बा मेरो सर्वस्व

- भारती गौतम

“नानी ! के गरौँ अब राखौँ त ?”
“हुन्छ म फेरि चाँडैै फोन गर्छु ।”
“लौ अब यताबाट जवाफ पाएसम्म फोन गर्न सम्झिँदै गर्नू । निभ्न लागेको बत्ती कहिले झ्याप्प हुन्छ थाहा छैन ।”
फोन राख्ने बेलामा बाले भन्ने गरेको वाक्यसँग अभ्यस्त कान छिचोलेर अहिले यही वाक्य मेरो मनभित्र एकछिन अडियो । एकदशकपछि बल्ल भेट गर्न पाएको पनि आधादशक भइसकेको समय पल पलमा टुक्रिन्छ । भुइँमा खसेको बरफजस्तै ।
“त्यस्तो के हुन्थ्यो, अझै थुप्रै वर्ष हामीलाई बा चाहिन्छ, मेरा छोराछोरीलाई हजुरबा चाहिन्छ ।” अलि अलि बाहिर पनि सुनिने गरी अनि धेरै चाहिँ आफैले सुन्ने गरी मैले जवाफ दिएँ । जति धेरै समय कुरा गरे पनि राख्ने बेलामा बाले अरुबेला पनि यसै भन्नुहुन्थ्यो तर यसपटक फोन काटिने बटन थिच्न मेरो चोर औँलालाई धेरै गाह्रो हुन्छ ।
बाको मुखबाट निस्किरहने अनिश्चितताका यस्ता वाक्यहरु मेरा लागि “आज घाम लागेका छन्, भोलि पानी पर्ने हो कि”मात्र हुने गथ्र्यो । भौतिकरुपले टाढा भएपछि टाढिएको समयको अन्तरालसँगै यस्ता वाक्यले एकछिनलाई अलिक गम्भीर बनाउन थालेको थियो । गर्मीको महिना घमाइलो बिहान । मैले यहाँबाट कुरा गर्दा वा त्यही भैंसेपाटीको चोकसम्म पुगेर भर्खर भित्र पस्नुभएको रहेछ ।
मैले फोन गर्दा बाले कहिल्यै पहिले फोन राख्नुभएन । घन्टौँंसम्म कुरा भइरहे पनि बा कहिल्यै अघाउनुभएन । “किन नानी कतै जानु छ ?” फोन राख्न मैले हतार गरेजस्तो लाग्यो भने बाले भन्नुहुन्थ्यो । फेसबुक, भाइवर र इन्टरनेट जन्मिनु अगाडि थियो त्यो । फोनमा बितेका मिनेट डलरसँग अनूदित हुनुपर्ने भएकाले मेरा आँखाले मजवुर भएर घडीको सुई हेर्नुपर्ने हुन्थ्यो । बासँग कुरा गर्दा एकघन्टा पनि एकमिनेट जसरी बितेको हुन्थ्यो । कुरा गर्दा मिनेटजस्तो मात्र लागे पनि महिनाको अन्त्यमा एटिएनटीको बिलले घन्टा बताइहाल्थ्यो ।
बासँग यसपटक पनि करिब एकघन्टा जति कुरा गरेर फोन राखेको दुई हप्तापछि सधैंको भन्दा छोटो अन्तरालमा मैले फेरि काठमाडौं फोन गरेँ । अस्ति बासँगको कुरा नसकिई फोन राखेको ग्लानिले नछोडेपछि दुईहप्ता पनि नपुगी फेरि फोन गरेकी थिएँ । फोन कम्पनीबाट महङ्गोमा सोझै नेपाल फोन गर्नु नपर्ने सस्ता फोनकार्डहरू पाइन थालेपछि नेपालमा गरिने फोन अलिक सरल र सस्तो हुन थालेको थियो तर त्यस्ता कार्ड त्यति भरपर्दा भने हुँदैनथे । एटिएनटीको बिलभन्दा दसौँ गुणा सस्तो भएपछि लाइनमा केही असहजता खप्न गाह्रो भएन । कहिले उता फोन जोडिन नपाई सकिन्थ्यो भने कहिले पूरै मिनेट कुरा गर्न पाइन्थ्यो । ग्रह, दशा र नक्षत्र एउटै रेखामा सधैं हुँदैनथे ।
यसपालिको कार्ड राम्रो परेछ । एकैपटकमा फोन लाग्यो । चारपाँच रिङमा समेत फोन नउठेपछि मुटु ढक्क फुल्ने अहिले पनि भयो । उताबाट जवाफ नआउन्जेलसम्म सोच्ने गरेका सबै अपशकुन अनि दुर्घटना मनमा अझै पनि सत्य हुन थालिसक्छन् । केही निमेषमा नै मन कति धेरै दिशातिर यात्रा गरिसक्तो रहेछ । मनले किन हर्ष र आनन्दको बगैंचा नचाहारेको होला सधैं यस्तो लाग्छ ।
छपटकको घन्टीमा उताबाट फोन उठ्यो । बाले होइन अप्रत्याशित रूपमा फोन भदै समीराले उठाई । मैले यताबाट गरेको फोन यसअघि समीराले कहिल्यै उठाएकी थिइन । नआत्तिएको स्वरले मलाई अलिकति राहत त भयो तर उसले बोलेको भन्दा बोल्नुअगाडिको उसको छोटो मौनता मलाई डरलाग्दो भयो । हलो ⁄पछिको शब्द पर्खिएको छोटो पलकै लागि भए पनि मेरो सास रोकिएजस्तो भयो । “बाबाआमा कता हो, समीरा ? हजुरबा कहाँ हुनुहुन्छ ?” चाँडोभन्दा चाँडो म मेरो मनको सन्देह सफा गर्न चाहन्थेँ ।
“दिदी ⁄ एकछिन है म आमालाई बोलाउँछु” उताबाट आवाज बन्द भयो तर मेरो मनमा सबैभन्दा चर्को आवाज आयो । केही नभनी समीरा आमालाई बोलाउन गएको कुरालाई मेरो मनले हजार अर्थमा अनुवाद गर्न थाल्यो ।
“ए दिदी ! बुबा बिरामी भएर अस्पताल राखेको थाहा भयो ?” हामीले फोन गर्न पाएकै थिएनौँ ।
“होइन, मैले वा बिरामी भएको थाहा पाएर फोन गरेको होइन । बालाई के भयो र ?” कति दिन भयो अस्पताल राखेको ?, डाक्टरले के भनेका छन् ?” बुहारी अचलासम्म पुग्ने गरी यतिमात्र प्रश्न बाहिरिए पनि मनले दशौँ अनुमान लगाउन थालिसकेको थियो । पैतालादेखि टाउकासम्म एकैचोटि चिसो भयो । उनको जवाफ आउनु अगाडिको केही निमेष फेरि घन्टौँ जस्तो भयो ।
“सास फेर्न केही अप्ठ्यारो भएर अस्पताल लगेको । दशदिन आईसीयुमा राखेर भर्खर जनरल वार्डमा सारेको छ ।” केही ठीक भएको ढुक्क उनको बोलीमा थियो भने “सास फेर्न गाह्रो भएको” मा नै म अड्किएँ । मसँग पछिल्लोपटक फोन गरेको भर्खर दुईहप्तामात्र भएको छ । मसँग कुरा भएको दुईतीन दिनपछि हुनुपर्छ बा अस्पताल भर्ना हुनुभएको । मेरो मनले हिसाब गर्छ ।
“अनि डाक्टरले के भन्छ, कति बस्नुपर्छ अस्पताल, मलाई किन बेलैमा थाहा नदिएको ?” भत्किएको कुलोजस्तो मेरो मुखबाट प्रश्न बगेको बग्यै भए ।
“अहिलेलाई खतरामुक्त हुनुभयो अरे, दुईदिनपछि डिस्चार्ज गर्ने भनेको छ ।” उनले यो पनि भनिन् । यो वाक्यले मेरो सास बिस्तारै स्वाभाविक रूपमा फर्कियो ।
बालाई अस्पताल राखेपछि इमेलमा खबर गरिदिनु भनी भाइले कसैलाई खबर गरेको रहेछ तर मैले त्यो इमेल पाएकी थिइनँ । बा अस्पतालमा हुनुभएका बेला दशदिनमा एक एक दिन होइन एक एक पल भएर मेरो मनको गहिराइमा तैरिँदै डुब्दै गर्न थालँे । बा बिरामी भएर आईसीयुमा राखेको दशदिन भइसक्ता पनि थाहा पाउने अधिकार मेरो मनमा जुर्मुराएकै भए पनि अहिले म मेरै अन्तरात्माप्रति अनुगृहीत भएँ, अहिले मलाई फोन गर्न प्रेरित गराएकामा ।
आईसीयुमा दशदिन बस्नु भनेको चिसो लागेको, टाउको दुःखेको अनि बाका सन्दर्भमा पहिलेजस्तो पेट पोलेको थिएन । त्यस्तो भए त यसअघि गन्नै नसकिने गरी बाले आईसीयुमा बस्नुपथ्र्यो । एक्सीडेन्टबाट बचेर फर्किएपछि जसरी मेरो मनले पछाडि यात्रा गरिरह्यो । मेरो पात्रो दशदिन अगाडि वा अस्पताल गएको दिनबाट आरम्भ हुन थाल्यो ।
मृत्युसँगको बाको भय अनि एकप्रकारको लगाव पनि मैले बिर्सिन सकिनँ । अमूर्त अनि कटु सत्य मृत्यु शब्द वास्तविकताको सँघारमा देख्ता बालाई कति अत्यास लाग्यो होला मैले नसोची यो सबै सोचेँ । मृत्युसँग हो या यो शब्दसँग हो बाको एकप्रकारको आशक्ति नै थियो । एकैजनालाई अगाध प्रेम अनि घृणा गरेजस्तै । बालाई मृत्युप्रतिको वितृष्णा पनि उत्तिकै प्रबल थियो । प्रवचनमा, सिर्जनामा अनि दैनिक जीवनका प्रत्येक पलमा छायाजस्तै मृत्यु पनि बाको वरिपरि हुने गथ्र्यो । बालाई त्यस्तो विश्वास थियो । दाह्रा देखाएर आफूतिर आउँदै गरेको मृत्युले कुनैपनि बेला निल्न सक्छ भन्ने विश्वासले बालाई कुनै पल पनि छोडेन । विभिन्न रुप र आकृतिमा बाले मृत्यु आफ्नै वरिपरि नाचिरहेको देख्नुहुन्थ्यो । साना केटाकेटीले खाटमुनि देखेको भूतजस्तै ।
तीनवर्ष ओछ्यान पर्ने गरी बिरामी हुनुअघि भन्दा पनि त्यसपछि मृत्यु शब्द बाको जिब्रामा स्थायी भएर बसेको थियो । जीवनका सबै पाइलामा मृत्युको सम्भावना बाले सधैं अनुभव गर्नुभएको थियो । कल्पनाको सम्भावना यथार्थको ढोकामा देख्ताको अनुभवले बालाई लागेको त्रास सम्झिएरै मेरो मुटु काम्यो । आमाको अनुपस्थिति यसमा नुनचुक भएर थपिएको कल्पनाले अझ चह¥यायो । असह्य पीडा भयो । बा मेरै अगाडि निश्चल उभिनुभयो । अचलासँगको फोन टुङ्ग्याएर मेरो अनुभव विगतसँग भेट गर्न गयो ।
तीसवर्ष अगाडि बा बिरामी भएको अवस्थाको अनुभव संस्मरणमा सबैभन्दा ताजा भयो । उसबेला बालाई अस्पताल लानु भनेको सास फेरिरहने कङ्काललाई स्ट्रेचरमा बोक्नु थियो । घर फर्किएर आउने नआउनेको बेटुङ्गो हुनु थियो । तेह्र वर्षदेखि तीन वर्षसम्मका पाँचजना छोराछोरी टुहुरा हुनसक्ने सम्भावना सँघारैमा तेर्सिनु थियो । ती पाँचजना केटाकेटीसँग आमा निसहाय हुनु थियो । आफूलाई अनायास दशएघार वर्षकी पाएँ । बालाई फेरि देख्न नपाउने सम्भावना त्यतिबेलाजस्तै नजिक भयो । त्यसबेलाजस्तो बासँग अस्पताल जान अहिले आमा नभएको कटु सत्यले मेरो मन खण्डित भयो । अमेरिकामा सानुभाइ, धरानमा दाजु । बाँकी एउटै अभिभावक निरीह पाटन अस्पताल बेडमा लडिरहेको अवस्थाको एक्लै सामना गर्नुपर्दा भाइको विवश अनुहार आँखाअगाडि अँध्यारियो ।
यहाँको भोलिपल्ट बिहान अनि त्यहाँको साँझमा भाइ बालाई खाना लिन घर आउने समय पर्खिनुअघि अर्को फोन कार्ड किनेँ । अचलाले भनेको समयको अनुमान गरेर फेरि भाइलाई फोन गरेँ । भाइको शान्त बोलीले मेरो मनलाई छहारी दियो । अहिलेलाई खतरामुक्त भनेर जेनेरल वार्डमा सारेको अरे । बा पर्सी घर फर्किने टुङ्गो भइसकेको रहेछ । बालाई गुमाएँ कि भन्ने सम्भावना फेरि झुठो ठहरियो । बा फेरि अमूल्य हुनुभयो । उहिलेजस्तै ।
“मैले फोन गरेको छ भनेर बालाई भनिदिनु है भाइ ⁄” भाइलाई त्यति भनेपछि बासँगै बोलेको पत्यारमा मैले मेरो मनलाई थुमथुम्याएँ । “अस्पतालमा फोन गर्न के गर्नुपर्छ, कुनै नम्बर छ कि ?” भाइलाई सोधेँ । बोल्ने, खाने र सुत्ने सबै झन्डैै पहिलेजस्तै भएको अनि भोलिपल्ट घर आउन तयार हुनुभएको भाइबाट सुनेपछिको सानु राहतले पनि बा दशदिन आईसीयुमा लाचार लडिरहनुभएको अँध्यारो पन्सिएन ।
“फोन गर्ने त्यहाँ त्यस्तो केही व्यवस्था भएजस्तो लागेन” उसले भन्यो । थोरै खङ्ग्रङ्ङ भएँ ।
“अस्पतालबाट बा घरमा फर्किएपछि म फोन गर्छु” भाइलाई भनेँ । एकदिन पर्खिएर बाको बोली सुन्न पाउने निश्चितता मेरा लागि नियतिले दिएको दोस्रो मौका भइसकेको थियो । उहिलेजस्तै नियतिले बालाई मृत्युको ढोकाबाट फिर्ता पठाइदिएकामा म कृतज्ञ हुन थालिसकेँ ।
“घर ल्याएपछि पो गाह्रो छ, घरमा कोही हुँदैन, बालाई एक्लै कसरी छोड्ने” भाइको बोली एकछिन थामियो । भाइको स्वरमा सहयोगको याचना थियो । उसको लाचारी पढ्न मलाई अप्ठ्यारो थिएन ।
“हामी दुवै निस्किनुपर्छ, केटाकेटी स्कुलमा, दिनभरि एक्लै छोड्ने कुरा भएन, त्यही चिन्ता लागेको छ” भाइ चुप लाग्यो । मेरो उत्तरको प्रतीक्षा गरेजस्तो ।
“यसो गरौँ न त भाइ, बालाई घर ल्याएपछि म एकडेढ महिनाका लागि आउँछु, तर बालाई अहिले भनी नहाल, बा फेरि अधैर्य हुनुहोला, अनि स्वास्थमा त्यसको असर पर्ला ।” घरसल्लाह विना नै मैले यस्तो निर्णय लिएँ । नियतिले प्रदान गरेको यो अवसर केही गरे पनि नगुमाउनेमा म दृढ भएँ । वास्तवमा बिहान अचलासँग कुरा भएपछि नै मैले टिकट हेर्न थालिसकेकी थिएँ ।
“हुन्छ ।” भाइको आवाज केही गहिरो सुनियो । ढुक्क पनि ।
भाइसँगको फोन टुङ्गिए पनि मेरो मनले विगतको यात्रा निरन्तर नै राख्छ ।
स्मृति सागरमा बा कहिले तीस पैतीस वर्ष अगाडिको जस्तै बिरामी ओछ्यान परेको हुनुहुन्थ्यो । कहिले साढे तीनवर्ष अगाडि भेटेको जस्तो टाउकाभरि पलास फुलेको अनि अलिकति वैलाएको हुनुहुन्थ्यो । बिरामी नभए पनि त्यति सद्दे पनि होइन । कहिले भने धनकुटा कलेजको नेपाली कक्षा कोठामा देवकोटाको “के नेपाल सानु छ ?” पढाइरहनुभएको । स्वस्थ प्रसन्न अनि जीवनले भरिपूर्ण । बाले लगाएको अत्तरको बास्ना मेरो नाकैमा आयो । टिनोपालले टल्काएर फलामे इस्त्रीले तन्किएका कमेज सुरूवालको तातो पनि हातैले छामे जस्तो । म अतीतको गहिरो पानीमा डुबुल्की खेल्न थालेँ । बाको साथको स्मृतिमा डुब्न खोज्नु भनेको मेरो आफ्नै अस्तित्वको समुद्रमा डुब्नुजस्तै हो । तैरिने र डुब्ने दुवै सम्भावना बराबर । सम्झनाले जे भने पनि बाको र मेरो अस्तित्व कहाँ बेग्लै हुन्थ्यो र ?
