दोष

- अर्जुन दाहाल “अपवाद”

बाहिर झरी मज्जाले परिरहेको थियो। सिरक ओडेर यज्ञसको भुँइया पढ्दै थिएँ । पढ्दै गर्दा लागेथ्यो ‘मान्छेहरु यसरी पनि बाँचेकै छन् !’

झरीसँगै चट्याङ पनि परिरहेको थियो बेलाबेलामा । यो बेलाको झरीले गाँउमा मकै छर्न बारी जोत्न सजिलो बनाउँछ । चरिकोटमा झरी मेरा लागि अनावश्यक थियो । यसले जाडो बढाएको थियो । गाँउमा बा झरीले गर्दा खुसी हुनुहुन्थ्यो । विहान कुरा हुँदा ‘अब बाँझो भिज्यो कि ?’ भन्नुभएको थियो ।

चट्याङ परेपछि मोबाइल अफ गरेको थिएँ । झरी रोकिएपछि बजार निस्कन मन लागेर आयो । सातदोबाटो चोकतिर बेला बेला नपुगे कस्तो कस्तो लाग्छ । यो पनि लत नै हो क्यार । मोबाइल खोजें । अन गर्नुपर्‍यो । मोबाइलमा एउटा नयाँ म्यासेज देखायो ।

को को ले फोन गरे होलान् । नलागेपछि म्यासेज छोडेको भए पनि हुन्थ्यो नि !

म्यासेज खोलें । एसएमएसको टोन बज्यो । नयाँ नम्बरबाट रैछ !

‘अर्जुन जि नमस्कार, म शलिन सुब्बा । यो नम्बर काठमाण्डौको नविनले दिएको थियो । चरिकोट छु । मिल्यो भने सँगै चिया खाऔं न ।’

फोन फर्काएँ ।

‘हामी शुभेच्छा (होटल)मा छौं । कता हुनुहुन्छ ?’

‘चोक निस्कनुस । म नि निस्कन्छु । द नर्थ फेसको रातो र कालो ज्याकेट र नाइक क्याप लगाएको हुन्छु ।’
............
शलिन सुब्बा । कम्प्युटर इञ्जिनियर । वेबसाइट तथा सफ्टवेयर निर्माण गर्ने कम्पनीको संस्थापक । नविनको क्लासमेट । दोलखा आउनुको उद्धेश्य, सफ्टवेयर र वेबसाइटको बजार बुझ्ने । मिलेसम्म कालिञ्चोक दर्शन गर्ने ।
.......
विहानै हामी बाइक चढेर उकालो लाग्यौं । शलिन बाइकमै आएको रैछ । देउरालीसम्म पुग्दा गुरास फुलेर झरिसकेका थिए । कुनैकुनै बोटमा कतैकतै एउटा दुइटा गुराँस थुँगा फक्रिएका थिए ।



ढलान प्रविधि प्रयोग गरिएको सडकमा बेलुका परेको पानीले ल्याएको हिलोले उसलाई बाईक चलाउन गाह्रो भैरहेको थियो । एकपटक उसले सोधेको थियो ‘सरलाई बाइक चलाउन आउन्न ?’ मलाई ज्यादै अप्ठ्यारो लाग्यो । विस्तारै भनें ‘सिक्दै छु ।’ उसले कुरा बुझ्यो कि, बुझेन । त्यसपछि बाइकको कुरा गरेन ।
.............

कुरीमा हामीले चिया खायौं । पानी परेका कारण हुन सक्छ । चरिकोटबाट कुरी पुग्दा २ घण्टा पुरापुर लाग्यो । बाटो त्यत्ती टाढा त होइन करिब करिब २० किमि ।

शलिनलाई गजबले टाउको दुख्यो कुरीमा । होटलकी साहुनीले लेक लागेको बताइन र लसुन खान भनिन् । तातो पानीसँग लसुन खाँदा पनि उनको टाउको दुखाइ घटेन । १ घण्टा यसै बित्यो ।

घाम चिसै थियो । मैले शलिनलाई के गर्ने भनेर सोधें । उसले आफू जान नसक्ने बतायो । मलाई नै भेटी चढाइदिन भनेर पैसा दियो । पसलकी साहुनीले आफ्नो काम गर्दै हाम्रो कुरा सुनिरहेकी थिइन् । ‘भाइ एक्लै जान लागेको हो ?’ मैले टाउको हल्लाएँ । ‘एक्लै त जानु हुन्न । माथितिर होटलमा अरु जाने होलान् । एक्लै त नजानु नि !’

