गङ्गोत्रीदेखि गङ्गासम्म बगेको स्नेहराग र राष्ट्रचेतना

- सुकराज दियाली

डा. छेत्री दार्जीलिङका सशक्त नारी हस्तक्षार । राम्रा कवि र समालोचक हुन् । यस्ता स्रष्टासित सन् 1991 सालदेखि चिनेको जानेको कवि समासोचक डा. गीता छेत्री जन्मथलो राङभाङ बस्ती । आफू पनि राङभाङ भेल्लीकै भएर होला अझ नजीकबवाट बुझ्ने अवसर प्राप्त भयो ।
राङभाङ बस्तीमा सन् 1962 को 19 जुलाईमा जन्मीएकी हुन् । पिता मान एन.बी. छेत्री र माता पूर्णमाया छेत्रीको सुपुत्री डा. गीता छेत्री महारानी उच्च कन्या विद्यालय दार्जीलिङको शिक्षिका हुन् । भाषा साहित्यमा विद्यार्थीकालदेखि नै चासो राख्ने डा. छेत्रीले दार्जीलिङ, भारतका विभिन्न राज्यबाट प्रकाशित हुने साहित्यिक पत्र-पत्रिकातिर 90- को दशकदेखि कविता, कथा र विभिन्न रचनाहरू प्रकाशित भइरहेको पाइन्छ । नेपालबाट प्रकाशित हुने साहित्यिक पत्र-पत्रिकामा पनि निरन्तर समालोचना र कविताहरू प्रकाशित भइरहेको पाइन्छ ।
उनको प्रकाशित पहिलो कविता सङ्ग्रह गङ्गोत्रीका छालहरू सन् दुई हजार आठ, त्यसपछि साहित्य अकादमी नयाँ दिल्लीबाट नवोदय योजना अर्न्तगत प्रकाशित नेपाली कविता सङ्ग्रह गङ्गोत्रीदेखि गङ्गासम्म सन् 2012 हुन् । त्यसी नै सन् 2013- मा प्रकाशित समालोचना सङ्ग्रह – विविध विवेचनाहरू हुन् । भाषा साहित्यको सेवामा लागिपरेका डा. छेत्री नेपाली साहित्य सम्मेलन दार्जीलिङको आजीवन सदस्य । सम्मेलनको सहसचिव पदमा सन् 2003 देखि 2010 सम्म रही सेवा पुऱ्याएकी छीन् । गोर्खा दुःख निवारक सम्मेलन दार्जीलिङको कार्यकारी सदस्य, वसुधा भारतीय नेपाली नारी साहित्यिक मंचका मूलसचिव, नेपाल स्रष्टा समाजको जीवन सदस्य, जनमत प्रतिष्ठान बनेपा नेपालका जीवन सदस्य, देवकोटा संघ सिलगढ़ीको जीवन सदस्य रहा साहित्यको सेवा पुऱ्याइरहेकी छीन् । यसरी साहित्यमा सिर्जनाको हातहरूसितै व्यवहारिक रूपमा पनि सेवा गरेवापत् विभिन्न साहित्यिक संघ-संस्थाहरूले मूल्याङ्कनस्वरूप, सम्मान र पुरस्कारहरूले सम्मानित भएकी छीन् । सन् दुई हजार आठमा काठमाण्डौ स्रष्टा समाजबाट स्रष्टासम्मान, 2010-मा जनमत प्रतिष्ठान बनेपा नेपालबाट कमसा सैजु सम्मान, सन् 2010- मा मातृभूमि साहित्य समाज, हिटौंड़ा मकवानपुर सम्मान, आठ सेप्टेम्बर 2014-मा नेपाल विद्याभूषण पटक, 16 सेप्टेम्बर 2014-मा मोहन रेग्मी पुरस्कार, त्यसरी नै नेपाल सरकारद्वारा विध्दत्वृति प्राप्त { दुई हजार आठ-2070} सम्म जस्ता पुरस्कार र सम्मानले सम्मानित रहेकी डा. गीता छेत्री भारतीय नेपाली साहित्यमा खाट्टी कवि हुन् भन्ने पक्षलाई प्रकाशित दुईवटा कविता सङ्ग्रहले प्रमाणित गर्छ ।
