डायस्पोरा : नेपाली साहित्यमा अनुकूलनका समस्या

- डा. बालाकृष्ण अधिकारी

१. विषयपरिचय
विश्व साहित्यको सिर्जना र समालोचना अहिले उत्तरआधुनिकताका विविध सन्दर्भ, चिन्तन, अवधारणा र सिद्धान्तले प्रभावित बनेको छ । यस परिप्रेक्ष्यमा विश्व साहित्यको एक हिस्साका रूपमा रहेको नेपाली साहित्य पनि त्यसबाट अछुतो रहन सकेको छैन । यस सन्दर्भमा वर्तमानमा चर्चित उत्तरआधुनिक चिन्तनको एक पक्ष डायस्पोरा पनि साहित्य सिर्जना र समालोचनाका क्षेत्रमा सशक्त बन्दै आइरहेको छ । नेपाली साहित्यमा डायस्पोरा चिन्तनको त्यति धेरै लामो परम्परा नभए पनि यसले नेपाली भूराजनीतिक परिवृत्त र मनोपरिवृत्त तथा जातीय एवम् सांस्कृतिक संवेदनाको परिवृत्तमा प्रत्यक्ष परोक्ष प्रभाव पारेको छ । मानव सभ्यताको विकासका क्रममा आप्रवासिक समस्याबाट आरम्भ भएको डायस्पोरिक चिन्तनले अहिले कला, साहित्य, भाषा, संस्कृति आदि विभिन्न क्षेत्रलाई एउटा भिन्न आँखाबाट हेर्न वाध्य बनाएको छ । नेपालमा भित्रिएको यस नयाँ चेतना, अवधारणा वा सिद्धान्तले नेपालमा कसरी प्रवेश ग¥यो र त्यसको अनुकूलीकरणका समस्या र जिज्ञासाको विमर्श गर्नु आवश्यक छ । प्रस्तुत लेखमा डायस्पोरिक चेतनाको सूक्ष्म र खँदिलो ज्ञानलाई प्राविधिक सम्पुट प्रदान गरी अभिव्यक्त गर्ने उद्देश्य राखिएको छैन बरु नवीन कुरा बुझ्न खोज्ने जिज्ञासु र उत्सुक स्वभावले उब्जाएका समस्यापूर्ण जिज्ञासा र तर्कहरू छलफल अन्तक्र्रिया एवम् प्रस्तावनाका लागि राख्ने प्रयत्न गरिएको छ । यसबाट उपनिवेशवादको अन्त्य भए पनि त्यसको दुःखाइले मर्माहत बनेको नेपालका पहुपक्षीय डायस्पोराको सन्दर्भ उठानबाट डायस्पोरिक चेतनाको बोधका लागि मार्गप्रशस्त गर्नेछ भन्ने उद्देश्य राखिएको छ ।
२. डायस्पोराको शाब्दिक व्युत्पत्ति
डायस्पोरा ग्रिसेली भाषाको शब्द हो र नेपालीमा आगन्तुक शब्दका रूपमा यो प्रचलित भइसकेको छ । ग्रिसेली डाया र स्पिरो मिलेर यो शब्दको निर्माण भएको हो । यहाँ डायाको अर्थ देखि÷बाट हुन्छ भने स्पिरोको अर्थ छरिनु भन्ने हुन्छ । तसर्थ एक ठाउँबाट अनेक ठाउँमा छरिएर बस्नुलाई डायस्पोरा भनिन्छ । अर्थात् विश्वको कुनै एक देशबाट बसाइँ सरी विभिन्न देशमा छरिएर बस्नुलाई डायस्पोरा भनिन्छ । नेपाली भाषामा डायस्पोरा शब्दको समानार्थी आप्रवासी, बहिर्बासी, प्रवासी आदि शब्द प्रचलित छन् तर यी शब्दले डायस्पोराको मर्मलाई ठ्याक्कै नछुने ठानी आगन्तुक शब्दका रूपमा डायस्पोरा नै चलाउनु उचित देखिन्छ ।
बेबिलोनियामा इ. पू. ५८६–५३८ मा बन्दी बनाइएका यहुदीहरू मुक्त भएपछि उनीहरू आफ्नो जन्मभूमि छोडेर भागे वा चारैतिर छरिए । त्यतिबेला उनीहरूलाई डायस्पोरा भन्न थालियो । यसरी मूलतः डायस्पोरा शब्द र यसले दिने मूल अर्थ प्यालेस्टाइन छोडेर अन्यत्र छरिएका यहुदीहरू, उनीहरूले नयाँ ठाउँमा गएर बसालेका बस्ती तथा अवस्थालाई बुझाउँदै जान थाल्यो । कालान्तरमा यसको अर्थ विस्तार हुँदै गयो । वर्तमानमा यसले साहित्य, समालोचना पद्धति र चेतना समेतलाई बुझाउन थालेको छ ।
३. डायस्पोराका विभिन्न अर्थगत तहहरू
