फिलिपलाई बज्रपात

- राजेन्द्रमान डंगोल

नौ बजे छाडियो फु । अबको गन्तव्य नारतर्फको ।
मैले हृदयको कुनामा राखिसकेको थिएँ फुका मनहरूलाई सम्झनाको रुमालले बेरेर ।
उही बाटो फर्कंदै थियौँ हामी ।
मुखामुख गर्दै थिए आकाश र हिमाल । पाइला नारफेदीतर्फ वेगिए पनि मनले फुको उकालो चढिरहेको थियो । अगाडिबाट आएको सिर्सिरे हावाले फेरि फुतिरै जाऊँ भन्दै थियो हामीलाई । हाम्रा पाइला रोक्न खोज्थ्यो बतास । हामी उँधो लाग्थ्याँै त्यसैको बैसाखी टेकेर ।
धर्तीमा घामको उज्यालो निखे्रपछि हिउँ चितुवाको आतङ्कबाट बच्न मान्छेको सहारा खोज्दै बस्ती छिर्ने नाउरका झुन्ड पखेरापखेरामा छरिइसकेका थिए । कठिन छ नाउरहरूको जीवन यहाँ । पेटमा पिपिराहरूको हिरन हालेर प्रत्येक दिन चितुवाको मुखबाट जोगिनुपर्छ यिनीहरूले । मान्छेप्रति भरोसा छ यिनमा । प्राणी न हो ज्यानको माया त भइहाल्ने ! मान्छे र वन्यजन्तुबीचको सहअस्तित्वको कस्तो विचित्र नमुना !
आतङ्कवाद त सहरमा मात्र हुन्छ भन्ठानेको थिएँ; हिमोद्यानमा पनि हुँदोरहेछ । उता समुद्रमा पनि ठूला माछाले साना माछालाई खान्छ । आतङ्क त समुद्रमा पनि त्यत्तिकै !

सेता, निला र पहेँला फूलहरू फक्रने ठाउँ हो यो । फूल फुल्ने याममा आउन पाएको भए यात्राले अझै सार्थकता पाउँथ्यो भन्ने लागिरहेछ । यति धेरै सौन्दर्य देख्न पाउँदा पनि अघाउन सकिनँ म । लोभी मन ।
नाउरलेझैँ बुर्कुसी मारिरहेका छन् राम, म्याक्सिम र जय । उँभो लाग्दा त घोडा कुदेझैँ कुद्नेहरूलाई उँधो झर्दा झन् के भेट्नु म बबुरोले । मनले भनिरहेछ– ‘प्रकृतिको आनन्द लिँदै हिँड्नू नि ! फेरि आइन्छ आइन्न, के थाहा !’
यतिबेला फिलिप र म फेरि सँगै हुन पुगेका छौँ । उनको र मेरो केमिस्ट्री मिलेको छ यो ट्रिपमा । निशङ्कोच गर्छन् मसँग उनी आफ्ना कुराहरू । हिँड्दाहिँड्दै अकस्मात रोकिन्छन् उनी । देख्छु– शून्यता सल्बलाइरहेका उनका आँखा । र, निःशब्द हुन्छु म । किनकि चोटले दुखेको उनको मनमा लगाइदिने मल्हम छैन मसित ।
आफ्नै मौनतालाई टुटाउँदै मुख खोल उनले–
“यु नो राज ! आइ टक्ट टु माइ मदर लास्ट नाइट । सि टोल्ड मि द्याट माइ फादर वाज टेकन टु द हस्पिटल एन्ड हि इज इन आईसीयू नाउ । हि इज द पेसेन्ट अफ डाइबेटिक एन्ड किड्नी । हि वाज अनवेल ह्वेन आइ लेफ्ट होम ।”
कोतोमा उज्यालो देखिएको उनको मुहारमा ढाकिगयो बाबुको चिन्ताको छायाँ ।
सोधेँ– “हाउ ओल्ड इज ही ?”
“नाइन्टी वान ।”
“सरी टु हियर इट । लेट्स विस फर हिज सुनेस्ट रिकभरी । डन्ट वरी फिलिप ! स्टे स्ट्रङ ।”
सहानुभूतिपूर्ण भाव प्रकट गरेँ मैले ।

