बकाइनाको बोट

- सानु शर्मा

डीबी दाइले गाउँको कुरा शुरूगरेको एक घण्टाभन्दा बढीभइसकेको थियो। गायत्रीलगातार घडी हेर्न थालेकी थिइन् । मैले उनको संकेत बुझेको थिएँ तर, मेरा कान डीबी दाइका जुनकुरा सुन्न ठडिएका थिए, त्यो उनले शुरू नै गरेका थिएनन् ।
“अब जौं होला !” हारथाक भएर गायत्रीले मलाई आँखाको इशाराले उठ्न संकेत गर्दै भनिन, “भोलि चाँडै उठ्नु छ । गफगाफको लागि फेरि आउँला नी !”
उनी एकछिन अडिइन् अनि भनिन्, “होइन, बरू यसो गर्नुस् -आउने शनिबार दाइ-भाउजू उतै खानाखाने गरी आउनुस् अनि गफिऊँला !”
“लौ, गज्जब भैगो नि!” देवी भाउजूले रमाउँदै भन्नुभयो, “गायत्री बैनीको हातको खानाखान पाएसि कसले नाइ भन्ने ?”
“पक्का भयो है त ?” गायत्री उठिन् र भित्रतिर हेर्दै भनिन्, “गौतम ! गीति ! तिमीहरू पनि निस्क त ढिला भयो।”
गायत्री उठेपछी मैले बाध्यभएर जिब्रोलाई थुकले भिजाउने कोसिस गर्दै बिस्तारै भनें,“दाइ ! आमालाई कस्तो रैछ ? अ...आरामै त हुनुहुन्थ्यो नि ?”
गायत्रीको अनुहारको भाव फेरियो । उठिसकेकी उनी फिर्ता सोफामा बसिन् ।
“लौ ! घर जाने भन्या होइन ?” डीबी दाइका छोराहरूको साथमा उनीहरूको कोठाबाट निस्केर आएको गौतमले आएर गायत्रीको छेउमा उभिँदै भन्यो । छोरी गीति मेरो काखमा घुस्रिई ।
“एक्कैछिन पखहै !” गायत्रीले भनिन्, “बाबाको जरूरी कुरा छ अंकलसँग ।”
”बाहुनीआमा सँग त मिलिक्क भेटभाथ्यो भाइ !” डीबी दाइले मतिर हैर्दै भने, “विकाससँग बस्नुभा रै’छ। राम्रै छ भन्नुहुन्थो ।” त्यसपछि बिस्तारै जोडे, “दुब्लाउनुभा रै’छ राम्रै । हुन त बुढेसकालको ज्यान, त्यस्तै त हो।”
“म... मेरो बारेमा सोध्नुभएन ?” मैले थर्थराएको स्वरमा सोधें।
“अहँ ! तिम्रो बारेमा त खासै केही भन्नुभएन भाइ । ‘यता सबै राम्रै छ । छोरा बुहारीहर्ले राम्रो अर्‍याछन्’ भन्नुभाथ्यो । अँ, पो’रसाल बकाइनाको रूख ढलेकाले न्यास्रोभा’छ भन्नुहुन्थो ।”
दाइ बोल्दै थिए,मेरोचाहिँ वाक्य बसेजस्तो भयो । जर्‍याकजुरूक उठें र भासिएको स्वरमा भनें, “जाऊँ गायत्री ! ढिलो भयो ।” मैले छोरीलाई बोकेपछि सबैजना उठे ।
हामी ढोकानेर पुगेपछि दाइले बिस्तारै भने, “एउटा कुराचैं अचम्मकै गर्नुभो बाहुनीआमाले यसपटक ।”
हामी सबै अडियौं । मैले फर्केर दाइको अनुहार हेरें । उनले हामीभन्दा अलि परै उभिएर गफमा व्यस्त मेरो र आफ्ना छोराहरूतिर पुलुक्क हेरे र अलिसानो स्वरमा भने, “तिम्लाई त थाहै छ, तो घराँ हाम्लाई कसरी हेरिन्थ्यो भनेर । कहिले यस्सो झुक्किएर कतै छोइहालियो भनेनि छोइछिट्टो, सुनपानी छर्किनलाउँथे तो घरका सबैले । खासगरी बाहुन बाले । बूढा त वर्षौं भैगयो बितेको तर मदन र विकासको पारा उस्तै रै’छ आज नि ।” उनले फेरि छोराहरूतिर हेरे । देवी भाउजू र गायत्रीको टिठलाग्दो भएको अनुहारतिर हेरे ।
मेरी छोरी वर्षदिनकी पनि थिईन बा बित्दा । मैले उहाँको काजकिरिया यहीँ बसेर गरेको थिएँ । वर्षदिन जुठो बारेको थिएँ ।
दाइ धिमा स्वरमा भन्दै थिए, “तिम्ले बाहुनीआमाको बारेमा पक्कै सोध्छौ भन्ने था’थ्यो,त्यैभ’र नि गाथें म त्याँ । मदनले मलाई बाहिरै रोकेर तीनहात परबाट बोलिटोपलेझैं गर्‍यो । बाहुनी आमालाई पनि बोल्ननदिन खोजेझैं गर्‍या थ्यो तर वाँले देख्यानदेख्यै गरेर त्यतिसम्मन् भन्न भ्याउनुभो । म बाटोलागिसके’छि भने बाहुनीआमा स्याँस्याँ हुने गरी दगुर्दै आउनुभो र मेरा दुबै हात ट्याप्प समाउनुभो । त्यसपछी मेरो टाउकोमा हातराखेर एकै वचन नबोली फरक्कफर्केर जानुभो ।”
आमाको त्यो ब्यवहारमाथी दाइ अझै आफ्नो आश्चर्य व्यक्त गर्दैथिए तर म उनीसँग बिदा पनि नमागी गीतिलाई लिएर गाडीतिरबढें । त्यहीँ उभिइरहें भने मेरो डाँको फुत्किने पक्का थियो ।
बाहिर निस्केर आँखाको डिल नाघेर गालाको ओरालो छिचोलिसकेको आँसु पुछ्दै म ड्राइभिङ सिटमा बसें ।

० ० ०

“आमा, तपैं किन जैले नि यीँ बसेर रूनुहुन्छ ?” घरपछाडिको ठूलो बकाइनोको रूखमा आड लागेर बसेर रोइरहनुभएकी आमासँग ९ वर्षको मैले सोधेको थिएँ एकदिन । आमाले मजेत्रोको फेरले आँसुपुछेर मलाई काखामा तान्दैभन्नुभाथ्यो, “बाबु ! मेरा बाउ, आमा भनेनी, दाइ, भाइ भनेनी यै बकाइनाँ बोट हो । बे अरेर आम्दा एक दश दुईकी हुँदी हुम् । घरका जम्मैसँ डर लाउँथो । तिन्का अ’इरून नि दकस लाउँथो । त्यैभ’र यीँ लुकेर रुन्थीं । सासूले कुट्दा नि यीँ आ’र रून्थीं । भोउला’यो भनेनि यीँ आ’र रुन्थीं । हुँदाहुँदा यो मोरो बकाइनाँ बोट अरू जम्मैभन्दा आफ्नो हुँदै गो ।अन्त्याँट तँ भेटिइस् यै बकाइनाँ फेदाँ । त्याँ’सी त झन् आफ्नो भो यो मोरो बोट !”
आमाले एकैक्षण अडिएर मेरो अनुहार मुसार्नुभयो । मेरो दाहिनेहात समातेर आफ्नो गालामा जोड्नुभयो अनि मनुहारपूर्णस्वरमा भन्नुभयो, “भोलि-पर्सि तँ ठूलो भएसि मेराला’ई यै बकाइनाँ बोटझैं हुनू है ! अन्त्याँट म तेरो आड ला’र रुम्ला !”
मैले फरक्क फर्केर आमाको घाँटीमा झुन्डिँदै भनेथें, “म ठूलोभएसि त तपैंले रूनै पर्दैन नि ! ऐलेनि बाले पिट्ता तपैं मेरै आडलाग्नुस् न । म आँसु पुछ्दिन्छु । बकाइनाँ बोटले काँ’ट आँसु पुच्छर ?”
आमाले मलाई चपक्क छातीमा टाँसेर भन्नुभाथ्यो, “हल, हल, तेसै अरम्ला ! तँ ठूलो भएसि आफ्ले बोल्या बात बिर्सन त बिर्सन्नस् नि ?”
००००

