एकादेशको प्रजातन्त्र

- परशुराम पराशर

एकादेशको जङ्गलमा स्याल र ब्वाँसाहरूको अगुवाइमा प्रजातन्त्रको लागि धेरै आन्दोलनहरू भए । जहानियाँ शासन प्रणालीको शासक सिंहले कतिलाई राजद्रोहको मुद्दामा थुनामा राख्यो । कतिलाई देश निकाला र कतिलाई मृत्युदण्डको सजाय दियो । तर आन्दोलन मत्थर भएन । अन्त्यमा केही नचलेर शासकले सर्त राखेर प्रजातन्त्र दिने भयो ।
सर्त थियो– ‘परीक्षणको लागि ‘प्रजातन्त्र’ भनेर बगरमा लेखिदिने, त्यसको सुरक्षा गर्न पार्टीहरू तयार हुनुपर्ने छ । जबसम्म त्यसको सुरक्षा हुन्छ, तबसम्म प्रजातन्त्र रहन्छ, नत्र प्रजातन्त्र स्वतः समाप्त भएको मानिनेछ ।’
प्रजातन्त्रको लागि चुनाव, उपचुनावहरू भए । कहिले को सरकार, को प्रतिपक्ष र कहिले को प्रतिपक्ष अनि को सरकार भएर मिलीजुली बालुवामा लेखिएको प्रजातन्त्रको सुरक्षा गरे । पछिपछि भने भागवण्डा नमिलेर एकले अर्कोलाई अनेकन लान्छना लगाउने, सरकारमा बस्नेले गरेको काम जस्तो होस् त्यसको विरोध गर्ने, प्रतिकुल परिस्थितिमा पनि नाराजुलुस गर्ने, तोडफोडमा लाग्ने, जनता उकास्ने, गल्ती कमजोरी पाएमा झगडा गर्ने जस्ता कार्य हुन थाले ।
“मैले गर्दा प्रजातन्त्र आएको हो । यसको सुरक्षा गर्न मेरो पार्टीमात्र सक्षम छ ।” एउटाले भन्यो । अर्काले पनि त्यही कुराको दाबी ग¥यो । भनाभनपछि हात हालाहाल सुरु भयो । प्रजातन्त्र जोगाउन जाइलाग्दा अगाडिका खुट्टा उठाएर जाइ लाग्नु पर्ने हुनाले अम्लिसाको कुचो जस्तो उनीहरूको पुच्छरले पछाडि के ग¥यो त्यो कसैले वास्ता गरेन ।
शासकले आएर गर्जेपछि सबै चुप लागे । उसले सर्तबमोजिम प्रजातन्त्रको समाप्तिको घोषणा ग¥यो ।
आफ्नै कुबुद्धिले गर्दा बगरमा लेखिएको प्रजातन्त्र मेटिएको थाहा पाएपछि स्याल र ब्वाँसाहरू आ–आफ्नै मुख लोपार्दै जङ्गलतिर लागे ।
०००

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 7 श्रावण, 2077

लेखकका अन्य रचनाहरु