बालाई मैले सम्झिन् थालेका क्षणहरु कहिले कुन अगाडि कहिले अर्कै अगाडि गर्दै मेरो सामु उभिन थाले । मेरो संस्मरणको पुस्तकका पाना फरर उघ्रिन थाले ।
न्यानो दिन सकिएर घाम पहेलिन थालेका थिए । पल्लाघरका ठूलाबा, बा अनि म ताङ्खुबा जाँदै थियौँ । दिनभरि हिँड्नुपर्ने भएकाले बाले अनि आमाले रोक्न खोज्दाखोज्दै म बाका पछि लागेँ । ताङ्खुबा के हो किन जाने भन्दा पनि बा घरमा नहुने भएपछि बा जहाँ जानुहुन्छ त्यतै जाने भनेर म पछि लागेकी हुनुपर्छ । मामाकी छोरीको बिहेका लागि बा ताङ्खुबा जानुभएको भनेर थाहा पाउँदा म बिहेघरमा नै पुगिसकेकी थिएँ । म पाँच वर्षभन्दा अलिक ठूली हुनुपर्छ । सायद छ र सातको बीचमा थिएँ । उकालो बाटो सकिएपछि बाटामाथि पाखामा रातै पाकेका घँघौरू टिप्न म बाटाबाट एक्लै अलिकति उक्लिएँ । बा हडबडाएर मतिर आउनुभयो । दुईचार जना ढाक्रेलाई समेत उछिनेर म अलिक टाढा नै पुगेँछु । “नानी ऽऽऽ” हडबडाएको बाको अनुहार मलाई मन प¥यो । मेरो छेउमा आइपुग्दा बाको अनुहार रिसाएको जस्तो पनि देखियो । बाको सेतो कमेजको फेर समातेर हातमा घँघौरू मुठी पारेर म बासँगै बाटामा ओर्लिएँ । घँघौरू नबोकेको देव्रे हातले समाएका बाका न्याना हात सबैभन्दा पहिले मेरो स्मृतिमा भौतिक रुपले अनुभव भएको बा हुनुहुन्छ ।
बा र म तल ओर्लिंदा बाटामा धूलो उडेको थियो । धेरै बेर उकालो लागेपछि बाटो ओरालिएको थियो । पाखाभरि नीला, सेता र पहेँला भुइँफूलहरू थिए । ठूला ठूला रूख भएको जङ्गलजस्तै ती पाखा पनि वनफूलको जङ्गल थिए । टाढा कोइली हो कि ढुकुर हो कराइरहेको पनि सुनिन्थ्यो । घँघौरूको गुलियो गुलियो अनि फिक्का लाग्ने स्वाद जिब्रामा आलै थियो । बाटाको छेउछेउका पोथ्राभरि पनि थरीथरीका फूल फुलेका थिए । जङ्गली गुलाबहरू पनि जताततै थिए । फागुनको महिना हुनुपर्छ । अरु जातका चराहरूको आवाज पनि कानमा गुन्जिरहेको थियो । फूलको बास्ना बाटासम्म छरिएको थियो । पर पोथ्राबाट एउटा फूल टिपेर ल्याई बाले मेरो लामो कपालमा सिउरिदिनुभयो । त्यो फूल नीलो थियो । चिम्टी नभएकाले बाले बल गरी गरी चुल्ठामा घुसारिदिनुभएको थियो । फूल भुइँमा झ¥यो । कपालको अर्को छेउमा भएको क्लिप निकालेर बाले फूल अड्काइदिनुभयो ।
“नानी यता हेर् त !” बाले मलाई आफूतिर फर्काउनुभयो । बाको अनुहार उज्यालो भयो । त्यतिबेला मलाई पनि ऐना हेर्न मन लागेको थियो ।
“नानी पनि नानी नै रहिछन्” हामी हिँडेकै बाटो हिँड्ने एक अपरिचित महिलाले भनेकी थिइन् । त्यसमाथि टाउकामा फूल कुरै गर्नु नपर्ने ।” उनले राता बुट्टा भएको कालो सारी अनि मखमलको रातो चौबन्दी चोलो र पहेँलो पटुका बाँधेको थियो । उनको नाकमा झुन्डिएको बुलाकी उनले बोल्दा पनि हल्लिएको थियो । बा मुसुक्क हाँस्नुभयो । मैले त्यति लामो बाटो हिँडेको त्यो पहिलोपटक थियो । फलाँटे जाँदा जस्तो हामीलाई डोकामा बोक्ने तुलसी आमै या जेठा राई कोही पनि थिएनन् । रिल काटिएको सिनेमाजस्तै त्यो यात्रा यसपछि सम्झनामा यसै चँुडिन्छ ।
पछिको सम्झनामा बा त्यसभन्दा प्रस्ट आउनुभयो ।
मैले सम्झिनुभन्दा अगाडि मैले सुन्ने गरेको बा पनि मेरो संस्मरणमा आउन थाल्नुभयो । बनारसबाट आमालाई पठाउने चिठी मेरै नाममा सम्बोधन गरिएका हुन्थे भनेर आमाले भन्नुहुन्थ्यो । कतिवटा चिठी कवितामा समेत लेख्नुभएको हुन्थ्यो अरे । मेरै नाममा ।
आमाले सुनाएको अर्को कथाअनुसार म डेढ वर्षकी थिएँ अरे । बाले मलाई पहिलो अनि अन्तिमपटक एक थप्पड पिट्नुभएको थियो । बाका हातहरु पिटाइ बोकेर त्यसपछि कहिल्यै मेरो शरीरसम्म आइपुगेनन् ।
फागुनको घमाइलो बिहान बाहिर गुन्द्रीमा बसेर बा एउटा पुस्तक पढ्दै हुनुहुँदो रहेछ । गोठको छेउमा ओछ्याएको गुन्द्री नजिकै दुईवटा बाच्छा पनि बाँधेको थियो अरे । गाई चराउन लगेकाले बाच्छामात्रै घाम तापून् भनेर गोठको छेउमा थिए अरे ।
पढ्दै गरेको पुस्तक मेरो छेउमा छोडेर बा केही छिनका लागि भित्र जानुभएछ । फर्केर बाहिर आउँदा किताबको एउटा पाना गायब थियो । छेउमा म खेलिरहेकी थिएँ । बा एकैछिनका लागिमात्र भित्र जानुभएको थियो । मैले किताबको पाना च्यातेको विश्वास गर्न बाध्य बाका लागि एकछिनलाई किताब मभन्दा महङ्खवपूर्ण भएको हुनुपर्छ । बाले मलाई गालामा एक थप्पड दिनुभएछ । म त्यो केही सम्झिन्नँ । पछि किताबको पाना बाच्छाले च्यातेको थाहा भएपछि बा धेरै दुःखी हुनुभएछ । माधव शमशेर जबराको दरबारबाट केही दिनका लागि पढ्न भनेर ल्याएको किताब भएका कारण बा आत्तिनु अस्वाभाविक पनि भएन । बाले त्यस घटनाको खुब पश्चात्ताप गर्नुभयो भनेर आमाले पछि धेरैपटक भन्नुहुन्थ्यो । बाले त कहिल्यै त्यस घटनाको उल्लेख नै गर्नुभएन ।
बनारसको पढाइ सकिनुअगाडि बाले बनारस आउने–जाने गरिरहनुपर्ने भएकाले हामी कहिले कहिले आतमारामा बसे पनि धेरैजसो मावल (फलाँटे) मा नै बस्ने गथ्र्यौं । बनारसको पढाइ सकेर फर्किएपछि बा धनकुटामा तीन ठाउँमा पढाउन थाल्नुभयो । कन्या स्कुल, केटाहरूलेमात्र पढ्ने ब्वाइज स्कुल अनि धनकुटा डिग्री कलेज । ती तीनवटै शिक्षणसंस्थाहरू आतमाराको हाम्रो घरबाट निकै टाढा पर्थे । ती तीनै ठाउँमा जान सजिलाका लागि आतमारा छोडी हामी सबैलाई लिएर बा बजारमा सर्नुभयो । सिरान बजारमा बस्ने गरेका दुइटा डेराको त मलाई त्यति सम्झना छैन । कहिले कहिले सपना र विपनाको झिनो रेखा वरिपरि ती डेराहरू मानसपटलमा उत्रिए पनि तुवाँलाले छोपिएको गाउँजस्तोमात्र छ ।
खै के कारणले हो सिरान बजारबाट हामी बीच बजारमा स¥यौं । भीमसेन स्थानमुनि बीच बजारको डेरामा बसेको भने निकै नै सम्झना छ । म अलिक ठूली (५–६ वर्षकी) हुनुपर्छ । हजुरआमा र काकाहरू आतमारा नै बस्नुभयो । कान्छा काका विराटनगरमा पढ्न जानुभएको थियो । आमाबा अनि हामी चारजना छोराछोरी बजारमा स¥यौँ । दाजु, सानुबाबु, भाइ अनि ममात्र थियौँ । त्यहाँ सरेको दुई वर्षपछि त्यही डेरामा बहिनी जन्मिई । आतमाराबाट तीन तीन ठाउँमा पढाउनका लागि बजार आउन गाह्रो हुनु सर्नुको प्रमुख कारण थियो । हजुरआमा काकाहरू हामीसँग नबसे पनि बाले नै उहाँहरूको पनि हेरविचार गर्नुहुन्थ्यो । बा नै सबैभन्दा जेठो । सबै जिम्मेवारी बाकै थियो । बनारसबाट छुट्टीमा बा घर आएर फर्किएको एक महिना पनि नपुगी हजुरबा स्वर्गे हुनुभएको थियो । बा सत्रवर्ष पनि पुग्नुभएको थिएन अरे । सत्र वर्षका वा अनि पन्ध्र वर्षकी आमाको बिहे हजुरबाको वर्षदिनको काम सकिएपछि तुरून्तैै भएको थियो अरे । हजुरआमा (आमै) बेला बेला हामी बसेका ठाउँमा आउनुहुन्थ्यो अनि घरलाई के चाहिन्छ बाले बन्दोवस्त गरिदिनुहुन्थ्यो ।
बीच बजारमा बसेको दुईवर्षपछि बहिनी जन्मिएको सम्झना त्यति धेरै छैन तर त्यहाँको एउटा घटना भर्खर हेरेको सिनेमाजस्तै मेरो सम्झनामा स्पष्ट छ । अगाडिपछाडिको कथा बिर्सिएर एउटा घटनामात्र याद भएको सिनेमाजस्तै ।
काठमाडौंमा तत्कालीन भारतीय राजदूतकी श्रीमतीले बाका कविताहरू असाध्य मन पराउँथिन् अरे । २०१७ सालमा तिनै हिन्दुस्तानी राजदूत र उनकी पत्नीले बालाई कविता भन्न काठमाडौंमा निमन्त्रणा गरेका थिए अरे । भारतीय गणतन्त्र दिवस या त्यस्तै खै केको उपलक्ष्यमा हो कवितावाचनकै लागि बालाई दूतावासमा बोलाएको रहेछ । त्यसैका लागि बा काठमाडौं जानुभएको थियो । बाले घर छोड्दा भाइ, बहिनी र म बिरामी भएर ठीक भइसकेका थियौँ । सानुबाबुलाई केही भएको थिएन । दाजुलाई पनि केही भएको थिएन । बा गएको भोलिपल्टदेखि बिरामी भएको भाइ (सानुबाबु) दुईदिनमा नै सिकिस्त भयो । सानुबाबु मभन्दा बाह्र्र महिनामात्र कान्छो थियो । मेरो अनुमानमा ट्रंककलबाट आमाले बालाई खबर पठाउनुभयो । वास्तवमा ट्रंककल गर्न को गयो मलाई थाहा भएन । राजदूतले काठमाडौंबाट नै धनकुटामा भएको भारतीय डाक्टरलाई खबर गरेर सानुबाबुलाई राम्रोसँग उपचार गर्नू भन्ने आदेश दिएका थिए अरे । यसपछिको घटनाचाहिँ म आफै सम्झिन्छु ।
भारतीय अस्पतालबाट भाइलाई औषधि गर्न कम्पाउन्डर हाम्रो घरमा आएका थिए । उनको लुगाको रङ सेतो हो कि फिका नीलोजस्तो लाग्छ । हामी अर्को कोठामा थियौँ । जागा नै भएकाले ढोकाको प्वालबाट मैले चिहाएँ । निकै अघि नै निदाउनुपर्ने भए पनि मचाहिँ निदाएकी थिइनँ । उनी घरमा पस्ता घरमा भाइ सुताएको कोठामा बालेको लालटिन मधुरो पारिएको थियो । अर्को कोठामा बलेको कुपी (टुकी)को उज्यालो पनि मधुरो नै थियो । कम्पाउन्डर हाम्रो घरमा पस्ता बाहिर निकै अँध्यारो भएको हुनुपर्छ । भाइ भएको कोठाको ढोकाछेउमा गएर मैले बिस्तारै चिहाएँ । कम्पाउन्डरले भाइको ढाडमा हो कि तिघ्रामा सुई लगाइदिए । भाइ पछाडि फर्किएर सुतेको थियो । आमा छेउमा हुनुहुन्थ्यो ।
सुई दिएको केही छिनमा नै सानुबाबुलाई झन्् साह्रो भयो अरे । त्यतिबेला आमाको अनुहार अँध्यारो भएको थियो । एकैछिनमा भाइ चट्पटाउनै छोड्यो । बत्ती उज्यालो भयो । घरपटि साहुसाहुनीहरू पनि आउनुभयो । म चुपचाप ओछ्यानमा गएँ । मेरा खुट्टा कामिरहेका थिए । केही नबुझे पनि त्यसै त्यसै रून मन लाग्यो । दाजु र भाइ निदाइसकेका थिए । बहिनी आमासँगै थिई । हामी सुतेको अर्को कोठाबाट नै आमाको रूवाइ सुनिएको थियो । कम्पाउन्डर आइसकेपछि या त्यसअघि नै भाइले सास फेर्न छोडेको थियो मलाई थाहा भएन । कम्पाउन्डर निस्केको केही छिनमा आमा चिच्याएर रूनुभएको थियो । कम्पाउन्डरले त निको हुने सुई दिएको थियो होला । के भयो मलाई कहिल्यै कसैले भनेन । राजदूतले काठमाडौंबाट नै ती कम्पाउन्डरलाई फोन गरेर सानुबाबुलाई निको नपारेकामा गाली गरे अरे भनेर पछि बाले कुरा गर्नुहुन्थ्यो ।
भाइ अब कहिल्यै उठ्तैन अरे । ऊ देउताका घरमा गयो भनेर घरपटी साहुनीले मलाई भन्नुभयो । बजारमा भएको त्यो डेरा सम्झाउने अनि त्यो डेरा सम्झिन मन नलाग्ने आवाज । त्यो आवाज मसँग सधैं रहिरह्यो ।
काठमाडौं पुगेको पर्सीपल्टै बा घर फर्किनुप¥यो । बा फर्किएको दिन काकाहरू, हजुरआमा अनि अरु पनि मान्छे बजारमा रहेको हाम्रो डेरामा थिए ।
घरमा पस्नेबित्तिकै कसैसँग नबोली सानुबाबु ! भन्दै खाटमा लम्पसार परेर बा रून थाल्नुभयो । हामी भएको कोठामा पनि बा आउनुभएन । सुत्ने कोठामा पसेर ओछ्यानमा लड्नुभयो । ”मेरो बाबु !” बाले यसो भनेको बाहिरैबाट सुनिन्थ्यो । बा सानीबहिनीजस्तै रोएको देखेपछि मलाई पनि रून आयो । संसारमा सबैभन्दा बलियो र कसैले केही गर्न नसक्ने बाको सट्टा संवेदनशील अनि दुःखमा रूने बा देखेर मलाई एकातिर नरमाइलो लाग्यो भने अर्कातिर ढुक्क पनि । बा पनि अरु सामान्य मान्छेजस्तै हुनुहुँदो रहेछ भनेर चाहिँ मलाई ढुक्क लागेको होला । बालाई त्यसरी दुःखी देख्ता मलाई बा पनि आफूजस्तै सानु लाग्यो होला । भाइको यसप्रकारको आकस्मिक शोकले बालाई धेरै नराम्रो असर परेको हुनुपर्छ । त्यही भएर होला एकवर्ष पनि नपुगी बजार छोडेर कचिडेमा हालको घर किनेर सर्ने निधो गर्नुभएको । हामी कचिडे स¥यौँ । त्यसको एघार महिनापछि अर्को भाइ जन्मियो तर पनि सानुबाबुलाई हामीले कहिल्यै बिर्सेनौँ । वाआमाले त झन् बिर्सिने सम्भावनासमेत थिएन । आमाको जति दह्रो मन पनि बाको थिएन । यस्ता घटनाहरु बासँग धेरै समयसम्म पीडा बनेर रहिरहन्थे ।
विगत मेरा सामु दृश्य दृश्य बनेर तैरिन्छ ।
दशैं सकिएर तिहार लाग्न आँटेको चिसो चिसो घाम लागेको बिहान म तल आँगनमा खेल्दै थिएँ । हामी कचिडे सरेको एकवर्ष पुगेको थियो होला । बा कलेजबाट छिटो घर फर्किनुभयो । बा रूँदै घरभित्र पस्नुभयो । बालाई कसैले पिटेछन् होला जस्तो लाग्यो । तल कान्छा दाइकहाँ गएर मैले त्यसै भनेँ । “घरमा चोर आएर बालाई पिट्यो अनि बा रूनुभयो ।“ मैले अरूकहाँ गएर पनि त्यसै भने । सबैजना भेला हुनुभयो । चोर आएर बालाई पिटेको होइन रहेछ । विराटनगरमा जेटिए तालिम लिँदै गर्नुभएका सानाकाका (कान्छाकाका) अचानक स्वर्गे हुनुभएको रहेछ । आमाले पछि भन्नुभयो । काकालाई एकमहिनाअघि दशैंमा आतमारामा भेटेको सम्झिएँ । पल्लाघर ठूलाबाका घरमा टीका लगाउन गएका बेला काकाले मलाई त्यहीँ टीका लगाइदिनुभएको थियो । अहिलेको तिहार घरभित्र पनि पस्न नपाउँदै काका स्वर्गे हुनुभएछ । काकालाई फेरि देख्न पाइँदैन भन्ने तथ्य मैले पनि बुझेपछि मलाई काकाको सारै माया लाग्यो ।