“बिर्सन्न आमा !” रोक्दारोक्दै मेरो ओठबाट फुत्कियो । शरीर नराम्रोसँग काँप्यो । गाडी डगमगायो।
“लौ ! लौ !” गायत्री कराइन्, “वाच इट उज्ज्वल !”
म सम्हालिएँ । साइड लगाएर गाडी रोकें र पछाडि फर्केर छोरा-छोरीसँग सोधें, “तिमीहरू ठीक छौ ?”
“के भयो बाबा ?” गौतमले सोध्यो ।
“नथिङ !” जवाफ गायत्रीले दिइन्, “रोडमा केही थियो । बाबा वान्टेड टु स्किप द्याट !” त्यसपछि छोरीतिर ढल्केर मायालु स्वरमासोधिन्, “तिमी ठीक छ्यौ गीति?”
निद्राले लठ्ठ परेको आँखा उघारेर छोरीले टाउको तलमाथि हल्लाएपछि गायत्रीले मेरो पाखुरामा स्पर्श गर्दै कोमल स्वरमा सोधिन्, “म ड्राइभ गरूँ ?”
“होइन, ठीक छ । थ्यांक्स !” मैले बिस्तारै भनें र गाडी अगाडि बढाएँ । त्यसपछि घरसम्मको छोटो बाटोमा हामीमध्ये कोही केही बोलेन ।

गाडी गराजमा थन्क्याएपछि मैले छोरीलाई काखामा बोकें ।गायत्रीले झोलाझ्याम्टा स्याहारिन् । हामी दुबै गराजको भित्री ढोका खोलेर घरमा छिर्‍यौं । गौतमले अघि बढेर बत्ती बाल्यो । मैले लगभग निदाईसकेकी छोरीलाई उसको कोठामा लगेर सुताएँ । छोरो हामीलाई गुडनाइट भनिवरि आफ्नो कोठामा छिर्‍यो । गायत्रीले छोरीको लुगा फेराउन खोजिन् तर निद्राले लठ्ठ परेकी गीतिले मानिन ।
“हुन्देऊ न त, मान्दिन भने किन जबर्जस्ती गर्नू ?” मैले बिस्तारै भनें । गायत्रीले एक्कैछिन मेरो अनुहार हेरेर भनिन्, “तिमी गएर फ्रेस हुँदै गर, म यसलाई सुताएरआउँछु ।”
म केही नबोली बाहिर निस्किएँ ।

गायत्री हामी सुत्ने कोठामा आउँदा म आँखा चिम्लीएर भित्तापट्टि फर्केर पल्टिएको थिएँ । आफ्नो दैनिक क्रिम स्रिम आदि कार्यबाट फारिग भएर ओच्छ्यानमा पल्टिएपछि गायत्रीले मलाई पछाडिबाट अँगाल्दै मायालु स्वरमा सोधिन्, “उज्ज्वल, डु यु वान्टु टु टक ?”
मैले झन् कसेर ओठ बन्द गरें ।लाग्यो -बोलें भने आँसुले धर्म छोडिदिनेछन् ।
निकैबेर म नबोलेपछि गायत्री यत्तिकै निदाइन् । उनी निदाएपछि मैले बिस्तारै उनको हात आफ्नो शरीरबाट पन्छाएँ र चुपचाप बाहिर बरन्डामा निस्किएँ ।

आकाशमा टहटह जून चम्किएकोथियो । मलाई आमाको बाटुलो, गोरो चन्द्रमाजस्तै अनुहार यादआयो ।

० ० ०

“भो के, अब नकुट्नोसन् ! बालखैत हो ! हुन्दिनोस् । अब अर्दैन !” आमा बाको हातबाट लौरो खोस्न भरमग्दुर प्रयत्न गरिरहनुभएकोथियो । तर अग्ला, दोहोरो शरीरका हृस्टपुस्ट बासँग दुब्ली, पातली आमाको के लाग्नू ?
“तैंले यै भनी भनी बिआरेकी होस् एल्लाई !” बा आमामाथि जाइलाग्नुभो, “नत्र सुन्नपर्नी होइन एल्ले मेरो कुरा ? यत्रो भुस्तिघ्रे भैसको, बात नबुझ्नी भए नि एउटा कुरो !”
“अर्दैन के, अब अर्दैन ! अरो भनी मैं भाचुँम्ला एस्का करङका भाटा ! छोड्दिनुसन् भौमान ! रअतै आइसको मुखा’ट !” आमाले काँतर स्वरमा भन्नुभयो ।
बाले हातको लौरो त्यहीँ छेउमा मिल्काएर हामी आमाछोरालाई आग्नेय नेत्रले हेर्दै गर्जिनुभयो, “कसरी सम्झाउनी हो सम्झा एल्लाई ! अब आइन्दा तो दमैको घराँ पसेर क्यै खा देखीँ भनीं घोक्रा’र निकाल्दिन्छु घरा’ट । बज्जे ! तिनर्कै सगोत्री र’छ र हो कि, तिनर्सैं उठबस अर्छ जत्खेर नि !”
आमाले मलाई आफ्नो दुब्लो पातलो शरीरको आडमा छेक्दै भन्नुभो, “के बात अर्‍या होला नी, नारान ? अरूले सुने नि अनर्थहुनी...”
“नत्र यैमात्तै किन एस्तो हुन्थो ? तिनर्कै चुलाँ नाभी गाड्याजस्तै बज्जेको, जत्खेर नि तीँ बास !” त्यसपछि बा अलि सानो स्वरमा गन्गनाउनुभयो, “भन्या हो मैले, एल्लाई नराखौं, कस्ताको रअतहो, के हो भनेर । तर क्यार्नु, आइमाईजातको बात सुन्या भ’र हो क्या, यो भाउँतो आइला’या !” बाले फतफताउँदै आँगनको डिलकाटेपछि आमाले मेरो पिठ्यूँमा पड्याङ पिटेर भन्नुभो, “हैन,कत्तिको बात सुन्नी बनाम्छस् भन्या तैंले मलाई ?”
“ऐया !” म पेट समातेर दोब्रिदै कराएँ, “मरें नि !”
“लौ न !” आमा कहालिएर मलाई छाँद हाल्न आउनुभयो, “मेरा भाँचिया हात ! बाबु ! सारोअरि ला’यो ? काँ ला’यो भन्त ?”
मैले हाँस्दै आमालाई अँगालें ।आमा एक्कैछिन रोऊँ कि हाँसौंझैँ गरी मलाई हेरिरहनुभयो अनि मेरो काटिएको ओठ वरिपरि लतपतिएको रगतलाई आफ्नो पछेउराको फेरले पुछ्दै करूण स्वरमा भन्नुभयो, “किन बाको बात मान्दैनस् ? किन बिथ्थामा गोदाइ खाइरन्छ’स् बाको, भन्त?”
“आमा ! धने दाइ पनि त मान्छे नै हुन् नि । उन्लाई काटे नि हाम्रो जस्तै रअत नै आउँछ । उनर्को परिवारका सबैले मयाँ अर्छन् मलाई । बालाई मत्तै किन नराम्रो लाउँनी हो ?”
“मानी आ’को चलनचल्ती यै त हो, बाले मत्तै हो र ? अन्त कस्का घराँ छिर्न दिन्छन् तिन्लाई, भन्त ?” आमाले एक्कैछिन मेरो अनुहारमा हेरेर मायालाग्दो स्वरमा भन्नुभयो, “पैले पो बालख थिस् लौ, बुझिनस् । अब त एक-बीसको हुनै लाइस् । अब बुझिनस् भनी कैले बुझ्लास् तैंले ? मेरो नि शरीरको रअत सुक्यो, बूढी भएँ अब । कैलेसम्मन् बाको लौरो’ट तँलाई जोगाउँला भन्त ?” आमाले मेरोसामु हात जोड्नुभयो, “बाको कुरो नसुने नि मेरो सुन् बाबु ! संअत अर्न छोड्दे तिनर्को...”
मैले झटपट आमाको मेरो सामु जोडिएको हात थामेर हतारिंदै भनें, “छोड्दिएँ ! तपैं हात जोडेर मलाई पाप नबोकौनुस् त ! अब जान्न तिनर्को घराँ । बाटा घाटाँ भेटे नि बोल्दिनँ,” मेरो स्वर रूँघियो, “तो भन्दा पैले एक्चोटि धनेदाइलाई भेटेर...”
आमाले मलाई अँगालो हाल्नुभयो, “मैले तिन्लाई नभेट् भन्या हो र ? बाले, तेरा भाइहर्ले नदेख्नी अरी भेटे ...”
“होइन आमा ! म यौचोटि धनेदाइसँ कुरा अर्छु, त्याँ’ट तिनर्सं टाढै बस्छु ।” मैले दृढस्वरमा भनें । मेरो अठोट सुनेर पनि आमाको अनुहार मलिन भइरह्यो, किनकि आमालाई थाहाथियो-गाउँभरिमा धनेदाइ जत्तिको मन मिल्ने मेरा अरू कोही साथी थिएनन् ।

