भिखारीका लघुकथाको अन्तर्वस्तु र रूपरचना

- प्रा. डा. कपिल लामिछाने

विषयप्रवेश
लघुकथा आख्यानको पछिल्लो लघुतम प्रभेद वा विधा भईकन पनि प्रभावका दृष्टिले यो अग्रस्थानतर्फ अभिमुख छ । नेपालीमा सात दशक लामो इतिहास बनाइसकेको लघुकथाप्रति दिनानुदिन आकर्षण बढ्दो देखिन्छ । परिणामस्वरूप लघुकथाका सयौँ सङ्ग्रह, हजारौँ लघुकथा र लघुकथाकार तथा लाखौँ पाठक देखापरेका छन् । त्यस्ता हजारौँ लघुकथाकारमध्ये एकदेव अधिकारी (२०३१ असार ४) पनि एक हुन् र सयौँ लघुकथासङ्ग्रहमध्ये उनको भिखारी (२०७६) पनि एक हो । प्रस्तुत सन्दर्भमा लघुकथाको सैद्धान्तिक आलोकमा स्रष्टा एकदेव अधिकारीको यही भिखारी लघुकथासङ्ग्रहका लघुकथाको अन्तर्वस्तु र रूपरचनाको अध्ययन गरिएको छ ।
अन्तर्वस्तु
भिखारी लघुकथासङ्ग्रहका लघुकथाको अन्तर्वस्तु बहुविध देखिन्छ । लघुकथाका लागि कुन अन्तर्वस्तु वा विषयवस्तु उपयुक्त हो या कुन होइन भन्ने बारेमा बहस हुन सक्छ, तर कुशल स्रष्टाले जुनसुकै अन्तर्वस्तु या विषयवस्तुलाई टिपेर लघुकथाको सिर्जना गर्न सक्दछ । यो कथन एकदेव अधिकारीका लघुकथा पढेपछि पनि प्रस्ट हुन्छ । लेखकले देखेभोगेको युगजीवनको यथार्थ नै भिखारी लघुकथासङ्ग्रहका लघुकथाको अन्तर्वस्तु हो । युगजीवनका भोगाइ सबै एकैखाले हुँदैनन् । लघुकथाकार अधिकारीको भोगाइ पनि विविधतामुखी रहेको कुरा यी लघुकथाको अध्ययनबाट बोध हुन आउँछ । यी लघुकथामा सामाजिक, सांस्कृतिक, धार्मिक, राजनीतिक, शैक्षिक आदि क्षेत्रमा देखापरेका विकृति र विसङ्गतिलाई अभिव्यक्त गरिएको छ । स्वास्थ्य जस्तो क्षेत्रमा समेत बढ्दै गएको व्यापारीकरण, इन्जिनियरिङ, प्रेम, पर्यावरण तथा विविध मानवीय प्रवृत्तिलाई पनि यहाँ लघुकथाको अन्तर्वस्तु बनाइएको छ ।
भिखारी लघुकथासङ्ग्रहका धेरैजसो लघुकथा सामाजिक र सांस्कृतिक विकृति, विसङ्गति र आडम्बरलाई विषय बनाएर रचिएका छन् । ‘भिखारी’ लघुकथामा भिखारीले भगवान्बाट सुनको थाल वर माग्नु, ‘आधुनिक भिखारी’मा भिखारीले भिख र भिख राख्ने भाँडो समेत माग्नु, ‘भाग्य’मा भोकले गर्दा कैयौँ गरिबले कन्टेनरबाट फाल्न ल्याइएका बासी खाना खान बाध्य हुनु, ‘लोभको परिणाम’मा अरूको सम्पत्ति आफ्नो बनाउने धनप्रसादले अर्नालाई भैँसी ठानी समात्न खोज्नु, ‘को भिखारी ?’मा धनधान्य र सन्तान भएर पनि सन्तानहरू विदेशमा रहेकाले धनप्रसाद भिखारी सरह देखिनु समकालीन यथार्थका द्योतक हुन् । यस्तै ‘वृद्धाश्रम’ लघुकथामा बाबुको सम्पत्ति खान हानथाप गर्ने छोराछोरीलाई बाबुले आफूले सञ्चयकोषको रकम पुस्तकालय र वृद्धाश्रमलाई दिइसकेको बताउनु, ‘हर्के’मा गरिब कामदारको पारिश्रमिकमा पनि कमिसन खाने तथा कामदारले रक्सी खाएर पैसा उडाउनु, ‘छेपारो’मा मदिरा र अनेक नारीसँग सम्पर्क राख्ने छेपारे चरित्रको अङ्कन गर्नु, ‘जनता जनार्दन’मा पागलखानाबाट भागेको मनोरोगीलाई चमत्कारी सन्त, ह्यान्डसम, सिद्धपुरुष, भविष्यद्रष्टा ठान्ने–मान्ने सर्वसाधारणको बहुलपट्टीपन समकालीन यथार्थकै उपज तथा प्रतिरूप हुन् ।
यसैगरी ‘दशैं’मा मजदुर वर्गका आवश्यकता र अपेक्षा तथा साहूमहाजनका आवश्यकता र उपेक्षा देखाइएको छ । ‘परिवर्तन’मा लोकविश्वास र धार्मिक मूल्यमान्यताको विरोध गर्दै राजनीतिक उचाइ आर्जन गरेपछि पूजासामग्री लिएर मन्दिरतर्फ लागेको देखाइएको छ । ‘गमलाको फूल’मा आवेशमा प्रेम, विवाह र छोडपत्र गर्ने युवापुस्ताको चित्रण गरिएको छ । यहाँ विशेषतः विदेश गएपछि उतै अर्को विवाह गर्ने र यताको पूर्वपतिलाई छाड्ने प्रवृत्तितर्फ सङ्केत गरिएको छ । ‘न्याय’मा अन्यायपूर्ण सामाजिक न्याय व्यवस्था देखाइएको छ । ‘उत्सव’मा सहिद उत्सवमा उत्साहित हुन नसकेका सहिदको कथा छ । ‘कार्यक्रम’मा गरिबी उन्मूलन कार्यक्रमका नाममा गैरगरिबहरूकै सहभागितामा महँगा होटेलहरूमा कार्यक्रम गरेर विनियोजित रकमको अपचलन गरेको देखाइएको छ ।
