फुको कथा, फिलिपको ब्यथा

- राजेन्द्रमान डंगोल

आफू त परियो जीवनमा यात्रा र यात्रामा जीवन खोज्ने यायावर ! त्यतिखेर भने यात्रामा यात्रा नै खोजिरहेको छु । फेरि जीवन त भेट्नु नै छ फु पुगेर । उमङ्गले उसिसनिसिस मन र नसाभरिभरि प्रवाहित भइरहेको छ उत्कण्ठाको बिजुली ।
सरासर फु पुगेर फेर्नु थियो लामो निःश्वास । उक्लनु थियो युभीगाउँ र हेर्नु थियो धीत मर्नेगरी आसपासको सेरोफेरो । फुबासी भेटेर पर्गेल्नु थियो उनीहरूको आदिमकालदेखिको पृथक परम्परा र बौद्ध संस्कृति । फर्कनुु थियो– फुको प्रत्येक मनमस्तिष्कमा मायाको जलप लगाएर ।
मूलतः फिलिपको स्वप्न गन्तव्य थियो– फु । हर्षित देखिन्थे फिलिपका बाबु–छोरा । पुलकित थियौँ हामी सबै ।
सखारै छाड्यो निद्राले ।
चउर सेताम्य भइसकेको रहेछ अघिल्लो रात वर्षेको हिमकणले । थुम्काहरूले पनि रूप फेरेझैँ लाग्थ्यो, तिल–चामल कपालजस्ता बान्कीमा । अग्ला डाँडाहरू लिपिइएको थियो बाक्लो कुहिरोले । जहाँको तहीँ खडा थिए अघिल्लो दिन देखिएका याक र नाक । ठन्डी नलाग्ने भएपछि गोठ पनि चाहिन्न । प्रकृतिले नै दिएको छ यिनलाई बाक्लो बक्खु । तर हिमपातका कारण खान नपाउँदा भने अकालमै मर्नुपर्छ यिनले । मरेपछि पनि भारको फाँसीमा लट्किनुपर्छ फेरि । बिचरा ! कर्मै खोटो यिनको !
चुस्त थिएन शरीर, जति हुनुपथ्र्यो ।

हामी सबै सहयात्री छुट्टाछुट्टै कोठामा सुतेका थियौँ । ३,९०० मिटर उचाइको क्याङ । ओढ्ने, ओछ्याउने न्यानो भएर पनि राति अबेरसम्म निदाउँनै सकेको थिइनँ । निदाए पनि गहिरो निद्रा परेन । सपना भने देखियो पटकपटक तर जे देख्थेँ धुमिल हुन्थ्यो सम्झना । किरिङमिरिङ, किरिङमिरिङ । देख्दादेख्दै आँखा खुल्थ्यो र अधुरो हुन्थ्यो सपना । फेरि त्यहीँबाट सुरु गर्न तुरुन्त आँखा बन्द गर्नुपर्छ भन्ने सुनेको थिएँ । त्यसो पनि गरेँ । तर, भनेझैँ भएन ।
मलाई मात्र हो कि भन्ठानेको थिएँ । त्यस्तै भएको रहेछ राम र जयलाई पनि ।
विदेशीहरू चाहिँ सुत्न सके त ?
सोधेँ, “ह्वाट ड्रिम डिड यु सि इन योर ‘ड्रीम डेस्टिनेशन’ ?”
“आई स अ कपल अफ ड्रिम्स बट कुडन्ट रिमेम्बर ।” फिलिपको जवाफ ।
अघिल्लो साँझ कर्माले भनेका थिए– ‘खम्पा विद्रोह हुँदा रगतको आहाल जमेको थियो रे यहाँ ।’
मानिसको जन्म र मरण चाहेर भएको हुँदैन । कति खम्पाहरू गोलीले मरेका थिए, कति नदीमा हेलिएर । स्वेच्छाले कहाँ नै भएको थियो र तिनीहरूको मरण ! संस्कारअनुसार सत्गत् नभए मृतकको आत्माले बाँचेकालाई सताउँछ भन्छन् । सोचेँ– खम्पाहरूको भड्किएको आत्माले हाम्रो निद्रा खल्बल्याएको त होइन ! अड्कल मात्र थियो मेरो ।
क्याङबाट तीन घण्टाको बाटो भएकोले आठ बजेमात्र क्याङ छाड्ने योजना थियो हाम्रो ।

‘उः त्यो केसाङ पहरा । पुरानो गुफा छ त्यहाँ । भयङ्कर डरलाग्दो । बौद्ध धर्मगुरुहरूले ध्यान गर्थे रे त्यहाँ बसेर । लामाले जोखाना हेरेर ढुङ्गा फ्याँक्दै भनेका थिए रे– ‘यहाँ(क्याङमा) भविष्यमा गाउँ हुन्छ ।’
