अवलम्बन

- गदाधर शर्मा

सुन्नुभो, देवकी पोइल हिँडि अरे ! कमलाको फोन थियो ।

‘मलाईत पहिलादेखिनै शङ्का थियो’ जस्तो भावमा केही हँसिलो अनुहार पारेर श्रीमतीले बिहानबिहानै नयाँ खबर सुनाइन । म बिहानको चिया खाजा खाइसकेर, एउटा जरुरी कामको सिलसिलामा एकातिर जान भनि निस्किएर, त्यसदिनको दैनिक पत्रिकाका हेड्लाइनहरुमा आँखा डुलाउँदै श्रीमतीले फोनको वार्तालाप सकेर आउन्जेल बिदा माग्न पर्खिरहेको थिएँ ।

ए, हो र ? कैले हिँडिछे ? को सँग ? केही आश्चर्य हुँदै मैले श्रीमतीलाई सोधेँ ।

को सँग हुनु नि, त्यही लुईरे गणित मास्टर सँग हिँडि अरे ।

मेरी श्रीमती र कमला दिदी बहिनी हुन, काका बडाबाका छोरी । दुबैजना एउटैजस्तो उमेरका, मेरी श्रीमती कमला भन्दा तीन महिनाले मात्र जेठी । उनीहरु दिदी बहिनी भन्दापनि बढी मनमिल्ने साथी छन । बालखैदेखि सँगै खेलेका, सँगै पढेका । बिहे पनि सँगसँगैजस्तो भएको । आफुसमा उनीहरु एक अर्कालाई सबै कुरा खोलेर भन्छन,- घरव्यवहारका कुरा, छरछिमेकका कुरा, छोराछोरीका कुरा, लोग्नेसँग लागेका ठाकठुकका कुरा, सबै । आज बिहान कमलाले देवकी पोइल हिँडेको खबर पाएपछि सबैभन्दा पहिला उनकी दीपा दिदी अर्थात मेरी श्रीमतीलाइ फोन गरेर यो खबर सुनाएकी ।

देवकी कमलाकी देउरानी पर्छिन, फुपुसासुकी बुहारी । उनीहरुको घर एउटै गाउँमा छ । बिहानबेलुकै जस्तो भेटाघाटा भई रहन्छ । देवकी कमलालाई आफ्नै दिदी जस्तो ठान्छिन, सुखदुःखका सबै कुरा मन खोलेर भन्छिन । सधैँ प्रसन्न देखिने देवकीलाई केहीदिन यता केही चिन्तामा परे जस्तो, केही अन्यमनस्क जस्तो देखिन थालेको थियो । कमलाले अस्ति उसलाई सोधेकी थिइन, ‘देवकी बैनी, तिम्रो जिउ सञ्च छैन कि क्याहो, अनुहार नियाँस्रो देख्छु, के भाको छ । ‘के हुनु छ र, केही त भाको छैन’ -ओठमा जबर्जस्तीको मुस्कान ल्याएर देवकीले भनेकी थिइन । कमला तर देवकीको उत्तरमा आश्वस्त हुनसकेकी थिइनन । देवकीको मुटुमा अवश्यनै केही कुराको पीर अथवा कुनै कुरालाई लिएर खुलदुली लागिरहेको हुनुपर्छ भन्ने कमलालाई लागिरहेको थियो ।

आज भन्दा सातवर्ष अगाडी कमलाकी फुपुसासुका एकमात्र छोरा रत्नकुमारकी बेहुली भएर देवकी यस गाउँमा आएकी । गाउँका सबैले रत्नकुमार र देवकीको जोडीलाई सारै सुहाएको जोडी भनेका थिए । कमलाकी फुपुसासुपनि खुसी थिइन, बुहारीको कुरा गर्दा भन्थिन, ‘मैले बुहारीचाहीँ लच्छिनकी भेटेँ, भाग्यमानी रहीछु ।‘ रत्नकुमार र देवकीको जीवनलाई एकअर्काको मायाको साङ्लाले कसेर बाँधेको थियो, त्यस बन्धनले उनीहरुलाई चटपटाउन दिएको थिएन । एक अर्काको खुसी बाहेक सन्सारको अरु कुनै कुराको उनीहरुलाई वास्ता थिएन । उनीहरुको जीवन एकअर्कालाई केन्द्र गरेर घुमि रहेको थियो । बिहेको डेढ्बर्ष पछि रत्नकुमार र देवकीको जीवनमा अरु एउटा खुसी थपियो, उनीहरु बाबुआमा भए । डेजीले उनीहरुलाई पितृत्व र मातृत्वको गौरव दिलाइन । अब उनीहरु दुवैको जीवन हातेमालो गरेर डेजीका वरिपरि घुम्न थालेको थियो । आफ्नो जीवन देखि पूर्णतः सन्तुष्ट थिए उनीहरु, जीवनलाई गहिरो माया गर्न थालेका थिए ।