बेबिलोनियाका यहुदी शरणार्थीहरूका लागि प्रयोग भएको डायस्पोरा शब्द अहिले विश्व साहित्यको साहित्यलेखन र समालोचनाको एउटा मोडल वा विश्लेषणको सैद्धान्तिक आधार नै बनिसकेको छ । प्रारम्भदेखि वर्तमानसम्म आइपुग्दा डायस्पोरा शब्दको अर्थ सङ्कुचित नभएर अर्थ विस्तारित हुँदै गएको छ र विश्व भूमण्डलीकरण, उपनिवेशवाद, उत्तरउपनिवेशवाद, जातिवाद, धर्मवाद आदिका सकारात्मक र नकारात्मक प्रभावले विश्वमा डायस्पोरा, डायस्पोरिक पीडा, डायस्पोरिक अनुवंशका पीडा, डायस्पोरिक साहित्य, समालोचना र चेतनाका नवनव केन्द्र र शाखाहरूको निर्माण भइरहेको छ । त्यसैले दिनानुदिन यस शब्दको अर्थ सीमितबाट असीमित वा व्यापक बन्दै गएको छ । समग्र विश्व साहित्य, संस्कृति तथा नेपाली साहित्य र संस्कृतिको वर्तमान स्वरूपलाई हेर्ने हो भने डायस्पोरा शब्दका निम्नलिखित अर्थहरू हुन सक्छन् :
1. जन्मभूमिबाट विभिन्न कारणले विस्थापित हुन वाध्य भई अन्यत्रै बसोबास गर्ने मानिसको समुदाय,
2. त्यस्ता मानिस वा मानव समुदायको बस्ती,
3. ती मानव समुदाय र बस्तीका अवस्था, अनुभव र चेतना,
4. आफ्नो इच्छा वा चाहना, वाध्यता र विवशताले मातृभूमि छोडेकाहरूका नोस्टाल्जिया,
5. जन्मभूमि (होम ल्यान्ड) र नयाँ आतिथ्य भूमि (होस्ट ल्यान्ड) का बिचका भाषिक, सांस्कृतिक, साहित्यिक अन्तरमिश्रणबाट निर्मित क्रेओलीकृत भाषा, संस्कृति र साहित्य विशेष,
6. यस्तो क्रेओलीकृत साहित्यिक स्वरूपको अध्ययन विश्लेषण गर्ने समालोचना पद्धति विशेष र
7. उत्तरआधुनिक साहित्यलेखन र समालोचना प्रविधिको एक शाखा वा पक्षपोषक पद्धति ।
प्रत्येक राष्ट्रमा डायस्पोराका सापेक्षिक अर्थ, सिद्धान्त र पद्धतिको निर्माणप्रति चासो देखिएको छ । यो स्वाभाविक पनि देखिन्छ किनभने प्रत्येक राष्ट्रको डायस्पोरा एक अर्काको भन्दा कुनै न कुनै रूपमा भिन्न हुन्छ । कारण उस्तै भए पनि स्वरूप भिन्न हुने हुनाले विश्व साहित्यका परिप्रेक्ष्यमा यसका मौलिक सैद्धान्तिक प्रारूपहरूको निर्मिति हुँदै गएको देख्न सकिन्छ । अचेल बेलायती डायस्पोरा, अमेरिकी डायस्पोरा, चिनिया डायस्पोरा, हङकङी डायस्पोरा, आयरल्यान्डेली डायस्पोरा, मलेशियाली डायस्पोरा, भारतीय डायस्पोरा, नेपाली डायस्पोरा आदि विभिन्न डायस्पोरा निर्माण भइरहेका छन् ।
४. डायस्पोरा निर्माणका कारणहरू
आफू जन्मेको वा हुर्केको ठाउँ वा आफ्नो मातृभूमिलाई छोडेर अरूको देश गएपछि मातृभूमि, मातृभाषा, संस्कृति, रहनसहन, चाडपर्व, परम्परा, धर्म आदिलाई पूर्ण रूपमा भुल्न नसक्दा र नयाँ आतिथ्य भूमिका भाषा, संस्कृति, रहनसहन, चाडपर्व, परम्परा, धर्म आदिमा पनि पूर्ण रूपमा जोडिन नसक्दाका स्थितिमा डायस्पोराको निर्माण हुन जान्छ । प्रत्येक राष्ट्रका डायस्पोरा निर्माणका आआफ्नै कारण हुन्छन् र तिनका स्वरूप पनि भिन्न भिन्न हुन्छन् । बेलायती डायस्पोरा उपनिवेशवादी नीतिका कारणले जन्मिन गएको हो भने अमेरिकी डायस्पोरा साम्राज्यवादी नीतिका कारण जन्मिन गएको हो । त्यस्तै चिनिया डायस्पोरा प्रारम्भमा रोजगारीको खोजीका लागि र वर्तमानमा विश्वबजारमा व्यापारिक साम्राज्य फैलाउने नीतिका कारण जन्मिन गएको हो । सङ्क्षेपमा प्रत्येक राष्ट्रका आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक, धार्मिक, भाषिक, अन्तर्राष्ट्रिय नीति आदि भिन्न भिन्न कारणले डायस्पोरा निर्माण भएको हुन्छ । विशेषतः डायस्पोरा निर्माणका मुख्य मुख्य कारणहरूलाई बुँदागत रूपमा निम्नानुसार प्रस्तुत गरिएको छ :
1. मातृभूमिमा लामो समयसम्म गृहयुद्ध वा द्वन्द्व चलिरहनु,
2. युद्धमा पराजित भएपछि विजितहरूद्वारा खेदिनु,
3. प्राकृतिक प्रकोप र महामारी फैलिनु,
4. धार्मिक, साम्प्रदायिक वा जातीय असहिष्णुता बढ्नु,
