मनान्दोलनःभित्रका कविताहरूमा भावतरङ्ग

- सुकराज दियाली

श्री अर्जुन थापा र श्रीमति सरस्वती थापाको सुपुत्री सविता थापा। दार्जीलिङको अगमसिंह गिरी मूलडाँड़ा उदयग्राममा जन्मीएकी। नेपाली साहित्य जगतमा सविता सङ्कल्प नामले परिचित छिन्। पेशाले शिक्षिका ,पत्रकार हुन्। हिमालय दर्पणको, दार्जीलिङ दर्पणको स्तम्भकार। संगीत जगतका प्रतिभाहरूको खोजी गरि भिड़भित्रको अनुहार चिनाउने माध्यम पनि हुन्। कहिले रेडियोमा, कहिले टेलिभिजनमा वार्ता र अर्न्तवार्ता पनि सुनिरहन्छौं। दीगो सामायिक पत्रिका सह-सम्पादिका दुईवर्षसम्म गरेकी। कानुङ रोश हाम्रो संस्कृति मगर पत्रिकाको पनि सह-सम्पादिका गरीसकेकी सङ्कल्पलाई सम्पादनकलामा चिनाइरहन नपर्ने। साहित्यिक सहभागितामा आर.पी. लामाको नेतृत्वमा साहित्य अकादमी दिल्लीद्वारा दक्षिण सिक्किम नाम्ची, असम डिगबोइमा नेपाली साहित्य सम्मेलनमा काव्यगोष्ठीमा आफ्नो सिर्जनालाई प्रस्तुत गरेसकेकी। उसरी नै डा. जीवन नामदुंगको नेतृत्वमा इम्फाल मणिपुरमा, प्रेम प्रधानको नेतृत्वमा कालेबुङमा रचना प्रस्तुत गरीसकेकी सवितालाई भारतीय नेपाली साहित्यमा स्थापित नारी हस्ताक्षारको रूपमा पाइसकेका छौं। विशेष गरेर गीतलेखन, गायन, कविता, साहित्य लेखनको विविध आयाममा पाइरहेका छौं। आजसम्म प्रकाशित कृतिहरू आधा दर्जन जति प्राप्त छ, नेपाली साहित्यलाई। पहिले प्रकाशित कृति खरानीभित्र लुकेको आगो(कथा सङ्ग्रह), त्यसपछि अशेष भावानाहरू( कविता सङ्ग्रह), संगीताञ्जली(गीति सङ्ग्रह), भीड़भित्रका अनुहारहरू(प्रतिभा परिचय), मनान्दोलन(कविता सङ्ग्रह) र गीति क्यासेट शब्द रचना अनि गायन उज्यालो खोज्दै मनहरू (गीति एल्बम) जस्ता कृतिहरू पाठक र श्रोतामाझ सार्वजनिक गरिसकेका छन्। प्रकाशकको साइत पर्खेर बसेका कृतिहरू प्रतिभाका परिमलहरू( प्रतिभा परिचय सङ्ग्रह), (गीति सङ्ग्रह) र रेडियो वार्ता सङ्ग्रह फाइलमा सुरक्षित चेप्टीएर बसीरहेको पाइन्छ। आजसम्म साहित्य, संगीत पत्रकारमा योगदान पुऱ्याएवापत् प्राप्त सम्मान र अभिनन्दनलाई हेर्दा 24 जुलाई 2005-मा सिक्किम महिला पत्रकार संघ, 22 अगस्त 2008-मा मूलडाँड़ा दार्जीलिङ 7 दिसम्बर 2008-मा विरोभी साहित्य मञ्च, अजम्बरी बाल परिवार समाज युवावर्ग मिलिङ बीचगाँउ, 24 जनवरी 2010- उकेरा परिवार मञ्च, 2012 देवकोटा संघ सिलगढ़ी संगीतालय, 2012 रागेरूङ साई मण्डली, 