लैजाऊ न शिव मलाई तिम्रै कैलाशमा

- काशीनाथ मिश्रित

जीवनमा आजसम्म छ्यालिस ओटा शिवरात्री बिताइसकिएछ । तीमध्ये कमै मात्र होलान् स्मरणयोग्य । कुनै शिवरात्रीमा पूजापाठ गरियो होला कुनैमा गाँजा खाइयो होला त कुनैकुनै त्यत्तिकै बिताइयो होला । जिन्दगीमा सबै कुरा सम्झन पो कहाँ सकिन्छ र? तर अहिलेको शिवरात्री भने निकै भिन्न भयो । गत वर्ष अर्थात २०७६ सालको शिवरात्रीलाई मैले सम्झनुभन्दा पनि उसैले नै मलाई सम्झाइरहने भयो ।
ठाउँ नयाँ, मान्छे नयाँ, परिवेश एवं परिस्थिति नयाँ भनौँ मेरा लागि अनुभूति नै नयाँ थियो त्यो । यात्रा हो लगभग चार किलोमिटर जतिको । समयका दृष्टिले करिब एक घन्टाको । तर त्यो दिन अरु दिनभन्दा बेग्लै रह्यो, स्मरणीय भयो र त यी शब्दहरू कोर्न मनले भित्रैबाट घच्घच्याइरह्यो । स्मृतिका पानाहरू नधमिलिँदै कोर्न सकियो भने अनुभूति ताजै रहला जस्तो लागेर झण्डै दुई महिनापछि मूर्त रूप दिने प्रयास गर्दै छु । कुराको खेवारा पो कहाँबाट गरौँ भन्ने लागिरहेछ । जागिर स्थायी भएपछिको एक महिना समयावधिलाई अर्को कुनै आलेखमा समावेश गर्नुपर्ला भन्ने ठानी ठीक त्यसै दिनको घटनाक्रमलाई नै टिपनटापन गरी टालटुल पारेँ भने पनि राम्रै होला भन्ने विचार स्फुरण भयो । अनि माला उन्न बसेँ यी शब्दहरूको ।
‘लौ छिटै रेडि हुनुस् है ! कृष्ण सर आउँदै हुनुहुन्छ, सँगै आउनुहोला ।‘ शालिग्राम सरले ९ बजेतिरै फोन गरेर भनेको वाक्य हो यो मलाई । आकाश खुलेको थिएन । पानी पर्ला जस्तो थियो । म खाना खाएर तयार हुँनासाथ कृष्ण सर पनि आइपुग्नु भयो । हिँडेर जाने कुरा भएकाले मैले जाकेटभित्रबाट सुइटर लगाइन । ‘जाडै छ क्यारे विचार गर्नुस् ।‘ कृष्ण सरको सुझावलाई मनन गर्दै दाम्लोसम्म बाँधेँ तर सुइटर भने लाउन मन लागेन ।गलबन्दीलाई दाम्लो नामाकरण गरिसकेका थियौँ त्यतिखेरसम्म हामी दुई जनाले । खैजडी बजाएर भजन गाउँदा पसिना काढ्नुपर्छ भन्ने अनुभव मेरो पहिलेदेखिको थियो । म बस्ने गरेको फोक्सिङको विक्रम होटलबाट हामी दुई प्राणि बाटोमा निस्क्यौँ । ’रामु सरलाई पनि लैजाऔँ न, रमाइलो गर्नुहुन्छ, अस्ति जस्तो ।‘ भन्दै कृष्ण सरले रामु सरलाई फोन गरेर बोलाउनुभयो । विनोद सरको घरतिरबाट आउछु, हिँड्दै गर्नुहोस् भन्ने जवाफ आएपछि हामी अघि बढ्यौँ पश्चिम दिशातिर । शालिग्राम सरको घर बाटैमा पर्थ्यो । हामी त्यहाँ पुग्दा विनोद सर, गङ्गाधर सापकोटा र नामदेव सापकोटा भएर अघि बढिसकेछन् । शालिग्राम सरले हामीलाई पर्खनुभएको थियो । त्यहाँ पुगेर कृष्ण सरले रामु सरलाई पर्खेर आउँछु तपाइँहरू पनि हिँड्दै गर्नुहोस् भनेकाले हामी दुई जना पनि अघि बढ्यौँ