काकाको आकस्मिक निधनले बालाई एकपटक फेरि ठूलो आघात प¥यो । काकाको निधन आत्महत्याका कारणले भएको अरे । त्यसबेला काकाहरूका अभिभावक नै बा हुनुभएकाले काकाको वियोगको असर बामा धेरै गम्भीर भयो । हामीले समेत यो अनुमान गर्न सक्यौँ । केही दिन बा बिरामी पनि हुनुभयो । काकालाई बचाउन सक्थेँ होला भन्ने स्वाभाविक ग्लानि काकाको वियोगभन्दा धारिलो भएर बामाथि वज्रेजस्तो लाग्थ्यो । बा धेरै दिनसम्म दुःखी हुनुभयो । पल्लाघरका, गोद्यालका ठूलाबाहरूले अनि अरु कसैले पनि काकाको कुरा निकाल्दा बा चुप लाग्नुहुन्थ्यो । कान्छाकाकाको अनि उहाँको मृत्युको कुरा घरमा पछि कसैले कसैसँग कहिल्यै गरेको थाहा भएन । “अरु दुईजनाले पढ्न मन गरेनन्, ऊ एकजना आइए पढिसकेको र जेटिएको ट्रेनिङ पनि गर्दै गरेको अलिक केही गर्ला भन्ने ठानेको थिएँ” यति भनेर बा चुप लाग्नुहुन्थ्यो ।
काका स्वर्गे हुँदा सानुभाइ जन्मिएको एकमहिना भएको थियो । सानुभाइलाई आमै (हजुरआमा)ले कान्छो नै जन्मिएको हो भन्नुहुन्थ्यो । “काटीकुटी कान्छोजस्तै छ” उहाँ भन्नुहुन्थ्यो । सानुभाइ जन्मिइसकेपछि काका दिवङ्गत हुनुभए पनि आमैलाई काका जन्मिएको जस्तो लागेछ । काकाको नाम लेखनाथ भनेर पनि मैले त धेरैपछि मात्र थाहा पाएकी हुँ ।
दिनहरू राम्रैसँग बित्तै गए । बा अब कलेजमा मात्र पढाउनुहुन्थ्यो । कहिले कहिले मात्र स्कुलहरूमा नेपाली क्लास लिनुहुन्थ्यो । कलेज जाने अनि बजारमा आयोजित हरेक सम्मेलनमा र गोष्ठीहरूमा भाषण गर्ने, कवितावाचन गर्ने । कविता, निबन्ध प्रतियोगिताको मूल्याङ्कन गर्ने । घरमा हाम्रो वरिपरि हुने । मेरो सम्झनामा बा यति नै हुनुभयो । काठमाडौंबाट धनकुटा आउने नाम चलेका व्यक्तिहरू सबै नै हाम्रो घरमा बालाई भेट्न आउने गर्थे । धनकुटामा हुने सबै कार्यक्रमको मञ्चमा बालाई सधैं देख्ता सबैका बा मञ्चमा बस्छन् जस्तो लाग्थ्यो । बजार बिर्सिने गरी कचिडेमा हामी रत्तियौँ ।
अतीतको किताबका परिच्छेदहरू टुक्रिँदै जान्छन् । अस्पतालबाट घर फर्किने समयसम्म पनि म बासँग टाढिन चाहान्नँ ।
सातआठ वर्षको उमेरदेखि नै बासँग म धेरै ठाउँमा गइसकेकी थिएँ ताङखुबा, फलाँटे, विराटनगर । विराटनगर गएको सन्दर्भ अझ छर्लङ्ङ सम्झिन्छु । विक्रम संवत् २०२० सालमा हुनुपर्छ बासँग म विराटनगर गएँ । विराटनगरमा त्यसैबेला राजा महेन्द्रको सवारी हुने समय रहेछ । राजाको सवारी हेर्न वा कुनै अरु कामले बा विराटनगर जानुभयो मलाई सम्झना छैन । बासँग म पनि विराटनगर गएँ । हामी विराटनगर मामा (कृष्णप्रसाद बस्ती) का घरमा बसेका थियौँ । राजाको सवारी हुनुभन्दा निकै अगाडि पुग्दा पनि विराटनगरको चौरमा त्यसबेला देखे जति मान्छे मैले एकै ठाउँमा कहिल्यै देखेकी थिइनँ । भीडले किचिन्छ भनेर बाले एकपटक त मलाई काँधमा पनि बोक्नुभयो । खै के महिना थियो कुन्नि धनकुटाभन्दा त्यहाँ धेरै गर्मी थियो । राजा हेर्ने रहरले पूरै विराटनगर नै त्यो चौरमा भेला भएजस्तो लाग्थ्यो । पर सिँगारिएको अग्लो मञ्चमा राजा बस्ने अरे । हामी त्यसको धेरै धेरै पछाडि हुलमा आधा थिचिएर उभिएका थियौँ ।
“नानी यता हेर् त, म तँलाई कोसँग भेट गराउँछु ?” छक्क परेर म बाको मुखमा हेरेको हे¥यै भएँ । विराटनगरको गर्मीमा धूलो पनि त्यत्तिकै उडेको थियो । छेउका मान्छेको पसिना पनि गनाइरहेको थियो । बिँडी र चुरोटको गन्धले नाक नै पोलिरहेको थियो भने अलि अलि देखिने जमिनमा पनि राता टाटाहरू थिए । मान्छेहरूले पान चपाएर थुकेको अरे । राता बुट्टा मिलाएर चौर सिँगारेको जस्तै देखिन्थ्यो ।
“ऊ उहाँ पुष्प नेपालीजी” बाले भन्नुभयो । रेडियोभित्रबाट गाउने सिङ्गोे मान्छे पहिलोपटक आफ्नै अगाडि देखेँ । यी मान्छेले गाएको गीत हामीले कसरी रेडियोबाट सुन्छौँ होला अहिले झन् आश्चर्य लाग्यो । यत्ति ठूलो मान्छे त्यो सानु फिलिप्स रेडियोमा कसरी अट्टाए होलान् जस्तो पनि लाग्यो ।
रेडियो फर्काई फर्काई हेर्ने गर्थें मान्छे कहाँ बसेको छ भनेर । रेडियोभित्र गाउने पुष्प नेपाली सग्लो मान्छे मेरा अगाडि थिए । खैरो लुगा लगाएका थिए उनले कमेज हो कि सर्ट थाहा छैन । हाँस्तै उनले मेरो कपालमा हात राखे । म अलिक झस्किएँ । मैले नमस्ते गरेँ ।
“नानीलाई मेरो गीत मनपर्छ अरे हो ?”
“हो, मैले तपाईं र रुवी जोशीका थुप्रै गीत सुनेको छु ।” अंकल भन्ने होस पनि मलाई भएनछ ।
“मैले गाएका गीत के हुन् नानीले सम्झिएकी छौ ?” मायालु थियो उनको आवाज ।
“आज किन साथी मलाई भन्ने गीत सबैभन्दा राम्रो लाग्छ” मेरो बोली बलैले बाहिरियो ।
“सितलुमाथि निऽऽऽ” अनि अरु थुप्रै । मैले भनेँ । हुन त यो गीतमा बच्चुकैलासको स्वर पनि मिसिएको थियो ।
“नानीलाई गीत गाउन पनि आउँछ ?”
“आउँछ” भनेर आज किन साथी मलाई भन्ने गीत एक लाइन गाएँ पनि । भीड बढिरहेको थियो । राजा आउने बेला नजिकै थियो होला ।
“नानी यता हेर त उहाँ को ?” बाले अर्कातिर देखाएर सोध्नुभयो । मैले त्यता हेरेँ ।
“उहाँ धर्मराज थापाज्यू” बाले नै जवाफ पनि दिनुभयो ।
“मेरी छोरी तपाईंको गीत पनि खुब मनपराउँछे” बाले फेरि भन्नुभयो । उहाँसँग बोल्न अलिक डर लाग्यो ।
“नानीले मेरो कुन गीत सुनेकी छौ ?” गीत गाएकै जस्तो स्वरमा धर्मराज थापाले सोध्नुभयो ।
“हरियो डाँडामाथि” मैले तुरून्तैै जवाफ दिएँ । “स्याबास नानी” मेरो काँधमा धाप मार्दै उहाँले भन्नुभयो । बा मुसुमुसु हाँस्नुभयो ।
रेडियोबाट स्वरमात्रै सुन्ने गरेका मान्छेलाई आफ्नो अगाडि सिङ्गै उभिएर आफूसँग कुरा पनि गरेको दृश्य मेरा लागि मन्दिरका मूर्ति सजीव भएभन्दा कम भएन । हेर्दाहेर्दै उहाँहरू भीडमा हराउनुभयो ।
धनकुटाको फूलपाती र जात्रामा देखिने भीडमा सयौँ गुना थप्ता देखिने विराटनगरको भीडले तर्सिएर होला बाले चाँडै फर्कौं भन्नुभयो । राजाको सवारी भइसक्यो कि हुन बाँकी छ भन्ने पनि थाहा भएन ।
अर्को दिन बाले रेल देखाउन जोगवनी लानुभयो । “मेरी छोरी” सगौरव बाले मान्छेसँग मलाई चिनाउनुहुन्थ्यो । विराटनगरको हिमालय टाकिज हो कि कुन सिनेमा हलमा बाले मलाई सिनेमा हेर्न लिएर जानुभयो । बालाई मनपर्ने नायिका नरगिस र राजकपुरको “चोरीचोरी” मैले सबैभन्दा पहिले हेरेको हिन्दी सिनेमा थियो । बाले बेला बेलामा कथा बताइदिनुभए पनि गीतमात्रै मलाई याद छ । त्यस यादले बा अहिले पनि मेरै अगाडि भएजस्तै लाग्छ ।
बालाई पहिलेदेखि नै अमलपित्तको रोग थियो अरे । त्यति स्वस्थ त बा कहिल्यै हुनुहुन्नथ्यो तर ओछ्यानै पर्नुभएको थिएन । बालाई नपच्ने थुप्रै खानेकुराहरू थिए । विक्रम संवत् २०२१ सालको जेठदेखि बा त्यही अमलपित्तका कारणले ओछ्यान पर्नुभयो । खाएको केही पनि पेटमा नअडिने । सबै उल्टी हुन्थ्यो । पेट असाध्य पोल्ने गथ्र्यो अरे । रोग यही थियो । बा अब कतै जान नसक्ने गरी ओछ्यानमा थला पर्नुभयो । बिस्तारै कलेज र स्कुल गएर पढाउन पनि नसक्ने हुनुभयो । सारा घरगृहस्थीको घर जगैबाट हल्लिन थाल्यो भुइँचालो आएजस्तै । आम्दानीको एउटै स्रोत खडेरीको आहाल भयो ।
म त्यस्तै दश–एघार वर्षकी मात्र थिएँ । खै के कारणले भर्खरमात्र स्कुल सुरू गरेकी थिएँ । कुनैपनि कक्षा नपढी एकैचोटि पाँच कक्षाबाट मैले स्कुल सुरू गरेँ । साना साना भाइबहिनीको हेरचाह गर्न र आमालाई सघाउन त्यसअघि म स्कुल नगएकी हुनुपर्छ । मैले आमाबालाई कहिल्यै सोधिनँ । बा बिरामी भएपछि आमाले सधैं बाको ध्यान दिनुपर्ने भएकाले तीनजना भाइबहिनीको जिम्मा पदेन मेरो काँधमा आयो । अलि अलि गर्दै स्कुल छोडेर घरै बस्नुपर्ने भयो । एकवर्ष पनि भएको थिएन म पाँच कक्षामा स्कुल जान थालेको । भाइबहिनीमात्र होइन मैले अलि अलि घर पनि हेर्नुप¥यो । फलाँटेबाट हजुरआमा हामीसँग बस्न आउनुभएको भए पनि उहाँको पुरानो दमको रोग पनि उहाँसँगै आयो । हजुरआमा सधैं खोकीमात्र रहने भएपछि हजुरआमालाई पनि मैले नै सघाउनुपथ्र्यो ।
बालाई धनकुटाको अस्पतालमा नै औषधि गर्न एकमहिनाका लागि हुलाक टोलमा डेरा लिएर राखेको थियो । बासँग आमा त्यहीँ बस्नुभयो । त्यहाँ पनि बाको स्वास्थ्यमा केही सुधार नभएपछि धरानको अस्पतालमा राखेको थियो । आमा अब धरानमा रहनुप¥यो । त्यसपछि फेरि विराटनगरको अस्पतालमा भर्ना गर्नुप¥यो । कुनै अस्पतालका डाक्टरको उपचारबाट पनि बाको रोग कम भएन । उपचार हुन नसक्ने भनेर आफन्तहरूले बालाई चतरा लैजाने सल्लाह दिनुभयो । चतरा लानु भनेको माया मार्नु थियो । आमाले यो स्वीकार गर्नुभएन ।
बालाई फर्काएर घरै ल्याइयो । सुकेर बाको शरीर हाड र छालामात्रै थियो । जाडो महिनाको टाँकीको रूखजस्तै । खाएको केही पनि नअडिने । पेट पोलिरहने । पहिलाभन्दा बढी थियो । घरमा भएको अलि अलि जगेडा पैसा पनि बाको औषधि गर्दा अनि घरखर्चमा सकियो । पारिपात्लेमा भएको घडेरी पनि बेच्नुप¥यो । आउने बाटो बन्द भएपछि बिहानबेलुका खर्च चलाउन पनि गाह्रो भयो । एकवर्ष दाजु पनि स्कुल जान पाउनुभएन ।
म घर बसेको भाइबहिनीको हेरचाह गर्न अनि दाजु घर बसेको चाहिँ स्कुलमा तिर्ने पैसा नभएर । दाजुले पनि स्कुल पाँचै कक्षाबाट आरम्भ गरेको भए पनि दाजु स्कुल जान थालेको मेरो भन्दा धेरै भएको थियो । दाजु सात कक्षामा हुनुहुन्थ्यो ।
एक वर्षपछि हामी स्कुल त गयौँ तर शुल्क तिर्नका लागि निकै गाह्रो थियो । अझै बा बिरामी नै हुनुहुन्थ्यो । बा कलेज नगएपछि हाम्रो आर्थिक अवस्था उस्तै भयो । आमाले चौबीसै घन्टा बाको सिरानमा बस्नुपर्ने । हामीप्रति ध्यान दिने समयसमेत थिएन । त्यसबेला हामीले स्कुलमा अरुले भन्दा थोरै शुल्क तिर्नुपथ्र्यो । पछि त तिर्नै नपर्ने पनि भयो । हाम्रो घरमा पैसा थोरै भएको कुरा स्कुलमा पनि थाहा भएछ जस्तो लाग्यो । दुईवटा हातमा अटाउने मेरो उमेर रातारात बढेर आमाकै जति भएजस्तो लाग्यो । घरधन्दा र भाइबहिनीको जिम्मेवारीमा बिस्तारै आमा हुनुपरेको मलाई नै थाहा भएन । शरीरले जे भने पनि मनले भने म आमाकै प्रतिनिधि या प्रतिस्थापक भइसकेको पनि याद भएन ।
मैले केही गरेँ या केही गरिनँ भने बालाई निको हुने भए म जे पनि गर्थें । मेरो मनले सधैं भन्ने गथ्र्यो । आमालाई पनि त्यस्तै लागेको हुनुपर्छ । बिमारको पीडाले धेरैजसो समय बा ऐ®या आत्था भन्दै घरको सबै कोठामा अनि आँगनमा पनि सुनिने गरी चिच्याउनुहुन्थ्यो । हामी सबैले बिस्तारै बोल्नुपथ्र्यो । बाको त्यस्तो स्थिति देख्ता हामी साह्रो बोल्नै पनि सक्तैनथ्यौँ । हेर्न आउने मान्छेको सधैं भीड लाग्थ्यो । बाले कतिपयलाई भेट नदिए पनि, कसैलाई यसै हप्काएर फर्काइदिए पनि बालाई हेर्न आउने मान्छेको घुइँचो पातलो भएन । बालाई हेर्न काठमाडौंबाट समेत मान्छे आउँथे । तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाजी पनि एकदुईपटक बालाई हेर्न आउनुभएको थियो । औषधि गर्न भारत जाने भए म हेलिकप्टर पठाइदिन्छु भनेर उहाँले भन्दा बा मान्नुभएन अरे । पछि आमाले भन्नुभएको । “देवकोटालाई जस्तै मूर्खहरूले मलाई राँची लान ठीक पारेका थिए, म के जान्थेँ” बाले पछि अरुसँग कुरा गरेको सुनेको ।
बालाई केही ठीक भयो भनेर हामीले स्कुल सुरू गरेको भए पनि बा कलेज जान थाल्नुभएको थिएन । बुइँगलमा घोप्टेको दाहिनेतिर एउटा ओछ्यान थियो । बा त्यही ओछ्यानमा सुत्नुहुन्थ्यो । थाहा छैन बा किन तल सुत्नेकोठामा नसुत्नुभएको । बुइँगलबाट ऐ®या भनेर बा कराएको तल वरपीपल डाँडासम्म पनि सुनिन्थ्यो । स्कुलबाट घर फर्किंदा बाले कराएको नसुनिए हुन्थ्यो, बा शान्तिपूर्वक सुतिरहनुभएको भए हुन्थ्यो जस्तो लाग्थ्यो तर बा धेरैजसो चिच्याइरहनुभएको हुन्थ्यो । झर्को मानेर । ऐ®या पनि धेरैपटक भन्नुहुन्थ्यो । बा जतिपटक चिच्याउनुहुन्थ्यो कसैले दुख्ने गरी मलाई नै पिटेजस्तै लाग्थ्यो । बाको रोगको चिन्ता, लथालिङ्ग घरव्यवहार र आमाको स्थिति सबै नै मेरो दिमागबाट कहिल्यै हटेनन् । “आमा कता गई, आमालाई बोलाएर ल्याओ न” आँखाबाट आमा ओझेल हुनै नपाई बाले आमालाई खोज्नुहुन्थ्यो, सानुभाइले भन्दा पनि बढी ।
