जय कोरोना

- सन्ताेष लुइटेल किंशुका

अब फेरि कुनै दिन फर्केर घर पुग्छु भन्ने कुरा उसले सपनामा पनि देख्न छाेडिसकेको थियो । सोच्थ्यो त खालि विदेश हिड्नुअघि बाआमा र श्रीमतीसँग सँगै बसेर बुनेका सारा सपना अनि भरखर दुई वर्ष टेक्दै गरेको सानो छोराले तोते बाेलीमा “बाबा मलाई पापा ल्याइदिने हाे ?” भन्दै सोधेको मात्र ! उसका आँखाबाट आँसुका धारा रोकिँदैनथे । तर के गर्नु आँसुले न त हृदयको पीडा नै पखाल्दो रहेछ, न त मनमा लागेको गहिरो घाउ नै पुरिँदो रहेछ ! यति साना आँखामा पनि कति धेरै आँसु अटेका रहेछन् , जति बगाए पनि कहिल्यै नसिद्धिने ! यस्तै साेचाइका साथ उसले घरको याद र आँसुले भोक-प्यास मेटाउँदै दिन बिताउन थालेको पनि छ महिना बित्न लागिसकेकाे थियो ।

मानिसले दण्डित हुनका लागि कुनै अपराध नै गर्नुपर्दो रहेनछ, केबल कसैकाे सङ्गत नै काफी हुँदाे रहेछ भन्ने कुरा पनि अहिले आएर उसले राम्ररी बुझेको थियाे । ठुल्ठुला सपना बाेकेर घरबाट बिदा भई विदेश पुगेको छ महिना हुनै लागेको थियाे । एकदिनकाे शुक्रबार सबै साथीभाइ मिलेर रमाइलो गरिरहँदा क्याम्पमा सानो कुरालाई लिएर झगडा भयो । त्यस झगडामा ऊ कुनै पनि रूपमा सहभागी नभए पनि झगडा गर्ने उसका साथीहरू नै थिए । त्यसैले गर्दा उसलाई पनि दाेषी देखाइयो र जेलसम्म पुर्याइयाे । उसले म दाेषी छैन भनेर धेरै फिराद गर्याे तर उसको आवाज सुन्ने कोही भएन । उसले पराइ भूमिको अर्थ बल्ल बुझ्यो । आफ्नो देशमा भएको भए यो अन्याय भोग्नु पर्ने थिएन भन्ने कुरा उसका मनमा खट्किरह्याे ।

सुरुमा अनुसन्धानका लागि भन्दै लगिएको भए पनि एक दिन दुई दिन गर्दै एक महिना बितिसक्ता पनि छोड्ने कुनै कुरै नभएपछि उसले छुटेर जाने आश मारेको थियो ।यसरी जेलजीवन बिताएको पनि अब त लगभग एक वर्ष बित्नै लागेको थियाे । त्यसैताका एकाएक संसारभरि महामारीका रूपमा कोभिड - १९ नामक रोग फैलियाे । जसले संसारलाई नै तहसनहस बनायो । जसका कारण अन्य देशबाट आएका विदेशीहरूलाई आफ्नै देशमा पठाउने कामले तीव्रता पायो । प्रायः देशहरूले विभिन्न कसुरमा जेलमा रहेका तथा गैर कानुनी रूपमा देशमा रहेका विदेशी नागरिकलाई समेत माफी दिँदै सम्बन्धित देशमा पठाउन थाले । तर यसबारे उसलाई केही पत्तोसम्म पनि थिएन । भनोस् पनि कसले र । ऊ त एक कसुरदार ठहरिएको कैदी न थियो । जेलमा बेला बेलामा चाैकीदारले रिसाउँदै अब तिमीहरूकाे जिन्दगी यही जेलमा सड्छ भनेको भन्दा अरू केही सुन्न पाइँदैनथ्याे ।

एक दिन एकाएक पुलिसले आएर ऊलगायत पन्ध्र जनाको नाम बोलायो र बाहिर निकाल्यो । केही नभनी गाडीमा चढायाे । एकाएक यसरी पुलिसले जेलबाट निकालेर गाडीमा चढाएर कतै लैजान तयार गरेको देख्दा उसले यसैलाई जीवनको अन्तिम दिन सोच्यो । नसाेचाेस् पनि कसरी जुन देशमा कसुरदारलाई मृत्यदण्डकाे सजाय दिने कानुन छ र आफूसँगै रहेका कति जनालाई त्यसरी नै लाँदै मारेको, जेल बसेपछि कयाैँ पटक उसले देखिसकेको थियो । मन भरिएर आए पनि खै किन हो कुन्नि आँखाले आँसुलाई बाहिर आउनै दिएनन् । उसका साथमा रहेका अन्य १५ जनाको हालत पनि उस्तै थियो । कोही पनि कसैसँग बोलेका थिएनन् । सायद सबैले आफ्नो जीवनको अन्तिम क्षणमा केही सोच्न सकेका थिए या थिएनन् । यो उनीहरूलाई मात्र थाहा हुँदो हो ।