उनले यसरी जोड दिइन कि एक्लै गए सबै कुरा बर्बाद हुनेवाला छ । मैले हुन्छ मात्रै भनें । त्यसपछि म होटलबाट बाहिर निस्किएँ ।

होटल लाईन सकिनै लाग्दा पनि कोहि मानिस कालिञ्चोकतिर जान लागेको भेटिएनन् । म होटलहरु छोडेर अलिक मास्तिर पुग्दा केहि निर्माण सामाग्री थुपारिएका थिए । त्यहाँ काम गर्न लागेको एक जनालाई सोधें, केवलकार बन्न लागेको रैछ ।

होटलवाली दिदीको कुरा सम्झिए ‘एक्लै त नजानु नी !’ समूहमा म थुप्रै पटक गएको थिएँ । एक्लै चाँहि गएको थिइन । के नै पो होला र ? लुटेराहरु त्यो चिसोमा के बस्थे होलान् । बसेकै भए पनि मसँग लुटिन के नै पो छ र !

शलिनको डिएसएलआर क्यामेराबाट फोटो खिच्दै म उकालो लागें । सुनधारा पुग्नै लाग्दा कुरी बजार गज्जबले देखियो । पानी परेर खुलेको हुनाले टाढाको क्षितिज सम्म गज्जबले खुलेको थियो । सिन्धुपाल्चोकतर्फ टाढा टाढा गाँउमा जस्ताहरु टल्केका थिए ।

सुनधारामा नुहाएर मात्रै भगवती दर्शन गर्नुपर्छ भन्थे । सुनधारा त सुकिसकेको रैछ !

मन्दिर अगाडी भूकम्पले ढालेको पाटी अझै बनेको रैनछ । त्यसपछि म भर्‍याङ चढेर मन्दिरमा पुगें । सुरुमै छ सानो कुटी । यसैमा बसेर धेरै वर्ष तपस्या गरेका थिए रे शान्तनन्द बाबाले । चरिकोट झरेर उनले कोटीहोम लगाएको ठाउँको नामै कोटीहोम भा छ ।

मन्दिरमा चढाइएको सय वर्षभन्दा पुरानो घण्टी फुटेर आधा भएको रैछ । आज गौरीशंकर पनि गज्जबले खुलेको थियो । लाइट मिलाउन नसक्दा फोटो भनेजस्तो आएन ।

फर्केर तल ओरालोमा आइपुग्दा केहि तन्नेरीहरु लठ्ठी टेक्दै उकालो लागिरहेका थिए।
‘देख्न त नजिकै देखिएको थियो त अझै आउँदैन ।’
‘केबलकार बन्न लागेको रैछ। त्यसमा चढेपछि एकैछिनमा र्पुयाउला ।’
लामो लामो स्वास तान्दै हिडिरहेकामध्ये एउटाले म फर्कँदै गरेको देखेर सोध्यो ‘दाइ मन्दिर पुग्न अव कति समय लाग्ला ?’
‘२० मिनेट ।’
‘अझै त्यत्रो समय ?’ पछिल्लो सवालको जवाफ नदिइ म ओरालो लागें ।

होटलमा भात पाकिसकेछ । शलिनको टाउको दुख्न कम भएछ । विहान भाँडा माझ्ने अधबैशे पुरुष अहिले अगेनु सफा गर्दै थिए । साहुजी रहेछन् ।

‘कहाँका साथीहरु भेट्नु भयो त ?’
‘एक्लै पुगेर आँए ।’
‘एक्लै पुगेर आको ?’
उनले यसरी भनिन् कि त्यहाँ एक्लै जाँदा मान्छे जिउँदै फर्कँदैन । ‘किन एक्लै जान नहुने थियो र ?’
‘एक्लै त त्यहाँ जानुहुन्न भन्छन् ।’
‘ए ए.....’

खाना पस्किएपछि शलिनले सोध्यो ‘मन्दिर एक्लै जान किन नहुने रैछ दिदी ?’
‘खै धेरै पहिला एक्लै जाँदा त्यहाँ मान्छेको लास भेटिएको थियो रे ।’
एकछिन सान्नाटा छायो । भाँडा माझ्न लागेको साहुजिले के भन्यो कुन्नी मैले बुझिन् । त्यसपछि दिदीले भनेको कुरा पनि मैले बुझिन् ।
‘भाइको दिन बलियो रछ !’
साहुजीको कुरापछि मैले थाहा पाएँ अगाडी म मन्दिर एक्लै गएको विषयमा नै कुरा भएको रहेछ ।
.......


‘साँच्ची कालीञ्चोकमा एक्लै जानु हुन्न भन्दा रैछन् त बुबा ?’
‘खै मलाई थाहा छैन ।’
‘त्यहाँ लाश भेटिएको भनेर नगारे । होटलवालाले त्यही भन्थ्यो । म एक्लै जाँदा त उनीहरुले तपाँइको दिन धेरै बलियो रछ भने त ।’

अँगेनाको वरिपरी बसेका थियौं हामी ।
रीताले भनि ‘कालिञ्चोक त कस्तो अप्ठ्यारो ठाउँमा पो र छ त!’
‘उमेरमा त्यहि ठाउँबाट हामीले भारी बोकेका थियौं ।’ बुबाले जवाफ फर्काउनुभो
‘त्यस्तो भिरको बाटोमा । ज्यान मात्रै लान त हम्मे हम्मे भो ।’
‘जमानामा के के गरियो गरियो । अहिले त सपनाजस्तै लाग्छ ।’

बुबाले एकछिनपछि आफैं सोध्नुभो ‘कालिञ्चोकमा एक्लै जानुहुन्न कल्ले भन्या रे?’