बाको सेवामा आमालाई पूरै उपलब्ध गराउन शारीरिक रुपले घरका सबै काम मेरो जिम्मामा आए । घरका अरु काममा हजुरआमालाई सघाए पनि बाको रोग मेरो मनभित्र सधैं दुख्ने गथ्र्यो । रोगले पीडित बाको दर्द सिधै मेरो मुटुको माझमा पुग्थ्यो । मेरो कलिलो मस्तिष्कका लागि थाम्न सक्ने भन्दा गह्रुङ्गो भारी थियो यो । यो गह्रुङ्गो भारी मैले बोकिरहेँ । असहाय भएर बाले रोएको, चिच्याएको र टाउको ठोकेको देख्ता बालाई होइन त्यो सबै मलाई दुखे हुन्थ्यो जस्तो लाग्थ्यो ।
बा अझै बुइँगलमा बस्नुहुन्थ्यो । उहीँ सुत्नुहुन्थ्यो । तल नओर्लिएको दुईवर्ष जति भइसकेको थियो । आमाले बालाई उल्टी नहुने खाना मिहिनेत गरेर समय समयमा बुइँगलमा लगिदिनुहुन्थ्यो । रित्ता भाँडा सधैं रित्तिएको देखेर बाले खाना खानुभयो भनेर आमा ढुक्क हुनुहुन्थ्यो । खाना पु¥याउन गएको एक साँझ केही अनौठो गन्ध पत्ता लगाउँदा आमाले बुइँगलको एउटा कुनामा सडेको खानाले भुसको थुप्रो डल्ला परेको देख्नुभएछ । खाना खाएन भनेर आमालाई चिन्ता नहोस् भनी खाना खाएजस्तो गरेर बाले खाना फाल्ने गर्नुभएको रहेछ । यो थाहा पाएपछि आमालाई कस्तो भयो होला भन्ने कुरा म कल्पनामात्र गर्न सक्छु । आमालाई दुःख नहोस् भनेर बाले त्यसो गरे पनि बल्लबल्ल जोहो गरेको खाना फ्याँकेर बाले आमालाई खुसी पार्नुभएजस्तो मलाई लागेन । पछि यो कुरा गर्दा आमाका आँखा सधैं टल्पलाउने गर्थे । सानुभाइलाई नपुगे पनि आमाले बालाई भात र रोटीसँग सधैं एक गिलास दूध लगिदिनुहुन्थ्यो अरे । ”न बाच्छाको मुखमा न मान्छेको मुखमा” पछि आमाले भन्नुहुन्थ्यो । बाले त्यसो त आमाकै चिन्ता कम गर्न त्यसो गरेको हुनुपर्छ ।
यसैबेलादेखि मृत्यु अनि मरणको अवधारणाले बाको मस्तिष्कलाई अतिक्रमण गरेको थियो । आमा, दाजु, भाइ अनि बहिनीसँगै मैले पनि हरेक दिन बाको मृत्यु अनुभव गर्नुपथ्र्यो । “छिटो खाना खाइसक म मर्छु, खान भ्याउँदैनौ” दिनमा धेरैपटक बाले भन्नुहुन्थ्यो । हामी पाँचैजनालाई अलग अलग बोलाएर प्रत्येक दिनजस्तै बाले जीवनको शिक्षा दिने गर्नुहुन्थ्यो । आफ्नै तेह्रदिने काममा दान गर्ने सरसामानको लिस्ट जताततै लेखेको हुन्थ्यो । काँधीकाठ गर्ने कोही हुँदैनन् भनी हतारमा दाजुको व्रतबन्ध पनि गराउन लगाउनुभयो । “म बेलुकासम्म रहन्नँ, म भोलिसम्म रहन्नँ अनि म अर्को महिनासम्म हुन्नँ“ बाले भनेको सुन्दा सुन्दा हरेक दिन एकपटक हामी बालाई गुमाउँथ्यौँ । अर्को घन्टा, अर्को बिहान अनि अर्को महिना फेरि बा जिउँदो हुनुहुन्थ्यो । यही क्रम अरु एकडेढ वर्षसम्म चलिरह्यो । हरेक मृत्युपछि बाँच्नुभएको बा मेरा लागि अरु अमूल्य र अरु महङ्खवपूर्ण हुनुभयो । हरेक दिन हुने बाको त्यो मृत्युको अनुभव बाका लागि जस्तै हामी छोराछोरीका लागि पनि मार्मिक र साँचो थियो । यसरी हरेक दिन मर्दै भोलिपल्ट फेरि सास फेरिरहनुभएको बा मेरा लागि आफ्नै अङ्गजस्तै घनिष्ठ हुनुभयो ।
आमाको दिनप्रतिदिनको सेवा, बाको आफ्नै आत्मबल अनि हामी सबैको भाग्यले तीन वर्षपछि बा केही ठीक हुन थाल्नुभयो । खाएको अडिन थाल्यो । एकदिन बा बुइँगलबाट भान्सामा आफै ओर्लिनुभयो । दुईवटा भ¥याङ ओर्लिएर त्यसरी भान्सामा बालाई देख्न पाएको खुसी हामी सबैका लागि एउटा महङ्खवपूर्ण उत्सव भयो । त्यतिबेला घर परिवारप्रतिको आफ्नो शारीरिक र मानसिक जिम्मेवारीमा कमी आउने भयो भनेर मलाई चाहिँ बढी खुसी लागेको थियो ।
हामीले बालाई बिस्तारै फेरि सामान्य रूपमा पायौँ तर शारीरिक रूपमा मात्रै । मानसिक रुपले बा बेग्लै हुनुभएको थियो । अत्यन्त आध्यात्मिक । केही प्रति र कोही प्रति पनि मोह र आशक्ति थिएन । त्यागी सन्न्यासी । बाले त्यसो त रोग निको पार्न पनि कठीन आध्यात्मिक साधना नै गर्नुभएको थियो । दिनमा ३–४ घन्टा प्राणायाम, अध्ययन र पूजापाठमा बिताउनुहुन्थ्यो । गेरू वस्त्र लगाएर लामो दाह्री पालेर जुत्ता पनि नलगाई धार्मिक प्रवचन गर्दै बजार जानुहुन्थ्यो । घरगृहस्थी चटक्कै छोडिदिनुभयो । हामीले चाहेजस्तो बा नभए पनि सधैं थला परी ऐ®या भनेर रोइकराइ गर्ने बाभन्दा जोगी वा त्यागी बा सयौँ गुना मन परेको थियो । स्वास्थको दृष्टिले अब करिब सामान्य देखिन थालिसक्नुभएको बा कलेज गएर पढाउन पनि थालिदिए हाम्रो पारिवारिक स्थिति पहिलेजस्तै हुने थियो भनी हामी प्रार्थना गर्न लाग्यौँ ।
पढाउन छोडेको तीनवर्षपछि अनि रोगले छोडेको एकवर्षपछि २०२४ सालमा बा फेरि कलेज जान थाल्नुभयो । हामी धन्य भयौँ ।
बा बिरामी भएको अवस्थामा बा र मेरो सम्बन्ध बिरामी बा अनि आमालाई हरतरहबाट सघाउने छोरीका रूपमा मात्र सीमित भयो तर पनि घरमा आमापछि सबैभन्दा जिम्मेवार व्यक्तिका रूपमा बाले सधैं मलाई हेर्नुभयो । मप्रतिको बाको विश्वास आफैप्रतिको मेरो विश्वासजत्तिकै बलियो भयो ।
बालाई गीतमा खुबै चाख थियो । त्यसो त बालाई चाख नभएको र अरु धेरैको भन्दा बढी नै जानकारी नभएको कुनै विषय थियो जस्तो लाग्दैन तर पनि गीतमा बाको गहिरो लगाव हामीले अनुभव गरेका हौँ । हिन्दी या नेपाली गीत बजेपछि सबै गीतको गीतकार, सङ्गीतकार र गायकको नाम भनिदिनुहुन्थ्यो । हिन्दी गीत भए कुन सिनेमाको हो हामीलाई कथासमेत बताउनुहुन्थ्यो । कतिपय गीतहरू बा पनि सँगसँगै गुनगुनाउनुहुन्थ्यो । कुनै गीत पूरै गाउनुहुन्थ्यो । हार्मोनियम राम्रोसँग बजाउनुहुन्थ्यो । बहिनी, भाइहरू र दाजुको जस्तो गीत गाउन म त्यति जान्दिनँ । स्कुलमा कहिले कहिले बाहेक मैले कहिल्यै सार्वजनिक रूपमा गीत गाइनँ । चाख त स्वतः लाग्ने भइहाल्यो ।
बहिनीसँग बाले गीत, सिनेमा र सिनेमामा खेल्नेहरूको कुरा धेरै गर्नुहुन्थ्यो । बाले मलाई चाहिँ एक विद्वान् र बुज्रुक छोरीका रूपमा स्वीकार्नुभएको थियो । कतिपय विषयमा बाले मसँग सरसल्लाह गर्ने, आफ्नो विचार पोख्ने एवं मेरो रायसमेत माग्ने गर्नुहुन्थ्यो । आफ्नो अभिप्रायका विरूद्ध कहिल्यै जान नसक्ने आज्ञाकारी छोरीका रूपमा सायद बाले मलाई पत्याउनुभयो । मैले बुझेको सत्य । बा र आमालाई खुसी राख्नु मेरो जीवनको लक्ष्यले थाहै नपाई मेरो व्यक्तिगत लक्ष्यसँग आत्मसात्् गरिसकेको हुनुपर्छ । वास्तवमा बाले मलाई उचो स्वरले गाली गरेको पनि कुनै सम्झना छैन । बाले गाली गर्ने र पिट्ने केही नगर्नु भएकैले होला बाको अभिप्राय विपरीत कहिल्यै नजाने मेरो मौन प्रतिबद्धता भयो । आमाबाट थाहा पाएपछि नै बालाई मन पर्ने र नपर्ने केही नगरी बाले चाहेको बाटोमात्र हिँड्नु पनि आफै मेरो सङ्कल्प भएछ ।
दाल र भात पकाउन नपरे पनि भाइबहिनीको हेरविचार, घरको सरसफाइ, पानी ओसार्ने, भान्सामा परिआउने सबै काम गरेर आमालाई प्रसन्न पार्ने पनि मेरो प्रण भयो । कक्षामा सधैं प्रथम बनेर, कविता प्रतियोगिता, हाजिरीजवाफ प्रतियोगिता, वादविवादजस्ता बौद्धिक दौडमा विजयी बनी बाको स्याबासी बटुल्ने अर्को प्रण भएछ । बाले ओढाइदिनुभएको बुज्रुक एवं परिपक्कताको मुकुटको मर्यादामा गुटुमुटु भएर बौद्धिक शिखर उक्लिने दृढता पनि मेरो अघोषित सङ्कल्प भयो । यी दुई पखेटा टाँसेर जीवन उचाल्न खोज्दा कहिले कुन गह्रुङ्गो अनि कहिले कुन गह्रुङ्गो पनि हुन थाल्यो । यी दुई पखेटाको रसायन मिसिएर मेरो हस्तरेखा पनि कोरिएछ ।
प्रकृति र प्रविधिका सामान्यभन्दा सामान्य चमत्कारहरूमा जिज्ञासु बा मिठाइ, चकलेट र चाकाचुलीमामा पनि उस्तै रमाउने गर्नुहुन्थ्यो । एउटा गुलियो वचन अनि एक गिलास गुलियो चियाले दङ्ग बा कहिलेकाहीँ त वयस्क शरीरमा थुनिएको बालकजस्तो पनि लाग्थ्यो । कपासजस्तै सेतो धोती अनि कहिल्यै खुम्चिने मौका नपाएका सुरूवालमा बा धेरैजसो पवित्र तपस्वीजस्तो लाग्थ्यो ।
तनक्क नतन्काएको लुगाले बाको शरीर छोएको इतिहास नभएपछि फलामे रातो इस्त्रीमा आगाका कोइला हालेर तताउने काम प्रायः भाइहरूले गर्थे । पछि त इस्त्री लगाउने काम पनि भाइहरूले नै गरिदिन थाले । तेल नतातेको, मेथी नखरिएको, मसला नपुगेको अनि पानी नसुकेको तरकारी मुखमा परिनसकी बाको पारखी जिब्राले मूल्याङ्कन गरिसक्थ्यो । पुराना अचारका बट्टाले बार्दलीको आधा भाग ओगटेको भए पनि बाको थालको छेउमा धनियाँ र पोलेको आलुको ताजा अचारले नै प्राथमिकता पायो । रातो प्याज, गोलभेडा, कागती अनि दूध र दही बाको थाल वरिपरि कहिल्यै टुटेन । आफूलाई मनपर्ने केही केही तरकारी बा आफै पनि बनाउनुहुन्थ्यो । पकौडा, मिठाइ कहिलेकाँही त सेल पनि बाले पकाउनुहुन्थ्यो ।
लामो समयका लागि बा कहिल्यै परदेश गएको सम्झना छैन । परीक्षा दिन र त्यसको तयारी गर्न बनारस ओहोरदोहोर सायद हामीले सम्झिनुभन्दा अगाडिको नियमितता थियो । भारतीय राजदूतको निमन्त्रणामा बा काठमाडौं गएपछि सानुबाबु स्वर्गे भएर बीचैमा फर्किनुपरेपछि का कहिल्यै कतै नजानुहोस् जस्तो लाग्थ्यो । बा बाहिर जानुभयो भने घरमा फेरि त्यस्तै केही पर्छ होला जस्तो समेत लाग्न थालेको थियो । त्यसो त बा त्यसपछि त्यति बाहिरिनुभएन । बिरामी भएका बेला महिनौं अस्पतालमा बस्नुभएको मात्र हो । यस अर्थमा बा हामीलाई सधैं उपलब्ध हुनुभयो ।
हामी पाँचजना छोराछोरीमध्ये कसैका साथीहरू घरमा आए पनि बाले उनीहरूलाई आफ्नै साथीजस्तो व्यवहार गर्नुहुन्थ्यो । आफ्ना साथीसँग बा नै धेरै घुलमिल भएको त्यसो त सधैं राम्रो लाग्दैनथ्यो । उनीहरू हाम्रा साथी कि बाका साथी कहिले कहिले त साथीहरूप्रति पनि ईष्र्या उम्रिन्थ्यो । उनीहरूजस्तै सजिलै बासँग हाँस्ने उनीहरूले जस्तै ठट्टा गर्ने प्रलोभन कहिल्यै हटेन । हामी घरमा नभएको बेला हाम्रो घरमा आउने हाम्रा साथीहरूले बाको सत्कार र मित्रवत् व्यवहार पाउँथे । हामी नभए पनि बासँग नै भेट गर्न हाम्रा साथीहरू हाम्रो घरमा जान्थे । म अमेरिका आइसकेको कति पछिसम्म पनि मेरा साथीहरू हाम्रो घरमा जाने गर्थे । उनीहरूले त्यहाँ मेरो अभाव पनि अनुभव गर्नुपरेन ।
असाधारण स्मरण शक्ति र अद्वितीय ज्ञानको वरदानले आआफ्नो अनुभवअनुसार सबैले बालाई बेग्लाबेग्लै परिभाषित गरे पनि मेरो परिभाषामा बा एकजना सामान्य अनि पूर्णरुपले बामात्र हुनुहुन्थ्यो । घरको कुनैपनि कुनामा फोहोर भए बढारी हाल्ने, लिपपोत गर्नु नै परे पनि कसैको बाटो नहेरी गरिहाल्ने फुर्तिलो घरेलु र सहयोगी हुनुहुन्थ्यो । मिठाइ, खीर र पकौडा बनाएर दर थपिदिने बा सानु सानु हलुवाई हुनुहुन्थ्यो । ज्वरो आएको, टाउको दुःखेको, ढाड सड्किएको, चोटअलागेको, आगाले पोलेको जस्ता सानातिना उपचारका लागि बा सानो सानो डाक्टर हुनुहुन्थ्यो । मन्त्रसँग खरानी फुकेर टाउको दुखेको निको पार्नेदेखि अन्य घरेलु उपचार उपलब्ध गराइदिने वा कहिलेकाहीँ वैद्य हुनुहुन्थ्यो । धारामा हतारमा नुहाएर छुटेका चिसा लुगा देख्यो भने कसका लुगा भनेर पत्ता हुनुअघि नै टिपी धोएर सुकाइहाल्ने बा अलिकति आमा पनि हुनुहुन्थ्यो ।
जुन विषयमा जुन समयमा जस्ता प्रश्न गरे पनि विस्तृत र भरपर्दो विश्लेषणसहित सही उत्तर दिने बा इन्साइक्लोपेडिया अनि निपुण शिक्षक हुनुहुन्थ्यो । अत्तर शब्द सुनेपछि दुईदर्जन अत्तरको नाम लिन बाले दुईपटक सास पनि फेर्नुपर्दैनथ्यो । कुनै राष्ट्रको नाम सुन्ने बित्तिकै त्यो मुलुकको भौगोलिक, सामाजिक अनि ऐतिहासिक भ्रमण गराउन बाका अगाडि केही निमेष भए पुग्थ्यो । धर्म, पुराण, दर्शन, भाषा, व्याकरण र भौतिक अध्यात्मको मनन, विश्लेषण र ज्ञानमा अतुलनीय भए पनि झ्याउरे र फिल्मी अनि लोक लयमा गाउन बालाई कसैले कर गर्नुपरेन । सिङ्गोे सानो कदमा बा एउटा मनचिन्ते झोला हुनुहुन्थ्यो । बाका लागि कुनै काम निम्न र तुच्छ थिएन अनि आत्मीय हुन कोही मान्छे सानु थिएन । घरमा चुन लगाउन आउने, बारीमा मकै गोड्न आउनेदेखि आँगनमा खोपी र डन्डीबियो खेल्न भेला भएका केटाकेटीका सामु उनीहरू नै भएर बा घोलिनुहुन्थ्यो, पानीमा चिनीजस्तै । हार्मोनियम बजाउन, मादल बजाएर गीत गाउनमात्र नभएर नाङ्लो निफनेर दुनाटपरी गाँस्नु पनि बाको सिपबाहिर थिएनन् ।