5. राजनीतिक अस्थिरता हुनु,
6. काम, माम, दाम, अवसर र चुनौतिको वाध्यता र स्वैच्छिकता हुनु,
7. नयाँ मुलुक, नयाँ सम्भावना र नयाँ अनुभूतिको आकाङ्क्षाले कुत्कुत्याउनु,
8. युद्धबन्दी, शरणार्थी, विस्थापित आदिका नाममा देश छोड्नु,
9. शिक्षा आर्जन, व्यापार, श्रम बजारको विस्तार हुनु वा गरिनु,
10. राष्ट्रको साम्राज्यवादी नीतिका कारण देशका नागरिकहरू विभिन्न बाहनामा अर्को देशमा छिर्न वाध्य हुनु,
11. पिआर, ग्रिनकार्ड, डिभी आदिका कारण एक देशबाट अर्को देशमा स्थानान्तर हुनु,
12. विकसित र सम्पन्न मुलुकमा जान वा काम गर्ने चाहनाले गर्दा मातृभूमिसँगको साइनो नै तोड्नु र त्यसको नोस्टाल्जियामा पीडित हुनु,
13. नयाँ मुलुकमा असुरक्षा, अन्योल, भय, चिन्ता, अरिचितता आदिका कारण मानसिक आघात बढ्नु,
14. सांस्कृतिक सामाजिक बेमेल बढ्नु,
15. पर्यावरणीय स्वरूप र जलवायुमा परिवर्तन आउनु,
16. स्थापित संसार छोडेर अस्तित्व सङ्कटलाई टार्ने त्रास उत्पन्न हुनु,
17. अनुकूल हावापानी र सन्तुलित आहारबिहारको खोजी हुनु ।
नेपाली डायस्पोरा पनि यस्तै अनेकौँ कारणले निर्माण भएको देखिन्छ ।
५. नेपाली डायस्पोरा साहित्य
नेपालबाट काम, माम, दाम आदिका लागि विदेश जाने चलन बढिरहेको छ । आफ्नो मातृभूमि छोडेर नेपालीहरू जहाँ जहाँ गएका छन् त्यहाँ त्यहाँ उनीहरू नयाँ ठाउँ, नयाँ संकृति, चालचलन, सभ्यता, धर्म, भाषा, व्यवहार र कामका कारण नयाँ अनुभूति सँगाल्न वाध्य छन् । उनीहरूको जीवन सुखपूर्ण छैन । भलै भौतिक सुख भए पनि अस्तित्व र अपनत्वको नोस्टाल्जियामा आत्मिक सुखको कामना र याचना गरिरहेका छन् । यस्ता अवस्थामा उनीहरूका मन र मुटुभरी देश बसेको छ, देश दुखेको छ, अपनत्व र अस्तित्व दुखेको छ । आफ्नो योग्यता र क्षमता अनुसारको रोजगारी नपाएर तल्लो स्तरको काम गरी जिविकोपार्जन गर्नुपर्दा झन् उनीहरूको नुर गिरेको छ । तसर्थ उनीहरूका आफ्नै खालका पीडा, अनुभूति र समस्या छन् । ती समस्या अहिले विश्वभर छरिएर रहेका नेपालीका साझा समस्या र पीडा बनेका छन् । यसै कारणले गर्दा विश्वभर नेपाली डायस्पोराको नयाँ स्वरूप र संसारको ढोका खुलेको छ । उनीहरू जहाँ छन् त्यहाँ आफ्ना अवस्था र अनुभूतिको प्रकटीकरणका लागि साहित्यको सहारा लिएका छन् र विश्वभर नेपाली डायस्पोरिक साहित्यको विस्तार हुँदै गएको छ । सम्पन्न, बिपन्न, स्थिर, अस्थिर, ठुला, साना, शक्तिशाली, शक्तिहीन सबै राष्ट्र, जहाँ जहाँ नेपाली पुगेका छन् त्यहाँ त्यहाँका नेपालीहरू डायस्पोरिक पीडामा बाँचिरहेका छन्, जीवन र कर्मको गीत गाइरहेका छन् । तसर्थ नेपाली डायस्पोरा प्रथम विश्वयुद्धभन्दा पनि जेठो छ ।
डायस्पोरा उपनिवेशिक सभ्यताको परिचायक हो । उपनिवेशवादले नेपाली डायस्पोरालाई पनि प्रभाव पारेको छ । घोषित वा अघोषित उपनिवेश र दासत्वले नेपालीहरूलाई थिल्थिलाएको छ । आर्थिक, सामाजिक, सांस्कृतिक, जातीय रूपमा नेपालीहरूलाई टुक्र्याएर वा छिन्नभिन्न बनाएर आफ्नो स्वार्थपूर्ति गर्नेतर्फ पुँजीवादी, साम्राज्यवादी र विस्तारवादीहरू लागिपरेका छन् । तेस्रो विश्वको गरिब र राजनीतिक रूपमा अत्यन्त अस्थिर राष्ट्र हुनुको अभिशाप नेपालीहरू संसारका विभिन्न ठाउँमा कुल्ली, चौकीदार, क्लिनर, बेबिसिटर आदि भएर भोगिरहेका छन् । यो उपनिवेशिक युग र त्यसको नवीन संस्करण उत्तरऔपनिवेशिक र उत्तरसांस्कृतिक युगले नेपाल र नेपालीका लागि दिएको पीडा र दुखाइ हो । डायस्पोरा यही पीडा र दुखाइको परिणति र प्रतिबिम्बन हो ।