‘पोहोर काठमाण्डुबाट एउटा साथी आ थ्यो । उसैलाई लिएर गा । उ कुरिबाट उक्लनै सकेन । म चैं यहाँसम्म आइयो भनेर एक्लै मन्दिर पुगेर फर्कें । कुरीमा होटल गर्ने महिलाले भाई तिम्रो दिन बलियो रछ । एक्लै मन्दिर जानै हुन्थेन । भनेर भनिन् ।’

‘खै एकदिन चौरी गोठालोले त्यहाँ एकजना मान्छे मरेको कुरा गर्थ्यो । एकजना मानिस पाठी पुजा गर्न गएको र फर्कँदा खुकुरी बिर्सिएर मन्दिरमै फर्कँदा भगवतीले किन फर्किस भनेर भन्दा उसको त्यहाँ मृत्यु भएको रे ।’

‘ए मरेको मान्छे चाँहि कहाँको रैछ ?’

‘खै उत्तरतिरको भन्थे । रे का कुरा न हुन् ।’
....................
दोलखा जिल्ला अदालतमा थिएँ । अभिलेख शाखामा पुराना मुद्धाहरु मिलाएर राख्ने काम भैरहेको थियो । एउटा मुद्धा पढ्न खोजेको पुराना अक्षर बुझिएनन् ।

अधिवक्ता सरोज उप्रेती शाखामा छिरे । ‘यी अक्षर त बुझिन्नन् । केहि गरि काम आइहाल्यो भने के गर्ने होला?’

‘बुझिनै प¥यो नि !’ उनले छोटो जवाफ फर्काए ।
.....

मुद्धा परेको साल २००६ । मुद्धा बेइज्जती । ठाउँ बुझिएन । वादि रांबादुर छेत्री । प्रतिवादी हर्के दमै । मिसिलमा फैसला, फिराद र प्रतिउत्तर पत्र मात्रै थियो । नेपाली कागजमा पोको पारिएको । मुद्धामा वादिले जितेको थियो । फैसलामा एकठाउँमा कालिञ्चोकमा तेरो जिजुबाले मेरो हजुरबालाई मा¥या हो । फैसला ...तँ पातकी होस भनेर प्रतिवादीले भनेको र झगडियालाई झिकाउँदा उक्त कुरामा कुनै पनि तथ्य दिन नसकेको कारण बेइज्जती गरेको ठहर्छ... ।
.....

धुस्कुन गाउँमा थियौ राज श्रेष्ठ र म । जलविद्युत आयोजनाले स्थानीयमा पारेको प्रभाव बारेको तथ्याङ्कका संकलनका लागि । ९० कटेकी तिमल्सिना आमै घरमा एक्लै थिइन । तल सुनकोशी जलविद्यूत आयोजनाको ड्याम साइट । भिरालो ठाउँमा भएको उनको घरका सदस्यहरु सबै शहरतिर थिए रे । उनलाई पनि जाँउ भन्दा शहर मनै नपरेर गाउँ नै बसेको बताइन । यहाँ यसरी वल्लाघर पल्लाघर उकालो ओराले गरेको मान्छे ।

तिमल्सिना आमैसँग जलविद्युतका कुरा भएनन् । बरु पुरानो जमानाका कुरा भए । पाँच पैसा धार्नी मासु भेटेको । रातभर जाँतो गरेको । मलाई पत्याउन गाह्रो थियो । तर आमैको त भोगाइ नै थियो । आमैको एकमात्र धोको सजिलैसँग मर्ने थियो । सजिलै प्राण जाओस भन्ने दिन पनि पो आउने रैछ !

