रहस्यको अनुसन्धानमा लोकनाथ

- शरद कुमार क्षेत्री

यो संसारमा सम्पूर्ण विषयवस्तु विज्ञानले परिभाषित गरे जस्तो प्रमाणित हुँदैन। विज्ञानले प्रत्येक विषयको सुव्यवस्थित र सुनिश्चितताको प्रमाणिकरण माग्दछ। अन्यथा त्यो विज्ञानको कसौटीमा खरो सावित हुन नसक्ने भएको कारणले अवैज्ञानिक ठहर्दछ। हाम्रो जीवनमा घटीरहने धेर जस्तो घटनाहरूको वैज्ञानिक विश्लेषण गरिएको वा प्रमाणिकरण गरिसकिएको भएता पनि अझ धेरै घटना अनि वस्तुहरू सत्य व्याखा गर्न विज्ञान असक्षम रहेको हामी सबैलाई ज्ञात नै भएको कुरा हो। त्यस्ता विषय घटना वा वस्तु इत्यादि जसको बारेमा सठीक ज्ञान छैन त्यस्ता विषय रहस्य अन्तर्गत पर्दछ अनि रहस्यको कुनै आदि र अन्त हुँदैन, यसको बारे हजार सिद्धान्त बखान्न सकिन्छ।
हाम्रो समाजमा रहस्यमय घटना अनि रहस्यमयी कथाहरू एक पुस्ताले अर्को पुस्तालाई पुस्तान्तरण गर्दै आइरहेको छ। साना-साना बालकहरूलाई सुनाइने यस्तै रहस्यले भरिएको हुन्छ, जिउँदो व्यक्तिलाई नै तिलस्मी रूपमा वर्णन गरेर उसको व्यक्तित्व नै रहस्यमयी बनाइन्छ। जंगबहादुर राणा यस्तै एटा उदाहरण हुन हिलकार्ट रोड बनाउँदा जब गिद्धे पहरा फोरियो त्यहाँबाट वायुपंखी घोड़ामा जंगबहादुर उड़ेर गए भन्ने घटनालाई विश्वास गर्ने धेरै मानिसहरू थिए/छन् हाम्रो समाजमा। शंखे भीर हराम्रो पहाड़को कैंयौम स्थानमा अवस्थित छ, जहाँबाट शंख उड़ेर गएको विश्वास राख्दछन्-हाम्रा अग्रजहरू। कालो बिरालोको शाल-नाल, बन मान्छेको हात, जी-माला, भीर चिलको नङ्ग्रा, जोगीको फुक्ने नली, बनझाँक्रीको खुट्टा इत्यादि अनगन्ती घटना र वस्तुहरू सठीकरूपमा परिबाषित नभएता पनि विश्वास र अन्धविश्वासको दोसाँधमा घिटघिटो कै रूपमा भएपनि समाजमा बाँचिरहेकै छ।
एक दुईवटा नयाँ शैलीको पुस्तक अध्ययन वा विश्वविद्यालयको प्रमाणपत्र हासिल गरेर आफैलाई आधुनिकतम गर्न खोज्ने तथाकथित विद्वानहरूले हाम्रो समाजमा रहेका यस्ता विषयहरू रूढ़ीवादी, पुरातनवादी र अन्धविश्वास मानेर पन्सिन खोज्दै आफ्नो नानीहरूलाई ह्यारी पोटरको महङ्गो किताप पढ़न दिएर आधुनिकको पगरी गुथ्ने प्रयास गर्दछन्। आफ्नो वहियात अर्काको वैज्ञानिक। रहस्य प्रत्येक समाजमा व्याप्त छ। पश्चिम मुलकका भ्यानपायर, जोम्बी, ड्रयाकुला र हाइलोइन प्रथाहरू यसको केही उदाहरण हुन्। रहस्यमय व्यक्तित्वहरूमा पश्चिमको रविनहुड, रशियाको राजपुटिन, अमेरिकाको वाइल्ड बेस्टको काउवोय ठन्डर जोनको रहस्यमय कथा अझै प्रचलित छ-हिज जस्तै।
