कथाका विषयहरु

- पुण्य खरेल

एउटा कथा लेख्छुलेख्छु र त्यो कथा विशेषाङ्कमा पठाउँछु भन्ने सम्झेका उनको अन्तिम तिथि आई त हाल्यो । कथा त छैन । दुई सय जस्तो कथा लेखे होला उनले, जे सम्झ्यो त्यस विषयमा पहिले नै लेखिसक्याझैं लाग्छ । फेरि यो गणतन्त्र र यो सरकार बनेयता त्यस्सै कलम अक्मकिएको अक्मकिएकै छ । वर्तमानको निक्कै चर्चामा रहेका कथाकारमध्ये उनले यो हप्ता कथा लेख्ने वारे सारै चिन्तामा बिताए ।
एक पल्ट यस्तै सकस परेका बेलामा उनले कनीकुथी एउटा कथा लेखेथे । एक जना प्रशिद्ध समालोचक उनको टोलमै बस्छन् । त्यो कथाको पाण्डुलिपि बोकेर तिनै समालोचकका घरतिर लागेथे त्यसपल्ट । नभन्दै ती समालोचकलाई घरमै भेट्टाएथे पनि ।
“नमस्ते कृष्णचन्द्रज्यू ! के पढ्दै हुनुहुन्छ आजभोलि ? कसका आन्द्राभुँडी केलाउँदै हुनुहुन्छ ?” उनले सोधेथे ।
“बसौंबसौं ! पहिला सजिलो गरी बसि त सकौं ! अब त बुढ्यौलीले छोयो त हौ कथाकार महोदय ! कति न तन्नेरी नै छु जस्तो ग¥या ? क्या हो ? नयाँ कथा जन्मियो कि क्या हो ?” कृष्णचन्द्रले भनेथे । नयाँ कथा लेखिसकेपछि उनलाई सुनाउन खुरुर्र आउने उनको बानी उनलाई थाहा छँदैथ्यो । ती कथाकारका पहिलो पाठक भनेपनि पहिलो स्रोता भनेपनि उनी नै हुन् ।
गुरुप्रसादले यस्तै सम्वादपछि आफ्नो त्यो कथा सुनाएथे । जवाफमा कृष्णचन्द्रले भनेथे– “अब के भन्नु र ! गायकले यस्सो लेघ्रो तान्दैखेरि कति राम्रो गीत बन्छ ! कलाकारले कुचीले क्यानभासमा यस्सो लत्पत्याउँदैखेरि कति राम्रो कला बन्छ ! बाँसुरीवादकले बाँसुरीमा औंला जताजता थिचून् कति मोहक धून निस्कन्छ ! कथाकारका फेला परेपछि शब्दहरु, वाक्यहरु कसरी जादुगरका अघिल्तिर दर्शकहरु लट्टिएझैं गरी लट्टिएर जता मिलायो उतै मिल्छन् ! कति राम्रो बिम्ब बनिहाल्छ ! ‘राम्रो कथा !’” फुक्र्याएथे ।
आज भने गुरुप्रसादले कनीकुथी त के कसैगरी कथा लेख्न सकेनन् । उनले सोचे कृष्णचन्द्रसँग गएर एक छिन कुराकानी गर्नुप¥यो, कुरा खोतल्नुप¥यो । कथा निस्किन पनि सक्छ, कथाको विषय वस्तु भेटिन पनि सक्छ ।
गुरुप्रसादले फोन लगाए समालोचक कृष्णचन्द्रज्यूलाई– “हेलो ! नमस्कार म गुरुप्रसाद बोलेको !”
“नमस्कार ! मैले के सेवा गर्नुप¥यो होला ?”
“कता हुनुहुन्छ, फुर्सद कस्तो छ, भनेर नि !”
“फुर्सद नै फुर्सद नि ! नभए फुर्सद खोजीमेली निकालुँला न ! के प¥यो त्यस्तो ?”