बसिबिँयालोमा गुफाको किस्सा सुनाउन थाले कर्माले ।
उनले थपे– ‘सबैभन्दा पहिले त्यहाँ जाने दुईजना विदेशीले मान्छेको हड्डी फेला पारेका थिए । अनुसन्धानले दुईहजार चारसय वर्ष पुरानो बताएको थियो । गुफाभित्र छिर्नेहरूले बहुमूल्य मुगाहरू पनि भेटेका थिए रे । निकै कठिन छ यो गुफाभित्र छिर्न । म पनि आधा घण्टासम्म त भित्र छिरेँ । कहाली लाग्यो । फर्केर आएँ ।’
कुटी हो– गुफा । घर बनाउन नजानुन्जेल मान्छेहरूलाई बस्नका लागि प्रकृतिले ब्यवस्था गरिदिएको बासस्थान । मानव सभ्यताको उद्गम बिन्दु । गहन रहस्यको भकारी । गुफामै ज्ञान प्राप्त गरेका थिए गुरु रिम्पोछेले । मिलारेपा नामको गुफा नै छ मनाङमा । मुस्ताङलाई त गुफाहरुको राजधानी नै मानिन्छ । यहाँ अझै जीवित छ, गुफा सभ्यता । गुफाकै घर, गुफाकै दरबार, गुफाकै सङ्ग्रहालय, गुफाकै मन्दिर र गुफाकै गुम्बा । केके गुफा, केके गुफा !
नेपालका केही प्रसिद्ध गुफाहरूको बारेमा बताएँ मैले फिलिपलाई ।
डफ्फल ब्याग बोकेर कस्सिइसकेका थिए राम । पाइला उठाएपछि हत्तपत्त रोकिन्नन् उनी फिलिपजस्तै । खाइलाग्दो ज्यान छ । हात्ती लस्किए जस्तै हो उनको गति । चालीस किलोसम्म बोक्ने मान्छेलाई यो पाली तीस किलो मात्रै छ । अनि किन नहिँडून् त गुटुटु ।
कर्मालाई बिदाइको हात हल्लाएर लाग्यौँ हामी तेर्पे उकालो ।
राजकीय सम्मानमा रातो कार्पेट बिछ्याएजस्तै हिमकणका सेता पत्रले ढाकिएको छ बाटो । सेनाहरू सलामी दिन उभिएझैँ लस्करै उभिएका छन् अग्ला पहाडहरू । फु खोलाले बजाइरहेछ राष्ट्रिय धुन । नाउरहरूले पनि बाक्लै उपस्थिति देखाएका छन् हाम्रो स्वागतमा । प्रकृतिले दिएको राजकीय सम्मान ग्रहण गर्दै छौँ हामी । यस्तो सम्मान सितिमिति पाइहाल्दैनन् जोकोहीले । यस्तैयस्तै भान हुन्छ । कस्तो सौभाग्य यो ! कति भाग्यमानी ! हर्षित छौँ हामी ।
कर्माले भनेका थिए– ‘फुसम्मको बाटो सजिलोे छ ।’
खस्रो चट्टानी पहाड कोपेर बनाइएको छ चौडा बाटो । गतसाल मात्र बनाइएको रे । माथिल्लो मुस्ताङ जाँदा चैलेदेखि समारसम्मको बाटोको याद आयो मलाई । फरक यतिमात्र हो– उता माटैमाटो, यता चट्टानैचट्टान । अहिले त सडकले विस्थापित गरिसकेको छ त्यो डोरेटोलाई ।
कालीगण्डकीको किनारैकिनार हिँडेको अनुभूति भइरहेछ यतिखेर । अगाडि बढ्दै जाँदाको भूबनोटले कागबेनीदेखि छुसाङसम्मको यात्राको झझल्को दिन्छ । मानसपटलमा आउन थाल्छन्, लोमान्थाङ यात्राका रोमाञ्चक क्षणहरू । पर्गेल्न थाल्छ मनले यात्राका प्रत्येक अविस्मरणीय पल ।
कतै बञ्जर खोँच, कतै नागी–युँ । फु खोलाको तीरैतीर हिँिडरहेका छौँ हामी । ठाउँठाउँमा हालिएका छन्, चौँरी तार्ने काठेपुल । एकपछि अर्को गर्दै आउँछन्– हिउँको सप्को हालेका पहाडहरू । कति शालीन ! हेर्दाहेर्दै त्यही पहाड भएर उभिएझैँ लाग्छ आफैँलाई । सोच्छु– किन यति शालीन हुन्छन् पहाडहरू ?
