"पल्लो घरको झ्याल" भित्र चियाउँदा

- डा. राजकुमारी दाहाल

विषय प्रवेश-:
गोविन्दबहादुर मल्ल ‘गोठाले’ लिखित पल्लो घरको झ्याल (सन् १९५९) उपन्यासमा सर्वप्रथम व्याक्ति वा पात्रलाई केन्द्रीय औपन्यासिक विषयवस्तु बनाई मान्छेको अन्तरलोकको मनोविश्लेषण गरिएको छ। यसैले नेपाली उपन्यास क्षेत्रमा ‘पल्लो घरको झ्याल’ उपन्यासलाई एउटा नयाँ प्रयोग वा नयाँ युगको सुत्रपात मान्न सकिन्छ । हुनत सन् १९४५ मा प्रकाशित लक्ष्मीप्रसाद देवकोटाको ‘चम्पा’ उपन्यासमा केही मात्रामा पात्रको मानसिक द्वन्द्वको विश्लेषण पाइन्छ अनि सन् १९५१ मा प्रकाशित लैनसिंह बाङ्देलको ‘लङ्गड़ाको साथी’ उपन्यासमा लङ्गड़ाको अवचेतन मनको विश्लेषण पाइन्छ तर नेपाली साहित्यको पहिलो मनोवैज्ञानिक उपन्यासको श्रेय ‘पल्लो घरको झ्याल’ लाई नै जान्छ । यस उपन्यासमा उपन्यासकार जीवन जगतका विभिन्न घटना, समाजका समस्याहरू, प्रकृति वर्णन आदिको चित्रण गर्नुका सट्टा मानव मनका मसिना ,कमला र जटिल भावहरू केलाउनतर्फ लगेका छन । विषयको सीमा निर्धारण, वैयक्तिकता र अन्तर्मुखी पात्र आदिको सफल प्रयोग यस कृतिमा पाइन्छ । यसै उपन्यासबाट नेपाली उपन्यासले कथानकप्रधान संरचनाको बाटो छोडी चरित्रप्रधान संरचनाको बाटो समातेको मानिन्छ ।
पल्लो घरको झ्याल उपन्यासमा मनोविश्लेषण---
गोविन्दबहादुर मल्ल लिखित ‘पल्लो घरको झ्याल’ (सन् १९५९) ११६ पृष्ठ र पाँच परिच्छेदमा विभाजन गरिएको लघु उपन्यास हो । यस उपन्यासमा मूल पात्र मिसरी नानीको अन्तर्मनका द्वन्द्वको राम्रो विश्लेषण गरिएको छ ।
बीस वर्षीया मिसरी मध्यमवर्गीय नेवार परिवारकी छोरी/ बुहारी हुन् । उसको पति हरिभक्त असाध्यै सोझो र दयाको पात्र झैं छ । अन्य साधारण नारीहरू झैं मिसरी पनि आमा बन्न चाहन्छे तर बिहे भएको तीन वर्ष बितिसक्दा पनि उसको मातृत्व अधुरो नै छ । उसको अतृप्त मानसिकतामा एकजना खाइलाग्दो युवकको तस्विर रहेको छ | एक महिनाको निम्ति माइत आएकी मिसरीलाई पल्लो घरको झ्यालबाट हीरामान नाम भएको एउटा गुन्डोले सँधै हाँसेर हेर्ने र इशारा गर्ने गर्छ । त्यस गुन्डको हँसिलो नजरको प्रभावले मिसरीको चेतन र अवचेतन मनमा अन्तर्द्वन्द्व शुरू हुन्छ फलस्वरूप उ भित्र अतृप्त र सुसुप्त अवचेतनको उदय हुन्छ । मिसरीको अवचेतन मन गुन्डो हीरामान प्रति आकर्षित छ, यसैले उ विभिन्न बाहानाहरू बनाउँदै पल्लो घरको झ्यालतिर हेर्ने गर्छे तर उसको चेतन मनले भने आफैलाई बिहे भएकी,आदर्श पत्नी र आफ़्नो पतिलाई सर्वस्व ठान्छे । ‘मेरो पोइ छ, मेरो पोइको घर छ’ ।‘ उ मेरो देवता हो’-भनेर आफ्नो असाध्यै सोझो पोइलाई बारम्बार सम्झने मिसरी श्राद्धको दिन चिन्दै नचिनेको हीरामान गुन्डोसँग पोइला जान्छे । मिसरी चरित्रहीन अवश्यै होइन तर पनि किन हीरामानसँग गई ? यस प्रश्नको उत्तर खोज्न मिसरीको मनभित्र पस्नु पर्छ , उसको मनलाई केलाउनु पर्छ ।
मनोवैज्ञानिक उपन्यासले मानव- आचरण अनि यसको प्रेरक मनको पारस्परिक सम्बन्धको विश्लेषण गर्दछ । यस्ता उपन्यासमा मानव मनोभूमिको सूक्ष्म चित्रण पाइन्छ । मनोवैज्ञानिक उपन्यासमा व्याक्तिलाई समाजको सर्वग्राही आधिपत्यबाट मुक्त गरेर उसको मूल चेतनालाई अभिव्यक्त गर्ने अवसर दिइएको हुन्छ ।
पूर्वीय शास्त्रहरूमा यस संसारमा मानिसले भोग्ने सुख - दु:खका मूल कारण न मनुष्य स्वयं हो, न ईश्वर नै हुन् ,न शरीर, ग्रह, कर्म आदि नै हुन् तर मन नै यसको मूल कारण हो भनेर मानिएको छ । सिगमण्ड फ्रायडअनुसार ‘अवचेतन मन नै चेतन मनका सबै प्रक्रियाहरू निर्धारित गर्ने मूल तत्व हो’ । मनोविश्लेषकअनुसार चेतन मन अनुशासित र नियमित हुन्छ अनि सामाजिक प्रवृतिहरूको अनुकूल हुन्छ तर अचेतन मन नियमरहित हुन्छ । समाजमा चलिआएका मान्यताहरूले हाम्रो अवचेतनमा जरा गाडेर बसेका हुन्छन र यस्ता मान्यताहरूले हाम्रो दैनिक जीवनका क्रियाकलाप सोच, विचार र व्यवहारलाई पनि प्रभावित पारिरहेका हुन्छन् । कुनै पनि व्यक्तिको व्यवहार, आचरण र क्रियाकलापमा आउने परिवर्तन एकप्रकारको विशेष मानसिक संरचनाको परिणाम हो | नैतिक मान्यता र सामाजिक बन्धनका कारणले मानिसका सबै इच्छा, आकाङ्क्षाहरू पूरा हुन सक्तैनन् ,फलस्वरूप पूरा हुन नपाएका उसका दमित आकाङ्क्षाहरू अवचेतन मनमा एकत्रित हुन्छन् र निरन्तर बाहिर निस्कने कोशिशमा रहन्छन् यस उपन्यासकी नायिका मिसरीको अवचेतन मनमा पनि दाम्पत्य प्रेममा शुष्कता, सन्तानेच्छा,अतृप्ति आर्थिक अभाव असन्तोस जस्ता दमित आकाङ्क्षाहरू रहेका छन् जसका कारणले हिरामान गुन्डोको विरोध गर्छु भन्दा भन्दै अवचेतन मनको प्रभावस्वरूप त्यस गुन्डोलाई नै स्वीकार गर्छे ।