केही लघुकथामा धर्म र संस्कृतिमा विचलन आएकोमा चिन्ता व्यक्त गरिएको छ । समाजमा अन्धविश्वासले जरा गाडेको छ । राज्य र जनस्तरबाट त्यस्ता जरा उखेल्ने कार्यक्रम पनि भइरहेका छन् । यस्तै अन्धविश्वास विरुद्धको जनचेतना सप्ताहको अन्तिम दिन प्रमुख अतिथि गाडी दुर्घटनामा परी आउन नसकेको भन्दै एक वयोवृद्ध व्यक्तिलाई प्रमुख अतिथि बनाई कार्यक्रम सकेर निक्लदा कार्यक्रम स्थलतिर आउँदै गर्दा कालो बिरालोले बाटो काटेको थाहा हुन्छ । यो विषय हो, ‘कालो बिरालो’ लघुकथाको । ‘कल्कि अवतार’मा मिथकीय प्रयोगका साथ धर्मपरिवर्तनप्रति व्यङ्ग्य गरिएको छ । संस्कृति’मा होलीका नाममा विकृत हुँदै गरेको संस्कृतिप्रति चिन्ता प्रकट गरिएको छ ।
‘कुल्फी’मा वैदेशिक बेरोजगारीजन्य दुष्परिणाम देखाइएको छ । ‘सुरक्षा’मा घर निर्माण गर्दा सुरक्षामा जोड दिने कुरा गर्ने इन्जिनियरकै घरमा छतको ढोका फोरी चोरी भएको प्रसङ्ग छ । ‘भाले र घाम’मा लोककथाको ढाँचामा बढी घमण्ड गर्दा विनाश निम्तिने देखाइएको छ । ‘रोबोट’मा मान्छेको बेइमानी प्रवृत्ति देखाइएको छ । ‘उपहार’मा आफू विदेश गएको बेलामा श्रीमतीले बाबुप्रति देखाएको व्यवहारबाट बाबु वृद्धाश्रममा पुगेको र फर्केर आएपछि छोराले बाबुलाई त्यहीँ पुगेर भेटेको देखाइएको छ । ‘अकबरी सुन’मा राम्रो पढेलेखेका विदेश जाने सन्तानभन्दा कम पढेका र स्वदेशमै रहेका सन्तान उत्तम वा अकबरी हुने देखाइएको छ । ‘अन्तिम संस्कार’मा मानिसहरूमा बढेको देखावटीपन र आडम्बरलाई छर्लङ्ग पारिएको छ ।
राजनीति यी लघुकथाको एक अर्को अन्तर्वस्तु हो । भ्रष्टाचार, दुराचार, अनैतिकता, धोकाधडी, दाउपेच आदि समकालीन राजनीतिक यथार्थ हुन् । यी लघुकथाले अवलम्बन गरेको विषय पनि यस्तै छ । ‘झन्डा’, ‘सुशासन’, ‘शान्ति’, ‘मन्त्रीपद’, ‘ठूलो नेता’, ‘पर्यावरण’, ‘परिवर्तन’ आदि लघुकथा राजनीतिसँग सम्बद्ध छन् । यी लघुकथामा देश र जनताको समृद्धिका लागि लागिपर्नुपर्ने नेतृत्व वर्ग आफ्नै दल, कार्यकर्ता र व्यक्तिगत स्वार्थ र प्रचारबाजीमा लागेको, डरत्रास देखाएर आफ्नो स्वार्थ पुरा गराउने, उपद्रो वा अशान्ति मच्चाएर सत्ता कब्जा गर्ने, राजनीतिक अस्थिरताका कारण छिटोछिटो मन्त्रीमण्डलमा फेरबदल भइरहने, राष्ट्रसेवक कर्मचारीलाई कुटपिट गर्ने, पर्यावरणको संरक्षण गर्नुको साटो वन्यजन्तुको मांस भक्षण गर्ने जस्ता क्रियाकलापलाई कथ्यवस्तु बनाइएको छ । यी लघुकथामा राजनीतिक नेतृत्व वर्गको चरित्राङ्कन गर्दै तिनप्रति व्यङ्ग्य गरिएको छ । ‘परिवर्तन’मा विचारमा आउने उतारचढाव र चामत्कारिक परिवर्तन देखाइएको छ ।
भिखारीका केही लघुकथा शिक्षाश्रित छन् । ‘स्वर्ण पदक’, ‘राष्ट्रियता’, ‘केन्द्राध्यक्ष’, ‘स्वास्थ्य’, ‘दधीचि र दुर्वासा’, ‘वार्षिक खेलकुद’, ‘जिम्मेवारी’, ‘सफलता’, ‘पुरस्कार’, ‘अभिशाप’, ‘अकबरी सुन’ जस्ता लघुकथा शिक्षा क्षेत्रसँग सम्बन्धित छन् । देशका उम्दा विद्यार्थी देशमै केही गर्नुको साटो विदेश पलायन भई उतैको स्थायी बासिन्दा (पी.