नारको मेजमानी

- राजेन्द्रमान डंगोल

परिस्थितिले छुट्याइदियो हामीलाई दुई समूहमा । छुट्टिए हाम्रा बाटाहरू । उँधो लागे फिलिप र राम । उँभो लाग्यौँ म्यक्सिम, जय र म ।
सोचेको थिइनँ हाम्रो यात्राले यस्तो मोड लिन्छ भनेर । भारी थियो मन । फर्कीफर्की एकअर्कालाई हेरिरह्यौँ र हल्लाइरह्यौँ हात आँखाले देखुन्जेल । पूरा हुन सकेन उनको सपना ।
भारी थियो मन । मन जस्तै भारी थिए उकालिँदा पाइलाहरू । मनले नै भनिरहेको थियो– कस्तो भइरहेको होला फिलिपलाई यतिबेला, स्वप्न गन्तव्य भनिएको उनको यात्रालाई बीचैमा बिट मार्नुपर्दा । योभन्दा नरमाइलो क्षण अरू कुनै हुन सक्छ र जीवनमा ?
पाँच दिन मात्र भएको थियो सँगै हिँडेको । उनको प्रशन्नचित्त, मिलनसार व्यवहारले प्रभावित थिएँ म । काङ्ला पास गराउने जिम्मेवारी पूरा गर्न पाइनँ मैले ।
यसै पनि निर्जन ठाउँमै थियौँ हामी । त्यसमाथि पनि फिलिपको न्यास्रोे । फ्रेन्च लेखक अल्फोन्स द लामार्टिनको यो भनाइ सम्झेँ– ‘कहिलेकाहीँ एउटा मान्छे नहुँदा पनि संसारै निर्जनजस्तो हुन्छ ।’ एक्लोपनले बिझाइरह्यो मलाई ।
बिछट्टै निलो थियो आकाशगङ्गा, सागरको रङजस्तै । पर्फेक्ट थियो भिजिबिलिटी । जगमगाइरहेको थियो धर्ती । निसङ्कोच लुट्पुटिइरहेको थियो सूर्यको किरण विशालकाय नाङ्गा पर्वतहरूमा । सोच्दै थिएँ– अघिल्लो दिनझैँ आकाशमा बादल लोपरिएको भए कति नरमाइलो हुन्थ्यो होला ।

हिउँले घरको सङ्घार टेक्नु अघि नै मान्छेहरूले बस्ती छाडिसकेका हुन्छन् यहाँ । आफ्ना वस्तुभाउ लिएर घर छाड्दै गरेका केही मान्छेहरू भेटिन्थे बाटोमा । बस्तीहरूमा हिमसाम्राज्य रहुन्जेल फुका मान्छेहरू क्याङमा र नारका चाहिँ च्याखुमा सर्छन् । धनीमानीहरू त काठमाडौँमै जान्छन् ।
“उहिलेउहिले मनाङ भोट तीनथाप्लाका मान्छेहरू हिउँदका बेला जडीबुटीहरू लिएर भारत जाने गर्थे । मनाङ, भ्रागा, ङवाल, घ्यारु, पिसाङ र खाङ्सारका बासिन्दालाई जङ्गबहादुरले जडीबुटीहरूमा कर नलाग्ने व्यवस्था मिलाएका थिए । पासपोर्टको व्यवस्था भयो, श्री ५ महेन्द्रका पालामा । नत्र भारतको आसाम र दार्जिलिङबाट पासपोर्ट बनाएर सिङ्गापुर, मलेसिया र थाइल्यान्डसम्म जान्थे ।” यात्राकै सिलसिलामा भेटिएका मनाङका सोनाम तप्के गुरुङले मसँग भनेका थिए ।
चिसो पनि छलिने दुई–चार पैसा कमाइ पनि हुने । राणाजीहरूले पनि मर्का बुझेका रहेछन् उतिबेला ।
पाइलाले देउरालीको उचाइ लियो । बौद्ध ध्वजाहरूले कानेखुसी गरे मसँग । दुःखी थिए लुङ्दरहरू, फिलिपको पितृशोकमा ।
मेरो पाइलाको पदचापलाई स्पर्श गर्दै थियो चिसो बतासले । मेरो आकृतिको इन्देणी कोर्दै थियो आकाशमा उडिरहेका तितुका बथान र पाखामा उभिईबसेका नाउरका झुन्डले । कम्पित थियो देह आफ्नै हृदयको धड्कनले ।
प्रकृतिले बटुवाहरूका लागि बनाइदिएको अट्टालिका हो– देउराली । देउरालीले नै देखाइदियो मलाई मैले नदेखेको पिसाङचुली । मैले शिरदेखि पाउसम्मै नियालेँ पिसाङचुलीलाई ।
पिठ्यूँमा बोझ बोकेर देउराली पार गर्दै थिए खच्चरहरू, धुलो उडाउँदै ।