घरमा केही न केही पाल्तु जनावरहरू सधैं नै हुन्थे । गाई, भैंसी, बोका, परेवा, खरायो, बिरालो, कुकुर अनि तिनीहरूका छाउरा । ती भोका भए÷नभएको बालाई थाहा हुन्थ्यो । बाँ......., म्या...... गुडुगुडु, म्याउ, बा छेउमा भएको गन्ध पाएपछि सबैले आआफ्ना भाषामा बालाई बोलाउने गर्थे । सामूहिक गीतजस्तै एकै लयमा । आफूले खाना खाइसकेपछि त्यही थालमा त्यति नै खाना मुछेर कुकुर, बिरालो, खरायो, बाच्छाका लागि ठीक पार्नुहुन्थ्यो । पाल्तु जनावर बिरामी भएर घाउचोट लागे हामीलाई जस्तै मलहमपट्टी लगाइदिनुहुन्थ्यो । घरमा पालेको खसी काट्न बाले सधैं विरोध गर्नुभयो । मासु खाने पनि दोधार कहिले खाने कहिले छोड्ने गरिरहनुभयो ।
कोठेबारीमा केही न केही फलफूल सधैं फलेका हुन्थे । पूmलबारीमा बाह्र्रै महिना केही न केही फूल फुलेका हुन्थे । त्यस्तै केही न केही फल पनि मौसमअनुसार बगैंचामा हुने गर्थे । हरेक बोटका फलफूल अनि हरेक पोथ्राका फूलहरू कहिले कुन फूल फुल्यो कहिले कुन फल पाक्यो छोराछोरीको नामजस्तै बालाई कण्ठ हुन्थ्यो । कुन फल पहिले टिप्ने कुन फूल पहिले टिप्नेको मर्यादा क्रम बालाई मुखाग्र हुन्थ्यो । राम्रोसँग नफक्रेको फूल अनि पूरा नपाकेको फल टिपेको थाहा पाइहाल्नुहुन्थ्यो । राम्रो पाक्ने बेलासम्म फल र राम्रोसँग फक्रिँदासम्म फूल बोटैमा रहून् भन्ने बाको मान्यता थियो ।
२०३४ सालको असार महिनामा आफ्नो आँट अनि बाको अनुमति लिएर म एमए पढ्न काठमाडौं गएँ । बासँग धेरै समयका लागि टाढा हुनुप¥यो । म महिनामा २–३ वटा चिठी लेख्थेँ । बाले पनि बराबर चिठी लेख्नुहुन्थ्यो । एमए पढ्न कीर्तिपुरमा रहँदा बाको साथै बहिनीको पनि नियमित चिठी आउने गथ्र्यो । मलाई चाखलाग्ने सबै विषयमा बाले गरेको विस्तृत विवरण पढ्दा मलाई घर छोडेको जस्तै लाग्दैनथ्यो । टाट्नाका खसीदेखि गोठका गाईसम्म । तल्लो कोठेबारीको अम्बकदेखि टाहारका मकैसम्मको समाचार बाले केही पनि नछुटाई लेख्नुहुन्थ्यो । प्रत्येक चिठीसँगै म घर पुग्थेँ ।
कीर्तिपुरबाट पहिलो दशैंमा घर गएर फर्किंदा बाटामा मसँग भएको सबै पैसा हरायो । म अनि केही साथीहरू वीरगन्जमा कसैको घरमा वास बसेका थियौँ । पोलिस्टरको आकासे नीलो रङको पेन्टको पकेटमा राखेको पैसाको थैली हराएको मैले बस स्टप पुगेर मात्र थाहा पाएँ । आगामी सेमेस्टरको फी, छात्रावासको भाडा अनि किताबकलमको पैसा मसँग केही भएन । एकजना आफन्तले उहाँकी आमालाई पठाइदिएको पैसासमेत त्यहाँ थियो । भुइँचालो आएर कतै लुक्ने ठाउँ नभएजस्तेै भयो । बाआमालाई थाहा नदिई काम चलाउँछु भन्ने अव्यावहारिक विश्वासमा म केही दिन निश्चिन्त भएँ । पैसा हराएको भय र खिन्नताभन्दा बढी बाआमाले थाहा पाउनु होला भन्ने भयको खाडल गहिरो थियो । सरसापटी गरेर काम चलाउँछु भन्ने अर्को अपरिपक्व ढुक्कले होस्टेलको खानाको पैसा र कोठाको भाडा केही पनि आएन । म धेरै चिन्तित भएँ तर बाआमाका सामु हात फैलाउन सकिनँ । अन्योलमा पिल्सिरहेँ ।
कार्तिकको चिसो घाम लागेको मध्याह्नमा चौधरी सरको क्लासबाट होस्टेल फर्किंदा ढोकाको छेउको अफिस कोठामा मेरो नामको टेलिग्राम देखेँ । हात काम्यो । पढ्ने हिम्मत गरिनँ । कोठामा पुगेर ओछ्यानमा ढल्किएर हिम्मत बटुलेर टेलिग्राम खोलेँ ।
“पैसा पठाइदिन्छु चिन्ता नलिनू” टेलिग्रामको यो वाक्यको पुछारमा बाको नाम थियो । जीवनमा सुनेका सबैभन्दा प्रिय र भरोसादायी त्यो टेलिग्रामले मेरो जीवनमा अर्को प्राण थपिदिएको थियो । बाप्रतिको अगाध स्नेह, अटल आस्था र असीम श्रद्धाको भेल मेरा आँखाबाट बग्न थाल्यो । पैसा हराएको भन्दा बढी त्यो टेलिग्रामले मलाई रूवायो । त्यसपछि बा मेरो हृदयमा अझ नजिक हुनुभयो ।
२०२१ सालको लामो बिरामीबाट उठेपछि बा सांसारिक प्रतिस्पर्धा र महङ्खवाकाङ्क्षासमेतबाट मुक्त हुनुहुन्थ्यो । कसरी सम्पत्ति जोड्ने, कता पैसा लगानी गर्ने, कता घडेरी थप्ने, कहाँ अर्को घर बनाउने भन्ने प्रतिस्पर्धाको दौडमा बा कहिल्यै लाग्नुभएन । छोराछोरीलाई भविष्यमा के बन्नुपर्छ भन्ने अनावश्यक दबाव पनि कहिल्यै दिनुभएन । घरमा सधैं कथाकार, कलाकार, कवि अनि अरु प्रसिद्ध व्यक्तिहरूको कुरा हुन्थ्यो । उनीहरूका रचनाहरूको कुरा हुन्थ्यो । नेहरू, विवेकानन्द, केनेडी, बेलायतकी महारानी, इन्दिरा गान्धी र महात्मा गान्धीका जीवनीको कुरा हुन्थ्यो । राजपरिवारको जीवनी पनि बालाई मात्र होइन हामीलाई पनि चाख लाग्थ्यो । देवकोटा, बालकृष्ण सम र लेखनाथ बाका प्रिय साहित्यकारहरू थिए । “देवकोटालाई र उहाँको रचनालाई बुझ्ने एकमात्र व्यक्ति” भनेर पछि अन्य विद्वान्हरूले बालाई उपनाम नै दिएका थिए । कुनै कवि, कलाकार र गायक आएर धनकुटामा गरेका हरेक कार्यक्रममा हामी सपरिवार जान्थ्यौँ । बाले हामी सबैलाई लिएर जानुहुन्थ्यो ।
लोकाचारका आधारमा हुने कुनैपनि संस्कार बालाई मन पर्दैनथ्यो । अन्धविश्वासमा आधारित परम्परालाई बाले कहिल्यै प्रोत्साहन गर्नुभएन । त्यसो हुँदाहुँदै पनि अध्यात्म बाको जीवनपद्धति थियो । प्राणायाम अनि ध्यान बाको नियमित अभ्यास थियो । व्यक्तिका लागि प्राणायाम सास फेर्नु जत्तिकै आवश्यक हो भन्नुहुन्थ्यो । सबै प्रकारका सामाजिक कार्यक्रममा बा सक्रिय हुनुहुन्थ्यो । शिक्षा, स्वास्थ र साहित्यसम्बन्धी सबै क्रियाकलापको महङ्खवपूर्ण हिस्सा भएर अग्रसर हुने बालाई मैले सामाजिक अभियन्ताका रूपमा अनुभव गरेँ । धनकुटामा हुने सामाजिक कार्यक्रममा प्रमुख वक्ता, प्रमुख अतिथि, पर्यवेक्षक, संरक्षक, निर्णायकजस्ता विषयअनुसारका भूमिकामा बाको उपस्थिति हुन्थ्यो, देवता र मन्दिरअनुसारका वन्दनाजस्तै । बा हुनु भनेको यो सबै हुनु होला जस्तो लाग्थ्यो । सबैका बाले यसै गर्छन् जस्तो पनि लाग्थ्यो ।
जीवनको बाटामा आइपर्ने सबै प्रकारका परिवर्तनले बा भयभीत हुनुहुन्थ्यो । कुनै अप्रत्याशित घटनासँग सामना गर्नुभन्दा अगाडि नै बा बिरामी भइहाल्नुहुन्थ्यो । साँच्चै बिरामी नभए पनि भएजस्तो गर्नुहुन्थ्यो । मन बिरामी भएपछि शरीर पनि बिरामी हुन्थ्यो होला ।
गृहस्थको आँगनमा आइपुगेको तर सन्न्यासको सँघारैमा अड्किएजस्तो लाग्थ्यो बाको मानसिकता । त्यसैले बा पूरा गृहस्थ कहिल्यै हुनुभएन । अनि पूरा सन्न्यासी हुने पनि कहिल्यै आँट गर्नुभएन । काठमाडौं सरेर आफ्नो बौद्धिक विस्तार र उपयोग गर्ने प्रलोभनले सैद्धान्तिक अनि भावनात्मक रुपले बालाई प्रेरित गरेको हुन्थ्यो भने त्यसका लागि गर्नुपर्ने त्याग र परिश्रमका लागि बा तयार हुनुहुन्नथ्यो । त्यसपछिको परिवर्तन अँगाल्ने हिम्मत पनि बाले जुटाउन सक्नुभएन । जीवन अत्यन्त छोटो, अनिश्चित र मिथ्या हो पनि दोहो¥याइरहनुभयो । लामो समयसम्म लाग्ने कुनै योजनाको छलफल अनि विश्लेषण बालाई कहिल्यै मन परेन ।
पाँचजना छोराछोरीहरूमध्ये कुनैले आफ्नो पदछाप पछ्याउनेछन् या पछ्याउनुपर्छ या त्यसभन्दा अगाडि पुग्नेछन् भन्ने बालाई लागेको हुनुपर्छ, मैले लगाएको अर्थ । बाको नजिकको सन्तान भएपछि पदेन यो जिम्मेवारी मेरो हो । मलाई सधैं लाग्यो । कसैले नदिई मैले आफैले आफूलाई यस्तै उत्तरदायित्व प्रदान गरेकी थिएँ ।
बिहे गरेर अर्कै घरलाई अँगाल्ने अनि बाबुआमाका सबै अप्ठ्याराबाट टाढिने छोरीको नियति पढ्दै हुर्किएको मेरो मान्यताले छोरीले गर्ने महान् त्याग आजीवन उहाँहरूसँगै बस्नु ठह¥यायो । आफ्नै मनले कथेको परिभाषा । यति नै भए पनि बालाई गर्वको दोसल्ला ओढाउन सकूँ भन्ने मेरो अर्को विश्वास । मेरा सुषुप्त प्रतिबद्धता चुलिएर मेरो व्यक्तित्वबाट चुहुन थालेको हुनुपर्छ । सम्बन्ध र सङ्गतले नजिक हुनेहरूसमक्ष पनि यसका केही छिटा पुगेको हुनुपर्छ । कल्पनाको पोखरीमा पौडिन अभ्यस्त मनले मात्र यो सबै देखेको पनि हुनसक्छ । समाजसेवा, प्रसिद्धि आदि केही सम्भव भएन भने पनि भाइबहिनीलाई शिक्षा दिलाउने बाको कर्तव्यमा सानो लौरो बनेपछि धन्य हुन्छु मेरो विश्वास ।
आफ्नै मान्यतासँग गरेको सङ्घर्ष अनि समयको प्रकृति र परिवेशको प्रभावले मेरो मनोभावना पहिलो र पछि भएर टुक्रियो । व्यक्तिगत स्वार्थबोधले आदर्शको तुवाँलो पन्छाउँदै गयो । बालाई यो थाहा भएन ।
बिहे अनि बिहे गर्ने मान्छेसमेतको मेरो निर्णय बाका लागि आकस्मिक औलो ज्वरो बनेर खनिनु अस्वाभाविक थिएन । ज्वरो त्यसै आएन । ज्वराले अनेकौँ प्रतिक्रियाहरु पनि जन्मायो । यसले बा त दुःखी हुनुभयो नै । बाको दुःखले बालेको ग्लानिको आगामा म पनि सल्किएँ । विश्वासघातको बोधले मेरो शरीर थिलथिलो भयो । छोरी टाढिनुको पीडा अनि छोरीको धमिलो भविष्यको चिन्ता बाको चिन्ताको बादलभित्र भेटिन्थ्यो । मसँगको शारीरिक दूरी मनको दूरीसँग समाहित हुन सक्ने सम्भावनाको हाउले बालाई गाँजेको पनि हुनुपर्छ । मेरो अपराधबोध गह्रुङ्गो भयो । ग्लानिको झरीले पनि म निथ्रुक्क रूझेँ । मेरो विवाहपछि यस्तै यस्तै तगाराहरू ठडिए । बासँगको सम्बन्धले घुमाउरा बाटाहरू खोज्न थाल्यो । व्यावहारिक यथार्थभन्दा ‘चोरको खुट्टा....’ ले मेरो मन दच्किएको हुनुपर्छ ।
छोरीले रँगाएको सिउदोसँग भरोसा बढ्दै गएपछि बाको विश्वासमा परिवर्तनको छाया पर्न थालेको अनुभव गर्दागर्दै पनि पत्याउन केही समय लाग्यो मलाई । मैले मातृत्वको पछ्यौरा ओढेपछि नातिको मायामा बा पग्लिन थाल्नुभयो । अझै पनि ग्लानिको तुवाँलो मबाट पूरै पन्छिसकेको थिएन । बाका सामु मेरो शिर ठिँगिन सकेन । आँखा अझै पूरा उघ्रिन सकेका थिएनन् । अपराधबोधको डोको शिरमा बसिरह्यो । प्रथम पुरस्कारका लागि सहभागी प्रतिस्पर्धामा प्राप्त सान्त्वना पुरस्कार मेरो हातबाट हट्नै सकेन ।
२०४० साल वैशाखको चैते धूलो र हावा रोकिएर पानी परेको सोमबार साँझ पर्नु केही अगाडि हाम्रो परिवारमा प्रलयको बाढी पस्यो । त्यो मुहूर्तसम्मको हाम्रो पारिवारिक घर पहिरोभित्र पुरियो । पहिरोभित्र हामी एक्लाएक्लै निसासिन थाल्यौँ । त्यो बाढी छिचोलेर हाम्रो घर कहिल्यै उभिएन । पुरिएका हामी टाउको मात्र उठाएर सास फेरिरह्यौँ । आधा पुरिएर अनि आधा देखिएर ।
घाम ओइलिँदै गएपछि बतासले धूलो उडाउन छोडिसकेको थियो । दिउसो सकिन आँटेको थियो । वैशाख जन्मिएको एक साता भइसके पनि नयाँवर्षको सुतक सकिएको थिएन । आमाले बेलुकाको खानाका लागि चुलो तताउन बाँकी नै थियो । अँगेनाको ओदानबाट खाजाका लागि भुटेको पुवा काँसको थालमा धुवाँभित्रै थियो । भर्खर स्कुलमा पढाएर भ¥याङ उक्लिएकी बहिनीको प्रतीक्षामा म काखको छोरो लिएर चुलाको छेउको ओछ्यानमा बसिरहेँ । रेडियोमा पोखरा परीक्षण प्रसारणका गीतहरू बजिसक्नै आँटेका थिए । फिका हरियो सारी अनि त्यस्तै ब्लाउज छोप्ने गरीको सुनौला बाक्लो कपाल बहिनीको कम्मर नाघेर उसको शरीरको चालसँगै हल्लिँदै भ¥याङको अन्तिम खुटकिलाबाट ओझेल हुँदा मेरा आँखाले त्यही कपालमात्र देखे । भ¥याङको अन्तिम खुट्किलामा त्यही कपाल हल्लिरहेको थियो ।
बहिनी तल ओर्लिएपछि खाने खाजाबाट धुवाँ सेलाइसक्ता पनि बहिनी तल ओर्लिएकी थिइनँ । छ महिनाको छोरो काखमा रून थालेपछि म छोरो च्यापेर भ¥याङसम्म पुगी टाउको उठाएर भ¥याङतिर फर्किएँ । गीत बज्न छोडेर बिदा भइसकेको स्टेसनबाट अनौठो आवाज एकनासले आइरहेको थियो ।
