ओइलाउँछ कि आजिसाइ

- राजेन्द्र पौडेल.

टोकियोको आकाश बादलले धुम्म परेको छ । सिनसुइकोउएनको छेउँमा झुम्म परेका आजिसाइका झ्याङमा ओइलाउनै लागेका सेता, नीला, राता र बैजनी रङका बडेमाका फुलका थुंगाहरू । साँझपखको झ्याउँकिरीको आवाजसँगै फाट्टफुट्ट कुकुर डोर्याउँदै हिँडेका जापानी बाआमाहरू । शान्त तर अलिक उराठ लाग्दो वातावरण छ । हातमा वेन्डिंग मेसिनबाट भर्खरै झारेको चीसो ब्ल्याक कफिको क्यान । फुजिकिका लहराले ढपक्क ढाकेको सितलपाटीको छानोमुनि बसेर, चीसो अनि तीतो र टर्रो कफीको स्वाद नाक मुख हुँदै आन्द्रासम्म पुगेको अनुभूति गर्दा निद्राले ककनी परेका आँखाका ढकनी खुल्दै जान्छन् ।

किरिरिरी गर्दै म्यासेन्जरमा घण्टी बज्छ । मैले हतारिँदै एयर फोन कानमा लगाएर दिदीको हालखबर सोधेँ,“के छ दिदी हालखबर ?”
सधैF आ~ चुखारेताबाट बोल्न सुरु गर्ने दिदीको आवाजमा आज मोउ इकिताकुनाइ भन्दै देब्रे हातले तालु ठोकेको दृश्य फोनको स्क्रिनमा देखिन्छ । उहाँले आज उच्चारण गरेको यस्तो विरोधाभासपूर्ण शब्दले मलाई झस्काउँछ अनि प्राय: म वक्ता र उहाँ स्रोता हुने भूमिकामा आज मैले उहाँलाई सुन्नै पर्ने भयो । म सुन्दै गएँ । उहाँ फतफताउँदै जानु भयो ।

