पाइलामा हिउँ, आँखामा हिमालय

- राजेन्द्रमान डंगोल

घामको किरणले कङ्गारु हिमालको शिर नचुम्दै छोड्न लागेका थियौँ नारगाउँ ।
बेलैमा पुग्नु थियो, काङ लाको निम्तो मान्न । काङ लाको आतिथ्य, हामी अतिथि । के चाहियो र ! मनभरि थियो खुसी र कुतूहल । सरासर काङ लाको आँगन पुगेर अन्तिम पटक हेर्नु थियो धीत मर्नेगरी नार–फुको सेरोफेरो । ग्रहण गर्नु थियो काङ लाको न्यानो आतिथ्य । पिउनु थियो पेटभरि, हिमाली सिरेटो ।
“अब कहिले आउनु हुन्छ त ?” शान्ति होटलका सञ्चालक नीमा घलेलेको प्रश्न मलाई ।
“नमरी बाँचे, कालले साँचे अर्को वर्ष दाइ । तपाईंहरूको घोडेजात्रा हेर्न मन छ मलाई ।” मेरो जवाफ ।
“नारफुमा बस्ने हामी नयाँ वर्षको स्वागतमा ल्होसार मनाउछौँ । आपसमा शुभकाना साटासाट गर्छौँ । दर्जी(तिरहान्ने पर्व) पनि हुन्छ । फल्याकमा राक्षसको चित्र राखिएको हुन्छ । हामी त्यसैलाई ताकेर वाण हान्छौँ । सहभागीहरूका बीचमा कडा प्रतिस्पर्धा हुन्छ । ठीक ठाउँमा विशाना लगाउन सक्नेले पुरस्कार पाउँछ । नार र फुमा अन्नबाली लगाइसकेपछि ‘छे कोरो पर्व’ मनाइन्छ । यो बेला धार्मिक ग्रन्थ बोकेर खेतबारी र गाउँ घरमा परिक्रमा गरिन्छ । यसो गर्दा गाउँलेलाई शुभ हुने, बालीमा किरा नलाग्ने र उत्पादन राम्रो हुने विश्वास गरिन्छ । वर्षा लाग्नु अघि घोडेजात्रा पनि हुन्छ । हामी एकै ठाउँमा भेला भएर घोडा दौडाउछौँ ।” हिजो धर्मशाला छाड्नुअघि फुन्चोक ठीन्लेले भनेका थिए ।”

उनले त भनेका थिए– “ह्युम पूजा र माने (स्याप)नाच, पनि हुन्छ । प्रत्येक वर्ष हिउँ पर्नुअघि गाउँ छोड्दा विधिवत् पुजा हुन्छ ।”

“संमृद्ध छौँ हामी संस्कृतिमा । फुमा मनाइने ताक्र्ये पर्व र नारको छे कोरो र घोडेजात्रालाई पर्यटनसित जोड्न सके राम्रो हुन्छ । छे कोरो पर्वलाई निरन्तरता दिने कोशिस गर्नु होला ।” मेरो सुझाव ।
स्वीकारोक्ति थियो नीमा दाजुको ।
“ल राम्ररी जानुस् है ! केही समस्या परे फोन गर्नुहोला ।” बिदाइ गर्दै भने उनले ।
“काठमाडौँ आउँदा भेट्नुपर्छ नि !” बिदा माग्दै भनेथेँ मैले ।
मनमा लागिरहेको थियो– औपचारिकतामात्र नभएर उनीहरूलाई कुनै दिन अतिथिकै रूपमा स्वागत गर्न पाए हुन्थ्यो ।
००००
एकाबिहानै के रुच्नु ! बानी भए पो ! जबरजस्ती एक कचौरा पोरिज र एक कप चियाको नास्ता गरेको थिएँ । बाटोमा भोक लाग्ला भनेर शान्ति दिदी र निमा दाइले उसिनेको अण्डा र रोटीको पोको हातहातमा थमाए हामीलाई । पाहुना खुसी पार्ने कस्तो कायदा ! दिएर र खाएर त कहिले कसलाई पो पुग्छ र ! सबैभन्दा ठूलो कुरा त बोलिबचन नै रहेछ । बोलिबचनमा मिठास भए मात्र पनि लाख हुँदोरहेछ । सबै ठाउँका होटलवालाहरू यस्तै भइदिए पो ! मेरो एकालाप ।
