गजल

- आशा लिम्बू

सन्चै छौ छोरा सोध्नै सकिन मेरो आँखा रसाएर
ढोगेथ्यो नबोली मेरो पाउमा तप्प आँसु खसाएर
.
खपेछौ तिमीले कति हण्डर कष्ट एक्लै परदेशमा
रोजगार खोज्दै जादा जीवन नै मुङ्लान भसाएर
.
आफ्नो जमिन नहुदा वनपाखा खन्न जा भनिएन
दु:ख गरेर’नि शिक्षा दिलाइयो विद्यालय पसाएर
.
कारखाना उद्योग सरकारी जागिर कतै नपाउदा
महत्व नहुने रछ, विद्याबारधिसँग घर बसाएर
.
आफ्नो भविष्यसँगसँगै परिवार पनि पाल्नै पर्यो
कमा भन्दै बरु पठाइयो निधारमा भिसा घसाएर
.
धेरै सकसका दिनहरु झेलियो दुई छाकको लागि
आत्मिक सन्तुष्टहरु वियोगको साँपद्वारा डसाएर
.
आज आमाको काख पनि रित्तो छ एकाकीपनमा
फर्क छोरा सितोपिठोसित बाँचौ अब ओंठ हँसाएर

धरान, हालः काठमाण्डाैं

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 24 आसाढ, 2077

लेखकका अन्य रचनाहरु