शान्तिपुरदेखि पुर्तिघाटसम्म जोड्ने सडक फराकिलै रहेछ । बायाँतिर थाप्लेको अग्लो पहाड ठडिएको थियो । खानीगाउँ भन्ने ठाउँमा पुग्दा अगाडि देखिने टाढाको पहाडको खोँचमा पञ्चे बाजाको धुन आइरहेको थियो । हो ! त्यही बाजा बजेको ठाउँमा हो पुग्ने । हामीले सिस्नेका बगर भन्थ्यौँ । आजकल त्रिवेणी भन्ने गर्छन् । ११ बजे पुग्नै पर्ने सर्त हो, पुगिएला पनि । शालिग्राम सरको कुरा सुन्दै थाप्लेको उत्तरी फेँदमा रहेको फराकिलो सडकमा हिँड्दै थिएँ म । हामी कति जति उचाइमा छौँ होला भन्ने मेरो जिज्ञासामा सरलाई सोध्दा जोहाङ र यो ठाउँ बराबरी छ भन्ने जवाफ दिनुभयो । अब १३ महिना ४ दिन छ म निस्कन भन्दै मलाई विविध जिज्ञासा मेटिदिँदै हिँडेका बुढा मास्टर शालिग्राम सापकोटा भजन मण्डलीका संयोजक हुनुहुन्थ्यो । बाटो अलिकति ओरालो भए पनि चौडा बनाइएको रहेछ । गाडी भने पातलै चल्दारहेछन् । हामीलाई देखेर अगाडि हिँड्दै गरेका तिन जना पनि रोकिए । त्यसै बेला रामु सर र कृष्ण सर पनि आइपुग्नुभयो । अनि रमाइला गफ गर्दै अघि बढ्यो हाम्रो सात जनाको भजन मण्डली ।
उत्तरतिरका पहाडका श्रृङ्खलाहरूले टाढैबाट हामीलाई नियालिरहेका थिए । त्रिवेणीबाट पञ्चेबाजाको स्वर कानमा आएर गुञ्जन्थ्यो । बिहानैदेखि पानी परे पनि हामी हिँड्दा बिसाएको थियो । तर बीचबीचमा मसिना कण भने पर्न छोडेको थिएन । आज बुढाले खुब स्वाद भेट्ने भए भन्दै मलाई जिस्क्याउन पनि सरहरू पछि पर्दैनथे । जे जसो होस् म कृष्ण सरको हात समातेर हिँड्दै थिएँ । करिब चार किमि जति हिँडेपछि लुङ खोला भन्ने ठाउँ आयो । फोक्सिङ आउने बसको अन्तिम गन्तव्य त्यहीँ रहेछ । एक दुई वटा घरहरू, होटलहरू रहेछन् । त्यो खोला तरेपछि सत्यवती गाउँपालिकाको भार्सेमा पुगिँदो रहेछ । खोलो तर्दा मेरो एउटा जुत्ताभित्र पानी पसेर चिसो गराइदियो त्यसपछि त आकाशबाट पनि वर्षाले अलिक बढी शक्ति देखाउन खोजी । हामीमध्ये सबैसित छाता थिएन, भएका एक दुई जनाले ओढे । हल्का भिज्दै भए पनि हिँड्न चाहिँ छोडेनौँ । त्यो ठाउँ मेरा निम्ति मात्र नौलो थियो ।विनोद र कृष्ण स्थानीय नभए पनि अघिल्लो वर्षको अन्त्यतिर आएका हुनाले म भन्दा धेरैलाई चिनेका र अनुभव बटुलिसकेका साथी थिए ।
पञ्चे बाजाको धुन तिब्र हुँदै गएकाले मैले गन्तव्य नजिकै छ भन्ने अनुमान गरेँ । प्रकृतिले सेचन गरिरहेकै थियो । बाटोकै छेउमा भलिबल खेल्ने मैदान बनाइएको रहेछ । विभिन्न क्लबहरूको प्रतिस्पर्धा रहेको बुझ्न मलाई कठिन परेन किनकि मेरो साथमा प्रत्यक्ष प्रसारण गर्नका लागि कृष्ण पौड्याल सर हुनुहुन्थ्यो । घर थिएनन् । टेन्ट टाँगेर मञ्च बनाइएको थियो । खोला पारि शिवालय रहेछ । वर्षाले केही साथ दिएपछि मैले कृष्ण सरलाई त्यो परिवेश समेटेर १० मिनेट जतिको भिडियो खिच्न अनुरोध गरेँ । आधुनिक युगमा आएर पनि केबल लिखित संस्मरणमा सीमित हुन मनले मानेन । उक्त भिडियो कम्प्युटरे भाँडोमा सुरक्षित नै छ । मञ्च र खेल मैदानको छेउमा हामी छाता ओढेर उभियौँ । आयोजकलाई शालिग्राम सरले भजनका लागि त्रिपाल टाँगेर ठाउँ बनाउन भन्नुभयो । कृष्ण सरले पनि भनेबमोजिमकै भिडियो उतारेर आएपछि हामी