आर.) भइरहेको, पढेर आई देशका लागि केही गर्लान् भनी आशा गरिएका कतिपय उम्दा विद्यार्थी उतै (अमेरिका) तिर राजनीतिक शरणार्थीको प्रमाण जुटाउन दौडधुप गरेको, केन्द्राध्यक्षले परीक्षार्थीलाई चिट गर्ने वातावरण मिलाइदिएको र घुम्ती टोली (विशेष पर्यवेक्षक) लाई गुमराहमा राखेको, स्वास्थ्यशिक्षा अध्यापन गर्ने शिक्षक नै अरूलाई उपदेश दिँदै स्वयम् चाहिँ धुम्रपानमा संलग्न भएको, सुत्केरी शिक्षकलाई उसको आवश्यकता अनुसारको बिदा सुविधा समेत नदिने र विद्यालयलाई एउटा उद्योगसरह सञ्चालन गर्न खोज्ने विद्यालय व्यवस्थापकका अमानवीय कार्य, किताबी पढाइलाई मात्र शिक्षा ठान्ने र खेलकुद सम्बन्धी प्रतिभा भएका बालबालिकाको प्रतिभाप्रति उदासीन अबुझ अभिभावक, सन्तानको शिक्षाका लागि भनेर हाड घोटेर काम गर्ने र जसोतसो जोडेको घडेरी बेच्नका लागि दौडधुप गर्ने अभिभावक, सन्तानको इच्छा र अभिरुचिको ख्यालै नगरी खास विषय पढ्न अनावश्यक दबाब दिएका कारण अभिभावक र सन्तानका बीचको सम्बन्ध बिग्रेको, आफ्ना छोराछोरीको चित्रकला आदि विशिष्ट प्रतिभाको पहिचान नै नगरी अक्षरीज्ञानमा मात्र दबाब दिने अभिभावक, अभिभावकको अङ्ग्रेजी विद्यालयप्रतिको मुढाग्रहले गर्दा एम्बीबीएस् पढ्ने उत्कट अभिलाषा हुँदाहुँदै पनि सन्तानले अङ्ग्रेजी बोर्डिङ स्कुलबाट पढेको कारणले छात्रवृत्तिमा नाम ननिक्लेको हुँदा त्यो अभिशाप हुन पुगेको, पढाइमा उत्कृष्टता हासिल गरेको कान्छो छोरा विदेश गएको र पढाइमा कमजोर छोरा स्वदेशमै रहेकाले अभिभावकले जेठो छोराको सेवा पाएबाट अभिभावकको मन बदलिएको जस्ता विषयवस्तु शिक्षा क्षेत्रका हुन् । शैक्षिक उत्कृष्टताका कारण हुने गरेको बौद्धिक वर्गको पलायन, अभिभावकको अङ्ग्रेजी विद्यालयप्रतिको मोह, शिक्षाको व्यापारीकरण आदिलाई यहाँ आख्यानीकरण गरिएको छ ।
भनिन्छ स्वास्थ्य नै धन हो । स्वास्थ्य क्षेत्रतर्फका विकृति, विसङ्गति र अर्घेल्याइँलाई लिएर पनि अधिकारीले कलम चलाएका छन् । ‘आइ.सि.यु’, ‘स्वास्थ्य’, ‘खेलवाड’, ‘डाक्टर अङ्कल’ र ‘यन्त्रशाला’ आदि यस्तै लघुकथाहरू हुन् । यी लघुकथामा स्वास्थ्य प्रतिष्ठानमा हुने भ्रष्टता, स्वास्थ्य विषय पढाउने शिक्षकका विपरीत आचरण, स्वास्थ्य बारे देखिएको खेलवाड र ढोँग, आफ्नो क्लिनिकमा जुनसुकै कामका लागि आएका व्यक्तिलाई आफ्नो ग्राहक ठान्ने चिकित्सक र मानव स्वास्थ्यको उपचार गरिने अस्पताल एउटा यन्त्रशाला जस्तो निर्मम रहेको अवस्थालाई उजागर गरिएको छ ।
यस्तै ‘सुरक्षा’मा इन्जिनियरिङ तथा ‘रोबोट’मा मानवीय प्रवृत्तिलाई विषयवस्तु बनाइएको छ । ‘भुइँचालो’ बालमनोविज्ञानमा आधारित छ । यहाँ भुइँचालोका माध्यमबाट धनी र गरिबका चिन्तनहरू प्रस्तुत गरिएको छ । ‘अज्ञानताको आनन्द’ मनोवैज्ञानिक छ । यहाँ क्यान्सर रोग लागेको ज्ञान नहुँदा आनन्द रहेको र ज्ञान हुँदा पिरलो बढेको देखाएर अज्ञानताको आनन्द संसारको सबैभन्दा ठूलो आनन्द हो भन्ने प्रस्ट पारिएको छ ।
अधिकारीका केही लघुकथा प्रणयाश्रित देखिन्छन् । ‘गमलाको फूल’मा प्रेममा धोका भएको देखाइएको छ । धोका प्रेमिकाले दिएकी छ । केही लघुकथाहरू वातावरण वा पर्यावरण सचेतनासँग जोडिएर आएका छन् । ‘वन्यजन्तु संरक्षण सप्ताह’ र ‘पर्यावरण’ यस्तै लघुकथा हुन् । यहाँ पर्यावरण संरक्षणमा संलग्न व्यक्तिहरू नै वन्यजन्तुको मांस भक्षण र त्यसको विनाशमा समेत संलग्न हुने गरेको तथ्य औँल्याइएको छ ।