००००

मदन, विकास र भरतजस्तै म मेरा बा-आमाको आफ्नै सन्तान थिइनँ ।
जाडो महिनाको एउटा रातमा पिसाब फेर्न बाहिर निस्किँदा आमाले मलाई घरपछाडिको बकाइनाको रूखमुनि सालनालसहित कठ्यांग्रिएर जम्नैलागेको फेला पार्नुभाथ्यो रे ! त्यसपछि उहाँ मेरो आमामात्र होइन, सिंगो संसार बनिदिनुभयो । पञ्चायत जोडिए । मलाई शहरको अनाथालयसम्म छोडेर आउने निधो भयो रे ! तर अहँ-आमाले मलाई काखबाट अलगगर्न मान्नुभएन रे ! सबैसँग दबेर,दकस मानेर बोल्ने मेरी दुब्ली, पातली आमाले खै कसरी जित्नुभयो सारा समाज र घरपरिवार सँग र आफ्नो छातीको तातोले सेकेर मलाई यसरी हुर्काउनुभयो-मानौं म उहाँको कोख चिरेर जन्मेको थिएँ ।

त्यसको लगभग एक वर्षपछि मदन जन्मेको थियो । त्यसपछि विकास । त्यसपछि भरत ।
उनीहरू नजन्मिँदासम्म आमालाई‘बाँझी’ भनेर बाको अर्को बिहे गर्न ठिक्क परेको परिवारले त मलाई कहिल्यै स्वीकारेन, उनीहरूको देखासिकी गरेरै मदन, विकास र भरतले पनि स्वीकारेनन् । उनीहरू मेरा लागि भाइ थिए तर म उनीहरूको दाइ थिइनँ । कोशिश गरेर पनि कहिल्यै हुनसकिनँ । उनीहरू बाका प्रिय थिए, म आमाको । उनीहरू मेरो ईष्र्यागर्थे, म उनीहरूको । सम्बन्ध सहज भएन भने मनले स्वीकार्न सक्दैन र मनले नस्वीकारेको सम्बन्ध जतिसुकै कोसिस गरेपनि कहिल्यै आफ्नो हुन सक्दैन । हामी पनि कहिल्यै एक-अर्काकोहुन सकेनौं । त्यसैले पनि म बात-बेबात बाको लौरो भेटिरहन्थें । मदन र विकास मेरो चुगली लगाइराख्थे । बा उनीहरूको कुरा सुनेर मेरो ढाडमा लौरो पड्काइरहनुहुन्थ्यो । आमा मलाई बचाइरहनुहुन्थ्यो । यही दिनचर्या बाँच्दै ठूलो भएँ म ।

“बाले मदन, विकास र भरतेलाई मत्तै मयाँ अर्नुहुन्छ, मलाई अर्नहुन्न,” म आमासँग गुनासो गरिरहन्थें ।

“तँलाई मेरो मयाँले मत्तै पुग्दैन र ?” जवाफमा आमा उल्टै मसँग सोध्नुहुन्थ्यो । म निरुत्तर हुन्थें ।

समयले मेरो त्यो गुनासोको उत्तर दिएपछि भने मैले उनीहरूसँग ईर्ष्यागर्न छोडें । बाको माया र आफ्नोपनको आशा गर्न छोडें । म आमाको संसारमा र आमा मेरो संसारमा यतिविधि छायौं कि हामीलाई अरू कुनै कुराको कमी अनूभूतै भएन । खासगरी मलाई ।आमासँग मेरो सालनाल होइन, मन र आत्मा गाँसिएको थियो । त्यसैले शायद मेरो सम्बन्ध उहाँसँग त्यति प्रगाढ र कसिलोथियो । सालनाल त के-त्यो त बच्चा जन्मनासाथ काटेर अलगगरिन्छ । जोडिने त मन हो । म आमासँग मनले जोडिएको थिएँ । मदन, विकाश र भरत साल-नालसँग ।

हाम्रो गाउँको पुछारमा धनबहादुर दाइको घर थियो । निकै वर्षअघि कुनै ठूलाबडाले आफ्ना लुगाफाटा सिलाउने सुविधाका लागि उनका जिजुबाजेलाई त्यो गाउँको पुछारमा एउटा गोठ र अलिकति जग्गा दिएर स्थापित गरेका थिएरे ! पछि ऐलानी बाँझो बिराएर, घरजग्गा जोडेर त्यो परिवार त्यहीँ स्थापित भयो । यो गाउँमा धनेदाइको पुस्ता चौथो पुस्ताथियो तर पनि उनीहरूका लागि बाहुनहरूको बाहुल्य भएको त्यसगाउँका धेरै ठाउँ बर्जित थिए । खासगरी मेरो बाको त खासशत्रुता थियो धनेदाइको परिवारसँग । बा मौका खोजिरहनुहुन्थ्यो उनीहरूलाई यो गाउँबाट धपाउन ।

घने दाइ म भन्दा तीन-चार वर्षठूला थिए तर पनि हामीबीच पक्का दोस्ती थियो । यसको कारण शायद यही थियो-म पनि त्यस गाउँ र स्कुलमा अवाञ्छित जस्तै नै थिएँ । मलाई पनि प्रायःसबैले दाइलाई झैं उपेक्षा गर्थे । जातभातको ठेगान नभएको भनेर मेरो मजाक उडाउँथे । यसरी मेरो मजाक उडाउनेमा मदन र विकास सबैभन्दा अगाडि हुन्थे ।

स्कुलको पछिल्लो बेन्चमा एक्लै बसेर दाइले एसएलसी पासगरेका थिए । बाले त लागेपुगेको कसरत गर्नुभाथ्यो रे उनलाई स्कुलमा भर्ना हुन नदिन । तर, आफ्नो व्यवहारले कहिले कसैलाई नबिझाउने धनेदाइ र उनको परिवारप्रति सहानुभूति राख्ने सीमित परिवारको हस्तक्षेपमा दाइले स्कुलमा प्रवेश पाएकाथिए ।

एसएलसी द्वितीय श्रेणीमा उत्तीर्णभएका दाइ विगत दुई वर्षदेखि शहर बसेर कलेज पढ्दै थिए । उनी शहर पसेपछि मैले बाको हातबाट खाने पिटाइको निहुँमा एउटा निहुँ कम भएको थियो, तर उनी शहरबाट आएका बेला बाको रिसको पारा पुनः अकासिन्थ्यो । अहिले त झन् निहुँको भारी पुगेकोथियो बालाई-कलेज जो पढ्दैथिए धनेदाइ ।
“कलेज पढोस् कि जेसुकै अरोस्, दमै न हो । तेल्ले कलेज पढेर आफ्नो जात फेर्न सौ’छ र ?” बा बात बेबात गर्जिनुहुन्थ्यो । मलाई ननिको लाग्थ्यो तर बासँग कसको जोर चल्थ्यो र !
अरूबेला उनको घर नगए पनि दाइ गाउँ आएका बेला म लुकीचोरी उनको घर पुग्थें । म त्यसरी उनको घरमा पुगेको कुरा कसरी-कसरी बाको कानसम्म पुगिहाल्थ्यो । त्यसपछि भेट्थें मैले रामधुलाइ ।

बाको पटक-पटकको पिटाइले नचेतेको मलाई यतिखेर भने आमाको आँसुले कमजोर बनायो । म बाको जत्ति पनि पिटाइ सहनसक्थें तर आमाको आँसु सहनसक्थिनँ । मेरो कारणले कति रूवाऊँ, हात जोड्न बाध्य बनाऊँ आमालाई ? अहँ ! अब मैले आमालाई यसरी रूवाइरहनु हुँदैन !
तर, मैले त धनेदाइसँग कत्ति कुरागर्नै बाँकी छ । उनी आउलान र सुनाउँला भनेका कती कुरा सुनाउनै भ्याएको थिइन मैले । खासगरी गायत्री मिसको बारेमा ।पोहोरसाल एसएलसी पास गरेर हुनेखाने बाउको पहुँचको भरमा हाम्रै स्कुलमा साना कक्षामा पढाउन शुरू गरेकी गायत्री मिस लगभग मेरै उमेरकी थिइन् ।यसपालि मैले एसएलसी दिएर सकेपछि बाटोघाटोमा भेटहुँदा मसक्क मस्केर मुस्कुराउने गायत्री मिसले अस्ति बाटोमा भेट्दा दिएको चिठ्ठी त देखाएकै छैन मैले धनेदाइलाई ! दाइ शहरबाट आएपछि सबैकुरा उनलाई सुनाएर, अब के गरौं भनेर उनीसँग सल्लाह माग्ने सोचेको मात्रै थिएँ । तर, अब ?