बिस्तारैबिस्तारै छेलिँदै गयो फिलिप हिँडेको बाटो । मेता र च्याखुका निला छानाहरू देखिन छाडे ।
बैँसे घाम हिँडिरहेको छ पहाडका केस्राहरू सुम्सुम्याउँदै र भीर, पाखाहरूलाई जिस्क्याउँदै । घाम ओढेरै हिँडिरहेको छु म । ऊर्जा दिइरहेको छ उन्मत्त घामले मलाई र चढिरहेको छु उकालो बिनासकस ।
फेरि थुममाथि थुम, देउरालीमाथि देउराली । पुगियो नार गुुलुङको धर्मशाला । धर्मशालामा थिए– फुन्चोक ठिन्ले र पाल्जोम लामाको जोडी ।
नमस्ते दाइ ! बस्नुस् । “चिया पिएर जानुस् ।” फुन्चोकको आग्रह ।
खान त मन नभएपनि उनको आतिथ्यलाई अस्वीकार गर्न मनले मानेन । लाग्यो– दुई पैसा भए पनि आम्दानी भइहालोस् न !
“ल्याउनुस् न त ।” मैले भनँे ।
सिजन छउन्जेल धर्मशालामा बसेर चिया बेच्न पाएका रहेछन् फुन्जोले । बसिबियाँलो लामा जोडीको ।
तपार्इंहरू तेरे ला पास गर्ने कि काङ ला ? उनको प्रश्न ।
“काङ ला ।” जयको उत्तर ।
हातमा चियाको कप । चारैतिर हिमशैल । कता हेर्ने, कति मात्रै हेर्ने । हेरेर नअघाइने कस्तो सौन्दर्य हिमलुङ र रत्नचुलीको ! कति मोहक छ मनाङ ! यही त हो भूस्वर्ग । यही त हो श्रीसत्ता । योभन्दा सुन्दर ठाउँ धर्तीमा अन्त कतै छैनजस्तै लाग्ने ।
००००
उँभो लाग्ने क्रम जारी छ ।

