्थितिलाई प्रस्तुत गरेका छन्।
क्रान्तिको भाव
विकास गोतामेका कविताहरूमा विरोध र क्रान्तिका स्वरहरू पाइन्छ। उनको कविताहरूले गरीब, असाहाय निमुखाहरूको पक्षमा बोलेका हुन्छन्। मेहनत खटीखाने जन-जीवनले भोग्नुपरेको पीड़ा अनियमित समय-स्थिति, अव्यवस्थित राजनैतिक, सामाजिक तत्वको घेरामा परेर दलीत बन्न पुगेको जीवनमा क्रान्तिको गीत गराउने उनको सिर्जनाले पीड़ितको पक्षमा क्रान्ति स्वरहरू कविताद्वारा प्रेरित गरेका हुन्छन्। शोषण र दमनको विरोधको मैदानमा उत्रिएका कविताहरू गरीब दुःखीको ताक बन्न पुगेका छन्। विकास गोतामेका कविताहरू गाउँ-बस्ती, शहर-बजारदेखि, चियाबारी, सिन्कोनाबारीका श्रमिकहरूको हीतमा बोलीरहने सजीव कविता समाजमा छाइरहेका हुन्छन्। कविता सँधै पाठकको नजीक रहेर बाँचेका छन्-गोतामेका कविताहरू-
झ्यालका चेपचापबाट
नानी-घामले हत्केला छिराई
निदाएका आँखाहरू खोल्नुछ
यसरी निद्रालु आँखाहरू खोल्नुछ।(म हतियार बनाउँदैछु-बाट)
कृष्णाङ्गहरूका रगत बगाउँदछौ
बागदादका बाटोभरी
एउटा प्रलय र परिवर्तन बोकेर आउँछौ
एउटा सङ्घर्ष र शान्ति बोकेर आउँछौ।
आकाश गड़गड़ाएपछि
बिजुली चम्केपछि
तूफानसितै असिना-पानी वर्षीएपछि
तुँवालो फाटी
आकाश कति छ्याङ्ग उज्यालो हुन्छ।
राष्ट्रभाव प्रेरित
आफ्नो जन्मथलो आफ्नो जन्मभूमिलाई कविले आमा भनि सम्बोधन गरेका छन् कविताहरूमा। देशको प्राकृति सुन्दररूपलाई, खोला-नाला पहाड़ समुद्रको सुन्दररूपलाई कवितामा प्रकाश पारेका छन्। देश वा राष्ट्रको निम्ति कर्म गरौं जसले राष्ट्रको उन्नति र विकाशमा थप टेवा पुगोस भन्ने भावलाई कविताद्वारा जनमानसमा फैलाएका छन्। देशको निम्ति त्याग र बलिदान गरौं। यसै सन्दर्भमा रत्न वान्तवाले उनको राष्ट्रभावपक्षलाई केलाउँदै लेखेका अर्न्तराष्ट्रिय, सार्वभौमिकताले तर कतै हाम्रो देशप्रेम र राष्ट्रीय एकतामा आघात परेको हेर्न त्यो अञ्चल, जाति, धर्म भाषाको वैभिन्यता देखाएर मौलिकरूपमा देशभित्र विभेद सृष्टि भएको उनी हेर्न चाहदैनन्।
हेर त त्यो कुतुब मिनार र ताजमहल हाम्रो हो
त्यो अजन्ता, एल्लोरा
त्यो कञ्चनजङ्घा हाम्रो हो
पंजाबको विस्तीर्ण खेतबारी र
बनारसका मन्दिरहरू
जामा-मस्जिद र स्वर्ण मन्दिरहरूमा
ईश्वर तिमी किन भिन्न खोज्छौ?(पुर्नमिलनको इच्छा-बाट)
म जान्दछु तिमी सबैको निम्ति
गाँस, वास र कपास बोकी आउँछौ
यन्त्रपाती र कारखानाहरू बोकी आउँछौ
खेतहरू बोकी आउँछौ।(एउटा मिठो प्रतीक्षा-बाट)
व्यूँझ हे महाभारतका अनाम वीर शहीदहरू हो
हामी उनीहरूका प्रपञ्चमा नपरौं
हामी उनीहरूका चक्रव्यूहहरू तोड़ौं
यो संसारमा
हामी फेरि शिर उठाऊँ।(हामी कुरूक्षेत्रका वीर सैन्यहरू-बाट)
महाजाल भएर म समुद्रमा अल्झिएँ
म खेतबारीमा अल्झिएँ
म छिनो-मार्तोलमा अल्झिएँ।(म अल्झिएँ-बाट)
कवि गोतामेका कवितामा पाइने प्रमुख विशेषतामा राष्ट्रभाव प्रेरित पक्ष बलियो एवं सम्प्रेषणशीलले रहेको पाइन्छ।
कविको हृदयमा फुल्ने फुल हो-कविता। जसको रङ्ग र आकार कविको सिर्जना व्यक्तित्वमा भरपर्छ। रङ्ग र आकार समय, परिसस्थितति एवं कवि बाँचेका वातावरणमा निर्भर रहेको हुन्छ। कविसित टाँसिएको समाजको चित्रण र कविको जीवनशैलीसित आन्तरिक तौरमा प्रत्यक्ष-अप्रत्यक्षरूपमा कविताभित्र रङ्ग पसेको हुन्छ। कवि गोतामेको जीवनसित समरेख कविताहरूमा समाज जाति, संस्कृति, रीतिरिवाज, राजनैतिक दिका अघूषणशील समय भेटिन्छ। कविले भोगेको पीड़ा-दुःख अशान्त आत्मअसन्तुष्टिका भाकाहरू मुख्यरूपमा कविताबाट प्राप्त गर्न सकिन्छ। विशेष उनको प्रगतिशील तथा समाजमा रहेको असमाजिक तत्वको विरोधमा गरीब-दुःखीको अन्तरमनको चेतना, शोषण र दमनको विरोधमा उनको कविताले बोल्नखोजेका क्रान्तिको विचारधारालाई कवितामा सार्वजनिक गरेका छन्। 80-को दशकमा घटेका घटना पहाड़वासीले भोगेका जीवनशैलीलाई कवितामा पोखेका छन्। मृत्यु हुनुभन्दा अघाड़ि उनले जीवनवोध गरेका पक्षलाई कवितामा सुन्दर प्रकारले प्रस्तुत गरेका छन्-कतिपय कविताहरूमा।
यस्ता सुन्दर कविता सिर्जना गर्ने कवि भारतीय नेपाली साहित्यले पाएतापनि अल्पायुमा गुमाउनु परेको एउटा घात र क्षति छँदैछ हामीसित। जेहोस कवि विकास गोतामे भारतीय नेपाली साहित्यमा सँधै बाँचिरहन्छ उनका मूल्यावान कृति कृष्णचुड़ा लाली गुराँस ताल गाछ र धुप्पीका रूखहरू जस्तै।

नागरी फार्म,दार्जीलिङ

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 2 भाद्र, 2077

लेखकका अन्य रचनाहरु