त्यो दिनभरि म चिन्तित मनले वनपात र घरको काममा लागिरहें । आमाले मेरो चिन्तित अनुहारदेखेर कयौं पटक मेरो गाला मुसारेर, निधार छामेर हेर्नुभयो ।

भोलिपल्ट साँझमा बा, मदन र म खेतबाट फर्किंदा खोलाको छेउमा टुप्लुक्क धनेदाइ भेटिए ।
“ए उजोल ! एउछिन उता समीको रुखभा’तिर उक्ल त !” उनले सानो स्वरमा भने र खुरूखुरू अघिबढे । मैले टाउको उठाइनँ र पनि बा र मदनको आँखा मैमाथि गाडिएको अनूभूत गरिरहेको थिएँ ।

म समीको रूखमुनि पुगेपछि मलाई कुरेर बसेका दाइले कुनै भूमिका नबाँधिकनै सुनाए-उनीहरू सपरिवार शहर बसाइ सर्नलागेको कुरा । मेरो मन खिन्नभयो । मनको कुरा बाँड्न मिल्ने एकजना पनि शहरकै हुने भएपछि अब कसले सुनिदेला/बुझिदेला र मेरा कुरा ? त्यसदिन मैले धनबहादुर दाइलाई गायत्री मिसको चिट्ठीको बारेमा केही भन्नसकिनँ । कुनै सल्लाह माग्नसकिनँ । यतिबेला गाउँ छोड्ने कुराले दाइ आफैं उदास थिए । मेरोभन्दा उनको समस्या ठूलोथियो । मैले दाइकै मात्र सुन्ने निधोगरें ।
गाउँ छोड्न अघि दाइले मेरो हातमा काठमाण्डूको आफ्नो ठेगाना लेखेको कागजको टुक्रा राखिदिंदै भने,” सहर आइहाल्यौ भनी हाम्राँ नबसेनी पस्नलाई पस है ! तिमीसँ कतिकुरो भन्नैबाँकी थ्यो, खै, औसरै मिलेन !”
उनीहरुले गाउँ छोडेपछि बाले ‘हाइसन्चो’ भन्नुभयो । भाइहरूले पनि बाले झैं खुशीभएर देखाए । आमा भने मजस्तै उदास देखिनुभयो !

एक्लिएको म बिस्तारै-बिस्तारै गायत्री मिसतिर ढल्किँदै गएँ ।अरू कोही त उनका पनि थिएनन् । उनकी आमा उनी सानै हुँदा बितिसकेकी थिइन्, बाउ मेरै बाको छाँटका थिए । बाउ नै आफ्ना हुन नसकेपछि सौतेनीआमा आफ्नो हुने कुरै आएन ।
मेरो त संसारभन्दा विशाल मन भएकी आमा हुनुहुन्थ्यो कुरा सुन्न । माया गर्न । तर, उनको कुरा सुन्ने, माया गर्ने कोही छँदैथिएनन् । शायद त्यसैले पनि होला-उनी र म बीचको घनिष्टता सीमित समयमै नमेटिने गरी कोरियो-हामी दुबैको मन र जीवनमा ।

एकदिन मैले चामल केलाइरहेकी आमाको पिठ्यूँमा टाँसिँदै लाडे पल्टेर सोधें, “आमा ! मेरो बे अर्निबेला भएन र भन्या ?”
“जा, बज्जे !” आमाले मलाई आफूबाट पर घचेट्दै भन्नुभयो, “कसैले सुने नि के भन्नी हुन् ? कस्तो नकटो तँ ! आफ्नो बे’को कुरो नि आफैं अर्नी । शरम पचेको !”
“लौ ! बाले, तपैंले नअरेसि आफैं अर्न परेन त ? तेइमाथि नि तपैं दश र दुईकी हुँदा तपैंको बे भैसक्याथ्यो । म अर्को साल एक-बीसको हुन्छु । अब भन्नुस् त, यो निसाफ भो त ?”
आमा मन खोलेर हाँस्नुभयो एकछिन । मेरी आमाको ओठमा यसरी मुस्कान फुलेको एकदमै कम देखेको छु मैले र, यो जति सुन्दर, पवित्र र पुजनीय फूल अरूकुनै होला यो सृष्टिमा ? म मान्नैसक्दिनँ ।
“लु भन्,” आमाले हाँसो रोक्नखोज्दै भन्नुभयो, “कस्ती केटीसँ बे अर्छस् त तँ ?”
म आमाको अनुहार हेरेर एकैछिन हिच्किचाएँ अनि बिस्तारै भनें, “गायत्री मिसजस्ती !”
एकैक्षण आमाको अनुहारमा आँधीबेहरी चल्यो । उहाँले केलाउँदा केलाउँदैको चामलको सुपो भुइँमा छोडेर क्वारक्वार्ती मलाई हेर्नुभयो ।
“के भो आमा ?” मैले आमाको अनुहारको भावसँग तर्सिदै सोधें ।
“क्यै हैन !” आमा सजग हुनुभयो र सुपो उठाउँदै टाउको नउठाइकन सोध्नुभयो, “गायत्री मिस नै किन मन परिन् तँलाई ?”
“खै ? उसै मन पर्छिन् !” मैले लाजले भुतुक्क हुँदै भनें, “मिसले पनि मलाई मन परौंछिन् ।”
“कल्ले भनो ?” यसपटक आमाले मेरो अनुहारमा हेरेर सोध्नुभयो,।
“उनैले भनेकी,” मैले टाउको झुकाएरै भनें ।
“तैंले उन्सँ यस्तो-उस्तो बात अरेको त हैन नि ?” आमाको अनुहारमा अनौठो डर थियो ।
“सत्ते धरोधर्म ! म किन यस्तो-उस्तो बात अर्थिं र आमा ? तपैंको छोरो पो हुँ, छोरीमुन्छेलाई इजेत अर्न जान्या छु मैले । तो त उनैले लेखेर दिएकी थिइन् र पो ! उनले भनेसि मत्तै...,” म के भनौं-भनौं भएर चुप लागें । त्यसदिनको आमाको अनुहारको अनौठो भावले नराम्ररी तर्साएको थियो मलाई ।

एकहप्ता बित्यो।

गायत्री मिस र मेरो बीचमा थुप्रै कुरा साटफेर भए । जीवन साथै बिताउने वाचाकसम साटिए । कस्तै आपतविपतमा पनि साथ नछोड्ने अठोटको डोरीले एक-अर्कालाई बाँध्न भ्याइसकेकाथियौं हामीले, त्यती छोटो समयमै पनि ।