कान्छा मेरो त घर नै भत्कन लाग्यो भन्ने दिदीको कथन फुत्कन नपाउँदै मैले हाँस्दै उत्तर दिएँ– “ए ! भूकम्प आएको हो र दिदी ? ल, विस्तारै बाहिर निस्कनु पर्यो ।”
“तेरो यो उपद्रो गर्ने बानी कहिल्यै नजाने भयो । मैले आज दुःख बेसाम् भनेर फोन गरेको यसले आकाशमा उडाइदेला भन्ने डर ।” उताबाट अलि झर्किएको आवाज आयो ।
तर दिदीलाई सम्हाल्दै मैले भनेँ– “उडी हाल्नु भएछ भने समाउन आउँला नि दिदी चिन्ता नगर्नुस् बरु के भन्न खोज्नु भएको हो भन्नुन ।”
उहाँ बोल्दै जानु भयो- म एउटी परिचय हराएकी आइमाई हुँ । त्यो कुरा तँलाई आजसम्म पनि भनेकी छैन । आज अलिक लामै कुरा गर्नु छ फुर्सदमा छस् नि ?
हुन्छ दिदी एकछिन हावा खान बाहिर निस्केको छु, भोलि यतैबाट काममा जाउँला बरु,ढुक्क भएर कुरा गर्नुस् । मैले भनेँ ।
अस्ति तेरा भिनाजुका आधा डोका जति खादा र माला गोमीमा हाली दिएँ । अनि घरमा वाक्युद्ध सुरु भएको छ । मलाई थाहा छ यो सुनेर तैँले मलाई नै गाली गर्छस् तर सहनुको पनि एउटा हद हुन्छ नि । मैले आजसम्म धेरै सम्झाएँ, धेरै सहेँ । म पनि सम्मान विरोधी त होइन नि । समाजप्रति केही योगदान गरेमा सम्मानित हुनु राम्रो कुरा हो तर, आफैले कसैप्रति के योगदान गरेँ भन्ने टुङ्गो नभएकाले केको सम्मान ग्रहण गर्दै हिड्नु नि ? कसैले बोलायो भन्दैमा सम्मान थाप्न गइहाल्नु पर्छ र ? कम्तिमा एकपटक आफैलाई सोध्न सकिँदैन ? मैले उहाँलाई विद्यार्थी हुँदादेखि नै सम्झाएकी हुँ । म कानुनी रुपमा चुकेकी छु । अप्ठ्यारो पर्दा काँध थाम्न सक्तिन । तपाईं राम्रोसँग पढ्नुस् बरु मैले धेरथोर काम थपेर खर्च चलाउँछु । विदेश हो, अप्ठ्यारो पर्दा हात दिने हाम्रो को छ र ? एक त यो ठाउँमा राजनीति गर्नु गैर कानुनी मानिन्छ । अर्को कुरा जुन राजनीतिक व्यवस्थाले तपाईंलाई विदेसिन बाध्य बनायो । त्यसैको समर्थन र विरोध गर्दै सामाजिक सन्जालमा उफ्रिएर तपाईंले के पाउनुहुन्छ ? राजनीति नै गर्नु छ भने अहिले राम्रोसँग अध्ययन गर्नुस् । भाषा, संस्कृति, संस्कार अनि यहाँको काम गर्ने राम्रा तरिका सिक्नुस् । कुनै एउटा सीप सिक्नुस् । आफू उभिने आधार त खडा गर्नुस् भन्दा पढाइ अस्तव्यस्त पारेर कहिले संघसंस्था त कहिले ताइँ न तुुइँसँग अभियान भन्दै हिड्नु भयो । आफ्नै आँखा अगाडि छात्रवृत्तिमा नाम निकाली खुरु खुरु पढेका अग्रजहरू पनि देख्नु भएकै थियो । विश्वविद्यालय अध्ययनपश्चात् जागिर खोज्दा पाँचवटा कम्पनीमा अन्तरवार्ता दिएर तीन ओटामा नाम निकाल्न सफल साथीहरू पनि देख्नु भएको थियो । पढ्ने बेलामा कामको धपेडी गरेर एक महिने तयारी भिसा पाएर फर्किएका साथीहरू पनि देख्नु भएकै थियो । तर कहिल्यै मेरो कुरा खानु भएन । पढाइ सकियो, भिसा पनि सकिन लाग्यो । जागिरको कतै निश्चित भएन । बीचैमा फर्कँदा न हातमा पैसा छ न सीप गएर के गर्नु रु अरु केही उपाय नभएपछि मसँग भएको पैसा खर्याक खुरुक पारेर रेष्टुरेन्ट व्यवसाय सुरु गर्नु भयो । एक दुई वर्ष ठिकै चल्यो । नेपालबाट दुई चार जना आफन्तको भिसा लगाएर बोलाउनु भयो । त्यति बेला पनि मैले पैसा असुलेर सीप नभएका आफन्त नल्याउनुस् बरू दुईजना राम्रो सीप भएका मान्छे ल्याउनुस् । खाना र सेवाको व्यापार गर्नुस् दिगो हुन्छ भनेको सुन्दै नसुनी टाउकाको व्यापार गर्न लाग्नु भयो । विद्यार्थी हुँदा जेनतेन दुःख गरी घरतिर पैसा पठाउनु भएको थियो । व्यवसाय सुरु गर्दा मैले सहयोग गरी हालेँ । पछि आफन्तबाट असुलेको पैसो घर पठाउँदासम्म सम्बन्ध राम्रै थियो । जापानमै एकजना आफन्तले उहाँसँग चिनाजानी गराइदिए पछि हाम्रो सम्बन्ध पनि नजिकिदै गएको थियो । एक दिन उहाँले नै मायाको प्रस्ताव राख्नु भयो । मैले पनि स्वीकार गरे । विस्तारै हामी विवाह गर्ने मानसिकतामा पुग्यौँ । त्यसै बिचमा हाम्रो विवाह भयो । बच्चा पनि भयो । व्यापार बिग्रदै गयो । पारिवारिक सम्बन्ध पनि बिग्रँदै गयो । त्यतिबेला मैले उहाँसँग अरुधेरै अपेक्षा गरेको पनि होइन । एकअर्काको सहअस्तित्व कायम राख्दै मिलेर सङ्घर्ष गरौँला भन्ने थियो तर उहाँले हरेक कुरामा एकल निर्णय गर्न खोज्नुहुन्छ । जब दुर्घटना हुन खोज्छ तब मसँग दुःख देखाउने गर्नुहुन्छ । अहिले दुधे बालक नेपाल छोडेकी छु । यहाँ बाह्र पन्ध्र घण्टा दैनिक काममा धसिएकी छु । उहाँको हिँडडुलमा खासै कमी आएन । अप्रत्यक्ष रुपमा उहाँका केही शंकास्पद गतिविधिको गन्ध आउन थाल्यो । छरछिमेक, साथी भाइका गाइँगुइँ पनि सुन्न लागें तर मान्छेलाई अविश्वास गरिहाल्न हुन्न भनेर चुप पनि लागेकै थिएँ ।
एक दिन उहाँ हतारमा बाहिर जान लाग्दा मोबाइल छोडेर निस्कनु भयो । निस्कनासाथ मोबाइलमा निरन्तर फोन र म्यासेजको वर्षा नै हुन लाग्यो । केही बेर त वास्ता गरिन तर पटक पटक एउटै नम्बरबाट फोन आएपछि केही विशेष काम होला भनेर फोन उठाएँ तर मैले हजुर भन्नासाथ उताबाट एकदमै अत्तालिएको स्वरमा महिला आवाज आयो । सरसँग सानो काम थियो भन्दै फोन कट्यो । त्यो अप्रत्यासित घटनाले म झसङ भएँ, ममा आशङ्काका ज्वारभाटाहरू सम्हालिनसक्नु भए । यदि सफा नियत हुन्थ्यो भने त त्यति साह्रो अत्तालिनु पर्ने कुनै कारण नै थिएन । एकातिर सधै अभाव र अप्ठ्यारो देखाएर
मलाई काममा धसाउने अर्को तिर बाहिर बाहिर केटी फसाउने । यो त अति भो अति । यति मात्र हो र रु आफूले सकेसम्म दुःख पाएकालाई सहयोग गर्नु त राम्रो कुरा हो । म पनि मेरो हैसियतअनुसार सहयोग गर्ने गर्छु तर सहयोगका नाममा सस्तो लोकप्रियताका निम्ति अरुको पसिना खाएर दानी बन्न त पाइएन नि । सधै आफ्नो हैसियतभन्दा माथि उठेर मानका मान सहयोग रकम बोल्ने अनि त्यही रकम पनि तिर्न नसकेर दाँत ङिच्याएर हिँडेको कति पल्ट देखेकी छु । यति हुँदहुँदै पनि भिनाजुको खादा, माला मोह घट्दै घटेन, बरु व्यापार घट्दै गयो । आफन्तहरू पनि चिढिएका छन् । नचिढीउन पनि कसरी ? लाखौँ पैसो असुल्ल्ने, यहाँ ल्याएर उनीहरूका विदा, सुविधा कटौति गर्ने अनि न्युनतम तलबसम्म खुवाउन नसक्ने भएपछि त धारे हात लाउने नै भए । त्यसैले मेरो केही जोर नचलेपछि आक्रोश व्यक्त गर्न खोजेकी हुँ ।