गङ्गोत्रदेखि गङ्गासम्मः
साहित्य अकादमी नयाँ दिल्लीद्वारा सन् 2012 –मा प्रकाशित गङ्गोत्रीदेखि गङ्गासम्म – कवि गीता छेत्रीको दोस्रो कविता कृति हो । यस कविता कविता सङ्ग्रहमा 56 वटा फुटकर कविताहरू समावेश रहेको पाइन्छ । चौरासी पेजको यस कविता सङ्ग्रहमा बाक्लो भावपक्षहरूले यसको वाह्यभन्दा आन्तारिक आयाममा महत्व राख्छ । यस कविता सङग्रहमा वरिष्ठ नाटककार/साहित्यकार इन्द्रमणि दर्नालले भूमिका लेखेकी छीन् । कविता सङग्रहको नामबाटै राष्ट्रभाव/देशप्रेमको सङ्केतमा रहेको देखिन्छ । कविता सङ्ग्रहको 59 सूचीमा अङ्कित गङ्गोत्रीदेखि गङ्गासम्म शीर्षकलाई नै कविता सङग्रहको नाम छनौट गरेको पाइन्छ । देशको पवित्र नदी गङ्गा । गङ्गा माइलाई देशको शान, मान र पवित्र नदीको रूपमा सनातन धर्मावलम्बीहरूले मात्रै होइन अन्य धर्मावलम्बीहरूले पनि उतिकै पुज्दछन् । सम्पूर्ण भारतीयहरूका आस्था हुन् – पवित्र गङ्गा ।यस्ता पवित्र नदी गङ्गाको उत्गमस्थल गङ्गोत्रीलाई कविले धार्मिक संस्कृतिको आस्थाको रूपमा भारतेली नेपाली जीवनले देशप्रति, राष्ट्रप्रति गरेका अथाह स्रद्धा र सम्मानलाई कवितामा व्यक्त गरेकी छिन् । जसरी गङ्गोत्रीबाट पवित्र धारा खोला-नाला एक-एक गर्दै अँगालोमा बाँधिएर पवित्र गङ्गा नदी बन्छ उसरी नै भारतीय विभिन्न जात – धर्म एउटै अँगालोमा बाँधिएर भारतमाताको शीरलाई उच्च राख्ने सन्देश कविता सङग्रहले दिने प्रयासमा जुटेको हुनाले कविता सङग्रहको नाम गङ्गोत्रीदेखि गङ्गासम्म सार्थक देखिन्छ ।

गङ्गोत्रीदेखि गङ्गासम्म – नारीसुलभ स्नेहः
कविले जसरी जीवनलाई भोग्छ उसरी नै जीवनलाई देख्ने गर्छ । कवितामा कविको जीवनका छापहरू पाइरहनु स्वाभाविकै ठानिन्छ । कविको कवितामा प्रत्यक्ष उसको जीवन भोगाइको अनुभूतिलाई व्यक्त गरेकी देखिन्छ । कविले देखेको जीवन भोगाई र जीवनशैलीबाट प्रभावित समयकाललाई फोटोग्राफरले नै मस्तिष्कमा टिप्छन् त्यसैको मूर्त-अमूर्त चित्रण कवितामा व्यक्त रहेको कविताहरूबाट पाइरहन्छौ । यस्तै कवि गीता छेत्री पेशाले शिक्षिका, नारी धर्मले एक छोरी, पत्नी र आमा पनि हुन् । य़सैले होला उनका कविताहरूमा नारीसुलभको स्नेहरागहरू देखिन्छ । यसैसन्दर्भमा वरिष्ठ साहित्यकार इन्द्रमणि दर्नालले भूमिकामा लेखेकी छीन् –“ स्रीमति छेत्रीका कविताहरू वर्गीकरण गर्दा कविताहरूमा नारीसुलभ स्नेह मातृत्व अनि गृहिणीको छाप स्पष्ट देखिन्छ, उनका कविताहरू धेरै जसो उपदेशात्मक नै छन्, आफू आमा भएकी हुनाले, विश्वभरिकै आमाहरूको मुखवीर भेर कवितामा उभएकी छीन् । शिक्षिकादेखि आमासम्मको सफलभूमिमा रहेकी छेत्रीमा मातृत्व र गृहिणीको छाप कवितामा पाइन्छ ।”
अरूको देखेर सिकेर वृद्ध माता-पितालाई
ओल्डएज-होममा धकेल्ने नगर।
सत्य प्रेम र अहिंसाको मूलमन्त्र अँगाली
जीवनमा सँधै अघि बढ़ ।{ पुत्रलाई पत्र, 32 }

संसारको नियम पालन गर्दै
आमा बनेर
उनीहरूको लालन – पालनसितै
शिक्षा – दीक्षामा तल्लीन रहन पर्छ
परिवारको सबै सदस्यमा
भोक तिर्खा हेर्दै
घरबाहिर समाजका
प्रत्येक कार्यकलापमा
तिम्रो सहभागिता रहनुपर्छ । { वसुधाकी छोरीहरूमा, 36 }
आमाले निभाउनुपर्ने सांसरिक भूमिका, सभ्य र भव्य परिवारको निर्माणदिशामा छेत्रीका कविताहरू उपदेशात्मक रहेको पाइन्छ । नारी सुलभ स्नेहका पक्षहरू उनको कविताको मोटो पक्षहरू हुन् । छोरा-छोरीका संस्कार संस्कृतिमा आमाको पोषण रहनुपर्छ भन्ने गढतिर उनको भावपक्ष बलियो रहेको पाइन्छ । व्यवहारिक जीवनमा दिनु र लिनु केही छैन तर अकर्म रही बाँच्नु पनि हुँदैन । आडम्बरीमा जीवनको यथार्थलाई नभूलि दिनु । स्वार्थ र लोभ लालचीमा जीवन बचाइलाई असमाजिक नबाउनु भनी स-सना छोरा छोरीलाई स्नेहका रागहरू अलापेका छन् ।
छेत्रीको कवितामा पर्यावरण संरक्षणको सचेतनाहरू प्रकृतिमा रहेको हराभरालाई नाश गर्ने स्वार्थीवादी, समाजका अनुशासनहीनता भएर बाँच्ने जीवनलाइ परिमार्जित गर्न खोजेका प्रयासहरू कवितामा देखिन्छ । परिस्रम नगरीकन गोजी भर्ने मानिसप्रति, विरोधका आवाजहरू उठेकी छीन् । गाउँ-बस्ती, चियाबारीको सोझा-निमुखा जीवनलाई सङ्केत गर्दै जीवन सरल र मिठो रहरोस भन्ने कामना साँचेका छन् । कविमा वर्तमानको मानव समाजमा देखिने शोषम, दमन जस्ता विकृतिपूर्ण परिस्थितप्रति वितृष्णा जागेको पाइन्छ । यथार्थमा जीवन जगतमा भइरहने सत्यतालाई झल्काउँन खोजेकी छीन् । हिन्दुहरूको पुजापाठ गर्ने धार्मिकथलो पवित्र नदी गङ्गा नदीलाई जीवनको पक्षलाई अघाड़ि प्रस्तुत गरेकी छीन्-
गङ्गाको उद्गम स्थानमा
म कति स्वच्छ पवित्र छु
आफ्नो मस्त प्रवाहमा
सुमघुर संगीतका
धुनहरू सुनाउँदै ।{ गङ्गाको पुकार, 72 }