“कार्यक्रम सकिएको रेडियो त बन्द गरेको भए हुन्थ्यो नि” जुनसुकै कोठामा या बुइँगलमा नै भए पनि सुनिने गरीको चर्को मेरो यो आवाजले कुनै जवाफ ल्याएन । पैतालादेखि टाउकाको टुप्पैसम्म अनायास के पस्यो के मेरो पूरै शरीर जड भएको अनुभव भयो । एकछिनलाई मेरो शरीरको सञ्चालक निदायो । काखको छोरालाई आमाको काखमा दिएर बहिनी खोज्दै सबै कोठा सकिएपछि बुइँगलतिर उक्लिएकी थिएँ । मेरा आँखा र हृदय एकै ठाउँमा पोको परे । आँखाले झिम्किन बिर्सिए । मुख उघ्रियो । सल्लाघारीबाट जवाफ आउने चर्को चीत्कार बनेर । चौबीस वर्ष पुग्न चार महिना बाँकी मेरी बहिनी हाम्रो परिवारकी परी, राजकुमारी हामीले अगाध पुजेको शरीर हाम्रै जिम्मा छोडेर ऊ परलोकका लागि प्रस्थान गरिसकेकी थिई । हाम्रा कुनै चीत्कार, आलाप अनि पूरै गाउँ बगाउने गरीको आँसुले पनि उसकै शरीरभित्र उसलाई फर्काउन सकेन ।
सात वर्षको उमेरदेखिको बहिनीको अध्यात्मप्रेमले अर्कै अर्थमा विजय प्राप्त गरेको यथार्थ हामीले मात्र बुझ्न सक्यौँ । आत्मा र शरीर अनि आत्मा र परमात्माबारेका भजनका ठेली, विचारका पाना अनि नेपालीमा अनुवाद हुँदै गरेको गीताले मात्र जीवनप्रति उसको धारणा बताउन सकेका थिए । हामी मत्र्यलोकका शरीरप्रेमीहरु नेपथ्यमा पीडाको आहालमै डुब्न बाध्य भयौँ ।
बहिनीलाई गुमाउनु पर्दाको पीडाले मात्र हाम्रो हृदयमा झीर रोपेको थिएन । उसलाई गुमाउनुको कारण उसको मृत्युभन्दा भयानक भयो । बहिनीको आत्महत्या पूरै परिवारको आत्माको हत्यामा अनूदित भयो । हामी सबैको भन्दा बाका लागि यो पीडा दशौँ गुना गह्रुङ्गो भयो । हामी अरुको भन्दा बाको खण्डित हृदयको पुस्तक सबैले बुझ्ने भाषामा उघ्रिएको थियो । बाको चकनाचुर मुटु फेरि जोडिन नसक्ने भयले हामीलाई थप पीडा दिएको थियो । बहिनीसँग बा नजिक हुनु र हामी नजिक हुनु उस्तै थिएन । बाले उसलाई कहिले काखको बालकजस्तो अनि कहिले चाहिँ आफूसमानको साथीजस्तो मान्नुहुन्थ्यो । केही निम्सरो हुँदै गएको बाको मानसिकतालाई यो शोकले जरैसँग हल्लायो ।
“मेरो आत्मा गयो, केवल मुढो बाँकी छ” बाले धेरैपटक यसो भन्नुभयो । बहिनीले आफ्नो शरीर छोड्नुको सही कारणको नजिक पनि कोही पुग्न सकिएन । हामीसँग अलिनु अनुमानमात्र भयो । यो दुर्घटनाको पूर्वाभासको छेउसमेत पुग्न नसकेको पश्चात्तापभित्र हामी सबै डुबेका थियौँ । ग्लानि र अपराधबोधको भारी सायद बाले सबैभन्दा गह्रुङ्गोसँग बोक्नुभयो । बालाई ठूलो आघात प¥यो । केही महिना बिरामीसमेत पर्नुभयो ।
छ महिनाको छोरासँग त्यसबखत म पनि त्यहीँ थिएँ । अरु केही महिना म बाआमासँगै बसेँ । बाआमाबाट खोसेर ल्याउने आँट नभएर काखको छोरालाई केही समयका लागि उहाँहरूसँगै छोडेर म काठमाडौं फर्किएँ । तीन महिनापछि हामी दशैंमा धनकुटा गयौँ । बा निकै बिरामी हुनुहुँदोरहेछ । ठाउँ सारेपछि केही फरक पर्न सक्छ भनेर बालाई काठमाडौं लिएर आयौँ । एकवर्षभन्दा अलिक बढी हामीसँग काठमाडौं बसेपछि बालाई धेरै राम्रो भयो । यो अवधिमा मैले बालाई फेरि पहिलेजस्तो नजिक पाएँ । मेरो हृदयबाट ग्लानिको बाक्लो कुहिरो पन्छिँदै गयो । पहिलेजस्तै निर्धक्क रूपमा बाका सामु पर्न सक्ने भएँ । बा पनि मसँग उस्तै नजिक हुनुभयो । कहिले पद्मकन्या कलेज त कहिले बडा गुरूज्यूका घरमा गर्दै बा दिनभरि बाहिर निस्किनुहुन्थ्यो । दिनभरिका घटना विस्तृत रूपमा बेलुका मलाई सुनाउनुहुन्थ्यो । सबै सरसल्लाह मसँगै गर्नुहुन्थ्यो । बहिनीको सम्झना गराउने वातावरणबाट टाढा भएपछि बा फेरि सामान्य हुनुभयो ।
त्यसै बीचमा शिवजी विद्यावारिधिका लागि अमेरिका ड्यालस टेक्ससमा आउनुभयो । बा त्यसबेला काठमाडौंमा हामीसँग नै हुनुहुन्थ्यो । तीनवर्ष पुग्न लागेको छोरा र दुई महिनापछि जन्मिने सम्भावित सन्तानसँग मलाई काठमाडौं छोडेर शिवजी अमेरिका जानुभयो । यस्तो परिस्थितिमा बालाई मेरो जीवनको पहिलोपटक चिन्ता भयो । मेरा बारेमा बालाई चिन्ता भएको मैले पहिलोपटक अनुभूति गरेँ । मेरा विषयमा बाले चिन्ता लिनुपरेपछि मप्रति बाको आस्थाको पराजय ठानेँ । म र मेरो धमिलो भविष्यलाई काठमाडौंमा छोडेर दुई महिनापछि बा धनकुटा फर्किनुभयो । म काठमाडौंमै भाइसँग बसेँ ।
म अमेरिका नआउन्जेलसम्मका केही महिना बासँग फोनमा कहिलेकाहीँ कुरा हुन्थ्यो । बाँकी चिठी आदानप्रदानबाट मात्र भेट हुने गथ्र्यो । बाका चिठीमा पहिलेजस्तै सबै विस्तृत विवरण हुन्थ्यो । बाको भावनालाई दिएको अनिच्छित ठेसले उमारेको मेरो ग्लानि बा काठमाडौंमा एकवर्ष बसेपछि पूरै सुकिसकेको थियो ।
शिवजी अमेरिका पुगेको एकवर्षपछि दुवै केटाकेटी लिएर म पनि अमेरिका आएँ । भौतिक रुपले बासँग म अब धेरै टाढा भएँ । अहिले जस्तो टेलिफोनको सुविधा नभएकाले दुईचार वर्ष त चिठी र फोटाहरूको आदानप्रदानमा चित्त बुझाउनुप¥यो । अमेरिकामा जतिपटक छोराछोरीका तस्बिर खिचिन्थे डबल कपी बनाएर बाआमालाई पठाउने गरेँ । बाले ती सबैलाई मैले यहाँ राखेभन्दा जतनसँग एल्बम बनाएर दराजमा राख्नुभयो आफूले आर्जेका मूल्यवान् पदकजस्तै । मेरा छोराछोरीका तस्बिर सबै सामु बाले सगौरव प्रदर्शन गरिरहनुभयो ।
अमेरिकाबाट नियमित रूपमा मैले लेखेका चिठीको जवाफमा नेपालको, धनकुटाको, कचिडेको अनि घरभित्रका एवं मनभित्रका सबै परिस्थिति जस्ताको तस्तै म समक्ष आइपुग्थे । बाको चिठी पढेपछि अनि बासँग लामो कुरा गरेपछि एकपटक म ढुङ्गाको त्यही आँगनमा पुग्थेँ । तल्ला कोठाको त्यही कालो रङको ओछ्यानमा पुगेकी हुन्थेँ । सल्लाघारीको हावा सास फेरिरहेकी हुन्थेँ ।
फोनको सुविधा भएपछि बारम्बार र धेरै लामो समयसम्म बासँग कुरा हुन्थ्यो । “अब कुरा सकियो, फोन राखौँ” बाले कहिल्यै भन्नुभएन । घन्टौँपछिको फोनबाट पनि बा कहिल्यै अघाउनुभएन । “नानी अलिक हतार गरिस् नि फोन राख्न” यता मैले फोन राख्न खोजेको थाहा भयो भने बाको मन दुख्थ्यो । ”नानी यसपालि त निकै ढिलो सम्झिइस् नि“ एक महिना अनि एक दिन हुने बित्तिकै बाले भन्नुहुन्थ्यो । हप्तामा एउटा चिठी र महिना डेढमहिनामा बाआमासँग फोन सम्पर्क गर्ने मेरो नियमित प्रक्रिया भयो ।
“म फेरि चाँडै फोन गर्छु” फोन राख्न गाह्रो मान्दै म भन्थेँ ।
“त्यसो भए अब राखौँ है त ?” गाह्रो मान्दै बाले फोन राख्नुहुन्थ्यो ।
शिवजीले पिएचडी सकेपछि तुरून्तै फर्किने भनेर अमेरिका भित्रिएका वर्षहरू दुई हातको औँलामा अटाउन छोड्ने बेलासम्म पनि बा आमासँग भेट गर्न जान सकिएन । छोरी, ज्वाइँ, नाति र नातिनीसँग भेट हुन सक्ने बाटो हेर्दा हेर्दा निराश बाको हृदय अमेरिका बसेर ज्वाइँले अमेरिकनलाई पढाएको अनि छोरी, नाति र नातिनीले सम्पन्नताको छाता ओढेको सन्तुष्टि र गौरवको तक्माले उज्यालिने गरेको हुनुपर्छ । टेलिफोनमा बा नातिनातिनीसँग अङ्ग्रेजीमा कुरा गर्न मन पराउनुहुन्थ्यो । अङ्ग्रेजीमा उनीहरूलाई चिठी लेख्न पनि बालाई निकै रमाइलो लाग्थ्यो । अङ्ग्रेजी अनि अन्य भाषाप्रति बाको मोहको सानु कुनु सायद यसरी तृप्त भयो होला । अमेरिकाको एउटा राज्यबाट हामी अर्को राज्यमा सरेर जाँदा हामीले त्यो राज्यको इतिहासको पहिलो पाना पल्टाउन नपाउँदै बाले नेपालबाट नै त्यो राज्यको पूरै पुस्तक बताइदिनुहुन्थ्यो । बालाई अमेरिका सिकाउने हाम्रो रहर र सिकिसकेको अमेरिका भित्रिने बाको रहर दुवै समानान्तर नै रहे ।
यसपालि गर्मी महिनामा भेटघाट गर्न हामी सबैजना नेपाल आउने भयौँ ।
फोनमा हरेक महिना हुने नियमित कुराकानीमा बालाई मैले त्यसै वर्ष हामी नेपाल जाने योजना उल्लेख गरेँ ।
“भर्खर चैत लागेको छ, तिमीहरू आउने भनेको त अझै तीन महिना बाँकी छ” बाको आवाज अलिक गहिरो भयो । हर्षले अधैर्य अनुहार मैले मेरै सामु देखेँ ।
“दशवर्ष त बित्यो, तीनमहिना थाहै नपाई बित्छ ।” सबै बुझ्दाबुझ्दै मैले बुझ पचाएँ ।
“कालले गर्मी ग्रीष्म र शरद् केही भन्दैन, तिमीहरूले आफ्नो योजना बनाउँदै गर, हुने कुरा भइहाल्छ” अझ मधुरो थियो बाको आवाज । बाको अनुहारको कल्पनाले नै मेरो अनुहारको बत्ती पनि मधुरो भयो ।
अझै बाको आवाजमा उत्साह र उमङ्ग खोज्न छोडिनँ । वास्तविकताले अलिकति खिन्न बनायो तर अनौठो लागेन । सपनामा उडेको देखेपछि ब्युँझिएर पखेटा छाम्नु र हामीसँग भेट हुनु बाका लागि उस्तै हुनुपर्छ ।
१९९५ को मे महिनामा दशवर्षपछि हामी सपरिवार नेपाल गयौँ । काठमाडौं पुगेर मैले बालाई फोन गरेँ ।
“केही दिन काठमाडौंमा बसेर केही दिनका लागि पोखरा पनि घुम्न जाने विचार गर्दैछौँ” मैले भनेँ ।
“तिमीहरू नेपाल टुर गर्न आएका, पूरै नेपाल घुमिसकेर आए पनि हुन्छ, हामीले पर्खिएर के हुन्छ र ?” बाको वाक्यले मेरो हृदय निथ्रुक्क भयो र बगेर आँखासम्म आइपुग्यो । त्यसपछि मेरा लागि पोखरा अनि नेपालका कुनैपनि स्थान धनकुटाभन्दा सुन्दर भएन । त्यसको तीनदिनमा हामी धनकुटा पुग्यौँ । उहिले राजधानीबाट राजा सवारीका समयमा सजिएको धनकुटाजस्तै बाआमाले कचिडेको त्यो घर सजाउनुभएको थियो । घरका कुना कुनाले मेरो परिवारको प्रतीक्षा गरिरहेका थिए । अमेरिकामा हुर्किएका केटाकेटीको बसाइ सजिलो पार्न बाले कुनै कसर बाँकी राख्नुभएन ।
भर्खर मकै गोड्ने समय थियो । बारीमा मकै त्यस्तै गोड्ने बेलाका थिए तर बाले कोठेबारीमा हरिया मकै फलाउनुभएको थियो । कोठेबारीमा मकै पाकेका थिए । धाराको पानी लगाएर बाले हरिया मकै फलाउनुभएको थियो । हामीसँग भेट्ने उत्सुकता अनि पर्खिने अधीरता बाका लागि सम्हाल्न गाह्रो भएछ । बा झन्डैै बिरामीसमेत हुनुभएको भनेर आमाले भन्नुहुन्थ्यो । चौधवर्षको ठूलो छोरो, बाह्र्र वर्षकी छोरी र तीनवर्षको कान्छो छोरो एकैचोटि बासँग टाँसिए । बाको अनुहारमा एकैचोटि सयौँ वाटको बिजुली बल्यो र त्यो उज्यालो हामीसम्म उछिट्टियो । त्यसपछिका तीन महिना तीनजना नातिनातिनीसँग बा बेपर्बाह हराउनुभयो भक्त भगवान्मा हराएजस्तै । हामी त्यहाँ रहँदाको तीन महिनाका एक एक पल आमासँगै बाले हाम्रा लागि सहर्ष खर्चिनुभयो । केटाकेटीले केही मनपराएको सपनामात्र देखे पनि त्यसलाई जुटाइदिने प्रयास गर्नुभयो । उनीहरूका निम्ति पैसा पानीजस्तै बगाउनुभयो । के खाए के खाएनन् ख्याल गरी गरी त्यहीअनुसार बन्दोबस्तसमेत गरिदिनुभयो । उनीहरूलाई आफ्ना आँखाबाट एकपल पनि ओझेल हुन दिनुभएन । आखिर ती स्वर्गीय दिनहरू छोडिदै गए । हामी फर्किने बेला भयो ।
आमाको सल्लाहअनुसार बा पनि हामीसँगै काठमाडौं जान तयार हुनुभयो अनि हामीसँग काठमाडौं जानुभयो । विराटनगरसम्म आमा पनि हामीलाई बिदाइ गर्न आउनुभयो । दुईदिनपछि आमा घर अनि बा हामीसँग काठमाडौं जानुभयो ।
बासँग ८–९ दिन काठमाडौंमा बसेर बाको मुटु टुक्र्याएर अनि आफ्नो पनि आत्मा नेपालै छोडेर हामी फर्कियौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थालमा बासँग बिदा भएर हामी अमेरिका फर्कियौँ । बासँग हामी सबैको शारीरिक बिदाइ यही भयो ।
फर्किएर अमेरिका आएपछि बासँग फोनमा कुरा भयो । काठमाडौंको काम पूरा भएपछि भाइसँगै धनकुटा फर्किने कुरा गर्नुहुन्थ्यो । फर्केपछि एकपल्ट धनकुटामा आमासँग पनि कुरा भयो ।
अमेरिका फर्किएको तीन हप्तामात्र पुगेको थियो होला । नेपालबाट ल्याएका सुटकेस रित्तिइसकेका पनि थिएनन् । आमाबासँग खिचेका फोटा सिभिएसमा धुन दिएको फिर्ता पनि ल्याएको थिएन । केटाकेटीको स्कुल आरम्भ हुनै थियो । चर्को घाम लागेको सोमबार बिहान विराटनगरबाट आमाका बारेमा सबैभन्दा दुःखद समाचार आयो । अब फेरि नेपाल सम्झिएर फर्किंदा आमालाई भेट्न नपाउने यथार्थ पुष्टि भयो । हाम्रो संसार सकियो । यो कटुतथ्य बाका लागि कस्तो भयो ? यसको अनुमान मेरो कल्पनाको घेराभित्र पनि अटाउन सकेन ।