कला र साहित्य पनि अधिकारीका लघुकथाको विषयवस्तु बनेको पाइन्छ । ‘पुस्तक समीक्षा’मा आफूभन्दा कनिष्ठ वा अनुजको बौद्धिक शोषण गरेर आफू वरिष्ठ समीक्षक हुने साहित्यकारको भेद खोलिएको छ । ‘पुरस्कार’मा चित्रकलामा उत्कृष्टता हासिल गरेकोमा स्याबासी दिनुको साटो बाबुले ‘होमवर्क गर्न छाडेर नानाभाँती चित्र बनाएर बस्छस्’ भन्दै झापड हानेको घटनाले कलाप्रति अभिभावकहरूको वक्रदृष्टि रहेको देखाइएको छ । ‘सन्यास’मा कनिकुथी लेख्दैमा र आफ्ना परिवारजनका सेरोफेरोमा प्रचार गरी आफूलाई आफैँले साहित्यको होनहार पारखी र सर्वश्रेष्ठ ठान्ने टपर्टुइयाँले पारिवारिक वृत्तबाटै प्रायोजित सम्मान ग्रहण गर्दै साहित्यबाट सन्यास लिएको घोषणा गरेको देखाइएको छ । यसले नेपाली साहित्यमा देखापरेको परिवारवाद, प्रचारबाजी र गुटबन्दीप्रति व्यङ्ग्य गरेको छ ।
यसरी समकालीन सामाजिक यथार्थको चित्रणमा लघुकथाकारको विशेष अभिरुचि देखिन्छ । समाजमा अनेक विकृति, विसङ्गति र अर्घेल्याइँहरू छन् । अन्धविश्वासले जरा गाडेकै छ । भ्रष्टाचार मौलाएकै छ । दुराचार बढेकै छ । दुव्र्यसन यथावत् छ । विपन्न र सम्पन्नका बीचको दूरी घटेको छैन । नेपाली समाज वर्गीय छ र वर्गीय समाजमा वर्ग विभेद पनि त्यत्तिकै छ । यहाँ त्यसका विरुद्ध एकता र सङ्घर्षको अभाव छ । लेखकले यस्ता तमाम यथार्थलाई उजागर गरेका छन्, तर त्यसबाट उन्मुक्तिको उपायको सङ्केतसम्म पनि गरेका छैनन् । विकृति र विसङ्गतिले समाज र राजनीति, शिक्षा र स्वास्थ्य, धर्म र संस्कृति, प्रेम र संवेदना तथा कला र साहित्यलाई पनि छाडेको छैन । यसरी लेखक अधिकारीले युगजीवनको सूक्ष्मतम निरीक्षण गरेर त्यसलाई आफ्ना लघुकथाको अन्तर्वस्तु बनाएको पाइन्छ ।
रूपरचना
लघुकथाको बाह्य आकृति वा रूप, स्वरूप यसको रूपरचना हो । यसअन्तर्गत यसको आयाम, भाषा र शैलीलाई लिन सकिन्छ । यसले अन्तर्वस्तुको प्रस्तुतीकरणलाई अर्थात् अन्तर्वस्तुको अभिव्यक्ति कौशललाई जनाउँछ ।
आयाम
भिखारी लघुकथासङ्ग्रहका लघुकथा आयाम वा आकारका दृष्टिले सामान्यतया लघुकथाको बहुप्रचलित मान्यताअनुरूप छोटोछरिता र औसत देखिन्छन् । छोटोछरितोपना लघुकथाको वैशिष्ट्य हो । त्यो यिनले पनि प्रायः हासिल गरेका छन् । शब्दसङ्ख्याको हिसाब एउटा स्थूल र यान्त्रिक आधारमात्र हो । त्यहीँ विषयवस्तुको उठान भएर भाव वा कथ्यवस्तु परिपाक भई एउटा प्रभावकारी अन्त्यमा लघुकथाको कथानक टुङ्गिन्छ । भिखारीका अधिकांश लघुकथा छोटा भईकन पनि यिनले आङ्गिक पूर्णता पाएका छन् ।
कुनै सिर्जना लघुकथा हुन कम्तीमा पनि दुई सूक्ष्म घटना वा प्रसङ्ग अपेक्षित हुन्छ भने भिखारीका लघुकथामा यसको अनुपालन भएको छ । यिनमा जीवनको लघुतम क्षण वा घटना वा मार्मिक प्रसङ्ग छ । लघुकथामा खोजिने यही हो । जीवनको लघुतम क्षणलाई यी लघुकथामा एक झल्कामा देखाइएको छ । यहाँ जीवन बोन्साइ भएर उपस्थित भएको छ । त्यसैले यिनमा लघुत्वमै पूर्णताको प्राप्ति भएको छ ।
भिखारीका लघुकथा दुई अनुच्छेद र ३७ शब्ददेखि तीन पृष्ठ र तीनसय शब्दसीमाकै सेरोफेरोमा रहेका छन् । ‘भिखारी’, ‘आइसियु’ र ‘सीमा’ दुईदुई अनुच्छेद र सैँतीससैँतीस शब्दमा सीमित छन् । यी छोटै भएर पनि भावसम्प्रेषण गर्न समर्थ छन् । ‘को भिखारी ?’, ‘झन्डा’, ‘हर्के’, ‘दधीचि र दुर्वासा’ जस्ता केही लघुकथा थोरै लामा जस्ता लागे पनि यिनले लघुत्वको पर्खाल नाघेका छैनन् । आयाम–व्यवस्थापनलाई अझ कसिलो र फुर्तिलो बनाउन सकिने स्थान भए पनि यी लघुकथाबाट लेखक लघुकथाको छोटोछरितो आयामप्रति सचेत देखिन्छन् ।
अर्थक्षेपण पद्धति