15 अप्रेल 2012 सुर सारङ, 14 अप्रेल 2011 नव सुधार समिति हेप्पी- भेल्ली चिया कमान दार्जीलिङ, 2 सेप्टेम्बर 2012 श्री नागेष शिव मन्दिर हेप्पी भेल्ली दार्जीलिङ, 2 सेप्टेम्बर 2012 अरूण कल्याण समाज दार्जीलिङ, 15 मई 2016 उसमा प्रकाशन सिलगढ़ी साथै विभिन्न संघ-संस्थाद्वारा अभिनन्दित भएसकेकी छिन्। आकाशवाणी रेडियो खरसाङका नियमित वार्ताकार साथै डी.डी. बंगला कोलकत्ता दूरर्शनद्वारा वरिष्ठ साहित्यकार इन्द्रबहादुर राई अनि बाल साहित्यकार स्नेहलता राईको अर्न्तवार्ता प्रसारित गरीसकेकी छीन्। साहित्यिक संघलग्नता नेपाली साहित्य सम्मेलन (आजीवन सदस्य) सह-सचिव, गोरर्खा दुःख निवारक सम्मेलन(आजीवन सदस्य), बसुधा भारतीय नेपाली नारी लेखिका मञ्चकी सह-सचिव, दीप सागर कला संघ, सिलगढ़ी देवकोटा संघका आजीवन सदस्य, शैक्षिक क्षेत्रमार्फत हाल जीपीटीओ राजबाड़ी शाखामा प्रचार-प्रसार सचिव, मगर संघ भारत केन्द्रीय चिल्ड्रेन ट्रस्टको अधिनमा लाइब्रेरियनको पदमा अस्थायी रूपमा सेवाकार्य (2002 देखि 2013 सम्म) आदि जस्ता संघ-संस्थामा रही नेपाली भाषा साहित्यको सेवामा निरन्तर लागिरहेकी सङ्कल्पलाई यतिमा सङ्कल्प छीन् भनीरहनु नपर्ला। दार्जीलिङबाट नारी हस्ताक्षारको नामहरूमा सविता सङ्कल्पलाई नटिप्दा अधुरो उल्लेख भइसकेका स्थितिमा भर्खरै मनान्दोलन कविताको किताप हात लाग्छ। यसैलाई पढ़ेर केही पाठकीय समीकरण प्रस्तुत छ।
मनान्दोलन-को परिचयः
सविता सङ्कल्पको छैटौं साहित्यकृतिको रूपमा कविता सङ्ग्रह मनान्दोलन दार्जीलिङबाट मिरभ प्रकाशनद्वारा प्रकासित कृति। दार्जीलिङबाट (2015-2016) सम्म थुप्रै राम्रा-राम्रा साहित्यिक कृतिहरू प्रकाशित भएको पाउँछौ। अन्यवर्षहरूभन्दा यो दुईवर्षहरूमा झण्डै 100-वटाभन्दा ज्यादा राम्रा साहित्यिकमा सन् 2016 मा प्रकाशित मानान्दोलनलाई लिन सकिन्छ। जसको सम्पादन वरिष्ठ कवि/गजलकार मिलन वान्तवाले गरेका छन् भने आवरण सज्जा सुरज मोक्तानले गरेका छन्। यसकृतिभित्र कविता सङ्कल्प-का सङ्कल्पित काव्यसाधना शीर्षकमा साहित्यकार कालुसिंह रनपहेंलीले 18 पन्नाको गहन भूमिका, उसरीनै कवि टेकध्वज जिम्बा आशा-ले विविध विधा अनि क्षेत्रहरूसित सविता सङ्कल्प शीर्षकमा 4 पन्ना आफ्नो भाव मनानन्दोलनमाथि पोखेका छन्। गुणीजनको गुणगान शीर्षकमा कवि मिलन वान्तवाले सङ्कल्पभित्रको गुणलाई मूल्याङ्कन शब्दद्वारा गरेका छन्। सङ्कल्प मनोवाञ्छा शीर्षकमा कवि स्वयंले आत्मा स्वीकृतिका विषयवस्तुलाई प्रस्तुत गरेकी छीन्। 