“याज यु नो, हि इज सिरियस नाउ । होप नो थिङ विल वि ह्याप्पेन्ड टु हिम टिल माइ रिटर्न ।” भगवान भरोसामा थिए उनी ।
शुभ सङ्केत थिएन, डाँडापारिको घाम भैसकेको मान्छे आईसीयूमा पुगेको समाचार आउनु । मनमा लागिरह्योे– फिलिपले यस्तो खबर सुन्नु नपरेको भए हुन्थ्यो । कामना गरेँ– अनिष्टको पूर्व सङ्केत नहोस् फिलिपका लागि यो समाचार ।
घरमा शताब्दी टेकिसकेकी फुपू छिन् आफ्नो पनि । धन्न अहिलेसम्म त ओखतीले राम्रो काम गरिरहेको छ ।
कान्छी श्रीमतीको मनले येनकेन टालिरहेको छ म्याक्सिमकी आमाको कारणले फिलिपकोे फाटेको खुसीलाई । चैन छैन फिलिपको जीवनमा । बिचरा, मन बहलाउन आएकै बेला यस्तो समाचार सुन्न पर्नु कस्तो दुर्भाग्य ! पीडामाथि पीडा थपिएको छ । महसुस गर्न सक्थेँ म उनको पीडा ।
जीवनको यथार्थ हो– पीडा । मान्छेको जीवनमा समयले हठात् ल्याइदिने स्वाभाविक सन्ताप । पीडा, पीडा नै हो । यसको कुनै कसी हुँदैन । कुनै पनि मान्छे पीडाबाट टाढा हुन्छ सक्दैन । यो दुख्छ र यसलाई सहनै पर्ने हुन्छ । समयसँगै यसको अन्त्य पनि हुन्छ ।
क्याङ आइपुगेपछि बादलको पर्दाले ढपक्कै ढाक्यो आकाश र खस्न थाल्यो हिमकण । दुई दिन अघिकै पुनरावृत्ति मौसमको । घाम र हिमवर्षाको जुहारी चल्दोरहेछ क्याङमा । केही क्षण अघिसम्म बादलको पर्दा उघार्ने चेष्टा गरिरहेका चिलहरू पनि अलप भए । चिसो हावाले चिथोर्न थाल्यो ज्याकेट र चड्कन लाउन थाल्यो गालामा एकैपटक । मौसमको भर हुँदैन भनेको यही हो । वेदर याप्सले सङ्केत गरेको कुरा सही सावित भयो ।

“शीतबिन्दु र चिसो बतासलाई रोक्न नसक्ने निम्छरो बादलको के अर्थ ? फेरि किन आउँछ हाम्रो दृष्टि छेक्न यो कपटी बादल ?” भुत्भुताउँदै थिए जयनाथ बादलको रकमी पारा देखेर ।
क्याङबाट ओर्लेपछि आउने फलामे पुलले नार र फुलाई छुट्याउँछ ।
अबको एरिया नारको ।
फर्कंदा भने हामी लन्चको लागि च्याखुको च्याखु गेस्टहाउसमा छि¥यौँ । आफ्नो पैसा, आफ्नै मर्जी ।
००००
“नो न्युज इज गूड न्युज !” च्याखु छाडेपछि फिलिप बोले ।
यतिबेलासम्म उनको आमाको फोन दोहो¥याएर आएको थिएन । बाबुलाई केही भएको छैन भन्नेमा विश्वस्त थिए उनी । अलिकति उजेलिएको थियो उनको मुहार ।
किन हो कुन्नी ! अरू विदेशीजस्तो जिज्ञासु स्वभावका थिएनन् फिलिप ।
उनी जुन परिस्थितिमा थिए, त्यसले उनी प्रकृतिसित रमाउन सकिरहेका छैनन् भन्ने लागिरहेको थियो ।
निराशातिर डोरिएको उनको मनलाई प्रकृतितिर सोझ्याउन मन लाग्यो मलाई ।
सोधेँ– “ह्विच एस्पेक्ट अफ योर भिजिट यु आर इन्जोइङ ?
“टु वि अनेस्ट– आइ एम ट्रिटिङ माइसेल्फ । ह्याप्पी टु वि इन द नन टुरिस्ट रिजन ।” उनको प्रत्युत्तर ।
प्रकृतिको शून्यतामा सायद आफैँलाई भुलाइरहेका थिए उनी ।

