‘रूद्र’ को ‘तेस्रो आँखो’मा आँखा लाउँदा

- नवीन पौड्याल

१. कवि चिनारी-
असम बडसोलाका एक जागरूक व्यक्तित्व, जातीय संगठनका एक अग्रणी, सामाजिक सचेत पुरूषका रूपमा श्री रूद्र बराललाई लिन सकिन्छ। उनी साहित्य क्षेत्रमा पनि बेला बेलामा छाइरहन्छन्। उनी शोणितपुर जिल्लाको बडसोलामा सन् १९६७ जन्मिएका हुन्। उनी हालमा उनी त्यहीँ शिक्षण कार्यमा संलग्न छन्। उनले समाजमा नेतृत्व दिएर आर्थिक, राजनैतिक, साहित्यिक, शैक्षणिक जागरणमा सदैव लागिपरेका छन्। उनी आफ्नो समाजको उन्नतिको मार्गमा लगाउनका निम्ति तन-मन-धनले लागिपरेका व्यक्ति हुन्। सदैव जातीय समस्याका सवालमा सांगठनिक र वैयक्तिक रूपमा सक्रिय छन्। उनी कसरी जातीय उन्नति हुने भन्ने कुरामा सदा चिन्तित देखिन्छन् र कुराले भन्दा कामले तिनलाई समाधान गर्ने प्रयत्न गर्छन्। हाल उनी नवगठित असम नेपाली साहित्य सभाका महासचिव हुन्। कविता र कथा लेखनका अतिरिक्त उनी एक सफल अनुवादक र समीक्षक पनि हुन्। उनका 'शहीद-ए-भगत सिंह' (हिन्दीबाट असमियमा अनुवाद), 'विप्लवी आन्दोलन मतादर्शगत उत्तरण' (अङ्गेजीबाट असमियामा अनुवाद) अनि इन्द्राणी भट्टाचार्यको असमीय उपन्यास दमिताको दस्तावेज उपन्यासको नेपाली अनुवाद गरेका छन्। र कथासंग्रह ‘चरित्रहरूका खोजीमा’ अल्मलिँदा' पुस्तकाकार रूपमा रहेका छन् भने उनले 'सम्प्रीति' नामक बहुभाषिक कविता संकलनको सम्पादन पनि गरेका छन्। ‘समकालीन भारतेली नेपाली साहित्य : गति र प्रवृत्ति’ (२०१९) का सम्पादक हुन्। यसका साथै उनले असमीय भाषामा प्रकाशित भएको ‘असमीय आरू नेपाली भाषा साहित्य संस्कृति’ (२०१८), र असमीय भाषामा नै ‘नेपाली साहित्यत आलोकपात’ (२०१८) गरी दुई महत्त्वपूर्ण ग्रन्थहरूको कुशल सम्पादन पनि गरका छन्। यसबाट उनको उद्देशय हाम्रो भाषा र साहित्यबारे समुचित अध्ययन समग्र असमेली समाजले नै पढोस्, जानोस् र बुझोस् भन्ने देखिन्छ।
समग्रमा चिनेर भन्नुपर्दा रूद्र बराल काम गर्ने र गराउने व्यक्ति हुन्। नेपाली भाषा साहित्य संस्कृति, संगठन र जातीय उत्थानका निम्ति अहोरात्र खट्ने कर्मी मौरी हुन्। बडसोलाका सचेत व्यक्तिहरूको सामूहिक प्रयासमा सञ्चालित मासिक साहित्यिक गोष्ठी कार्यक्रम चर्चाका उनी संयोजक हुन्। यसै मासिक भेला कार्यक्रममा उनले पठन गरिएका कथाहरूको संगालो हो 'चरित्रहरूको खोजीमा अल्मलिँदा'। कथासङ्ग्रह प्रकाशनपछि उनी कवितासङ्ग्रहको जमर्को गरेका छन्। उनको कवितासङ्ग्रह तेस्रो आँखो हाम्रा निम्ति एउटा नयाँ स्वाद, भाका, स्वर र भावमा आएको छ।
२. सन्दर्भ- रूद्रका तेस्रो आँखो:-