‘कालीञ्चोक जान यहाँबाट कति लाग्ला आमै ?’ कुरैकुरामा मैले प्रश्न गरें । ‘असारका दिनमा विहान हिँडे बेलुका आइपुगिन्छ ।’

‘त्यहाँ त एक्लै जानुहुन्न भन्दा रैछन त ।’ ‘हो त, मलाई मेरो हजुरआमाले भन्नु भा थ्यो । एउटा मान्छे मरेको रे । मरेको के भन्नु मारेको रे नि ।’

‘ए, ए मैले त मरेको भन्ने सुनेको थिएँ । मारेको पो रैछ ।’

‘हो रे । हजुरआमाको बा ले देखेको रे नि । उहाँकै गाउँको हो रे । मार्न चैं एउटाले मारेको रे । तर त्यसको अपजस चैं अर्काले पायो रे ।’

‘त्यस्तो पो र छ’

‘अँ त्यो एउटा कर्नेलले घण्टा चढाएको भन्दा २, ४ वर्ष अगाडिको कुरा रे । दुईजना मन्दिरमा आएका रैछन् । एकजना दमैको उसकै आफन्तले हत्या गरिदिएको रैछ । तर अपजश चैं गाउँको यौटा क्षेत्रीलाई लागेको रैछ ।’

‘हो र । त्यो बेलामा त तल्लो जातकालाई माथ्लो जातकाले निकै थिचोमिचो गर्थे भन्छन् । क्षेत्रीले नै पो मा¥या थ्यो कि ?’

‘बा आफैंले सबैको कुरा सुनेका रान नि । गलत कुरा त के गरे होलान र ? उनलाई लेना न देना ?’

‘के रैछ कुरा चैं ।’
..................

एकदिन बा मन्दिर गा रै’छन् । माथि लेकमा गोठ थियो रे । गाइ व्याएको हप्तामा देवीलाई दूध चढाउन गा’ रे । अनि त्यो मान्छे पनि मन्दिरमा आएको रैछ रे । उसले देवीका अगाडि भनेको बा ले सुनेको रे । हे काली माता यो घटनामा के भो कसो भो तपाँइले मात्र देखेको होला । मेरो कुनै पनि यसमा हात छैन । तर पनि अड्डामा मेरै नाममा जाहेरी दिएका छन् रे । म तिम्रै शरणमा छु भगवती । जे जे गर्नुछ गर्नुहोला ।

बालाई अचम्म लागेर के कुरा भनेर सोधेका रे । लाश सुन्धाराको अलिक मुनी भेटिएको थियो । त्यो मान्छे र म एकैदिन घरबाट निस्किएका थियौं । उसले मैले केहि दिन अगाडि पैसा नतिरेकोमा गाली पनि गरेको थिएँ । उसको र हाम्रो परिवारको सम्बन्ध पनि राम्रो थिएन। यसै भएर उसको परिबारले मेरो नाममा अड्डामा जाहेरी दिएछ । म के गर्ने के नगर्ने भनेर सोच्न पनि सकेको छैन । गाउँमा पनि सबैले पहिला पनि यसले झगडा गरेको थियो । यसैले मारेको हो भनेर सबैले भन्न लागेका छन् । कसैले पनि मेरो यसमा कुनै हात छैन भनेको पत्याएका पनि छैनन् । म के गरम त बाजे ।

‘आफन्तले मारेको चैं कसरी थाहा भएछ त आमै ?’

खै बा मन्दिर गैरहँदा एकदिन त्यो कुण्डको छेउमा एउटा जोगी तपस्या गरिरहेको रहेछ रे । उसँग बाको धेरै दोस्ती रैछ । उसैले भनेको रे ।

‘के भनेछ त ?’

एकदिन जोगी मन्दिरमा ध्यान गरेर बसिराको थियो रे । एकजना रगत लागेको खुकुरी लिएर मन्दिर आयो रे । हे बाबा के के भो भो । मैले यहिँ तल आफ्नै आफन्त मारें । मेरो दिमागले केहि सोच्न सकेको छैन । अव यतैबाट मुगलानतिर पस्नपर्ला ।

तिमल्सिना आमैको कुरा सकिएकै थिएन । राजको फोन आयो । ‘कहाँ हो ? लामासाँघु फर्कनु पर्छ । अवेर भो त ।’

३ त बजि पो सकेछ ।

आमा सबै कुरा सुन्न पाइएन । लामोसाँघु गएर बस्ने कुरा छ आज । साथीले फोन गर्‍यो, म गएँ है ।

बाबु यतै बसेको भए नि हुने । तर गाँस छोड्नु साथ नछाड्नु भन्छन । आमैले यति भनेपछि हामी लामोसाँघुतिर लाग्यौं ।
..........

निकै समयपछि राज अनलाइनमा देखा परेको थियो ।
‘के गर्दै हो ?’
‘त्यत्तिकै’ मैले जवाफ फर्काएँ ।
उसले तिमल्सिना आमैको फोटो पठायो । फोटोसँगै लेख्यो ‘याद छ ?’
‘किन नहुनु ।’ जवाफ फर्काएँ । केटोले फोटो नै खिच्न भ्या रै छ । फोटो खिचेको त मलाई याद नै थिएन ।

‘किन पठाको है यो फोटो?’ मैले सोधें
केहि दिन अघि उहाँ वित्नु भयो, उसले जवाफ फर्कायो ।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 2 भाद्र, 2077

लेखकका अन्य रचनाहरु