डङ्कने डाँडाको सियाँलमा

- माधव घिमिरे अटल

‘कसलाई पो के भन्नू ! समयको महङ्खव नबुझ्नु त हाम्रा साथीहरूको मौलिकता वैशिष्ट्य नै भइसक्यो ।’ कार्यक्रम संयोजक राजेन्द्रमान डङ्गोल एक्कासी पड्किए ।
उनी भित्रभित्रै मुर्मुरिरहेको प्रतीत हुन्थ्यो ।
आमन्त्रितहरू आइसक्दा पनि आयोजक संस्था त्रिशूली वाङ्मय प्रतिष्ठानका कतिपय पदाधिकारी र सदस्यहरूको उपस्थिति थिएन । पूर्व निर्धारित कार्यक्रमलाई आधार मान्दा दुई घण्टा विलम्ब भइसकेको थियो । खुसिबुँ सडकको छेउमा ‘पर्यटनका लागि साहित्य’ नारासहितको ‘रामकोट–बन्दीपुर साहित्य यात्रा २०७५’ लिखित व्यानरसहितको बसले कुरिरहेको थियो यात्रु ।
प्रस्थान गर्दा घामले पाइला हालिसकेको थियोे, यो झुरुप्प बस्तीमा । कवि, साहित्यकार र पत्रकार गरी बसमा सवार थियौँ हामी एकतीस जना ।
०००
श्रुतिमधुर नारा त्रिशूली वाङ्मय प्रतिष्ठानको ! पर्यटन र साहित्यलाई एउटै सिक्काको दुई पाटा बनाउने सर्वोत्तम कायदा । एकातिर नेपाली साहित्य भण्डार भरिने र अर्कोतिर नेपालको पर्यटन प्रवद्र्वनमा पनि टेवा पुग्ने ।
प्राकृतिक सौन्दर्यमा डुबुल्की मार्दा स्रष्टाहरूलाई कलात्मक अभिव्यक्तिको स्फूरण भइदिन्छ र त्यसको प्रभाव समाजमा पर्न जान्छ । कृत्रिमताबाट वाक्क भएका जो कोहीलाई पनि कुनै नयाँ ठाउँमा पुग्ने र त्यो ठाउँको वातावरणलाई रसास्वादन गर्ने तीव्र इच्छा हुने भएकोले कुनै ठाउँ विशेषको वास्तविकतालाई बाहिर ल्याउँदा सर्वसाधारणमा पनि त्यो ठाउँप्रति चासो बढ्न सक्छ । स्रष्टाको सिर्जनामा बयान गरिएका प्राकृतिक छटाहरू हेर्न उक्त ठाउँसम्म पुग्न सक्छन् । यसर्थ स्थलगत साहित्य लेखनबाट त्यहाँको प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक र धार्मिक क्षेत्रका बारेमा साहित्यकारहरूले चलाएको कलमले गन्तव्य पहिचान गर्न निश्चय नै महत्वपूर्ण भूमिका खेल्दछ । रामकोट साहित्य यात्राको उपादेयता यही थियो ।
त्रिशूली वाङ्मय प्रतिष्ठानको यो कार्यक्रमलाई साथ दिएको थियो, रामकोट सामुदायिक होमस्टेले । प्रायोजक थिए, बन्दीपुर गाउँपालिका र नेपाल पर्यटन बोर्ड । मुख्य पहलकर्ता भने त्रिशूली वाङ्मयका तत्कालीन महासचिव राजेन्द्रमान डङ्गोल । रामकोटलाई पर्यटकीय गन्तव्यको हैसियत दिने सार्थक प्रयास थियो, यो यात्रा ।
०००
साढे दश बज्दा बसले चरौँदी पु¥यायो ।
लाइफ ज्याकेट भिरेका, टाउकामा हेलमेट लगाएका र हातमा प्याडल लिएर उत्साहका साथ जलयात्राका लागि तयारी अवस्थामा देखिन्थे जलयात्रीहरू । उनीहरूलाई देख्दा उत्साहित भएथेँ म आफैँ पनि ।
“एक दिनको यात्रा यहीँबाट सुरु भएर कुरिनटारमा सकिन्छ ।” संयोजक राजेन्द्रमानले बोले ।
आहा ! जलयात्रा गर्न पाए ! सोच्दै थिएँ म ।
“तैतै तीन घण्टाको जलयात्रा पनि गराइदिएको भए त हुन्थ्यो नि आयोजक संस्थाले !”