हाम्रा दुईवटा आँखाले सामुन्नेका बाह्य र भौतिक कुरा मात्र देख्दछन्। भौतिक जगत्‌का हुने गरेका वस्तु मात्र देख्दछन् तर तेस्रो आँखोले भित्रको कुरा देख्दछ। दुई बाह्य आँखाले गोचर हुने जीव चराचर र वस्तु देखिन्छ भने तेस्रो आँखाले ज्ञान र अनुभव, अनुभूति देख्दछ। तेस्रो आँखा खोलिनुको अर्थ ज्ञान अनुभव, संवेदना, अनुभूतिको बोध हुनु हो, आयाम बढ्नु हो, मानवीय चेतना बढ्नु हो। तेस्रो आँखाको दृष्टिकोणले ज्ञानको आयाम खुलिनु हो। आफ्नै जीवनलाई अलग ढङ्गबाट बुझ्न सकिन्छ। महादेव भगवानलाई त्रयम्बक भनिन्छ। यसो भन्नु तात्पर्य उनको तेस्रो आँखो हो। उनै रूद्रले हातमा त्रिशूल लिएका छन्। त्रिशूल हुन् इडा पिङ्गला र सुषुम्ना चेतनाको समन्वित रूप। यी तीन त्रिशूलहरूको खोजी गर्न पसे मूलतः रूद्रका यी तीन त्रिशूल देखा पर्छन्- व्यङ्ग्य चेतना, प्रगतिवशील चेतना र युगचेतना पाइन्छन्।
३. त्रिशूलको पहिलो शूल –व्यङ्ग्य
यहाँ असमका रूद्रको कवितामा पाइने एउटा मूल शूल हो व्यङ्ग्य। यहाँ कवि रूद्रका निति समाजमा विभिन्न तह-तप्कामा विभिन्न विकृति विसङ्गति देख्छन्। उनले राजनैतिक, सामाजिक, अन्धविश्वास, कुरीति आदिलाई प्रहार गरेका छन्। चुनावको खस्किँदो महत्त्व, दाउपेचलाई व्यङ्ग्यात्मक रूपमा लिएका छन्। सङ्ग्रहका प्याः जसो कवितामामा व्याङ्ग्य पाइन्छ। भोटको बजारमा, बुख्याँचा, अर्को एक सान्ताक्लज, आदि कविताको मूल स्वर नै व्यङग्य हो। कतै राजनैतिक, कतै सामाजिक, कतै धार्मिक व्यङ्ग्य छ। अहिलेको समयमा भोट भनेको झुटो आश्वासन, प्रलोभन, बाहुबली प्रथा, यो अनावश्यक कुरामा होडबाजी बनिसकेको छ। “गुन्द्रुकको हात हाल्नेका लागि मौका हो यो” भनेर भोटलाई विकृतिको पराकाष्ट रूप देखाएका छन्। यस घरि अर्को म नजन्माउ तिमी –कवितामा पन व्यङग्यभावका साथै युगचेतना पनि पाइन्छ।
कागहरूसमेत गिद्ध भएर झम्टन्छन्
निमुखाहरूमाथि
चितुवा आफैं हिँड्दैनन् चिथोर्न स्याललाई पठाउँछन्।
बुख्याँचा कवितामा वर्तमानको बुख्याँचारूपी अराजकता, असमञ्जसता, अन्योलता र अकर्मण्तामाथि तीब्र प्रहार गरिएको छ। मान्छे अचेल निर्बलिया, प्राणहीन, सम्वेदनाहीन र मानवाकारको बुख्याँचासमान भएको स्थितिमाथि व्यङ्ग्य गरिएको छ। एउटा अभागी बाबुको इच्छापत्र, बाटो, हम सब एक है आदि शिरोनामित कविताहरूमा मुख्यगरी व्यङग्य भाव पाइन्छ। बाटो कवितबाट नमूना लिउँ-
बाटाभरि बाटैबाटा हुन्छन्
मूलबाटो भन्दा चोरबाटा छोटा हुन्छन्
दिउँसो मूलबाटो हिँड्ने धेरै मान्छे
रातिराति चोरबाटो हिँड्छन्
चोरबाटो हिँड्नेहरू मानिस बनिन्छन्