म आफ्नै प्रतिविम्ब खोज्दै छु फुको ऐनामा र न्यानो खोजिरहेको छु मायाको भुवाभित्र ।
फुखोलाको तट छेउछाउमा भेटिन्छन् ताङ्जुका काँडेदार बुट्यानहरू । लटरम्मै फलेका छन् बयरजस्ता राता फल । ठानेँ– उचाइका वनस्पति विष त पक्कै हुँदैनन् । मुखमा हालेँ; गुलियो थियो स्वाद । चपाउँदै हिँडे ताङ्जुका दानाहरू । पछि थाहा पाएँ यो त बहुपयोगी बुटी पो रहेछ । जोमसोमतिर ‘सिबोक थ्रोन’को जुस बनाएर प्रति गिलास हजारमा बेच्छन् । त्यहाँजस्तो चहलपहल यहाँ हुने हो भने त ताङ्जुले पनि त्यस्तै भाउ पाउँथ्यो होला । सोच्दै थिएँ म ।
“तिब्बती भाषामा ‘फुप्प’को अर्थ ‘भित्रपट्टि’ हुन्छ । पहाडभित्रको गाउँ भएकोले ‘फुप्प’ भनियो । अपभ्रंश भएर ‘फु’ मात्र भएको रे ।” एक जानकारले भनेका थिए यात्राकै सिलसिलामा ।
भन्न त भने उनले तर हो कि होइन चाहिँ राम जाने !
नेवारी भाषामा ‘फु’को अर्थ हुन्छ फुपू अर्थात् निनी । ठाउँको नाम मान्छेले बोल्ने भाषाकै अर्थमा निहित हुन्छ । काठमाडौँमा भए सायद यो खोलाको नाम ‘निनीखोला’ र फुगाउँको नाम चाहिँ ‘निनीगाउँ’ हुन्थ्यो होला । आफ्नै अर्थ लगाउँदै थिएँ म ।
कर्माले भनेका थिए– “धेरै मोहक स्थानहरू छन् फुमा । घुम्नुस् है ! फुभन्दा माथिको ढुप्छ्यु पहरा कोपेर गुरु रिम्पोछेले पानी निकालेका थिए रे । स्थानीयहरू वर्षमा एकपटक स्नान गर्न पुग्छन् त्यहाँ । बोली नफुटेको बच्चालाई नुहाइदियो भने बोली फुट्छ भन्ने जनविश्वास छ । एकदिनको कुरा त हो । भ्यायो भने ‘छो कर्णा ताल’ हेर्न पनि जानुस् ।”
भोलि नै फर्कनु छ । एक दिनमा कहाँकहाँ मात्र जानु र खै ! सबै ठाउँमा पुग्न त फेरि आउनु पर्छ ।
अगाडि बढ्दै जाँदा यस्तै अजङ्को पहरा आयो । रातो पानी त त्यहाँ पनि बगिरहेथ्यो, तामा पग्लेर बगेझैँ । लाग्थ्यो– सोनामले भनेको ढुप्छ्यु पहरा कतै यही त होइन ! कतै कमेरो लिपेको जस्तो, कतै ध्वाँसो पोतिएको जस्तो त कतै रातो माटो लिपेको जस्तो । मान्छेले बनाएको रङ भए त खुइलिइसक्थ्यो होला । प्रकृतिको रङ उज्जर छ, हिमालमा परेको घामको लालीजस्तै ।
प्रकृतिकै मुस्कानको लहर हो– धरातलीय स्वरुप । कोही चुच्चा, कोही बुच्चा, कोही थेप्चा, कोही चेप्टा, कोही लामा, कोही छोटा, कोही अग्ला र कोही होचा । किसिम किसिमका भूःआकृतिका अलौकिक आनन्दमा डुबेँ म । कसरी निर्माण भयो होला धर्तीको यति असाधारण स्वरूप ? घोत्लिन बाध्य भएँ ।

“ब्युटिफुल !” “ब्युटिफुल !” फिलिपको मुखबाट यही मात्र शब्द निस्किरहेको थियो, मस्त निदाइरहेको मान्छे सपनामा बर्बराइरहेझैँ । सपनाको संसारमा आउँदा यस्तै हुँदो हो सबैलाई ।
ठाउँठाउँका भग्न छोर्तेन र मानेवालहरूले इङ्गित गरिरहेका छन् मानव सभ्यता र इतिहास । फेरि रहस्य बुझ्न मन लाग्छ तर कोसँग ?