मानिसको जीवनमा खुसी सधैँभरिका लागि स्थायी भएर रहिरहँदो रहेनछ । सुखदुःख, खुसी-बिस्मात, प्राप्ति-अप्राप्तिको ‘ट्रान्जिट प्वाइन्ट’ हुँदो रहेछ जीवन । कहिले छोटो समय अनि कहिले केही लामो समयसम्म यस ट्रान्जिट प्वाइन्टमा विश्राम गरेर आफ्नो गन्तव्यतिर लाग्दा रहेछन जीवनका अभिन्न मित्र,-खुसी, बिस्मात, दुःख र सुख हरु । देवकीका जीवनको ट्रान्जिट प्वाइन्ट्बाट पनि अब सुखहरुले एकएक गरि बिदा लिँदै थिए अनि त्यो खालि ठाउँ ओगट्न दुःखहरुको आगमन हुन थालेको थियो । रत्नकुमारलाई रक्सिको लत लागेको थियो । पहिला पहिला देवकीले मायाले सम्झाइन, डर देखाइन, घुर्की लाइन, छोरीको किरियासम्म खुवाइन तर उनको केही सिप लागेन, रत्नकुमारले रक्सि खान छाडेनन । झन अबत अफिसबाट घर फर्किँदा दिनहुँ रक्सिको मातले रल्लिँदै रातिको नौ-दस बजेतिर मात्र घर पस्न थाले । देवकीको सुखैसुखले भरिपूर्ण जीवनगाग्रीबाट सुखजति निख्रिइसकेको थियो अनि उनका नयनबाट झरेको दुःखको मुसलधारे वर्षाले त्यो गाग्री भरिरहेको थियो । आफ्नो जीवनको बलियो भनेर सोचेको अवलम्बन अब मक्किन लागेको देखेर त्रस्त भएकी थिइन देवकी ।

आमाबाबुका तीन सन्तान मध्येकी कान्छी थिइन देवकी । आमाबाबु सँगै दिदी र दाजुको पनि अथाह स्नेहले हुर्किएकी । पढाइमा अति उत्तम नभएपनि एकदमै कमजोर थिइनन । बिएको परीक्षा लेखिसकेर देवकी दिदीघर डुल्न गएका बेला उसँग रत्नकुमारको बिहेको प्रस्ताव लिएर उनीहरुको घरमा रत्नकुमारका घरबाट मान्छे आएका थिए । ‘म अझै पढ्छु, अहिल्यै बिहे गर्दिन’ भनेर देवकीले आपत्ति गरेकी थिइन । तर पछि रत्नकुमारको बानीबेहोरा, धनसम्पत्ति, परिवार र जागीरको बारेमा सबै कुरा थाहा पाएपछि अनि उसँग मुखामुख भएर बातमार्ने मौका पाएपछि ‘तपाईँहरुलाइ मनपऱ्यो भने हुन्छत अब’ भनेर आमाबाबुलाई आफ्नु स्वीकृति जनाइन । आँखामा एउटा सुनौलो सपना बोकेर रत्नकुमारको हात समातेर देवकी रत्नकुमारको घरमा भित्रिएकी थिइन ।


अहिले देवकीको त्यो सुनौलो सपना भताभुङ्ग भएको थियो । उनलाई आफुदेखिनै रिस उठ्न थालेको थियो । विश्वविद्यालयमा एड्मिसन पाउन सक्नेगरिनै अङ्क पाएकी थिइन उनले बिएको परीक्षामा । किन उनले एमए पढिनन ! उनका दाजुले ‘जागीरको कोसिस पनि गर्दै गर है’ भनेका थिए, उनले मन लाइनन, यसरीनै चलिहाल्छनि भन्ने सोचिन । अहिले आफ्नु लापरवाही देखी उनलाइ रिस उठ्न थालेको थियो, आफ्नो अविवेकीपनालाई उनी कोसीरहेकी थिइन ।