मिसरीको चरित्रमा परपीडन (Sadism) र परपीडित ( Masochism) दुवै प्रवृत्तिको विकास भएको देखिन्छ । परपीडन प्रवृत्ति भएका मानिसले अरूलाई दु:ख , कष्ट दिएर आफू परितुष्टि प्राप्त गर्छन् अनि परपीडित प्रवृत्ति भएकाहरू अरू (प्रेमी, नजिकका व्यक्ति ) -बाट पीडा पाएर आफू तृप्त हुने गर्छन् ।
मिसरीमा पाइने परपीडन प्रवृत्तिका केही उदाहरण –
(१) ‘ हो त्यो निराश हुन्छ ‘एकछिन पछि उसले स्वाद लिँदै विचार गरी –अनि यतातिरै हेर्ने आँटै गर्दैन। कति मज्जा हुन्छ । ( पृ.१२ )
(२) यी लोग्नेमान्छेको जात ; यी लोग्नेमान्छेहरू कस्ता ! यिनीहरूलाई नचाउन ख्याल मज्जा आउँछ। ( पृ. २३ )
(३) अब भोलि देखिन् त्यसले मलाई देख्ने छैन । उसले मनमनै भनी । अलिक पर पुगेर उसले फेरि भनी -“ त्यो निराश हुनेछ कति मज्जा हुन्छ । (पृ. ३४)
(४) यसबाहेक बिरालोले कौशीमा चारो खाँदै गरेको परेवालाई आक्रमण गरेको दृश्य देखेर सन्तुष्टी बोध गर्छे |