यात्राको सजिलो खण्ड सकिएपछि फुखोलाको किनारलाई छाडेर उकालोमा पाइला नाप्दै छौँ हामी ।
राम भन्छन्– ‘माथि प्रवेशद्वारमा पुगेपछि त बाटो फेरि सजिलो छ ।’
उकालो, ओरालो र घुम्ती कहाँकहाँ छन् भन्ने कुराको जानकारी उनलाई जति हामी नवागन्तुकहरूलाई के थाहा ! उनै त हुन् हाम्रो गाइड ।
नाउरका बथान छुन्मुनाइरहेका छन् पाखैभरि । जता हे¥यो नाउरैनाउर । नाउरहरूकै किल्लाझैँ लाग्थ्यो नारपाभूमि । ‘नाउर ट्रेल’ भन्दा पनि हुनेरहेछ । यसैले त बढाएको छ यहाँको सौन्दर्य ! नाउर नहुँदो हो त कति शून्य देखिन्थे होलान् यी पहाडहरू ।
पहाडका डिलमा ठिङ्ग उभिएका छन्– हावाले खियाएर शेष रहेका बडेमानका ढिस्काहरू । किनारमा छन्– फुखोलाले अविराम रेटेका चट्टानहरू, हातैले बनाएर थुपुक्क राखेजस्तै । फुगाउँको प्रवेशद्वारजस्तै लाग्ने । प्रवेशद्वार कोही मानव निर्मित, कोही प्राकृतिक । बरु प्राकृतिक प्रवेशद्वारमै खापा हालेको भए अझै मौलिक हुन्थ्यो होला झैँ लाग्ने ।
छोटै भएपनि अत्यासलाग्दो थियो उकालो । पिपिगेल्वे प्रवेशद्वारमा पुगेर पाइला बिसायौँ हामीले । बतासको झोक्कामा मच्चिरहेका थिए रङ्गीन ध्वजाहरू । प्रवेशद्वार छिर्नेबित्तिकै आउँछन्– छोर्तेन र मानेवालहरू । एकातिर प्राकृतिक मानेवाल अर्कोतिर मानव निर्मित । मानेवालै मानेवाल ।

उकालो नै ओर्लिएपछि ओर्लनु त परिगो । चिसो झोक्का बोकेको हावासँगै हुइँकियौँ हामी । भग्नावशिष्ट प्राचीन भवनहरूझैँ लाग्छन् त्यहाँका थुमहरू आफैँमा । आश्चर्यचकित भएथेँ म, त्यही छायाँछवि एउटा ठूलो ढिस्कोमा देख्दा । थुममाथिको थुम; खण्डहरमाथिको खण्डहर । सहजै अनुमान गर्न सकिन्छ– यहाँ मानव बस्ती थियो, कुनै कालखण्डमा ।
अलि अगाडि बढेपछि आँखामा प¥यो– पहाडसितको आलिङ्गनमा मुस्कुराइरहेको एउटा अनुपम बस्ती । त्यही थियो– पहाड भित्रपट्टिको बस्ती अर्थात् फुगाउँ । मानव अस्तित्व च्यापेर उभिइरहेका विशालकाय पहाड हेर्दै टोलाउन थाले फिलिप । निःशब्द थियौँ हामी । सपनाझैँ लाग्यो मलाई । के त्यो साँच्चै फु नै हो त? आफैलाई सोधेथेँ मैले ।
माथिल्लो डाँडोमा अवस्थित छ– पातलो युभीगाउँ । सर्लक्कै देखिन्छन् त्योभन्दा पछाडिका बेगिन्ती बेनामे डाँडाहरु र पोर्काकाङ हिमालका सग्ला तस्बिर । गाउँ नजिकिँदै जाँदा प्रस्ट देखिन्छ– मान्छेले पहाडलाई सुम्सुम्याएको र पहाडले मान्छेको जीवन ।
बस्ती अगाडि आएर मिलनको म्वाइँ खाएका छन् लाब्जे र फुखोलाले । ताकिरहेको छ नारफेदी र गाइरहेको छ मिलनकै गीत । मानेवाल माथिका नीला प्रस्तरहरूमा लेखिएका छन्– ‘ॐ मणि पद्मे हुँ’ को पवित्र मन्त्र ।
खालीखाली छन् खेतका गराहरू । अङ्कुराउन थालेको छ हिउँ । अबको तीन महिनासम्म अन्नको सट्टा हिउँ मौलाउँछ यहाँ । र, त हिउँमा जीवन र जीवनमा हिउँ सल्बलाउँछ यहाँ ।
हिउँ त हाम्रो सम्पदा हो । फेरि अचम्मै छ– नभएपनि नहुने, धेरै भएपनि नहुने । हिउँमै निर्भर हुन्छ हिमाली भेगको खेती–पाती । बालीनाली राम्रो भइदिन्छ समयमा हिउँ प¥यो भने  । बिलाएपछि गुच्ची च्याउको त बहार नै ल्याइदिन्छ हिउँले ।
एकोहोरो लम्किरहेका छौँ फुसित स्पर्श गर्न ।
