डायस्पोरिक उपन्यास ‘पथिक प्रवासन’: नेपाली ठिटोको युरोप यात्रा

- चण्डिका दवाडी

आमुख-
पछिल्लो दुई/तिन दशकमा नेपाली डायास्पोरिक साहित्य लेखनले तीव्रता पाउँदै आएको छ । डायस्पोराको तात्पर्य केवल देशको सीमासँगमात्र सम्बद्ध छैन, यो एक बृहद् आन्दोलन हो । जसमा मानव विकासको प्रकृया, युगीन चेतना र इतिहास, समयको धार, जातभात र रंगभेद, भाषा र संस्कृति, अपनत्व र पहिचान यावत पक्षको सीमा फैलिएको विलक्षण अनुभव हुन्छ । युरोपमा विकसित नेपाली प्रवासी साहित्यले जातिय, भाषिक र साँस्कृतिक संक्रमणको यो रूपान्तरणलाई उजागर गरेको छ । र यो साहित्यिक आन्दोलनमा एउटा महत्वपूर्ण कडी बनेको छ- पथिक प्रवासन । यस लेखमा डायस्पोरिक उपन्यास ‘पथिक प्रवासन’को विवेचन गर्ने जमर्को गरिएको छ ।
विषय प्रवेश –
२०६७ साल अर्थात् सन् २०१० मा प्रकाशित पंचम अधिकारीको पथिक प्रवासन उपन्यासमा केही विशिष्ट पक्षहरू पाइन्छन्। यसको कथावस्तुमा प्रतिविम्बित देश-परदेश, राजनैतिक, सामाजिक, आर्थिक पाटाहरूका विविध आयाम रहेका छन्। पश्चिमा देश जानेहरूको सुपरिचित कथा, पात्रहरूको विशिष्टता, साँस्कृतिक चिन्तन, परिवेश सिर्जनामा रोचकता, भाषा र शैलीमा सरलता जस्ता खास विशेषता रहेका छन् उपन्यासमा । १७६ पृष्ठको पुस्तकमा 'उप्रान्त' कथासहित ३१ परिच्छेद रहेका छन् । उपन्यासको पहिलो कथानक माओवादी जनयुद्धपछिको नेपाल र विदेशिने मानसिकताबाट विकसित हुन्छ । यसरी विकसित कहानीको पेटमा डायस्पोरिक चेत नै मूल मन्त्र रहेको छ ।
उपन्यासको कथानक अपेक्ष्याकृत सामान्य र स्वाभाविक छ । एउटा नेपाली विद्यार्थी अध्ययनको सिलसिलामा जर्मनी जान्छ । आर्थिक समस्याले अध्ययन पुरा गर्न सक्दैन । अनि उ छिमेकी राष्ट्र बेल्जियम पुग्छ । संघर्ष, प्रेम र धोकाको उतारचढावमा नायक पथिकले जीवनको क्रुर पाठ सिक्छ र आत्मबोध गर्छ । बृहद कथा सामान्य लागे पनि कथाभित्रको टुक्राटाक्री वृतान्तको जालोले किताबको पाना पल्टाउन हतारिने बनाउँछ ।
यथार्थवादी उपन्यास-
पथिक प्रवासन उपन्यासको सरसर्ती अध्ययन गर्दा यो यथार्थवादी धरातलमा उभिएको पाइन्छ । नायक पथिकको जीवनक्रम प्रायोगिक छ । त्यसैले उसको संघर्षको कथामा यथार्थवादी पक्ष नै बढी छ । विदेश पढ्ने रहर, पैसाको जोहो गर्नुपर्ने कहर, युरोपेली केटी पट्याउने चक्कर र जीवनको मूल्य खोज्ने जाँगरको श्रृंखलामा यथार्थवादी चरित्र नै पाइन्छ। उसमा युरोपको जीवन बाँच्ने चाहना र युरोपेली गर्लफ्रेन्डसँग मस्ती गर्ने बासना छ । उ पहिले बासनात्मक प्रेमको खोजीमा हिंड्छ र पछि त्यसको मर्म पनि खोज्न थाल्छ ।