ताङ्जुका रातो रङले अर्को सौन्दर्य थपेको छ पहाडमा । सुकेको घाँटीलाई ताङ्जुकै रसले भिजाउँदै हिँड्छु म । फेरि आउँछ अर्को देउराली । याक र नाकको जोडीले पनि देउराली भाकिरहेछन् यतिबेला आफ्नै भाषामा ।
“देउरालीको नाम ‘छोर्ते साम्बे झो’ ।” हतारहतार च्याखु झर्दै गरेका नारका खान्डो र निमा लामाले बताए मलाई ।
छोर्तेन छ । प्राचीन भवनको भग्नावशेषजस्तो पनि छ । सायद यसैले ‘छोर्ते साम्बे झो’ भनेका होलान् । मेरो अड्कल ।
“उः त्यो हिमालको नाम के हो ?” हतार–हतारमै मैले सोधेँ ।
“कङ्गारु ।”
फाल हाल्दै थिए लुलु गाई, भेडा र च्याङ्ग्राका बथान गोठालाको साथमा । थुप्रै हिमाली जीवन आवतजावत हुन्छ यो देउराली भएर ।
जतिजति माथि गयो उतिउति फराकिला थुमहरू आउछन् । हिमालकै हाराहारीमा उभिएका छन् थुमहरू । फराकिला थुम, फराकिला दृश्य । माथिल्लो थुममा छ– नार प्रवेशद्वारसहितको ठूलो छोर्तेन र लामो मानेवाल । आँखै अगाडि आएका छन् झलमलाउँदो ६,०९१ मिटरको जोङ रि (पिसाङचुली) र त्यससँगै लहरै उभिएका छ वटा चुचुराहरू । घामको किरणमा टल्किरहेका छन् हिमशैलहरू । जोङ रि चाहिँ ठूलो छोर्तेन र बाँकी चुचुराहरू चाहिँ मानेवालजस्तै । बौद्ध धर्मालम्बीहरूको छेउछाउका भएर होला, हिमालहरू पनि बौद्ध चैत्यजस्तै लाग्ने । फरक यति हो– यता मानव निर्मित छोर्तेन, उता प्राकृतिक छोर्तेन । मान्छे र प्रकृतिको सिर्जनाको दोसाँधमा उभिएको छु म ।
आहा ! हिमालको चिसोमा रापिलो घामको वर्षा भइरहेछ बरबर्ती । क्या मीठो न्यानो ! यस्तो हुँदा हिँड्दा पनि मज्जा आउने । हिँडिरहँुजस्तो लागिरहने । नारफेदीबाट सातसय पचासी मिटर चढिसक्दा पनि थाकिएन । न त पसिना नै आएको छ । उकालो चढे पनि उकालोको अनुभूति भइरहेको छैन । क्रमिक उकालोको अनौठो अनुभूति यो । म यस्तो पदयात्रा गरिरहेको थिएँ– जीवनमा कहिल्यै नगरेजस्तो ।
यस्तो पो पदयात्रा ! खुसीले पागल भएँ म । मनमा प्वाँख हालेर उडेँ, सिमलको भुवाझैँ । कल्पना गरेँ– उड्दैउड्दै म सुदूर आकाशमा पुगेको । जहाँ मलाई कसैले नदेखेको र मैले पनि कसैलाई नदेखेको । जब म खित्का छाड्न थालेँ, त्यतिबेला मात्र मलाई थाहा भयो– सहयात्रीहरू छेउमै बसेर हाँसिरहेका थिए ।
“दिस पार्ट अफ द ट्रेक इज फ्यान्ट्यास्टिक !” म्याक्सिम बोले ।
“इट्स गुड द्याट आइ एम नट इन बेल्जियम नाउ ।” फेरि थपे उनले ।
यतिबेला उनी बेल्जियममा भएको भए उनी स्वाभाविक रूपमा अर्कै माहोलमा हुन्थे । हजुरबाउको निधनमा खासै चिन्तित देखिन्नथे उनी । तेस्रो पुस्ता भएर हो कि ! संस्कार नै उस्तै हो । फेरि प्रकृतिमा रम्न पाउने अवसर पनि थियो उनका लागि ।
“पिसाङबाट हेर्दा भक्तपुरे जुःजु धौको कतारो घोप्ट्याएर दही मात्र थुपुक्क राखेजस्तो देखिन्थ्यो पिसाङचुली ! यहाँबाट त बराह शिखरजस्तो पो देखिँदो रहेछ ।” फुस्फुसाए जयनाथ मेरो नजिकै आएर ।
शिखर उही हो तर भिन्न कोणबाट हेर्दा भिन्न रूपमा देखिने ।
हतार थिएन हामीलाई । सुस्तरी पाइला चाल्यौँ । आफ्नो समय, आफ्नै मर्जी ।
पछाडि कङ्गारु हिमाल, देब्रेपट्टि पिसाङ परिवार र दायाँपट्टि नागी–यँु । नार पुगेर मात्र झोला बिसाउने लक्ष छ हाम्रो ।
फेरि अर्को द्वार आउँछ– पहाडको कुइनेटोमा पुगेपछि । देखिन्छ– निख्खरा खैरो पहाडमुनिको भिरालो जमिनमा झुरुप्प परेको नारगाउँ । आमाको काखमा लुटुक्क निदाएको नानीजस्तै लाग्छ झ्वाट्ट हेर्दा । भ¥याङजस्ता खेतका गराहरू छन् फुमाजस्तै । गाउँको पुछारबाट कलकल बगिरहेछ नदी पिसाङचुलीकै फेदी भएर । एकातिर हिमालको तरेली । अर्कोतिर पहाडको तरेली । र, त्यही पहाडको तरेलीमुनि लुङ्दरैलुङ्दरले जेलिएको मानव बस्ती । बस्तीसँगै छ– गुम्बा । आहा, नार गाउँ ! कति सुरम्य ! कति मोहक ! कति सौम्य ! जन्मनु त यस्तो ठाउँमा पो !
अघिल्लो रात परेको हिउँले सेतै थियो नार । बाटोभरिका हिउँफूल उराल्दै लाग्यौँ हामी गाउँतर्फ । सरासर शान्ति होटलमा पुगेर झोला बिसायौँ ।
आजको बास यतै ।
धारामा जमेको पानीको सिसालाई धमाधम उप्काउँदै थिइन् एउटी महिला । कामै छोडेर स्वागत गर्न आइपुगिन् हामीलाई । उनी नै थिइन् शान्ति दिदी ।
हटलेमन ल्याइदिइन् उनले ।
सुरुप्प सुरुप्प ! पारिलो घाममा बसेर सुकेको मुख भिजाउँदाको मज्जा !
नार– असी घरहरू भएको बस्ती । ‘लस्ट भ्याली’ भित्रको अर्को सुन्दर गाउँ । आमुन्नेसामुन्ने छन् पिसाङचुली र नारगाउँ । बिहान उठेर दैलो खोल्नेबित्तिकै हिमाल देख्न पाइने । भाग्यमानी छन्– नारबासी । नेपालको सबैभन्दा अग्लो उचाइमा भएको मानव बस्तीमा छु म । व्यवसायिक रूपमा त यो भन्दा बढी उचाइमा पनि संरचनाहरू नबनाइएका होइनन् । तर, पुरानो बस्ती हो यो ।
अनौठो सौन्दर्य छाएको थियो हिमशैलका हारमा । छिटपुट श्वेत सितारा अति नै सुन्दर लाग्थे नीलिमा जडित आकाशमा । यतिखेर आकाशले बादललाई पोको पारेर कुन कुनामा खाँदेको थियो कुन्नि ! र, त घामले कामुक घडा घ्वाप्लाक्कै घोप्टयाउन पाएको थियो– हिमालभरि, पहाडभरि, नारको बस्तीभरि र मेरो शरीरभरि ।