नजरबाट छेलिए पनि मनबाट माया छेलिएन नारगाउँको, जसरी छेलिएन कङ्गारु हिमाल र पिसाङचुलीको । हिमालमै सल्बलाइरहेझैँ लाग्थ्योे शान्ति दिदी र निमा दाइकोे प्रतिविम्ब ।

४,११० मिटरबाट पुग्नु छ ५,३२० मिटरको उचाइ र फेरि झर्नु छ ङवाल ३,५०० मिटरमा । लामै छ आजको यात्रा । हामी पाँच नबज्दै निस्किसक्नुपथ्र्यो । ढिला त भएकै हो । अझ हिजो काङ ला फेदीमै बास बसेको भए निकै नै छोटिन्थ्यो बाटो । नार आइपुग्ने बेलामा एक जनाले सल्लाह नदिएको त होइन तर त्यति सुन्दर नारगाउँ छाड्न मनले नमानेपछि के गर्नु !
हाम्रो यात्राको दोस्रो गन्तव्य थियो– नारगाउँ । नारफेदीमा बसेको साँझ सादेगुम्बाका लामाले भनेका थिए– तिब्बतबाट आएका नार वंशावलीका तीनभाइ त्यहाँ आएर बसेपछि गाउँको नाम नार हुन गयो । उनीहरूको धर्म नारफोबे भएकोले गुम्बाको नाम पनि नारेकाकी छोलिङ गुम्बा भनेर राखियो ।’
नीमा घलेसँग नारको अर्थ सोधेको थिएँ, नार आइपुग्नेबित्तिकै ।
‘काङ लातिरबाट आएका सिकारीले नाउरको सिकार गरेछन् । बाणले घाइते नाउर छटपटाउँदै यहाँ आइपुगेपछि मरेछ । नाउर मरेको ठाउँ भएकोले यो ठाउँलाई नाउर भनिन थाल्यो । नाउर भन्दाभन्दै नार भएको रे ।’ भिन्न थियो उनको कथन ।
तर, दुवै मिथक सही लाग्ने । जेजे भएपनि यो ठाउँको नाम नार नै हो । फेरि अपभ्रंश भएर अर्कै नाम त नरहला कि ! मेरो मनको कुरा ।
हठात् आएको फिलिपको यादले नरमाइलो भइरहेको थियोे, केही हराएजस्तै । बिचरा फिलिप ! मेरो ‘ड्रिम डेस्टिनेसन’ भन्थे । यात्रा पूरा नगरीकनै फर्कनु प¥यो । निर्दयी कालले पनि असमयमै लगिदिन्छन् मान्छेलाई । बज्रपात सहनुपर्छ मान्छेले जीवनमा । उन्नाईस वर्षदेखि थाती रहेको उनको स्वप्न गन्तव्यमा पाइला टैक्दै थिए उनी । कस्तो दुर्भाग्य ! फेरि थाती रहन गयो उनको सपना । थाहा छैन– उनका लागि यो दिन फेरि आउने हो कि होइन । उनका स्नेही यादहरू सँगालिरहेको छु मानसपटलमा ।
००००

हिजो मज्जाले आराम गरेकोले ज्यान हल्का भएको छ । अझ रातमा राम्ररी निदाउन सकेको भए त झन् कस्तो हुन्थ्यो होला । नारफेदीमा ओढ्ने गतिलो नभएर निदाउँन सकिएन । नारमा उचाइको कारणले निदाउँन सकिएन । उचाइमा आएर मज्जाले निदाउँछु भन्नु चाहिँ मनको लड्डु घ्यूसित खानुजस्तै रहेछ ।
दिनभरि पग्लने रातभरि जम्ने । जमेका थिए पानीका खोल्सीहरू सिसाजस्तै भएर । चट्टानजस्तै कडा भएको छ माटो पनि । हिँड्दा ‘च¥यापच¥याप’ आवाज आउँछ । बाटैभरि पातलो हिउँ छरिएको छ । घामको किरण नलुट्पुटिएकोले हिँड्न सजिलो छ ।