आहा ! क्या, सुन्दर उपत्यका ! क्या, मनोरम बस्ती ! क्या, लोभलाग्दो धर्तीको टुक्रा ! सिँढीजस्ता देखिन्छन् पहाडमा टाँसिएका प्राचीन शैलीका घरहरू । माटोले छोपिएका छन् छानाहरू ।
हिउँको वर्षा हुन्छ हिमालपारि । त्यसैले त हिउँमैत्री छन् यहाँका घरहरू । चिसो ठाउँको लागि उचित इन्जिनियरिङ । चिटिक्कको साना एकमुखे झ्यालले थप आकर्षण थपेको छ संरचनालाई ।
होटल कर्माका सोनाम तेन्जिङले स्वागत गरे हामीलाई फुगाउँमा । थपीथपी पिइयो नुन चिया । खाप्से, सोलमार, कुथुक र आलुम चपाइयो मज्जैले । विशेष गरी ल्होसार पर्वसित सम्बन्धित परिकार हो– खाप्से । नेपाली लोक परिकार । धार्मिक तथा सांस्कृतिक मूल्य–मान्यताको स्मरण गराउँछ यसले । हिमाली भेगमा सबैका भान्छामा हुन्छ यो ।
पन्ध्र दिन अघिदेखि नै आउने सूचना दिएको थिएँ । नत्र यतिबेलासम्म गाउँ छाडेर काठमाडौँ गइसकेका हुन्थे उनी । हिउँ पर्नु अगावै गाउँ छाडिसक्छन् यहाँका बासिन्दाहरू ।
साक्खै दिदी बहिनीका छोराहरू हुन्, क्याङका कर्मा र फुका सोनाम । दुवै जना जाती । दुवै जना आतिथ्यकारी । दवैको बोलीवचन मधुर । यति भएपछि हामीजस्ता परदेशीलाई लाख भइ‘गो । जाने बित्तिकै स्वदिष्ट दालभात खुवाए उनले ।
पास्ता खाँदै म्यक्सिमले भनेका थिए– ‘दिस इज ह्वाट एक्ज्याक्ट्ली आइ वाज लुकिङ फर !’

प्रत्येक छाकमा फरकफरक स्वाद फेर्ने बानी परेकाहरूले लगातार चार छाक दाल–भात खाइसकेका थिए ।
मुस्ताङमाझैँ प्रत्येक घरको छानामा दाउराको खलियो बनाइएका छन् । उच्च हिमाली भेगमा खाना पकाउन, आगो बाल्न र ताप्न नभइ नहुने जिनिस हो यो । जङ्गल टाढा छ, जोहो त गर्नै परि‘गो । सबैले धेरैभन्दा धेरै जोहो गर्न खोजेका हुन्छन् । धनी र गरिबको पहिचान दिन्छ दाउराको खलियोले । सुन्दै क्या अचम्म लाग्ने !
“उः त्यो पहाडको टुप्पामा थियो पहिलेको बसोबास । त्यो मूल ढोका ढोकाभन्दा पछाडि अरू घरहरू थिए । घोमजोङ भनिन्छ यसलाई । तिब्बतबाट आएका डाँकुहरूबाट बच्ने तरिका थियो हाम्रा पुर्खाको । अहिले भएका घरहरू पछि बनेका रे । अहिले त्यहाँ नयाँ गुम्बा बन्दै छ ।” बेलीबिस्तार लगाए सोनामले ।
संस्कार र संस्कृति तिब्बती नै हो यहाँ । प्रत्येकको घरमा फहराइरहेछन् लुङ्दा र बौद्ध तोरणहरू । सिङ्गो गाउँलाई आकर्षक बनाएको छ यसको रङले । गूढ अर्थ छ यसको– सेतोको जलशक्ति, पहेँलोको भूमि शक्ति, रातोको अग्निशक्ति, हरियोको वायुशक्ति र नीलोको प्राणशक्ति । पञ्चबुद्धको प्रतीकका रुपमा पनि यसलाई लिइन्छ । नीलोको अक्ष्योभ्य बुद्ध, पहेँलोको रत्नसम्भव बुद्ध, रातोको अमिताभ बुद्ध, हरियोको अमोघ सिद्ध बुद्ध, सेतोको बेरोचना बुद्ध । सांस्कृतिक एकताका परिचायक हुन् यी रङ । यही त हो हाम्रो देशको पृथक पहिचान ।
स्वप्न गन्तव्यमा आएर सुतिरहने कुरा त भएन !
“लेटस् डु अ साइटसिइङ अराउन्ड द भिलेज !” फिलिपको मनको कुरा बुझेरै भनेको थिएँ मैले ।
उत्साहित हँुदै फिलिपका बाबुछोराले एकै स्वरमा भने– “स्योर ! वि आर रेडी ।”

कोही काठमाडौँ त कोही विदेशमै बस्छन् फुका बासिन्दा । जीवन सुस्त सल्बलाइरहेछ यहाँ । खोलाको नाद छ । लुङ्दा र लुङ्दरको फर्फराहट छ । बस् यति नै ।
धुम्रपान निषेध रहेछ यहाँ । कति सौम्य !