तेरे ला र सारेबुङ पासको प्रवेश द्वार पनि हो– नार । गाउँ एक, गुम्बा चार । हिमालको काख आफैँमा शान्त । शान्ति होटलको आँगनमा बसेर जीवनमा कहिल्यै नसिउरिएको मनमा शान्ति र सन्चोको फूल सिउरिएर बसेँ म ।
एकातिर घामको उज्यालो, अर्कोतिर पिसाङचुलीको परावर्तन । उज्यालो थियो नार । त्यत्तिकै उज्याला छन्् यहाँका मान्छेहरू पनि । हिमाल जत्तिकै सफा हुन्छ यहाँका मनहरू । पहिलो भेटमै यसरी खुलेर बौल्दै थिए शान्ति दिदी र नीमा दाइ मानौँ, हामी सुपरिचित हौँ । ‘बुढाबुढी नै साह्रै बेस छन्’ भन्थे मेतामा भेटिएका एक गाइडले । हो रहेछ ।
लपक्कै टाँसिएका थिए खच्चडका बथानले उडाएको धुलाका कणहरू मेरो मुहारभरि । सोचेँ– खाना खानु अघि नै यसलाई पखालि हालुँ ।
“मलिलो छ भाइ नारको माटो । अलिकति काठमार्डौँ पनि लानुस् न !” हाम्रा लागि खाना लिएर आएकी शान्ति दिदीले ठट्टाभावमा भनिन् ।
“हिमाली माटो लगेर गमलामा ढकमक्क फूलहरू हुर्काउने रहर त थियो नि । तर के गर्नु ! यो बोझ लिएर काङ ला पास गर्न कहाँ सक्छु र !” ठठ्ठामा ठठ्ठा मेरो ।
“पहिले खाना खानु । दिउँसो एक वाहान म रक्सी पार्दछु । रक्सी पारेको तातो पानी दिउँला । अनि पूरै शरीर नुहाउनु होला ।” टेबलमा खाना राख्दै उनले भनिन् ।
कस्तो सद्भावपूर्ण, खुला र मायालु व्यवहार शान्ति दिदीको ! खुसी थिएँ म तातो पानीले ज्यान पखाल्न पाउँनेमा ।
हिमालतिर आउँदा पनि खाने त दाल–भात नै हो तर त्यति मीठो कहीँ थिएन । तरकारी पनि धेरै ।

“गाइड जीवनमा यति धेरै तरकारी थपिथपी खाएको यो पहिलो पटक हो ।” अचम्भित थिए जयनाथ ।
नार, जहाँ धान नै फल्दैन । खाद्यान्नमा आलु र करु मात्र फल्छ । तरकारीमा गाजर, फूलकोभी, बन्दा र तेलहन बालीमा तोरी मात्र । त्यही ठाउँमा हामी घरकै स्वाद लिँदै थियौँ दाल–भातको । कस्तो अचम्म !
स्याउ, गहुँ र फापरको पनि खेती हुने हो भने त अरू परिकार पनि चाख्न पाइन्थ्यो होला ।
ताप्यौँ मज्जैले नारमा लागेको पारिलो घाम । नारले निरन्तर डोलाइरहेको थियो लुङ्दरको चमर हाम्रो स्वागतमा । मनलाई नचायौँ नारभरि नाचिरहेका लुङ्दरसँगै । जब घामले पिसाङचुली नाघ्यो तब हामीलाई दकल्च्याउनुसम्म दकल्च्यायो चिसोले ।
कलिलो जूनले देखिरहेको थियो हाम्रो पीडा ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 19 श्रावण, 2077

लेखकका अन्य रचनाहरु