म साह्रो दुखिया नै रहेछु । बाल्यकालमा पारिवारिक अवहेलना सहेर हुर्किएँ । दुःख गरेर ग्रेजुएसन त मैले पनि त गरेकी थिएँ नि । बाध्यता भनौँ कि बुद्धि नपुगेको भनौँ । ‘जानीजानी आफ्नो थाप्लोमा आफै बन्चरो हान्नु ’ भने झैँ आफ्नो परिचय लुकाइ लाखौँ पैसा नै तिरेर यहाँ आएँ । यहाँ आए पछिका हन्डर ठक्कर त कति हुन् कति । म यी दुःखहरू देखेर हतोत्साहित भएको हैन । मसँग योग्यता क्षमता अनि हिम्मत हुँदा हुँदै पनि कहिले आफूले गल्ती नै नगरेको सजाए भोग्नु पर्दा धेरै पीडा भइरहेको छ । आवेशमा आएर तेरा भिनाजुलाई गाली गर्छु । एकछिन पछि शान्त भएर सोच्छु । अनि उनको निन्याउरो अनुहार हेरेर टिठ लाग्छ । आखिर उनले पनि त जानेर या नजानेर सबथोक गुमाएका छन् नि । सम्पत्ति गुमाए । परिवार गुमाए । आफन्त गुमाए । त्यो भन्दा बढी आफ्नो क्यारिअर गुमाएका छन् । अब म पनि गुमे भने यिनको हाल के होला रु हाम्रो बच्चाको हाल के होला रु लौन कान्छा एकपटक अलिक राम्रोसँग सम्झाइदे भन्दै दिदी सुक्क सुक्क गर्न लाग्नु भयो । मसँग पनि थप कुरा गर्ने आँट आएन अनि हुन्छ दिदी धेरै चिन्ता नगर्नुस् म अर्को हप्ता खाना खाने गरी आउँछु र बसेर कुरा गरौँला भन्दै फोन राखिदिएँ ।