पिआर, ग्रिनकार्ड, डिभी आदिका नाममा मातृभूमि छोडेर र मातृभूमिसँगको नाता तोडेर वा नागरिकता समेत त्यागेर विदेशमा बस्नुपर्दा फुक्लिनुको पीडा र जुन देशको नवनागरिक बनेको हो त्यस देशले, त्यस देशको समाज, सभ्यता, संस्कृति, भाषा, धर्म आदिले नवनागरिकलाई शरणार्थी नागरिक, दोस्रो दर्जाको नागरिक तथा अनागरिक मान्दाखेरि नजोडिनुको पीडा तथा विदेशी बनेकामा असन्तुष्टि र मातृभूमिप्रतिको आकर्षणका अभिव्यक्तिका रूपमा देखिएको छ । यसरी मानसिक रूपले घरको न घाटको बन्नुपर्दाका अनुभूति र संवेदनाहरूलाई अक्षरका आँसुले पखाल्न खोज्ने प्रयत्न नै नेपाली डायस्पोरा साहित्य हो ।
नेपाली डायस्पोरा जुन देशमा बसेर स्वत्वको सङ्कट र अस्तित्वको सङ्घर्षप्रतिको विकर्षण र असन्तुष्टि तथा मातृभूमिमा एउटा स्वाभिमानी नागरिक बनेर शानसँग इज्जतको जिन्दगी जिउँदाको सुखद् नोस्टाल्जिया पनि हो । जुन देशमा नेपाली भए पनि उनीहरूले लेखेका साहित्यमा यसको प्रत्यक्ष झल्को परेको पाइन्छ । नेपाली डायस्पोराको प्रारम्भिक बान्की रूपनारायण सिंहको भ्रमर (१९९३) उपन्यासमा पाइन्छ । विशेषतः बर्माको जनजीवन, मोटा राई तथा त्यहाँ समस्त नेपाली जातिले भोगका समस्या र जातीयताका सङ्कटहरूको चित्रणलाई डायस्पोराको प्रारम्भिक औपन्यासिक अभिव्यक्ति मान्नुपर्छ । त्यसपछि लैनसिंह बाङ्देलले आफ्नो उपन्यास मुलुक बाहिर (२००४) मा यसलाई सार्थकतापूर्वक चित्रण गरेका छन् । त्यस्तै लीलबहादुर क्षेत्रीको ब्रह्मपुत्रको छेउछाउ (२०३९) आदि उपन्यासमा पनि डायस्पोरिक पीडाको प्रभावकारी अभिव्यक्ति गरिएको छ । यी विभिन्न उपन्यासमा डायस्पोरा चेतनाको नभएर डायस्पोरिक पीडाको अभिव्यक्ति गर्ने प्रयास गरिएको छ । पछिल्लो चरणमा होमनाथ सुवेदीको यमपुरीको महल (२०६४) र राजवको एटलान्टिक स्ट्रिट (२०६५) डायस्पोरिक चेतनाको प्रयोगका दृष्टिले महत्त्वपूर्ण मानिएका छन् र नेपाली साहित्यमा विकसित लगभग सबैजसो विधाका अरू प्रशस्त कृतिहरू पनि नेपाली डायस्पोरा साहित्यका रूपमा प्रकाशित-प्रसारित भएका छन् । नेपाली डायस्पोरा साहित्यको विकासमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, त्यसका विभिन्न च्याप्टरहरू, त्यसका संस्यापकहरू, तत्पश्चातका विभिन्न समय र हालका पदाधिकारीहरूले विशिष्ट भूमिका खेलेका छन् ।
६. नेपाली डायस्पोराका केही समस्या र तिनका कारणहरू
नेपाली डायस्पोरिक जीवनका अनुभूति, भावना, चेतना, चिन्तन, मनन आदिलाई कलात्मक भाषाका माध्यमबाट लिपिबद्ध गरिएको साहित्य नै नेपाली डायस्पोरिक साहित्य हो । नेपाली डायस्पोरिक साहित्य के हो र यसका सैद्धान्तिक अवधारणात्मक सन्दर्भहरू केकस्ता छन् भन्ने सन्दर्भमा केही गम्भीर सवालहरू उठेका छन् । ती सवालहरू यसप्रकार छन् :
1. नेपाली डायस्पोरिक साहित्य मातृभाषा (नेपाली) मा लेखिन्छ वा नयाँ मातृभाषामा लेखिन्छ वा क्रेओलीकृत भाषा (नेपाली र अर्को कुनै भाषाको मिश्रित रूप) मा लेखिन्छ अथवा भाषाको कुनै महत्त्व छैन, जुनसुकै भाषामा पनि लेखिन सक्छ ?
2. नेपाली डायस्पोरा मातृभूमि (नेपाल) प्रतिको नोस्टाल्जियामा लेखिने हुनाले मातृभूमि (नेपाल) छोड्ने पाठकहरूका लागि मात्र लेखिन्छ वा मातृभूमिमै बसेका पाठकहरूका लागि लेखिन्छ वा नयाँ आतिथ्य भूमि (अर्कै कुनै देश) का अडायस्पोरिक पाठकका लागि लेखिन्छ वा सबैका लागि ?