शान्ति दिदीले भनेकी थिइन्– ‘यसपालि हिउँ पर्न ढिलो भयो । अस्ति भर्खरमात्र पहिलो पटक परेको हो । हिउँ बाक्लो नभएकोले हिँड्न सजिलै हुन्छ । चिन्ता नगर्नुस् ।’
नारबाट काङ् ला पुगेर फेरि नार फर्केका दुई स्लोभेनियालीलाई अघिल्लो साँझ डाइनिङ भेटेका थियौँ । बिहान छ बजे निस्केर काङ ला पुगीकन चारबजे नै नार फर्किसकेका थिए । उनीहरू उही स्लोभेनियालीहरू थिए जसलाई दुई दिनअघि फुबाट आउँदा च्याखुको लन्चमा भेटेका थियौँ ।
उनीहरूले भनेका थिए– ‘पाँचहजार मिटरभन्दा माथि हिउँ बाक्लो छ ।’
युवावयदेखि नेपालमा पदयात्रा गर्न सुरु गरेका यी दुईले सत्तरी वर्ष शिशिर पार गर्दा पनि यात्रा गर्न छाडेका छैनन् । मान्नैपर्छ उनीहरूको क्षमता र पदयात्राप्रतिको मोहलाई ।
मैले सोधनी गरेको थिएँ– “यो उमेरमा पनि पदयात्रा गर्ने यत्रो जाँगर ?”
“हामी हरेक दिन चालीस किलोमिटर हिँड्छोँ ।” उनीहरूको जवाफ ।
यात्रालाई उमेरले कहाँ छेक्दोरहेछ र ! उनीहरूलाई देख्दा जागेको आत्मविश्वासले काम गरेको छ हामीलाई ।
राजमार्गजस्तै फराकिलो पदमार्गमा हिँडिरहेका छौँ हामी । जतिजति माथि गयो उतिउति हिउँको सघनता पनि बढ्दै छ । हिमउद्यानभित्र पसेजस्तै महसुस भइरहेको छ । पाइलाभरि हिउँ, आँखाभरि हिमाल । जतिजति घामको किरण फिँजियो त्यति नै उजेलिँदै छ परिवेश । र, फर्काउँदै छ प्रकाश हामीतिरै । अनुहारभरि दलेको छु ‘मोस्चराइजिङ क्रिम’ परावर्तित किरणबाट गालाको छाला जोगाउन ।
हिउँलाई टाढाबाट हेर्नु एउटा कुरा । हिउँसम्म पुगेर हिउँलाई सुम्सुम्याउनु, खेल्नु र महसुस गर्नु पनि एउटा कुरा । तर हिउँको सङ्गत गर्नु नितान्त अर्कै कुरा । हो, हिउँ भोग्न हिउँसित सङ्गत गर्नैपर्छ । अझ हिमालमै बस्नुपर्छ । अनि मात्र थाहा हुन्छ हिउँको क्रूरता र निष्ठुरता । आफू तात्न नसके मान्छेलाई चट्टान बनाइदिन्छ हिउँले । जोगिन सक्नुपर्छ हिउँसित, नत्र खाइदिन्छ हात, खुट्टा र बनाइदिन्छ आँखालाई अन्धो ।
दायाँतर्फ चट्टानी पहरा पसारिएका, बायाँपट्टि जोङ रिदेखि काङ लासम्मका चुचुराहरू लहरै उभिएका । बिहानको भन्दा भिन्दै रूप धारण गरिसकेका छन् हिमालहरूले । ती सुन्दर दृश्यहरूको तस्बिर लिन मन लाग्छ तर बाक्लो पञ्जाभित्र लुकेका मेरा हातहरू बाहिर निस्कन मान्दैनन् ।
नौ बज्दा काङ्ला फेदी(४,५३० मिटर) पुगियो । फेदी भन्नेबित्तिकै साँघुरो ठाउँ होला भन्ठानेको थिएँ । तर फराकिलो रहेछ । यति फराकिलो ठाउँमा थियो एउटै मात्र चिया घर । त्यो पनि रित्तै । हिजैमात्र यसका सञ्चालक नार झरेका । अब चार महिनाको लागि रित्तै रहन्छ यो घर । हिजो यतै बस्न पाएको भए आज आधाबाटो काटिसकिने रहेछ भन्ने पनि लागिरहेछ । मनमा पनि केके तरङ्ग उठ्छ केके !