फेरि टिङ्ग घण्टी बज्यो । म्यासेन्जर खोली हेरेँ । रोमनमा लेखिएको म्यासेज आयो– “दाइ व्यस्त हुनुहुन्छ कि ? एकछिन पोखिन मन लाग्यो ।”
“मैले उठाउन सकिन भने त विजोग होला नि ?” मैले हाँस्दै उत्तर फर्काएँ ।
“दाइ पनि मजाक गर्नुहुन्छ, धेरै पटक पछारिएर त आफै उठेको छु, आज दाइसँग पोखिँदा उठाउन सक्नु भएन भने खालान् चरा मुसाले के फरक पर्ला र ? ”
म झस्किएँ,अनि हतारिँदै भिडियो कल गरेँ । हातमा च्युहाईको क्यान, अनिद्राले कटमरिएका आँखा, जिङ्ग्रिङ परेको कपाल,एउटा साँघुरो कोठाको कुनामा टेबलभरि छितरिएका ओनिगिरीका खोल र इन्स्टान्ट रामेनका कपहरू ।
ऊ कानमा एयर फोन लगाएर बोल्दै गयो । दाइ, जिन्दगीमा कसैप्रति गरिने अति विश्वास पनि आफैलाई घातक हुँदो रहेछ । मैले परिवारको लागि यति धेरै सोंचेछु कि आफ्नै लागि सोँच्ने फुर्सदसम्म पाइन । उनीहरूलाई दुख्ला भनेर मैले सधैँ मेरो दुःख लुकाएँ तर उनीहरूले पैसा लुकाएको ठानेछन् । जीवनमा कसैप्रति गरिने अति विश्वासले पनि आफ्नो जीवनमा घात गर्दो रहेछ । मैले जीवनमा न जस पाएँ न रस, पाएँ त केबल अपजस मात्र । सानैमा बा बितेकाले घरको चुलो चौको, मेलापात,घर गोठका काम गर्दै हुर्किएँ । देशमै हुँदा पनि धेरै दुःख कष्ट झेलेर जेनतेन उच्च शिक्षा अध्ययन गरें । कहिले प्राइभेट स्कुल पढाउने,कहिले संघसंस्थामा जागिर खाने गर्दै पढेँ । सत्रओटा सयका नोट हात पार्न सात पिरियड घोटिनेदेखि सुरु भएको मेरो शिक्षण यात्रा महिनाको छब्बीस सत्ताईस ओटा हजारका नोट हातमा समाउनेसम्म पुग्यो । विदेशको सपना कहिल्यै नदेखेको म परिस्थितिवस विदेसिएँ । उताबाट आउँदा, त्यस्तै सात आठ वर्षमा नेपाल फर्कने योजना बनाएर यता आएको हुँ । योजना अनुरुप नै, अध्ययन र कामलाई सन्तुलित गर्न बीचमा धङधङ गरिरहेँ । विदेशमा विद्यार्थीको व्यथा त तपाईंलाई पनि थाहा नै छ । बिना तयारी विदेश छिर्दा पाइने दुःख त कति हुन कति ?
घर छाडेर आउँदा घरमा भएको पुरानो ऋण अनि म आउँदा लागेको ऋणमा केही थपथाप गरेर पैसा पनि पठाएकै हुँ । यताको महँगीको कुरै नगरौँ । विद्यार्थी हुँदा स्कुल फिस , घर भाडा,बिजुली,पानी,फोन, ट्रेन भाडा, स्वस्थ बिमा, ट्याक्स आदि आदि । जति पैसा पठाउँदा पनि घरबाट ऋण घटेको सूचना पाउन सकिएन । अध्ययनपछि जागिरको खोजी
गर्ने चरणमा म अझ संकटमा परें । स्वास्थ्य समस्याले केही समय हस्पिटल भर्ना भएँ । पैसा पठाउने त के कुरा आफ्नै दैनिकी धान्नै हम्मे हम्मे पर्न लाग्यो । अनि जागिरको टुङ्गो नलागेर के गर्ने कसो गर्ने भएका बेला घरमा शीतयुद्ध सुरु भयो । म युद्धभूमिमा हतियार खोसिएको लडाकु जस्तो भएँ । अभावरूपी शत्रुहरूले घेराबन्दीमा पारेका बेला मैले धर्मराएको
आत्मबल मात्र बचाउँन सकेँ । अरु सबै गुमाएँ दाइ । लडेर आफै उठ्ने प्रयास स्वरुप अहिलेसम्म जेनतेन चलेको छु तर जब खुन र पसिनाको बदलामा उल्टो अपजस, अविश्वास मात्र हात लाग्छ नि दाजु औधी पीडा हुँदो रहेछ । उनीहरूले निचोरेर
फालेको कागतिको खोस्टाजस्तो मेरो जीवन, अहिले त्यही खोस्टामा अल्झिएको बिउलाई रोपेर पुनर्जीवित गर्दै छु । वेदनाका गाँठाहरु खोल्दै जाँदा ऊ भावुक हुँदै गयो । अनि मैले भनेँ,भाइ अन्याय गर्नु र सहनु दुबै पाप त हो तर कुनै बेला अन्याय विरुद्ध बोलेर न्याय कुर्नुभन्दा मौन रहेर आफ्नो गन्तव्यतिर लम्कँदा नै उपलब्धी बढी हुन्छ । सायद तिमी त्यसै गर्दै उपलब्धी चरणमा प्रवेश गरिसकेका छौ । आफूलाई सम्हाल । मानव सम्बन्धको डोरी जबर्जस्त गाँस्न खोज्दा चुडिन्छ । बरु नयाँ डोरी खोज । पुरानो डोरी गाँसिन आएछ भने ठाउँ राखिदेउ । अरूसँगको प्रतिस्पर्धाभन्दा आफ्नो दूरी पार गर्ने योजना बनाऊ । अहिलेलाई बिट मारौं है ।