भन्न मन लाग्दा लाग्दै रोकेँ मैले आफैँलाई ।
संस्थाका साथीहरूले ढिलो गर्दा उठेको रिस मेरेको थियो कि थिएन कुन्नि !‘ माग्नेलाई तातो भात’ भन्न बेर थिएन राजेन्द्रमानले । भनिहाले के जवाफ फर्काउनू मैले । फ्याट्टै जवाफ पो दिइहाल्छन् त !
यति प्रायोजक जुटाउन त कति कठिन भयो होला बिचरालाई ! नानाथरीको माग गर्न थालेपछि नभनून् पनि किन !
हेर्दा सुपारीजस्तो लागे पनि मान्छे काजुजस्तै हुन् राजेन्द्रमान ।
०००
पृथ्वी राजमार्गमा गुडिरहेका थियौँ हामी ।
कोही अन्ताक्षरी गाउँदै, कोही जोक सुनाउँदै । बसभित्र आ–आफ्नै तालमा रमाइरहेका थिए सहयात्रीहरू ।
केबलकार तलमाथि गर्दै गरेका दृश्य देखिन्थ्यो कुरिनटारमा । उहिलेउहिले आँबु खैरेनीबाट हिँडेर जाँदा ठ्याक्कै तीन घण्टा लाग्थ्यो रे । अहिले आठ मिनेटमै मनकामना पु¥याइदिन्छ केबलकारले । केबलकारमा सरर जाँदा खुब मज्जा आउने । गत सालमात्र चढेको थिएँ । अहिले देख्नेबित्तिकै फेरि चढूँझैँ लागिहाल्ने । लोभी मन त हो !
०००
त्रिशूली पुल पार गर्ने बित्तिकै निर्माणाधीन पुलमा अचानक मेरा नजर ठोक्किए ।
तनहँु जिल्ला प्रवेश भइसकेको थियो हाम्रो ! कवि भानुभक्त जन्मेको ऐतिहासिक जिल्ला ।
इतिहासलाई आधार मान्ने हो भने उबेला तनहुँसुरमा चिउँडो सानो भएका (तनुहनु) ऋृषिले तपस्या गरेकाले उनकै नाम समयको अन्तरालमा अपभ्रंश भई तनहुँ रहन गएको रे । तनहुँसुर वरपरका डाँडाका तीन चुलीहरूलाई उतिबेलाको राज्यको सुरक्षा व्यवस्था हेर्नका निम्ति प्रयोग गरिएको थियो रे । यसैलाई संस्कृत भाषामा ’त्रितुङ’ (तीनवटा पहाड) भनिन्थ्यो । कालान्तरमा ’त्रितुङ’लाई ‘तनुङ’ भन्दाभन्दै ‘तनहु’ किंवदन्ती छ । विश्वास लाग्दा छन् उपर्युक्त भनाइहरू ।
०००
काठमाडौँ र बन्दीपुरको सीधा दूरी ५६ कि. मि.मात्र भएपनि सडकको लम्बाइ भने १२२ कि. मि.को छ । नेपालका राजमार्ग यसैपनि व्यस्त हुने, त्यसमाथि पनि ठाउँठाउँमा रोकिएर प्रकृतिसित साक्षात्कार गर्दै जाँदा बन्दीपुर पुग्न साढे चार घण्टा लागेछ ।
सहभागीहरूलार्ई स्वागत गर्न बस स्टेशनमै मौजुद थिए, आशुतोष प्रधान, एउटा उम्दा होटल व्यवसायी र बन्दीपुर अग्र्यानिक होमका सञ्चालक । कार्यक्रमका लागि त्रिशूली वाङ्मय प्रतिष्ठान र रामकोटका संयोजक पनि । मीठो बोलिवचन । कसैको आँखामा नबिझाउने । आतिथ्य सत्कार उनको सनातनी व्यवसाय । बन्दीपुरको लन्च उनकै सौजन्य थियो ।
सहभागीहरूलाई आशुतोषसित परिचय गराउँदै राजेन्द्रमानले भने– ‘उनीबिना यो साहित्यिक यात्रा असम्भवप्रायः थियो ।’