युभी गाउँ जाँदै गर्दा फिलिपलाई यहाँको वास्तविकता अवगत गराएँ मैले । पथप्रदर्शक हुनुको जिम्मेदारी मेरो ।
आधा घण्टा लाग्यो गाउँ पुग्ने उकालो छिचोल्न । चारहजार चारसय मिटरको उचाइमा पुगेका थियौँ त्यतिबेला । यहाँ दुई–चार थान मात्र छन् मान्छे बस्ने घर । बाँकी सबै फुकेलीका गोठहरू । गोठमा भेडा–बाख्रा हुलेर फुतिर झर्दै गरेका किसान भेटिए बाटोमा । फिलिप भन्दै थिए– लाइफ इज सो हार्ड हियर !
आफैँमा एउटा राम्रो भ्यु प्वाइन्ट हो– युभी गाउँ ।
तल फुको आकृति । चारैतिर अग्ला भूआकृति । पाखाभरि नाउरहरू चरिरहेका । प्रकृतिको रसनामा डुब्न पाए के चाहियो र ! मनले भनेकै ठाउँहरूमा आँखा डुलाएँ । पाइला नपुग्ने ठाउँहरूमा पु¥याउने त आँखै न हो । यही त हो दृश्यावलोकन भनेकै । आहा ! अझ ५,८०० मिटरको धुइसो डाँडो पुग्न पाएको भए त कस्तो अनुभूति गरिन्थ्यो होला ।
युभीको डिलमा बसेर हिमालै हिमाल र पहाडै पहाडको निबिड संसारलाई नियालुन्जेल मेरो मनले भनिरहेको थियो– ‘रेगिस्तानले विकास र समृद्धिमा छलाङ मारिसक्यो । नमारोस् पनि किन ! उनीहरूको प्रणाली चुस्त छ । कानुनी राज्य छ । भ्रष्टाचार शून्य छ । नीति राम्रो छ । सुरक्षाकै कारण उनीहरूकोमा वैदेशिक लगानी ओइरिएको छ । र, त श्रम बजार बनेको छ विश्वकै लागि ।’
हिम सम्पदामा संसारकै धनी हाम्रो देश सधैँ जस्ताको तस्तै । विडम्बना !

फेरि सोच्छु– विदेशीहरूको हातमा नेपाल हुने हो भने विश्वभरका मान्छेले हाम्रै देशको पानी पिउँथे होलान् । पर्यटनले छलाङ मारिसक्थ्यो होला । वैदेशिक रोजगारका लागि नेपाल विश्वकै श्रमिकको रोजाइ बन्थ्यो होला । विदेशीहरू आएर हाम्रो देशमा पथप्रदर्शक र भरियाको काम गरिरहेका हुन्थे होलान् ।
‘दूरदृष्टि’ र ‘स्पष्ट ध्येय’को अवधारणा नै छैन हाम्रा प्रशासक र शासकहरूमा । अझै अधिकार पाइएन भनेर अरण्यरोदन गर्छन् मुख्य मन्त्रीहरू । कठै ! यिनको राजनीति । हाम्रो भाग्य जोडिएको छ यिनीहरूकै राजनीतिमा । के भन्नु र खै ..........!
००००
सबै आआफ्नै किसिमले आनन्दानुभूति गर्दै थिए । तस्बिर लिँदै थिए जय । एक्लै प्राकृतिक दृश्यहरूमा हराउँदै थिए म्याक्सिम । राम पनि आफ्नै सुरमा ।
फिलिपले भने– ‘लेट्स गो टु द नेक्स्ट !’
फुको अर्को आकर्षण हो– टासी ल्हाखाङ गुम्बा ।
सबैलाई छाडेर लाग्यौँ हामी त्यसतर्फ । गाउँकोे सिरानको ‘थुङ्को पाल्की गुम्बा’ हुँदै ।
फलामे पुल तरेर उकालिँदै गर्दा एकक्षण रोकिएर लामो श्वास तान्यौँ हामीले । सामुन्नेका तृणहीन पहाडहरूमा ठोक्किरहेका थिए हाम्रा आँखा ।
यही बेला मैले उनलाई सोधेँ– “हाउ आर यु फिलिङ टु बि हियर ?”