3. नेपाली डायस्पोरा साहित्य कुनै एक राष्ट्र (नेपाल) छोडेर जानेले त्यस राष्ट्र (नेपाल) का स्मरणमा लेखेको साहित्य मात्र हुन्छ वा कुनै अर्को राष्ट्र छोडेर त्यस राष्ट्र (नेपाल) मा आई बसोबास गर्दा भोगेका पीडाको साहित्यिक अभिव्यक्ति पनि हुन्छ ? अर्थात् नेपालका लागि अमेरिका, बेलायत आदि देशमा बसोबास गर्ने नेपालीले लेखेको साहित्य नेपाली डायस्पोरा हुँदा भूटानबाट नेपाली जाति र भाषी भएकै कारणले लखेटिएर नेपालमा शरणार्थीका रूपमा बसोबास गर्न वाध्य भुटानीहरूले आफ्नो शरणार्थी जीवनका पीडा र आफ्नो घरदेशका अतीतस्मृति साहित्यमा अभिव्यक्त गर्दा समजातीय र समभाषिक सम्बन्धका कारणले त्यो नेपाली डायस्पोरा हुन्छ वा देशीय सम्बन्धका आधारमा त्यो भुटानी डायस्पोरा हुन्छ ?
4. डायस्पोरिक साहित्य राष्ट्रसापेक्ष हुन्छ वा राष्ट्रनिरपेक्ष हुन्छ ?
5. यो व्यक्तिसापेक्ष हुन्छ वा व्यक्तिनिरपेक्ष हुन्छ वा व्यक्ति, राष्ट्र, भाषा आदि सापेक्षता वा निरपेक्षताको उस्तो महत्त्व तथा भूमिका हुँदैन ?
6. मातृभूमि (नेपाल) छोडेर विदेशमा दुःखको जिन्दगी बिताउने पनि धेरै छन् र विदेशमा प्रगति वा सुख समृद्धिको जीन्दगी बिताउने पनि धेरै छन् । दुःख पाउनेका दुःखपूर्ण अनुभूतियुक्त साहित्य मात्र नेपाली डायस्पोरा हुन्छ कि सुख पाउनेका सुखमय अनुभूतियुक्त साहित्य पनि नेपाली डायस्पोरा हुन्छ ?
7. स्वदेशमै प्रतिष्ठित जीवन बिताइरहेका पूर्व सचिव, उपसचिव, प्राध्यापक, हाकिम, वकिल, डाक्टर, इन्जिनियर, सफल कलाकार, नर्स आदिले स्वेच्छाले मातृभूमि छोडेर र मातृभूमिसँगको वैधानिक वा कानुनी, एक हिसाबले सबै खालका नातासमेत तोडेर विदेश गई बसेकाहरूले मातृभूमिको माया लाग्ने, नेपालको झझल्को आउने स्वाङ पारेर लेखिएका साहित्य नेपाली डायस्पोरा साहित्य हुन सक्छन् कि सक्दैनन् ?
8. डायस्पोरिक लेखक हुने लोभले कुनै छद्म नाममा स्वदेशमै बस्नेले लेखेको डायस्पोरिक चेतना, भाव र शैलीले युक्त साहित्य नेपाली डायस्पोरा साहित्य हुन्छ वा हुँदैन ?
9. डायस्पोरा अवस्था वा भोगाइको अनुभूतिबाट निश्रित हुन्छ वा डायस्पोरिक हुनका लागि लेखिएको कोरा काल्पनिक विचार पनि नेपाली डायस्पोरिक साहित्य हुन्छ ?
10. डायस्पोरिक नोस्टाल्जिया सुखद् मात्र हुन्छ कि दुखद् पनि हुन्छ ? अर्थात् विदेशमा देशको नियास्रो अनुभूति र आफू हुनुको स्वत्वबोध नहुँदाको पीडामा स्वदेशी संस्कृति, भाषा, धर्म, आफन्त आदिको सुखद् नोस्टाल्जिया मात्र हुन्छ कि मातृभूमिमा रहँदाका अभाव, अतृप्ति, कुण्ठा, दुःख, दर्द, पीडा, अशिक्षा, बेरोजगारी, द्वन्द्व, वैमनष्य, गरिबी, भय आदिबाट आक्रान्त जीवनबाट वाक्क भएर विदेश लागेको भन्ने दु:खद् नोस्टाल्जिया भाव अभिव्यक्त भएका वा दुवै खालका नोस्टाल्जिा प्रकट भएका साहित्य नेपाली डायस्पोरा साहित्य हुन्छन् ?
11. डायस्पोरिक साहित्यलेखन देशबाहिरको भूमिमा पुग्नुपर्छ कि पर्दैन ? पर्छ भने भारतमा बसेका नेपालीले नेपाली भाषा, संस्कृति र जातित्वको नोस्टाल्जियामा लेखिएका साहित्यलाई किन नेपाली डायस्पोरा साहित्य मानिँदैन ? अथवा कुन कुन देशमा पुगेका नेपालीले लेखेका साहित्य नेपाली डायस्पोरा साहित्य हुन्छन् र कुन कुन देशमा पुगेका नेपालीले लेखेका साहित्य नेपाली डायस्पोरा हुँदैनन् ?
12. विदेश गएको कति दिन, कति महिना, कति वर्ष वा कति पुस्तापछि लेखेको साहित्य डायस्पोरा हुन्छ ? अब डायस्पोरा भयो भनेर घोषणा गर्ने वा निर्णय गर्ने अधिकार कसको हुन्छ ? उतै बसेका बेलामा साहित्य लेखेर त्यसको व्यापार गर्न नेपालमा आउँदा, लामो समय उतै बसेर यता व्यापार गर्दा वा यतै बसोबास गर्ने गरी स्वदेश फर्किएका लेखकका साहित्य नेपाली डायस्पोरा हुन सक्छन् वा सक्दैनन् ?