अन्तर्वस्तु, कथ्य वा उद्देश्य प्रस्तुत गर्ने विधिलाई अर्थक्षेपण पद्धति भनिन्छ । लघुकथामा पनि यस्ता अनेक अर्थक्षेपण पद्धतिको उपयोग गरिन्छ । भिखारी लघुकथासङ्ग्रहका अधिकांश लघुकथामा अर्थक्षेपण अभिधात्मक छ । पाठकलाई यस्ता लघुकथा पढ्न र अर्थ बुझ्न कठिन हुँदैन । त्यस्ता लघुकथामा सोझो अर्थ लाग्छ र यस्ता लघुकथा कम प्रभावी हुन्छन् । कतिपय लघुकथामा भने प्रतीकका माध्यमबाट अर्थक्षेपण गरिएको छ । उदाहरणका लागि ‘शान्ति’ शीर्षकको लघुकथालाई लिन सकिन्छ । यहाँ जङ्गली जनावर र गोहीलाई माध्यम वा प्रतीक बनाएर राजनीतिक दाउपेच गरी सत्ता हत्याउने प्रवृत्ति देखाइएको छ । ‘सीमा’मा सुगा र पिँजडाका बीचको संवादका माध्यमबाट मुक्ति र बन्धनलाई बुझाई एक न एक दिन मुक्त हुने कुरामा विश्वास व्यक्त गरिएको छ । ‘मन्त्रीपद’मा पौराणिक सन्दर्भका माध्यमबाट छिटोछिटो मन्त्रीमण्डलमा फेरबदल भइरहने नेपालको राजनीतिक यथार्थलाई व्यक्त गरिएको छ । ‘यन्त्रशाला’ शीर्षकको लघुकथामा भने मानव स्वास्थ्यको संरक्षण गर्ने अस्पताल यन्त्रशाला (वर्कशप) जस्तो निर्मम तरिकाले काट्ने, ठोक्ने, पिट्ने, घोट्ने र मिलाउने या फ्याँकिदिने ठाउँको सादृश्यमा उभ्याएर व्यङ्ग्य गरिएको छ ।
अधिकांश लघुकथामा उद्देश्य प्रच्छन्न रूपमा प्रस्तुत गरिएको छ भने केही लघुकथामा त्यो मथेर नौनीको डल्लो पारेझैँ प्रायः लघुकथान्तमा विचारवाक्यका रूपमा क्षेपण गरिएको छ । उदाहरणका लागि ‘झन्डा’, ‘जनता जनार्दन’, ‘स्वास्थ्य’, ‘डाक्टर अङ्कल’, ‘कालो बिरालो’, ‘सुरक्षा’, ‘भाले र घाम’, ‘रोबोट’, ‘पर्यावरण’, ‘अभिशाप’, ‘अकबरी सुन’ आदि लघुकथालाई लिन सकिन्छ । यी लघुकथाका अन्त्यतिर त्यस लघुकथाको उद्देश्य विचारवाक्यका रूपमा प्रक्षेपण गरिएको छ । उद्देश्य वा कथ्यलाई विचारवाक्यका रूपमा प्रक्षेपण गरिएका लघुकथाभन्दा प्रच्छन्न रूपमा प्रस्तुत गरिएका लघुकथा बढी चोटिला र प्रभावकारी छन् ।
भाषा
भाषा लघुकथा सम्प्रेषणको माध्यम हो । लघुकथा छोटोछरितो हुने हुनाले यसको भाषा सरल, बोधगम्य तर कसिलो र सघन हुनुु वाञ्छनीय हुन्छ । भिखारीका लघुकथा यसतर्फ सजग छन् । यहाँ प्रायः सरल, सहजबोध्य भाषाको प्रयोग भएको छ । केही ठाउँमा अनावश्यक लामा वाक्य पनि छन् । जस्तै : पाँच हरफको एउटै वाक्य (कालो बिरालो, पृ.८२), तीन हरफको एउटै वाक्य (पर्यावरण, पृ.९४) । यस्ता केही अपवादलाई छाडेर भन्ने हो भने यहाँ छोटाछोटा वाक्यहरू एकपछि अर्को क्रममा आएर तिनले विचार वा उद्देश्यलाई सम्प्रेषणीय तुल्याएका छन् ।
ठाउँठाउँमा प्रयुक्त विभिन्न प्रकारका बिम्ब, प्रतीक र अलङ्कारले भाषिक सम्प्रेषण अझ प्रभावी बन्न गएको छ । सुनको थाल (पृ.१७), सारङ्गी जस्तो भोको पेट (पृ.२५), दमदार हेडिङ (पृ.२७), जोडदार किक (पृ.२७), तेजिलो अनुहार (पृ.३२), बिजुली झोल (पृ.४४), प्रणय सूत्र (पृ.६६), जिम्मेवारीको बोझ (पृ.९७) आदिलाई यहाँ यसका उदाहरणका रूपमा लिन सकिन्छ ।
यहाँ सरल र सहजबोध्य शब्दको चयन गरिएको पाइन्छ । सुटबुट (पृ.१९), इमर्जेन्सी (पृ.२०), भेन्टिलेटर (पृ.२०), डेड बडी (पृ.२०), सिफ्ट (पृ.२०), युनिवर्सिटी (पृ.२१), गोल्ड मेडल (पृ.२१), पि.आर. (पृ.२१), अफसोस (पृ.२१), कन्टेनर (पृ.२४, २५), हेडिङ (पृ.२७), किक (पृ.२७), जमीर (पृ.३१), कार्ड (पृ.३२), गरमजोश (पृ.३९), कलबेल (पृ.३९), मिटिङ (पृ.४५), गुड नाइट (पृ.४५), रिसिभर (पृ.४५), ह्यान्डसम (पृ.४६), ग्रन्ज (पृ.५३), डाउन पेमेन्ट (पृ.५४), उज्राती (पृ.७४), रिङटोन (पृ.७९), रिमोट (पृ.८०), पावर बटन (पृ.८०), भिसा (पृ.८७), बिग (पृ.१०३), सिल्भर (पृ.१०३), ठुम्का (पृ.१०३), ताक (पृ.११०), ओपिडि (पृ.१२०), हस्पिटल (पृ.१०२) जस्ता प्रचलित र कम प्रचलित आगन्तुक र अन्य शब्दको प्रयोग भएको छ । यीमध्ये अधिकांशतः प्रसङ्गवश बोधगम्य रहेका छन् । यस्ता केही शब्दबाहेक यहाँ प्रयुक्त शब्द सरल र सहजबोध्य देखिन्छन् ।