नहिँड्नेहरू बेवकुफ ठहरिन्छन्।
हम सब एक है भन्ने कवितामा कविले जातीय अवस्थाको वास्तविकतादेखि विरक्त भई व्यङ्ग्य कस्छन्। उनको दृष्टि हाम्रो गोर्खाली जातिको उत्तान त होइन तर दिनदिनै पतन देख्छन्। भूपि शेरचनको हामी कविताझैं झै जातीय अनुपलब्धि र व्यर्थताको निम्ति कठोर व्यङ्ग्य कसेका छन्। राजनैतिक दल र सत्ताको स्वार्थमा लपेटिएर विस्तारै स्वत्व गुमाउँदै गरेको, आपसमा लुँछाचुडी, हानाहान आदिका कारण हामी खिँइदो अवस्थामा छौं।
४. रूद्रको दोस्रो शूल – प्रगतिशीलता :-
उनी मूलतः प्रगतिशील कवि हुन्। यद्यपि उनको प्रगतिशीलता असमकै ब्रह्मपुत्र नदी झैं बाहिरबाट नदेखिएर भित्री करेन्ट भए जस्तो लाग्दछ। उनी सोझै भनेर पनि भन्दैनन् तर पाठकले उनका कवितामा पारखी आँखा लाए प्रतिशीलताका बोध गर्न सक्दछ। प्रायः कवितामा निराशाको भाव रहेको लागे पनि मूलमा उनी आशावादी देखिन्छन्। अहिलेको जडसूत्रवाद, यथास्थितिवाद अन्योलता कुनै दिन चेतनाले भत्केर परिवर्तनको मार्गमा हिँड्नेछ। समाजका तल्लो तह, निमुखा जनतालाई सहानुभूतिपूर्वक हेर्ने बरालजीका कविताको मूल स्वर हो। उनका किताबहरूलाई प्रगतिवादी दृष्टिकोणले अध्ययन गरे यसभित्र प्रगतिवादका धेरै तत्व फेला पर्द्छन्। विद्रोह चेतना, वर्गीय चेतना, वैचारिक द्वन्द्वमा विश्वास, अधिकारका निम्ति वकालती, वैज्ञानिक दृष्टिकोणप्रति आग्रह जस्ता कुरा पाइन्छन्। रूढि विरोध, क्रान्ति चेतना, परिवर्तनाकांक्षी, मानवताको स्वर, सौन्दर्यको खोजी, सामाजिक जीवनको यथार्थ चित्रण, समसामयिक राष्ट्रिय र अन्तराष्ट्रिय चिन्तन आदि तत्व पाइन्छन्। समाजमा आमूल परिवर्तन नभई सुख छैन। कवितामा क्रान्तिका लप्लपाउँदा फिलुङ्गो प्रकट नभए पनि परोक्ष रूपमा वैचारिक क्रान्तिबाट समाजमा आमुल परिवर्तन भएको चाहन्छन्। रूद्र बरालका कवितामा राष्ट्रिय चेतनाको साथै अन्तर्राष्ट्रिय चेतना प्रबल रूपमा देखिन्छ। उनको चिन्तन विश्व चिन्तन हो, उनको गाउँ विश्वग्राम हो, उनको मान्छे विश्वका मान्छे हुन्, उनको पीडा विश्वको पीडा हो। राँको, चट्याङले ब्युँझिएको मान्छे, शब्दको पनि प्राण हुन्छ, प्रहेलिका, आदि यस प्रवृत्तिका मुख्य कविता हुन्।
५. रूद्रको तेस्रो शूल – युगचेतना:-
यस युगका विकृति विसङ्गतिलाई काव्यिक अभिव्यक्ति दिएका छन। आमालाई अब मलाई फेरि नजन्माइदिनु भन्छन्। यस युगमा जिउनु कठिन छ, जात जाति धर्म सम्प्रदाय आदिबाट यस युगका मानिस चेप्टिएका छन्। यहाँ आडम्बर, विज्ञापन पाखण्ड, हल्ला खल्लाको बजार छ। जाली ठगी आदिका नयाँ नया अवतार आएका छन्, तिनले नयाँ नयाँ तरकीब, जुक्ति, तिगडमबाजी आदिद्वारा यस युगका मान्छेलाई नयाँ संस्करणबाट ठगिरहेका छन्। बजार कवितामा अहिलेको समयमा हल्लै-हल्ला, अमानवता, अनावश्यकता, ठगी चोरी असत्य आदिको बजार छ भन्ने भाव व्यक्त गरेका छन्। भोक कवितामा पनि भोजनको भोक मेटिएका छैन तर पद, धन, लालसा आदिको भोक अझ तीब्र भएको तथ्य देखाइएको छ।
