मासु महिमा

- मनिश कुमार शर्मा समित

कुरा धेरै अघिको हो । म भर्खरै मात्र एस. एल. सी सकेर काठमाण्डौं छिरेको थिएँ । दाइ चावाहिलको एक घरमा कोठा लिएर बस्नु भएकोले मलाई कोठा खोजिरहने झन्झट भएन । मेरो दाइ तीन वर्ष अघि नै आउनु भएको थियो । सानो कोप्चो कोठा.... यता फर्के यतै ठोक्किने उता यता फर्के उतै । हुन त यो कोठा पहिला भिनाजुले भाडामा लिनुभएको थियो । भिनाजुको दोलखा तिर सरुवा भएपछि दाईको रजाई भएको थियो । तैपनि भिनाजु काठमाण्डौं आउदा यहिँ बस्नु हुन्थ्यो ।

काठमाण्डौं आएको एक महिना सम्म त कलेजहरु छान्दै बित्यो । साह्रै महँगा कलेज.... के सम्झन्छन कुन्नि...पैसा रुखमा फल्ने जस्तो.... । मेरो परिवारको आर्थिक अवस्था त्यति सुदृढ थिएन । दाइ पनि पढ्दै... जागिर थिएन.... । म मध्यम स्तरको मिनभवन अवस्थित एक कलेजमा भर्ना भएँ । बिहानको कलेज आउजाउ गर्न दाइले खटाएर गाडीभाडा दिनुहुन्थ्यो । म दाइले दिएको पैसा बचाएर राख्थे...... हिडेरै कलेज आउने जाने गर्न थाले ।

कोठा ईन्टरलक सिस्टमको...... साँचो एउटै थियो । जो बाहिर निस्के पनि साँचो ढोका अगाडिको गमला मुनि राख्ने गर्थ्यौं । दाइको दिउँसोको क्याम्पस... बिहानको खाना जिम्मा दाइको...बेलुका मेरो.... । हाम्रो खाना प्रायः तरकारीको झोल र भातनै हुन्थ्यो । माछामासु खान कि त महिनौ कुर्नु पर्ने कि त भिनाजु नै आउनु पर्ने । भिनाजु माछा मासुको सौखिन.... जहिले आउँदा बस्दा दशैं आएझैं हुन्थ्यो । हामी दुई भाई पनि मासु भने पछि मरिहत्ते गर्दथ्यौ... तर के गर्नु घरबाट पठाएको सिमित पैसाले घर भाडा... कलेज,क्याम्पसको शुल्क र महिना भरिको अरु खर्च पुराउन धौ धौ पर्ने । साच्चै भन्नु पर्दा एक पाउ मासुले तीन छाक पुर्याउने कोसिस गर्दथ्यौ । एक पाउ ल्यायो चर्लङ्ग घुँडा घुँडा झोल हाल्यो..... टन्न झोलभात खायो । मासुको चौटा अर्को दिनलाई साचेर राख्यो.... फेरि अर्को दिन मरमसला प्याज हाल्यो फेरि टन्न झोल हाल्यो ......अहिले सम्झेर हाँसो चल्छ....

शनीबारको दिन दुबै दाजुभाइले मासु खाने सोच बनायौं । धेरै दिन भएछ नखाएको । दाइले एक पाउ मासु किन्ने पैसा दिनुभयो । आ... आज त अलि धेरै लानु पर्ला ..... सोचेँ । मैले बचाएर राखेको पैसा गने .... ‍अरु थप एक पाउलाई पुग्ने रैछ... मन फुरुङ्ग भयो । सधैं भन्दा केहि धेरै मासुको मात्रा देखेर दाइले भन्नुभयो...

“हैन मासुको भाउ घट्यो कि के हो ...?”

“हैन म सँग पैसा थियो... अलि थपेर ल्याएँ । “

“तँसँग पैसा कताबाट आयो हँ...? “ दाइले केरकार गर्न खोज्नु भयो ।

मैले कसरि पैसा बचाएर राखेको बेलिबिस्तार लगाए... दाइ पनि दङ्ग... ।

“ल सबै पका .... आज एक पाउ जति खानु पर्छ .... बाँकि भोलि बिहान...” दाइले भन्दै हुनुहन्थ्यो ... मेरो पनि त्यहि सोच आएको थियो ।

“ए .... मेरो त भोली कलेजमा कार्यक्रम छ... बिहानको खाना खान त पाउँदिन म...” झल्यास्स हुदैं भने ।
“ठिकै छ.... भोली बेलुका खाउँला...” दाइको जवाफ आयो ।

त्यस दिन अरु दिन भन्दा स्वादले खायौं ।

भोलीपल्ट कलेजको वार्षिक कार्यक्रममा नाच गान र हुटिङ्ले शरिर धेरै थकित भयो । भरे मस्त मासुको झोल र भात खाएर थकाई मेटाउनु पर्ला.... मनमनै गम्दै मुसकुराए । कोठामा आइपुगे । दाइ अझ आइपुग्नु भएको थिएन । साँझको खानपिनको तयारि गर्न थाले.... मासुको लागि प्याज मसला तयार गरे ।

मासुको भाडोमा हेर्छु त भाडो रित्तै.... आँखा तिरिमिरि भयो... आँखा मिचेर फेरि हेर्छु ... जस्ताको तेस्तै.... कल्ले खायो...? दिमाग घोरिन थाल्यो । पक्कै दाइले.... कोठामा उहाँ बाहेक कोहि पनि थिएन..... बिहानको खानापनि उहाँले मात्र खानु भएको हो.....हैन के साह्रो लोभी हुनुभएछ दाइ..... एक्लै कसरी खान सकेको होला.... मलाई भित्रभित्रै दाइ देखि रिस उठ्न थाल्यो ।

खै.. के पकाउने.... म भुतभुताउन थालें । यताउति छामछाम छुमछुम गरे....केहि भेटिन....पैसा पनि छैन ...। हेर्दै गएँ.... रित्ता झोलाहरु छाम्दै गए..... कतै केहि भेटिन....