चन्द्रकोट गाउँपालिकामा पर्ने ग्वाघाको शिवालयमा जान खोलो तर्यौँ । पञ्चे बाजा त्यही मन्दिरको प्राङ्गणमा बजिरहेका थिए । हामी पुगेपछि अर्को पञ्चे बाजाको टोली पनि आयो । हेर्दाहेर्दै पञ्चे बाजाका टोलीहरू त चारवटा पो पुगिसकेछन् । एकै ठाउँमा त्यति धेरै पञ्चे बाजा एकै चोटी देखेको पहिलो पल्ट हो मैले । पञ्चल भन्दै तोरण र फुलपाती ल्याउनका लागि भाकल गर्दा रहेछन् । कालीगण्डकी, सत्यवती र चन्द्रकोट तिनवटा गाउँपालिकाको संगम भएकाले त्रिवेणी भनिएको रहेछ त्यस सिस्नेका बगरलाई ।
एकैछिन त सरहरू पञ्चे बाजाको तालमा मस्तसित नाच्नुभयो । पानी सिमसिम परिरहेकै थियो । भलिबल मैदानमा खेलाडीहरू बालुवा छर्केर भए पनि खेल्न छोडेका थिएनन् । बजाउनेहरूले जोशका साथ बजाइरहेकै थिए । नाच्नेहरूलाई पनि उत्तिकै उत्साह थियो । पूजा गर्नेहरूले लाइनमा बसेर मन्दिरमा पूजासामग्री भित्र्याउँदै थिए । दृश्य जता हेरे पनि रमाइलो थियो । आँखा अन्त घुमाउन मन लाग्दैनथ्यो । त्यो रौनक र उत्साहाका माझ हामी मन्दिर अगाडि टाँगिएको त्रिपालमुनि ओतिएर प्रकृतिको चुनौतिका बीच मानिसहरूको अपूर्व जमघटलाई नियालिरहेका थियौँ । भौगोलिक बनावटका दृष्टिले समथर र बस्न पुग्ने जस्तो ठाउँ नभए पनि मानिसहरूको घुइँचो थियो । आराध्य देव महादेवप्रतिको आस्था र मौलिक संस्कृति जोगाउन त्यहाँ कसैलाई कसैले भनिरहनु परेको थिएन । आयोजक त्यहीँकै स्थानीय क्लब थियो । मञ्चबाट बीचबीचमा उद्घोषण पनि भइरहेकै थियो तर क्लबको नाम के बताएका थिए कुन्नि मैले याद गर्न सकेनछु ।
कैयौँ नेपालीहरू रोजगारीका लागि विदेश गएका छन् । तिनीहरूका आफ्नै बाध्यता र विवशता छन् होला । कतिपय भने घुम्नकै लागि ठुलो धनराशी खर्चेर युरोप अमेरिका पुग्ने गरेका छन् । विदेश भ्रमण गरेको फुर्ति देखाउन कतिपयको विदेश यात्राको संस्मरण पनि मैले पढेको छु । आफ्नो देशको माटो नटेकेर विदेशी सहरको चर्चा गर्दा खुब गौरव लाग्दो हो तिनीहरूलाई । आफ्नै देशका अनुपम पहाड, खोँच, नदी, हिमाल एवं ताल तलैयाहरू नदेखेका मान्छेहरूले विदेशी यात्राको दम्भ देखाउनु कस्तो देशभक्ति हो मलाई थाहा छैन । आफ्नै देशको लुङ खोला नपुगेको मान्छे नाइल नदीको यात्रा गरेको संस्मरणमा रमाउँछ भने उसको जन्मभूमिप्रतिको आस्था आफै प्रकट भइरहेको हुन्छ । पक्कै पनि त्रिवेणीको त्यो नाचलाई लण्डनको कुनै क्याफेको डिस्कोले जित्दैन भन्ने मेरो ठम्याइ छ ।
मनभित्र थुप्रै तरङ्गहरू दौडिरहेकै थिए । दमाहा, ढोलक, सनही एवं कर्नाल र नरसिङ्गाको आवाजले मुटु हल्लाइरहेकै थियो । मस्तिष्कको गति तिब्र भए पनि शारीरिक अवस्थिति भने स्थिर थियो । ‘यहीँ बसेर गाउँनु पर्यो खै खै एउटा गुन्द्री ल्याइदिनु पर्यो ।‘ शालिग्राम सरले मेरो चेतन मनको तन्द्रा तोडिदिएपछि हामीले बाजा बजेकै छेउमा बसेर भजन थाल्यौँ ।