हुन्छ दाइ फुर्सदमा दाइसँग कफी खान आउँछु । धन्यवाद भन्दै उसले फोन राखिदियो ।

झमझम पानी पर्दै छ । सिर्सिरे हावाले साकुराका पात हल्लिएका छन् । घरीघरी पानीका बाछिटाले हिर्काउँदा शितल महसुस हुँदै छ । म सामाजिक सञ्जालको रङ्गीचङ्गी जन्जालबाट उम्कनै लाग्दा पुनः मोबाइलमा पूर्व सूचित घण्टी टिङटिङ गर्न लाग्यो । क्यालेन्डर हेरेँ । आज मेरो एकजना साथीसँग फोनमा कुराकानी गर्न छुट्याइएको समयको संकेत रहेछ । अनि यही साथीको अनौठो जीवनशैलीबारे मनमा कुरा खेलाउन थाल्छु । हुनत ऊ अनौठो नभएर समयनिष्ठ व्यक्ति हो तर उसको समय व्यवस्थापन कलाबाट म निकै प्रभावित छु । जापान मै कुनै कार्यक्रममा भेट हुँदा उसको तर्कशैली र हँसिलो मुहारले हामीलाई नजिक्याएको थियो । ऊसँगका भेटमा आत्मीयताको साटासाट त अवश्य, यति मात्र नभएर कुनै बेला त औपचारिक मिटिङ्ग गरेको भान हुन्छ । प्रत्येक भेटमा ऊ कुनै न कुनै एजेन्डा र समयसीमा निर्धारण गरेर प्रस्तुत हुन्छ । उसकै बारेमा विभिन्न कुराहरु मनमा खेल्दै थिए उसको फोन आयो ।
“हेल्लो, हिसासिबुरी देस ने ! गेन्की ?
मैले जवाफ फर्काएँ, “गेन्की देसयो ।
हैन कता हरायौ यार ? भेट त दुर्लभ हुँदै गयो नि ?”
उताबाट उत्तर आयो- “हराएको भए त कोबानबाट खबर आउँदो हो नि ? कार्य व्यस्तता नभनौँ बरू समय व्यवस्थापनको अस्तव्यस्तता भनौँ है अहिलेलाई ।”
हाहाहा.. आज तिम्रो हार भयो है ।
मान्छे व्यस्त छु भन्ने कि अरूलाई देखाउनका निम्ति हो कि उसको समय व्यवस्थापन गर्ने सीप या काम गर्ने तरिका नभएर हो । समय सबैको एउटै हो । साँच्चै काम गर्ने मान्छेले त उति नै समयमा काम सम्पन्न गरेरै देखाएका छन् नि त, तर धेरै मान्छेहरू काम गर्ने समय पुगेन भन्दै गुनासा गर्छन् । यो उनीहरूको असक्षमता हो भनेर मलाई छक्क पार्ने
व्यक्ति त तिमी नै थियौ ।
यति भन्न नभ्याउँदै उताबाट फोन नै पड्किएला जस्तो हाँसोको आवाज आउँछ । आज हाम्रा काम धाम, अध्ययनभन्दा पनि मान्छेका जीवनशैली प्रतिका मेरा जिज्ञासा राख्ने सोँचमा छु । ल भन यार तिमी कस्ता व्यक्तिलाई सफल व्यक्ति भन्छौ र उबाट प्रभावित भएर उसका व्यवहारलाई अनुसरण गर्छौ रु मैले आदर्श मानेका आस्थाका केन्द्रहरू त एक पछि अर्को गर्दै निरन्तर ढल्दै छन् नि त ?
ए ! सधै प्राविधिक कुरा गर्ने तिमी आज कताबाट दार्शनिक विचार बोकेर आयौ ? आज त दार्शनिक बन्ने छाँट निकाल्यौ त ? हैन मनमा लागेको कुरा कहिलेकाहिँ सोँच्दा र तिमीलाई सोद्धा नै दार्शनिक भइएछ भने स्वीकार्य छ ।
अनि मैले सोधेँ, बताऊ यार को ढल्यो ? कहाँ ढल्यो ? कसरी ढल्यो ? किन ढल्यो ? नामको फेहरिस्त त किन दिनु पर्यो र ?
यहाँ लामो समयदेखि व्यापार व्यवसायमा लागेर सफल देखिएका, विभिन्न संघसंस्थामा आबद्ध भएर आवश्यक परेका बेला आर्थिकदेखि विभिन्न रुपमा सहयोग गरी योगदानसमेत दिएका व्यक्तिहरू पनि क्रमैसँग विभिन्न आरोप्रत्यारोपमा मुछिएका समाचार आइरहेका छन् । यसरी अग्रजहरूले नै सही दिशानिर्देश गर्नबाट चुकेपछि अबको पुस्ताको हालत कस्तो हुँदै जाला ? एकातिर देशमै अस्तव्यस्तता छ । युवाहरू विभिन्न बहानामा विश्वबजारमा पसिना बेच्न विवश छन् । अर्कोतिर यहाँबाट सिकेका ज्ञान, सीप, लगानी लिएर देश फर्कलान् , केही राम्रा उदाहरणीय काम गर्लान् भन्दा यतै ठगी धन्दामा लिप्त देखिनु त लाजमर्दो भएन र ? म त सोँच्दा सोँच्दा हैरान भइसकेँ ।