खोज्दा खोज्दै एउटा चाउरी परेको आलु भेटें... हातमा लिएर हेरें ... आलुले जिस्काइरहेको जस्तो लाग्यो.... ‘चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी....’ मलाई झन पारो चड्दै आयो । ‘पखेस तँलाई...’ तँलाई नै आज बनाउँछु... दाइको रिस आलुमा पोख्न थाले.... नमिठो गरि बोक्रा तास्न थालें ।

दाइ साँझमा आइपुग्नु भयो । दाइ कोठामा छिर्न नपाउदै झर्केर सोधिहाले....

“दाइ सबै मासु खानु भयो हैन..” अकस्मातको मेरो झर्काइले दाइ अक्क न बक्क पर्नु ।

“हैन भन्छ यो... कहाँ मैले खानु....”

“अनि कसले खायो त ...? बिहान हजुर मात्र त हुनुहुन्थ्यो खाना खाने ....” म दाइलाई दोष लगाउन थालें ।

“ नकरा.... आफुले खाइस् होला.... मलाई दोष लगाउँछस्....” दाइ अलि कड्किन थाल्नु भयो ।

चुपलाग्नु सिबाय कुनै उपाए थिएन... आमाले घर बाट पठाउनु भएको गुन्द्रुक र त्यहि आलु को झोल बनाए । त्यसैलाई मासुको झोल सम्झि खाना खायौं ।

बिछ्यौनामा पल्टेर सोच्न थालें .....आखिर कसले खायो त ... दाइ पनि हैन भन्नुहुन्छ.... कतै चोर त छिरेन कोठामा.... अँह हैन... छिरेको भए त सबै सामान उथल पुथल हुनुपर्थ्यो.... त्यो पनि छैन... घरबेटीका परिवार त मासु मुखैमा हाल्दैनन् ..... फेरि कस्ले त .... सोच्दा सोच्दै कुन बेला निदाउन पुगेछु पत्तै भएन....

अर्को दिन भारी मन लिएर कलेजबाट कोठा फर्के । ममा मासुको तृष्णा हटिसकेको थिएन । त्यत्रो दिन देखि बचाएर राखेको पैसाले किनेको... कुन चाहिँले घिच्यो .....त्यसको मुखमा त..... रिस अझ मरिसकेको थिएन । कोठामा पुगें । दाइ क्याम्पस जानुभएकै रहेन छ । आफ्नो किताबमा मस्त देखें । चुपचाप खाना खाएँ र म पनि किताब लिएर घोत्लिन थालें ।

बेलुकिपख तरकारी किन्न तरखरमा लागेर दाइसँग पैसा मागे ।

“नढाँटि भन त भाइ हिजो मासु तैंले खाएको हो ....? “ पैसा दिदैं दाइले फकाउँदै सोध्न थाल्नुभयो । दाइको मुहारमा पनि ममा झैं कौतुहल्ता दौडेको प्रष्ट देखिरहेको थिएँ ।

“हैन दाइ धरोधर्म मैले खाएको छैन...” दाइलाई विश्वास दिलाउन खोजें ।

त्यहि समय कसैले ढोका ढकढकायो .... दाइ ढोका खोल्न जानु भयो ...

“ए... भिनाजु पो आईपुग्नु भएछ... ढोग गरें है भिनाजु... “ भन्दै दाइले भिनाजुको झोला समाउनु भयो ।

“ढोग गरें भिनाजु...” मैले पनि ढोग चडाएँ ।

“के छ तिमिहरुको खबर.... “ खाटमा बस्दै भिनाजुले भन्न थाल्नु भयो ...

“म त हिजै आएको थिएँ... एक छिन यता पनि आएको थिएँ.... तिमीहरु थिएनौ .... फेरि साथीले उसैकोमा बस्ने भनेर कर गर्यो हिजो उतै बसियो...”

भिनाजुले खल्ती तिर हालेर पैसा निकाल्दै मलाई भन्न थाल्नु भयो ...” ए बाबु ल लेउ पैसा... एक किलो मासु किनेर ल्याएर हिजोको जस्तै मिठो गरि पकाउ त..... साह्रै मिठो थियो.... जिब्रोमै स्वाद झुन्डिरहेको छ .....”

हामी दुई दाजुभाइ पक्क पर्यौं ..... एक अर्काको मुख हेरेर मुसुमुसु हाँस्न थाल्यौं ........

ठिमी, भक्तपुर

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 24 आसाढ, 2077

लेखकका अन्य रचनाहरु