केही ठाउँमा भने भाषिक प्रयोगमा अलमल देखिन्छ । ‘लोभको परिणाम’ लघुकथा (पृ.२६) मा “.... नभए पनि कटुवामा पठाउँदा केही भने पनि पक्कै आउँछ ।” वाक्यांशमा प्रयुक्त शब्द ‘कटुवा’को अर्थ काटिएको वा कटान गरिएको हुन्छ । यो विशेषण शब्द हो । यहाँ लेखकको आशय ‘कटाइ’ भन्ने हो । कटाइको अर्थ हुन्छ, काट्ने क्रिया वा प्रक्रिया । यो नाम शब्द हो । यस ठाउँमा कटाइ शब्द उपयुक्त देखिन्छ ।
यहाँ प्रयुक्त भाषा मानक नेपाली हो । यो परिष्कृत र स्तरीय पनि छ । तथापि दाँतमा ढुङ्गा लाग्ने गरी वर्णविन्यासगत त्रुटि रहन गएको पाइन्छ । जस्तै ः गाँस (गास पृ.२४,२५), गाडि (गाडी, पृ.२५,५४), अभिरुची (अभिरुचि, पृ.३८), उज्वल (उज्ज्वल पृ.२९), साँढे एघार (साडे एघार पृ.५०), प्रष्ट (प्रस्ट, पृ.५१, १०८ ...), फेरी (फेरि पृ.३९, ४१, ४५, ७० ...), भेटन (भेट्न, पृ.४६), खल्ति (खल्ती, पृ.५४), गल्ति (गल्ती, पृ.७७, ७८), बिन्ति (बिन्ती पृ.८५), मलीन (मलिन पृ.८५) आदि ।
क्रियापदको प्रयोगमा हुने असचेतताले लघुकथाको प्रवाह र प्रभावमा नकारात्मक असर पार्छ । यहाँ त्यस्तो छैन भन्न सकिने स्थिति छैन । केही ठाउँमा चुक छ । उदाहरणका लागि ‘हर्के’ शीर्षकको लघुकथालाई हेर्न सकिन्छ । यसमा मुख्यतया भूतकालिक क्रियापदको प्रयोग गरिएको छ । १४ अनुच्छेदमध्ये पाँचौँ (निक्लन्छ), दसौँ (वाचा गर्छ), तेरौँ (राखिदिन्छ) र चौधौँ (हेरिरहन्छ) अनुच्छेद (वाक्य) का अन्तमा वर्तमानकालिक र अरूमा भूतकालिक क्रियापदको प्रयोग भएको छ । यसो गर्नुको कुनै औचित्य छैन । यस्ता प्रयोगले भाषिक स्तर घटाउन मदत गर्दछन् । यस्तै ‘भाले र घाम’ लघुकथाको पहिलो अनुच्छेदमा वर्तमानकालिक क्रियापद (भन्छ) छ भने अन्यत्र भूतकालिक क्रियारूपको प्रयोग भएको छ । क्रियारूपमा अनेकरूपता या विचलन हुनु उपयुक्त मानिँदैन ।
यस्ता केही भाषिक कमी रहे पनि अधिकारीका लघुकथाको भाषा प्राञ्जल, सघन, सलल्ल बगेको प्रवाहशील र मानक रहेको छ ।
शैली
लेखकले लेखनका निमित्त ग्रहण गरेको वा चयन गरेको अन्तर्वस्तु, वस्तु वा विषयवस्तुले प्राप्त गरेको बाह्याकृति वा बनोट नै त्यस लेखन वा कृतिको शिल्पशैली हो । रूपविन्यास, भाषाशैली, शैली आदि भन्नु पनि यही रूपरचना नै हो । हरेक लेखक र लेखकको हरेक कृतिको रूपरचना वा शिल्पशैली फरकफरक हुन्छ । त्यसैले व्यक्ति नै शैली हो, शैली नै व्यक्ति हो भन्ने जस्ता मान्यताहरू अगाडि आएका छन् ।
लघुकथाको बाह्य रूपाकृति छोटोछरितो या लघुरूपको हुन्छ । अन्तर्वस्तुलाई प्रस्तुत गर्ने त्यसको अपेक्षा र लेखकको रुचिअनुरूप वर्णनात्मक, संवादात्मक, नाटकीय, व्यङ्ग्यात्मक, तार्किक आदि शैली हुन सक्दछन् । लघुकथा आख्यानको सूक्ष्मतम भेद भएकाले यसको शैली मुख्यतः वर्णनात्मक हुनु स्वाभाविक छ भने लेखकले त्यसलाई अँगाल्दै त्यसमा अन्तविर्धात्मक मिश्रण पनि गर्न सक्दछ । फलस्वरूप कवितात्मक, निबन्धात्मक र नाटकीय शैली पनि लघुकथामा देखापर्दछन् ।
भिखारी लघुकथासङ्ग्रहका अधिकांश लघुकथाको शैली वर्णनात्मक छ । ‘राष्ट्रियता’, ‘वृद्धाश्रम’, ‘दशैं’, ‘कार्यक्रम’, ‘जिम्मेवारी’, ‘कालो बिरालो’, ‘कल्कि अवतार’, ‘पर्यावरण’, ‘सफलता’, ‘यन्त्रशाला’, ‘शान्ति’, ‘संस्कृति’ आदि लघुकथामा अन्तर्वस्तुको समाख्यान वा वर्णन गरी उत्कर्षमा पु¥याइएको छ । त्यसैले यिनमा वर्णनात्मक शैली रहेको पाइन्छ । अन्तर्वस्तुको सोझोसपाट वर्णन भएका लघुकथाले पाठकलाई आकर्षित गर्न सक्दैन ।