खानापछि उनैले बन्दीपुरको सङ्क्षिप्त अवलोकन गराइदिए ।
दुईसय चालीस वर्ष पुरानो बजार । घरका बनावट हेर्दा दुरस्तै भक्तपुरझैँ लाग्ने । आशुतोषले जानकारी गराए– ‘पृथ्वीनारायण शाहले भक्तपुर जितेपछि त्यहाँका केही नेवारहरू भागेर यहाँ आएका थिए रे । उनीहरूले नै बसालेको बस्ती हो यो ।’
हरेक घर–घर जोड्ने ऐतिहासिक पेटीलाई जस्ताको तस्तै राखिएको छ यहाँ । बजारबाहिर आधुनिक भवन बनाउन थालिएको भएपनि पुरानो बजारभित्रका घरहरू पुरानै शैलीका छन् । यही विशिष्टता बोकेर सदियौँ खडा छ बन्दीपुर आफ्नो पृथक पहिचानसहित ।
बन्दीपुरको वृत्तान्त अमूल्य ऐतिहासिकता बताए आशुतोषले ।
पहाडकी रानीको विशिष्ट परिचय बनाएको बन्दीपुर एउटा यस्तो रमणीय टाकुरो हो जहाँ नपुग्नेले जिन्दगीमा कुनै कीमति सम्पत्ति गुमाएको महशुस गर्छ । १,०३० मिटर उचाइमा अवस्थित बन्दीपुर तनहुँको सदरमुकाम पनि थियो, २०२५ सालमा दमौलीमा सर्नुअघि । यहाँबाट अन्नपूर्ण, धौलागिरि, मनास्लु, गणेश हिमशृङ्खला, लाङटाङ र गौरीशङ्कर लगायतका हिमशैलहरू दृश्यावलोकनमात्र होइन, कर्मदाका किनारमा लमतन्न फैलिएका फाँटहरुसँग मितेरी गाँस्न पनि सकिन्छ । बुरुञ्चे डाँडाबाट प्याराग्लाइडिङ गरेर साहसिक पर्यटनलाई प्रवद्र्धन गर्न सकिन्छ । नेवारी कला, संस्कृति र जीवनशैलीको मिनी सङ्ग्राहलय मानिने बन्दीपुरमा खड्गदेवी, विन्ध्यवासिनी, थानीदेवी, महालक्ष्मी, नारायण, महादेव र मुकुन्देश्वरीजस्ता प्रस्तरमै मुस्कुराएर युगौंयुग बसेका मठ–मन्दिरहरूलाई साष्टाङ्ग दण्डवत् गर्न सकिन्छ । ६४ भन्दा बेसी जनजातिको घर, १० भन्दा बढी धर्म–संस्कृतिको आलय, ३० भन्दा धेरै भाषा–भाषिका प्रयोगकर्ताको मोहक थातथलोको नाडी छाम्न सकिन्छ । मगरहरुको उल्लेख्य बसोबास रहेको तनहुँमा झण्डै बराबरीको सङ्ख्यामा रहेका ब्राह्मण, क्षेत्री र गुरुङहरूसँग घाँटु, मारूनी र झ्याउरेमा रम्न सकिन्छ ।
प्रसिद्ध महाभारत काव्यका लेखक वेदव्यासको जन्मभूमि तथा तपोभूमि मानिने तनहुँ ऐतिहासिक, धार्मिक, प्राकृतिक र पुरातात्विक हिसाबले महत्वपूर्ण क्षेत्र हो । श्रृङ्गी, भृगु, च्यवन, परशुराम, सुकन्याजस्ता ऋषिमुनिको तपोभूमि रहेको यो क्षेत्र स्वाभाविकरुपमा लोकप्रिय हुने नै भयो । भौगोलिकरूपमा समेत तनहुँको प्रसिद्धिलाई कम आँक्न सकिन्न ।
२,३२५ मिटर उचाइको छिम्केश्वरी डाँडालाई शिर बनाएको तनहुँमा कोटथाम, राईपुरकोट, मिर्लुङकोेट, चोक, तनहुँसुर, बन्दीपुरजस्ता चुलीहरू छन् भने खैरेनीटार, सेराटार, केशवटार, हिलेटार, भन्सारटार, पतेनीटारजस्ता फराकिला टारहरु अवस्थित छन् । त्यसरी नै व्यास गुफा, सिद्ध गुफा, पराशर गुफा, सती गुफा, अनन्त गुफा, शीत्तल गुफा र मिलेनियम गुफा रहेको तनहुँले आन्तरिक र बाह्य पर्यटक भिœयाउने पर्याप्त सम्भावना बोकेको छ ।