साथीको लामो गनथन सुनेपछि मेरो बोल्ने पालो आयो । हेर साथी, बैदेसिक रोजगारले आर्थिक उपार्जनमा केही टेवा पुगेजस्तो देखिए पनि देश झन् खोक्रो बन्दै गएको छ । मान्छे झन् परनिर्भर बन्दै गएका छन् । पारिवारिक विखण्डन, वैमनस्यता बढ्दै गएका छन् । आखिर किन यस्तो हुन्छ होला ? यसका धेरै कारणहरू छन् । मैले आफूले देखेका केही सजिला उदाहरण दिन्छु । अन्त टाढा कतै जान्न आफ्नै जन्मभूमि नेपाल र हालको कर्मभूमि जापानको केही कुरा गरौँ । यसमा फेरि नेपाल र जापानको तुलना गर्न मिल्छ भन्दै प्रतिप्रश्न बर्सिएलान् । मैले फुक्लो कुरा गरेर जापानजस्तो नेपाल किन भएन भन्न खोजेको पनि होइन, तर दुनियामा भए गरेका राम्रा कुरा ग्रहण गरेर आफ्नो अनुकुल उपयोग गर्न त सकिन्छ नि ? राम्रो कुरा सिक्दा घटिने होइन क्यारे ?
यसबारे मेरा धारणा यस्ता छन्, नेपालीहारूमा आइडिया र भाषणबाजी धेरै हुन्छ । आइडिया आफैमा अनुत्पादक कुरा हो । हामीसँग आइडिया धेरै भए तर आइडियालाई मूर्त योजना बनाएर मानव जीवनलाई सहज बनाउने आधार खोज्न तिर हामी लागेनौँ । आइडिया त क्षण क्षणमा मेरो मनमा पनि सयौँ फुर्छन् नि । कहिलेकाँही त राति पिसाब लागेर जागेको बेलामा पनि आइडिया फुर्दै गरेका हुन्छन् । के ती सबै कामयाब छन् त ? पटक्कै छैनन् । हामी जनता मात्र होइन हाम्रा नेता पनि आइडियाका खानी छन् । मञ्चमा गए भने घण्टौँ उभिएर हजारौँ आइडियाको वर्षा गराउँछन् । हामी आँखा चिम्लिएर वाह गर्छौं, कि अझ महाआइडियाकार बनेर कुतर्क गर्छौँ । सामाजिक सञ्जालदेखि दिनभरि चिया पसलमा बसेर आइडिया बर्षाउँछौं । अनि उठ्ने बेलासम्म चियाको पैसा तिरिदिने दानी कोही फेला परेन भने खातामा उधारो लेखाएर घर फर्कन्छौं । यसरी न व्यापारी फस्टाउँछ न त हामी नै ।

यहाँका नेताहरू सर्वज्ञानी छैनन् । सम्बन्धित विषय क्षेत्रका विषेशज्ञसँग सल्लाह गरेर काम गर्छन् । हाम्रा नेता सर्वज्ञानी छन् नजानेको विषय नै केही छैन । यिनीहरू इतिहासलाई सन्दर्भ सामग्रीको रूपमा लिएर वर्तमान र भविष्यको निम्ति प्रभावकारी योजना बनाउँछन् अनि तुरुन्त कार्यान्वय गर्छन् । हाम्रा नेताहरू इतिहासको गौरव व्याख्या गर्दा गर्दै वर्तमानको योजना र भविष्यको गोरेटो सबै छुटिहाल्छ । त्यस्तै जापानमा जनताले श्रम गर्छन् । कर, बिमा रकम तिरेर योगदान दिन्छन् । राज्यले विपद्का बेला सबैले अनुभव गर्ने गरी सहयोग गर्छ । हाम्रोमा सबै कर छलेर सम्पत्ति कुम्ल्याउने अनि दानी बनेर कुटुरा बोकेर हिँड्ने,यसरी समस्या समाधानको परिकल्पना गर्न सकिन्छ त रु देशमा जनताले राज्यको अनुभूति नै गर्न पाउँदैनन् । व्यक्तिदेखि साहु महाजन, व्यापारी, सरकारी गैसरकारी
संघसस्थाले गाउँमा गरिबलाई निरन्तर अनेक कुरा बाँडेका छन् । केही लुतो लाएको छ त ? काम गर्ने र उचित ज्यालाको व्यवस्था मिलाउन सके त कसैले कसैको ठेक्का लिनै पर्दैन होइन र ? यहाँ स्वास्थ्य बिमा सबैलाई अनिवार्य हुन्छ । स्वास्थ्य उपचारमा सत्तरी प्रतिशत बिमा कम्पनीले र तीस प्रतिशत स्वयम् व्यक्तिले तिर्नु पर्ने व्यवस्था छ । आपत्कालीन् अवस्थामा ११९ नम्बरमा फोन लगाउनसाथ एम्बुलेन्स घरमा आइपुग्छ र निःशुल्क सेवा दिन्छ । जनताले पनि अति आबश्यक परेमा मात्र प्रयोग गर्छन्, नत्र आफै ट्यक्सी गरेर हस्पिटल जान्छन् । बिमा गर्दा धनीले धेरै तिर्छ, गरिबले कम तिर्छ । अप्रत्यक्ष रूपमा गरिबले बढी लाभ लिन्छ तर योगदान धनीको पनि हुन्छ । यसरी सिस्टमको विकास भए पछि, सहयोगको नाममा आफूजस्तै मान्छेलाई निरीह देखाएर दानवान बन्दै खादा,माला लगाएर समाजसेवी कहलिन आवश्यक नै हुँदैन । शिक्षा स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रको व्यापारिकरण नै नेपालको दुर्भाग्य हो । जबसम्म सम्पूर्ण बालबालिकाले एउटै स्कुल प्रयोग गर्न पाउँदैनन् र सम्पूर्ण नागरिकले एउटै हस्पिटल प्रयोग गर्ने वातावरण बन्दैन तबसम्म समानताको परिकल्पना सार्थक हुँदैन ।

