विभ्रम

- श्रवणकुमार ढुंगाना

यो जो ऐना छ
यो कुन ऐना हो
जसमा
म देख्छु जो म होइन
जो म हुँ
त्यसमा म निश्चिन्त छैन।

पिपल छ घरै छेउमा
पिपलको पूजा
तुलसी छ आँगनमा
तुलसीको पूजा
अन्न छन् खेतबारीभरी
अन्नैको पूजा
पूजा सबै ढोंग हो भन्यो कसैले
उसैको पूजा,
म पूजाका अर्चनाहरूमा
आफ्नो अनुहार खोजिरहेछु।

र, पूजिरहेछु
काग, कुकुर, सर्प पनि।

म त अभ्यस्त अभ्यर्थी
ढुंगा पूज्छु
धर्ती पूज्छु
आकाश पूज्छु,
म तिनका अनुग्रहहरूमा
आफ्नो अनुहार खोजिरहेछु।

साहुको पूजा, सामन्तको पूजा
राजाको पूजा, रैतीको पूजा
बाँच्नकालागि !
मार्लान् भन्ने डर लागेकाहरूको पूजा
बचाउलान् भन्ने आश लागेकाहरूको पूजा
म तिनका छायाँहरूमा
आफ्नो अनुहार खोजिरहेछु।
*******
मेरा उन्मादका देवालयहरू
चर्चहरू, मस्जिदहरू, गुम्बाहरूबाट
जब
उठेर मेरा पाइताला
तिरस्कार, घृणा र शासनको बुट लगाएर
प्रेम, सद्भाव र सपनाको चारो छर्दै
स्वर्णिम भविष्यका नाउँमा दौडिए
म मेरै शत्रु बनेर गाउँ, शहर, सीमा हुँदै घरमै रेटिएँ

प्रकृति निसहाय भएर जंगल, खेत र बारी हुँदै गमलामा खुम्चियो,
मेरा नमनमा निहुरिएका शिर पनि
षड्यन्त्र जस्ता
मेरा अभिवादनमा उठेका हात पनि
तरवार जस्ता
म ती विश्वासका लासहरूमा
आफ्नो अनुहार खोजिरहेछु।

म तिम्रा आँखामा
आफूलाई चिन्ने
सामर्थ्य राख्दिन,
यो जो ऐना छ
यो कुन ऐना हो
जसमा
म देख्छु जो म होइन
जो म हुँ
त्यसमा म निश्चिन्त छैन।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 2 भाद्र, 2077

लेखकका अन्य रचनाहरु