बिखर्ची समय कवितामा अहिलेको युगमा मान्छे अति व्यस्त छ तर फलहीन र उपलब्धिहीन छ। मान्छे अनावश्यक आवश्यक कुराहरूबाट जेलिएको छ। कुनै ठोस काम नभएर विभिन्न खुजुरे, निष्कर्षहीन सय गुज्रिरहेको कुरालाई देखाएका छन्। च्याँखे कवितामा पनि आजको युगमा मान्छे जिउनु नै च्याँखे थापेजस्तो भइसकेको छ। जीवनको सङ्घर्षमा केही उपलब्धि हासिल गर्नसमेत केही च्याँखे थापेजस्तो हुन्छ। अर्को एक शान्ताक्लज कवितामा पनि हाम्रो जातीय चिन्तन पाइन्छ। हाम्रो राजनैतिक अवस्थामा कुनै सुधारात्मक सङ्केत छैन। नेतार सत्ताहरूले पुरानै चिजलाई लोलोपोतो गरेर हाम्रो अस्मितामा खेलवाड़ गरिरहेका छन्। ससाना प्रलोभन देखाएर, ससाना सुविधा दिएर हामीलाई भुल्याइरहेका छन्। हामी पनि यस्ता साना साना झिना-मसिना ललिपपमा भुलिएर हाम्रो अस्तित्व गुमाइरहेका छौं भन्ने युगीन चेतना झल्काएका छन्। तेस्रो आँखो कवितामा मान्छेलाई मानवताले भन्दा धर्म, संस्कार, संस्कृति र शिक्षा आदिले जकडेको छ। मान्छेको हरेक गतिविधि अब लुक्न सक्दैन तर मानवता भने विकसित भएको छैन। मान्छे अब तकनिकीको निम्ति वस्तु मात्र बनेको छ। मान्छेको गिर्दो अवस्थाको सङ्केत छ-
मानिस शिक्षित बन्यो - सभ्य बनेन
मानिस शक्तिशाली बन्यो – सहनशील बनेन ।
यस कवितामा वर्तमानको पीडादायी स्थितिलाई मिथक, इतिहास, धर्म, संस्कृति आदिलाई मुछेर नयाँ गरी प्रस्तुत गरेका छन्। कोरोनाकालीन यस संकटको अवस्थालाई पनि सङ्केत गरिएकोछ। मान्छेले संसार जिते पनि वास्तवमा हारेको छ भन्ने भाव अभिव्यक्त छ। अस्वस्थामा हतः, रहर, मेरी बहिनी र म, विखर्ची समय, दृष्टिकोण, पेण्डुलम, बरालका कवितामा कथ्यलाई विभिन्न सन्दर्भ, प्रतीक, विम्ब, मिथक आदिद्वारा कलात्मक ढङ्गमा व्यक्त गरिएको पाइन्छ। भन्ने कुरा सोझै नभनेर यसरी विभिन्न सौन्दर्यका उपकरण प्रस्तुत गरिएको छ। थोरै शब्दमा धेरै बुझिने, लाक्षणिक अर्थ दिने पाइन्छ। मानवीय समवेदनालाई उनका कविताहरूले राम्ररी सम्बोधन गर्न सकेका छन्। हाती आयो, आयो फुस्स कवितामा पनि सामुएल बेकेटको गोदोको प्रतीक्षा नाटकको झैं विसङ्गतिपूर्ण संसार र युग देख्छन्। यही नाटककै चरित्राङ्कन गरेर कविले अदृश्ट गडोलाई अनुपलब्धि, अन्धविश्वास, काल्पनिक खेती र यसका संयत्रप्रति व्यङ्ग्य कसिएको छ। यथास्थितिको बडेमानको ढुङ्गो झैं कविका निम्ति गोदो शून्यताभित्र, चुनावको समयको झुटो आश्वासनभित्र, हल्लाभित्र, अराजकताभित्र, अविकास, बेरोजगारी र संत्रासहरूभित्र छ।