कवि छेत्री मानव जीवनप्रतिको चेतना प्रखररूपमा देखिन्छ । जीवनप्रति सत्कर्मले जलप लगाउन सकिन्छ । जीवन त्यतिबेला आशावादी बनेर बाँच्छ जतिबेला मेहनत र परिस्रम गरी अघाड़ि बढ़िरहेका हुन्छौं । ठाउँ – ठाउँमा मानव जीवनलाई दार्शनिक चिन्तन गरेका छन् । जीवन काँचो माटोको मूर्ति जस्तै हो यसलाई आकार र रूपदिन आफू स्वयं जिम्मावारी रहेको सङ्केत गरेका छन् ।
अरूको दो, औंल्याउन अघि
आफूले आफूलाई
पहिला नियाल
तब जीवन सहज
बनाउन सकिन्छ । { नानीहरूलाई, क, अस्सी }
परिस्रम बिना
केही हुन्न
जीवन देखेर
जीवनदेकि भाग्नु हुन्न । { नानीहरूलाई,ख, एकासी }
कवि छेत्रीका कविताहरूमा मानवतावादी दर्शनलाई आत्मासाथ गर्दै मानवीय विषयलाई छोएर प्रस्तुत भएको देखिन्छ । यसर्थ मानवतावादी चिन्तनधाराका प्रखर कवि हुन् भनीरहँदा फरक नपर्ला ।
साम्प्रादायिक भेदभाव लिएर हैन
मानवताको सद्भावना लिएर आऊ
शंका – उपशंकाले मैलिएको हृदयमा
दया, प्रेम अहिंसा लिएर
नयाँ वर्ष तिमी आऊ । {नयाँवर्ष, अन्ठाउन्न }
कवि छेत्रीका कविताहरूमा खोला – नाला, छोरा-छोरी, विद्यार्थी, धरतीमाता, गाउँ – बस्ती, गाई – वस्तु जस्ता शब्दको प्रयोग ज्यादात्तर रहेको पाइन्छ । गाउँको जीवनदेखि नजीक रहेर बाँचेकी छीन् । ज्योति, समानता, शुभेच्छा जस्ता सद्भावनाले कविताको आदर्श विचारलाई जीवनभित्र अन्तर्निहित गर्ने प्रयासमा कवि जुटेकी छीन् ।
गङ्गोत्रीदेखि गङ्गासम्म – भित्र राष्ट्रभाव/देशप्रेमः
गङ्गोत्रीदेखि गङ्गासम्म –को सङ्केत ध्वनि राष्ट्रप्रेम रहेको देखिन्छ । कवि छेत्रीको कविता सिर्जना धर्मितालाई अङ्कन गर्दा कविता लेखनको मूलस्वर देशभक्तिपरक चेतना तथा राष्ट्रभावलाई पाइन्छ । यस कविता सङ्ग्रहका वर्तमान, सुनौलो दार्जीलिङको प्रतीक्षामा, अन्धोदेश, स्वाधीनता, धरतीमाता, स्वाधीनता लुटीएपछि, सङ्कल्प, गङ्गोत्रीदेखि गङ्गासम्म, आफ्नो थलो, गङ्गाको पुकार, भूतपूर्व सैनिकमाथि अत्यचार आदि कविताहरूमा प्रशस्त राष्ट्रप्रेम रहेको पाइन्छ । आफ्नो देशको अस्तित्व रक्षा गर्नु । आफ्नो मातृभूमिको स्नेह तथा स्वर्गतुल्य बनाउन जुटेका भावपक्ष दरिलो र प्रगाढ़ देखिन्छ ।आफ्नो राष्ट्रमा छाएको विकृति, विसङ्गतिप्रति विरोध गरि त्यसलाई देशबाट उखलेर फ्याँक्ने आह्वान पनि गरेका छन् ।
देश – देशको छाती टेक्दै
आतङ्कवादीहरूले
आतङ्की हमला गरीरहेछ
सिमाना – सिमानामा
अनुप्रवेशकारीहरूले
हरक्षण सताइरहेको छ । { वर्तमान, 9 }

औंला उठाएर होइन
औंला तेर्साएर होइन
हातमा हात समाएर
काँधमा काँध मिलाएर
अन्यायको विरोध
गरौं न सबैले । { अमर ज्योति बाली हेरौं न सबैले, 19 }
