अनमोल कविता

- युवा बराल ‘अनन्त’

तल्तिर आँगनमा
माइली दिदी सुइटर बुनिरहेकी छिन्
मास्तिर म कनि-कुथिकन कविता बुन्दैछु ।

शिशिरको चिसोले ढाकेको घामलाई पिठ्यूँ देखाएर
शारिरिक सुखानुभूति भोग्दैछिन् उनी
सुइटरमा एक-एक घर सपनी जोड़दै ।
म उनको अथक परिश्रमलाई नमन गर्दै
त्यो सुइटर र यो कविता माझ तुलना गर्छु
उनी निमग्न छिन् आफ्नो नगद खेतीको बारिमा ।

सुइटरमा विभिन्न प्याट्रन भर्न सकिन्छ उनी भन्छिन्
कवितामा पनि विभिन्न भाव पोख्न सकिन्छ, मेरो अड़ान
सुइटरले आङ्ग ढाक्छ, न्यानो दिन्छ, खाँचो टार्छ उनको जिद्दि
कवितामा सवार भै संसार निहार्न सकिन्छ, मेरो उड़ान ।

उनको विश्वासमा कविता कम्जोर शिथिल
केवल मनको विकार मात्र !!

म भन्छु; कविता सर्व-प्रिय, सर्व-शक्तिमान, सर्व-भौमिक,
रसमय, कलामय, दीप्तिमय, सृष्टिको अनुपम उपहार !

उनी प्रतिद्वन्द्वितामा
प्रख्यात कविवर डा राजेन्द्र भण्डारी सरको
एउटा बहुचर्चित कविता बर्बराउँछिन् अनायासै

“… भइ गयो फेरि
केको कविता न सविता
कविताले बिल्डिङ बनिन्छ ?
कविताले छोरो इञ्जिनियर हुन्छ ?
कविताले मेरो डायबिटिज ठीक हुन्छ ?
स्वास्नीको युटिआइ ठीक हुन्छ कविताले ?
कविताले प्रेस्टिज हुन्छ ?”

“सुइटरसित चामल र तेल साट्न सकिन्छ
सुइटर बेचेर सिलिण्डर थाप्न सकिन्छ
सुइटर धितो राखेर नुन किनिल्याउन सकिन्छ
न भाउ, न मोल, न मूल्य भएका
किन महत्व दिऊँ तिम्रा कवितालाई ।?”

रङ्ग विरङ्गका धागाहरु उनका हातभरि उनिएका
रङ्ग विरङ्गका सपनाहरु उनका मनभरि बुनिएका
सुइटरका घरहरुसंगै बड़दै बड़दै, पूर्णताको रुप लिन्छ जब
एउटा कविता सिद्धिएको आनन्दले
ठूलो सास फेर्दै व्यग्रतासरि
एकपल्ट आफै नाप्छिन् त्यो उनको संतृप्ति ।

कविता; माइली दिदीको निम्ति अपरिवर्तनीय
अवचेतन मनको लिपिबद्ध गन्थन मात्र,
केवल शाब्दिक अस्तित्व
न कसैको निम्ति हुन्छ, न कसैले सुन्छ, न कसैले पढ़छ ।

म, मनमनै सिद्धिएको कविता बाँच्छु अनि
रमाउँछु एकतमासले उनी रमाए जसरी उन्मादमा
यो परमानन्द सन्तुष्टिको गहिरो स्वास फ्याँकेर।

कसरी भनूँ म उनलाई -
उनको सुइटरको कुनै मुल्य छ भने
मेरो कविता अझ बड़ी अनमोल छ ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 19 श्रावण, 2077

लेखकका अन्य रचनाहरु