त्यसदिन पनि गायत्री मिससँग भेटेर भविष्यको सुनौलो सपना देख्दै घर फर्किएको मलाई थाहै थिएन घरमा कत्रो ठूलो वितण्डा मेरो पर्खाइमा थियो भनेर ।
“काँ थिस् ?” बा मलाई देख्नासाथ उड्किनुभयो, “यत्खेरसम्मन् काँ थिस् ?”
“म...म...,” अलि पर टाउको झुकाएर बसेकी आमातिर गुप्त दृष्टि फ्याँक्दै मैले भन्न खोजें तर मैले कुनै बहाना जोड्नुभन्दा पहिल्यै विकासले विष भरिएको स्वरमा भन्यो, “झुटो बोल्नी त सोच्दा नि नसोचेस् । मैले तँलाई र गायत्री मिसलाई समीको फेदाँ टाउको जोडेर बस्या देख्या हुम् ।”
मदन मर्मुरिँदै उठ्यो । मैले असहाय भावले आमातर्फ हेरें । बाले मदनको हात समातेर उसलाई बस्न इसारा गर्नुभयो । मदन नाक-मुखबाट रिसकोमुस्लो छोड्दै थेच्चारियो ।
“विकासेले भन्या साँचो हो ?” बाले फेरि सोध्नुभो ।
मेरो झुटो बोल्ने हिम्मत भएन ।साँचो बोल्ने त झन् हुने कुरै भएन । बा, मदन र विकास भेला हुँदा जहिले पनि मेरो सधैंभन्दा धेरै दुर्गति हुनेगर्दछ । यस्तो बेलामा आमाको पनि केहीसीप लाग्दैन ।अब आज के अनर्थ हुने हो ! म सोचेरै डराएँ ।
“भनेसि कुरो साँचो हो ?” बाले यसरी भन्नुभयो-मानौं कुनै मुद्दाको छिनोफानो गर्न जानुहुँदै थियो ।मैले फेरि मद्दत माँगेजस्तै गरी आमातिर हेरें । आमाले अझै टाउको उठाउनुभएन । मलाईलाग्यो-म त्यहाँ आउनुभन्दापहिल्यै मेरो भविष्यको निर्णयभइसकेको थियो । शायद त्यसैले आमा मतिर हेर्न डराइरहनुभएकोथियो ।
“ए विकासे ! जा, जा बाहिर दलिनाँ घुसारेको मेरो लौरी झिकेर ले !” बाले विकासलाई अह्राएपछि बल्ल आमाले टाउको उठाउनुभयो । उहाँको चोटै चोटले भरिएको अनुहार आतंकित देखिन्थ्यो ।
विकासले बाहिरतिर कदम बढाएपछि आमा झटपट उठेर मेरो छेउमा आउनुभयो र मेरो पाखुरा समातेर जबर्जस्ती मलाई बाहिरतिर धकेल्न खोज्दै कराउनुभयो, “निस्की ! एैले भख्खर निस्की मेरो घरा’ट । तँ कुलंघारलाई अब यौछिन बासदिन्नँ मेरो घराँ । लौ निस्किहाल् !”
“आमा ! के कुरा अर्नां, यो ?” मैले आमाको हात थामें । बा पनि जिल्ल परेर हामीलाई हेर्नथाल्नुभो । विकासले बाहिर निस्कन बिर्सियो ।
“ नभन् मलाई आमा । म तेरी आमा हैन । भा’भे तैंले यो भाउँतो अर्थिस् र ? जा निस्की । घरमत्तै होइन, गावैं छोडेर जा बरू !” आमाले मलाई भएभरको बल लगाएर बाहिरतिर धकेल्नुभयो ।
“तेसो नभन्नोस् आमा ! म तपैंलाई छोडेर कैं जान्न के !” मैले आमालाई अँगाले, “मैले क्यै भाउँतो अर्‍या छैन आमा ! जे अर्‍याछु, तो तपाईं...”
“उजोल ! तैंले मलाई एकै निमेषकालाई आमा मान्या होस्भनी एैल्यै निस्की यो घरा’ट ।फेरि फर्केर याँ कसैलाई अनार देखाउन नआएस् । तेरो र हाम्रो अन्नपानी यैंसम्मन् साझा थ्यो ।अब आगे तेरो तैं जान् । हाम्रो हाम्लाई मिलाम्न दे । जा निस्की ! अब आइन्दा मलाई तेरो अनार नदेखा । जा ! गैहाल !” आमाले मतिर हात जोड्नुभयो र फरक्क फर्केर भान्सातिर छिर्नुभयो । म थर्थराएको कदमले बाहिर निस्किएँ । हुरूक्कै प्राण जालाजस्तै भयो एकछिन ।त्यसपछि मेरो रिसको पारा यस्तरी चढ्यो-म आफ्ना अगाडि परेका सबै कुरालाई लात्ताले बजाउँदै अघि बढें । मरुन् सब्बै, खाँचैसिति ! मलाई नि के मतलब !
म रूँदै, रन्थनिँदै समीको रूखमुनि गएर बसें र डाँको छोडेर रोएँ ।

आधा रातसम्म लागिरह्यो-आमा मलाई खोज्दै आउनुहुनेछ र फकाएर घर लैजानुहुनेछ ।त्यसपछि सबै ठीक भइहाल्छ ।पहिले पनि त भएकै हुन् यस्ता जैरे झगडा । तर, आमाले कहिल्यै निस्केर जा भन्नुभाथे’न । कहिल्यै ‘म तेरी आमा होइन‘ भन्नुभाथे’न । बाले घोक्र्याएर, गलहत्याएर घरबाट निकालेको त लेखाजोखा नै थिएन तर आमा भोकैप्यासै मलाई खोज्न हिँडिहाल्नहुन्थ्यो । फकाएर, मनाएर घर लैजानुहुन्थ्यो । आफ्नै हातले खाना ख्वाउनुहुन्थ्यो र मलाई फिर्ता घरमा हुलेबापत निलाम्ये हुनेगरी बाको पिटाइ खानुहुन्थ्यो । जति-जति ती कुराहरू सम्झन्थें, त्यति-त्यति मेरो मन काटिन्थ्यो । म रूँदै, छट्पटाउँदै निक्कैबेर पछि त्यहीँ समीको फेदमै निदाएँ ।

रातको कुन्नि कतिबेला गायत्रीमिसले कोट्याएर उठाएपछि म ब्युझिएँ । सकिनसकी दुइटा झोला बोकेर मेरो सामु उभिएकी गायत्री मिस भन्दै थिइन्, “उठ उज्वल ! अलिबेरमा उजेलो भएसि हिँडिसाध्य हुन्न । छिट्टो अ’र !”
“त... तपैंले कसरी था’पाउनयो म याँ भा’कुरा ?” मैले अक्मकिँदै सोधें ।
“यो बेला हो यी बात अर्नी ? उठ !हिँड ! याँ म ज्यान परान जोखिममा पारेर आ’छु, तिमीभने...उठ भन्या !” उन्ले मलाई बल लगाएर तानिन् । म उठें ।
“तर मिस... आमा...”
“हिँड के ! आमाको कुरो पछि अरौंला ! तिम्रा, मेरा घर्काले हाम्लाई ऐले याँ फेला पारेभनी ज्यानै लिन्छन् । ज्यान लिए नि एउटै च्यान बनाइदे त हुन्थो तर हाम्लाई त भिन्दाभिन्दै पोल्छन् र पो !” उनी रून थालिन् ।
“कता जानी ?” मैले डराउँदै सोधें । उनी अघि लागिन् । म उनकोपछि लागें ।
त्यो दिन नै मेरो अन्तिम दिन थियो त्यस गाउँमा ।

शहर पुगेर हामी धनेदाइले हिँड्नेबेलामा मेरो हातमा हालिदिएको चिर्कटोमा लेखिएको ठेगाना पहिल्याउँदै बालाजु पुग्यौं।
दाइले हामीलाई एकसाथ देखेरै नै सबै कुरा बुझे मानौं । केही सोधेनन् । केही भनेनन् ।

त्यो रात हामीले उनको परिवारमा मिसिएर परिवारकै सदस्यझैं रातबितायौं । भोलिपल्ट बिहानै उनले हामीलाई त्यहीँ नजिकको भगवती मन्दिरमा पुर्‍याए । एउटा पण्डित समातेर टीकोटालो, फूलमाला गरेर लगाएकै लुगामा बिहे गराइदिए र भने, “हेर उज्जोल ! तिम्रा बा, भाइ र मिसका बा तिमर्लाई खोज्न आए भने सब्बैभन्दा पैला मैंकाँ आउँछन् । तेईभ’र म तिमर्लाई मेरो डेराँ राख्नसौदिन ।”
उनको कुरा सुनेर हामी दुबैको अनुहार डरले विवर्ण भयो । शहरको अनुभव र अरू कुनै आधार जो थिएन हामीसँग ।
“हैन, किन आत्तिएका भन्या ?” दाइले भने, “सुर्ता नअर क्या । मेरो फुपू छिन् गोदावरीमा । म तिमर्लाई त्यैं छोडेर आउँछु । तेतै घरजम अरेर बस । कसैले पत्तो पाउन्न । उसै पनि म त अम्रिका जानी भा’छु । डीभी पर्‍या छ मलाई ।”
उनले भनेको ‘अम्रिका जानी’ कुरो मैले राम्ररी बुझ्या थिइनँ । गायत्री मिसले के-कति बुझिन्, उनै जानून् ।