जस्तै समस्याहरू आइपरे पनि देशको माटोमा बसेर सहने, आफ्नो मातृभूमि छोड़ेर नजाने कताई, हक र अधिकारको निम्ति अरूसँग सङ्घर्ष गरेर देशको माया गरिरहने भावलाईआ कवितामा पोखेका छन् ।
विद्रोहको फिलिङ्गो
आ – आफै सल्कन्दै जान्छ
सल्कन्दै जान्छ
जबसम्म स्वदेशको गर्ववोध गर्नबाट वञ्चित गरिन्छ । { विद्रोहको फिलिङ्गो, 46 }
गङ्गोत्रीदेखि गङ्गासम्म, गङ्गाको पुकार जस्ता कवितामा गङ्गोत्रीको पवित्रधाराबाट अनेकौं सिमसार र खोलानाला लिएर अघि बढ़ेका गङ्गा नदीले सागर नभेटेसम्म भारत देशको छात्तीमा आत्मसम्मान बनेर बगीरहन्छीन् । भारतवासीको अनेकौं आस्थाको संघारमा उमङर्ग छर्दै बगेका पवित्र गङ्गाको महिमा गाएकी छीन् कविले । हिमाल, कैलाश, मानसरोवर, गङ्गा, यमुना र कावेरी समस्त भारतवासीहरूका निम्ति धर्म र संस्कृतिका प्रतीक हुन् । गङ्गोत्री र गङ्गाजल अनन्तकालदेखि भारतीयहरूका निम्ति निर्मल अमृतमय र पवित्र रहेर आएको छ { लामा, 19 सतासीः ख } । यसरी आध्यात्मिक अनुशीलनले भारतको एकतालाई कसिलो र पवित्र बनाइराखेको छ भन्ने सन्देश छेत्रीको कवितामा पाइन्छ । आफनो देशको सार्वभौमिक अखण्डतालाई कसैले टुक्राएर टुक्रिने कुरा होइन भन्ने कुरामा कविले गङ्गा नदीलाई प्रतीक बनाएर हेर्ने कोशिश गरेका छन् । जसरी नदीले स-सना खोला-नाला धारालाई साथ लिएर हिँड़छन् त्यस्तै हाम्रो विभिन्न धर्म-संस्कृति र आस्थालाई साथ लिएर भारतीयको पहिचान बनाएर अघकि बढ़ेका छन् । जसरी नदी बाँड़ेर बाँड़िन्दैन, नदाको निरन्तरको गति जस्तै भारतदेशको अखण्डता निरन्तर रहन्छ भनी गङ्गोत्रीदेखि गङ्गासम्म-को अर्न्तविषयलाई प्रस्टाएकी छीन् ।
स्वतन्त्र प्राप्तीमा अनेकौं वीर वीराङ्गानाहरूको वलिदानको इतिहास भारतीयको छातीमा सँधै हरियो बनेर रहीरहनेछ । देश स्वतन्त्रता तथा देशरक्षामा शहीद बनेका भारतीय गोर्खाहरूप्रति स्रद्धासुमन शब्दले चढ़ाएर उनीहरूको पूजा गरेकी छीन् । ती वीरपुरूषहरूका त्याग र वलिदानलाई कविले कविले सम्झीएकी छीन् ।
देशको सुरक्षा गर्न
सिमाना – सिमाना पहराबनी
स्वदेशका रक्षा गरे
हाम्रा पुर्खाहरूले । {विद्रोहको फिलिङ्गो, 46}
देशमा विभिन्न जात धर्मका देशवासीहरू एउटै डोरीमा बाँधिएर बाँचेका छन् । अनेकतामा एकता भारतीयहरूको मूलमन्त्र रहेर बनेका देशमा प्रत्येक देशवासीलाई प्यारो छ आफ्नो देश भन्ने भावलाई छेत्रीले आफ्नो कवितामा प्रस्तुत गरेकी छीन् ।