उचाइ अनुकूलनको लागि उत्तम ठाउँ हो काङ् ला फेदी । नारको विकल्पको आश्रय पनि । नारमा जत्तिकै होटलहरू हुनुपर्ने हो यहाँ तर छैनन् । अन्नपूर्ण चक्रीय मार्गमा जस्तै पर्यटकहरूको प्रवाह हुने भए त थोरङ फेदीमा जस्तै लगानी गर्थे होलान् मान्छेहरूले ।
सुनेको थिएँ– हिउँचितुवाको बस्ती पनि हो यो क्षेत्र । दर्शन त कहाँ पायौँ र हिउँ चितुवाको ! एकजोडी नाउर भने बुर्कुसी मार्दै बाटो छेक्न आइपुगे । मेताबाट क्याङ जाँदा त थुप्रै जोडी भेटिएका थिए । सोचेँ– नाउरजोडीको सट्टा हिउँचितुवा यसरी सामुन्ने आइदिएको भए के हालत हुन्थ्यो होला हाम्रो !
हिउँचितुवाको संसारमा नाउरहरू पनि ! अचम्भित हुँदै म बोलेँ ।
नाउरहरू भएरै त हिउँचितुवा पनि भएको होला नि । जयको प्रतिक्रिया ।
हुन पनि हो । नाउर नहुँदो हो त हिउँचितुवाको जीवनचक्र कसरी चल्नु ! हिउँचितुवाको जीवनका लागि जीवन समर्पण गर्नुपर्छ बिचरा नाउरहरूले । प्रकृतिको नियाँ !
निकैबेर मुखामुख ग¥यौँ हामीले नाउरजोडीसँग । लजाएजस्तै, केही कुरा भन्न खोजेझैँ प्रतीत हुन्थ्यो तिनलाई देख्दा । सायद आजको मौसम राम्रो रहने सन्देश दिँदै थियो कि !
जता हे¥यो ढुङ्गैढुङ्गा छ; त्यसमाथि पनि हिउँ परेको । खै, के खान्छन् कुन्नि ! हेर्दा त खिरिला देखिन्छन्, दशैँका लागि पालेको खसीजस्तै । उचाइमा बस्ने जात हो यो । हिउँ नपर्दा के के नपुगेजस्तो लाग्दो हो यिनलाई !