1 देखि 35 पन्नाको कितापमाथिको चर्चाले धेरै थोक कवि र सविताको कवित्वलाई चिनाउने काम भएको छ। अनुक्रमणिकामा सजीएको 48 वटा कविताले 48 वटै विषयवस्तुलाई प्रस्तुत गरेकी छिन्। सविता सङ्कल्पले किन कविता लेख्छिन्? कस्ता कविता लेख्छीन्? भारतीय नेपाली साहित्यमा सङकल्पका कविताहरूले के कसो कविता पाठकसित संवाद गरिरहेका छन्, कस्ता विषयवस्तु, भावशैली, भाषाशैली, जीवनशैली रहेका छन् मनान्दोलन-भित्र। आन्दोलनभित्रकै डरलाग्दो आन्दोलन मनान्दोलन शीर्षक किन राखिन भन्ने प्रश्नहरूको उत्तरको खोजमा मनान्दोलन-भित्रको कविताभित्र डुबुल्की लगाउँदा केही छेउकुनातिर पुगिदोरहेछ जुनकुरा पाठक अघाड़ि साझा गर्नलागे।
कविता सङ्ग्रहको नाम मनान्दोलनः
मन+आन्दोलन शब्द योगबाट मनान्दोलन, मनभित्र आन्दोलित भावहरू भन्ने बुझिन्छ। मानिसको मन कतिबेला कुन कारकले आन्दोलित हुन्छ बन्ने बेलीविस्तार पाटकवर्गलाई थाहानै छ लेखीरहनु परेन। समसामयिक, निकट र विशिष्ट घटना र उप-घटनाको क्रमबाट प्रभावित अभिव्यक्ति हो- सविता सङ्कल्पको कविताहरू। उनको कवितामा समाज उसैलो बाँचेको, संस्कृति उसैको जीवनशैलीले अनुकूलित गरेका, राजनैतिक व्यवस्था उसैले भोगेको, देखेको, जानेको र परिवेशको काँचो कुराको सुगन्ध मनान्दोलन-भित्रको कविताहरूमा पाइन्छ। परिवेश र वातावारणले जन्मेको अर्न्तसंवाद हुन- मनान्दोलन। कविले आत्मास्वीकृतको पक्षमा लेखेका छन्-मनान्दोलन-भित्र समावेश मेरो कविताहरू मेरो जीवन बचाई क्षणहरूमा भोगेका, देखेका, अनुभव गरेका आफ्नै समयमा, आफ्नै प्रत्यक्ष-अप्रत्यक्ष परिवेशसित हातेमालो गर्दै लेखिएका कविताहरू हुन्। कविले आफ्नो जीवनको आफ्नो परिपरिको वातावारण, परिस्थिति र व्यवस्थाको भोगाईबाट प्राप्ती-अप्राप्ती सन्तुष्टी पक्षलाई अर्न्तसंर्वाद गरेका अभिव्यक्तिलाई सातवटा दृष्टिबाट हेर्ने प्रयास गरेको छु।
प्रकृति प्रेमको सङ्कल्पः
कवि सङ्कल्पको केही कविताहरूमा अघोर प्रकृतिप्रेमको सौन्दर्य पाइन्छ। उनका कविताहरू प्रकृति प्रेमले ओतप्रोत बावहरू प्रशस्तै छन्। कृतिम संसारको भोगदेखि असन्तुष्टि व्यक्त गर्दै प्रकृतिको सुन्दरलाई फूल-पात, खोला-नाला, हिमाल सागरमा व्यक्त गरेका छन्। प्रकृतिको काखमा जीवन रमाउने पक्षमा फूललाई कविले सुन्दर प्रकारले प्रस्तुत गरेका छन्-