13. कोही लेखक एक महिनाका लागि विदेशमा बसेर त्यहाँ आफ्ना भ्रमण अनुभव र अरूका डायस्पोरा अनुभव लिई स्वदेशमै फर्केपछि त्यसको लेखन र प्रकाशन गर्दा ती नेपाली डायस्पोरा साहित्य हुन सक्छन् ? सक्दैनन् भने किन ?
14. डायस्पोरा साहित्य राजनीतिक सीमारेखा, सांस्कृतिक एकत्व र भिन्नता, भाषिक भिन्नता आदिमध्ये केबाट परिभाषित र परिपोषित हुन्छ ?
15. डायस्पोरा साहित्य राजनीतिक सीमारेखामा आधारित हुँदैन भने सामाजिक, सांस्कृतिक एकत्व, सामिप्य र दूरत्वमा आधारित हुन्छ भने देशभित्रै देशको अनुभूति गर्न नपाएका कर्णाली, कालापानी, लिपुलेक, गुन्जी, लिम्पियाधुरा, सुस्ता, महेशपुर आदि भूभागका जनताका दैनिक जीवनका जीवन्त पीडा वा उनीहरूका राष्ट्र नपाउनुका पीडायुक्त अनुभूति, संवेदना, भावना अभिव्यक्त भएका साहित्य नेपाली डायस्पोरा साहित्य हुन्छन् वा हुँदैनन ? यस सन्दर्भमा विशेषतः सुस्ता, कालापानी, लिपुलेक, गुन्जी, लिम्पियाधुराका समस्याग्रस्त भूभागका पीडा उल्लेखनीय छन् ।
16. कुनै पनि देशको नागरिकता नपाएका तर मन मुटुभरि नेपालको माया साँचेर बसेकाहरूका संवेदना अभिव्यक्त साहित्य नेपाली डायस्पोरा साहित्य हुन सक्छन् वा सक्दैनन् ? अथवा डायस्पोरा साहित्यलेखनमा नागरिकता हेरिन्छ वा हेरिँदैन ? वा अनागरिक साहित्यलाई नेपाली डायस्पोरा साहित्यभित्र राख्न सकिन्छ वा सकिँदैन ?
17. आफ्नो गाउँघर छोडेर अध्ययन र जागिरका लागि तथा बेरोजगारी लिएर बहुसांस्कृतिक, बहुभाषिक, बहुधार्मिक, महानगरीय सभ्यतायुक्त बिरानो सहरमा सङघर्षपूर्ण जीवन यापन गर्नुपर्दा स्वत्व र अस्तित्वको सङ्कटका दुःखपूर्ण भोगाइ, अवस्था, पीडा र वाध्यता अभिव्यक्त भएका साहित्य डायस्पोरिक साहित्य हुन सक्छन् वा सक्तैनन् ?
18. गाउँबाट निकालिएकाहरूका आफ्नै गाउँमा बस्न नपाई बिरानो गाउँमा वा बिरानो संस्कृतिमा बस्नु पर्ने वाध्यता, घरबाट निकालिएकाहरूका आफ्नै घरमा बस्न नपाएर बिरानो वा अर्कैको घरमा शरण लिएर बस्नु पर्ने वाध्यता र पीडा अभिव्यक्त भएका साहित्य डायस्पोरिक साहित्य हुन सक्छन् वा सक्तैनन् ?
19. माइतीबाट बिरानो घरमा विवाह गरी पठाइएकी चेलीका दुःखद् भोगाइ, पीडा र माइतीघरका नोस्टाल्जिया अभिव्यक्त भएका साहित्य डायस्पोरिक साहित्यभित्र पर्न सक्छन् वा सक्तैनन् ?
20. विविध कारणले जेल जान वाध्य भएका व्यक्तिका अनुभव अनुभूति, गाउँघर, परिवार आफन्त आदिको न्यास्रो अभिव्यक्त भएका साहित्य डायस्पोरिक हुन सक्छन् वा सक्तैनन् ?
माथिका प्रश्न वा समस्याहरू उब्जिनुका पछाडि केही महत्त्वपूर्ण र गम्भीर कारक तत्त्वहरू पनि छन् । तिनलाई बुँदागत रूपमा यसप्रकार प्रस्तुत गरिएको छ :
1. विश्व भूमण्डलीकरणका कारण समग्र संसार एउटा सानो गाउँ वा एउटै घरमा परिणत भएको ठानिनु,
2. साइबर संस्कृतिका कारण विश्वको कुनै एक कुनामा घटेको घटना एक क्षणमै अर्को दूरदराजमा रहेको व्यक्तिले थाहा पाउने भर्चुअल संसारको बोलवाला देखिनु,
3. लेखकको मृत्युको घोषणा, इतिहासको मृत्युको घोषणा, विचारको मृत्युको घोषणालाई महान् अभियान, वाद वा विचारका रूपमा मान्नु पर्ने स्थिति देखिनु,
4. साहित्यिक कृतिको मूल्याङ्कनमा लेखककेन्द्री समालोचनाको अन्त्य र पाठकेन्द्री र पाठककेन्द्री समालोचनाको बोलवाला रहनु,
