दुर्दिन फेरिएन

- काशीनाथ मिश्रित

(इन्द्रबज्रा छन्द)

बाँचीरहेथ्यो अति कष्ट भोगी
बन्दै हजारौँ दिन दीर्घ रोगी ।
सम्भावना कत्ति हुँदैभएन
आशा मर्यो दुर्दिन फेरिएन ॥

आशा रहुन्जेल न बाँचिने हो ।
आशा हराएपछि के हुने हो
सानो फिलिङ्गोतक देखिएन
आशा मर्यो दुर्दिन फेरिएन ॥

अत्यन्त उत्साहित बन्दथ्यो त्यो
चर्का ति नारा पनि सुन्दथ्यो त्यो ।
टेढो गरेरै पनि हेरिएन
आशा मर्यो दुर्दिन फेरिएन ॥

बन्नेछ नेपाल त स्वर्ग जस्तो
भोग्यौँ सधै नर्क समान यस्तो ।
बाचा हजारौँ गरियो रहेन
आशा मर्यो दुर्दिन फेरिएन ॥

बाँडेर आश्वासन लाख नाना
हुन्थ्यो बडो भाषणमा बयान ।
भोको र नाङ्गो अब क्वै रहेन !
आशा मर्यो दुर्दिन फेरिएन ॥

दुःखी अझै खाडलभित्र पस्ने
सम्भ्रान्तले झन् धनमात्र थप्ने?
पैले भने झैँ किन हेरिएन?
आशा मर्यो दुर्दिन फेरिएन ॥

उस्तै रह्यो हालत साहिँलाको !
घट्दो भयो उन्नति माहिलाको !!
जेठो र कान्छो पनि फेरिएन !!
आशा मर्यो दुर्दिन फेरिएन ॥

फेरिन्न आन्दोलनमा गुमेको
खुट्टो छ उस्तै किन घाइतेको?
चिच्याइराख्दा पनि टेरिएन ।
आशा मर्यो दुर्दिन फेरिएन ॥

रित्तै छ ज्यामीहरुको भँडार !
हेर्दैन कोही पनि फर्किएर ।
निन्याउरा बालक हेरिएन ।
आशा मर्यो दुर्दिन फेरिएन ॥

सम्भावनाको घर संविधान
आयो अरे झोपडिमा पुगेन
तिन्को सुबिस्ता कहिल्यै भएन ।
आशा मर्यो दुर्दिन फेरिएन ॥

राजा हटे त्यो पद रैतिको भो ।
आशा थियो लौ अब क्यै हुने भो ।
राजा हुने चिन्तन फेरिएन ।
आशा मर्यो दुर्दिन फेरिएन ॥

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 24 आसाढ, 2077

लेखकका अन्य रचनाहरु