“त्यस्तो विशेष क्यै प¥या होइन । म एक छिन गफसफ गर्न आउन लाग्या !”
गुरुप्रसाद अनुमति लिएरै कृष्णचन्द्रका घर पुगे । कृष्णचन्द्रले गुरुप्रसादलाई “सुस्वागतम् सुस्वागतम् !” भन्दै आफ्नो अध्ययन कोठामा भित्रै पस्न अनुरोध गरे । उनको कोठा फराकिलो एक प्रशिद्ध साहित्यकारको कोठा । तीनतिर भित्तामा पुस्तकका ¥याक छन् । एकातिर एउटा टेवल छ, टेबलमा एउटा कम्प्युटर छ । टेबलको एकापटि फोनको सेट पनि छ । कम्प्युटर गर्नका लागि बस्ने कुर्सी पनि छ । फेरि अर्कापटि फर्किंदा अर्को टेबलमा फस्य्राल्ल किताबहरु छन् । डायरी, कलम, पत्रपत्रिका पनि छन् । दराज त पुस्तकले भरिएकै छ, दराजबाहिरै तल पुस्तकहरु थाकथाक गरेर पनि राखिएका छन् । यो पुस्तकको खलियो, पुस्तकका दराज र दराज बाहिरै पनि अनेक पुस्तकहरु कोही थाकथाकमा, कोही लइनलाएर धारे पारेर राखिएका देख्ता यो निकै विद्वान–अध्येताको कोठा हो भन्ने प्रष्टै बुझिन्छ । कोठा निकै फराक भएकाले त्यहीं एकापटि दुई–तीन कुर्सी र अर्को एउटा टेबल पनि अटाएका छन् ।
कृष्णचन्द्रले तिनै कुर्सीमध्ये एउटामा गुरुप्रसादलाई बसाए र आफू पनि अर्को कुर्सीमा आमनेसामने भएर बसे । गुरुप्रसादका आँखा भित्ताका आलमारी र ती आलमारीभित्रका पुस्तकका डडेल्नोमा परिरहे । ठुलठुला ग्रन्थ, मझौला र साना पुस्तकहरु घुलमिल गरेर बसेका । पुस्तकका नाम, लेखकका नाम अलिअलि पढे पनि ।
“कत्ति न कहिल्यै पुस्तक नदेख्या जस्तो ! हेर्दै गरौंला न पुस्तक । लु ! के आइप¥यो त्यस्तो ! नयाँ कथा जन्म्या होला ! निकाल्नू न निकाल्नू ! नयाँ कथा सुनूँ आज पनि ! मलाई ... सत्य कुरा भन्दैछु म, ... मलाई नयाँ सृजना स्रष्टाकै मुखबाट सुन्दा साँच्चै अपार आनन्द हुन्छ । आज पनि नयाँ कथा सुन्न पाइने भयो भनेर म त अत्यन्त उत्साहित छु !” कृष्णचन्द्रले भने ।
“आज मलाई लज्जित नपार्नुहोस् कृपया ! फेरि यो आग्रह दोहो¥याउनु भयो भने त म भाग्छु । म त यो हप्ता एउटा कथा लेख्नुप¥यो भनेर त्यो कोसिसमा लागेको । अहँ ऽ! ‘करले ‘केजाति’ आउँछ र ?’ भनेझैं भयो । हेर्नू न ! देशमा राजनीतिक स्थिति पनि बदलियो । गणतन्त्र र के भन्छन् । ‘राजनीतिक क्रान्ति पूरा भयो !’ भनेर गोयवल्स पारामा दोहो¥याई दोहो¥याई भन्छन् । आफू र क्याहो मैना क्याहो क्याहो ! भन्याजस्तो टाउको रित्तो भएजस्तो भइएको छ । अनि अब मोही माग्ने ढुङ्ग्रो लुकाउने किन गर्नु ? तपाईंसँग कथाको विषय खोजिमाग्न आएको । के विषयमा लेख्नु कथा अब ?” गुरुप्रसादले आफू आउनाको कारण राखे ।
“आज र भोलिमा एउटा कथा लेखिएन भने म मेरै दृष्टिमा एक तह तल झर्छु । त्यो ‘शान’ पत्रिकाले एउटा कथा विशेषाङ्क निकाल्दै छ अरे, छानिएका कथाकारहरुका कथाको । मैले कसैगरी एउटा नयाँ कथा दिन्छु भनेर मनमनै सङ्कल्प गरेको ! आफ्नै सङ्कल्पमा म डग्ने परें ।” गुरुप्रसादले थप कुरा भने ।