5. राष्ट्र, राष्ट्रियता, नागरिक, नागरिकता, माया, प्रेम, स्नेह, आस्था, श्रद्धा, धर्म, संस्कृति, भाषा आदिजस्ता कुराहरू मात्र आदर्श बन्दै जानु तथा तिनको विस्थापन उपयोगितावाद र स्वार्थवादले गर्नु (किनकि हामी नेपाली हाम्रा नानीहरूलाई सबैभन्दा पहिले A B C D सिकाउँछौँ वा उनीहरूको वा आफ्नै 'जन्मदिन' होइन BIRTH DAY मनाउँछौँ, त्यो पनि केक काटेर वा स्याम्पियन फोरेर÷छरेर÷पिएर । हामी हाम्रा नानीले वा आफैँले पनि अङ्ग्रेजी वा अन्य भाषा जाने वा जान्यौँ भने संसारको सम्पूर्ण ज्ञान जानेको मान्छौँ वा ठान्छौँ ।),
6. भौगोलिक, आर्थिक र सामरिक दृष्टिले साना, गरिब, कमजोर राष्ट्र ठुला, धनी र शक्तिशाली राष्ट्रका प्रभावमा परी राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डताजस्ता कुराहरू खतरामा पर्नु वा पारिनु,
7. विकसित र शक्तिशाली राष्ट्रको भाषा साहित्यले कम विकसित वा कमजोर राष्ट्रका भाषासाहित्यमा घोषित वा अघोषित रूपमा हस्तक्षेप गरी नवउपनिवेशत्व कायम गर्नु,
8. उत्तरआधुनिकताका नाममा राष्ट्रमा स्थापित साहित्यिक-भाषिक लगायत सम्पूर्ण व्यवस्था र पद्धतिलाई अराजक र छिन्नभिन्न बनाउँदै जानु,
9. आफ्नै भाषा साहित्यिक मूल्य र मानयताको उत्थान, विकास र समृद्धिमा विशेष जोड दिनतर्फ नलागेर विदेशी सम्पन्न भाषा साहित्यिक सिद्धान्त, अवधारणा, मूल्य र मानकको सिर्जनात्मक नभएर हुबहु नक्कल गर्नु नै नवीन खोज हो भन्ने मान्यताले ग्रस्त भएका विद्वान् नै राष्ट्रमा सर्वेसर्वा हुनु,
10. स्वकीय मूल्य र मान्यतायुक्त ज्ञानसङ्कथनको निर्माणतर्फ नलागी राष्ट्र र कलासंस्कृतिमा विद्यमान मूल्यमान्यताको खिल्ली उडाउनु तथा तिनीहरूको विस्थापन गर्नुलाई समालोचना ठान्नु,
11. डायस्पोरा साहित्यले राष्ट्रिय साहित्यिक मूल्यनिर्णय, परम्परा र व्यक्ति प्रतिभाको स्थापनामा प्रत्यक्ष असर पार्नु,
12. विशेषतः नव औपनिवेशिक र उत्तर औपनिवेशिक दृष्टिकेन्द्रबाट डायस्पोरा नामक साहित्यिक खेती चलाइनु र त्यसको मूल उद्देश्य राष्ट्रिय संस्कृति, मूल्य र मानकमा दोहोरो भूमिकाको खोजी तथा दोहोरो आक्रमणको योजना हुनु,
13. नेपाली साहित्यको इतिहासमा डायस्पोरिक साहित्यलाई छुट्टै चर्चा गरिए पनि त्यसले साहित्येतिहासको मूल धारमै प्रत्यक्ष प्रभाव पारी राष्ट्रिय साहित्य-परिधि र डायस्पोरा (प्रवासी र आप्रवासीसमेत) साहित्य केन्द्रमा परेको देखिनु ।
माथि उल्लेख गरिएका विभिन्न कारण तथा त्यस्तै अन्य कैयौँ कारणले गर्दा नेपाली साहित्यमा डायस्पोराको खास निरूपण हुन सकेको छैन । हाम्रा समालोचकहरू अनेक तिगडम गरी अमेरिका, बेलायत, अष्ट्रेलिया आदि समृद्ध मानिएका देशमा जान्छन् र आफूअनुकूल डायस्पोरा यो हो, यो होइन भनेर न्यायाधीश बन्छन् । यसो हुँदा एकातिर नेपाली डायस्पोराको निरूपणमा व्यक्तिवाद हाबी हुँदै गएको छ भने अर्कातिर व्यक्ति-व्यक्तिका बिचमा मनोमालिन्यको स्थिति पैदा भएको छ । यसलाई संयोजन गर्ने, विवाद निराकरण गर्ने र डायस्पोराको सैद्धान्तिक निरूपण गर्ने आधिकारिक संस्थाको अभाव खट्किएको छ । अचेल प्रभाव, पहुँच र प्रभुत्वका आधारमा मनोमानी र आफूखुसी व्याख्या गरी डायसपोरा यही हो भनेर ठोकुवा गर्नेहरूको पनि कमी छैन । पुँजीवादका पिछलग्गुहरू दोहोरो नागरिकता लिएर आफ्नो व्यापार र प्रभुत्वको खेती फस्टाइरहेका छन् भने अन्तर्राष्ट्रिय सामरिक दलालको भूमिका पनि खेलिरहेका छन् । कतिपय इमानदारहरूले निस्वार्थ भावले जन्मभूमिप्रतिको कर्तव्य पूरा गर्ने सोचका साथ आर्थिक उन्नतिका लागि लगानी भित्र्याउने प्रयत्न गरिरहेका छन् भने नेपाली भाषासाहित्य एवं संस्कृतिको अन्तर्राष्ट्रियकरण पनि गरिरहेका छन् । यस स्थितिमा नेपाली डायस्पोरा नेपाली साहित्यको विश्वव्यापीकरण गर्ने सशक्त माध्यम पनि बनिरहेको छ ।
७. निष्कर्ष
