“मौन क्रन्दन” को भर्चुअल बिमोचन हेरेपछि

- बसन्त श्रेष्ठ

आउनुहोस शुरु गरौँ आजको बिश्वको ध्यान केन्द्रित भएको बिषयबाट । आज विश्व कोरोना कोभिड १९ को महामारी रोगको संक्रमण बाट कसरि बच्न सकिन्छ भन्नेमा ध्यान केन्द्रित भएकोछ । यस महामारीको कारण विश्वको कुनै मानब अछुतो रहेको छैन । एन केन प्रकारेण र जुन सुकै तवरबाट पनि प्रभावित बनेकै छन् । म पनि यस संक्रमणबाट अछुतो बन्न सकिन र यसबाट भर्खरै मुक्ति मिलेकोछ ।

आज विश्वको मानब जातिमा यसले धेरै प्रभाब परेको देखिन्छ । आचरण, विचरण र रहन सहनमा मात्र होइन यसले सामाजिक,आर्थिक र राजनीतिक क्षेत्रमा पनि असर या भनौ फरक नपर्ला भन्ने छैन । आज पश्चिमी सभ्यताको उदार दृष्टिकोण लाई पूर्विय सोच र मान्यताले धेर थोर रुपमा विस्थापित गरेको देखिन्छ । आलिङ्गन गर्ने, अभिवादन गर्ने अनि हस्तमिलन गर्ने पश्चिमी परम्परालाई केहि समयलाई भए पनि पूर्विय सस्कार अनुसार नमस्कार गर्ने शुरु भएकोछ । सोचे भन्दा लामो 'लक डाउन'को विषम परिश्थितिले उब्जाएको उकुस मुकुसलाई थुप्रै सिर्जनशील व्यक्तित्व हरुले आफ्नै बन्द कोठा बाट बिभिन्न माध्यमबाट सिर्जना जारि राखे । प्रत्यक्ष प्रशारणबाट सबैलाई जोड्न धेरै भन्दा धेरै अग्रसर हुदै गए । प्रविधिको उच्चतम उपलब्धिलाई प्रयोग गरेर धेरैले प्रत्यक्ष भिडियो मार्फत त फेसबुक जुम माध्यमबाट धेरै भन्दा धेरै संग प्रत्यक्ष सम्पर्क गर्ने माध्यम अपनाउन थाले । सभा, समारोहको नौलो प्रबिधिबाट सपन्न गर्ने यो भर्चुअल माध्यम धेरै लोकप्रिय भयो । सबैले आआफ्नो घर बाट आफ्नो विचार, कला, पौरख र सिर्जना पस्कन सक्ने र सबैले आआफ्नो घरबाट नै देख्न सक्ने, बोल्न सक्ने र अभिमत पनि प्रकट गर्न सक्ने सजिलो माध्यम सबैले अवलम्बन गरे ।