साँस्कृतिक अन्वेषण-
पहाडी पाखाको गाउँले ठिटो राजधानी छिर्छ । जर्मनीको सपना देख्छ । बेल्जियन गर्लफ्रेन्ड बनाएर स्पेन होलीडे जान्छ । अफ्रिका पुग्छ । यो यात्रामा गाउँले ठेट्नो आफ्नो अण्डारूपी पाखोबाट फुटेर झुसिलकिरा हुँदै युरोपेली सेरोफेरोमा पुतली झैं नाच्छ । यो उपन्यासले संस्कृतिहरूको विविधतालाई पथिकको जीवन-यात्रा क्रममा बहुरूपी फूलको मालामा बुनेको छ । कल्चरल-शकका कुरा त छँदै छन्, साँस्कृतिक अन्वेषण गरेर संस्कृति-संबन्धी खोज पनि गरेको छ । यो साँस्कृतिक अन्वेषण गर्दा लेखकले यौन मनोविज्ञानको मनग्गे मिश्रण गरेका छन् ।
सामाजिक सन्दर्भ-
उपन्यासको पहिलो कथानकमा माओवादी जनयुद्धपछिको नेपालको चित्रण छ । उपन्यासको पाँचौँ अध्यायको यो अंशले त्यसबेलाको समाजलाई छर्लङ्ग पार्छ-
उज्यालो भएपछि सबेरै भान्जा खोज्न अँधेरी खोलातर्फ लाग्यौं । आकाशमा कालो टालोले उदाउँदो सूर्यलाई छेकेको छ । वरिपरि कमलपित्तले ग्रस्त रुखहरू छन् । बीचमा सुकेनास जस्तो खोला छ । बहुलाएको हावा सुईंय गर्छ । एउटा लडेको रुखको कापमा जंगली झिंगा भन्किरहेका थिए । अनौठो गन्ध आइरहेको थियो । त्यहीँ दुई जनाको शव लडिरहेको देखियो । शवमा अगाडिबाट हानेको गोलीले छातीमा भ्वाङ पारेर गएको थियो । लपक्क भिजेको जीउ रगत सुकेर कक्रक्क भएको थियो । आमा मलाई बेस्करी अँगालोमा च्यापेर रुन थाल्नुभयो । बुबा लुत्रुक्क परेर मूढामाथि बस्नुभयो शक्तिहीन जस्तो भएर । मेरो मुटुको धडकन बढ्यो । बढी क्रोधले र अलिकति डरले । धन्यवाद भगवान्– हजुरको परम अनुकम्पाले– मेरो बचावट भयो । तिनले मलाई पनि घिसार्न खोजेका थिए ।
आँसुले रुझेर लुत्रुक्क पर्दै घर फर्क्यौं । म निहुरमुन्टी थिएँ । जीउमा आँत भर्न पिंढीमा आमाले मोहीको एक गिलास थमाउनु भयो । उहाँको कुँडिएको मन बोल्यो– “यस गाउँका समस्या भन्न नहुने कथा र गाउन नमिल्ने गीत बनेका छन् ।”
उपन्यासले सन् २००० यताको युवाहरूको मनस्थितिलाई राम्ररी उजागर गरेको छ । युवाहरूको विदेशिन खोज्ने सामाजिक मानसिकतासँगै पथिक र साधनाको छेडखानीको विवरणले कथानकको पहिलो पाटो सक्किएको पत्तै हुँदैन ।
पथिक युरोप पुगेपछि त्यहाँको समाजिक मनोविज्ञान र प्रवासी नेपालीहरूको मानसिक अन्तर्द्वन्द कथाको अर्को पठनीय पाटो हो ।
लेखकले विदेशमा रहँदा रंगभेदविरूद्ध जसरी वकालत गरेका छन्, स्वदेशमा रहँदा जातिप्रथा र विभेदमाथि निर्मम प्रहार पनि गरेका छन् ।
डायस्पोरिक चेत-