“डु यु नो राज ! दिज ब्यारेन हिल्लक्स एन्ड माइ लाइफ आर अ मिरोर अफ इच अदर ।” गम्भीर भावमा पो पेश भए उनी ।
डाँडोमा चलिरहेको बतासले उनको धमिलिइसकेको स्मृतिको पाना पर्लक्कै पल्टाइदिएछ । खाटा बसिसकेको घाउबाट स्मृतिका पाप्रालाई फक्लक्क उप्काए उनले ।

मलाई थाहा थियो । हिजो च्याखु उक्लँदाकोे प्रसङ्गकै निरन्तरता थियो त्यो ।
मैले किन र कसरी ? भनेर नसोध्दै उनले भने, “म्याक्सिम्स मदर एन्ड आइ वेन्ट थ्रु अ बिटर डिभोर्स । द्याट लेडी डिस्डेनफुल्ली ट्रिटेड मी । दिस इज अ रियर अकरन्स । आइ डन्ट ह्याभ एनी रेस्पेक्ट फर हर । आइ इभन ह्याड टु टेक पर्मिसन फ्रम हर टु टेक म्याक्सिम विथ मी इन दिस ट्रिप । सि उड लाइक मी नट टु मिट आवर चिल्ड्रेन । आला....... ! हाउ इज दिस पोसिबल ?”
दुःखदायी घाउ उनको । सायद उनी आफ्नो कहालीलाग्दो अतीत सुनाएर पीडा कम गर्ने कोसिस गर्दै थिए ।
आफूभन्दा ज्येष्ठ नागरिकलाई के भन्नू ! अप्ठ्यारोमा परेँ म ।
“इन माइ थिङ्किङ, इट्स बेटर टु फरगेट द पास्ट । जस्ट रिगार्ड द्याट वन्स अ गोल्डेन मोमेन्ट ह्याज पास्ड, अ डियर फ्रेन्ड पार्टेड ।” सहानुभूतिका शब्द पोखेँ मैले ।
एकोहोरो हावाको झोक्काले सङ्केत गरिरहेको थियो हामीलाई, छिटो गरी होटल फर्कन ।
बौद्ध मन्त्र लेखिएको छ पर्खालमाथि राखिएका नीला प्रस्तरभरि । छोर्तेनैछोर्तेन उभ्याइएका छन् बाटैभरि ।
बन्द थियो, टासी ल्हाखाङ गुम्बा । बिहान र बेलुका खोलिने गुम्बा हामैै्र लागि भनेर बेला न कुबेला किन खोलिन्थ्यो र ! पाँचौँ कर्मापाका समकालीन उर्केल थुन्ड्रुप घ्याछोले विश्व शान्तिका लागि भनेर आफ्नो जीवनकालमा बनाएका १०८ वटामध्येको अन्तिम गुम्बा भएकोले समापन गुम्बा पनि भनिन्छ यसलाई । अचम्मै लाग्ने । कहाँबाट आयो होला यति धेरै गुम्बा बनाउने सोच ! कसले दियो होला बुद्धि ! र, त मरेर पनि बाँचिरहेका छन् उनी यिनै गुम्बाहरूमा । उही ताका बनेका थिए, नारफेदी र भ्रागाका गुम्बाहरू । गुम्बाअगाडि उभिएर फिलिपको सुखद आगतको कामना नगरिरहन सकिनँ ।
पहाडको शिरमा छ गुम्बा । गुम्बा आफैँमा भ्यु प्वाइन्ट । पारिको युभी गाउँ, तल फुको बस्ती, फु खोला र लाब्जुको दोभान, धुइसो डाँडो, नागारु खर्क हुँदै क्याङ–छिमी नाका र हिमलुङ हिमालतर्फ जाने बाटोका धर्साहरू ३६० डिग्रीमा एकसर्को घुमेर हेरेपछि फक्यौँ हामी । नाउरझै लाग्ने भेडा–बाख्राका बथान सल्बलाइरहेका थिए खेतका गह्राहरूमा ।
फिलिपको दुःखेसो सकिएको थिएन होटल आइपुग्दासम्म पनि ।
००००
भान्सामा थिए सोनाम तेन्जिङ, खाना बनाउने सुरसार गर्दै । तातोमा बस्ने अनुमति दिए उनले । उनले थर्मसबाट कपमा नुनचिया खन्याए हाम्रा लागि । चिसोमा चियाको चुस्की । क्या मज्जा !
पानीको स्वाद हुँदैन भन्छन् किन्तु होइन रहेछ । अलिक चिराइतो थियो फुको पानी । त्यसैले त पानीभन्दा चिया नै बेस थियो हाम्रा लागि । विदेशीहरूका लागि रू. सय मात्र हो चियाको मूल्य । कालोपत्रे मूल सडकबाट चालीस मिनेट परको कास्कीको अस्ट्रेलियन क्याम्पमा एक कप चियाको सयभन्दा बेसी तिर्नुपर्छ । त्यो हिसाबले त यहाँ अढाई सय हुनुपर्ने हो । सादा खाना पनि सस्तै छ यहाँ । यति विकट फुमा भने सात सयमात्र । सडकभन्दा करिब एक घण्टा परको कास्कीकै झिनुडाँडामा एक छाक दालभातको आठ सय लिन्छन् विदेशीहरूलाई । सेवाको नाममा मान्छेको विवशता माथि मूल्यको घन ठोक्न सकेकै छन् व्यवसायीहरूले । धन्दा राम्रै छ !