यहाँ सबैले काम गर्नै पर्ने व्यवस्था छ । कामप्रति सम्मान छ । काम नगर्ने र नियमपालन नगर्ने व्यक्तिलाई राम्रो दृष्टिले हेरिँदैन । जुन र जस्तोसुकै काम गरे पनि आधारभूत आवश्यकताहरू सजिलै पूरा गर्न सकिने वातावरण छ । पूँजीको सही परिचालन हुन्छ, मान्छे पनि सबै सक्रिय छन् तर नेपालमा संचय संस्कृतिले जरो गाडेको छ । त्यसैले मान्छेलाई निष्क्रिय पारेको छ । धनी भएर पनि ढुक्क हुने स्थिति छैन । यहाँ गरीब भएर पनि नागरिकहरू ढुक्क छन् । किन कि सबै सिस्टममा चलेको छ । मानव जीवनलाई सहज बनाउन इमान्दारिताको महत्वपूर्ण भूमिका रहन्छ । इमान्दारिताको खडेरी परेपछि
जिन्दगीको कुनै फसल राम्ररी सप्रदैन । नेपालमा जनस्तरदेखि नेतृत्व तहसम्म, घरदेखि व्यवसाय सबै क्षेत्रमा इमान्दारिताको खडेरी छ । एउटा व्यवसायीले ५० लाखको कारोबार गर्छ, पाँच लाखको देखाउँछ अनि कतै बाट केही क्षति भयो भने पचासी लाखको क्षतिपूर्ति माग गर्दछ तर पाँच हजार पनि मुस्किलले पाउँछ । यस्ता अनगिन्ती उदाहरण दिन सकिन्छ ।
तिमीले सोधे जसरी कस्तो व्यक्तिलाई सफल र आदर्श मान्ने भन्ने उत्तर दिन त गाह्रो छ । मान्छे सफल हुने र उसलाई सफल मान्ने आधारहरू व्यक्ति व्यक्तिका फरक फरक हुन सक्छन् । ठाउँ, सन्दर्भ, विषय क्षेत्र र मान्छेको दृष्टिकोणले पनि यस्ता कुरा हरूलाई निर्धारण गर्दछ तर आफ्नो पेशाप्रति उत्तरदायी भएर इमान्दारितापूर्वक निरन्तर लागिरहने व्यक्ति सफल हुने सम्भावना पनि बढी हुन्छ र आदर्श पनि लाग्छन् । धेरै नेपालीमा पैसा भए जे पनि गर्न सकिन्छ भन्ने भ्रम व्याप्त छ ।