आँखाको भाषा बुझ्न खोज्दाखेज्दै नाउरजोडी लाग्यो आफ्नो बाटो । हामी पनि लाग्यौँ आफ्नै बाटो ।

फलामे पुल तरेपछि काङ ला पहाडको स्पर्श ग¥यो पैतालाले । अब भन्ज्याङसम्मकै बाटो उकालो र ठाडै उकालो । पदयात्राको सबैभन्दा कठिन खण्डको क्लाइमेक्स पनि ।
चट्टानी पहाड र श्वेत हिमशैलको नाङ्गो संसारमा आइपुेगका छौँ हामी । बतासले बतासकै छिनोमा बतासको घन ठोकेर पहाडका चट्टानलाई चोइट्याइदिएको छ । र, बाटैभरि ढुङ्गैढुङ्गा वमन गरेका छन् पहाडहरूले । हिँडिरहेका छौँ ढुङ्गाको बाटो, तरिरहेका छौँ ढुङ्गाकै नदी । खिइँदाखिइँदै कुनै दिन पहाड नै ‘कोल्याप्स’ त हुने होइन ? पहाडप्रतिको प्रेम छचल्किरहेको छ मभित्र ।
काठमाडौँमा भए निकै काम आउँथे ती ढुङ्गाहरूको । घरहरू बन्थे÷ बनाउँथे । सडकका खाल्डाखुल्डीहरू पुरिन्थे । लाग्छ– नदीका बालुवामा जस्तै कतिको साम्राज्य चल्थ्यो होला ढुङ्गामा । साम्राज्य त चल्ने नै भयो नि ! नेताहरू माफियाजस्ता र माफियाहरू नेताजस्ता भएपछि ।
यार्सागुम्बा टिप्ने बेलामा कसै न कसैको साम्राज्य त यहाँ पनि नचल्ने कहाँ हो र ! वर्षको एकचोटि डाँडापाखा ढाकिन्छ मान्छेहरूले । पहाडको रौनक बढ्छ केही दिन । अनि किरा बेचेरै करोडपति हुन्छन् मुठ्ठीभर मान्छेहरू ।
००००
सिजनको अन्त्य भइसकेकोले विदेशी पदयात्रीहरूको आवतजावत थिएन । हिमानीमार्गमा हिजो पोर्तुगालीहरूले कोरिदिएको पदचिह्न पछ्याइरहेका थियौँ हामी । शून्यतामा आफैँलाई पाइरहेको महसुस हुन्छ । आनन्द पनि अति नै । अलकापुरी त होइन ! भन्ने भान हुन्छ ।
तृणरहित पहाडहरूका खैरा, नीला र काला रङ । घामले चम्किएका हिमालहरूका सेता रङ । गर्वानुभूति भइरहेको छ यतिखेर, प्रकृतिको रङहरूमा लुटपुटिएर हिमालहरूको भव्यता चियाउँदा । आफूसँगै ल्याउन मन लाग्छ प्रकृतिको त्यो सौन्दर्य ! लाग्छ– आफूसित समय भइदिए, बन्दोबस्तीका सामानहरू भइदिए, पेन्टिङ कला र साथमा सामग्रीहरू भइदिए त क्यामरामा तस्बिर कैद गर्नु भन्दा आरामले कागजमा उतार्थेँ ती तमाम दृश्यहरू ।
आयो पदयात्राको ठाडो रेखा । एउटै गतिमा बढ्दै छ, मुटुको धड्कन र श्वासप्रश्वास । खुट्टाको गति घटेर नौ महिने बालकजस्तै भएको छु म । त्यही बेला कटक्कै काट्यो मेरो पेट । अघिल्लो दिन लन्च र डिनरले पेटको थैलो भर्दा खुर्सानीको अचार पनि जाकेको थिएँ । आफ्नो प¥यो च्वासे जिब्रो । पिरो नखाए भात नरुच्ने । खाए बाटोमा यसरी सताउने । साला गाइड जिन्दगी ! पैट्याइदिएँ मैले पेटको भकारी । लौजा त ......।
मभन्दा पछि भएका जयनाथले उछिनिसकेका थिए त्यतिबेलासम्म । लामखुट्टे म्याक्सिम त मल्लो थलीमा पुगिसकेका थिए ।
प्रत्येक पन्धपन्ध्र पाइलामा पन्ध्र सेकेन्ड विराम गर्दै उकालो तुर्न खोज्दै छु म । एकएक घुट्को गर्दै बोत्तलको पानीले घाँटी भिजाउँदै छु । मितव्ययिता त अपनाउनै प¥यो ! बोत्तल रित्तिहाले हिउँ चाट्नुको विकल्प छैन फेरि ।
अनौठो अनुभूति भइरहेछ पहाडहरूको उचाइलाई जित्दा । पहाडमात्र होइन, कतिपय हिमाल पनि पुड्का देखिन्छन् मभन्दा । यस्तो लाग्छ– काङ लातर्फ उकालिँदै गर्दा म अग्लिँदै छु र हिमालहरू होचिँदै छन् । म हिमाल चढिरहेको छु र हिमालहरू बेसी झरिरहेका छन् । फुरुङ्ग हुन्छ मन । आज धेरै माथि छु जस्तो लाग्छ, आकाशभन्दा पनि माथि । भारतीय गायिका कविता कृष्णमूर्तीले गाएको गीत गुन्गुनाउन थाल्छु म–
‘आज मे उपर, आसमा निचे
आज मे आगे, जमाना हे पिछे..............’