०००
हात्तीको आकृतिझैँ देखिने पहाडको काखमा रहेको सुन्दर, सफा र शान्त बन्दीपुरको भ्रमणपश्चात् सुरू भयो रामकोटसम्मको पदयात्रा । असीऔँ वसन्तमा प्रवेशगर्न लागिसकेका प्रमुख अतिथि तुलसी दिवस भने बन्दीपुर गाउँपालिकाको गाडीमा सवार भए ।
“उः त्यो थुम्कासम्म मात्र हो उकालो, बाँकी बाटो सजिलो छ, तेर्सो र तर्पायँ ओरालोमात्र हो रामकोटसम्मै । साढे दुई घण्टा जति लाग्ला ।” गफिँदै जाँदा आशुतोषले भने ।
उमङ्का पाइला उठायौँ हामीले ।
आशुतोषकै पाइला पछ्याइरहेका थियौँ । थुम्कामा पुगेपछि फर्केर हेरियो बन्दीपुरको सेरोफेरो र हिमाली सौन्दर्य । सबैको ध्यान खिचियो प्राकृतिक सौन्दर्य–सिर्काहरूमा । पश्चिमतर्फ अन्नपूर्ण र मनास्लु लगायतका हिमालहरूको मनमोहक दृश्य । उत्तेजित बन्दै सागर भेट्न उर्लिएकी कुमारी कर्मदा । प्रकृतिको लम्पटमा लम्पसार परेको लिगलिगे थुम्को । तल कछारमा डुम्रे बजार । अझ त्योभन्दा माथि हरियो रङ्गले लपेटिएका पहाडका तरेली । त्योभन्दा पनि माथि छ बन्दीपुर, आकाशको माथै मुन्तिर ।
बन्दीपुरको उचाइभन्दा माथि पुग्दाको उन्मादले गुन्गुनाउँन थालेँ म–
‘तल प¥यो डुम्रे बजार माथि प¥यो बन्दीपुर
के छ नानी तिम्रो त नि सुर .................................’
जनजिब्रोको यस्तो गीत समाजले गाएको हुन्छ र यसलाई बचाउने जिम्मा पनि समाजकै हुन्छ । यसैको कलेवरमा छ नेपाली जीवन छर्लङ्गिने ऐना । गीत गाएर मैले गीतलाई नै बचाउने प्रयत्न गर्दै थिएँ ।
फर्केर हेरेँ । सहयात्रीहरू निकै पछाडि परिसकेका थिए । मेरो पाइला पछ्याइरहेका थिए राजेन्द्रमानले । प्रायः गन्थन गरिरहनुपर्ने उनको बोल्ती बन्द भइरहेको थियो ।
“कुन दुनियाँमा हुनुहुन्छ ?” भनेर सोधूँ कि जस्तो पनि लागेकोे थियो ।
तर उनको एकाग्रता तोड्न चाहिनँ ।
बरु उनी आफैँ बोले– ‘बन्दीपुरे उकाली लामो, मस्र्याङ्दी डुङ्गाले तरेर.......... ।’
तारादेवीले गाएको यो गीत कसले लेखेको थाहा छ ? उनको जिज्ञासा ।
‘मवीवि शाहले ।’ मैले भनेँ ।
इतिहास भन्छ– धेरै अघि डुम्रेबाट बन्दीपुर पैदल आउँदा लेखेका थिए उनले यो गीत ।
फेरि बोल्ती बन्द भयो राजेन्द्रमानको । सायद उनी ओठ नखोली गाउँदै थिए गीतको त्यो स्थायी । तारादेवीको सुमधुर स्वरलहरीले फेरि निकै बेर पछ्याइरह्यो मलाई ।
