अस्पताल

- कबिन बस्नेत

खुर्सानीको बोटनेर
घोपेलाटो झोक्राइरहेछ
मध्यान्नको चर्को घाम
जालारीहरूको रित्तो टोकरीभित्र डुब्न चाहन्छ
ग्वाला हेर्न आउने नानीहरु
ट्रयाक्टरको ट्यूबमा बसेर
सानीभेरीको उत्ताल छालहरू छिचोल्दै छन्
चुर्नाले आजित अनुहारहरू
कुपोषित क्रन्दन
पिपले गानिएका घाउहरू
दुःसाध्य रोगहरूको लाम लागेको छ ।

च्याँ.....च्याँ ...च्याँ
नवजात शिशुको सुरक्षित अवतरण भएको छ ।
उसको तेस्रो सन्तान
छोरा कि छोरी ?
बुबाको उत्सुकता चुलिँदै जान्छ
त्यसपछि एउटा सन्नाटा बित्छ
आमाको छाती रसाएकै छ
वर्तमानको सुरक्षित अवतरण
जीवनको साँघुरो धावनमार्ग
सायद असुरक्षित भविष्यको उडान
एक जोर आँखा भुईँमा लत्रिएको छ ।
अचानक एउटा सिम्टाल भुर्रर उड्दै
मेरो अगाडि आईपुग्छ
र,
भुईँ उधिनेर चुच्चोले
सानो फट्याङ्ग्रा च्यापेर
ओझेल हुन्छ ।

-सानीभेरी - 3
छोटेबगर, रूकुम( पश्चिम)

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 19 श्रावण, 2077

लेखकका अन्य रचनाहरु