“कथाको विषय त तपाईं आफैं भनिरहनु भएको छ त ! कृष्णचन्द्रले भने– “राजनीतिक क्रान्ति पूरा भयो’ भनेर रट लगाउँछन्, आफू र ‘क्या हो मैना क्या हो !” भन्नुभयो नि ? त्यसो भनेको के ? तपाईंले ‘भन्छन्, तर उस्तै छ’ भन्नुभएको होइन त ? मैले हिन्दी कविको एउटा मुक्तक सुनेको थिएँ– ‘पन्छी कहती है चमन बदला है, क्या क्या कहती है क्या क्या बदला है, लेकिन श्मशान की खामोसी कहती है, लास वही है कफन बदला है’ भन्ने । त्यही भन्नु भो होइन त तपाईंले ! त्यही भयो त विषय ! हिजो राजतन्त्रमा र अहिलेमा के फरक ? कल्भर्ट अलिक धेर बनिए, पिचरोड अलिक धेर बनिए, अस्पताल अलिक धेर बनिए, विद्यालय–कलेज अलिक धेर बनिए, मान्छेको जनसङ्ख्या अलिक धेर भयो । त्यही त होला । हिजो जसले फिस तिर्न नसकेर पढ्न पाउँदैनथे तिनले पढ्न आजपनि पाउँदैनन् । हिजो पैसा नभएर अस्पताल जो जान पाउँदैनथे तिनले आज पनि अस्पताल टेक्न पाउँदैनन् । हिजो जसले भाडा नभएर पैदल हिड्नुपथ्र्यो तिनले आज पनि गाडी चढे भने अपमानपूर्वक ओरालिन्छन् । हिजो अस्तिभन्दा बरु हरेक कुरा धेरै महँगो पो भएको छ । अस्तिअस्ति टेबल मुनिबाट लुकीछिपी लेनादेना हुन्थ्यो भने अचेल टेबलमाथिबाटै खुल्लमखुल्ला हुन्छ । सरकारले छुट्याएको विकास बजेटको कति भाग बाटैमा सकिन्छ र साँच्चै कति भाग विकासमा खर्च हुन्छ थाहै छ । अनि ‘राजनीतिक क्रान्ति पुरा भएकै हो ?’ यही विषयमा कथा लेख्नोस् ! तपाईं कथाकारलाई विषय पो नपाउनू त कथानक बुन्न त के कठिनाइ र ? ठिक्कको मुढो भेट्टाएपछि सिकर्मीले त्यसको हलो बनाउने कि ठेकी बनाउने ? बजाउने मादल बनाउने कि गाडीका चक्काको मादल बनाउने ? त्यो त झिमिकमा न हो !” कृष्णचन्द्रले बिङ्गा लगाए ।
गुरुप्रसाद एकोहोरिएर सुनेको सुन्यै भए । हो कि हो कि जस्तो पनि भयो, तर यही विषयको कथानक बुन्ने कसरी उनको दिमागमा गज्याङ्मज्याङ् पनि भयो ।
कृष्णचन्द्रले प्रसङ्ग अर्को निकाले– “अहिले तपाईं–हामीले छलफल गरेजस्तै समस्या परेछ रुसमा पनि १९३०÷३२ तिर । वर्तमानको नेपाली सरकार र इमान्दार साहित्यकारजस्तै जोसेफ स्टालिन र म्याक्सिम गोर्कीका बिच पनि सम्बन्ध तनावपूर्ण भएछ । सायद तपाईं कथाकार–आख्यानकारलाई गोर्की पनि आख्यानकार नै भएकाले जानकारी नै होला ! उहाँको मृत्यु रहस्यपूर्ण मानिन्छ नि ! स्टालिनले गोर्कीलाई भने अरे– “तपाईं रुसको उन्नतिको कुरा लेख्नुहोस् न ! यो समाजवादको विकासको कुरा लेख्नुहोस् ! यत्रो परिवर्तन भैसक्यो मुलुकमा, तपाईं त्यही पुरानै तालमा पुरानै गीत गाइरहनु हुन्छ ! यो तपाईंको हकमा त पटक्कै भएन !”