६. रूद्र हिँडेको काव्यिक मार्ग:-
कवितामा रूद्र बरालले आफ्नै मौलिक बाटो पहिल्याउने काम गर्दैछन्। उनका कविताहरूमा व्यङ्ग्यकारिता, प्रगतिशीलता र युगीन चेतनाहरू परस्परमा सम्मिलत छन्। सबै एकै ठाउँमा घुलमिल गर्दछन्। उनको काव्यकारितालाई खुट्याउने क्रममा डा कविता लामाले पनि केही प्रवृत्ति र स्वरको सन्धान गरेकी छन्। असमका अन्य कविताका तुलना उनी आफैंमा अलग छन् र मौलिक छन् । उनका कवितामा उपर्युक्त खुट्याइएका मुख्य गरी तीनवटा प्रवृत्तिहरू व्यङग्य, प्रगतिशीलता र युगचेतनाभित्र जातीय चेतना, सुधार चेतना, परिवर्तनाकाङ्क्षी आशावाद छ। उनका कवितामा चाल नपाउँदो गरी विद्रोह चेतना, ईश्वरप्रति अनास्था, द्वन्द्वमा विश्वास राख्ने वर्तमानको राजनैतिक, आर्थिक सामाजिक व्यवस्था र प्रणालीप्रति आदिको असन्तुष्टि व्यक्त गर्छन् यद्यपि निराशाभित्र आशा, अनास्थाभित्र आस्था, विनासभित्र विकास, अचेतनताभित्र चेतना देखेका छन्। यही नै उनको मौलिकता र नयाँपन हो। विकृतिहरूमा सौन्दर्य देख्छन्।
७. मूल्याङ्कन र उपसंहार :-
नेपाली कविता साहित्यमा अब असमका रूद्र बरालको नाम पनि देखा पर्दैछ। अहिलेस्मम उनका कविता पत्रिका हुँदो छरिएका मात्र थिए, तिनको समुचित अध्ययन र चिन्तन भएका थिएनन्, अब ती छरपस्टिएका सतताइसवटा कविताहरूलाई तेस्रो आँखो नाम दिएर सङ्कलन गर्ने काम गरेका छन्। यस नाम रखाइमा समेत उनको शीर्षक सचेतता झल्किन्छ। शिवको तेस्रो आँखाले अदृश्य अगोचर कुरा देख्दछ। कविले पनि युगका अरूले नदेखेको विभिन्न कुरा देख्छन्, बोध गर्छन् र आत्मसात गर्छन्। उनको अनुभूतिलाई कविताहरूमा छाम्दा व्यङग्य, युग चेतना, राष्ट्रिय र अन्तराष्ट्रिय चिन्तन, अन्धविश्वासप्रति अनास्था, जातीय चिन्तन र चिन्ता, युग चेतना आदि जस्ता प्रवृत्ति पाइन्छन्। उनको कवितामा चाल नपाउँदो गरी प्रगतिशील चेतना पाइन्छन्। उनी परिवर्तनका निम्ति आशावादी छन्। आशाको राँको बाल्न चाहन्छन्, युगको यथास्थितिलाई पल्टाएर नयाँ मार्ग खोल्ने चाहना राख्छन्। सङ्ग्रहभित्रका सत्ताइसवटाकवतामा विभिन्न सव्र पाइए तापनि शिवजीको त्रिशूल झैं हाम्रा रूद्रका पनि काव्यिक चेतनाको मुख्यगरी तीनवटा शूल पाइन्छन्।

कालिम्पोङ।

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 24 आसाढ, 2077

लेखकका अन्य रचनाहरु