पहरामा फूल्ने होस या
जङ्गलमा फूल्ने
जङ्गली फूल होस फूलहरू
आखिर फूल त फूलै हुन्
जहींतहीं फूले तापनि
मनप्रिय हुन्छन् फूलहरू(फूलबाट)
प्रकृतिदेवीले हरियो पछ्यौरी
ओढ़ेकी देखें
हरिया वीचहरू टुसेको देखें
चर्किएका धरतीहरू पुनःरसपानले
जोड़ीएको देखें
सारा विश्व नवजीवनदानले
लहलह देखें
आकाशबाट बर्षीएको बर्षाको महत्वलाई दर्शाउँदै प्रकृतिको हरियाली भरिएको जीवनलाई कवितामा उतारेका छन्। प्रकृतिदेवीको दर्शनले टुसेका कलिला मुनाले नवजीवनको वोधलाई कविले बढ़ो प्रबावशील प्रकारले प्रस्तुत गरेकी छिन्।
उनले कवितामा प्रकृतिलाई जीवनसित जोड़ेकी छीन्, प्रकृति सुन्दरताको स्रोत सूर्य,तारालाई दर्शाउँदै स्वर्णिम प्रभात कवितामा कविले भन्छिन्—
अप्साररा झैं प्रकृति हेर्ने हो भने
पृथ्वीमा झर
स्वर्गभन्दा मनोरञ्जक छ
पर्यावारणको घर
हिमसित चिप्ली खेल्दै
भास्कर उदाउँछ जहाँ
प्रकृतिको कारीगरी
हाँसेको छ यहाँ।(स्वर्णिम प्रभात-बाट)
कवि सवितालाई प्रकृतिवादी कवि हुन् भनिरहँदा फरक नपर्ला। उनी सौन्दर्यवादी पनि देखिन्छ। जीवनको नजीकबाट, प्रकृतिको नजीकबाट प्रकृतिको काखमा बाँच्न रूचाउने कवि पनि हुन्।
जीवन दर्शनको सङ्कल्पः
जीवनलाई सार्थक गतिमा लैजान आस्थाको भूमिका महत्वपूर्ण हुन्छ। आस्था विचार र कर्म पनि हो। कर्मलाई सार्थक जीवन ठान्ने कवि सविता सङ्कल्पमा यो चेतना पाइन्छ। समयको सदुपयोग गरौं, जीवनसंग रहेको महत्वपूर्ण, अपूर्ण, छोटो समयलाई सित्यैमा नफालौं भन्ने विचार कविमा रहेको पाइन्छ। मानव जीवन कर्मसित जोड़िएको समय घटना हो भन्ने आस्था राख्छीन्। जीवनको दुःख सुखलाई अचेत घामसित भोग गर्दै जाँदा प्राप्त गरेको अपुग र असन्तुष्टीलाई पोजिटीभ माइन्डले स्वीकार गर्छीन्। अचेत घामसित, चेतनाको व्यवस्थाले थिचीरहँदा आपद्-विपद आईलाग्दा हतास नखाइकन जीवनलाई अघि बड़ाउँदै लगीन्। सार्थक जीवनको सङ्कल्प गरिन् भन्ने भाव कवितामा प्रकट गर्छिन्। जीन्दगीका तीन साइरन, शान्ति समाउनलाई एकान्तवास खोजीरहेछु, मनान्दोलन, आभास तिम्रो अनुपस्थितिको, तिम्रै खुशीमा रमाउँछु ए जिन्दगी, विश्वासको बजारमा लिलाम भएछ जीन्दगी, जीवन अब घटना क्रममा, अचानो जिन्दगी, इत्यादी कवितामा कविले जीवनलाई नजीकबाट बाँच्न खोजेकी छीन्। घाऊ पीड़ाहरू जीवनमा नमिल्दा कविलाई गणितको ग्राफ जस्तै लाग्छ नमिल्नुको क्रममा भनी आफ्नो भावमा असन्तुष्टीलाई यसरी पोखेकी छीन्।