मैले फुको बारेमा केही कुरा बुझ्न खोजेँ । लामै सम्वाद भयो उनीसँग ।

“नार र फु पत्ता लाग्नुअघि स्थानीयले तिब्बतबाट घोडा–खच्चड र चौँरीबाट खाद्यान्न आपूर्ति गर्थे । चीन र नेपाल सरकारले चाहेमा यो नाका खोल्न सकिन्छ । दीर्घकालका लागि सुरुङ वा सडकमार्ग निर्माण गर्नुपर्छ । क्याङ–छिमी नाका खुल्दा लमजुङ, गोरखा, धादिङ, कास्की जिल्ला पनि लाभान्वित हुन्छन् ।” उनको भनाइ ।
उनले थपे– “यहाँ हाम्रो आफ्नै भाषा छ जो नेपालमा कहीँ कसैसँग मिल्दैन । त्यहीँ नजिकको नारसित पनि मिल्दैन । तर गीतका गेडाहरू सबै तिब्बती भाषासित मिल्छ । लातातेन, वाङ्छातेन र वाजातेन यहाँ बस्ने जाति हुन् । नागरिकता दिँदा यसैका आधारमा लामा, गुरुङ र घले भनेर दिइएको थियो ।”
‘नार र फुलाई हामी अचेल नारपाभूमि भन्छौँ । नार, फु र वरपर बस्ने सबै ‘नारपा’ ।’ सोनाम भन्छन् ।
नार र फुको नयाँ पहिचान एकै शब्दमा– नारपाभूमि । सबैको एउटै थर– नारपा । कति सुन्दर !
‘फु’को अर्थ सोध्दा उनी भन्थे– ‘फु’ कसरी रहन गयो भन्ने थाहा छैन । यो नेपाली नाम हो । यहाँको भाषामा चाहिँ ‘नार्तोइ’ भनिन्छ ।
फुको रोमाञ्चक कथा रहेछ–
“उहिल्यै दुई दाजुभाइ थिए रे । भाइको याक सधैँ दाइको खेतमा बस्थ्यो रे । एक दिन दाजुले याकलाई तीर हानेछ । त्यसपछि याक गोठमा आएर मरेछ । याकलाई लागेको तीर दाजुको घरपट्टि फर्केको रहेछ । भाइले देखेपछि दाजुले मारेको भन्ने निहुमा दुईबीच झगडा भएछ । दाजु चाहिँले ‘मैले तेरो गोठमा बसेको बेलामा हानेको भए यो गाउँ केही नहोस् । मेरो खेतमा बसेको बेलामा हानेको भए यो गाउँ एक घण्टाभित्र पहिरोले लैजाओस्’ भनेछ । त्यसपछि दुबैले याकको टाउको हिमालको फेदमा गाडेछन् रे । नभन्दै एक घण्टाभित्र गाउँ पूरै बगाएछ । त्यसपछि यो ठाउँमा बस्ती बसेको रे भन्छन् ।”
उनले भने– “वि. सं. २०२५ सम्म यो गाउँ अस्तित्वमा छ भन्ने कुरा राज्यको जानकारीमा थिएन रे ।”
नेपाल छ भन्ने उतिबेला पनि थाहा थियो फुलाई तर फु छ भन्ने थाहा थिएन नेपाललाई । जसलाई थाहा हुनुपर्ने उसैलाई थाहा रहेनछ । कस्तो अचम्म !
उनको भनाइअनुसार फुबासीले खम्पाहरूका सास्ती खेप्नु खेपेका रहेछन् । रातिराति आउने, खानेकुरा खोसेर खाइदिने र चौँरीहरू मारेर लैजाने गर्थे रे ।
द्वन्द्वकालको सम्झना दिलायो मलाई । खम्पाविद्रोह सकिएको बाईस वर्षपछि सुरु भएको थियो यो विद्रोह । थाहा छैन, फेरि अर्को कुन विद्रोह हुने हो । आजसम्म विद्रोहको अन्तहीन शृङखला टुङ्गिएको छैन नेपालमा ।
“भोलि हाम्रो गाउँमा नयाँ थकाली चयन हुँदै छ । बेलुका नाचगान हुन्छ ।” निम्ता गर्दै थिए उनी । तर हाम्रा लागि असम्भवप्रायः थियो फुमा थप रात बिताउन ।
फु देख्यौँ । संस्कृति देख्न पाएनौँ । सुनमा सुगन्धै हुने थियो उनीहरूको नाचगान पनि देख्न पाएको भए त ।
एकातिर फिलिपको दुःखद कहानी र अर्कोतिर फुको रोमाञ्चक कथा । यस्तै

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 24 आसाढ, 2077

लेखकका अन्य रचनाहरु