भन्छन्– ‘थाके विश्राम गर्नू तर कहिल्यै नरोकिनू’ रे । उकालोको यात्रा निरन्तर थियो । भलै मेरो आफ्नै कछुवा गतिमा परिणत भएको छ । उचाइमा थोरङ लाभन्दा सय मिटर कम छ काङ ला तर उकालोको कोण थोरङ लाको भन्दा बढी र बाटो पनि साँघुरो । केही गरी चिप्लिहाले शरीर काङ ला फेदी नपुग्दै प्राणपखेरु चाहिँ सीधै माथि पुगिसक्ने । लाग्छ– ‘एडभेन्चर ट्रिप’ हो, यत्तिको ‘थ्रिलिङ’ त हुनै प¥यो नि !
घोडा लिएर ओलँर्दै गरेका एक युवक भेटिए । आइस क्लाइम्बिङ गर्न आएका गु्रपको लागि व्यवस्थापन गर्न आएका थिए उनी ।
“अब एकै छिन हो भन्ज्याङ पुग्न ।” सान्त्वनास्वरूप उनले मलाई भने । सायद उसलाई टिठ लाग्यो होला मेरो थकित अनुहार देखेर ।
गोरेटोमा लेसिएको थियो पग्लँदो हिउँ । सबैले टेकिसकेको हिउँमा टेक्दै थिएँ म । जुत्तामा लगाउनु पर्ने क्य्राम्पोन रुकश्याक भित्रै छ । उँभो जानुभन्दा पाइला उँधोतिरै सथ्र्यो घरीघरी । अलिकति सहारा दिएको छ लट्ठीले । यस्तै हुन्छ, पछिपछि हिँड्नेको हविगत । एक्लै हाँस्न विवश थिएँ म !
पेटको भकारी रित्तिएपछि सम्झेँ उही नीमा दाइ र शान्ति दिदीलाई । नीमा दाइले त भनेका थिए– बिहान ‘पोरिज थपेर खानू ।’ आफूलाई रुचि भएन त के गर्नु ! उनले दिएको अण्डा र रोटी त साथमा छ नि तर एक्लै के खानु !