हामी गोदावरीमै व्यवस्थित भयौं ।गायत्रीले त्यहीँ नजिकैको एउटा स्कुलमा काम पाइन् । मैले पाटन क्याम्पस पढ्दै जे भेटेको सानोतिनो काम गरिरहें ।

मेरो आमासँगको रिस अझै मरेको थिएन । अरुले जे गरेपनि आमाबाट मैले त्यो अपेक्षा गरेकोथिइनँ । कसरी सक्नुभयो उहाँले ति सब कुरा भन्न ? म उहाँले जन्माएका मदन, विकास र भरतजस्तै उहाँकै सन्तान भएकोभए मलाई बिनाकसुर त्यसरी रातबिरात नभनी घरबाट निकाल्नुहुथ्यो र उहाँले ? उहाँ मेरी आमाजस्ती मात्रै हुनुहुन्थ्यो, आमाहुनुहुन्थेन, शायद त्यसैले सक्नुभयो उहाँले म सँग त्यस्तो ब्यवहारगर्न । मेरो छाती निचोरिएर आउँथ्यो । म ती अनगिन्ती दिन सम्झिन्थें, जब आमाले मेरा लागि बाको कुटाइ खानुभाथ्यो । गाली त कति कति ।
एकदिन मैले बाको चुटाइले थिलोथिलो भएको उहाँको अनुहार मुसार्दै सोधेको थिएँ, “आमा ! भन्नू त, तपैंलाई सबैभन्दा धेरै मयाँ कसको लाउँछ ? बाको, मदनको, विकासको, भरतेको कि मेरो ?”
“तेरो !” आमाले एकक्षण नसोची भन्नुभा’थ्यो ।
“उस् ! होला नि अब !” मैले एकटक उहाँको आँखामा हेरेर सोधेको थिएँ, “किन, भन्नुस् त ?”
“दुइटा कारन छन्,” आमाले मेरो नाकमा चिमोटेर भन्नुभाथ्यो, “मदन, विकास, भरतभन्दा पैले तँ आ’थिस् मेरो पोल्टाँ । तेरै लक्षिनले अर्दा यिनरू जन्म्याँहुन् ...” उहाँले एकैछिन अडिएर भन्नुभाथ्यो, “तोमाथि तँ त मेरो बकाइनाँ बोट । तँ जत्तिको अरू को हुन सौ’छ भन् त ? बा’नि हुन सौनुहुन्न । कोई नि हुनसौदैनन् ।”
मलाई विश्वास लाग्थेन- त्यस्ती आमाले मलाई त्यसरी घोक्राएर घरबाट निकाल्नुभा’थ्यो ।

तीन वर्ष बित्यो।
हामीलाई पनि डिभी पर्‍यो ।अमेरिकामा एक्लै बसौं कि फर्कौं भैरहेका धनेदाइ हामीलाई डीभी परेको सुनेर दंगदास परे । हामीले अमेरिका उड्ने तयारी गर्‍यौं । यो तयारीमा दाइले खुब मद्दत गरे ।

सबै कुम्लोकटेरो कसेर अमेरिका पुर्‍याउने प्लेनमा बसिसकेपछि मेरो ध्यान गायत्रीको कानको बालीमा अल्झियो । मैले पहिले कहिल्यै त्यो बाली उनको कानमा देखेकोथिइनँ । मैले त्यसरी एकोहोरो उनको कानमा हेरिरहेपछि उनले सोधिन्, “के हेर्‍या त्यसरी ?”
“क्यै हैन ।” मैले बिस्तारै भनें र मुन्टो बटारेर बाहिरतिर हेर्न थालें ।तर, मेरो ध्यान फेरि गायत्रीको बालीमै पुगेर अडियो । मैले फेरि उतै हेरें । ठ्याक्कै आमाका कानका बालीजस्ता !
“आमाकै हो !” यसपटक मैले उनको कानमा हेरिरहँदा गायत्रीले मेरो हात समातेर कोमल स्वरमा भनिन् ।
“आमाले किरिया ख्वाउना’थ्यो, तिमीलाई केही नभन्नू भनेर ।एत्खेर अकासाँ छम् । आमाको किरिया धरतीमै छुट्यो भन्ने विश्वास मानेर भन्दै छु । मलाई पाप नलाओस्,” उनले हातजोडिन् र बिस्तारै भनिन्, “त्यो दिन आमा मेरो घराँ आउना’थ्यो ।”
“कुन दिन ?” मैले व्यग्र स्वरमाभनें, “कुन दिनको कुरा अरेको तिम्ले ?”
गायत्री मेरो कुरै नसुनी एकसुरले बोलिरहिन्, “मेरा बा र तिम्रा बाले मेरो र मदनको बे छिन्देका रैचन, हाम्लाई सोद्दै नसोधी । तिम्री आमाले था’पा’र तिम्रो बालाई सम्झाउन खोज्दा ढाड भाँचिनेअ’री गोदेछन् बूढाले आमालाई !”
“गायत्री !”मलाई आमाको चोटैचोटले भरिएको अनुहार याद आयो । मेरो आँखामा भुलुक्क आँसु उम्लियो, “तिम्ले मलाई पैल्यै किन भनिनौ ?”
“मेरो ठाउँमा तिमी भा’भे भन्थ्यौ र आमाले तेतिभाँती किरिया ख्वाएसि ?” गायत्रीले सोधिन् । मैले टाउको झुकाएर आँसु पुछें ।
“राति पिसाफेर्न बाइर निस्केकी थिएँ । कुन्नि कत्खेरदेखि तिम्री आमा हाम्रो दैलाँ आ’र बस्ना’रैछ,” गायत्रीको स्वर रूँघियो, “मेरो अनार देख्नीबित्तिकै सोध्न’यो-‘मेरो उजोललाई मयाँ अर्छ्यौ ? मन पराउँछ्यौ तेल्लाई ?’ त्यसपछि मेरो जवाफै नसुनी मलाई अँगालेर भन्न’यो- ‘ढिलो नअ’र । तेल्लाईले‘र शहरतिरै ग’र बस । तो याँ बसो भनी गिँडेर मादीमा गेरदिन्छन् तेल्लाई । यि कुरा तो सँ भनींभने कुरो बुझाउन सौदिनँ, तेसैले तिम्लाई भन्न आ’की ! ऐल्यै हिँडिहाल । उजेलो भएसि के हो के हो ! त्यतै समीको फेदाँ बसेर रोइरा’होला बिचरो ! आमाले नै वाणजस्तो वचन ला’सी किन नरोओस् बरा !”गायत्रीको हिक्का फुत्कियो । म झ्यालतिर फर्किएँ।
“त्यसपछि वाँले पटुकामा घुसारेको यो कानको बाली, यी यो तिलरी र दुइ हजार रुप्पे मेरो हातमा दिएर ‘जे अरेर भ’नि तेल्लाई उतै अड्याउनू, यता ढिम्कन नदिनू, तेसको राम्रो हेरचार अर्नू, पेटाँ देउता भा’ मुन्छेहो मेरो छोरो, तिम्लाई सुख्खले पाल्छ, पिर्दैन’ भनेर रुँदै जान’यो ।” गायत्रीले मेरो हात समातेर भनिन्, “मलाई माफअ’र उज्ज्वल ! आमाले मलाई तिम्रो किरिया ख्वाउनाँथ्यो, तेईभ’र मैले तिमीसँ केई भनिनँ ।”
म केही बोलिनँ । चुपचाप रोइरहें । मैले कसरी मेरी आमालाई गलत सोच्न सकें ? शायद म छोरोजस्तो मात्रै थिएँ, उहाँको छोरो हुनसकेकै थिइनँ ।

अमेरिकामा व्यवस्थित हुन डीबी(धनबहादुर) दाइले यसरी मद्दतगरे, जसरी एउटा सहोदर दाइले भाइलाई गर्छ ।
आफ्नै घरमा राखे । आफ्नै कमाइले बाँडिचुँडी मीठो मसिनो खुवाए महिनौं सम्मन् ।
सबै सेट भएपछि यी वर्षहरूमा दाइले रगत पसिना बगाएर जोडेको पैसामा ऋण-धन गरेर हामीले मिलेर एउटा पेट्रोल पम्प किन्यौं ।
एक वर्षपछि एउटा ग्रोसरी पसल किन्यौं । त्यसपछि अर्को अनि अर्को ।
काममा जति नै जोतिनु परे पनि गायत्रीले मलाई अगाडि पढ्न मद्दत गरिरहिन् ।