संवादलाई लघुकथाको शैलीय तŒवका रूपमा लिन सकिन्छ । संवाद लघुकथाको अनिवार्य तŒव नभए पनि संवादको प्रयोगबाट कथनलाई विश्वसनीय बनाउने, कथानकलाई अगाडि बढाउने, पात्रको चरित्रचित्रण गर्ने, शैलीमा नाटकीयता थप गर्ने जस्ता महŒवपूर्ण कार्य सम्पादन हुन्छन् । भिखारीका लघुकथामा पनि यसो गरिएको छ । भिखारीका अधिकांश लघुकथामा संवादको उपयोगबाट नाटकीयता प्रदर्शन भएको पाइन्छ । संवाद पात्रको स्तरअनुरूप र छोटाछोटा हुनु आवश्यक छ । अधिकारीलाई यसको हेक्का पक्का छ । उनका लघुकथामा प्रयुक्त संवाद सरल र छोटाछोटा छन् । पात्रको स्तरअनुरूप संवादको प्रयोग भएकाले त्यो स्वाभाविक र जीवन्त पनि भएको छ । यहाँ संवादलाई दोहोरो उद्धरणचिन्हमा प्रस्तुत गरिएको छ भने प्रायः आरम्भमा निर्देशक चिन्ह (ड्यास) समेत दिइएको छ ।
‘भिखारी’, ‘वन्यजन्तु संरक्षण सप्ताह’, ‘आधुनिक भिखारी’, ‘आइ.सि.यु.’, ‘स्वर्णपदक’, ‘भाग्य’, ‘मत्स्य न्याय’, ‘को भिखारी ?’ ‘केन्द्राध्यक्ष’, ‘झन्डा’, ‘हर्के’, ‘छेपारो’, ‘जनता जनार्दन’, ‘स्वास्थ्य’, ‘दधीचि र दुर्वासा’, ‘परिवर्तन’, ‘सुशासन’, ‘वार्षिक खेलकुद’, ‘गमलाको फूल’, ‘मन्त्रिपद’, ‘न्याय’, ‘उत्सव’, ‘डाक्टर अङ्कल’ ‘ठूलो नेता’, ‘कुल्फी’, ‘सुरक्षा’, ‘भाले र घाम’, ‘रोबोट’, ‘पुरस्कार’, ‘उपहार’, ‘भुइँचालो’, ‘अभिशाप’, ‘अज्ञानताको आनन्द’, ‘सीमा’, ‘अकबरी सुन’, ‘अन्तिम संस्कार’, ‘सन्यास’ जस्ता अधिकतर लघुकथामा संवादको अनुप्रविष्टिले गर्दा नाटकीयता समेत झल्केको छ । यिनको मूल शैली वर्णनात्मक र सहशैली नाट्यात्मक रहेको छ ।
यति हुँदाहुँदै पनि केही ठाउँमा लेखक चिप्लिएको पाइन्छ । उदाहरणका लागि ‘सफलता’ (पृ.९६–९७) लाई लिन सकिन्छ । यस लघुकथाको अन्तिम संवाद आठ हरफको (लामो) छ ।
दृष्टिविन्दु एक अर्को शैलीय तŒव हो । लेखकले कथ्य वा अन्तर्वस्तुलाई उपस्थापन गर्ने पद्धति वा तरिका दृष्टिविन्दु हो । प्रस्तुत लघुकथासङ्ग्रहका लघुकथामध्ये ‘आधुनिक भिखारी’, ‘स्वर्णपदक’, ‘मत्स्य न्याय’, ‘झन्डा’, ‘छेपारो’, ‘स्वास्थ्य’, ‘गमलाको फूल’, ‘मन्त्रिपद’, ‘कार्यक्रम’, ‘कालो बिरालो’, ‘उपहार’, ‘संस्कृति’ र ‘अज्ञानताको आनन्द’ गरी १५ लघुकथा आन्तरिक दृष्टिविन्दु अर्थात् प्रथम पुरुषमा र बाँकी जम्मै बाह्य दृष्टिविन्दु अर्थात् तृतीय पुरुषमा रचिएका छन् । यीमध्ये पनि ‘झन्डा’ र ‘उपहार’मा आन्तरिक केन्द्रीय र बाँकी ११ लघुकथामा आन्तरिक परिधीय दृष्टिविन्दु रहेको छ । आन्तरिक केन्द्रीय दृष्टिविन्दु रहेको लघुकथामा म पात्रको विशेष वा केन्द्रीय भूमिका हुन्छ भने परिधीय आन्तरिक दृष्टिविन्दु भएको लघुकथामा म पात्रको सामान्य वा गौण भूमिका हुन्छ । ऊ एउटा प्रस्तोता मात्र हुन्छ । यी लघुकथामा यस्तै छ । आन्तरिक परिधीय दृष्टिविन्दु भएको ‘कार्यक्रम’ लघुकथामा त अन्तिम अनुच्छेद र उपान्त वाक्यमा पुगेर मात्र आन्तरिक दृष्टिविन्दु रहेको चाल पाइन्छ । यो दृष्टिविन्दु छल गर्ने काइदा एक शैलीय चातुर्य हो ।
सीमा
भिखारीका अधिकांश लघुकथा मार्मिक, प्रभावकारी र चोटिला छन् । यिनमा सूत्रात्मकता, एकोन्मुखता, सङ्क्षिप्तता, स्वयम्मा पूर्णता, आकस्मिक रूपमा सुरु हुने, छिट्टै उत्कर्षमा पुग्ने र आकस्मिक रूपमा अन्त्य हुने जस्ता विशेषता विद्यमान छन् । यति हुँदाहुँदै पनि दाँतमा ढुङ्गा लाग्ने केही ठाउँ रहन गएको पाइन्छ । जस्तै :