यहि लोकप्रिय माध्यमबाट भर्खर प्रकाशित भएको कथा संग्रह “मौन क्रन्दन” को बिमोचन समारोहको रेकर्डेड भिडियो हेर्ने सौभाग्य प्राप्त भयो । हुन् त मलाई यस कार्यक्रममा प्रत्यक्ष रुपमै सहभागी बन्न निम्ता न आएको होइन । तर म यस माहामारीको प्रकोपमा परेर अस्वस्थ भएको कारणले यो मौका मलाई मिल्न सकेन । तर पनि यो भिडियो हेरे पछि यसले जन्माएको थुप्रै प्रश्न खोज्ने र आफुलाई लागेको दुई चार कुरा राख्नको हेतुले यो आलेख तयार गर्ने जमर्को गरेको छु । हुन् त मैले सो विमोचित पुस्तक पढ्ने अबसर मिलेको छैन । र यो लेख्ने पनि हतार नगर्नु पर्ने थियो होला । तर भिडियोमा कार्यक्रम हेरी सकेपछि मन थाम्न नै सकिन । लेखुं लेखुं लागिहाल्यो । पुस्तकको पाठकीय प्रतिक्रिया पछि गर्दै गरौला । तर यो भिडियोमा कार्यक्रम हेरेको आधारमा नै कार्यक्रमको बारेमा नै लेखनको लागि यो समय खर्चेको हुँ ।
साहित्य समाजको पाँचौ अंग भए पनि यसको व्यवसायीकरण अझ उचित रुपमा हुन् सकेको छैन । साहित्य सिर्जना गरेरै आफ्नो जिबिका चलाउन सक्ने लेखक हातको औंलामा गन्न सकिन्छ । यस संसारको शृष्टि संगै साहित्यको पनि उदय भएको मान्यता भए पनि अझ पनि यसले समाजमा आफ्नो आधारको पकड राम्रो संग बनाउन सकेको देखिदैन । साहित्य सिर्जना गर्नु एउटा लहड, शौक र आफ्नो रमाईलोको लागि मात्र सिर्जना गर्ने थुप्रै सर्जक देखिन्छन । यसमा गम्भीरता, समर्पण र उत्तर्दायिताको हिसाबले धेरै कम सर्जक भेटिन्छन । पुस्तक प्रकाशन गर्नु अनि बिमोचनमा धेरै भन्दा धेरै मान्छे जम्मा गर्नु र धेरै भन्दा धेरै मिडियामा प्रचार प्रसार गर्नु नै आफ्नो साहित्यिक क्षेत्रमा उचईको उडानमा पुगेको ठान्ने अहिले खुब बढेर गएका छन् ।
यी सबका बाबजुद थुप्रै बर्ष देखि “अक्षलोक” सामयिक साहित्यिक पत्रिकाको सम्पादन गर्नु भएको लेखन कार्यमा स्थापित डा. सावित्री श्रेष्ठको नबिनतम कथा संग्रहको नाम हो “मौन क्रन्दन” । यस पुस्तकको विमोचनको कार्यक्रम सर्वथा भिन्न र उच्च कोटीको कार्यक्रम रह्यो भन्ने मेरो विश्वास छ । आम बिमोचन कार्यक्रममा असाहित्यिक र रुचि नभएका व्यक्तिहरुको जमघट भन्दा यो भिन्नै रह्यो । यस कार्यक्रममा अनलाईन 'जुम' माध्यमबाट जोडिनु भएका देश विदेश बाट साहित्यमा सरोकार र चासो राख्ने पचहत्तर जना व्यक्तित्वको जमघट थियो । अधिकांस विद्वान बक्ताहरुले यस पुस्तकको बारेमा जसरि वृस्तित रुपमा वर्णन गर्नु भो त्यसले यस पुस्तकको सर्बाङ्ग प्रकाश भो भन्ने मेरो ठम्याई छ ।
विश्व साहित्यमा महिला लेखकको भूमिका स्थान र वर्तमान स्थितिको बारेमा संक्षिप्त ब्याख्या सहित कार्यक्रमको शुरुवात गर्नु भएका कार्यक्रम संचालक स्वर्णिमा श्रेष्ठको कार्यक्रम संचालन अति नै व्यवस्थित र सराहनीय थियो भन्दा फरक पर्दैन । सहभागी सबै आमन्त्रित वर्गलाई स्वागत मन्तब्य गर्नु भएका अक्षलोक प्रकाशनका अध्यक्ष तथा अक्षलोक पत्रिकाको प्रधान सम्पादक शिद्धिश्वर मान श्रेष्ठले बिगत तिस बर्ष देखि त्यस प्रकाशनले साहित्यमा योगदान दिदै आएको र गर्दै गरेका विभिन्न कार्यक्रम र योजनामा प्रकाश पार्नु भएको थियो । विमोचित पुस्तक “मौन क्रन्दन”को लेखिका तथा कथाकार डा. सावित्री श्रेष्ठले संक्षिप्त रुपमा आफ्नो भनाई राख्दै आफु प्रभावित भएको र लेखनमा आफ्नो भूमिका कहाँबाट र कसरी शुरु भो भन्ने रोचक जानकारी राख्नु भएको थियो ।
सुपरिचित तथा प्रसिद्ध लेखिका पद्मावती सिंह र बेलायतबाट नियात्राकार कृष्ण बजगाईंका भनाई धेरै रोचक, मिठो र जानकारीमूलक नै थियो । बाईस वटा कथा समेटिएको सो कथा संग्रहको विश्लेषण विभिन्न विद्वान वक्ताहरुले बिस्तृत रुपमा चर्चा परिचर्चा गर्नु भएको थियो । साच्चै भन्ने हो भने सो पुस्तकको अधोपान्त चिरफार नै गरेका थिए । त्यस आधारमा र मैले बुझे सम्म सो संग्रहमा समाबेस अधिकांस कथाहरु प्रगतिवादी छन् । सम्पूर्ण कथाहरुको प्रतिनिधि पात्र महिला नै छन् । ति सबै कथाहरुमा नारि अस्मिताको खोज गरिएको छ । लेखिका प्रगतिवादी सोच भएको कारणले सम्पूर्ण कथामा नारि बिद्रोह बोल्छ । सामाजिक बिकृति र विसंगति बिरुद्ध आवाज उठाउछ । अनि नविनतम सोचद्वारा राष्ट्रिय जागरण र समाज परिबर्तनको राँको बाल्न उद्दत देखिन्छ । लेखिका शिक्षित र चेतनशील पनि भएको कारणले एक दुई कथा समाजलाई सजिलै नपच्ने र क्रान्तिकारी पनि भएको मैले बुझेको छु । कथा सरल पढ्न सहज र प्रभावकारी छ भन्ने मैले बुझेकोछु । यी सबै कारणले कथा पढ्न आतुर छु । हेरौं कहिले प्राप्त होला ।
सो पुस्तकको विश्लेषण र टिप्पणी गर्नु हुने विद्वान बक्ताहरु सर्वश्री बासुदेब अधिकारि, डा. लेख प्रसाद निरौला र अश्विनी कोईराला थिए । सबैको टिप्पणी धेरै मिहिन,उच्चस्तरीय, बेजोड र प्रस्तुति पनि सारगर्भित थियो भन्न म हिच्किचाउन्न ।
अमेरिका
(लेखक कोभिड-१९ बाट संक्रमित भएर स्वास्थ्य लाभ गरिरहेका अमेरिका निवासी साहित्यकार हुन्)

प्रकाशित मिति : प्रकाशन मिति : शनिवार, 27 आसाढ, 2077

लेखकका अन्य रचनाहरु