पाँचको खेल

- मनिश कुमार शर्मा समित

फोन वार्ता चलिरहेको थियो ।

“ हजुर पाँच त अलि गाह्रो हुन्छ । अरूलाई पनि मिलाउनु पर्छ ।“

“ हैन त्यत्रो बजेट छुट्याएको छ । पाँच भन्दा तल त हुदैन । “

“ खै हजुर गाह्रै हुन्छ.... सबैलाई दिएर मलाई त के नै रहन्छ र.... फेरि काम पनि देखाउनै पर्छ ।“

“ हैन अहिलेलाई चाहिँ त्यति नै गर्नुस् .... बरु अर्को काममा बिचार गरौंला ।“

वार्ता बन्द भयो ।

उ पाँचमै अडिग रह्यो र सफल पनि भयो... भने जति पायो ।

कार्य सुरु भयो । कुनै अवरोध थिएन । स्थानिय पनि हर्षित थिए ।

जेनतेन काम सकियो । उदघाटन गर्ने समय पनि आयो । उदघाटन गर्ने अवसर पनि उसैले पायो । उ दङ्ग थियो... चुनावमा गरिएको प्रतिवद्धता पुरा हुदैं थियो ।

उदघाटनको रिबन मात्र के काटेको थियो.... नवनिर्मित भौतिक वस्तु गर्ल्याम् गुर्लुम ढल्यो । उ लगायत धेरै घाइते भए । अस्पतालको बेडमा पट्टी बाँधेको टाउको सुम्सुमाउदै सोचिरहेको थियो ‘ यदि मैले त्यो पाँच नलिएको भए....’

ठिमी, भक्तपुर

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 7 श्रावण, 2077

लेखकका अन्य रचनाहरु