उज्यालोको दमित आकाशभित्रको कविताहरूमा वस्तुध्वनि

- सुकराज दियाली

आमुख
मेघालयको तुरामा 17 मई 1951 मा जन्मीएका कवि पदम क्षेत्री भारतीय नेपाली साहित्यमा कविको रूपमा चिन्हित नाम हुन् । उनी उत्तर-पूर्वी भारतको तुरा { मेघालय, तत्काली असम }मा हुर्की पढ़ी शिक्षा ग्रहण गरीकन पत्रकारितामा आफ्नो जीवन व्यतित गरेको पाइन्छ । 80 -को दशकमा प्रकाशित कृतिहरूले उनीभित्र रहेको साहित्यिक व्यक्तित्वको उर्वरतालाई बुझाउँछ। उनीको साहित्यप्रति सक्रियतालाई बुझ्न गाह्रो हुँदैन । उनको प्रकाशित साहित्यिक कृतिहरू आदिम सड़क { कविता संकलन 1985 }, तुराका नेपालीहरू { शोधपरक निवन्ध, 1993} र उज्यालोको दमित आकांक्षा { अगस्त, 2008] ।
उज्यालोको दमित आकांक्षाः
पदम क्षेत्रीको प्रकाशित काव्यकृतिमा उज्यालोको दमित आकांक्षा { 2008} लाई दोस्रो कविताकृतिको रूपमा पाइन्छ । निर्माण प्रकाशन गुम्पा धुर्पिसे नाम्ची, दक्षिण सिक्किमद्वारा सन् 2008- मा प्रकाशित रहेको पाइन्छ । जसको आवरणचित्र कवि वीरू वाङ्देलले गरेका छन् । कड़ा सुन्दर कभरले सुसज्जीत यो कविता सङ्ग्रहमा 50 वटा फुटकर कविताहरू समावेश गरेका छन् । 112 पेजका यो सङ्ग्रहमा प्रकाशनको पक्षमा पवन चामलिङ- किरण- ले प्रकाशकीय लेखेका छन् भने कवि आमुख –मा आफ्नो कविताको सिर्जना पक्षलाई न्याय दिने काम गरेका छन् ।
{1988 – 2004} सत्रवर्ष कविता नलेखी ठप्प बसे कवि । उज्यालोको दमित आकांक्षाहरू – भित्रका कविताहरू प्रायः सन् 1984 देखि 1987 सम्म लेखिएका कविताहरू यसमा समावेश गरेका छन् । सन् 2005 देखि 2007 सम्म रचिएका थोरै कविताहरू थैथाप गरिकन 50 वटा कविताका आवाजलाई मुक्ति दिएका छन् । पहिलो प्रकाशित आदिम सड़क कविता सङ्ग्रहपछि 22 वर्षको लामो ग्यापपछि देखापरेका यो कृतिले कविको जीवनसित टाँसिएको यथार्थ समयहरू छन् । 80- को दशकको जीवन भूगोल र कविले भोगेका नाङ्गो आँखाले देखेका नबिर्सिने घटना र उपघटनालाई कवितामा व्यक्त गरेका छन् ।
उज्यालोको दमित आकांक्षाः यहाँ उज्यालो भनेर छर्लङ्ग देखिने, वस्तुध्वनिको वोध गर्न सकिन्छ । नाङ्गो आँखाबाट स्पष्टीएका तथ्यपरक जीवनका तीता र अपच्य कार्यव्यापार कवितामा टिपेका छन् । हुन त कविले कविता लेखनमाथि आफ्नो धारणालाई यसरी स्पष्ट पारेका छन् – ‘कविता आत्मासँग आत्माको संवाद हो । कविता आफ्नो सबभन्दा गहन र निजी क्षणमा , मन र चेतना जागृत भएको अवस्थामा रचिने विधा हो भन्ने लाग्छ मलाई । मेरो स्वप्नशीलता र मेरो अर्न्तमुखीपन नै कविताप्रति आकृष्ट हुने कारक तत्व हो मेरो लागि ।“
{ क्षेत्री, 2008 :07} । यहाँबाट स्पष्ट हुन्छ कि उनका कविताहरू आत्मानुभूतिका कविताहरू हुन् । उज्यालो यहाँ मानव जीवनसित भइरहेको अवस्था र व्यवस्था परिवेशबाट जन्मीएर हुर्कीन्दै गएका अमानवीयलाई देख्ने र बुझ्ने अर्थतिर लागेका छन् । पदम क्षेत्रीका – उज्यालोको दमित आकांक्षा – मा दमित आकांक्षा - ले सहनशीलता र उकुसमुकुसको भावलाई विस्तार गरेको पाइन्छ ।