केही समयपछि एक जना हतियारधारी प्रहरी उनीहरूसितै गाडीमा बस्न आयाे । उसले हातमा केही कागजपत्रकाे फाइल पनि बाेकेको थियाे । ड्राइभरले गाडी चलायो । गाडीमा रहेका सबैजना निर्जीव प्राणीसरि बसेका थिए । ड्राइभर आफ्नै सुरमा गाडी हाकिरहेको थियो । हतियारधारी पुलिस घरीघरी केही गुन्गुनाउँदै गीत गाउँथ्यो घरी फर्केर गाडीमा बसेका उनीहरूतिर हेर्थ्याे तर केही बोल्दैनथ्यो । गाडी हिँडेको निकै समयपछि उसका मनमा घरको याद आयाे । केही कमाउने सपना बोकेर विदेश आएको सम्झियो । बाआमा, श्रीमती र सानो छोरालाई सम्झियो । गला अवरुद्ध भयाे तर पनि उसका आँखाबाट आँसु झरेनन् । सायद ठुलो पीडामा आँसुले पनि साथ दिँदैनन् कि भन्ने उसले ठान्यो । उसलाई अरू कसैका अनुहारमा हेर्ने मन पनि भएन । अरूकाे अवस्था कस्तो थियो । उसले सोच्दा पनि सोचेन ।

एकरफ्तारमा गडिरहेको गाडीले कति घुम्ती र सिग्नल अनि पुल पार गर्याे, सहर र मरुभूमि छोड्यो कुनै कुराको वास्ता भएन । लगभग १ घण्टाको अनवरत यात्रापछि गाडी एकाएक एउटा ठुलो महलका अगाडि गएर टक्क रोकियो । हतियारधारी पुलिसले गाडीको ढोका खोल्यो र ओर्लेर आफ्ना पछिपछि आउन सङ्केत गरेर घरभित्रतिर हिड्याे । उनीहरूले त्यतिबेलासम्ममा लगभग होस गुमाइसकेको रहेछन् । मालिकले डोर्याएको वस्तुभाउजस्तो सबैजना पछाडि लागे । त्यस महलमा प्रवेश गर्नासाथ अर्काेजनाले उसलाई केही भन्याे । त्यसपछि भने उसले सबैलाई छिटोछिटो आउन भन्दै अगाडि बढ्याे । महल कट्नासाथ उड्न तयार भइसकेको प्लेन देखियो । हतियारधारीले हातमा राहदानी दिँदै प्लेनतिर जान हतार लगायो । यो सब भइरहँदा उसले न त कुनै खुसीको अनुभव गर्न सक्यो न दुःखले रुन नै । यतिखेय उसकाे अवस्था ठुलाे दुर्घटनामा बल्लतल्ल बाँचेको घाइतेकाे होस खुल्दाझैँ रहेको थियो ।

लगभग तीन घण्टाको यात्रापछि ऊ आफ्नो देशमा आइपुग्नै लागेको थियो । यत्ति लामो यात्रामा पनि ऊ कसैसँग बाेलेन न त निदाउन नै सक्याे । सबैजना कोही निद्रामा मस्त थिए त काेही गफमा व्यस्त थिए तर ऊ एकाेहाेराे टाेलाइरह्याे । बिस्तारै प्लेन अवतरण भयाे । सबैजना उत्रन तयार भए । सबैमा उत्साह जागेको थियाे । सबैजना एकअर्कालाई बधाई दिइरहेका थिए । यतिबेला उसलाई पनि भित्रैदेखि फरक अनुभूति भइरहेको थियाे । भित्रैदेखि राेऊँ राेऊँ लागिरहेकाे थियाे । उसले पनि अरूसँगै मन नलागीनलागी भए पनि थाेरै रुन्चे हाँसो हाँस्दै सँगै आएका साथीलाई बधाई दिँदै भुइँमा ओर्ल्याे । जमिनमा पाइला टेक्नासाथ उसलाई खै के भयाे भयाे, केही सोच्न नै सकेन । भित्रैदेखि राेदनको आँधी उर्लेर आयाे । आँखाबाट आँसुकाे भेल छुट्याे । एकाएक ऊ डाकाे छाेडेर रुन थाल्याे । आफ्नाे भूमिमा पाइला टेक्दै गर्दा उसलाई पराइका काखमा त्रासका बिच रहेकाे बालक एक्कासि आमाका काखमा पुग्दाझैँ अनुभव भयाे । ऊ त्यही भुइँमा घाेप्टाे परेर मनका सारा दुःख, पीडा, डर, त्रास पखालिने गरी घुक्क घुक्क गर्दै रुन थाल्याे । आफ्नाे देशकाे भूमिलाई ढाेगेर चिच्यायाे - जय देश ! जय काेराेना !!

ठुलाे पीडामा आँसु बगाउन पनि आँफ्नाे भूमि चाहिँदाे रहेछ भन्ने साेच्दै एकछिनपछि ऊ जुरुक्क उठ्याे र हलुका मन लिएर गालाबाट बग्दै गरेका आँसु पुछ्दै आफ्नाे बाटाे लाग्याे । सबैजना उसैलाई हेरिरहेका थिए ।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 7 श्रावण, 2077

लेखकका अन्य रचनाहरु