आमा हाम्रा लागि आमामात्र नभएर सबैथोक हुनुहुन्थ्यो । घर गृहस्थीको रथको एउटा पाङ्ग्रामात्र नभएर आमा सिङ्गोे रथ नै हुनुहुन्थ्यो । २०२१ सालको बिरामीपछि बाले एकप्रकार सन्न्यासी गृहस्थ जीवन बिताउनुभएको थियो । व्यावहारिक कुराको सबै जिम्मेवारी शतप्रतिशत आमाको थियो । हामीजस्तै बा पनि पूर्ण रुपले आमामा निर्भर हुनुहुन्थ्यो । आमाको जीवन कसरी बित्यो आमाको इच्छा के थियो केमा आमाको खुसी थियो सायद कसैले कहिल्यै थाहा पाएनौँ । थाहा पाउने जमर्को पनि गरेनौँ । पहाड अर्थात् पृथ्वीजस्तै हाम्रा लागि सधैं र उस्तै रूपमा आमा उपलब्ध भइरहनुहुन्छ भन्ने हाम्रो विश्वास थियो । आमा अजम्बरी भन्नेमा बा सबैभन्दा बढी विश्वस्त हुनुहुन्थ्यो । हामी सबैका लागि आमाले अटल र अखण्ड भएर एउटा पृथ्वीजस्तो सहनशील र सङ्घर्षशील जीवन बिताउनुभयो । एउटा पृथ्वीलाई जस्तै हामीले पनि त्यहाँ कुल्चियौँ । पृथ्वीमाथि जस्तै यता र उता भत्काउँदै खन्दै आफ्नो अनुकूलता र आआफ्नो इच्छाअनुसार घर, मन्दिर, पाटी के के बन्छ बनाइरह्यौँ । आमालाई कता दुख्यो, कता पोल्यो अनि कता चर्कियो भनेर सोच्नसमेत बिर्सियौँ ।
आफूले कल्पना गर्नसमेत नचाहेको अनि नसकेको घटना अप्रत्याशित रूपमा घटेको बालाई असह्य भयो । बाको ठूलो कमजोरी आमा हुनुहुन्थ्यो । यो थाहा नदिन बाले खुब बल गर्नुभयो । आफूबाट मात्र होइन सायद आमाबाट पनि त्यो यथार्थ लुकाउन खोज्नुभयो । नियतिले विश्वासघात गरेर आमालाई पहिले लगेको हो भन्नेमा बा विश्वस्त हुनुभयो । नियतिका सामु बाले आफूलाई पराजित स्वीकार गर्न सजिलो भएन । कहिल्यै छोड्न नसकेको घर आमा नभएपछि बाका लागि बस्ती उठेको भग्नावशेषमात्र भयो । आमासँग चारदशक बिताएको त्यस घरमा एक्लै गएर सामना गर्ने बामा साहस पनि भएन । आमाको निधनको कटुसत्य स्वीकार गर्न बालाई धेरै गाह्रो भयो । आमासँगको वियोगको अथाह पीडा अन्तरमा उम्लिएपछि बा धेरै चिढचिढा हुन थाल्नुभयो । अत्यन्त संवेदनशील हुने अनि सामान्य घटनालाई पनि धेरै गम्भीर रुपले लिने गर्न थाल्नुभयो । मानसिक रुपले आफूलाई जति असुरक्षित अनुभव गर्न थाल्नुभयो त्यति उहाँको व्यवहार अप्ठ्यारो पनि हुन थाल्यो । भर्खर आमा गुमाएको बालकजस्तै बा अभिभावक होइन सानो टुहुरो छोरो हुनुभयो ।
हामी छोराछोरीले बामा सिङ्गोे अभिभावक खोज्न थाल्यौँ भने बाले हामी छोराछोरीमा अभिभावक खोज्न थाल्नुभएछ । जीवनसँग बाको हार स्वयं हारेको जस्तो देखिन्थ्यो । जीवनबाट बाको आत्मा खोसिएको जस्तो थियो ।
आमाबा दुवैलाई अमेरिका बोलाउने सौभाग्य लुटिएपछि बालाई मात्र भए पनि अमेरिका बोलाउन मैले बासँग कुरा गरेँ । शरीर र मन दुवै नै गलेर बिसौनीमा हुनुभएको बाका लागि अमेरिका केही वर्ष अगाडि जस्तो आकर्षक भएन । बाको मनस्थिति बुझ्दाबुझ्दै मैले यो सबै बुझपचाएकी थिएँ । नभन्दै मेरो आग्रह बाको मनसम्म पुगेर मतिर नै फर्कियो । आफैभित्र झाङ्गिएको ग्लानि मत्थर पार्ने मेरो यो अभिप्राय वास्तविकताका सामु निहुरियो । मेरो आशा दुब्लायो । बा अमेरिका आएर चकित हुने भन्दा मेरै व्यक्तिगत पुरूषार्थ प्रदर्शन गरी मनको कुनामा लागेको ग्लानिको दाग पखाल्ने अदृश्य चाहना मनबाट बिस्तारै अनुहारमा पोतिइसकेको थियो । व्यक्तिगत सन्तुष्ठिको स्वार्थले मलाई धेरै दबाव दिन सकेन । म पराजित भएँ ।
२०२१ सालमा बिरामीबाट उठे यता बाको मनस्थिति आशक्ति र अनाशक्तिको मझधारमा सधैं सङ्घर्षरत रह्यो । बाको विचारका दुई पाटा आफ्नै आस्थाका दुईवटा नाउमा अल्झिरहे । बाको वरिपरिकाले बालाई बुझ्ने प्रयत्नमा यसैगरी अल्मलिइरहेछौँ ।
देवकोटाका सृजनाको सबैभन्दा नजिक पुग्न सक्ने मध्ये बालाई धेरैले पत्याएजस्तै बालाई सबैभन्दा सही ढङ्गले आमाले मात्र पढ्न सक्ने सबैले स्वीकार गरेका थियौँ । आमाको अभावमा बा अब हामी सबैले बुझ्न खोजेको तर वास्तवमा पढ्नसमेत नसक्ने शाकुन्तल हुनुभयो ।
जीवनका सबै पक्षको निर्णय आमाले नै लिने गरेको कुराबाट हामी कोही पनि अनविज्ञ थिएनौँ । आमाले गरेका निर्णयहरू बाको चाहनाविपरीत नै भए पनि सबैभन्दा सही निर्णय त्यही हो भन्न बालाई एकैछिन मात्र लाग्थ्यो । आमा नभएपछि बाको मनोविज्ञानअनुसार हामीले बाका लागि त्यस्ता कुनै निर्णय गर्न सकेनौँ । पर्दैन, गर्दिनँ, जान्नँ, खान्नँ बाले भनेपछि हामीले त्यसलाई शाब्दिक अर्थमा मात्र बुझ्न थाल्यौँ । आमाले जस्तै दह्रो भएर बहस र विवाद गरून् भन्ने बाको मनसाय भएको भए पनि हामीले त्यो पढ्न सकेनाँै ।
– – – – – – – – – – – – – – – – – – – – – – – – – – – –
परिच्छेद परिच्छेदमा टुक्रिएर विगत मेरो आँखा अगाडिबाट गुज्रिन थाल्यो । विगतबाट ब्युँझिदा बा अझै अस्पतालमै हुनुहुन्थ्यो । मेरो विश्वास । “दश दिनदेखि अस्पतालमा हुनुहुन्छ अनि पर्सी घर फर्किनुहुन्छ” पछि मेरो मनले गरेको दशकौँको यात्रा टुङ्गिँदा यता बिहान भइसकेको थियो । नेपालमा त बेलुका पनि हुनैछ । अँध्यारो भएर रात बितेपछि उज्यालो हुन अझै घन्टौँं बाँकी थियो । उज्यालो भएपछि पनि कतिबेला बालाई लिएर भाइ घर आइपुग्छ भन्ने प्रतीक्षा अझ अग्लो पहाड भयो ।
भोलिको एकदिन पर्खिन पनि मनले मानेन । मिनेट मिनेट पर्खिएर घन्टा पु¥याएर रात कटाउन सजिलो थिएन । बा घर आएपछि कुरा गर्न किनेको बीस डलरको फोनकार्ड फोनको छेउमा राखेँ । पुगेन भने तुरून्तैै अर्को कार्ड किन्ने भनेर कम्प्युटर खुल्लै राखेँ । कम्प्युटरबाट ’हिमटेल’ वेभ साइटबाट कार्ड किन्ने गरेको थियो । बा आईसीयु जाने बित्तिकै थाहा पाएको भए अस्पतालमा नै भेट्न जान सक्ने सम्भावनाको सुइराले धेरैपटक घोच्न थालिसकेको थियो । आईसीयुबाट पहिलोपटक बाका आँखा उघ्रिँदा बाको अगाडि उभिन पाएको भए..... कल्पनामा नै पनि मेरो घाँटीमा केही अड्कियो । आँखा चिसिए । त्यतिका दिन बा अस्पतालमा बस्नुभएको । ’मैले केही थाहा पाइनँ’ बासँग भन्न मैले हिम्मतसमेत बटुलेकी थिइनँ । भाइहरूले मलाई थाहा दिन बिर्सिएको भए पनि मेरो अन्तरात्माले सम्झिनुपर्ने । म आफैसँग सबैभन्दा बढी निराश हुन्छु । गुमेको समय ठूलो माछो भएर मेरै अगाडि छट्पटाउँछ ।
बिहानको खाना लिन भाइ घर आउने अनि बेलुकातिर बालाई घर ल्याउने मेरो बुझाइ । बा आइसक्नुभएको होस् मेरो दुब्लो आशा । फोन नगरी मनले धर दिएन । तीनचार घन्टीमा अहिले पनि उताबाट फोन उठेन । फोन कनेक्सन भएको लामो अनि सुरिलो एकनासको घन्टीको आवाजसँगै बाको अरु हालखबर जान्ने उत्सुकताले मेरो शरीरभ रि न्यानो कुद्यो । मेरो मुटु पनि अलिक छिटो छिटो उफ्रिन थाल्यो । पाँचौँ घन्टीपछि उताबाट जवाफ आउन आँटेको चुपचापले अप्रत्याशित भएको काँडा मेरो शरीरभरि फेरि उम्रियो । नेपाल फोन गरेपछि उताबाट फोन नउठाउन्जेलका केही पलको रफ्तारले चलेको सास मत्थर भएपछि भाइको मसिनु आवाज मेरो कानले पर्खियो ।
भोलि बासँग गर्ने संवाद मेरो मनमा तयार हुन थाल्यो ।
“नानी ⁄ आमाले बोलाएको होला भन्ने ठानेको, अझै बेला भएको रहेनछ, निराश छु” बाको बोलीमा हार मिसिएको मेरो मनले सुन्यो ।
“त्यसो भनेर कहाँ हुन्छ, हामी सबै छौँ नि, म भन्दै हुन्छु । आमा पनि हुनुहुन्न बाले पनि त्यसो भनेपछि हामी के गर्नु नि ?” मेरो मनले मनैलाई जवाफ दिएको थियो ।
बाले के भन्नुहोला अनि मैले के जवाफ दिने म फेरि सोच्न थालेँ । “बाको बोली सुन्न पाएर अत्यन्त हर्ष लागेको छ” अलिक औपचारिक सुनियो ।
“अस्पतालबाट फर्किएर आउनुपर्दा मलाई भने विस्मात लागेको छ” बाले यसो पनि भन्न सक्नुहुनेछ । सोचाइले थकाइ मारेन ।
अझै उताबाट फोन उठेको छैन । बल्लबल्ल उठेको फोनबाट भाइको होइन तर अप्रत्याशित रुपले बुहारी अचलाको स्वर सुनेपछि पैतालादेखि टाउकासम्म बग्ने रगत एकैचोटि चिसियो । भाइको बोली सुन्न पर्खिएका कान अनायास टालिएजस्तो भयो । भाइ बाथरूम गएको होला या त ऊ आइपुग्न ढिलो भएको होला म मनलाई अल्मल्याउँदै गर्छु तर भाइ आइपुग्ने समय त टरिसकेको छ मनको अर्को कुनु सशङ्कित हुन्छ । अचलाको स्वर सुन्ने बित्तिकै शरीरमा डर दौडिन थालेको मैले बेवास्ता गर्न पनि सकिनँ । शरीर काम्न थाल्यो । मनको सबैभन्दा भित्री भाग कहालिन थालिसकेको थियो । थाहा नपाई मेरो मनले थाहा पाइसकेको थियो । अप्रत्याशित चोटको पूर्वाधारजस्तै मेरो मुख पनि सुख्खा भयो । “भाइ खोइ अचला ⁄ अस्पतालबाट फर्किएको छैन ? बा भोलि कतिबेला फर्किने ? कि आजै लिएर आउने भयो ?” उनलाई केही बोल्न नदिन मैले लगातार प्रश्नमाथि प्रश्न गरेँ ।
“दिदी अब हजुरले धैर्य गर्नुप¥यो” उनको बोली बिरामी भएर भर्खर उठेजस्तो थियो ।
मेरो हातबाट फोन भुइँमा झ¥यो । फोनसँगै मेरो पूरै चेतना भुइँमा पोखियो ।
अचलाको त्यो छोटो वाक्यले मेरो जीवनको लामो हिस्सा छिनैमा खोसेको थियो । मेरो हातबाट फोन कता खस्यो थाहा पाइनँ । मेरो शरीरमा बग्ने रगत रोकिएजस्तो भयो । मेरो मुखबाट निस्किएको “है........न” को चर्को चिच्याहट सुनेर छोराछोरी मेरो वरिपरि जम्मा भए । शिवजी छेउमा नै हुनुहुन्थ्यो । “होइन, यो हुनै सक्तैन, मेरो बोली कम रूवाइ बढी भएछ । छोराले र छोरीले गालासम्म बगेका मेरा आँसु पुछिदिन थाले । रूघा लागेजस्तै मेरो नाक पनि बग्न थाल्यो । मुखभित्र नुनीलो पस्यो । मेरो आवाज मधुरो हुनुअघि फेरि चर्कियो । मैले केही भन्नुपरेन सबैले बुझे । कोठाका चारै भित्तामा मेरो आवाज ठोक्कियो । छोराछोरीले एकैचोटि मलाई अँगालामा बेरे । शिवजी अलमल्ल पर्नुभयो । मेरो शरीर एकैछिनमा मुढो भयो । सबै इन्द्रियले एकैचोटि काम गर्न छोडे जस्तो भयो ।
डेढ दशकको परदेश बसाइमा कहिल्यै सुन्नुनपरोस् भन्ने ठानेको समाचार सुन्नुपरेको त्यो रात मेरो जीवनको सबैभन्दा कालो, घना, भयभीत र त्रूmर रात थियो । उक्त एक वाक्यले मेरो जीवन अनायास वर्षौं वृद्ध हुन पुगेको थियो । मेरो टाउकाबाट छानो, मेरो आङबाट कपडा, मेरो भोकबाट भोजन खोसियो । मेरो शरीरबाट आत्मा उड्यो । एकातिर म निमेषमै वृद्ध हुन पुगेँ भने अर्कातिर म मेलामा छुटेको बालक भएछु । वरिपरिका सबैमा बाका न्याना हात खोज्न थालेछु ।
त्यति एउटा सत्यले फोन डायल गर्नुअघिसम्मको संसार भताभुङ्ग भयो । मेरो अस्तित्व नै बिलायो । म बाँचेको पृथ्वी ज्वालामुखीको लाभाले भरियो । स्तब्ध भएँ ।
“अचलालाई एकपटक फोन गरेर यो साँचो होइन भनिदिनु न प्लिज !” मैले शिवजीसँग बाको अनि एकै निमेष अघि सकिएको मेरो जीवनको पनि भीख मागेछु । मेरो बोली म आफैले बुझ्न नसकिने भएछ । मैले गलत बुझेको होस् भनेर शिवजीलाई फेरि फोन गर्न गरेको आग्रह र उहाँको फोनले विपरीत प्रमाणित भएन । उहाँको फोन अनि मेरो चीत्कारले समाचार झुठो भएन ।
कहिल्यै सुन्न नचाहेको तर जीवनको कटु सत्यसँग तीनवर्षभित्र दोस्रोपटक फेरि मैले सामना गर्नुप¥यो । असहाय मलाई पौडी खेल्न सिक्नुअघि नै नदीमा फ्याँकिदिएर छोडेजस्तो भयो । भोलिदेखिको मेरो बचाइ कस्तो हुन्छ केही टुङ्गो भएन । शारीरिक रूपमा वर्षौंदेखि टाढा रहेको बेला पनि उता घरमा सबै यथावत् छ भन्ने विश्वास बालुवाको महल भयो । फोनका ८–९वटा अङ्क थिचेपछि पनि “तेरा लागि त्यो फोनकलको जवाफ कहिल्यै आउँदैन” को पुष्टिको समाचार थियो यो । यस्तो अनुभूति गर्न त्यसै परिस्थितिको जमिनमा टेक्नु आवश्यक हुन्छ । दश रेक्टर स्केलको भूकम्पको असर अनुभव गर्न भुइँचालाले मुटुसम्म हल्लाउनैपर्छ । मेरै जीवनसँग भर्खर सकिएको बाको जीवन विनिमय गर्न सम्भव भए एकपलमा त्यस्तो निर्णय गर्ने थिएँ, मलाई लाग्यो । बाप्रतिको अगाध स्नेह या आफ्नै क्षमतासँगको दम्भ अकस्मात् बलवान् भयो । यो आलो समाचार उल्टाउने शक्ति आफैभित्र खोज्नसमेत थालेछु ।
आखिर सत्य सत्य नै थियो । हुने कुरा भइसकेको थियो । बा हामी सबैलाई छोडेर यसपटक साँच्चै नै कहाँ कहाँ अनन्तमा गइसक्नुभएको थियो । यो तथ्यले ममाथिको आकाश झ¥यो । मैले टेक्ने जमिन भासियो । मेरो जिब्रोबाट बोली खोसियो । मेरो मुटुबाट ममता रित्तियो । मेरो हृदयमा चट्याङ प¥यो । आँखामा महासागर आएर बस्यो । सृष्टिका कुनै शब्द अनि भावनामा अनुवाद नहुने गरी म सकिएँ ।