आज अमेरिका आएको १६ वर्षपछि म यहीँको एउटा बैंकमा म्यानेजर थिएँ । गायत्री, डीबी दाइ, उनकी श्रीमती देवी भाउजू र दाइको सालो मिलेर पेट्रोल पम्प, ग्रोसरी पसल चलाउँथे ।

१९ वर्षपछि डीबी दाइ भाउजूलाई साथमा लिएर नेपाल गएर दुई महिना बसी फर्किएका थिए-एक हप्ताअघि मात्रै ।
मेरो कामको व्यस्तताका कारण आजबल्ल साइत जुरेको थियो दुई परिवार सँगै बसेर कुराकानी गर्ने । दाइ-भाउजूका कुरा सुन्ने । नेपालको हालखवर जान्ने ।
दाइका बाबु-आमाको निधनभएको केही वर्ष भइसकेको थियो । नेपालसँग उनको नाता भनेको उनकी फुपू र दुई बहिनीमात्रै थिए ।

हाम्रो पनि डीबी दाइ र भाउजू बाहेक अरू कोही परिचित, आफन्त र अन्तरंग थिएनन् यो संसारमा । मेरो १२ वर्षको छोरो गौतम र ५ वर्षकी छोरी गीति डीबी दाइलाई ठूल्बा भन्थे । दाइका दुईभाइ छोरा मलाई काका भन्थे । दाइको जेठो छोरो १४ वर्षको थियो भने कान्छो छोरो मेरो छोराकै उमेरको थियो । प्रगाढ दोस्ती थियो छोराहरूमा पनि ।
छोरा जन्मेको छ वर्षपछि जन्मेकी हाम्री छोरी, हाम्री मात्र नभएर उनीहरूकी पनि छोरी थिई । तिहारमा गीतिले टीकाटालो गर्ने ती तीनवटा निधार हाम्रा लागि उत्तिकै आफ्ना थिए ।
यो विरानो देशमा हामीलाई डीबीदाइको बडो आड र भरोसा थियो । चाहे जुनसुकै बेलामा होस्-दाइ र भाउजू हाम्रो साथमा दह्रोसँग उभिएका थिए । उनीहरू बिना अपूरो थियो हाम्रो परिवार ।छोराछोरी जन्मिँदा पनि उनीहरू नै थिए साथ दिनका लागि ।
छोरी जन्मिँदा अस्पतालमा नर्स र मिडवाइफले नाम के राख्ने भनेर सोध्दा गायत्रीले मानौं मेरो मन पढेर भनेकी थिइन् -“गीति राखौं न, हुन्न ?”
डीबी दाइ र भाउजूले गायत्रीलाई अनुमोदन गरेका थिए । मैले आफ्नो काखमा भएकी छोरीको अनुहार हेरेको थिएँ । उसको अनुहारको ठाउँमा आमाको अनुहार देखेको थिएँ मैले । मेरी आमाको नाम गीता थियो । मैले छोरीको निधार यसरी चुमेकोथिएँ, मानौं त्यो मेरी आमाको अनुहार थियो । आँखाका कुनाबाट झरेका आँसु छोरीको मुडुलो टाउकोमा झरेपछि गायत्रीले बिस्तारै भनेकी थिइन, “सी इज ब्लेस्ड !”

मेरो जीवनमा सबै कुरा आफूले चाहेजस्तै, चिताएजस्तै थियो तर चैन थिएन । गायत्री यस्ती पत्नीथिइन्, जो आँखामा हेरेर मनको कुरा बुझिदिन्थिन् । कदमकदममा साथ दिएकी मेरी सहचरीलाई थाहा थियो-मेरो मनको कहिल्यै नपुरिने घाउ कति गहिरो थियो भनेर । उनले मलाई पटक पटक नेपाल जान आग्रह नगरेकीपनि होइनन् तर मेरो खुट्टा उचालिन्थेनन् । यौटा त आमाको कसम याद आउँथ्यो अर्को, डरलाग्थ्यो- कतै आमाले मदन, बिकाश र भरतको मायामा भुलेर मलाई बिर्षिदिनुभएको त छैन ? आखिर म उनीहरू जत्तिकै आफ्नो पनि कहाँ हूँ र ?

० ० ०

अचानक कता-कताबाट आएर एउटा कालो बादलको टुक्राले जूनलाई ढपक्क ढाकिदियो । मेरो मन परक्क बटारियो । ऐंठनको एउटा झट्का झेलिसकेपछि म हान्निएर भित्र पसें ।
“गायत्री ! उठ न गायत्री,” मैले उनलाई घच्घच्याएँ । मेरो हड्बडाएको चर्को स्वर सुनेर उनी अत्तालिँदै उठिन् र सोधिन्, “केभयो ? के भयो ?”
उनको अत्तालिएको स्वर सुनेपछि बल्ल मलाई आफ्नो व्यवहारमाथि संकोच लाग्यो ।
“सरी !” मैले बिस्तारै भनें, “गायत्री ! म नेपाल जान्छु !”
“अहिल्यै !” उनले छक्क पर्दैभनिन् ।
“अहिल्यै टिकट पाए अहिल्यै !” मैले ढृढतापूर्क भनें ।
“भोलि...”
“गायत्री ! मेरो मन एकदम छट्पटाएको छ । पहिले पनि आमा एकचोटि सिकिस्तै हुँदा यस्तै भा’थ्यो । म ढिलो हुनचाहन्न गायत्री,” मैले काँतर स्वरमा भनें ।
“पख, म ल्यापटप ल्याउँछु ।अनलाइन टिकट बुझौं,” उनले निर्णायक स्वरमा भनिन् र उठेरगएर ल्यापटप लिएर आइन् । हामीले अनलाइन चहारेर बल्लतल्ल बिजनेस क्लासको एउटा टिकट बुक गर्‍यौं । टिकट बुक हुनासाथ रातबिरातको ख्यालै नगरी मैले डीबी दाइलाई फोन गरेर एयरपोर्ट छोडिदिन आग्रह गरें । उनले एकशब्द खर्च नगरी तयार भएर बस्नभने । त्यतिबेलासम्म गायत्री ब्यागमा मेरा लुगा र अरू दैनिकीका लागि आवश्यक सामान हाल्न थालिसकेकी थिइन् ।
“यताको कुनै पीर नगर,” गायत्रीले आश्वासनपूर्ण स्वरमा भनिन्, “हामी सबै सम्हाल्छौं । त्यहाँ पनि तिमीले कसैसँग दब्न, डराउन पर्दैन । अब तिमी पहिलेको उज्ज्वल होइनौ । मेरै बाउले जोरी खोजे भने पनि जोरी पुऱ्याएर देखाइदेऊ,” उनले बाथरुमबाट मेरो ट्वाइलेटरी ब्यागलिएर आइन् । उनी लगातार बोलिरहेकी थिइन्, “आमालाई लिएर आउन मिल्छ भने केही दिन लगाएरै भए पनि लिएरै आऊ ।कागजपत्र, पैसासैसा के-कसो चाहिन्छ, फोन गर । म डीबी दाइको मद्दतले सबै व्यवस्था गरेर पठाउँछु ।”
मैले अघिबढेर उनलाई अँगालेरभनें, “धन्यवाद !”
उनले मलाई सुस्तरी चुमिन् र मायालु स्वरमा भनिन्, “डोन्ट वरी ! तिम्रो अनुहार नदेखेसम्म तिम्री आमालाई केही हुनेछैन ।”
“प्रार्थना गरिराख गायत्री ! मलाई यतिबेला त्यसैको खाँचो छ,” मेरो घाँटी अवरूद्ध भयो ।
“ढुक्कले जाऊ उज्ज्वल ! सबै ठीकहुनेछ,” उनले आश्वासनपूर्ण स्वरमा भनिन् । हामी बाहिर निस्कियौं ।
“गौतमले सोध्ला...गीति त...”
“म बुझाउँछु उनीहरूलाई । तिमी पटक्कै चिन्ता नगर । शुभयात्रा उज्वल !”
“धन्यवाद !”
डीबी दाइले मेरो छेउमा ल्याएर गाडी रोकेपछि गायत्री उनलाई नमस्ते गरेर, मलाई फेरि एकपटक‘शुभयात्रा’ भनी घरभित्र पसिन् ।