गोर्कीले पनि उत्तरमा भने अरे– “खोइ, मैले देखेका यी साधा जनताको जीवनमा अहिले पनि कुनै क्रान्ति पाएको छैन, कुनै समाजवाद देखेको छुइनँ । यी रेलका कुल्लीहरु, यी जहाजका कुल्लीहरु, कारखानाका मजदूरहरुको जीवनमा म वोल्सेविक क्रान्ति देख्न खोज्छु, देख्न पाएकै छुइनँ । यी किसान, होटेल मजदूर, यातायात मजदूरका जीवनमा अक्टुवर क्रान्ति हेर्न खोज्छु, मेरा आँखाले अहँ देख्न पाएको छैन । लेखक–कलाकारलाई त नयाँ सत्यले, नयाँ याथर्थले प्रभाव पार्नु पर्छ नि ! अनि पो सृजनामा अनुदित हुन्छ त !”
“त्यसपछि त गोर्की एकाएक हराए अरे ! उनलाई बन्दी बनाइयो अरे !” अब त्यो कुरा छोडौं ! अब लगभग हाम्रो देशमा पनि त्यस्तैत्यस्तै छाँट देखिँदैछ । अब कथाकारज्यू ! गोर्कीको जस्तो हिम्मत गरेर सत्तासँग आँखामा आँखा जुधाएर बाँच्ने कि ? सामाजिक यथार्थका कथा लेख्ने कि ‘राजनीतिक क्रान्ति पूरा भयो !’ भनेर ‘हो हो पाडरी हो पाडरी’ गर्ने हो ! रोजाइ त छँदैछ ।” कृष्णचन्द्रले अलिक लामै कुरा भने ।
“होइन, यो लेखाइको लइन समात्ने भन्ने वारेमा त कुनै धुकचुक होइन कि समालोचकज्यू !” गुरुप्रसाद बोले– “तर कथाको विषय नै नफुरेर पो म त यसो गफबाट, छलफलबाट दिमाग पघार्न यता लस्केको त !”
“विषय त के र देशले अहिले विषय नै विषयको बिस्कुन लाइदिएको छ । कञ्चनपुर उल्टाखामकी १३ वर्षकी निर्मलाले कत्रो विषय दिएकी छिन् ?” कृष्णचन्द्रले अझै कथाका विषयका विङ्गा लगाउन सुरु गरे– “तपाईं–हामीलाई ठुला राजनेताको जीवनशैली कस्तो हुँदो रहेछ ? सभामुख र एउटी महिला कर्मचारी बिचको यौनमामलाको कथासँग जोडिएका कुराले पनि दिएको छ ।”
“संविधानमा समाजवाद लेख्ने तर शिक्षालाई, स्वास्थ्यलाई निजीकरण गरिरहेको कुरामा आँखा चिम्लिने ! सरकारी विद्यालयमा र निजी विद्यालयमा गएर विद्यार्थीहरुलाई नियालौं त ! शिक्षामा देखिएको विभेद एक बेलाको रङ्गभेदी अफ्रिकाको भन्दा कहाँ कम छ र ! यही एउटा विषय हुन्छ । छोराछोरी पढाउन चाहने निम्न वर्गका जनता र तिनका बालबालिकाको मनमा पसेर कथा लेख्नू त ! कति मार्मिक छ अवस्था !