मिसरीमा पाइने परपीडित प्रवृत्तिका केही उदाहरण –
(१) रिसाएर आफूसित झगडा गरेको भएपनि,आफूलाई गाली गरेको भएपनि ,मसरीलाई हलुङ्गो हुन्थ्यो।(पृ.३८)
(२) बरू उ सिकिस्त बिरामी भएर भर्खर उठेको होस् र पोइले क्रुरतापूर्वक उसको शरीरको उपयोग गरेको भए पनि उसलाई संन्चो हुन्थ्यो ।(पृ.३८)
उपन्यासको प्रारम्भमा मिसरीको चेतन मनस्थिति प्रवल रहेको देखिन्छ तर बिस्तारै उसको चेतन मनमाथि अवचेतन मनको प्रभाव बढ्दै जान्छ र चेतन मनलाई संचालित गर्ने क्षमताको अभाव हुन्छ । मिसरीमा एकातिर सामाजिक संस्कारको भय छ ; यसैले उ भन्छे –“ मैले कसरी भयो जाने गोल्सन तिमी नै भन , मैले जानु हुन्छ ? उसले के भन्ला ” । अर्कोतिर मिसरी आफैलाई एडजस्ट गर्दै भन्छे- --“म जान्छु कसैलाई के वास्ता” । यहाँ मिसरीलाई अपराध बोध (Guilt Conciseness) बाट मुक्त पाइन्छ । मनोविज्ञानको द्विमन सिद्धान्त (Dual Mind Theory) अनुसार मिसरीमा नैतिकता र स्वाभाविक इच्छा माझमा द्वन्द पाइन्छ । यो चेतन र अवचेतन माझको द्वन्द हो । मानसिक अन्तर्द्वन्दमा आफूभित्रको प्रेरक शक्तिलाई चिनेर उचित मार्ग खोज्न सफल भएमा उसको मानसिक सन्तुलन ठिक रहन्छ तर यसो गर्न नसकेको कारणले अन्तमा मिसरी असामान्य स्थितिमा पुग्छे । उपन्यासको अन्तिम वाक्य –“एकै झिम्कामा सपनामा हराए झै मिसरी घरबाट बाहिर निस्किसकेकी थिई ’’ ले उसका क्रियाकलापहरू अवचेतन मनबाट नै संचालित भएको बुझिन्छ |
मिसरीको स्वभावमा रहेको अर्को टड्कालो प्रवृति हो - ईर्ष्या-भाव । आफ्नी भाउज्यूको लोग्ने र सन्तानले परिपूर्ण जीवनप्रति मिसरीको मनमा ईर्ष्या जाग्छ । उदाहरण – ‘उसलाई लाग्यो कि भाउज्यूको जीउ गर्वले तन्केको छ । उसलाई भाउज्यूको सर्वाङ्ग देखेर ईर्ष्या लाग्यो’ । त्यसरीनै सेतीको पोइले सेतीलाई कुटेको कुरा सुनेर उसलाई माया गर्न खोज्दा खोज्दै पनि मिसरीमा ईर्ष्या जाग्दथ्यो । उदाहरण – ‘ उसले सेतीको पोइले सेतीलाई कुटेको कल्पना गरी ।उ पोइचाहिनेलेलाई घृणा गर्न खोजिरहेकी थिई र सेतीलाई माया । तर पोइचाहिने घृणित हुँदैनथ्यो र सेतीमाथि एककिसिमको ईर्ष्या उसलाई लागिरहेको थियो ’ इत्यादि । यसरी उपन्यासकार गोविन्द बहादुर मल्लले मिसरीको अन्तर्मुखी स्वभावभित्र रहेका जटिल पक्षलाई प्रस्तुत गरेका छन् ।
मनोवैज्ञानिक तथ्यहरूका आधारमा पुरुषजाति र स्त्रीजातिका रुचि, मान्यता, व्यक्तित्व, उपलब्धि आदिमा भिन्नता पाइन्छ । कुनै घटना वा परिस्थितिले पुरुषजाति र स्त्रीजातिमा भिन्ना भिन्नै प्रकारले प्रभाव पारेको हुन्छ । कथाको शुरूमा निष्क्रिय व सुषुप्त अवस्थामा रहेका मिसरीका चाहना, तृष्णाहरू अनुकूल परिस्थिति (हीरामानको हेराई, हसाँई, र इशारा गराई ) पाएर सक्रिय बन्छन् । कथाको अन्तमा मिसरीलाई हीरामानसँग पोइल जाने प्रक्रियामा गोल्सनले उत्प्रेरकको कार्य गरेकी छे । घरमा पत्नी हुँदा हुँदै हीरामान चाँहि मिसरीप्रति किन आकर्षित बन्यो ? समाजमा प्रचलित बहु विवाह प्रथा वा पुरुषप्रधान समाजमा पुरुषले जे गरे पनि हुने मानसिकता ? अर्थात् पितृसत्तात्मक समाजमा पुरुषहरूको वर्चस्व ? उपन्यासकारले यस पक्षलाई केलाएका छैनन् ।