विदेशी पदयात्री कम हुन्छन् नियन्त्रित क्षेत्रमा । त्यसमाथि पनि सिजनको अन्तिम क्षण । च्याखुमा भेटिएका दुई स्लोभेनियालीबाहेक अरू भेटेका छैनौँ हामीले । विदेशी नदेख्दा खुसी हुन्छन् विदेशीहरू । यही हो, नियन्त्रित क्षेत्रमा पदयात्रा गर्नुको सन्तुष्टि ।
झुनुम देउराली हुँदै ओर्लेपछि मेता र नारफेदी जाने बाटो छुट्टियो । पुल नपुगुन्जेल ओरालैओरालोे । नारपाभूमिको नवीन प्रगति रहेछ बाटोको विकास । ‘बाइरोडको बाटोमा धुलो उडाउँदै’ भनेझैँ धुलो उडायौँ हामीले बेसरी ।
लोब्जे खोलाको बल पाएपछि पहाडलाई छेडेको छ फुखोलाले । अलि तल आएपछि दुई किनारलाई जोडेको छ काठे पुलले र यसैले जोडिदिएको छ नार र फूका मनहरूलाई । यही पुलबाट जीवन तारिरहेका छन् नार–फुबासीले । पुल तर्ने बित्तिकै एउटा ढुङ्गामा खुट्टाको निशान देखिन्छ । त्यो चाहिँ प्राचीनकालमा बाँदरले फट्को मार्दा परेको रे । मिथक हो । पत्याउने कि नपत्याउने !
हो, यसरी नै मिल्नुपर्छ लोब्जे खोला र फुखोलाझैँ । एकताका लागि, पहिचानका लागि र विकासका लागि । लोब्जे र फुखोलाझैँ दोभान हेर्दै भनेथेँ मैले । त्यसैले त नार र फु दुवैको एउटै नाम नारपाभूमि भएको छ ।
आफैँमा प्रकृतिको आश्चर्य हो पहाडको खोँच । आँखा गाडिरह्यौँ हामीले निकैबेर, पहाडको कोखा रेटेर कल्लोल आवाज छरिरहेको पानीको प्रवाहमा । पोखराको महेन्द्र पुलको सम्झना गरायो मलाई । पदयात्राको बाटोमा हिँडाइरहेको मनलाई चङ्गा पार्दै गुन्गुनाएँ–
‘सहेर ब्यथा सेतीको
हाँसेको छ पोखरा
जमाएर फेवाताल अञ्जुलीमा
दर्पण भई हिमालहरूको ।’

चार बज्दा पुगियो नारफेदीको ‘नार साते थ्याङ्गु’ गुम्बा । काठमाडौँस्थित बौद्धका ठाङ्गु रिम्पोचेको पहलमा सन् २००४ मा निर्माण सुरु भएर २०१३ मा सम्पन्न भएको गुम्बा हो यो । स्थानीय भाषामा ‘सा’को अर्थ माटो र ‘ते’ भनेको खस्नु हो । जमिन खसेर तल पुगेकोले ‘साते‘ भनिएको । गुम्बाभन्दा मुनिको थुम्कामा अवस्थित छ– पाँच सय वर्ष पुरानो छोर्तेन, उही उर्केल थेन्ड्रुप घ्याछोले बनाएका । यसैको प्रतीक हो– नयाँ गुम्बा ।
सात घण्टा लागेछ, जम्माजम्मी सत्र कि. मि. को दूरी तय गर्नलाई ।
निलो, पहेँलो, रातो, सेतोे र कलेजी रङका झन्डाहरू फर्फराइरहेका थिए– न्याय, शान्ति, अनुशासन, दर्शन र पवित्रताका प्रतीकका रूपमा । शान्तिको सन्देश फैलिरहेको प्रतीत हुन्छ कुनाकन्दरामा ।
यहाँ गुम्बा नहुँदो हो त फुबाट नार पुग्नैपथ्र्यो बास बस्न । व्यावसायिक प्रयोजनका लागि नभएपनि पदयात्रीका मर्का बुझेर सःशुल्क बास दिइन्छ यहाँ । ‘अतिथि देवो भवः’लाई आत्मसात गरेको छ गुम्बाले ।
अग्लो पहाडको काखमा यति भव्य गुम्बा ! झनै आकर्षण थपेको छ, प्राकृतिक दृश्यभूमिमा कुँिदएको यो मूर्त साँस्कृतिक सम्पदाले । फराकिलो चउर । एकातिर किचन र डाइनिङ, अर्कोतर्फ सुत्ने कोठाहरूको छुट्टै भवन । चउरको एक छेउमा थुपारिएको छ– दाउराको चाङ ।
पारिपट्टि अजिङ्गरझैँ लमतन्न तेर्सिएको डाँडामा देखिन्छ, झुनुम र मेता जाने बाटो । बतासको रिस मत्थर भएपछि गुम्बाको डिलबाट हेर्दा आएथ्यो खुब आनन्द ।
गुम्बाका छिरिङ खामसिङ लामाले स्वागत गरे हामीलाई ।
उनले कोठाको साँचो थमाउँदै भने– ‘झोला राखेर आगो ताप्न डाइनिङमा आउनुस् ल ।’
आनन्द बेग्लै थियो, आगो ताप्दै नुनचियाको चुस्की लिँदाको क्षण ।

