"दाइबुचु" नियात्रासङ्ग्रहमा एक दृष्टि

- खुम खड्का

नियात्रा गद्य साहित्यको निबन्ध विधाबाट विकसित स्वतन्त्र अस्तित्व भएको छुट्टै विधा हो । यसमा यात्रा जन्य विषयवस्तु र यात्राकारको निजात्मक अनुभूतिको मिश्रित भावोन्मेष पाइन्छ । नेपाली साहित्यमा राजा गगनीराजको यात्रा (१५५०)बाट आरम्भ भएको यात्रा साहित्यले मुख्यतः तारानाथ शर्माको ‘बेलायततिर बरालिँदा (२०२६)बाट विस्तारित र मानक रूप प्राप्त गरेको हो । उनीपछि पूर्णप्रकाश यात्री, रमेश विकल, गङ्गाप्रसाद उप्रेती, मोहन सिटौला, विजय चालिसे, तेजप्रकाश श्रेष्ठ, गोविन्द गिरी प्रेरणा, राजेन्द्र सुवेदी, लैनसिह बाङ्देल, रामप्रसाद पन्त, इल्या भट्टराई, गोपीकृष्ण शर्मा, ध्रुवचन्द्र गौतम, केदार सुनुवार, कृष्ण बजगाईं आदिले यसलाई समृद्ध बनाए ।
साहित्यकार कृष्ण बजगाईं बर्तमान समयमा सर्वाधिक चर्चित नियात्राकार हुन् । यिनको युरेशियाको स्पर्श, भाया साक्रा पछि प्रकाशित नियात्रा सङ्ग्रह ‘दाइबुचु’ हो । २०७६ सालमा शिखा बुक्सले बजारमा ल्याएको यो कृति यात्राकारको जापान भ्रमणमा आधारित रहेको छ।य समा जम्मा तेह्र वटा नियात्रा रहेका छन् । यसमा रहेको पहिलो नियात्रा ‘सम्राटको आत्मा दर्शन’ मा जापानका १२२औं सम्राट मेइजीको स्मृतिमा बनाइएको धार्मिक स्थलमा पुग्दा देखेका र अनुभूत गरेका कुराहरू प्रस्तुत गरिएको छ । दोस्रो नियात्रा ‘टोकियोको झरी’ मा सिबुया बजार, कम्पनिका सामानको तरुनीको तिघ्रा भाडामा लिई गरिने विज्ञापन, जापानीहरुको कुकुर प्रेम, काँसले बनाइएको हाचिको नामको कुकुरको मूर्ति र बफादारिताको प्रसङ्गहरू आएका छन् ।
तेस्रो नियात्रा ‘जापानका केराघरे माचुओ’मा जापानका हाइकु सम्राट ‘माचुओ बासो’ को घरलाई म्युजियम बनाइएको, त्यहाँ उनका हाइकुका पुस्तक राखिएको, बगैचामा राखिएका ढुङ्गामा समेत हाइकु कुँदिएको, त्यहीं पुगेर साथीहरू प्रकाश पौडेल र रामकुमार पाँडे लिखित ‘हजार हाइकु’ विमोचन गरिएको रमाइलो चित्रण गरिएको छ । यसपछिका अन्य नियात्राहरूमा जापानको कामाकुरामा रहेको दोस्रो ठूलो बुद्धको मूर्ति जसलाई जापानी भाषामा दाइबुचु भनिन्छ;त्यसको अवलोकन गर्दाको अनुभूति, जापान–रसिया युद्धमा उपयोग गरिएको युद्धपोतलाई शैक्षिक केन्द्र र म्युजियम बनाएर राखिएको तथ्य, दोस्रो विश्वयुद्धमा जापानले आत्मसमर्पण गरेपछि जापानको योकोसुकामा अमेरिकी सेना बस्ने गरेको टापु र पराधीनताको प्रसङ्ग आएको छ ।