० ० ०

गाउँसम्म गाडी पुग्ने भएकोले मैले एउटा ड्राइवर समेतको प्राडो भाडामा लिएँ र काठमान्डूमा बस्दैनबसी गाउँतिर हान्निएँ ।

आमाको विजोग थियो । केहीहप्तादेखि थलिएर इन्तुनचिन्तु भएर ओच्छ्यान पर्नुभएकी, सुकेर हाडछाला हुनुभएकी आमाको पोषण नपुगेको, डिहाइड्रेटेड शरीर देखेर मेरो मुटु फुट्लाजस्तै भयो । मैले उत्तिखेरै आमालाई काठमान्डूलैजाने निर्णय सुनाएँ ।

मेरो व्यक्तित्वको रोवले खुम्चिएर चुप बसेका मदन र विकास मेरो निर्णय सुनेर सजग भए । भरतचाहिँ कोरियातिर थियो क्यार ।
“हामी छोराहरू हुँदाहुँदै आमा को न कोसँ किन जानुहुन्छ ?” मदनले हक्की स्वरमा भन्यो । विकासले सहमत हुँदै टाउकोमात्र हल्लायो ।
“खुब छोराहरू भइखाएका !” म गर्जिएँ, “अवस्था देख्या छौ आमाको ? यस्तै हुन्छ यत्रा छोराहरूभएकी आमाको दुर्दशा ? कि तिमीहरू आमालाई शहर लैजाओ, उपचार गराओ, राम्रो रेखदेख गरओ, म केही बोल्दिनँ । कि भने मलाई लैजान देओ । होइनभने सोझै पुलिसकोमा गएर रिपोर्ट गर्दिन्छु !”
पुलिसको नाम सुनेर मदन र विकासको अनुहारमात्र खुम्चेन, अलि पर उभिएर यतै हेरिरहेका उनीहरूका श्रीमतीहरू पनि तर्सिए ।
“किन दशथरी द्वादस अर्छौ ?” हामी सबैभन्दा उमेरले अलि पाका ठूल्बाका छोराले अघि सर्दै भने, “उजोल पनि छोरैसरह हो ! कान्छीआँले सालनालसुध्धै स्यार्ना’हो एल्लाईनि । एसकोपनि हक लाउँछ । तिमरूको जत्तिकै नलागे नि हक लाउँछ ।”
मेरो छाती चौडा भयो । आमामाथि मेरो पनि हक मानिदिने एउटै भए नि मान्छे त भेटियो !
“त्यै’नि कान्छीआँलाई सोधिहेर । जसो भन्नोला, उसै अर !”
मदन र विकासको अनुहार फुंगउड्यो । ठूल्बाका छोरा आमाको मैलो न मैलो ओछ्यानतिर गए र त्यही मैलो ओछ्यानमा टाँसिनुभए जस्तै देखिनुभएकी आमाको छेउमा गएर ठूलो स्वरमा भने, “कान्छीआँ, उजोल आ’छ ! तपैंलाई शहर लान्छु भन्छ ! तपैं के भन्नुहुन्छ ?”
म तीव्र उत्कण्ठाका साथ आमाको ओछ्यानतिर सरें । मदनकी स्वास्नी पल्याकपुलुक यताउताहेर्दै मदनतिर सरी र उसको कानमा केही भनी । उसको कुरा सुनेर मदनले असन्तोषपूर्वक टाउको हल्लायो । मदनकी स्वास्नीले विकाससँग पनि केहीभनी । विकासले आफ्नी स्वास्नीलाई आफूतिर बोलायो । उनीहरू एक-आपसमा सर-सल्लाह गरिरहँदा ठूल्बाका छोरा आमालाई बारम्बार एउटै कुरोसोध्दै थिए, “कान्छीआँ ! तपैं के भन्नहुन्छ ? मदन र विकाससँ एतैबस्नुन्छ कि उजोलसँ शहरजानुन्छ ?”
ती दाइले निकैफेर सोधेपछि बल्ल आमाका नीला देखिएका परेलाका डिल उघ्रिए । दलिनमा झुन्डिएको एक्लो बल्वको सहारामा फिँजिएको पहेंलो, बिरामीजस्तो मधुरो प्रकाशमा निक्कैबेर लगाएर उहाँले मेरो अनुहारमा आफ्ना आँखा फोकस गर्नुभयो । मेरो मुटु वेगसँग दौड्यो । आँखाबाट आँसुको धारो छुट्यो ।
एकैछिन आमाको अनुहारमा कुनैभाव झुल्केन । उहाँले म बाट आफ्नो दृष्टि हटाएर मदन र विकास भएको दिशातिर हेर्नुभयो । मेरो मनले हरेस खायो । आमा आफ्नो छोराहरूको साथ छोडेर मेरो साथमा किन पो जानुहोला र ? जसरी राखेपनि उनीहरू आमाका संन्तानथिए । म के थिएँ ? सावितहुन बाँकीनैथियो सायद ।
आमाको दृष्टि आफूहरूतिर सोझिएको पाएर मदन र विकासपनि मेरो छेउमै आएर उभिए । तिन्का स्वास्नीहरूले भने परैबाट हामीतिर हेरिरहे । दाइले फेरि एकपटक आफ्नो प्रश्न दोहोर्‍याएपछी आमाले बडो मेहनतसाथ आफ्नो सुकेको हात उठाउनुभयो र झिनो चोरी औंलाले म तिर संकेतगर्नुभयो । मेरो हिक्का फुत्कियो । म धर्मराएर छेउको थाममा आडलागें । लाग्यो-आमाले फेरि एकपटक म उहाँको छोरा भएको सावित गर्दिनुभएको छ ।
“कान्छीआँ, तपैं उजोलसैं जानीहो त ?” दाइले फेरि सोधे ।
“हो ! जानी हो !” यसपटक आमाको क्षिण स्वर मेरो मन र आत्मालाई शीत्तल बनाउँदै गुञ्जियो । मैले देखें-उहाँको सुख्खा आँखामा आँसु टल्किएकोथियो ।
“लौ, अब यत्ति भएसि कुरैसक्यो,” दाइले पटाक्षेपगर्दै भने, “अब ढिलो किन अर्नी त ? बोक्नि मान्छे खोज्नी...”
“होइन, पर्दैन ! त्यैं पर गाडी भा’ठाउँ सम्म त हो,” म अघि बढेर आमाको छेउमा घुँडा टेकेर बसेंअनि भनें, “आमा ! तपैंलाई अस्जिलो त हुन्छ तर म तपैंलाई बोकेर...”
“मलाई अस्जिलो हुन्न,” आमाले मतिर हात बढाउनुभयो । मैले आमाको हात थामें र उहाँको फूलको थुंगाजस्तै हलुको शरीरलाई जुरूक्क आफ्नो दुईहातमा उचालें । मदन र विकासको अनुहारमा पराजयको भाव थियो भने तिनका स्वास्नीका अनुहारमा खुशी ।
मैले ठुल्बाका छोरासामु टाउको झुकाएँ र उनीसँग बिदा मागें । उनले मेरो टाउकोमाथि हातराखिदिए । म आफ्नो दुई हातमा संसार समेटेर अघि बढें ।
संघार काटेर बाहिर निस्केपछि आमाले टाउको मोडेर घरतिर हेर्नुभयो र दुबै हात जोडेर निधारमा पुर्‍याउनुभयो । उहाँको आँखाबाट अविरल आँसु बग्न थालेको थियो ।
“अब किन रुनुन्छ आमा ? अब त म आएँ त,” मैले आँसुले पुरिएको सानो स्वरमा भनें ।
“यत्रा बर्खपछि मैले मेरो बकाइनाँबोटको आड पा’छु । आज त मेरो आँसु के अड्डेला र उजोल,” आमाले मेरो अनुहार मुसार्नुभयो ।

अब बल्ल म सही अर्थमा मेरी आमाकोलागि उनको ‘आफ्नो’ बकाइनाँ बोट बन्न सकेकोथिएँ सायद । मैले झुकेर आमाको निधारमा चुमें । आमाले आफ्नाझिना हात उठाएर मेरो गर्दनमा बेरेर मेरो छातीमा टाउको अड्याउनुभयो ।

प्रकाशित मिति : प्रकाशन मिति : बिहीबार, 22 श्रावण, 2077

लेखकका अन्य रचनाहरु