रहस्यलो रोमाञ्च उत्पन्न गराउँदछ, रोमाञ्चले मानिसलाई मायवी दुनियाँको सैर गराउँछ। यही मायवी दुनियाँ नै मानिसलाई प्रिय लाग्दछ। सबै रहस्यमय वस्तुहरू मायवी हुँदैनन्। कतिपय वस्तुहरू हाम्रै आसपास हुँदछ- घरमा, जङ्गलमा, गोठमा, जमिनभित्र तर त्यस्ता वस्तुहरूको कार्य प्रणाली र मूल्य हामीलाई थाहा हुँदैन तर हाम्रै समाजमा यस्ता वर्ग पनि छन् जो सदैव यस्तो वस्तुको खोजीमा रहन्छ यो वर्गलाई यस्ता वस्तुहरूको मूल्यको ज्ञान हुन्छ अनि यस्तो वस्तु प्राप्त गर्नु आफ्नो ज्यानको बाजी लगाउन पनि पछि पर्देनन् । समाजको प्रत्येक वर्गमा यस्ता व्यापारी, दलाल, खोजकर्ता वस्तुको मालिक विद्धमान छ चाहे ठूलो व्यापारी, राजनैतिक व्यक्ति, सैनिक अधिकारी, प्रहरी वा साधरण घर गृहस्थी नै किन नहोस जसलाई यस्ता वस्तुबाट हुने आमदामीको ज्ञान छ उ खुरन्धुर लागेको हुँदछ यो रहस्यमय कारोबारमा- गुप्त तवरले । यस्तै रहस्यमय वस्तु र ति सँग सम्बन्धित मानिसहरूको दुनियाँमा आधारित छ लोकनाथ उपाध्याय चापागाई-कृत उपन्यास- रहस्य र अनुसन्धान। हाम्रो साहित्यमा यस्ता रहस्यमय कथाहरू छोटो रूपमा लेखिएतापनि यही विषयलाई केन्द्रविन्दु बनेर लेखिएको उपन्यास यो नै प्रथम हो भनेर स्वीकारेका छन् साहित्यका विद्वानहरूले। यो पुस्तकको विषय नै नौलो अनि रहस्यमय रहेकोले यसको विश्लेषण गर्ने क्रममा सोझै उपन्यासको विषयमा प्रवेश गर्नु अगावै केही लेख्न पर्ने आवश्यक ठानेर यी माथिका हरफ लेख्न वाध्य भएँ। यी गनथनले उपन्यासको विश्लेषणमा न्याय पुऱ्याउने छ भन्ने ठानेको छु।
लेखकले आफ्नो समय र शक्ति खर्चेर गरेको सृजनालाई सतहिरूपमा.........समीक्षा, समालोचना वा विश्लेषण गर्नु सहज त होला तर यस्तो कार्यले न्याय नगर्ला सर्जकलाई अनि सिर्जनालाई, फ्यातुलो ठहर्दछ, विश्लेषण.... असर पर्दछ समग्र साहित्य जगतमा। मेरो विचारमा कुनैपनि समालोचनाले न्याय गर्नु पर्दछ लेखकलाई, लेखकको लेखन धर्मितालाई समालोचनाको प्रकाशले त्यसको गुण-अवगुणको सापेक्ष तौरमा पाठकको अघि ल्याउन सक्षम हुन आवश्यक पर्दछ तबमात्र विश्लेषकले आफूलाई पनि न्याय गरेको ठहर्दछ। साहित्य अकादेमी पुरस्कार प्रापक लोकनाथज्यूको यो उपन्याको विश्लेषण गर्नु लाग्दा म यही आशंकाले ग्रसित भइरहेको छु-के मैले आफैलाई न्याय दिन सक्षम रहुँला। जे होस न्याय नभएपनि अन्याय गर्दिन भन्ने मनसायले यो विश्लेषण लेख्ने आँट गरें।