मत्स्य न्यायको तात्पर्य ठूलाले सानालाई खानु वा समाप्त पार्नु हो । भिखारी लघुकथासङ्ग्रहको सातौँ क्रममा रहेको लघुकथाको शीर्षक ‘मत्स्य न्याय’ (पृ.२३) रहेको छ, तर यसको अन्तर्वस्तु, कथ्यवस्तुले यस तात्पर्यसँग सामञ्जस्य स्थापित गरेको देखिँदैन ।
लोभको परिणाम’ एउटा सामान्य दृष्टान्तकथा भयो (२६–२७) । सशक्त लघुकथाका दृष्टिले यो एक कमजोर लघुकथा हुन पुगेको छ ।
‘हर्के’ लघुकथाको अन्तिम वाक्य लेखकको समाख्यान वाक्य हो । यहाँ त्यसलाई संवादमा झैँ उद्धरणचिन्हमा दिइएको छ । (पृ.४६)
‘छेपारो’ लघुकथाको अन्तिम वाक्यमा मखन लगाउनु टुक्का आएको छ । (पृ.४५) नेपालीमा त चिप्लो घस्नु पो हुन्छ ।
‘वृद्धाश्रम’ लघुकथाको अन्तिम अनुच्छेद लामो छ । यसभित्र संवाद छन् । संवादलाई पृथक् अनुच्छेदमा राखेको भए अनुच्छेद लामो पनि हुने थिएन र संवाद पनि छुट्टै देखिन्थ्यो । (पृ.३६) यहीँ संवादलाई उद्धरणचिन्हभित्र दिएर संवादान्तमा ‘यति भन्दै’ लेख्नु आवश्यक हुँदैन । ‘वार्षिक खेलकुद’ लघुकथाको अन्तमा संवादपछि लगत्तै ‘यसो भन्दै’ … लेख्नु आवश्यक देखिँदैन । (पृ.६२)
‘सफलता’ लघुकथामा बाबु, रमेश र उसकी आमा पात्र छन् । अन्तमा छोरा रमेशले लेखेको नोटको अन्तमा “...उही तपाईंको छोरा दिनेश ।” (पृ.९७) वाक्यमा दिनेश नाम आउँदा पाठक अलमलिन पुग्छ । एउटै पात्रका एकाधिक नाम हुन सक्छन्, तर त्यसको पूर्वजानकारी वा त्यसको पूर्वसङ्केतसम्म पनि पाठकलाई दिइएको छैन ।
केही लघुकथामा भावको परिपाक भइसकेको देखिँदैन । उदाहरणका लागि ‘आइसियु’, ‘मत्स्य न्याय’, ‘वन्यजन्तु संरक्षण सप्ताह’ आदि लघुकथालाई अघि सार्न सकिन्छ । यिनमा भावको उठान भएर विकास र परिपक्वता नहुँदै कथानकको अन्त भएको छ । भाव छ, तर त्यो परिपक्व भएको छैन । छोटोछरितोको नाममा यसो गर्नाले लघुकथाको मर्म विचलित हुन गएको छ ।
सिङ्गो सङ्ग्रहमा भेटिएका यस्ता कमीकमजोरी चामलमा बियाँझैँ रहन गएका छन् । यस्ता कुरा नआउँदा वा नहुँदा हुन्थ्यो । अहिले अब यत्ति भन्न सकिन्छ ।
निष्कर्ष
एकदेव अधिकारी लघुकथाको सिर्जना र संवर्धनमा जिम्मेवारीका साथ जमेर लागेका स्रष्टा हुन् । उनको अनूदित कृति स्वको खोजी (२०७३) र मौलिक कृति भिखारी (२०७६) यस भनाइका प्रमाण हुन् । पहिले देशविदेशका लघुकथा पढेर–बुझेर अनुवाद गरेर विधागत पूर्ण सचेतताका साथ उनी नेपालीमा लघुकथा सिर्जनामा प्रवृत्त भएका हुन् । उनको भिखारी लघुकथासङ्ग्रहका लघुकथाको अध्ययन गर्दा नेपाली समाजमा विद्यमान अनेक विकृति, विसङ्गति, अर्घेल्याइँ, अन्धविश्वास, भ्रष्टाचार, दुराचार जस्ता समकालीन विविध वस्तुयथार्थको कुनै पनि आदर्शको आग्रह नराखी वस्तुगत चित्रणमा अधिकारीको विशेष अभिरुचि देखिन्छ । विकृति र विसङ्गतिले समाज, राजनीति, शिक्षा, स्वास्थ्य, धर्म, संस्कृति, प्रेम, संवेदना, कला र साहित्यलाई पनि गाँजेको छ । अधिकारीले युगजीवनको सूक्ष्म निरीक्षण गरेर त्यसलाई आफ्ना लघुकथाको अन्तर्वस्तु बनाएका छन् । उनका लघुकथामा अन्तर्वस्तुको पौल छ भने त्यसले लघुकथागत उपयुक्त रूपरचना प्राप्त गरेको छ । अन्तर्वस्तु, आयाम, शिल्पशैली र भाषिक प्रयोगमा कत्ति खोट छैन भन्ने होइन । चामलमा केही बियाँ भए पनि नेपाली लघुकथाको विकास र वर्तमान परिप्रेक्ष्यमा हेर्दा भिखारीका अधिकांश लघुकथा स्तरयुक्त, मानक र अनुकरणीय देखिन्छन् ।
--

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 7 श्रावण, 2077

लेखकका अन्य रचनाहरु