सामान्य उकालोपछिको बाटो सबै सजिलो । कति सजिलो पदयात्रा ! आनन्द लिइरहेका थियौँ हामी । हुनत यात्रा सदासर्वदा आनन्ददायक नै हुनुपर्छ भन्ने छैन, न त सोचेजस्तो र खोजेजस्तो नै । यात्रामा यदाकदा पीडाका पयरहरू घिसार्नुपर्छ, कहिलेकाहीँ छियाछिया हुनसक्छन् हृदयका कुनाकाप्चा । किन्तु यात्राले हाम्रो मानसपटलमा परिवर्तन गर्छ, गर्नुपर्छ । यात्राले मगजमा अमिट छाप त छोड्छ नै, यसले नसानसामा गहिरो प्रभाव पनि छोड्छ । अत्यन्तै अमूल्य प्राप्ति हुन्छ, हर यात्रामा । एउटा अविस्मरणीय संयोगबाहेक केही थिएन, आफ्नो सिर्जना सुनाउन र रामकोटको रामकहानी सुन्न लालायित स्रष्टाहरूको ।
सबैसबै आआफ्नै तालगाँठीमा थियौँ हामी, त्यो साढे दुई घण्टाको पदयात्राभर । आफ्नै किसिमले आनन्द लिइरहेका थियौँ । भूगोलको माटो छाम्ने तृष्णा मेट्दै थिए भैरवी ढुङ्गाना र कृष्णकिशु न्यौपाने । मीठो मुस्कान छर्दै थिए, हिमशैल हेरिरहेका नियात्राकार युवराज नयाँघरे । थकित शरीर घिसारिरहेझैँ लाग्थे पत्रकार अश्विनी कोइराला । क्यानभासमा रामकोट उतार्न आतुर देखिन्थे, कलाकार देवेन्द्र थुम्केली, डा. रामकुमार भौकाजी र केशवराज खनाल । प्रकृतिमाझ पनि स्वास्थ्य चिन्तामा डुबुल्की मारि नै रहे श्रीहरि फुयाँलले । जहाँ गएपनि सन्तानको स्याहारसुसारमा लाग्नैपर्ने बिचरी लक्ष्मी रूम्बाको चाहिँ आफ्नै बाध्यता ।
‘छ नि..............’ थेगोसँगै खुब गफिए, श्यामराज पाठक । अनेक वार्तालापमा तल्लीन भइरहे कृष्णदेव रिमाल । उटपट्याङ गफमा मस्त थिए, राम लोहनी । कविताको कैरन ओकल्न उत्प्रेरित देखिन्थे कवि आरएम डङ्गोल । युवा जोशका साथ काव्यकर्ममा होमिएका प्रज्वल अधिकारी हुन् वा शिव आर्य; रङ्गकर्मी पुरू लम्साल हुन् वा सदासर्वदा शालीन लाग्ने प्रभाती किरण; निर्धक्क रचना वाचन गर्ने निर्भीक रायमाझी हुन् वा उतिसारो घुलमिल नभइसकेका गीता रेग्मी र सरू पोख्ररेल– ‘सन्तान थरीथरीका’ भनेझैँ लाग्थ्यो ।
अर्कोतिर व्यवस्थापनमै व्यस्त थिए टोली नेता राजेन्द्रमान । लिएको जिम्मेवारी सही ढङ्गले पूरा गर्नैपर्छ भन्ने दृढताले पोतिएको थियो उनको चेहरा । कतै यात्रा अविस्मरणीय नहोला कि भन्नेमा चिन्तित थिए कि उनी झैँ भान हुन्थ्यो बेलाबखत ।
हरियो पहाडको छहारीमा एकछिन सुस्ताएर पाइला उठाउँदा सँगै थिए, क्यामराम्यान आदर्श महत । ओरालो लाग्दैगर्दा रामकोटतिरबाटै फर्किरहेका एक पुरुष र चार महिला फ्रान्सेली पर्यटकहरूसित जम्काभेट भयो ।
बोली मिसाउने मेलोस्वरुप हामीले अभिवादन ग¥यौँ उनीहरूलाई ।
सबैभन्दा अगाडिकी केटीलाई सोधेँ, “हाउ इज रामकोट ?”