अलिमाथि पुगेपछि आयो थली । थलीको कुनामा जमेको छ काङ ला हिमताल । ‘घाङ्ले छो’ पनि भनिन्छ यसलाई ।
“असारमा मेला लाग्छ । पूजापाठ हुन्छ । मीत लगाउनेहरू यहाँ आउने गर्छन् त्यो दिन ।” अघिल्लो दिन नार गुुलुङको धर्मशालाका चिया पसले पुञ्चोक ठिन्लेले भनेका थिए ।

ताल तालजस्तो थिएन, सिसाजस्तै थियो । नजमेको भए त ढुङ्गा फ्याँकेर तरङ्ग निकालिदिन्थेँ र एक क्षण भुल्थेँ म आफैँ पनि त्यसैमा । हिमताल हुनुको विवशतालाई बुझ्छु म ।
त्यहाँबाट देखियो काङ ला भन्ज्याङमा बताससँगै बयली मारिहेका ध्वजाहरू । तन्कँदै थिए ती लुङ्दरहरू मेरो थकित देहलाई समाउन । काङ लाको छेउछाउमा पुगिसकेका थिए म्याक्सिम र जय । हावाको झोकाले मेरो ओँठको लिप बामलाई पनि छेडिसकेको थियो । पटपटी फुटेको ओँठमा जिब्रो दल्दै थिएँ म ।
उचाइ र थकाइले मेरो बोल्ती बन्द भइसकेको थियो । फेरि बोल्नु पनि कोसित ! सहयात्रीहरू त भन्ज्याङ पुगिसके ।
पुगेँ म पनि तातेताते गर्दै ।
बोर्डमा लेखिएको थियो– ‘काङ ला पास (५,३२० मिटर) ।’ ढुङ्गामा कोरिएको छ बुद्धको आकृति । मनको खादा चढाएँ मैले काङ लालाई । टुसुक्क बसेँ म केही बेर काङ लाको काखमा । यतिखेर हामीले बादल तोडेका थियौँ, आकाश जितेका थियौँ । काङ ला टेकेको अर्थमा खुसी बाँड्यौँ हामीले । अङ्कमाल ग¥यौँ । चिच्यायौँ । काङ लालाई अँगालो हाल्यौँ । नाङ्गो पहरासँगै टाँसिएर तस्बिर लियौँ विभिन्न पोजमा र ग¥यौँ मेजमानी काङ लाले पस्केको चिसो सिरेटोको ।
काङ ला हिमाल(५,३९९मिटर)को नाकको डाँडी नै हो– काङ ला भन्ज्याङ । नार र ङवालको जीवनलाई जोडेको छ यसले । कति जीवनलाई जोडेका छन् भन्ज्याङहरूले । म सोच्छु– मान्छेको मन र जीवनलाई जोड्न यस्ता सुन्दर भन्ज्याङनै चाहिँदोरहेछ ।
आरोहणमा हल्का कठिनाइ हुनु त सामान्य कुरा हो । फेरि उचाइ चुम्दाको आनन्द बेग्लै । ज्यानमा तुरुन्तै शक्ति रिचार्ज भएर मन हाँसिहाल्ने । अन्नपूर्ण–२, गङ्गापूर्ण, अन्नपूर्ण–४ र तिलिचो पिकले आफ्नो दिशा परिवर्तन गरेर हेरिरहेको थियो काङ ला पासको हाम्रो आगमनलाई । यति नजिकबाट कहिल्यै देखेको थिइनँ मैले ती चुलीहरूलाई एकै पटक एउटै बिन्दुबाट । एकै फड्कोमा तिनलाई भेट्न सकिन्छ भनेझैँ लाग्थ्यो । हिमाल पनि थरीथरी आकृतिका ! कोही स्तुपाका शिखाराजस्ता । कोही मन्दिरका गजुरजस्ता । कोही हिमाल सेतो दरबारजस्ता । फेरि यस्तैयस्तै आकृतिका अर्कोतिर अग्लिएर उभिएका छन्– हिमलुङ, सारिबुङ, कङ्गारु र पिसाङलगायतका अनेक बेनामे चुचुराहरू । हिमालैहिमालको हिमाल देख्दै थिएँ म– उठेको धर्तीमा । अझै पनि जारी छ– करोडौँ वर्षअघि भारतीय प्लेट र युरेसियन प्लेटको टक्करबाट सुरु भएको हिमालको अग्लिने क्रम  ।