गणितको ग्राफ नमिलेर
यस्तै-त्यस्तै घाऊ र पीड़ासित
जीउने आदत भयो यो जिन्दगी
कुनै दिन वेदनाका
सुस्काइहरू नभेट्दा र नपाउँदा।(जीवन अब घटाउक्रम-बाट)
आघात ऐठनले श्वास फेरी
बाँच्न पनि कठि लाग्ने भो यो जीन्दगी (अचानो जिन्दगी-बाट)
नुनिला पानीले रसाएर
शान्त.......अचल....निःशब्द
शून्य बोकेर फिर्न पनि सक्छ
प्रियहरूलाई केवल
सम्झाना र कल्पनाभित्र
बाँच्न लगाएर।
प्रेमलीलाको सङ्कल्पः
कवि सङ्कल्पले प्रेम/विश्वासको शब्द कविताको धेरै प्रयोग गरेकी छिन्। सत्य प्रेमको वोधमा जीवनलाई विश्वासको ढक-तराजुमा राखी तौलेएकी छीन्। जीवन घड़ी पोलाको प्रेमलाई जीवन साथीलाई सुम्पीएकी छीन्। आमा-बाबु, दाजु-भाई इष्टमित्रदेखि जन्मेको ठाउँ, गाउँ परिपरि रमाइलो, घमाइलोसित जोड़िएको प्रेम लीलालाई कवितामा व्यक्त गरेकी छीन्। जीवनमा सबैभन्दा प्रेम विश्वास, घात प्रियवस्तुलाई गर्दा प्राप्ती प्रतिरोध खिन्नता, अपुग धोकालाई नदेखाउने गरी हृदयमा पालेकी छीन्। प्रेमले जीन्दगी बाँच्ने सङ्कल्प गरेकी छीन्। मनमा आन्दोलन गरेर बाँचेकी सङ्कल्प उनी स्वयं प्रेमको सङ्कल्प हुन् भन्ने पक्षलाई कविताले देखाएको पाइन्छ।
कसैले नामलाई गर्छन् माया
कसैले कामलाई गर्छन्
कसैले धन दौलतलाई गर्छन् माया
कसैले जमीनलाई गर्छन्
कसैले रूपलाई गर्छन् माया
कसैले शरीरलाई गर्छन्।(सत्यप्रेम-बाट)
पल प्रतिपल
म चर्किदिन्छु
म चोइटिदिन्छु
म फुटिदिन्छु।(महत्व-बाट)
जीवनको विषयवस्तुलाई प्रेमलीलाको सन्दर्भमा यसरी प्रश्न गरेकी छीन्—
कृतिम वेदना
किन साट्ने हुन्छन्
सुख-दुःख तिमीसितै
बाँट्छु भनी
झूटो कसम
यहाँ किन खाने हुन्छन्।(विश्वासघात-बाट)
समाज परिमेयकरणको सङ्कल्पः
समाजदेखि व्यक्ति भेर बाँच्दै गरेको स्थितिमा कवि सविताले समाजमा भइरहेको विसङ्गति, विकृतिलाई इरेजरले मेटाउने प्रयासका पलहरू कवितामा दर्शाएकी छीन्। समाजले आजको अत्याधुनिकको नाममा बोकीरहेको असामाजिक तत्व, अनुशासनहीनताका बोध गरेकी छीन्। समाजमा इन्टरनेट एवं विभिन्न प्रकारको रंगीन मिडियाले असभ्य मानव जीवनको घेराभित्र बाँद्धै गरेको अनुभवमा कवितालाई बोल्न लगाएकी छीन्। बाल-संस्कृति, जीवनशैलीको परिसीमामा होँचिएर गइरहेको चेतनालाई पाठक अघाड़ि राखिदिएकी छीन्-
हिजो-आज कसैलाई केही
किन नै चाहियो र
मोबाइल भए भैगो
एकान्त र शून्यताको