“अम्याजिङ ! वी वान्टेड टू स्टे देयर बट् दियर इज नो होटल ।” उनले भनिन् ।
सुस्ताउने मेलोमा एकैछिन सम्वादमा जोडियौँ हामी । अन्नपूर्ण बेसक्याम्प पदयात्रा सकेर काठामाडौँ फर्कने क्रममा त्यहाँ पुगेका रहेछन् उनीहरू । दुई हप्ताका लागि आएका उनीहरूको विदा तीन दिनमात्र बाँकी रहेछ । भन्दै थिए– ‘वी इन्जोइड ट्रेकिङ इन नेपाल ।’
मेरा लागि एउटा संयोग थियो त्यो । विदेशीसित भेटघाट र कुराकानी गर्ने अवसर हम्मेसी जुट्दैन मलाई । सँगैबसेर सामूहिक तस्बिर लियौँ हामीले ।
छुट्नुअघि एउटीले आफ्नै भाषामा भनी– ‘मेक्सी ! अर्थात् धन्यवाद !’ ऊ अङ्ग्रेजी नबोल्ने रहिछे ।
अर्कीले भनी, “राभी द भू रक्रँथे ।” अर्थ रहेछ– तपाइँहरूलाई भेटेर खुसी लाग्यो ।
फेरि अर्कीले भनी, “आ बियाँतो !” अर्थात् ‘फेरि भेटौला !’
अङ्ग्रेजी नबोल्ने भएरै होला । केटाबाट भने कुनै प्रतिक्रिया आएन ।
कति शालीन र भद्र ! मेरो निष्कर्ष थियो– विदेशीहरू राम्रा हुन्छन् । फ्रान्सेलीहरूको चम्किलो मुहार अन्नपूर्ण र मनास्लुझैँ टल्किरहे आँखामा । हिमालको दर्पणमा त्यही तस्बिर देखियो धेरैबेरसम्म । उनीहरूले फ्याँकेको मुस्कान आइरह्यो झझल्को बनेर । सम्झनाका तरेलीसँग जिस्कँदैजिस्कँदै रामकोट पुगेको पत्तै भएन । घाम पनि अस्ताचलको वरपर पुगिसकेका थिए त्यतिबेला ।
८८ वटा घरधुरी भएको सानो गाउँ । डङ्कने डाँडो काखमा अवस्थित मगर जातिमात्रको बस्ती । साना र चिटिक्क परेका परम्परागत घरहरू । ढुङ्गाको छानो र प्रत्येक घरमा बार्दली निकालिएको । केहीकेही घरको संरचना भने गोल परेको । आँगनको डिलमा खाँबा गाडेर बनाएको मकैको कलात्मक कुन्यू, छानाभरि लडिरहेका फर्सी र कुभिण्डोले निकै शोभा बढाइरहेको थियो ।
मनोरम देखिन्थ्यो रामकोट ।
कास्की जिल्लाको घान्द्रुकलाई गुरूङ बस्तीका रूपमा चिनिएझैँ तनहँुको रामकोटलाई ‘मगर सम्पदा गाउँ’को रूपमा चिनाउन किन सकिन्न ? जिज्ञासाको सोलाले हानि नै रह्यो ।
हाम्रो स्वागतार्थ बनाइएको थियो, स्वागतद्वार ।
तुलमा लेखिएको थियो– ‘साहित्यकारहरूलाई रामकोटमा स्वागत छ ।’
स्वागतद्वारमै उभिएका थिए स्थानीयहरू, लामबद्ध भएर । त्यसपछि हामीलाई गाउँको बीचको घरमा लगियो । सुकुल र गुन्द्री ओछ्याइएको थियो आँगनमा । सेलरोटी दही, मही र फलफूलले सत्कार गरे उनीहरूले ।
रामकोटबासीमा भर्खरैमात्र होमस्टेको अवधारणा विकास भएकाले लगभग १०–१५ घरमा मात्र होमस्टेको सुबिधा रहेछ यतिखेर ।
हाम्रा लागि आशुतोषले जसोतसो सुत्ने ठाउँको प्रबन्ध मिलाए । गाउँभरि छरियौँ हामी एकतीस जना ।