हिरोसिमाको भ्रमणबाट दोस्रो विश्वयुद्ध र त्यपछिको विकीरणको असर समेतका कारण हिरोसिमा र नागासाकी अमेरिकी आणविक हतियारले ध्वस्त भएको, एक लाख चालिस हजार मानिसले वीभत्स मृत्युवरण गर्नु परेको र पछि अमेरिका कै सहयोगले जापानले ठूलो विकास गरेको कुरा आएको छ । तर जापानीहरूले त्यति भइकन पनि अमेरिकीहरूलाई घृणा नगरेर माफी गरिसकेको मनोविज्ञानको चिरफार गरिएको छ ।यसै गरी अन्य नियात्रामा ओन्सानमा प्राकृतिक तातोपानीमा मानिसहरू नाङ्गो भएर नुहाउने प्रचलन रहेको, जापानीहरूको बिरालो प्रेमका कारण त्यहाँ क्याट क्याफे चलाइएको, ओसाकामा जादा पुल, बाटो र सहरी विकासको अद्भूत दृश्य देखेको र हिरोसिमामा लभ होटेल चलाइएको, क्योटोको किङ्काकुजी सुनको मन्दिर अवलोकन गरेको, टोकियो स्टेसनमा निला बत्ती राखिएको, टोकियोमा हाइकु र चित्रबाट सिर्जित हाइगाको प्रदर्शनी लाग्ने गरेको, योकोहामा बहुसांस्कृतिक सहरमा मेला लाग्ने गरेको, लफिङ बुद्ध र जनविश्वास आदिको बिम्बात्मक चित्रण गरिएको छ । अन्तिममा जापान यात्रा पछि सबैलाई धन्यवाद दिएर विदाइका हातहरु हल्लाएको भावात्मक प्रस्तुति गरिएको छ ।
यसरी यो नियात्रामा यात्रकारले जापानका महत्वपूर्ण स्थानहरूको भ्रमण गरेर त्यहाँको स्थान, वस्तु, संस्कृति, आस्था र जनविश्वासको कलात्मक चित्रण गरेका छन् । यसमा बिम्बात्मक भाषाका कारणले पढ्दै जाँदा यात्राकारसँगै पाठकलाई आफूले पनि यात्रा गरेको अनुभूति हुन्छ यसमा नौलो प्रयोगका रूपमा प्रत्येक नियात्रामा हाइकु समेटिएको छ । यसले अनुभूतिलाई निजात्मक र बिम्बात्मक बनाउन सहयोग पुर्याएको छ । यो नियात्रामा लेखकको कलम निकै खारिएको देखिन्छ । समग्रमा यस नियात्रा सङग्रहलाई नेपाली यात्रा साहित्यमा उच्चतम उपलब्धिको लिनुपर्दछ ।
सन्दर्भ ग्रन्थसूचीः अर्याल,दुर्गाप्रसाद (२०६४),नेपाली लोक यात्रा सहित्य, भृकुटी, काठमाडौंः भृकुटी एकेडेमिक पब्लिकेसन निर्मोही व्यास(२०७०), यात्रासाहित्यको सिद्धान्त, ललितपुरः वीणा पोखरेल बजगाईं, कृष्ण (२०७६), दाइबुचु, काठमाडौंः शिखा बुक्स शर्मा, तारानाथ (२०७४), बेलायततिर बरालिँदा (संस्क.सातौं)ललितपुरः साझा प्रकाशन सुबेदी, अभि(२०६५), नेपाली निबन्धमा उत्तरवर्ती खण्ड, काठमाडौंः रत्न पुस्तक भण्डार त्रिपाठी, गीता(२०७३),नेपाली नियात्रास्सिद्धान्त र प्रयोग,काठमाडौंः नेपाल प्रज्ञा प्रतिष्ठान

मध्य पश्चिमाञ्चल विश्वबिद्यालय, सुर्खेत ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 19 श्रावण, 2077

लेखकका अन्य रचनाहरु