यहाँ कविले व्यक्तिको मौलिक परिस्थितिको चित्रणद्वारा समाजलाई सचेत गर्दै सामाजिक व्यक्तिमा राष्ट्रिय भावना जगाउने प्रयासमा जुटेका कविताहरू अघि आएका छन् । राष्ट्रका प्राकृतिक सम्पदाप्रति देशवासीको मनमा गौरवको भाव सृजित गर्दछन् जसले गर्दा देशवासीको मनमा प्रेमभाव मुख्य स्थानमा रहन्छ । कवि छेत्रीले कवितामा प्रकृतिक सम्पदाप्रति अत्यन्त लगावको अनुभावलाई साझा गरी देशप्रेमको भावनालाई महत्व दिएकी छीन् ।
सानो शहर दार्जीलिङको
आफ्नै व्यथा आफ्नै कथा छ
तर पनि
चाँप – गुराँस फुल्न भुलेको छैन यहाँ । { सुनौलो दार्जीलिङ }

टिस्टा – रङ्गीतका
स्वच्छ तरङ्गहरूसित
कञ्चनजङ्गा स्रीपेच
टाइगरहिलको मनमोहक
दृश्यमा रमाउँदै
स्वर्गीय आनन्दको । { हाम्रो पहाड़, 45]
पहाड़ कन्दराहरूमा
प्रभातको आगमनसँगै
न्यानो किरणहरूका ज्योतिले
सबै रोगीहरूमा सर्व – औषधि बनाइरहुन् । { आजको बिहान, 49 }
पहाड़ी शान्त सुन्दरवन –जङ्गलको
रमाइलोपनामा रमाउँदै
अघि बढ़िरहन्छु । { गङगाको पुकार, 72]
प्राणीको आस्रयनै प्रकृति हो । प्रकृति अभावमा प्राणी बाँच्न सक्तैनन् । प्रकृति आफैमा अपार छ भन्ने पक्षलाई कवितामा प्रस्तुत गर्दै आफ्नै जन्मभूमि/देशको मनोहर प्रकृतिको छटालाई कवितामा दर्शाएकी छीन् ।
कवि गीता छेत्रीका कविता सङ्ग्रह गङ्गोत्रीदेखि गङ्गासम्म – भित्रको कविताहरूमा दार्जीलिङको गोर्खा समाजले बोकेको राजनैतिक व्यवस्था, माटोको सुगन्ध, आर्थिक अवस्था, सामाजिक विसङ्गतिहरूको चित्रण गरेकी छीन् । कवितामा मानवीय मूल्यको खोजी, यथार्थवादी जीवनदृष्टि आदर्शताको पक्षमा जीवनको मूल्यलाई अघि बढ़ाएकी छीन् । विशेषरूपमा उनका कवितामा मातृत्व तथा नारीसुलभको स्नेहरागसितै राष्ट्रभावको स्वरहरू प्रमुखरूपमा छाएको पाइन्छ । कवितामा सरल र सरस शिल्पशैलीले सबैवर्गको कविता पाठकलाई कवितातिर खिच्न सहज बनेको देखिन्छ । उनका कविताहरूलाई बुझ्न घोरिरहनु पर्दतैन जसरी खोला सलल बगेको हुन्छ उसरी नै छेत्रीका कविताहरू पाठकको हृदयमा बग्नथाल्छ । सरल गहन र मार्मिक विषयलाई प्रस्तुत गर्न गङ्गोत्रीदेखि गङ्गासम्म –का कविताहरू सफल भएको पाइन्छ । भारतीय नेपाली कवितामा थप यस कविताकृतिले ढुकुटी भर्ने काम मात्रै नगरेर हाम्रो कविता साहित्यलाई वर्तमान युगमा केहीहदसम्म अघाड़ि बढ़ाउन र नारी कवि हस्तक्षारलाई उभ्याउने काममा टेवा पुऱ्याएकी छीन् ।
दार्जीलिङ

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 19 श्रावण, 2077

लेखकका अन्य रचनाहरु