अपरिवर्तित सोच

- मनिश कुमार शर्मा समित

मोबाइलको लगातारको घण्टीले मेरो निंद्रा टुट्यो । बिहानको आठ बजिसकेछ ।

"हेलो..... श्वेता तिमी र उषा भोलि सिन्धुपाल्चोक जानु छ तयार हुनु है ....." अर्को तर्फबाट हकिमको आदेश आयो ।

"तर सर..... उता त शोभा जाने भएकी थिईन् हैन र ...? "

"हो तर उसको आमाको अचानक निधन भएकोले जान मिलेन..... फेरि तिमी त्यो ठाँउ निकै परिचित पनि छौ.... "

"हुन्छ सर" मन नलागि नलागि म सहमत हुनुपर्यो ।

‘हिजो मात्र पूर्वी तराई तिर एक महिने तालिम दिएर फर्केको मेरो ज्यानलाई आराम पुगेकै छैन ...... अब फेरि सिन्धुपाल्चोक...... ‘ चियाको चुस्कीसंगै सोचमग्न भए ।

म र उषा (सहपाठी) बस चढेर गन्तव्य तिर लाग्यौ । बाढी, पहिरो र भुकम्पले उजाडिएको सिन्धुपाल्चोक भर्खरै बिउँझिएको थियो । ३-४ घण्टाको यात्रा पछि चौतारा पुगियो ।

"हाम्रो कार्यक्रम के के छ ? " चौताराको होटलमा बिश्राम मार्दै म उषालाई प्रश्न गर्छु ।

"पहिलो हप्ता सेलांगमा छ ... आर्को हप्ता स्याउले बजार.... अनि अन्तिममा बतासे” उनले जवाफ दिईन् । स्याउले बजार र बतासेको समाजसँग म चिरपरिचित थिए । पछिल्लो पटक त्यहाँ मेरो धेरै दिनको बसाइ भएको थियो । तर सेलांग मेरो लागि नयाँ थियो । त्यहाँ पुग्ने मौका मिलेको थिएन ।

“भोलि बिहानै निस्कनु पर्ला .... झण्डै दुई तीन घण्टा उकालो चढ्नु पर्छ रे हामी पुग्ने ठाउँ.....”

“ओहो ! दुई तीन घण्टा उकालो हिड्नु पर्ने ....” उषाको मुहारमा नीरस भाव छल्किएको थियो । तराईको सुगम ठाँउमा जन्मी हुर्केकी.... पहाडको उकाली ओरालीसंग रम्न पाएकी थिईनन् । काठमाण्डौबाट आउँदा निकै उत्साहित थिईन् । बाटामा आनेक प्रश्न गरेर हैरान बनाएकी थिईन् ।

“तिमी त गफाडी.... गफ गर्दा गर्दै बाटो कटेको पत्तै हुँदैन..... ” मैले ढाडस दिंदै भने ।

सेलांग पुग्दा उषाको हालबेहाल भइसकेको थियो । कहिल्यै पहाडको उकालीओराली नगरेकी खुट्ट फुलेर डमडमी भएको थियो । हाम्रो खाना बस्नको व्यवश्था स्थानीय एक घरमा भएको थियो ।


सेलांगको पहिलो दिनको हाम्रो कृषि सम्बन्धि तालिम उत्साहित रह्यो । निकै बाक्लो सहभागीता रह्यो ।

“ल आजलाई यति नै...... भोलि शनिबार हामी तँपाईहरुको गाँउघर डुल्न निस्कन्छौं ...... आइतबार फेरि यहि ठाँउमा आजकै समयमा भेला हौं है.....” त्यस दिनको तालिम समापन गर्दै मैले भने । सबैले हुन्छ भन्ने भावले टाउको हल्लाए ।

“भोलि घुम्दै आउदा मेरो घर पनि आउनु है बैनीहरु....” सबै जना बिदा भइसकेपछि सहभागि एक तामाङ् थरकी दिदीले हामीलाई निम्ता दिईन् ।