आत्माकथा शैलीमा प्रस्तुति गरिएको लेखक प्रथम पुरूषको रूपमा वर्णित छ यस उपन्यासमा। शीर्षक उनुरूप अनुसन्धानको क्रममा विभिन्न धर्म ग्रन्थ, अन्य भाषाका साहित्यकसा पुस्तकहरू र विज्ञानका सिद्धान्तलाई मानकको रूपमा लिएका छन् अनि ति मानकहरू अतिविश्लेषण र अतिविश्लेषण गर्ने प्रयास लेखक स्वयं भ्रमित भएका छन्।
नागरत्न, बासना आउने ढुङ्गा, गोरोचन, विचित्र चरो हुदु, चामल आकर्षण गर्नेपैसै, चमत्कारी बोतल, ईष्ट इण्डिया कम्पनीको 1818-को रहस्य, वायु र बनझाक्रीको कथा, लसुन पुड़केको चमत्कार, हिममानव जस्तै जीव इत्यादिको वर्ण खुबै रोचक ढंगमा प्रस्तुत गरिएको छ। जो कसैले पनि यो उपन्यास पढ़न आरम्भ गरे पश्चात अन्त नभएसम्म नपढ़ी बस्न सक्दैन। एउटा अध्ययनको रोमाञ्चपछि अर्को अध्ययनमा को होला भन्ने जिज्ञासाले पाठकलाई बाँधी राख्छ यो उपन्यासले। सरल, सहज, परिस्कृत भाषा शैलीमा लेखिनु पनि यो उपन्यासको अर्को विशेषता हो। घटना वर्णनमा खप्पिस् देखिन्छन् उपन्यासकार तर अनुसन्धानको क्रममा मिता, विज्ञान जिन्द्र अवेस्ता, बाइबलको व्याखा, विज्ञानका सिद्धान्त अनि अन्य भाषाका पुस्तकहरूको ज्ञान अनुरूप रहस्यको टुङ्गो लगाउने प्रयास गर्दछन् सामान्य पाठकहरूको निम्ति गाह्रो हुन जान्छ।
उपन्यासमा अभिभाषित असमको संक्षिप्त वर्णन छ अनि असम विभाजन भएपछि नेपालीहरूको दुर्दशा आरम्भ भेको भनाई सठीक छ तर यो कुरो अन्य पुस्तकहरूमा पढ़न नपाउनु वा कुनै सामाजिक वा राजनैतिक गोष्ठीमा नउठ्नु दुर्भाग्य हाम्रो। असममा नेपाली शब्दसँगै जोड़िएर आउने शब्द हो गोठ वा खुट्टी, यो छपड़ीको इतिहास अनि त्यहाँका गोठालाहरूको जीवन अनि अफिमको लत बारेमा स्पष्ट रूपमा लेख्ने आँट गरेका छन्। 1950-को भूइँचालोले, ब्रम्हपुत्रले आफ्नो असरको दिशा बद्ली गर्दा त्यस क्षेत्रमा बसोबास गर्ने नेपाली जातिमाथि परेको असरको इतिहास हामी पाउँदछौं। असमको उग्रवादी संगठन उल्फा र सेनाको कार्वाही इत्यादिले असमको सिङ्गो इतिहास बोकेको आभाष पाइन्छ उपन्यासमा । उत्तरपूर्व भारतका नागा जनजातिको मिजाज, मिसीङ जातिको घर हाम्रो रोङ्गहरूको घर जस्तै, आसामी गामछाको अर्थ, दार्जीलिङ नेपालतर्फबाट उत्तरपूर्व भासिएर जोखिमपूर्ण कार्यमा संलग्न हुन परेको विवशता, ड्रग्सको विगविगी छपड़ीबाट देखिने सूर्यास्तको प्राकृतिक वर्णन, दार्जीलिङको जनजीवन, नेपालको इतिहास अनि नेपालको गोर्खाक्षेत्र अनि उँभो हिमालको यतिको बारे अहिलेसम्म प्राप्त जानकारी, बनझाक्रीको अद्भूत कथा, बनझाक्रीसँग