स्वास्थ्य सेवाको हालत त्यस्तै छ ! यी कम महत्त्वका विषय हुन् र !
विज्ञान र प्रविधिको आजको युगमा छाउगोठमा हाम्रा चेलीहरु बलात्कृत हुँदैछन्, मर्दैछन्, छाउगोठ भत्काउने अभियान चलाउँदा “हाम्रो घर नै भत्काइदिने ?” भन्दै संसदमा विरोध पनि हुँदैछ । यो कमजोर विषय हो र !
एकातिर नारी र पुरुष समानताको आन्दोलन छ, महिला सञ्जाल बनेको छ, अर्कातिर स्वस्थानीव्रतकथा ‘भाइरल’ भैरहेको छ । “स्वस्थानी कथा महिलालाई दासत्व थोपर्ने संकथनमा अधारित कथा हो” भन्ने महिलाउपर महिलाहरु नै धावा बोलिरहेका छन् ।
एकातिर माक्र्सवादको कुरा छ, द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादका प्रशिक्षणहरु चल्दैछन्, अर्कातिर प्रशिक्षकहरु स्वयं सिद्धबाबा र जग्गु योगीका धार्मिक उपदेशमा लठ्ठिँदैछन् । कस्तो छ कुरा ! कति छन् विषयवस्तु ?”
“अब लगभग मेरो चेत खुल्यो । हामी विश्वसभ्यतामा कहाँ रहेछौं भन्ने पनि सुझ्यो । कृष्णचन्द्र सर ! तपाईंलाई धन्यवाद ! यो ‘वादे वादे जायते तत्ववोध !’ पनि भयो मलाई ।” गुरुप्रसादले भने– “अब भोलिपर्सि नै म एउटा कथा लिएर आउन सकुँला कि झैं लाग्यो मलाई । ... अनि विद्यागुरुआमा देखिनु भएन नि !” बोल्दैबोल्दै गुरुप्रसाद बसेको ठाउँमा उभिए ।
“के कथा ह्वाह्वार्ति झर्न लागिहाल्यो कि क्या हो कथाकारज्यू ? कलम कापी चाहियो ? म उपलब्ध गराउँछु !” कृष्णचन्द्रले व्यङ्ग्यात्मक रूपमा भने– “कि किन उठिहाल्नुभयो ? आउनेबित्तिकै दुई–चार कुशलमङ्गलका वाक्य पनि नबोली एकैचोटि विषयवस्तुमा पसियो । कार्यक्रम सुरु भैसकेपछि आएर सिटमा बस्याझैं भयो । अब कार्यक्रम बिसर्जन भयो भनेझैं गरी ‘सि ए पि क्याप लिएर टि ए पि टाप कस्ने’ जस्तो पारा गर्नुहुन्छ ! अबदेखि कहिल्यै नआउने हो भने जानुहोस् ! होइन भने त म मेरो मित्रलाई चिया ख्वाउँछु ! यता ‘आइफोन’ छ यी मसँग पनि, मेरा मित्रसँग ‘सेल्फि’ खिच्छु ! मित्रको एकलै पनि तस्वीर लिन्छु । अनि त भरे म पनि ‘फेसबुक’मा अनेक ‘मेरा प्यारा कथाकारमित्र मेरा घरमा ‘पधार्नु’भयो ! घर नै उज्यालो भयो !’, ‘मेरो अध्ययन कोठै झलमल्ल भयो !’ भनेर बिङ्गा लाउँदै अपलोड गर्छु । एउटा मित्रका घरमा आएर बसिसकेपछि धारामा पानी लिन आएजस्तो त होइन नि मित्र ! बसौं बसौं एक छिन !” कृष्णचन्द्रले गुरुप्रसादलाई पाखुरा समाएरै बसाए कुर्सीमा र उता आफ्नो कोठातिर लागे ।
झिमिकमा विद्यागुरुआमा थालमा दुई कप चिया र दुई गिलास पानी लिएर आइन् । “मैले त सोध्दै नसोधीकन चिया त खल्लो पो बनाएँ ! हाम्रा त उहाँ ‘दूध लगाएपछि चिनी निषेध !’ भन्नुहुन्छ । त्यही बानी बसेको छ । चिनी लाग्छ भने म ल्याइहाल्छु ।” गुरुआमाले बोल्दै टेबलमा थालै राखिन् ।
“तपाईंले ठिक गर्नुभयो”– गुरुप्रसादले भने – “भयो भयो ! चिनीमा त अनेक विषालु रासायनिक पदार्थ हुन्छ भन्छन् अचेल ! चिनी ल्याउनु पर्दैन गुरुआमा !”