भार बहन गर्नु नै किन?( मोबाइल भे भैगो-बाट)
जान्नेहरूको भन्दा नजान्नेको मूल्य
एकपटक, अनेकको भन्दा
किन शून्यको मूल्य
राम्रोको भन्दा नराम्रोको मूल्य
जन्मनुको भन्दा मर्नुको मूल्य।(मूल्य-बाट)
कति गर्छौ शोषणहरू
गर
म ढुक्कले
सहिदिन्छु
किनकि आज म छु।(महत्व-बाट)
ईश्वरवादको सङ्कल्पः
अध्यात्ममा गम्भीर चाख राख्ने। पूजा पाठमा, देवी-देवतामा आस्था राख्ने कवि सङ्कल्प ईश्वरभक्तमा जति सन्तुष्टि छीन् सायद उति नको दैनिक जीवनको व्यापरबाट प्राप्ती खुशीमा पनि छैन। आफ्नो जन्म दिने माता-पिताको सेवा नै जीवनको प्रमुख कर्तव्य ठान्ने कविमा ईश्वरीय गुण अवश्य नै पाइन्छ। कवि मिलन वान्तवाले उनीमाथि लेखेका छन्-पानीबन्दा स्वच्छ हृदय, हिमालभन्दा अटल विश्वास, आँधीमा नडगमगाउने इमान, हावा भन्दा पात्लो चीजलाई छुनसक्ने संवेदनशीलता, अविश्रान्त परिश्रम आदि। ईश्वर मेरो माता-पिता, अब अर्को जन्म चाहन्छु म, सन्तोषम् परम् शुखम् आदि कवितामा कविलाई ईश्वरवादी भावले ओतप्रोत हरेको पाइन्छ।
मेरो माता-पिताको साक्षात् दर्शनको
दृश्य मन्दिर होस्
मेरो छेउ
अनि नित्य
उनीहरूकै चरणकमलमा नुहेर
पुजिरहन पाऊँ जन्माजन्मान्तरसम्म
मेरो एकमुठी सास रहेसम्म।(ईश्वर मेरो माता-पिता-बाट)
अबउसो मृत्यु नै अँगाल्नु पर्ने हो भने
प्रभू य़ेशुको मृत्यु मर्न परोस्
जहाँ
आत्मीयहरूको आर्तानाद र पुकारहरूले
हेरोद र पिलातसहरूलाई
फेरि-फेरि जन्मन नदिनलाई
पुनः बौरी उठेर अजम्बरी जुनी जिउन परोस्। (महान आत्माहरूको मृत्यु मर्न परोस्-बाट)
जाति र राष्ट्र उत्थानको सङ्कल्पः
कवि सङ्कल्पको कविताको एउटा पाटामा राष्ट्रभाव/देशप्रेमको भाव पाइन्छ। कविले जन्मभूमिप्रति अघातप्रेम दर्शाएकी छीन्। राष्ट्रप्रतिको भक्तिभावलाई कवितामा व्यक्त गरेकी छीन्। देशको प्रकृति सुन्दर हावा-पानी, गाउँ-घरको उन्नतिलाई पोजिटिब भावद्वारा जनजीवनमा टास्नु पनि एकातिर राष्ट्रभक्तिभाव नै मान्न सकिन्छ। कवि सङ्कल्पको कविता बलिदान, सभ्य युगका बुद्धहरू, अन्न क्रान्ति, पहाड़सितै कलम बोल्छ जस्ता कविताहरूमा जाति र राष्ट्रभाव पाइन्छ।
गंगा,यमुना सरस्वती
बहने यो देशमा
किन झूट र बइमानी।(मूल्य-बाट)
पहाड़की रानी कै काखमा
सदालाई निदाउन मनपर्छ
यसोसले मलाई मेरै पहाड़कै
पानी मनपर्छ।( म जे छु ठीकै छु-बाट)
मेरो देशको निम्ति
मेरो मातृभूमिको निम्ति
गान्दीको मृत्यु मर्न परोस