बस्ने औरतहरूको अदत्भूत रहस्य इत्यादिको तानाबाना बुनेर तयार पारेका छन् यो उपन्यास लोकनाथ उपाध्याय चापागाईले। गाईकोमुखबाट निस्कने गोरोचन, बासना आउने ढुङ्गादेखि आरम्भ गरेर बनझाक्री इत्यादि विभिन्न रहस्यमय बस्तुहरू, विभिन्न स्थान अनि बेग्ला-बेग्लै प्रसङ्गमा भेट भएको अनि उनीहरूको बारेमा लेखिएको भएता पनि लेककले विषय वस्तुहरूलाई कुशलतापूर्वक जोड़दै लगेका छन्-कुशल कारीगरले जस्तै विशेषताले लेखनाथ उपाध्याय चापागाई श्रेष्ठ उपन्यासकार मानिलिँदा अन्यलाई होच्याँए झै हुने छैन कुरोमा निश्चिन्त.... भए हुन्छ। विभिन्न विषयहरूलाई गणितीय सुत्र झैं सहज ढङ्गले निरन्तरता प्रदान गरेर प्रवाह गरेका छन्। पाठकहरू त्यही प्रवाहमा बग्दै जान्छन् अनि थाहै नपाई उपन्यासको गहिराइमा ओर्लदै जान्छन् - यो उपन्यासको विशेषता हो अनि लेखकको लेखकीय अद्भूत प्रतिभा।
विभिन्न रहस्यहरूको वर्णन मात्रै नभएर त्यो रहस्यको तहसम्म पुग्ने प्रयास गरेका छन्। प्रत्येक वस्तु, जीव वा मानिसहरूसँग साक्षत भेटेका, हेरेका अनि अनुभव गरेका घटना उल्लेख छ उपन्यासमा। अनुसन्धान गरेका छन् अनि लेखकले अनुसन्धान र अभियानको भिन्नातालाई यसरी लेखेका छन्- अनुसान्धान एक्लै गरे नि अभियान समूहमा गरिने। उपन्यासमा अभियान पनि छ अनि अनुसन्धान पनि कारण प्रत्येक घटनामा लेखक समूहमा उपस्थित छन्। बेग्ला-बेग्लै समूह भएपनि तर मानसिक विश्लेषणमा एक्लो छन् त्यसैले यो अभियान अनि अनुसन्धान शब्द मात्र रह्यो त्यो स्वतन्त्रता लेखकमा निहित रहन्छ अवश्य नै।
यो अनुसन्धानको क्रममा लेखक संसारमा उपलब्ध ज्ञानहरूको प्रायः सबैजसो ज्ञानको प्रयोग गरेका छन्। भन्नु त गल्ति होला तर प्रयास गरेका छन् भने गलत हुने छैन। दर्शनशास्त्र धर्म पुस्तकहरू, विज्ञान, विभिन्न सिद्धान्तहरू, ज्योतिषशास्त्र अन्य भाषाका उपन्यास, चिकित्सा- विज्ञान, सम्मोहन, सामाजिक मान्यता, बौद्धिक जीवनको आश्रम वर्णन, साहित्यमा उत्तराधुनि –कता, डाइस्फोरा साहित्य, उत्तर संरचनावाद, वैचित्रवाद, विनिर्माणवाद,, नारीवाददेखि समलैगिङ्तावादको वर्णन गर्न चुकेका छैनन्। भानुभक्तको - रामायण, लेखनाथको – तरूण तपसी, देवकोटाको – प्रमोथिस, समको –चिसो-चुल्हो, पादरी गंगा प्रसाद प्रधान, पारिजात, अगमसिंह गिरी, तुलाचन आलेलाई सम्झेर पुष्पलालको काव्यको लालित्यले लय भरेर कटुवालको यथार्थवादी गीत गाएका छन्। साम्यवाद समाजवादका सिद्धान्त, पर्यावारण, वैज्ञानिक आविष्कार अर्थात आकश मुनि उपलब्ध ज्ञानको जानकारी भएको वोध गराउँन चाहेको भान हुँदछ।