कृष्णचन्द्र आइपुगिहाले । “लिऔं कथाकारज्यू ! लिऔं !” कृष्णचन्द्रले भने ।
दुबै जनाले पानीका एक–एक गिलास लिएर तनतनी पिए र ती कप टेबलमा राखे । गफ त फेरि ती अघिकै विषयका पुच्छरझैं गरी थपिए ।
“हुनपनि कस्तो भयो हाम्रो समाज हो कि ! कथनीमा एउटा करनीमा एउटा ! दिनमा दुईटा, तीनटा, चार्टा कार्यक्रममा गयो, पुरुष र स्त्री समानताको वारेमा शब्द छानीछानी, व्यञ्जना र लक्षणा मिलाई मिलाई भाषण ग¥यो अनि घरमा आएर परालको आगो दन्कायो गर्छन् !... कति महिला नेतृहरु महिला सशक्तीकरणका वारेमा क्लाराजेट्किन, याङ–काइ–हुई, इन्दिरा गान्धी, बेगम नुसरत भुट्टो, आङ–साङ–सुकी आदिका उदाहरण दिईदिई भाषण ठोक्यो गर्ने अनि घरमा आएर स्वस्थानीको कथा सुन्दै पतिका गोडा धोएर पानी खायो गर्ने गर्छन् । केही मान्छेहरु विज्ञान र प्रविधिका कुरा पनि बखान्यो अनि ग्रहण लाग्या बेलामा शङ्ख र घण्ट बजाउँदै ‘छोड् दे ! केजाति छोड् दे !’ भन्यो । यस्तो छ । यस्ता कुरा मनमा छ्याप्छ्याप्ती भएर पनि कस्तो बिर्को लागेजतिकै भएछ हौ !” गुरुप्रसादले भने ।
“त्यही त भन्या ! राजनीतिमा पनि संस्कृतिमा पनि हामी द्वैध अवस्थामा, सङ्व्रmमणमा छौं । यही बेलामा हो लेखनको अत्यन्त महत्त्व पनि । कथाकारले कथाको घन हान्ने मौका यही हो र विषय पनि यिनै–यस्तै हुन् ! राज्यसत्ता भनेको त कति अन्धो हुन्छ भने ? यो बत्ती बोकेर अँध्यारो खोज्न निस्कने जस्तो हो, उसले कतै अन्याय छ, अत्याचार छ, या भ्रष्टाचार छ भन्ने देख्तैन । हो त्यो सत्तामा बसेकालाई उसको त्यो स्थिति बोध गराउन सक्नु पनि लेखक कलाकारको शक्ति हो ।” कृष्णचन्द्रले भने ।
कुरा गर्दैगर्दै चिया सिध्याए । गुरुप्रसाद उठेर जम्लाहात गरे । अहिले भने कृष्णचन्द्र पनि जम्लाहात गरेर हाँसे ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 19 श्रावण, 2077

लेखकका अन्य रचनाहरु