कृषक

- डा. बच्चु कैलाश कैनी

स्नातक परीक्षा सक्ने बित्तिकै आफ्नै गाउँ फर्केर केही गर्नु पर्छ भन्ने सोच थियो। मेरो गाउँ सानो ग्रामीण गाउँ हो। स्थानीय स्कुलमा शिक्षक बन्नु बाहेक अरु जागिरको सम्भावना केही थिएन। खेतीपाती गर्ने आफ्नै जग्गा जमिन भने प्रशस्तै थियो। मनमा लाग्यो अब परीक्षा दिएर घर फर्कन्छु। खेतीपाती शुरु गर्छु। फुर्सदको समयमा म आफैं पढेको गाउँको स्कुलमा स्वयंसेवक बन्छु।

'बिपिन तिमी किन गाउँ फर्केको?' बाले मलाई एक्कासी घरमा देख्ने बित्तिकै सोध्नु भयो। मैले भनें, 'बा म पढाई सकेर फर्केको हुँ। अब यहीं गाउँमा बसेर केही गर्ने सोचले फर्केको। हाम्रो आफ्नै यति धेरै जग्गा जमिन छ। म यहीं काम गर्छु। आफ्नै गाउँमा केही गर्ने सोच छ। फुर्सद मिल्यो भने गाउँको स्कुलमा स्वयंसेवक बन्छु।'

बाको हाउभाउ र अनुहारले बताई सकेको थियो, बा मसंग खुसी हुनु हुन्न। उहाँले थप्नु भयो, 'छोरा पढेर ठूलो मान्छे होल। केही पेसामा लाग्ला। यस्तै सपना देखेर तलाई काठमान्डौ पढ्न पठाएको थिएँ।अब गाउँमा नै खेती गर्न फर्केछ। अब म गाउँमा मेरा आफन्त र समाजको अघि के भनेर मुख देखाउने ?'

म भने सोचमग्न र दु:खी भएँ। यही गाउँको माटोमा हुर्केर बढेर पचपन्न बर्षको उमेरसम्म खेतीपाती गर्ने कृषी प्रधान मुलुकका मेरा बालाई खेतीपाती गर्नु वा कृषक बन्नु पेसा हो भन्ने अवगत नै रहेनछ। मैले सोचें अब मैले यो सोचाई परिवर्तन गर्नुपर्छ। सबै मिलेर कृषी लाई सम्मानित पेसा बनाउनु पर्छ। साथै, यो परिवर्तनको शुरुवात मबाट नै गर्नु पर्छ। अहिले मेरो अठोट, जोस र जाँगर अझै बढेर आएको छ। अस्तु।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 24 आसाढ, 2077

लेखकका अन्य रचनाहरु