काश्मिरी सल

- मनिश कुमार शर्मा समित

“लौ न बाबु मेरो ओड्ने हरायो ...... कति खोजिसके कतै भेटिन ......... खोजिदेन.......“ केहि दिन देखी आमाले भनिरहनु भएको थियो ।
म लगायत घरका सबै सदस्यले खोजि गर्यौ तर फेला पार्न सकिएन ।
“भै गो नि त आमा आजै म अर्को किनेर ल्याइदिन्छु ।“
“तर त्यस्तो ओरिजिनल कहाँ पाइन्छ र ...? “ आमाको आँखा अघाडि त्यहि घ्यु रंगको मुलायम सल नाचिरहेको थियो ।
हुन पनि हो त्यो सल मैले कास्मिर घुम्न जाँदा आमाको लागि किनेर ल्याइदिएको थिए । त्यहि खालको यहाँ पाउन गाह्रो थियो । तैपनि आमालाई सान्त्वना दिन स्थानिय बजारबाट राम्रै खालको सल किनेर ल्याइदिएँ ।
“ओड्ने त राम्रै हो तर पहिलाको जस्तो हैन ...।“ आमाको मन अझ त्यहि हराएको सलमा गढेको थियो ।
“हुन्छ आमा म फेरि जाँदा त्यस्तै खालको राम्रो सल ल्याइदिन्छु अहिलेलाई यसैले काम चलाउनु ....“ आमाको तृष्णा अझै त्यो हराएको सलबाट हट्न सकेन ।
केहि समय पछि म कामको सिलसिलामा बिराटनगर जानु पर्यो ।
“ए बाबु तँ बिराटनगर जाँदा फुपुको घरमा पस्न नबिर्सिएस है .....“ हिंड्ने बेलामा आमाले मलाइ सम्झाउनु भएको थियो ।
मेरी फुपु भन्दा अर्की फुपु (फुपुको सौता) ले मलाइ साह्रै माया गर्नु हुन्थ्यो । काम सकेर म फुपुको घर लागे । सबै सँग भेटघाट भयो । सन्चो बिसन्चोको खबर आदन प्रदान भयो । मैले दिएको कोसेलीले सबै दंग थिए ।
अर्को दिन घर फर्किने तरखर गर्न लागे । हिड्ने बेलामा अर्की फुपुले भन्नु भयो “बाबु तिम्रो दिदी (फुपु) तिमीकहाँ जाँदा भाउजुले कति राम्रो घ्यु रङ्गको कास्मिरी सल दिनु भएको रहेछ.... मलाई पनि त्यस्तै सल ल्याइदेउन है .....“
म झसंग भए । बोल्न सकिन । हुन्छ भन्ने भावमा टाउको हल्लाए । मेरो दिमागमा केवल त्यो सल यहाँ कता बाट आयो भन्ने प्रश्न तेर्सिरहेको थियो ......

ठिमी, भक्तपुर

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 19 श्रावण, 2077

लेखकका अन्य रचनाहरु