लगनशीलता, इमान्दारिता र धैर्यधारण गर्ने बानीको अभाव छ । त्यसैले यस्तै पृष्ठभूमिबाट हुर्किएर आएका नेपालीले अरब, अमेरिका, जापान मात्र होइन पृथ्वी छोडेर चन्द्रमा मै पुगे पनि ‘नानी देखिका बानी’ बोकेरै हिँड्छन् । विश्वविद्यलयका सर्टिफिकेट, नागरिकता, पासपोर्ट, सवारी लाइसेन्ससमेत किनेर प्रयोग गर्न थालेपछि, तिनै व्यक्तिले नेतृत्व गर्न थालेपछि ढिलो चाँडोको कुरा मात्र हो सबै पर्दा खुल्दै जान्छन् । अनि आम मान्छेले भ्रम मै परेर आदर्श मानेका केन्द्रहरू विस्तारै ढल्दै जान्छन् । यस्ता भ्रमहरू जति छिटो ढल्दै जान्छन् उति नै राम्रो हुनेछ । सबै नराम्रो गर्ने पनि त छैनन् नि । इमान्दार र कर्मनिष्ठा भएका व्यक्तिहरू पनि छन् । मात्र उनीहरू बाहिर प्रचारमा आउन नचाहेकाहुन् । उनीहरूबाट सिक्न सकिने प्रशस्त कुराहरू हुन सक्छन् । तिनको खोजी गर्न आवश्यक छ । त्यसैले अब तिम्रा आस्थाका केन्द्रहरू ढल्दा दुःखी होइन खुसी बन । बरु फुर्सद मिलाएर एकदिन यतै बस्ने गरी आऊ अनि सँगै खुसी मनाऔँला भन्दै थिएँ, साथीले आजलाई अब कुरा टुङ्ग्याउनु पर्छ भन्ने सङ्केत गरे । मैले शुभरात्री भन्दै फोन काटिदिएँ ।

***************

आज सुनेका यी विविध घटनाहरूले मेरो मन पनि उथलपुथल भयो । व्यक्तिको जीवन के कस्तो हुने वा बनाउने भन्ने बारेमा स्वयम् ऊ आफै जिम्मवार हुन्छ। तर उक्त व्यक्ति जन्मेहुर्केको देश, समाज त्यो भन्दा बढी उसको परिवारको महत्वूर्ण भूमिका रहन्छ । मान्छेले सबैभन्दा आनन्द र ढुक्क अनुभव गर्ने पनि आफन्त या परिवारबाट हो । अनि सबैभन्दा असुरक्षित हुने पनि आफन्त या परिवारबाट नै हो । घर भनेको भौतिकरुपमा देखिने चार दिवार र छानो भन्दा बढी भावनात्मक सम्बन्ध हो । आफन्त भनेको रगतको नाता भन्दा बढी आत्मीयता हो । विविध कारणले जब मान्छेको भावनात्मक सम्बन्ध र आत्मियता टुट्छ । मान्छेको दुःखको कारण त्यही बनिदिन्छ । जबसम्म मान्छे स्वार्थी र पूर्वाग्रही बनेर आफूमात्र ठिक, आफूले गरेको सबै ठीक अरूले गरेको सबै बेठिक भन्ने भ्रम पाल्छ । तबसम्म अनेकन अप्ठ्यारा स्थितिहरू आइरहन्छन् । त्यसैले प्रत्येक व्यक्तिले एक पटकमात्र होइन पटक पटक आफूलाई फर्किएर हेर्न जरुरी छ । अर्थ र अस्तित्वको असन्तुलनले नै प्रत्येक व्यक्ति, समाज, देश र विश्वसम्बन्धमा द्वन्द्व सिर्जना गर्छ । तर्कपूर्ण र सृजनात्मक द्वन्द्वले नयाँ अस्तित्व कायम गर्छ तर पूर्वाग्रह र प्रतिशोधपूर्ण द्वन्द्वले विनाशमात्र सिर्जना गर्छ ।

धेरैकुरहरु मनमा खेल्दै थिए, निरन्तर लामो समय बोलेकाले होला घाँटी पनि खसखस गर्न लाग्यो । जुरुक्क उठेर नजिक मै रहेको भेन्डिङ मेसिनबाट चीसो पानीको बोतल झारेँ । कलकल पानी पिउँदै थिएँ, मेरो आँखा पुनः आजिसाइको झ्याङमा पुग्यो । आखिर फूल ओइलाउनुले अस्तित्व लोपको सङ्केत मात्र गर्दैन । नयाँ फूलको बीज छोडेर पनि त जान्छ नि ।
यस्तै केके सोँच्दै थिएँ । मच्छेडले टोकेछ क्यारे ! हात खुट्टा हल्का चिलाउन थाल्यो । मेरो ध्यान अर्कै तिर मोडियो । मैले फोन गोजीमा राखेँ अनि यसैबिचमा सिरिरी चल्न लागेको चिसो बतासले विस्तारै कुहिरो पन्छाउँदै गयो । झुम्म परेको फुजिकिको झ्याङका चरबाट मधुरा ताराहरु टिलपिल टिलपिल गरेको दृश्य देखिन लाग्यो . सिनसुई कोउएनमा कलकल गर्दै बगेको पानीको मधुरो आवाज सुनिन लाग्यो । अब म पनि विस्तारै घरतिर लागेँ ।

टोकियो,जापान

प्रकाशित मिति : प्रकाशन मिति : वुधबार, 17 आसाढ, 2077

लेखकका अन्य रचनाहरु