मैले डायल गरेको टेलिफोनको जति घन्टी गए पनि “नानी सन्चै छौ ?” भनेर अगाध अपनत्वको बोली फेरि कहिल्यै मसम्म आउने छैन । मेरो जीवनका आरोह–अवरोहलाई मैले भन्दा बढी अनुभूति गर्ने बाँकी एउटा हाँगो पनि निर्दयी आँधीले भाँचिदियो । भूगोलको नेपाल अनि नेपालबाट डेढ दशक टाढिए पनि सधैं त्यहीँ छु भन्ने विश्वास दिलाउने स्रोतको मुहानै सुकेको थियो । भूगोल र भावनाको नेपालको नाता अखण्ड राख्न कटिबद्ध सेतु बीचैमा टुक्रियो ।
अमेरिका त विदेश हो, कुनैबेला आफ्नै घर फर्किनेछौँ भन्ने आस्थाको जड नै उखेलियो । घर नै सकिएपछि घर फर्किने विचार गर्भैमा हराउने भयो । मेरो भावनात्मक सुरक्षाले मलाई अनायास छोडिदियो । आजसम्मको संसार झ¥यामझुरम भयो । टेबुलमा राखेको ऐनाजस्तै । मेरो भविष्य अनन्तमा बिलायो ।
“अझै दशदिन बाँकी, त्यति बेलासम्म त म बाँचिरहौँला र ⁄” मलाई देख्न बाँकी दशदिन दशयुगजस्तो लाग्ने एकजना अनन्य वात्सल्यको मुहान हुनुहुन्थ्यो मेरा बा मेरा लागि ।
“नानी ⁄ यसो भनेको यसो हो कि के चाहिँ हो ?” आफूमा भएको अथाह विद्वत्तालाई भन्दा मेरो अनभिज्ञताको सीमिततालाई ससम्मान विश्वास गरिदिनुहुन्थ्यो । अगाध स्नेहको झरी मेरा सन्ततिमा समेत वर्षाएर ममताको भेलमा मेरा छोराछोरीलाई पनि निथ्रुक्क रूझाउने मेरा बा अमृत–झरना हुनुहुन्थ्यो ।
बा मेरो आफ्नै परिभाषा हुनुहुन्थ्यो । मेरो आफ्नै ऐना हुनुहुन्थ्यो । मैले चढेका ससाना थुम्काथुम्कीलाई सगरमाथा आरोहणको उत्सवका झङ्कारले हाम्रो घर आतेसबाजीको उज्यालो आकाश पार्ने एउटा आज्ञाकारी कारिन्दा हुनुहुन्थ्यो । म बाका लागि शोक गर्दै थिएँ या मेरा लागि । विभाजनको रेखा मधुरिँदै गयो ।
आमा नभएपछि धनकुटा गएर बस्न व्यावहारिक रुपले पनि सम्भव थिएन भन्ने जान्दाजान्दै पनि धनकुटाकै घरमा गएर जीवन बिताउने इच्छाले बाको कहिल्यै साथ छोडेको थिएन होला । स्वार्थको तगारो नाघेर म बाको मनभित्र पस्न खोज्छु । धनकुटाको घरलाई सधैंका लागि बिर्सिएर काठमाडौं भैंसेपाटीमा भाइले भर्खर बनाएको घरसँग कसरी आत्मसात् गर्नुभयो होला । चारदशकसँग आफ्नै अङ्ग ठानेर प्रेम गरेको धनकुटा अनि कचिडेको घरसँगको वियोग कति चह¥याउँथ्यो होला म बा बनेर सोच्न खोज्छु । मधुमेहको असरले धमिलिँदै गएका आँखाले बामा थपिदिएको विरक्ति मैले टाढैबाट अनुभव गरेकी थिएँ । मोतीयाविन्दुको शल्यक्रियाका लागि तयार हुन नसक्नेमा बा विश्वस्त हुनुभयो । त्यो विश्वासले आत्मविश्वासलाई बिस्तारै डढाउन थाल्यो । धनकुटा र धनकुटाको प्रेम अब बाको काल्पनिक विकल्पमात्र भयो ।
बाको अर्थपूर्ण जीवनको साँझ ढल्न थालिसकेको थियो । बालाई बीसासय आयुको अपेक्षा हामी जीवितहरूको स्वार्थमात्रै हुने थियो । रोग र उमेरको झटाराले थिलथिलाएको शरीर अनि त्यसभन्दा दुब्लो मनस्थितिका बा आफूलाई भन्दा हामी छोराछोरीलाई आवश्यकजस्तो देखिनुन्थ्यो । हाम्रो स्वार्थ बाको जीवनभन्दा अग्लो हुन सकेन । भावी कष्ट र विपत्तिबाट बालाई विधाताले नै मुक्त बनाइदियो । मनको काँधमा हलुका धाप मार्छु । ‘उडेका सातु.......’ मनले गिज्याउँछ ।
नेपालमा बासँग भेट गरेर एकहप्ताअघि दुर्गा दिदी अमेरिका फर्किनुभएको थियो । “चाँडैै काकालाई फोन गर, काका धेरै बिरामी भएर त होइन तर यसपालि अलिक बढी हतास हुनुभएजस्तो छ ।” दुर्गा दिदीले फोनमा भन्नुभयो । ”एकदम लामो अनि अलिक आत्तिएर तँलाई केही खबर पठाउनुभएको छ” उहाँले भन्नुभयो । ऐनामा देखिएको आफ्नै अनुहारजस्तै बाको हृदय मेरा अगाडि आयो । बाको भावनात्मक अनि शारीरिक पीडा सोझै मेरो हृदयमा स¥यो । मेरा दुईरात ननिदाईकन छर्लङ्ग भए । रूखाखोकी अनि टन्सिल बढेरै ज्वारो आउँदासमेत ’म मर्छु’ भन्ने बाको प्रतिक्रियामा अभ्यस्त भइसकेपछि बा हतासिनु यसअघि सामान्य समाचार जस्तोमात्र लाग्ने गथ्र्यो तर यसपटक मलाई त्यस्तो लागेन ।
केही वर्षदेखि बाले रेडियो नेपालमा अनि पछि टेलिभिजनमा पनि नियमित रुपले धार्मिक प्रवचन गर्ने गर्नुभएको थियो । रेडियो नेपालमा गरेका प्रवचनका केही क्यासेटहरू बासँग भएको मैले पनि देखेकी थिएँ । ती क्यासेट बाले धेरै जतनले राख्नुहुन्थ्यो भनेर आमाले पनि भन्नुभएको थियो । आफूले बहुमूल्य ठानेका ती क्यासेटहरू बाले दुर्गा दिदीका हातमा मलाई पठाइदिनुभएको रहेछ । मलाई पत्यार नलाग्ने गरी आश्चर्य लाग्यो । कहिल्यै कसैलाई नदिई आफ्नै निकटमा राख्ने गरेका ती क्यासेट मलाई यति टाढा पठाइदिनुभयो । संयोगभन्दा बढी बाको अन्तरात्माले गराएको पूर्वाभास थियो । बाको अन्तर्दृष्टिले दिएको निर्देशन थियो ।
“तिमीहरूलाई पछिसम्म मेरो सम्झानाको चिनो होस् भनेर क्यासेट पठाएको छु” मेरा छोराछोरीलाई पठाउनुभएको चिठीमा लेख्नुभएको रहेछ ।
“चिठी र क्यासेटहरू हाम्रो हात प¥यो” भनेर हामीले बालाई भन्नसमेत भ्याएनौँ । वास्तवमा त्यसबेलासम्म चिठी र क्यासेट भर्जिनियामा दुर्गा दिदीसँगै थिए । दुर्गा दिदीले तुरून्तैै ती क्यासेट मेल गरिदिनुभयो । केटाकेटीलाई बाले लेखेको त्यो चिठी हामी सबैका लागि अन्तिम चिठी हुन पुग्यो । बासँगको वियोगको सागरमा डुबेका बेला ती धार्मिक प्रवचनले नाउको काम गरे । त्यस समयमा मलाई वास्तवमा ती प्रवचनहरू नै उपयोगी अनि आवश्यक थिए । यो कुनै कागताली थियो या आत्मीय सम्बन्धको सबुत । रोग लाग्नुभन्दा अघि नै बाले थाहा पाइसक्नुभएको थियो । पहिले नै मलाई औषधि पठाइदिनुभयो । नेपाल गएर बाको अन्त्येष्टि हेरेर मनलाई सान्त्वना दिने आवश्यकताको महसुससमेत हुन पाएन ।
हात्तीलाई छामेर अन्धाहरूले गरेको वर्णनजस्तो मेरा बा पनि थुप्रै व्यक्तित्वबाट आ–आफ्ना अनुभवअनुसारले परिभाषित हुनुहुन्थ्यो । विद्वत्ताका रोचक प्रसङ्गहरूको घुइँचोमा मेरा बा सहजै भेट्टिनुहुन्थ्यो ।
“नौ भाषामा सिपालु विद्याका सागर” कसैले भन्थे ।
“काशीको विद्यार्थी जीवनमा एकैरातमा उहाँले संस्कृतका चारसय श्लोक कण्ठ पार्नुभएको थियो अरे” अरु कसैले भने ।
“उनलाई महाकवि श्रीहर्षको ‘नैषधीयचरित’ महाकाव्य समग्र कण्ठै थियो । चित्तधर हृदयको ‘सुगत सौरभ’ नेवारी भाषाको महाकाव्य सुनाएकामा प्रभावित भएर सत्यमोहन जोशीले भाजुरत्न कंशाकारकहाँ प्रवचन गर्नसमेत लगाएछन्” एकजना विद्वान्ले यसो भन्नुहुन्थ्यो ।
“१४ वर्षको बालकले अत्यन्त रोचक ढङ्गले चौतारामा बसी पुराणवाचन गरेको दृश्यले वटुबाहरू पनि चकित भए । १४ वर्षको उमेरमा पुराण भन्ने ती बालकको नाम हेमचन्द्र पोखरेल” यो पनि धेरैका मुखबाट सुनिन्थ्यो ।
“एउटा अद्वितीय प्रतिभाका धनी” यस्ता विशेषण पनि अनेकौं पटक हाम्रा कानमा गुन्जिएका हुन् ।
मेरा बाको नाम हेमचन्द्र पोखरेल । धनकुटा बहुमुखी क्याम्पसको परिधि उहाँको कार्यक्षेत्र । विद्वत्ताको परिधि भने सीमाहीन । विद्वान् व्यक्तित्वहरूले गरेका परिभाषाका मेरा बा दिवङ्गत भएको समाचार रेडियोले आफ्नो समाचारमा सम्मिलित ग¥यो । पत्रपत्रिकाले आफ्ना अघिल्ला पानाका कुनामा छापे ।
“उहाँ अरु दशवर्ष बाँच्नुभएको भए दुर्लभ कृतिको जन्म हुन्थ्यो होला” विद्वान् आफन्तले भने ।
धनकुटाको सट्टा काठमाडौं बस्नुभएको भए उहाँको उचित कदर हुन्थ्यो होला, धेरैले भने ।
यसरी अप्रत्याशित ढङ्गले जीवनबाट मेरा बा अस्ताउँदाका प्रतिक्रियाहरू देउरालीमा ढुङ्गा चुलिएजस्तै चुलिन थालेका थिए । बाको परिभाषा आफन्तबाट अनि आफन्तका आफन्तबाट आफ्नै तरिकाले आफ्नै अनुभवको सेरोफेरोमा सीमित भयो ।
मेरा दृष्टिमा मैले गुमाएका बा देशको विभूति होइन, एउटा प्रकाण्ड विद्वान् होइन, सात भाषाको ज्ञाता होइन, चारदशकभन्दा बढी उहाँले भिरेको प्राध्यापनको पगरी आदि इत्यादि केही पनि हुनुहुन्नथ्यो । मैले त मेरो अस्तित्वको आधार गुमाएकी थिएँ । मेरो हिजोको विश्वास र भोलिको आस्था गुमाएकी थिएँ । आफ्नै जीवनको परिभाषा गुमाएकी थिएँ ।
मेरा लागि मेरा बा परदेश जाँदा सुटकेस मिलाइदिने सहयोगी हुनुहुन्थ्यो । विश्वका विविध पक्षमा छलफल गर्न सक्ने बौद्धिक सभा हुनुहुन्थ्यो । घरव्यवहारमा सरसल्लाह गर्ने साथी हुनुहुन्थ्यो । मेरा साना साना सफलतामा सबैभन्दा बढी थपडी मार्ने समर्पित भक्त हुनुहुन्थ्यो । गोजीमा जहिले पनि मेरो तस्बिर बोकेर हिँड्ने निष्ठावान् पुजारी हुनुहुन्थ्यो । तल बेल्हाराको फेदीमा खेती गर्ने मानबहादुर उसको छोरीका लागि भएजस्तै मेरा बा मेरा लागि सिर्फ एउटा सामान्य तर अद्वितीय बा हुनुहुन्थ्यो ।
“नानी ⁄ यसपालि त एकमहिनै कटिसक्यो फोन आएन किन हो ?” मेरो फोनको प्रतीक्षामा दिन गनिरहने मेरा बा त्यही मीठो वाक्य हुनुहुन्थ्यो ।
“किन फोन राखिहाल्न हतार गरिस् नि“ घन्टौँ कुराकानी गरे पनि फोन राख्न गाह्रो मानेर मेरा कुरा सुनिरहने एउटा अनुपम श्रोता हुनुहुन्थ्यो । बा बिस्तारै मेरो मनैभित्र बस्न थाल्नुभयो ।
करिब एकवर्ष भइसकेछ बा अब यस दुनियामा मैले देख्न र सुन्न सक्ने रूपमा हुनुहुन्न भनेर आफूलाई विश्वास दिलाउनुपर्ने भएको तर यी बाह्र्र महिनाका हरेक जागृत क्षणहरूमा कुनै यस्तो पल नहोला मैले बाका विषयमा नसोचेको । यी तीनसय पैंसठ्ठी रातका कुनैपनि सपनामा बाको अनुपस्थिति भएन ।
बाको नियास्रो लाग्दा बाका प्रवचनका क्यासेटहरु सुन्छु अनि बाले लेखेका किताबहरु पढ्छु तर मनको कुनैपनि अंशले त्यो असह्य सत्यलाई अझै स्वीकार्न सकेको छैन । शारीरिक रुपले आफूलाई विभिन्न काममा अलमल्याए पनि हृदयको एउटा कुनामा बा यस्तो प्रभावकारी भएर बस्नुहुन्छ कि बाहिरको गतिविधिमा भन्दा म मनभित्रको बासँग बढी व्यस्त भएकी हुन्छु । हाँस्ता अनि अगाध खुसी हुँदा पनि कतै बाले देखेर आफूलाई बिर्सिएको ठान्नुहोला जस्तो लाग्छ । आँखा रसिलामात्र भए पनि मलाई दुःखी देखेर बा दुःखी हुनुहोला जस्तो लाग्छ । खै थाहा छैन बा नभएको मेरो जीवनमात्र होइन बा नभएको यो विश्व नै कसरी पहिले जस्तो चल्ला र ? अझै मेरो मनले यसै भनिरहन्छ ।
बा मेरो सर्वस्व हुनुहुन्थ्यो । कुनैपनि बेला एक्लो अनुभव भयो भने बालाई फोन गर्थें । विश्वको कुनैपनि मुलुकको बारेमा या कुनैपनि विषयमा लागेका उत्सुकताका प्रश्नहरू बासँग पुगेपछि आफसेआफ उत्तरित हुन्थे । “त्यसै होला होइन त ?” बाले मलाई आफूभन्दा कम विद्वान् नठान्ने प्रयास कायमै राख्नुभयो । केटाकेटीले केही राम्रो काम गरे, केही चाखलाग्दो र अनौठो कुरा भने पनि बालाई सुनाउन मन लाग्थ्यो । फोन गरेका बेला या चिठीमा समावेश गरिहाल्न मन लाग्थ्यो । मेरा छोराछोरीका मसिना उपलब्धिमा पनि मभन्दा बढी बा खुसी हुनुहुन्थ्यो । केटाकेटीलाई घरैमा केही नेपाली लेख्न र पढ्न सिकाएँ । बालाई त्यो थाहा दिन मन लाग्यो । उनीहरूलाई नेपालीमा चिठी लेख्न लगाएँ । तिनै चिठीको जवाफ बाको आखिरी चिठी थियो । मलाई बा नहुँदा आफूले नचलाइराखे पनि चाहिँदा त्यही छ भनेर विश्वास गरेको अर्को हात नभएजस्तो भयो ।
बाले छोडेर गएपछिको यो एकवर्षमा हजारौंपटक त्यस्ता क्षण आए जुन अनुभवलाई जस्ताको तस्तै बाँड्न केवल बा आवश्यक हुनुहुन्थ्यो । भविष्यमा अझै त्यस्ता अनगिन्ती क्षणहरू आउलान् बा नभई नहुने । बाविना नै मैले जीवन सामना गर्नुपर्नेछ । यो सोच्न पनि डरलाग्छ तर यो तथ्यलाई स्वीकार्नुको विकल्प पनि छैन ।
देख्ने, बोल्ने अनि छुनसक्ने बा मसँग हुनुहुन्न । त्यसो भन्दैमा बा मसँग के टाढिनुहुन्थ्यो । अब त झन् मसँग मेरो प्रत्येक धुकधुकीसँग सास फेरिरहने बा हुनुहुन्छ । बाले मेरै आँखा र कानद्वारा हेर्ने र सुन्ने गर्नुहुन्छ । अब त मैले बालाई बाहिर खोज्नु पनि पर्दैन । फोन गर्नुु पनि पर्दैन । मेरो मन सिमलको भुवा हुन्छ । वियोगको जालो पन्छिएपछि बा मसँगै हुनुहुन्छ । आफैसँग रहनुभएका बा पहिलेभन्दा पनि प्रिय हुनुहुन्छ । बासँग भेट गर्ने यो अमूर्त माध्यमसँग मैले अभ्यस्त हुनुपर्नेछ । यो क्रमलाई यस अभिव्यक्तिले एक इन्चमात्रै पनि अगाडि सार्न सकेमा म धन्य हुनेछु ।
( ‘हेमचन्द्र पोखरेल स्मृति ग्रन्थ’बाट ।)

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 27 श्रावण, 2077

लेखकका अन्य रचनाहरु