खडेरीकाे बेला

- सन्ताेष लुइटेल किंशुका

खडेरी चलेकाे छ यहाँ आजा
छैन कुनै आश वर्षातको
खडेरीको यस घडीमा पनि
है प्यासीहरू हो !
के आश गर्छाै यहाँ तिर्खा मेट्ने,
कुवा आफैँ सेकिएर चरचरी धाँजा फाटेकाे बेला !
तिमी कुरा गर्छाै रे
नैतिकताको,
इमान्दारी र सदाचारको !
तिमी गलत छैनाै अवश्य
कठिनाइमा साथ र सहयाेग
ठण्डीमा न्यानो आगाको राप,
पीडामा सान्त्वना,
पक्कै अपेक्षित छन्
तर,
धर्म सत्य युगकाे कुरा हाे
कलिकाे चिह्न झुट रे
अब तिमी यहाँ चिस्यानकाे के अपेक्षा गर्छाै
नदी आफैँ तिर्खाएकाे बेला
आशाको डोरीमा उनीएका ए प्यासीहरू हो !
आश गर्नु तिम्रो धर्म,
अनि, आशैआशमा जीवन गुजार्नु तिम्रो कर्म,
आफूलाई सदा निमुखो ठान्छाै
र त नाक मुख थुनेर
कानले सास फेर्छाै !
आफ्ना खुट्टा बाँधेकाे चाल नपाई
कसैले बोकेकामा गर्व मान्छाै
र छाती फुलाएर साहसका कुरा गर्छाै
अब वसन्त आएकाे हल्ला पिटेर
चरालाई लगाउँछाै गीत सुनाउन
गाउलान चराहरूले आँखा चिम्लेर,
हे पन्छीहरू हाे
भाे अब वासन्ती गीत नगाऊ
पालुवा सुकेर झर्दै गरेकाे बेला
विरह वेदना नसुना कोइली पनि
संसार आफैँ दुखेको बेला
आँखा खोलेर हेर अब
हे पानीको आशामा पाेखरी धाउनेहरू हो !
के आशाले पुग्छाै पाेखरी ?
यहाँ समुन्द्र नै सुकेकाे बेला
भाे शीतलताकाे आश नराख यहाँ
हावा आफैँ जलिरहेको बेला !!

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 27 श्रावण, 2077

लेखकका अन्य रचनाहरु