लेखक आसाम राइफल्स भूतपूर्व सैनिक रहीसकेको अनि सामाजिक साहित्य अनि जातीय चेतले यो जगतलाई हेर्ने दृष्टिकोण निर्माण गर्न सफल भएका छन् र नै त उनका पात्राहरू जीवन्त छन् अनि वर्णन गरिएका स्थान अनुरूप स्थानिय वाक्य वा शब्दहरू सठीक समय सापेक्षा प्रयोग गरिएकोले पात्राहरू माझको वार्तालापले मात्र पनि स्थानको अनुमान लगाउन दिमागी कसरत गरिरहनु पर्दैन - पाठकहरूलाई ।उदाहरणस्वरूप घरबड़ ,गर्चो, मुठ, डेरो, चिसमिरो ठाउँ, सागको झ्याम्टो, छातठेकी, धसेनी जमीन, पाँजुलो चहुरमा ढोर चरिरहेको इत्यादि केही स्थानीय बोलीमा प्रयोग हुने शब्द र वाक्यहरूप्रयोग भएको छ। कुहिरोलाई पाठ, डोड़ोलाई डेरो, म्याचेलाई गर्चो, अफिमलाई कानी शब्दहरूले बुझाइएको छ।
युवतीको सौन्दर्यले मोहित लेखकले त्यो सौन्दर्यको वर्णन-“सिमलकाँटे स्तन भएकी युवती” भनेर गरेका छन् अनि स्त्री जीतिलाई “फाँचे महिला ” अनि धुस्यौटी नभएकी आइमाई - को सम्बोन्धले स्थानीय बोलीलाई समर्थन गर्ला तर भानुभक्तको – बधुशिक्षा-मा अलच्छिना शब्द प्रयोग गरिएकोले न्यायको कठघरामा उभ्याउन पर्छ भन्ने रामकृष्ण शर्मा झैं खरो समालोचकको फेला परे लोकनाथ उपाध्यायलाई ती सम्बोधन प्रयोग गरिएकोमा पछुतो नहोला भन्न मिल्दैन। महिला अधिकार मञ्चका सदस्यहरूलाई पनि यसले आन्दोलित नबनाउला भन्न सकिन्दैन।
विज्ञान र साहित्यको गहिरो सम्बन्ध छ। विज्ञानको डिग्री मात्र लिएर वैत्रानिक बनिसकेको धारणा पालेर बसेका भूइँफुट्टा वैज्ञानिक वर्गले साहित्यलाई हेय वस्तु सम्झे पनि विज्ञानको सिद्धान्त प्रकट गर्नु सठीक साहित्यको ज्ञान नभए सही सिद्धान्त अनि नियम प्रतिवादन हुन सक्दैन। विज्ञानलाई बुझ्नु साहित्यको अर्थात भाषाको ज्ञान आवश्यक अनिवार्य छ तर साहित्यलाई व्याख्या गर् विज्ञानको प्रयोगगर्न वैज्ञानिक चिन्तनको खाँचो पर्दछ।, व ज्ञानको सिद्धान्त अनि नियमहरू आफूले सोंचै झैं परिवर्तन गर्न नमिल्ने विषय हो। अनुसन्धानको क्रममा लेखकले विज्ञानका धेरै सिद्धान्त, नियम नि वैज्ञानिकहरूका नाम अनि काम उल्लेख गरेका छन्। पानीको यौगिक सुत्र, सापेक्षतताको सिद्धान्त, चुम्बक र ताँबोको सम्बन्ध, एसिडिक एन्ड्राहाइडड्रे, ह्याकोनको सिद्धान्त अनि अन्य केही आविष्कार उल्लेख पाइन्छ। वैज्ञानिकहरूमध्ये कर्पनिकस, ग्यालिलियो, सी.