सम्झेँ– ‘एउटा ठूलो पहाड चढेपछि बल्ल थाहा हुन्छ कि चढ्नका लागि अझ थुप्रै पहाडहरू बाँकी छन् ।’ नेल्सन मण्डेलाकै हो कि जस्तो लाग्छ यो भनाइ । काङ लासम्म पुग्दा धेरै पहाडहरू चढिसकेको थिएँ । चढ्नकै निम्ति त अझै अनगिन्ती पहाडहरू छन् यहाँ । नेपालमा भएभरका चुचुराहरूमा पाइला टेक्ने पहिलो ब्यक्ति भएर गिनिज बुकमा नाम लेखाउन पाए ! स्वैरकल्पना मेरो ।
साँघुरो गरी बसेको छ काङ ला भञ्ज्याङ, साथमा ‘काङ ला पास’ लेखिएका फलामे पाटी र मान्छेले नै थमाइदिएको लुङ्दर च्यापेर । प्रकृतिले हिउँको गजुर र हिउँकै खादा ओढाइदिएको छ काङ लालाई । हिउँकै सिरक ओढीबस्छ काङ ला, विशाल चट्टानी भित्तामा टाउको थामेर । समयक्रमले फेरि नङ्ग्याइदिन्छ काङ लालाई । दुःखका पलहरूमा आफनै पैताला भिज्ने गरी गहबाट काङ ला हिमतालमा आँसुका थोपाहरु चुहाएर त्यही आँसुको ऐनामा आफ्नो प्रतिविम्ब सँगाल्छ काङ लाले । काङ ला नामको हिमालको लाचार छायाँ हुनुको नियति भोगिरहेछ काङ लाले ।

मैले गरिसकेको थिएँ गर्नुजति अनुभूति । हिउँफूल बनेर टाकुराभरि छरिएझैँ । नार र फुखोला भई बगेझैँ । घामको रक्तिम किरण बनेर चट्टानी पहाडका छातीछातीमा लेपिएझैँ । स्नो फिन्ज र ग्रान्डाला बनेर कावा खाएझैँ । कुहिरोको भुल्का बनेर खुला आकाशमार्गमा घुमेझैँ । चुलुको झरना भएर पहाडबाट फाल हालेझैँ । यस्तै कल्पना गरेँ यात्राभरि । खुसीको सीमा थिएन प्रकृतिको लयमा डुब्दा ।
हेर्दाहेर्दै कति छिटो घामले पनि उछिनिसकेछ हामीलाई । अझै बाँकी नै थियो– अठार सय मिटरको अवरोह । काङ ला भञ्ज्याङबाट भिरालो हिमोढ हुँदै ङवाल खुरमुरिने क्रममा एक्लै गुन्गुनाएथेँ मैले–
उमङ्गका पाइला टेकेँ
मेरो स्वप्न गन्तव्यमा
इन्दे्रणी सपना सजाउँदै
मनको भूगोल भरिभरि ।
नार–फुले बिछ्याएको हिउँफूल उराल्दैै
बस्तीबस्तीका सौन्दर्य लिएर आँखाभरि
उक्लेँ म काङ ला भन्ज्याङ ।
सम्झन्छु म झल्झली
त्यो दिन फु जाँदा
फुखोलाको सङ्गीतमा बैँस कोरल्दै
तितुहरूको जोडीले जिस्क्याएको
र, थुमहरूबाट लुसुक्क ओर्लिएर
नाउरहरू बाटो छेक्न आएको ।
याद आउँछ
नार पुग्नेबित्तिकै
मेरो अङ्गप्रत्यङ्ग निथ्रुक्क भिज्ने गरी
उत्ताउलो घामले पछाडिबाट
कामुक घडा घ्वाप्लाक्कै घोप्टयाएको
र, लगतै आफ्नो अँगालोमा
बेसरम बतासले झ्याप्पै अँगालो हालेको
अनि मेरो आस्थाको गोधूली पर्खिरहेको बेला
नढल्दै झम्के साँझ जोङ रि पारिबाट
तन्नेरी जूनले कुत्कुत्याउन आएको ।
हठात् मुटुको ढुकढुकी बढ्दा
नाक, मुख र गला टपक्कै सुक्दा
तिमीसितको बिछोडले पलपल तड्पिँदा
र, खेपिरहँदा पदयात्राको बोझिलो भारी
सकिँनँ मैले बयेली खेल्न बेगिँदो बताससित
यत्रतत्र झुन्डिएका लुङ्दरले जस्तै ।
बरु नापिरहेँ नारपा भूमि
थकित पयर घिसारेरै ।

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 27 श्रावण, 2077

लेखकका अन्य रचनाहरु