रत्नकुमार एउटा बहुराष्ट्रीय कम्पनीको राज्यस्तरीय कार्यालयमा एक उच्च ओहदामा नियोजित थिए । कम्पनीको प्रयोजनमा बिभिन्न सरकारी बिभागका अधिकृतहरूसँग उनले सुसम्पर्क राख्नुपर्ने बाध्यता थियो । कहिलेकाहीँ उनीहरुका लागि ‘पार्टी’ पनि राख्नुपर्ने हुन्थ्यो । त्यस्तै पार्टीबाट अलिअलि गर्दै कहिल्यै नछुट्ने गरि रत्नकुमार रक्सिको लतमा परेका थिए । जुन कम्पनीको फाइदाका लागि रत्नकुमारले रक्सि खान सिके अहिले त्यही कम्पनीले उनको जागीरको स्थायीत्वमाथि प्रश्नचिह्न खडा गरेको थियो । रक्सि खाएर मातेर कार्यालयमा आएका लागि कार्यालयको सर्वोच्च अधिकृतबाट धेरैपल्ट उनले मौखिक चेतावनी पनि पाइसकेका थिए । अब केहीदिनमै उनको जागीर खोसिने लगभग निश्चित भइसकेको थियो ।

देवकी डेजीको भविष्यलाई लिएर चिन्तित थिइन । उनीहरु दुवै बाबुआमाले डेजीलाई मायाको न्यानो अँगालोभित्र राखेर शान्त, स्वस्थ र खुसीको वातावरणमा हुर्काउने बाचा गरेका थिए । उनीहरु कहिल्यै आफुसमा नबाझने, घरको शान्तिपूर्ण वातावरण बिगार्नसक्ने कुनै काम नगर्ने, र सानासाना मतभेदहरुलाई वास्ता नगरी खुसीखुसी रहने कसम खाएका थिए । तर अहिले ती सबै बाचा, सबै कसम भत्किइसकेका थिए । बाबुको मायाको न्यानो आडबाट डेजी धेरै टाडा परिसकेकी थिइन ।

गाउँको हाइस्कुलमा केहीदिन अघि गणित पढाउने एकजना नया शिक्षक आएका थिए । केही दिनमै छात्रहरुका बिचमा उनी प्रसिद्ध भएका थिए । सारै राम्रो गणित पढाउन जान्ने भनेर उनको नाउँ चलेको थियो । आफ्ना छोराछोरीलाइ ट्युसन पढाइदिन भन्दै उनको डेरामा अभिभावकहरुको ताँती लाग्न थालेको थियो । ती मास्टरको घर यहाँबाट दस-बाह्र माइल टाडा पर्थ्यो, त्यसैले ऊ यहाँ एउटा भाडाको कोठा लिएर बसेका थिए । एकदिन बेलुका देवकी छिमेकीका घरमा डुल्न गएका बेला, छिमेकीका केटाकेटीहरुलाई ट्युसन पढाउन आएका ती मास्टरसँग उनको जम्काभेट भयो । उनीहरु एकअर्कालाई देखेर उत्फुल्लित भए, कलेजमा सँगै पढेका सहपाठी मित्र थिए उनीहरु ।

पल्लव थियो ती मास्टरको नाम, पल्लव सुनार । पल्लव विज्ञानका छात्र थिए, देवकी कलाकी छात्रा । पढाइमा अव्वल हुनुका साथै पल्लव साह्रै राम्रो मुरली पनि बजाउँथे । कलेजमा उनीहरूको फ्रेसमेन सोसियलमा पल्लवले मुरलीमा एउटा मनमोहक लोकसङ्गीतको धुन बजाएका थिए । उनको त्यस प्रस्तुतिले सबैलाई मन्त्रमुग्ध पारेको थियो । देवकीलाई पनि पल्लवको मुरलीको धुनले मन्त्रमुग्ध पारेको थियो अनि उनले ऊष्म आवेशले पल्लवको मुरली वादनको प्रशंसा गरेकी थिइन । सबैका सामुन्ने देवकीले यसरी प्रशंसा गर्दा पल्लवलाई अलिक असजिलो पनि लागेको थियो ।

दुई भिन्न शाखाका विद्यार्थी भए पनि देवकी पल्लवलाई भेटेर बातमार्ने मौका खोजिरहन्थिन । कलेजको क्याण्टीन अथवा लाईब्रेरीमा उनीहरूलाई प्रायः सँगै देखिन्थ्यो । केही दुब्लो शरीरक़ा भए पनि पल्लवको अनुहार दीप्त थियो, एक अलग्गै व्यक्तित्व झल्किन्थ्यो उनको तो झरिलो अनुहारमा । उनीहरू एक अर्काका प्रिय साथी बनिसकेका थिए, एक अर्कालाई ‘तँ भनेर सम्बोधन गर्थे । देवकी बिस्तारै मित्रता भन्दा अझ नजिकको, एक अर्काको मुटुको ढुकढुकीलाई अनुभव गर्न सक्ने साइनो तिर अघि बढ्न खोजिरहेकी थिइन । पल्लव देवकीको भित्रीमनको कुरादेखि अनभिज्ञ थिए । जब पल्लवले देवकीको मनको कुरो थाहा पाए तब उनले प्रस्टरूपले देवकीलाई भनेका थिए,- ‘सुन देवकी, तेरो र मेरो बिचको सम्पर्क ‘साथी सम्मनै ठिक छ, त्यसभन्दा यो सम्बन्ध अघिबढ्न सक्तैन । मेरो कुरालाई अन्यथा नलिनु देवकी । यो रूढिवादी समाजले म कामीको छोरो र तँ बाहुनकी छोरीलाइ एक हुन कदापि दिँदैन ।’ यसपछि पनि उनीहरू सधैँ एक अर्काका प्रिय साथी बनी रहे । स्नातक तह सम्मको शिक्षा उनीहरूले सँगै एउटै कलेजबाट समाप्त गरेका थिए ।