“तर भट्टेनी बज्यैसंग बच्नु है.....” यति भन्दै उनी निस्किहालिन् ।

“को भट्टेनी बज्यै दिदी ..... ?” उषाले मलाई प्रश्न तेर्साईन ।

“खै...... के भन्न खोजेकी हुन..... मैले बुझ्न सकिन....” उषाको प्रश्नको मसँग उत्तर थिएन ।

शनिबारको दिन, हिमालको बिहानी चिसो हावाले मेरो निंद्रा टुट्यो । बिहानको खानपिन सकेर हामी निस्क्यौ । त्यहाँको बालीनालीको अवलोकन गर्नु हाम्रो उद्देश्य थियो । बाटोमा देखिने बिभिन्न बोटविरुवाको बरेमा मैले उषालाई ज्ञानमूलक जानकारि दिदैं गएँ । हिजोका केहि सहभागिहरुको घरमा गई भलाकुसारी पनि गरियो । घुम्दाघुम्दै समय बितेको पत्यै भएन ।

“अब फर्किने हैन दिदी..... थकाई पनि लागिसक्यो .....” उषाको मुहार थकित देखिन्थ्यो ।

“ओहो! ... धरै बेर पो भएछ ... फर्कौं अब ” हामी फर्कन थल्यौ । थकाई र प्यास दुबैले चुर भएका थियौ । प्यास मेटाउन बाटै नजिकको घरको आगनमा पुग्यौ ।

“घरमा को हुनुहुन्छ ? “ मैले मुख फोर्नु भन्दा अघि उषाले सोध्न पुगिन् ।

“को हँ... ?” अपेक्षा विपरीत हाम्रो पछाडिबाट आवाज आयो । एक अधबैंसे महिला घाँसको भारी बोकेर उभिरहेकी थिईन् ।

“साह्रै तिर्खा लागेर पानी माग्न आएको....” मैले भने

“को हौ तिमीहरू....? के थरी हौ....? “ उनले रुखो स्वरमा प्रश्नका बाणहरु हनिन् ।

हामी अस्ति मात्र आएका यहाँ तालिम दिन ..... म भट्टराईको छोरी..... र उनी पौडेल....” मैले जवाफ दिए ।

“हामी पनि भट्टराई नै हौं क्यारे....” बोलिमा त्यहि रुखोपन थियो । घाँसको भारी बिसाउँदै मजेत्रोले पसिना पुछिन् र घरभित्र छिरिन् । एक छिन पछि उनी दुई वटा पुरानो थोत्रे गिलास हातमा लिएर बाहिर निस्किन ।

“ल उ त्यहाँ धारा छ ......... थापेर खानु .......खाइसकेपछि राम्ररि माझेर घाममा सुकाइदिनु....” परै बाट उनले गिलास हामी तिर हुर्याईन । उनको त्यो व्यवहारले हामी चकित थियौ ।

“के भयो दिदी ...? किन रिसाउनु भाएको ...? हामी एउटै जातका हौं क्यारे...” उषा अलि हठी थिईन् ।

“तिमीहरु...... लवस्तरीहरूलाई मैले चिनेको छैन र ...... दुनियाको घरमा गएर के के घिचेर आउँछौ ....... बाजेबराजुहरुको जात फाल्छौ...... म संग जातको कुरा गर्छौ......हाम्ले अहिले सम्म तल्लो जतको घरमा खान त के छोएको पनि छैनौ उनीहरूको...... खाने भए खाओ..... हैन भने आफ्नो बाटो लाग....” उनी जंगीदै थिईन् ।

उनको उघ्ररुप देखेर हामी आवक थियौ । उन तिरस्कृत शब्दहरुले हाम्रो तिर्खा मेटिसकेको थियो । अर्काको घरमा विवाद गर्न पनि उचित थिएन । उनी अझ के के फलाक्दै थिईन् .....चुपचाप हामी त्यहाँबाट निस्क्यौ ।

बाटोमा हामी दुबै मौन थियौं । तर मेरो मस्तिष्कमा ती तामाङ्नी दिदीले भनेका शब्दहरु कुदिरहेका थिए.........

“भट्टेनी बज्यैसँग बच्नु है......”

ठिमी, भक्तपुर

प्रकाशित मिति : प्रकाशन मिति : मगलबार, 27 श्रावण, 2077

लेखकका अन्य रचनाहरु