उज्यालोको दमित आकांक्षा-मा वस्तुध्वनिः
प्रत्येक जसो कविता सङ्ग्रहको कविताहरू कुनै न कुनै विषयवस्तुसँग सम्बन्धित हुन्छन् । वाच्यरूपमा प्रस्तुत भएको विषय सन्दर्भभन्दा बैग्लै विषय सन्दर्भ कविताहरूमा ध्वनित गर्नेलाई नै वस्तुध्वनिको संज्ञा दिइन्छ । पदम क्षेत्रीको उज्यालोको दमित आकांक्षा – को कविताहरूमा उनले जीवनमा भोगेका भोगाइहरू र समाजमा छाएको विसङ्गतिहरू विषयवस्तु प्रधान भएर व्यक्त भएका वस्तुध्वनि मान्न सकिन्छ । हुन त वस्तुध्वनि पनि अन्त्यतः रसध्वनिमा नै समेटिन पुग्ने हुनाले यसमा प्रयुत्त वस्तुध्वनि रसध्वनि भनी चिन्हित गर्न सकिन्छ ।
कविले बाँचेका समयमा समाजमा देखिरहेका देखावटी र बनावटी मानव प्रवृतिले भित्राएको निराशापनलाई संकेत गरेका छन् । मानिस आफ्नो मौलिकतालाई छड़ेर समाजमा देखाउने र आफु ठूलो भएको वोध गर्ने मानिसभित्रको प्रवृति बाहिरी रूमाले भित्र गुन्द्रुक उमाले -लाई विषय सन्दर्भद्वारा वस्तुध्वनिको रूपमा प्रस्तुत गरेका छन् ।
नचाएर हात हातै वतासले
कुन्नि कहाँ-कता पुऱ्याइसकेको थियो ।
तिम्रो देहको परफ्युम पनि । { विसङ्गति,15 }
कवितामा सामाजिक विसङ्गति विकृतिप्रतिको आक्रोशको स्वर, आस्थाहीन र निराशामूलक अभिव्यक्ति यहाँ वस्तुध्वनिको रूपमा प्रकट रहेको पाइन्छ ।
समाज परिवर्तनको नाममा विसङ्गति मौलिन्दै गएको । समाजबाट सामाजिक परिवेश क्षतविक्षत बनेको यस्ता स्थितिप्रति कवि चिन्तित बनेको देखिन्छ । मानव जीवन पद्धतिमा भइरहेको अकल्पनीय परिवर्तनले समाजमा विकसास मात्र होइन विनाशलाई निम्ताएको विषय सन्दर्भलाई वस्तुध्वनिकसो रूपमा कवितामा प्रकाश पारेका छन् ।
कुइरोको पातलो बर्को ओढ़ेर
थरथर काप्दै होला
युद्ध
जाड़ोले कठ्याङ्ग्रिएर
हाई काढ़दैछ
नदी । { म घर फर्कीदैँछु, 17 ]
फसिसकेको छ
चिसो ठिही
नैराश्यको मभित्र
परिणत भइरहेछन्
हिउँका ढिकाहरूमा
मभित्रका । { ठिही,20}
जीवन जगतको उद्भवको हेतु आत्मा र अनिवर्चनिय शक्ति मायामा निहित रहेको हुन्छ । त्यसैले त अद्धैतवादले मायालाई सम्पूर्ण संसारकै बीजशक्तिको रूपमा मानिलिएका छन् । मायाको मूल आश्रय ईश्वरको रूप हुन् । माया आत्माको प्रकाश हुन् । जीवन बाँच्ने उर्जाको रूपमा मानव जगत संचार भइरहन्छ । यो संसारको अमानवीय तत्व द्वेष, घृणा, द्वन्द्व, अहिंसा होइन हार्दिक, संवेदनशील र आत्मिक प्रेभाव नै कविले अन्तरमनबाट स्वीकारेका छन् . आत्मिक प्रेमभावले मात्र जीवन सार्थक बन्छ । त्यसैले मानिसले पवित्रप्रेमको गीत गाउन सक्नुपर्छ भन्ने वस्तुध्वनिलाई अघाड़ि बढ़ाएका पाइन्छ ।
समुद्र-तटमा उभिएझैं लाग्छ
मलाई
तिम्रो नजिक हुँदा । { तिम्रो नजिक हँदा, 18 }