त्यहाँको होमस्टे सञ्चालनका लागि पूर्वाधारको स्तरोन्नति गर्न बढीभन्दा बढी रामकोटबासीलाई होमस्टे व्यवसायमा लाग्न प्रेरित गर्नुका साथै होमस्टे व्यवस्थापन र पाकशिक्षा सम्बन्धी आधारभूत तालिम पो दिनुपर्ने देखेँ मैले ।
रामकोटको बस्तीबाट देखिने सूर्यास्तसहितको मोहक हिमशृङ्खलाको दृश्यावलोकन ग¥यौँ हामीले । गाउँको अवलोकनमा हामीलाई साथ दिइरहेका थिए, पर्यटन समाजका अध्यक्ष गुप्त भण्डारीले । यही मेलोमा उनले भने, “रामकोटबाट चितवनसम्म र रामकोटबाटै कास्कीको बेगनास तालसम्मको वैकल्पिक पदमार्ग सम्भव भएकोले ती ठाउँहरूमा पुग्नका लागि रामकोट मूल ढोका हो ।”
०००
बेलुकिपख गाउँमै भेटिए पूर्णसिंह थापा, स्थानीय निकाय प्रमुख । शालीन छवि भएका समाजसेवी । कला र साहित्यलाई व्यावसायिक बनाउनुपर्ने विचारका पक्षपाती ।
कला र संस्कृतिबारे खुलेर भने– “एउटा कालखण्डमा करिबकरिब सबै मान्छे कलाकार वा साहित्यकार हुन्छन् । संस्कृति, कला र साहित्य उन्नयनका निम्ति मैले १२ लाख बजेट विनियोजन गरेको छु ।“
गाउँपालिकाभित्रका १० होमस्टे प्रवद्र्धनका निम्ति मात्र एक करोड बजेट निकासा गरेको खुलासा छ उनको ।
“होमस्टे बन्दा आन्तरिक पर्यटन प्रवद्र्धन गर्न सकिन्छ । सामान्यजनका निम्ति त्यसबाट प्राप्त मुनाफाले पनि केही भरथेग गर्न सक्छ ।” उनले भने ।
०००
अँध्यारोले उज्यालो निलेपछि चल्यो सुनसान सन्ध्याको साम्राज्य । प्रारम्भ भयो मारुनी, चुड्का र कौरा अर्थात् कानराहा (महिला वा पुरुषले निमन्त्रणा गर्नु), डङ्कने डाँडाको सियाँलमा । युवावयका आधा दर्जन गायक र नर्तकी पाहुनाको मनोरञ्जनका निम्ति तातिए, भलै हिमशैलले चिस्याइरहेको ठिहिरोले आफ्नो शीतको आवेग देखाइसकेका थिए ।
शीतले कसैलाई कठ्याएन, जाडोले कसैलाई अत्याएन किनकि सारा साहित्यकारहरू आनन्द लिइरहेका थिए, जसरी हर्षविभोर भएर पोखिएकी थिइन् चाँदनी, दूरक्षितिजको पारिपट्टि । कसैको जादुमा लट्ठिएझैं प्रतीत हुन्थ्यो तमाम सर्जकवर्ग । रातको रोमाञ्चक आनन्दमा हरायौँ हामी रामकोटका ऐराकीहरूसँगै ।
घडीको सुईले अर्को दिनको सङ्केत गर्दासम्म कसैका आँखाले सुस्ताउन खोजेनन् । रात जागेको बेला जाग्राम थियो स्रष्टाको डफ्फा । शनैःशनैः आँखाले विश्राम लिन खोजे । क्रमशः दर्शक, स्रोताको भीड लाखापाखा लाग्न थाल्यो, अर्को बिहानीको प्रमुख कार्यक्रममा सहभागिता जनाउनुपर्ने हुनाले । अपेक्षा थियो, रातपछिको सुन्दर बिहान र प्रभातीय प्रमुख कार्यक्रमको सफलताको ।
०००
भोलिपल्ट ।