पञ्चे बाजाको कडा धुनका अगाडि हाम्रा फुच्चे खैजडीको आवाज कसले सुन्ने? तैपनि हामी जुन कामका लागि गएका थियौँ त्यो काम नगरी कतिञ्जेल बस्ने ! सात जना गोलाकारमा बसेर भजन गाइरहँदा म बाजा बजाउनेहरूसितै जोडिएको थिएँ । उनीहरूको बाजाको ताल सकिँदा मात्र हाम्रो भजनको आवाज सुनेने भएकाले हामीलाई जोडले चिच्याउन पनि नपर्ने भयो । बाजा बिसाउँदा भजन गाउने र बाजा बज्दा भजन बिसाउने गरेर आलोपालो जस्तै कार्यक्रम चलिरह्यो । जसरी पसिना निकाल्ने गरी गाउन बजाउन पर्ला भन्ने मेरो बुझाइ थियो त्यस्तो परिस्थिति रहेन ।पानी आफ्नै गतिमा परेकै थियो । बाजा उसै गरी रन्किरहेकै थिए । पूजा लगातार चलेकै थियो । हाम्रो भजन पो किन रोकिन्थ्यो र? त्यो जमघटमा खेलाडीहरू खेलेकै थिए भने नाच्नेहरू नाचेकै थिए ।
‘अब भाका फेरौ सर ।‘ हामीले गाइरहेको भजन सुनिरहेको बाजा बजाउने टोलीको नाइकेले भने । मेरो मनमा यो दमाइले पनि भजन जानेको रहेछ भन्ने लाग्यो । हुन पनि हाम्रो भजन फरकफरक भाकामा नभएर उस्तै प्रकारका चुड्कामा मात्र सीमित थियो । शालिग्राम सर, नामदेव, गङ्गाधर र रामु सर फोक्सिङका स्थानीय बासिन्दा भए पनि हाम्रो जस्तै शैली हुनाले गायन मिलेकै थियो । कृष्ण सर र विनोद सरले पनि तालमा ताल दिनुभएकै थियो । उसले त्यसो भनेपछि ल हुन्छ भनेर सबैले दुई चुड्का भजन उसका पछ्यायौँ । निकै मिठो भाकामा टुक्का झीकेर गाएको भजन अहिले पनि कानमा गुञ्जिरहेछ – ‘लैजाऊ न शिव मलाई तिम्रै कैलाशमा !!!’ हामीले गाइरहेको भजनकै तालमा बीचबीचमा सनही पनि बजाइरहेका थिए उनीहरूले । पञ्चे बाजामा गीत झिक्ने बानी परेको दमाईले राम्रै भजन गाउँदोरहेछ भन्ने मैले अनुमान गरेँ । भोलिपल्ट खाजा खाने समयमा गफगाफ हुँदा सरहरूले गरेको कुराकानीबाट पो थाहा भयो त्यो टोली त मगरहरूको रहेछ । आजकल मगरहरूले पनि पञ्चे बाजा बजाउने टोली बनाएर पेशागत रूपमै काम थालेका रहेछन् । यसो गर्दा पुर्ख्यौली पेशा भएका दमाई जातिहरूले बिरोध गरेका छन् भन्ने चर्चा पनि खाजा खाने बेलामा भएको थियो ।
झरीले छोड्ला जस्तो थिएन । तिन बजेतिर फलफुल, हलुवा र सेल रोटी प्रसादका लागि आए हाम्रा अगाडी । शिवजीको प्रसाद त हालिएको छैन भन्ने शङ्काले मैले कृष्ण सरलाई कोट्याएँ । कृष्ण सरले एउटा छुट्टै बोहोतामा ल्याइएको थोरै प्रसादमा राखिएको कुरा गर्नुभयो । त्यो प्रसाद पनि चाखेर अरू प्रसाद प्रशस्तै खायौँ । उखुका टुक्रा त सबै खान पनि सकिएन । कोही मान्छे भजनमा नाच्न आएन भने गाउन खासै जाँगर लाग्दैन । यो कुरा शालिग्राम सरमा त झनै लागु हुँदोरहेछ । नाच्ने मान्छे फुरेर नाचे भने खैजडी उराल्ने नत्र अल्छी गर्ने ।बाजाको रौनकले भजनलाई ओझेल पारे पनि हामीले आफ्नो कर्तव्य पूरा गरेरै छाड्यौँ । भजन सकिएपछि हामी सबै पञ्चे बाजाको तालमा ज्यान मर्काउन थाल्यौँ । हुटिङ गर्दै सबै जना एकैचोटि बाजा तालमा नाच्दा त हुनसम्मको रमाइलो भयो । ‘त्यतिखेरको भिडियो खिचेको भए बल्ल हुन्थ्यो ।‘ कृष्ण सरले पछुताउको भावमा फर्केर बाटोमा आउँदा तिनचार पटक नै भन्नुभएको थियो ।