मगमगाउन मन लागेको छ
तिम्रो मुटुको एकान्त टापुभरि
एक रात । { कस्तुरी देह-सौरभ-1,30}
भारतको उत्तरपूर्वीय राज्यमा गोर्खाहरूको भयबीत र त्रास जीवन बिताउनुपर्छ । अन्य जाति र भाषीहरूका शोषण, दमनमा चेप्टीएर बाँच्नुपर्छ । मानवहीनता सामजिक परिवेशमा थिचिएर बाँचिरहेका जीवनहरू पाइला-पाइलामा मृत्युको आभा, गर्छन् । आफ्नै जन्मभूमि देशमा विदेशी जस्ता भावले हेरिएर हेपिनु पर्ने अवस्थालाई झेल्दै बाँचेका गोर्खाहरू आफैलाई असुरक्षित महसुस गर्छन् । यस्ता अवस्थामा चेप्टीएर बाँचेका जीवनले उन्मुक्ति खोजेका आवाजहरू वस्तुध्वनिको रूपमा कवितामा ध्वनित रहेको देखिन्छ ।
मैले यस्तो घर त कहिल्यै पनि सोचेको थिइन
कसले रोपेका सिउँड़ीका यी झ्याङहरू
कि आफै उम्रिन्छन् यी काँड़ाघारीहरू
कोठेबारीमा ? { घर, 72 }
प्रकृति र प्राणी जगतमा नङ र मासुको सम्बन्ध छ । प्रकृतिको हरेक कुराहरूबाट प्राणी जगतले बाँच्ने सहजता पाउँछन् । प्रकृतिको सुन्दर वर्णनले मानव जीवनमा उत्साह, प्रेम र आत्मबलका शक्तिहरू सावित रहन्छन् । यस्तै कवि पदम क्षेत्री प्रकृतिप्रेमी कविको रूपमा चिन्हित गर्न सकसिन्छ । उज्यालोको दमित आकांक्षा – भित्रको कविताहरूमा प्रकृतिको महिमा गाएका छन् । प्रकृतिको सुन्दरतालाई कवितामा अङ्कन गरेका छन् । हिमाल, पहाड़, हरियो चउर, ओराली-उकाली, नदी-खोला, झर्ना, रूखपात, घाम-जून, ऋतु, फूलफललाई आफ्नो कवितामा टिपेका छन् । यहाँ ग्रामीण जीवनको दैनिकव्यापारमा देखिने सुन्दर दृष्यलाई कवितामा उतारेका छन् ।
चरा चुरूङ्गीहरू फर्किन्दैछन्
आ-आफ्नो गुँढ़तिर
चिर्बिराउँदै
वितरागी धुन गाउँदै
फर्किन्दैछन् गाई वस्तुहरू
चरणबाट गोठतिर
आ-आफ्नो गोरेटो पहिल्याउँदै
खुरले धुलो उड़ाउँदै । {साँझ यसरी नै फेरिन्छ रातहरूमा, 75 }
पुरै मगमगाइरहेछ वन-प्रान्त र
कटहर, आँप र लिचीको सुगन्धले
तिमी आयौ
सँगसँगै आए, मौरा भँवराहरू { तिम्रो आगमनले, 77 }
पदम क्षेत्रीले आफूले बाँचेका समय र परिवेश एवं सामाजिक जीवनबाट प्राप्त अनुभूतिलाई कवितामा व्यक्त गरेका छन् । उनका कविताहरूमा मानवीय पीड़ा, करूणा, नैतिक विवेक, आधुनिक मानव सभ्यताले ओड़ेको आडम्बरी, देखावटी प्रवृति, जीवनका दुःख सुख पलले नै कवितामा अंकित रहेको पाइन्छ । स्वतन्त्र जीवनको मोह. संकीर्णता जातीयता भाव, समाजवाद, विरोध, विसंगति, कुण्ठा, अवस्था, जीवनवादी चिन्तन, राष्ट्रप्रेम, संस्कृतिवोध, अस्तित्ववोध जस्ता विषय सन्दर्भ उज्यालोको दमित आकांक्षा-भित्र ध्वनिरहेको देखिन्छ । पदम क्षेत्री भारतीय नेपाली साहित्यमा तुराबाट उदाएको एकजना सशक्त कविको रूपमा यस कविता सङ्ग्रह उज्यालोको दमित आकांक्षा – ले चिनाएको पाइन्छ ।

दार्जिलिङ

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 24 आसाढ, 2077

लेखकका अन्य रचनाहरु