००००
नार पुग्न तीन घण्टामात्र लाग्ने भएकोले बिहान ढिलो उठेर ढिलै गरी यात्रा सुरु गर्ने योजना थियो । तैपनि मिरमिरदेखि नै ब्युँझिसकेका थियौँ हामी ।
पहाडको टुप्पाबाट घामको लाली बगेर गुम्बामाथिको डाँडोमा आइपुगेपछि कोठाबाट बाहिर निस्क्यौँ ।
आफ्नो नित्यकर्म सकेर हाम्रा लागि नास्ता तयार गर्दै थिए छिरिङ खामसिङ ।
न्यानो डाइनिङ । मीठो खाना । सफा कोठा । बाथरुमको सुविधा । तर फिटिक्कै निदाउन पाइएन रातभर । ३,५०० मिटरको उचाइमा सामान्य पाखीले के धान्थ्यो र ! भएभरको कपडा शरीरमा उन्दा पनि तातेन ज्यान । चिसोले रातभरि हाम्रो नीद खोसि नै रह्यो । लान ठिक पारेको स्लिपिङ ब्याग छोडेर गइयो, रामको हुटहुटीमा लागेर । “न्यानो सिरक पाइन्छ, झन्झट गर्नु पर्दैन” भनेका थिए । आखिरमा त्यसको परिणाम भोग्नु प¥यो । ठूलै पाठ सिकियो । पदयात्रामा निस्कनेले स्लिपिङ ब्याग बोक्न अल्छी गर्न नहुने रहेछ ।
गुम्बाका लामालाई भन्न मन लागेको थियो– ओढ्ने अलि गतिलो राखिदिएको भए त हुन्थ्यो नि !
तर भनिनँ ।
फिलिपको बाबुछोरा पनि आए । मलिन थियो फिलिपको अनुहार । केही त भएन ! चिन्ताको ग्रहण लाग्यो मेरो मनमा ।
“आइ ह्याभ अ ब्याड न्युज, राज ! माइ फादर पास्ड अवे लास्ट नाइट । म्याक्सिम विल कन्टिन्यु ट्रेकिङ । आइ ह्याभ टु गो ब्याक होम टु टेक केयर माइ मदर ।” मैले गरेको अभिवादन नफर्काइकनै उनले भने ।
केही बेर सन्नाटा छायो उनको कुरा सुनेपछि ।

हिजो मात्रै कुरा गरेका थिए फिलिपले । राति नै बितेछन् । पदयात्रा क्लाइमेक्समा पुग्नै लाग्दा यति हृदयविदारक समाचार सुन्नुप¥यो उनले । दुई दिन मात्र ढिलो भएको भए काङ ला पास गरिसकेका हुन्थे । काल न हो ! ‘आयो टप्प टिपी लग्यो, मिति पुग्यो टारेर टर्दैन त्यो’ भनेको यही हो । यसै भनेका थिएनन् लेखनाथ बाजेले उतिबेलै ।
यो कुरा मैले अफिसलाई जानकारी गराएँ । उनलाई काठमाडौँ फर्कनका लागि कोतोबाट गाडीको प्रबन्ध मिलाएँ । र, सहयोगी रामको साथ लगाएर पठाउने निर्णय गरेँ ।
पदयात्राको पहिलो दिनमै मेरो तिघ्राले धोका दिनु । फिलिपलाई पितृ शोक पर्नु; अनपेक्षित घटना घटिरहेको थियो यो ट्रिपमा ।
एक कप चिया र पोरिज खाएर कोतो फर्कन तयार भए उनी । मैले शोकसन्तप्त फिलिपप्रति समवेदना प्रकट गरेँ । परिनिर्वाण प्राप्त गरेका फिलिपका बुबाको आत्माको चीर शान्तिको कामना गरेँ गुम्बाअगाडि उभिएर ।
मान्छेको जीवनको सबैभन्दा दुःखको क्षण हो यो । मर्माहत थिए उनी । स्तब्ध थिए म्यक्सिम । स्तब्ध थियौँ हामी सबै । सम्झेँ– २०४५ साल भाद्र ५ गते यस्तै दिनको सामना गरेको थिएँ आफैँले । राति नै खबर आएको थियो ‘बुबा छैन’ भनेर । किंकर्तव्यविमुढ भएको थिएँ म पनि ।
एउटा ग्रुप फोटो लियौँ । अङ्कमाल ग¥यौँ फिलिपसँग । हेर्दाहेर्दै तप्किन थाले आँसुका थोपाहरू उनका आँखाबाट । दुःखको आँसु । विवशताको आँसु । शोकको आँसु । बिदाइको आँसु ।
“स्टे स्ट्रङ फिलिप ! माइ प्रेयेर्स आर विद यु एन्ड योर फ्यामिली ।” छुट्ने बेलामा भनेँ ।
अझै रोकिएको थिएन उनको आँसु ।

“म्याक्सिमलाई तिम्रो जिम्मामा छाडेको छु । उसको ख्याल गर्नू । सी यु !”
काठमाडैँको लागि पाईला उठाउदै उनले मलाई भने ।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 7 श्रावण, 2077

लेखकका अन्य रचनाहरु