देवकीले पल्लवलाई फुर्सत भएकाबेला कहिलेकाहीँ आफ्नो घरमा चिया खान आउने निम्तो दिईन । बिचबिचमा पल्लव देवकीहरुका घरमा आउने गर्थे अनि देवकी सँग धेरैबेर बसेर कलेजका दिनका रमाइला कुरा, वर्तमानका सुखदुःखका कुरा गर्दथे । एकदिन कुराकुरामा देवकीले मास्टरलाई सोधेकी थिइन, - ‘तेरो बिहे गर्ने मन छैन कि क्याहो ? यतिन्जेलसम्म बिहे नगरि किन बसेको ? अब एउटी राम्री केटी खोजेर बिहे गरिहाल ।‘ मास्टरले भनेका थिए, - ‘बिहे गर्न केटी पाउनु पनि त पऱ्यो’ । अनि एकैछिन रोकिएर उनले देवकीका आँखामा हेरेर एक्कासी सोधेका थिए, - ‘तँ बिहे गर्छेस म सँग ?’ देवकी छक्क परेर मस्टरको अनुहारतिर हेरि रहेकी थिइन । मास्टर उठेर हाहाहा....‘ गरेर हाँस्तै आफ्नो डेरातिर लागेका थिए । अचेल उनीहरुको सम्बन्धलाई लिएर गाउँमा गाइँगुइँ कुरा चल्न थालेका थिए । रत्नकुमारका कानमा पनि यी कुराहरू परिसकेका थिए ।

रत्नकुमारको आचरण अब झन भयङ्कर हुन थालेको थियो । सधैँ राति रक्सि खाएर आएर बिनाकारण देवकीसँग झगडा गर्छन, उनलाई कुट्पिट गर्छन । हिजो रातिपनि दसबजेतिर रत्नकुमार रक्सि खाएर रल्लिँदै आएर देवकीलाई नानाभाँति भन्दै झगडा गरे । ‘तँ जा तेरो पोइ त्यही लुइरे मास्टरसँग | अहिलेनै गइहाल’- भन्दै चुल्ठोमा समातेर घिसारेर घरको ढोकाबाट बाहिर निकालिदिए । बाबुको डरलाग्दो रूप देखेर डेजी आमालाई अँगालेर कहालिएर रुन थालि । देवकी निश्चल भएर आँगनमा एकछिन उभिएर केही सोचिरहिन । अनि अकस्मात आफ्नु मजेत्रोले डेजीका आँखाका आँसु पुछिदिएर, उसलाई काखिमा च्यापेर घरको फाटकबाट निस्केर देवकी सडकमा हिँडन थालिन ।

राति बाह्रबजेतिर ढोकामा कसैले ढकढक्याएको आवाज सुनेर पल्लव झल्याँस्स व्युँझिए । उनले भित्रबाटै ‘को हो ?’ भनेर आवाज गरे । देवकीले ‘म हुँ पल्लव’ भने पछि पल्लवले हतार हतार ढोका खोले । काखीमा निदाएकी छोरीलाई च्यापेर ढोका अगाडी देवकीलाई अस्तव्यस्त भएर उभिएको देखेर पल्लव झसङ्ग भए । उनले देवकीलाई भित्र आउने इशारा गरे । भित्र पसेर देवकीले शान्त तथा दृढ आवाजले पल्लवका आँखामा आँखा राखेर सोधिन, -‘बिहे गर्छस मलाई ? जीवनभरिका लागि साथ दिने साहस गर्न सक्छस ? मेरी छोरीलाई आफ्नी छोरी बनाउन सक्छस ?’


मास्टरले केही नबोलि देवकीका काखबाट डेजीलाइ बोकेर आफ्नो ओछ्यानमा सुताइदिए अनि अत्यन्त स्नेहले उसको टाउको सुम्सुम्याउन थाले ।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 7 श्रावण, 2077

लेखकका अन्य रचनाहरु