नेपाली डायस्पोराका लागि बेलायती र अन्य त्यस्तै सिद्धान्तको हुबहु नक्कल गरी त्यसको सैद्धान्तिक स्थापना गरेको भ्रम पाल्न पनि थालिएको छ । यसले गर्दा नेपाली डायस्पोरा भनेको के हो, कसले लेखेमा, कसरी लेखेमा, के के लेखेमा वा कस्तो लेखेमा डायस्पोरिक साहित्य हुन्छ भन्ने निक्र्यौल हुन सकेको छैन । डायस्पोराका बारेमा नेपाली साहित्यका स्थापित समालोचकहरू कलम कम चलाउँछन् । नेपाली मौलिक ज्ञानसङ्कथनको निर्माण गर्नुभन्दा कसैले खोजेका कुराको पुनर्लेखन गरेर एवं हिन्दी वा अङ्ग्रेजी पुस्तकका विचार, अवधारणा, सिद्धान्त, दर्शन नेपालीमा भावहरण गरेर खाइलाग्दो समालोचक, विचारक, दार्शनिक बन्न खोज्ने प्रवृत्ति नेपाली साहित्य र समालोचनामा मौलाउँदै गएको छ । मौलिक ज्ञानसङ्कथनको निर्माण र त्यसलाई नेपाली समालोचनामा प्रयोग गर्ने चलन हराइसकेको देखिन्छ । विश्वविद्यालयमा बढुवा खानका लागि यस्सो टाकनटुकन जोरेर भव्य खालको शीर्षक मिलाउने र त्यसैका आधारमा आफूलाई विद्वान् बनाइटोपल्ने प्रवृत्ति त अझै सशक्त छ । भविष्यका खोजकर्ताले कुनै एउटा टिप्पणी पनि लिन नसक्ने खालका ठुला ठुला र चिटिक्क परेका ग्रन्थले नेपाली समालोचना धानेको छ भन्दा पनि अत्युक्ति हुँदैन । अझ कुनै पुस्तकबाट पश्चिमा सिद्धान्त अनुवाद गरेर त्यस पुस्तकको सन्दर्भसूचीमा नाम नै नदिने प्रवृत्ति त निकै चोपिलो पाराले विकास भएको देखिन्छ । विश्वको कुनै कुनामा कुनै नयाँ सिद्धान्त जन्मेपछि त्यसलाई आफ्नो देश, समाज र चिन्तनअनुकूल बनाउँदा गर्नु पर्ने साधना, दुःख, खप्की, घोचपेच आदिभन्दा निर्मित सिद्धान्तलाई जस्ताको जस्तै अनुवाद-रूपान्तरण गर्ने परम्परा पनि उत्तिकै फस्टाउँदो छ । यदि कुनै फुच्चे समालोचकले केही नयाँ कुरा उठाई स्थापित समालोचकलाई गाँठो फुकाउन घच्घच्यायो भने उसका हैसियत र क्षमताको प्रमाणपत्र माग्ने प्रचलनले पनि नेपाली समालोचनाको विकास, विस्तार र स्तरीकरण हुन सकेको छैन । जेहोस् यस लेखमा नेपाली डायस्पोरिक साहित्य र त्यसको समालोचना मानदण्डसम्बन्धी समस्या र त्यसका कारणहरू आम विद्वज्जन, समालोचक र पाठकबिच गम्भीर छलफल, बहस र अन्तक्रिया होस् भन्नाका लागि उठाइएको हो । यस लेखले नेपाली साहित्यमा डायस्पोरिक मान्यताको एउटा स्वकीय, सुस्पष्ट र मौलिक मूल्यमान्यता एवं ज्ञानसङ्कथनको निर्माण गर्न सम्बद्ध व्यक्ति तथा संस्थालाई पक्कै घच्घच्याउने छ ।
सन्दर्भ सामग्रीसूची
एटम, नेत्र (२०६७). नेपाली डायस्पोरा र अन्य समालोचना. काठमाडौँ : एकता प्रकाशन ।
गौतम, कृष्ण (२०६४). उत्तरआधुनिक जिज्ञासा. काठमाडौँ : भृकुटी एकेडेमी पब्लिकेसन ।
गौतम, लक्ष्मणप्रसाद (२०६६). नेपाली साहित्यमा उत्तरआधुनिक समालोचना. काठमाडौँ ः ओरिएन्टल पब्लिकेसन ।
भट्टराई, गोविन्दराज (२०६४). उत्तरआधुनिक विमर्श. काठमाडौँ : मोर्डन बुक्स ।
बराल, ऋषिराज (२०६३). उत्तरआधुनिकतावाद र समकालीन यथार्थ. काठमाडौँ : प्रगतिशील साहित्य अध्ययन केन्द्र ।
बराल, ऋषिराज (२०६४). साहित्य र समाज. ललितपुर : साझा प्रकाशन ।
लुइटेल, खगेन्द्रप्रसाद (२०६९). 'अनेक डायस्पोरामा देवकोटा : एउटा सराहनीय कार्य'. अनेक डायस्पोरामा देवकोटा. होमनाथ सुवेदी (प्रधान सम्पा.). वासिङ्टन डिसी : अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ।
शर्मा, मोहनराज (२०६६). आधुनिक तथा उत्तरआधुनिक पाठकमैत्री समालोचना. काठमाडौँ : क्वेस्ट पब्लिकेसन ।

(गरिमा २०६८, जेठ अङ्कमा प्रकाशित लेखमा आधारित)

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 27 श्रावण, 2077

लेखकका अन्य रचनाहरु