जहाँ-युगौं-युगयुगसम्म।(महान आत्माको मृत्यु मर्न परोस-बाट)
मानवतावादको सङ्कल्पः
आजको युगमा मानिस समाजबाट एक्लै व्यक्ति भेर बाँच्न रूचिरहेको स्थितिमा कविले स्वार्थीवादी मानवप्रवृतिलाई विरोध गरेकी छीन्। केही कविताहरूमा मानवतावादी चिन्तनले पोतिएको भावहरू व्यक्त गरेकी छीन्। विश्वमा मानवताको रक्षा र शान्तिको निम्ति कामना गरेकी छीन्।
छल होइन मायामा समर्पण हुन्छ
मृत्युलाई जीवन दिने अध्दूत शक्ति हुन्छ
विषलाई पनि मार्ने सुधारस हुन्छ
सत्य मायामा ईश्वरको नित्यववास हुन्छ।(मोल मायाको-बाट)
तानतुन छिनतान र अधर्मी खेलको मैदानमा
सँधै प्रथम मान्छे
पुण्य कमाउनुको खेल यहाँ

जान्दैनन् सबै किन मान्छे। (सास भइञ्जेल सबै खास मान्छे-बाट)
अरू केही नसके पनि
मानवताको परिचय दिँदै भे पनि
भाईचाराको अमृतजल
सबै सबैलाई
पिलाएकी थिएँ।(अब अर्को जन्म चाहन्छु म-बाट)
कविता सङ्कल्पको 48-वटा कविताहरू पढ़ीसक्दा जुन आनन्द रस प्राप्त हुन्छ त्यसले मनभित्र तरल पदार्थ जस्तै प्रतिक्रिया सिर्जना गर्छ। कविताहरू सङ्ग्लो पानी जस्तै पुन मन लाग्ने खालकै। सबैले छर्लङ्ग्गै बुझ्न सक्ने डरलाग्दो बिम्ब र प्रतीकदेखि टाढ़ो बसेर कवितालाई हाम्रै वरिपरिको दैनिक शब्द प्रयोगलाई लिएर चित्रात्मक रूपमा प्रकाश पारेकी छीन्। अझै कविताहरूमा सविताभित्र रहेको मनान्दोलनको कारकहरू हुन्।
मनान्दोलन भनेको प्रतिक्रियाबाट टाढ़ो रहन सक्ने स्थिति हो।यस्ता स्थितिहरू कवितामा जताततै पाइन्छ। मनानन्दोलन-को कारण र तत्वहरू बुझ्नलाई सविताको कविताहरू दोहोराइ-दोहोराइ पढ़ीरहनु पर्दैन। कविताहरूले कविको जीवनलाई बोकेर हिँड़ेको पाइन्छ। मनानन्दोन र सवितालाई ज्यामिति हिसाब हेर्नु भने समरेखा भनिदिँदा केहीहदसम्म न्याय हुन्छ जस्तो लाग्छ। उनको कविताहरूमा प्रेम, सैन्दर्य, जीवनदर्शन, युगवोध, मानवतावादी चिन्तन, सामाजिक व्यवस्थाको आयामहरू, कर्मवादी जीवनको रेखाहरू पाइन्छ। भारतीय नेपाली कविता साहहित्यमा मनानन्दोलन कविताको कितापले सविता थापा सङ्कल्पलाई मात्रै होइन दार्जीलिङे कविता साहित्यको सुगन्ध-सम्मलाई लिन सकिन्छ। यदि मनान्दोलन कविता सङ्ग्रह नपढ़ेको भए दार्जीलिङे टेस्टमा राम्रो कृतिलाई पढ़नुदेखि वञ्चित रहनु पर्थ्यो।

दार्जीलिङ, भारत

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 7 श्रावण, 2077

लेखकका अन्य रचनाहरु