आधारभूत रूपमै पथिक प्रवासनको विषयवस्तु डायस्पोरिक हो । एउटा डायस्पोरिक उपन्यासमा हुनुपर्ने मूल तत्वहरूले यो उपन्यास बुनिएको छ । प्रवासी जीवनको चित्रण, मिश्रित संस्कृति, नयाँ देशको अजिबलाग्दो नौलोपन, द्वैधचेतना, मातृभूमिको याद र फर्कने चाहना जस्ता विशेषताहरू डायस्पोरिक साहित्यमा पाइन्छन् । पथिक प्रवासन यिनै विशेषताहरूले भरिएको छ ।
पंचायती व्यवस्थाको अवसानपछिको नेपालमा परदेश जानु भनेको कतिपयको बाध्यता हो । पश्चिमा देशमा जाने धेरै नेपालीको मनोरथ पनि हो । कोही पढ्ने अभिलाषाले जान्छन्, कोही स्वदेशको काम र मानसम्मानलाई तिलाञ्जली दिएर गएका हुन्छन् । विदेशिने यो सपना साकार भए पनि यो यात्रा सधैं सहज हुँदैन । नयाँ नयाँ चुनौतिहरूले द्वैधचेतनालाई उत्तेजित गराइरहन्छन् ।
एक वास्तविकता के छ भने विदेशिन चाहने नेपालीहरू नयाँ गन्तव्यबारे खासै जानकार नभई जहाज चढ्न लालयीत भैरहेका हुन्छन् । जसले गर्दा समस्यालाई अरू दुष्कर बनाउँछ । पथिक प्रवासनले युरोपेली जीवनको एउटा तस्बीर प्रस्तुत गरेको छ । जस्ले गर्दा युवाहरूको निम्ति यो उपन्यास साहित्यिक लेपनले पोतिएको एउटा ह्याण्डबुक बन्न पुगेको छ ।
सम्प्रेषणीय लेखनशैली-
पथिक प्रवासनको भाषाशैली सरल छ र प्रशस्त उपमा र बिम्बहरूले भरिएको छ । ठाउँठाउँमा दार्शनिक सचेतनाका टुक्काहरू उनिएका छन् । कतिपय ठाउँहरूमा हाँस्यभावका संवाद र व्यंगात्मक उपकथाले रसिलो बनाइएको छ । यसर्थ यो सम्प्रेषणीय भाषाशैलीमा लिखित जीवन्त उपन्यास हो । यसमा भाषिक शब्दचयनदेखि वाक्यगठन र कथ्यसम्ममा सरलता र सम्प्रेषणीयता पाइन्छ । घटनाविवरणको प्रस्तुतिमा होस् वा चारित्रिक विशेषताहरूलाई प्रस्ट्याउन होस् वा आख्यानतन्तुलाई तीव्र गतिमा दौडाउन होस्, सरल र ट्वाक्क मिल्ने सटीक अभिव्यक्ति छ पथिक प्रवासनमा ।
उपन्यासको अघिल्तिर र पछिल्तिरको भागलाई केलाउँदा शैलीगत विचलन र कथ्य-रफ्तारमा शिथिलता पनि देखिन्छ । तर यी कुराहरू कथाको सन्दर्भ र भावनाको रूपान्तरणसँगै भएकोले त्यति उल्लेखनीय लाग्दैन । समग्रमा हेर्दा प्रवासी नेपाली साहित्यमा उपन्यासकार अधिकारीको लेखन अब्बल दर्जाको छ । उनको यो उपन्यास नेपाली डायास्पोरिक आख्यान साहित्यमा एउटा कोशेढुँगा हो ।
पथिक प्रवासनको कथा सिर्फ कथानक मात्र भएर बग्दैन, आत्मबोध भएर टुंगीन्छ । यस उपन्यासमा नेपालको मूलधारको साहित्य, जुन भारतिय उपमहाद्विपको सेरोफेरो मै सीमीत रहँदै आएको छ, को तुलनामा सोच र चैतन्यको दायरा फराकिलो क्षितिजमा अन्वेषित भएको छ ।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 2 भाद्र, 2077

लेखकका अन्य रचनाहरु