‘हाम्रो ड्युटी चार बजेसम्मको हो । अब म आयोजकलाई खोज्छु ।‘ शालिग्राम सरले यति भनेपछि भजन गाउने कार्यक्रम रोकियो । तल मञ्चमै गएर केही बेर गाउने रे भन्दै उहाँ आएपछि हामी सबै मञ्च बनाइएको ठाउमा गएर दुईचार चुड्का भजन रन्कायौँ । त्यसपछि भजन मण्डलीका संयोजकलाई मञ्चमा राखेर आयोजकले टीका दक्षिणा गरे । अरु सबै कार्यक्रम समापन हुञ्जेलसम्म हामी बसेनौँ । गाडी पाइएसम्म गाडीमा जाने सोचाइमा सबै जना थियौँ किनभने हिँडेर पुग्ने समय पनि थिएन र जाडो पनि भएको थियो । एउटा गाडीलाई कुरा गरेर आएँ भनेर सीटमा बसेको पनि नजाने भयो भनेर पुनः पैदलकै यात्रा तय भयो । लुङ खोलामा पानीको मात्रा बढेकोले म बिहान जस्तो ढुङ्गामा टेकेर पनि तर्न नसक्ने भएँ । अनि कृष्ण सरले बोकेर तार्नुभयो । यसरी साथीको बुई चढेर खोलो तरेको पुरानो सम्झना पनि मलाई त्यतिखेर भयो । चौतारा पञ्चमीमा राम हेर्न जाँदा त्यसै गरी डिलुले बोकेर तारेको कुरा संक्षिप्त रूपमा बताएँ मैले कृष्ण सरलाई । चिया खाएर हिँड्ने सबैको राय मिलेकाले लुङ खोलाको होटलमा केही बेर सुस्तायौँ । चिया खाँदै गर्दा एउटा जीप फोक्सिङतिर जान भनेर आयो । हामीलाई पनि त्यसले चढाउने सहमति जनायो । चिया पिउञ्जेलसम्म पर्खेर हामी त्यही जीपमा चढेर फिर्ता भयौँ ।
जोगीटोला भन्ने ठाउँमा पनि शिवालय भएको र त्यहाँ कलाकारलाई नै बोलाएर धुमधाम रमाइलो गर्छन् भन्ने कुरा सरहरूले चर्चा गर्नु भएको थियो । तर समय नरहेकाले मलाई खासै जान मन थिएन । विनोद सर र कृष्ण सरले पनि नजाने कुरा गरेकाले शालिग्राम सर पनि आफ्नो घर आएपछि ओर्लनुभयो । विनोद सर र नामदेव पनि वासस्थान त्यतै भएकाले त्यहीँ ओर्लनुभयो । रामु सर, गङ्गाधर भने जोगीटोला जाने मानसिकतामा देखिएकाले हामीलाईसमेत जान आग्रह गर्दै थिए । एकैछिन भए पनि हेरेर फर्कौँला भन्ने आशय राखेकाले हामी पनि जोगीटोलासम्म पुग्यौँ । मानिसहरू त त्यहाँ पनि थिए तर रात परिसकेकाले र कलाकार भन्नेहरूको प्रस्तुती रोचक नलागेकाले हामी धेरै बेर बसेनौँ । चिया भने वितरण गरेका रहेछन् । दुईदुई कप चिया खाएर जाडोको चुनौतिलाई थेग्दै वासस्थानतिर फर्क्यौँ । गत वर्षभन्दा नरमाइलो भएको टिप्पणी सरहरूका मुखबाट सुन्दै म हिँडिरहेको थिएँ । कृष्ण सर पनि अघिल्लो वर्षकै अनुभवी भएकाले कुराकानीमा सरिक हुनु स्वभाविक थियो तर मैले भने आलोचना वा समालोचना गर्न आवश्यक परेन । मलाई होटलको कोठामा पुर्याएर कृष्ण सर पनि भोलि भेटौँला भन्दै आफ्नो निवासतिर ओरालिनुभयो । मैले भने खाना खाएर सुत्दा पनि दिउँसोको त्यो नयाँ भाकाको टुक्का सम्झिरहेँ ननिदाउञ्जेलसम्म ‘लैजाऊ न शिव मलाई तिम्रै कैलाशमा ।‘

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 19 श्रावण, 2077

लेखकका अन्य रचनाहरु