यस उपन्यासका अन्य नारी चरित्रहरूमध्ये मिसरीकी सासु र भाउज्यूबाट सामान्य नारी स्वभावलाई बुझ्न सकिन्छ । ‘ स्वास्नीमान्छे निर्धो जात हो ।’ - (भाउज्यू) , ‘ पूर्वजन्मको पाप मेरो , मेरै कर्ममा यस्तो लेखेको छ । ’ - ( सासु) जस्ता वाक्यहरूबाट परम्परागत संस्कारमा बाँधिएकी नारी चरित्र र पुरूषप्रधान समाजमा नारीको स्थान र मर्यादाको बोध हुन्छ । सेती र गोल्सन विद्रोहीचेत भएका पात्रका रूपमा उभिँएका छन् । “राम्रो ख्वाउन कमाइ छैन मोराको ,उल्टै कुट्ने मलाई ” भन्ने सेती आफूलाई पाल्न र एक पेट खुवाउन नसक्ने तर जाँड खाएर कुट्ने लोग्नेलाई त्यागेर आफ्नै पौरखमा आनन्दले बाँचेकी छे । अनि “ मन परेकोसित बस्नु नर्क पनि स्वर्ग जस्तै हुन्छ । मन नपरेकोसित बस्नु स्वर्ग भए पनि काँढामा सुते जस्तै हुन्छ ’’ भन्ने गोल्सन आफ्नो दोस्रो लोग्नेसँग दु:खमा पनि सुखको अनुभव गर्छे र सन्तुष्ट छे । लोग्नेले स्वास्नीको आत्मसम्मानलाई चोट पुराएको खण्डमा उसले प्रतिरोध पनि गर्न सक्छे भन्ने कुरो सेती र गोल्सनका माध्यमबाट देखाइएको छ ।
मानव मनलाई पढ्नु र मानव व्यवहारको सूक्ष्मताहरूलाई भाषाका माध्यमबाट व्यक्त गर्नु गोठालेमा अद्वितीय क्षमता रहेको छ । मनोविश्लेषणात्मक उपन्यासमा बाह्य घटनालाई महत्व नदिएर व्यक्ति मनको आन्तरिक विश्लेशण गरिएको हुन्छ अनि अचेतन मनले चेतनमा पारेको प्रभाव र त्यसबाट सिर्जना हुने ग्रन्थिहरूको विश्लेषण गरिएको हुन्छ । उपन्यासकार गोविन्द बहादुर मल्ल कुनै पनि वर्ग र वर्षका पात्रका मनभित्र सुटुक्क पसेर उनीहरूका इच्छा,आकांक्षा, मनोदशा, मानसिक कुण्ठा,दमित भाव आदिको चित्रण र वर्णन गर्नु सक्षम बनेका छन् ।
सन्दर्भ पुस्तक –
१. मल्ल गोविन्दबहादुर, सन्१९५९,पल्लो घरको झ्याल,शारदा प्रकाशन गृह, काठमाडौं |
२. वेदालङ्कार देवेन्द्रकुमार (अनुवादक), सन् १९८० छैंटौं संस्करण,फ्रायड मनोविश्लेषण, राजपाल एन्ड सन्स ,दिल्ली |
३. प्रधान कृष्णचन्द्रसिँह, सन् १९८६ , दोस्रो संस्करण,नेपाली उपन्यास र उपन्यासकार, साझा प्रकाशन, काठमाडौं |
४. सुवेदी राजेन्द्र ,सन् १९९६, नेपाली उपन्यास परम्परा र प्रवृत्ति,भूमिका प्रकाशन,वाराणसी |

सिलगढी महाविद्यालय

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 19 श्रावण, 2077

लेखकका अन्य रचनाहरु