भी. रमण होमीभामा अनि न्य अठाहरर वैज्ञानिकहरूको नाम एउटै पृष्ठ संख्यामा एकसय छियात्तरमा ट्पेका छन्। किन साहित्यलाई विज्ञान अनुरूप सजाउन सम्भव हुँदछ तर विज्ञानलाई आफूले लेखेको साहित्य अनुरूप डाल्न खोजे त्यो अवैज्ञानिक कर्म हुन जान्छ, यही कर्ममा धेरै स्थानमा चुकोका छन् लोकनाथ उपाध्याय। आफ्नो विश्लेषण अनुसार विज्ञानका सिद्धान्त र नियम प्रयोग गरिँदा त्यसको सतही महत्व त बढ़ला तर वैज्ञानिक ढङ्गले त्यो महत्वहीन हुन्छ।
वेद-वेदान्तको दर्शन, गीताको 47-2, 2/24, 16/8, 15/6, 15-17, 7-16, 2-28 श्लोक, शङ्करचार्य, इशा मशीह, बुद्ध, जेन्द्र अवेस्ता, ओल्ड टेस्टामेन्ट, न्यू टेस्टामेन्ट, यीशू मसीहको बाजे-बोज्यु, विवेकानन्द अनि काली माताको उत्पति, दुर्गा सप्तसती इत्यादि धर्म ग्रन्थका उद्वरण प्रस्तुत सही ढङ्गमा भएको छ। प्रासङ्गीक देखिन्छ। अंग्रेजी साहित्यबाट – हिलेरी विलोक-को ए कन्भर्सेशन विथ अ केट, पाउलो कोहोलो-को – अलकोमिस्ट, जन अर्नष्ट स्टिनवेक-को – द पर्ल द लङ भेल्ली, कम अफ कोल्ड, अफ भाइस एण्ड म्यान र द मुन इज डाउन ष रशियन लेखक ब्लादिमिर प्रप-को – मर्फोलोजीको प्लोकटेल, स्टेफन हकिन्स-को – ए लार्ज स्केल स्ट्रेक्चर अफ स्पेश टाइम, जेलेलर रेलेभिटी इन आइस्टिन सर्वे, ए ब्रिफ हिस्ट्री अफ टाइम र ब्ल्याक होल, अटस्टाइन एडमर्को सम्मोहनका पच्चीस रहस्य र डा. बर्नहमको-सम्मोहनका इतिहासबाट केही साराशं लिएर रहस्यको अनुसन्धानलाई टेवा पुऱ्याएका छन्। लेखकको बौद्धिकता अनुरूप ठीक होला तर साधारण पाठकहरू रनभुल्लामा पर्दछन्। खगोलशास्त्र, अष्टग्रह, छाँयाग्रह, पुष्प नक्षत्र, स्वास्ती नक्षत्र, राशिहरूको चालदेखि लिएर अणिमा महिमा, लधिमा, गरिमा, प्राप्ति इशीत्व, नासित्व अष्टसिद्धिदेखि कुण्डालिनी जागरणको वर्ण गर्न भ्याएका छन्।
यो उपन्यासलाई सहज पाठको रूपमा लिन सकिन्छ, गहन अध्ययनको विषय बनाउन पनि सकिन्छ। कर्मयोगी, ज्ञानयोगीको रूपमा लेखक आध्यात्मको पक्षधर रहँदै ब्रह्माण्ड कै व्याख्या गरेका छन् अर्थात मानिसलाई व्याख्या गरेका छन्। लोकनाथ उपाध्याय चापागाई लेखन कर्ममा कौशलमा कुशल छन् यसर्थ कर्मयोगी हुन् लोकनाथ, योगःकमर्सु कौशलम्-गीता 2/50 आई.एस. बी.एन. नम्बर 978-93-8485-51-8 मा दर्ता भएको यो उपन्यास तीनसय दश पृष्ठको अनि चालिस अध्यायमा विभाजित गरिएको छ। यो उपन्यासले समग्र नेपाली साहित्यमा आफ्नो वैशिष्यठता कायम गर्न सफल भएको छ।

प्रकाशित मिति : प्रकाशन मिति : सोमबार, 19 श्रावण, 2077

लेखकका अन्य रचनाहरु