सखारै ब्यूँझेर दैलो–कसेर गरिसकेका थिए रामकोटबासीले । अरू दिनभन्दा छिट्टै आफ्ना सबै नित्यकर्म पूरा गरेर सामूहिक काममा उपस्थिति देखाइसकेका थिए, उनीहरूले त्यो बिहान । अन्यत्रझैँ विदेसिएका छन् गाउँका युवाहरू । निःसन्देह कामकाजी जनशक्तिको अभाव छ रामकोटमा । तथापी कार्यक्रम फितलो नहोस् भनेर सावधान रहेकी बिहीसराजस्तै सक्रिय देखिन्थे– आइतमाया, सोमसरी, मङ्गली, बुधी, शुकमाया र शनिसराहरू । आआफ्ना जिम्मेवारी पूरा गर्दै थिए एकाग्रतापूर्वक । बिछट्टै बेजोड थियो, आफ्नै वेशभूषामा सजिएका उनीहरूको फ¥याकफुरूक । ग्रामीण पर्यटन प्रवद्र्धनको आशाका किरणले उजेलिएका थिए, उनीहरूका मुहार । आशुतोषको दौडधुप चर्कै भए पनि निर्धारित समयमा कविता गोष्ठी सुरु हुन सकिरहेको थिएन ।
कार्यक्रम सकेर खाना खानेबित्तिकै गर्नुपर्ने दुई घण्टाको पैदलयात्राको तनाव उस्तै छ । बन्दीपुर पुग्नुपर्छ, काठमाडौँ फर्कने बस भेट्न । नौबीसेदेखि कलङ्कीसम्मको ट्राफिक जाम सम्झँदै पट्यार लाग्छ । घर पुग्दा कति बज्ने हो । चिन्ताको खण्डग्रास परिसकेको थियो मनमा । कार्यक्रम छिटो सुरू भइदिए हुन्थ्यो भन्ने कामना गरिरहेको थिएँ म ।
शनैःशनै पोतिन थाले सौर्य रश्मि पश्चिमका शिखरहरूमा । यता डङ्कने डाँडाको शिरमा पनि रक्तिम आभा चुलियो । डङ्कनेले सूर्योदयको दृश्यलाई छेके पनि प्रत्येकको हृदयमा सञ्चार हुँदै थियो उज्यालो । कल्पना गर्दै थिएँ– सहज गोरेटो बाटो भएको भए मिर्मिरेमै डङ्कने डाँडो चढेर डङ्कनेमाथि नपुग्दैको सुन्दर घाम गोचर गर्दा कति मज्जा हुन्थ्यो होला । अझ त्यहीँबाट प्याराग्लाइडिङ गर्न पाए !
०००
होमस्टेको आँगनमा उभिएर दृश्यहरू हेर्दैगर्दा देशप्रेम र गौरव छचल्किन थाल्यो मभित्र । हठात् चलमलाउन थाले मेरा ओठ– ‘नेपाल आमा, मेरो प्यारो धर्ती र यो आकर्षक पर्यटकीय गन्तव्य । लाग्थ्यो, भर्खरमात्र पर्यटन व्यवसायको अवधारणा बसेको रामकोटबासीमा खुसी फुलिरहेको छ । हतपत क्यामेरामा निक्षेप गरेँे खुसी फक्रिएको त्यो भूगोलको चमकलाई र त्यसैत्यसै रोमाञ्चित भएँ म ।
रामकोटलाई पर्यटकीय गन्तब्यको रूपमा विकास गर्न र त्यहाँको स्थानीय मगर भाषा, उनीहरूका कला र संस्कृतिको जगेर्ना गर्नैपर्छ । यहीबाट मापन गर्न सकिन्छ सर्वाङ्गीण प्रगति ।
रामकोट आफ्नो ध्येयमा निर्वाध एवम् निरन्तर अघि बढ्न सकोस् भन्ने कामनाका साथ साहित्यिक यात्रा तु¥यौँ हामीले ।
तल हेर्दा उत्तिकै आवेगमा बगिरहेकी थिइन् कर्मदा, गण्डकीको सेरोफेरोका बहहरू सुसेल्दै ।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 27 श्रावण, 2077

लेखकका अन्य रचनाहरु